के थियो बीपीको ‘नेपाली सपना?’
नेपाली जनताको जीवनस्तर कम्तीमा मध्यम वर्गको वा प्रधानमन्त्री सरहको नहुन्जेलसम्म बीपी कोइराला ‘नेपाली सपना’को केन्द्रमा रहिरहनेछन्।
कुनै पनि राजनेताको जन्मोत्सव वा जयन्ती त्यो देशले आफ्नो विगत र आगत हेर्ने एउटा माध्यम बन्न पुग्छ। बीपी कोइराला नेपालको सन्दर्भमा त्यस्तै एउटा प्रभावोत्तेजक व्यक्तित्व हुन्। मृत्युपछि उनका विचार झन्–झन् सान्दर्भिक बन्दै आएका छन्।
कुनै पनि महापुरुषको उत्तराधिकारको दावा इतिहासमा सधैं विवादको विषय बनेको छ। ‘बीपी विचार’ को व्याख्यामा एकरूप नहुनु उनको विचारले निर्माण गरेको दायरा विशाल भएर नै हो। यो कुरा अरू विचारक वा चिन्तकहरूको हकमा पनि लागू हुन्छ।
नेपाली राजनीतिमा बीपी लोककथामा ‘दृष्टिविहीनले छामिरहेको हात्ती’ जस्तो बनेका छन्। उनको जीवन र विचारको क्रान्तिकारी तत्वको निरुपण र संवरण आज पनि नेपाली बौद्धिक विमर्शको केन्द्रमा छ।
प्रथम विश्वयुद्ध–कालमा जन्मिएका बीपीको राजनीतिक चेतना दोस्रो विश्वयुद्धको अवधिसम्म निर्माण भइसकेको थियो। आफ्नो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक बुझाइलाई संघर्षमा, सत्तामा र पुनश्च संघर्षमा हुँदा उनले परीक्षण र प्रक्षेपण गरे। शीतयुद्ध युगको अन्त्य नहुँदै उनी संसारबाट बिदा भइसकेका थिए।
कुनै पनि राजनेता आफ्नो युगको उत्पादन हुन्छ। यस मानेमा बीपी पनि अपवाद थिएनन् र उनले बाँचेको समयको अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यको यहाँ उल्लेख गरिएको हो।
दोस्रो विश्वयुद्धको अन्त्यले संसारका धेरै देशहरूमा जागरणको सन्देश ल्याएको थियो। उपनिवेश र तानाशाही व्यवस्थाबाट प्रजातन्त्र र स्वराजको लहर आएको थियो। वैश्विक दृष्टिकोणबाट हेर्दा २००७ सालको जनक्रान्ति, राणाशाहीको अन्त्य र प्रजातान्त्रिक युगको शुरूआत त्यसैको परिणाम थियो।
नेपालको २००७ सालको जनक्रान्ति विश्वमै एउटा अद्भुत क्रान्ति, एक मौलिक परीक्षण थियो। मौलिक यसमानेमा कि नेपालमा राजशक्ति र जनशक्ति मिलेर एउटा पारिवारिक तानाशाही व्यवस्था परास्त गरेका थिए, जुन विश्वकै लागि दुर्लभ थियो। तर नेपालको राजशक्तिले जनशक्तिसँगको सहकार्यलाई निरन्तरता दिन सकेन।
जनशक्तिलाई राजशक्तिसँग मिलेर गरेको त्यो क्रान्तिका दार्शनिक द्रष्टा थिए–बीपी कोइराला।
गणतन्त्रका द्रष्टा
००७ सालको क्रान्तिपछि संविधानसभाबाट नयाँ संवैधानिक व्यवस्था र लोकतान्त्रिक व्यवस्थाका लागि राजाले वचनबद्धता व्यक्त गरेका थिए तर अन्तरिम सरकारको अन्त्यसँगै राज्यशक्ति र जनशक्तिबीच फाटो आउन थाल्यो। राजाले आफूमा अधिकार केन्द्रित गर्न थाले।
