मुखमा बीपी, बेवास्तामा विचार
![मुखमा बीपी, बेवास्तामा विचार](https://www.himalkhabar.com/uploads/posts/800X600/5f3dcc7352ebb_thumb_1599585381.jpg)
जन्मजयन्ती र स्मृतिसभा गरी वर्षेनि दुई पटक आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालाई सम्झने नेपाली कांग्रेसभित्र बीपीले अगाडि सारेको अर्थ–राजनीतिक कार्यक्रम ‘लोकतान्त्रिक समाजवाद’ बारेको बहस भने दुर्लभ बन्दै गएको छ ।
गएको ८ भदौमा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई हराउन सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गरे। कोइरालाको भनाइ थियो– ‘व्यक्तिगत हिसाबले शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाइले सक्नुहुन्न।’
पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) का छोरा शशांकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालै जवाफ फर्काए, “कांग्रेसमा हामी सबै कोइराला हौं।” उनको आशय थियो, कांग्रेसमा आवद्ध हरेक सदस्य बीपीका अनुयायी हुन्।
१४औं महाधिवेशनको सँघारमा रहेको कांग्रेसका वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला दुवैका अभिव्यक्तिको निष्कर्ष छ– बीपीका उत्तराधिकारी नै अबको पार्टी नेतृत्वमा आउनुपर्छ।
१३औं महाधिवेशनबाट देउवासँग सभापतिमा पराजित पौडेल र पौडेलकै टीमबाट महामन्त्री जितेका कोइराला दुवैले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने दाबी गरिरहेका छन्। नेतृत्वको दाबी गर्ने यो समूहमा अरू नेताहरू (प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत) पनि छन्।
कांग्रेसको संस्थापन, देउवा समूहमा पनि यसपटक निर्विरोध सभापति पदको उम्मेदवार अहिलेसम्म देखिएको छैन। देउवालाई सधैं साथ दिंदै आएका उपसभापति विमलेन्द्र निधिले यसपटक सभापतिमा आफैं लड्ने घोषणा गरेका छन् भने तेस्रो खेमाका नेता कृष्णप्रसाद सिटौला र गगन थापा समेत सभापति पदमै दाबी गरिरहेका छन्।
“ईसा मसीहको उपदेश क्रिश्चियनले बिर्सेजस्तै, लेनिनको शिक्षा स्टालिनले बिर्सेजस्तै, बीपीका कुराहरूसँग अहिलेका कांग्रेसलाई कुनै मतलब छैन।” – प्रदीप गिरि, नेता, नेपाली कांग्रेस
यी सबै सभापति पदका दावेदारहरू बीपीको विचार आफूले बोक्ने दाबी गर्छन्। कांग्रेसमा बीपीको नाम अलग राखेर नेतृत्वमा पुग्न असम्भव रहेको बुझ्न त नेता पौडेलकै अभिव्यक्ति काफी हुन्छ।
समाजवादी विश्लेषक एवम् कांग्रेस नेता प्रदीप गिरि बीपी कांग्रेसकै पहिचान बनेको बताउँछन्। तर, बीपीलाई बुझ्ने प्रयास भने कांग्रेसमा नभएको बताउने गिरि भन्छन्, “ईसा मसीहको उपदेश क्रिश्चियनले बिर्सेजस्तै, लेनिनको शिक्षा स्टालिनले बिर्सेजस्तै, बीपीका कुराहरूसँग अहिलेका कांग्रेसलाई कुनै मतलब छैन।”
तर, पार्टीको महाधिवेशन पूर्व, आमनिर्वाचनमा जाँदा तथा बीपी जयन्ती र स्मृति कार्यक्रममा सधैं कांग्रेसले बीपीलाई जोडदार सम्झने गर्छन्। आगामी फागुनमा महाधिवेशन घोषणा गरेको कांग्रेसमा अहिले बीपी सम्झनेहरूको होडबाजी नै छ। कतिसम्म भने मुलुक कोभिड महामारीको संकटमा फसिरहँदा पनि कांग्रेसले बीपी सम्झन भुलेन। गएको साउन पहिलो साता बीपीको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरियो।
नेता पौडेल समूहको असन्तुष्टि बीच लगातार एकपछि अर्को निर्णय गरिरहेका सभापति देउवाले २४ भदौ, बुधबारदेखि बीपीको १०७औं जन्मजयन्तीको अवसरमा देशभर तीनदिने कार्यक्रम घोषणा गरेका छन्। उपसभापति निधि यसपटक भौतिक सहभागिता संभव नभएकाले भर्चुअल माध्यमबाट बीपीको कार्यक्रम गरिने बताउँछन्। केन्द्रीय सदस्य डा.शेखर कोइराला भने कांग्रेसमा अहिले बीपीको तस्वीरमा माल्यार्पण गर्ने र नाम उच्चारण गर्ने काम मात्रै हुने प्रवृत्ति बढेको बताउँछन्। उनी भन्छन्, “राष्ट्रियता, लोकतन्त्र र समाजवाद बीपीको निष्कर्ष हो। यी तीनै पक्ष भुलेर न कोही बीपीको उत्तराधिकारी बन्न सक्छन्, न त कांग्रेस रहन सक्छन्।”