बीपी सदैव राजाको ‘वैधानिक नायकत्व’ को पक्षमा थिए। यसको अर्थ हुन्छ– कानूनको अधीनमा बस्ने राजा। कानूनको अधीनमा बस्ने राजा मात्रै जनताको लागि स्वीकार्य हुन्छ– त्यो उनको ‘बटमलाइन’ थियो। त्योभन्दा बढी राजसंस्थाको महत्व उनले लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि आवश्यक पर्ने संस्थाहरूको निर्माण नहुन्जेल मात्र देखेका थिए।
त्यसका बाबजूद बीपीले एउटा कालखण्डमा आएर राजाको घाँटी र आफ्नो घाँटी जोडिएको बयान दिए। बीपीको उक्त अभिव्यक्ति भूराजनीतिक विषम परिस्थितिको उपज थियो। एकातिर पाकिस्तान टुक्रिएर बाङ्लादेश स्वतन्त्र भएको थियो भने अर्कातिर सिक्किम भारतमा विलय भएको थियो। नेपालमा राजा वीरेन्द्र भर्खरै राजकाजमा बामे सर्दै थिए। राजा राजसंस्थाभन्दा बढी राजावादी देखिन खोज्ने पञ्चायतको ‘स्वार्थी गिरोह’ को घातक घेरामा थिए। राजाले एउटै मात्र गलत पाइला चाल्दा देशको भविष्य र अस्तित्व नै धरापमा पर्नसक्ने समय थियो।
बीपीले एक ठाउँमा भनेका छन्, ‘अहिलेको युगमा राजसंस्थाको चर्चा गर्नु भनेको चिहानबाट मूर्दा उधिन्नु जस्तै हो। राजसंस्थाले नियममा पनि नबस्ने र जनाधिकार माथि धावा बोल्ने गरेकाले स्वाभाविक रूपमा जनपक्षीयले गणतन्त्रका तर्फ पाइला चाल्नु स्वाभाविक कदम हो।’
२०१७ सालपछि नेपाली राजनीतिको एउटा मूल भँगालो सत्तापक्षले वैधानिक रूपमा अस्वीकार गरेको अवस्थामा थियो। त्यस खेमाको नेता निःसन्देह बीपी कोइराला थिए। लामो समय कारावासमा राखिएपछि निर्वासन उनको नियति बन्न पुगेको थियो। यी सबै कुराका बाबजूद उनले आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपालमा चलिरहेका मृत्युदण्डको अदालती अभियोगहरूलाई बेवास्ता गर्दै देशप्रतिको कर्तव्य सम्झेर स्वदेश फर्किने निर्णय गरे।
बीपीले एक ठाउँमा भनेका छन्, ‘अहिलेको युगमा राजसंस्थाको चर्चा गर्नु भनेको चिहानबाट मूर्दा उधिन्नु जस्तै हो। राजसंस्थाले नियममा पनि नबस्ने र जनाधिकार माथि धावा बोल्ने गरेकाले स्वाभाविक रूपमा जनपक्षीयले गणतन्त्रका तर्फ पाइला चाल्नु स्वाभाविक कदम हो।’
बीपीको यही कुरामा टेकेर नै नेपाली कांग्रेसले गणतन्त्रको निर्णय गर्न पुग्यो।
बीपी सपना
बीपीले एउटा सपना देखेका थिए। त्यो सपना आजपर्यन्त ‘नेपाली सपना’ बनिरहेको छ। उनको सपनामा नेपाली नागरिकको जीवनयापनको एक मौलिक मापदण्ड निर्धारण गरिएको थियो। उनको ‘नेपाली सपना’लाई राजा महेन्द्रले बीचैमा ‘अपहरण’ गरे। त्यो घटना नेपाली राजनीतिको सबभन्दा भयानक दुःखान्त बनेर इतिहासमा अङ्कित भएको छ।
बीपी हरेक नेपाली नागरिकको जीवनस्तर प्रधानमन्त्री सरह होस् भन्ने चाहन्थे। त्यसका लागि उनले जनतालाई बृहत्तर रूपमा राजनीतिक सहभागिताका लागि आह्वान गरेका थिए, विकास निर्माणमा जनपक्षको प्रबलताको सम्मान गरेका थिए। जनपक्षको सहभागिता निषेध वा इन्कार गरेर गरिने राजनीति दिगो हुँदैन– उनको प्रष्टोक्ति थियो। यतिले मात्र नपुगेर बीपीले त्यो ‘नेपाली सपना’ पूरा गर्ने यात्रामा आइपर्ने व्यवधान बारे पनि प्रष्ट पारेका थिए।
आजको गणतान्त्रिक राजनीतिमा जनताको बृहत्तर सहभागिताको संवैधानिक प्रावधान त राखिएको छ तर जनताले त्यो महसूस गर्न सकिरहेका छैनन्। बीपीले भनेको ‘भुइँफुट्टा वर्ग’ बिचौलियाका रूपमा शासक र जनताका बीच अभेद्य पर्खालका रुपमा उभिएको छ। वैदेशिक सहायतामा परनिर्भर अर्थतन्त्र यसको मूल कारकतत्व हो। यता आएर यो प्रवृत्तिले गणतन्त्रका राजनीतिक संस्थाहरूलाई आर्थिक व्यवस्थाले भरथेग गर्न सकेको छैन, जसबाट गणतन्त्र नै समस्यामा परेको देखिन्छ।
नेपालको विदेशनीति परिचालनका सम्बन्धमा होस् वा विकासमा जनताको सहभागिता वा समृद्ध नेपालको सपना, ‘बीपी विचार’ले प्रस्थानविन्दु मात्र नभएर दिशानिर्देश गर्ने सामर्थ्य राख्छन्। राजकाजमा हुँदा ‘शासकीय विवेक’ गुमाउन पुगेको कांग्रेसले ‘बीपी विचार’को आत्मा पक्रन सकेन। भूमण्डलीकरणको दुन्दुभि त्यसको लागि कारक र सहायक तत्व बनेर आएको थियो।
कुनैबेला पुष्पकमल दाहालले सुन्दरीजलको संग्रहालयमा पुगेर बीपीको कोट सुम्सुम्याएर बीपी विचारसँग अङ्कमाल, र तादात्म्य राख्ने संकल्प गरेका थिए, तर उनको त्यो कोशिश सार्थक हुन सकेन।
एउटा राजनीतिज्ञमा हुनुपर्ने संस्कार र विवेक सर्वथा प्रदर्शन गर्न चुकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त त्यतासम्म सोच्ने फुर्सद पनि छैन। देदीप्यमान झैं हुनुपर्ने साढे दुईवर्षे कार्यकाल उनले बेफ्वाँकमा गुजारेका छन्। राजनीतिलाई नयाँ दिशा दिने उत्साह बोकेर आएका वैकल्पिक शक्तिहरू पनि त्यसै त्यसै तिल्मिलाएका छन्।
आज छिमेकीहरूले जाबो विकासे मलका लागि पत्याउन नसकेर बाङ्लादेशसँग याचना गर्नु परेको छ। रेल र पानीजहाजको गुड्डी हाँक्नेहरूको करामतले जनता आहत भएका छन्। ‘नेपाली सपना’ अझ अनिश्चित भविष्यको गर्तमा फस्दै गएको छ।
यही बेला बीपीले निर्माण गरेको राजनीतिक संस्था नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको सँघारमा छ। सबैको नजर कांग्रेस महाधिवेशनले चयन गर्ने नेतृत्व र नीतिमा परेको छ।नेपाली जनताको जीवनस्तर कम्तीमा मध्यम वर्गको वा बालिग नागरिकले चयन गर्ने प्रधानमन्त्री सरहको नहुन्जेल बीपी ‘नेपाली सपना’ को केन्द्रमा रहिरहनेछन्। उनको विश्वदृष्टिको केन्द्रमा स्वतन्त्र र समुन्नत नेपाल थियो।
तर, आज छिमेकीहरूले जाबो विकासे मलका लागि पत्याउन नसकेर बाङ्लादेशसँग याचना गर्नु परेको छ। रेल र पानीजहाजको गुड्डी हाँक्नेहरूको करामतले जनता आहत भएका छन्। ‘नेपाली सपना’ अझ अनिश्चित भविष्यको गर्तमा फस्दै गएको छ।
यस्तो कहालीलाग्दो बेला बीपीका एक–एक पदचाप अनुशीलन आज राजनेता दावा गर्नेहरूका लागि मननयोग्य विषय बन्नुपर्छ। यसमै नेपाल र नेपालीको भलाइ छ।