तस्वीरले छोप्यो विचार
२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्वहालीपछि नै बीपीले अगाडि सारेका यी तीन पक्ष कमजोर बनाउने र बिर्सने काम भएकोमा कांग्रेसका दुवै पुस्ताका (पुराना तथा नयाँ) नेताहरू सहमत छन्। लोकतन्त्रका लागि लडेका दलहरू २०४६ साल पछाडि सत्तामा गए पनि समाजवादी नीति तथा कार्यक्रम ल्याउन चुकेको विश्लेषक गिरि बताउँछन्। उनी भन्छन्, “हामी उत्पादन र सञ्चयको डरलाग्दो चक्रमा फस्यौं, जबकि समाजवादी पार्टीले वितरणलाई जोड दिनुपथ्र्यो, दिनुपर्छ।”
२०४६ पछि आठ पटक सरकारको नेतृत्व गरिसकेको कांग्रेसमा अहिले पनि बीपीले २०१६ सालमा ल्याएको बजेटको चर्चा भइरहनुमा कांग्रेसले समाजवादी नीति समात्न नसक्नुलाई नै कारण मान्छन्, डा. शेखर कोइराला। पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी र उनका अर्थमन्त्री सुवर्णशमशेर राणाले पार्टी नीति अनुसार समाजवादी बजेट ल्याएकैले राजा महेन्द्रले ‘कु’ गरेको पुराना पुस्ताका कांग्रेस नेताहरूको विश्लेषण छ। त्यो सरकारले बिर्ता उन्मूलन, जमीनदारी प्रथा उन्मूलन, जंगलको राष्ट्रियकरण, जमीनमाथिको स्वामित्वमा हदबन्दी, शाही नेपाल वायुसेवा निगमलाई नेपाल वायुसेवा निगम बनाउँदै राष्ट्रियकरण गर्नेजस्ता कार्यक्रम घोषणा गरेको थियो।
राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले बनेको कांग्रेसले २०१२ को वीरगञ्ज अधिवेशनबाट समाजवादी अर्थ–राजनीतिक कार्यक्रमलाई संस्थागत गरेको थियो। त्यही वैचारिक जगमा बीपी कोइराला नेतृत्वको सरकारले बजेट ल्याएको थियो। तर, राजा महेन्द्रले 'कु' गरेकाले ती कार्यक्रमहरू कार्यान्वयन गर्ने अवसर भएन। कांग्रेसको समाजवादी कार्यक्रमकै कारण राजा महेन्द्र क्रान्तिकारी भूमिसुधार नीति अख्तियार गर्न बाध्य बनेको बताइन्छ।
नेपाली कांग्रेसका नेताहरु: शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, सशांक काेइराला र गगन थापा । तर, पञ्चायतको अन्त्य पछाडि सत्तामा गएपछि कांग्रेसले समाजवादी कार्यक्रम बिर्सने काम गरेको तथ्यबारे नेता पौडेलले त एक वर्ष अगाडि ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ नामक पुस्तक नै लेखेका छन्। उनले उक्त पुस्तकमा कांग्रेसले २०४६ साल पछाडि लोकतान्त्रिक समाजवादको बाटो समात्न नसकेकैले कम्युनिष्टहरूको जनमत बढेको निष्कर्ष निकालेका छन्। साम्यवादी अधिनायकत्वको सपना देख्ने कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको बाटो हुँदै कांग्रेसलाई नै नराम्रो गरी पराजित गर्ने अवस्थामा पुग्नुमा वैचारिक पक्षबारे समेत खोजी गर्नुपर्ने पौडेलले उल्लेख गरेका छन्।
तर, केन्द्रीय सदस्य डा. शेखर त्यो बेलाको विश्व परिस्थिति नै नवउदारवादी युग रहेकाले कांग्रेस त्यसतर्फ बढ्न पुगेको बताउँछन्। उनी भन्छन्, “स्वास्थ्यमा त हामीले समाजवादी नीति लियौं, तर अन्यतर्फ सुधार गर्न चुक्यौं।” उनी, कांग्रेस सामाजिक न्यायमा आधारित कार्यक्रम ल्याउन चुकेको स्वीकार्छन्।
तर, २०५१ मा कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्ध भत्ता, आफ्नो गाउँ आफैं बनाऔं जस्ता कार्यक्रम ल्याएर धेरै हदसम्म जनमत तान्ने प्रयास गरे। जबकि, २०१२ सालबाटै कांग्रेसमा समाजवादी बन्ने र बनाउने अभियान शुरू भएको थियो। अधिवेशनले समाजवादी नीति लिनासाथ सभापति चुनिएका सुवर्ण शमशेरले मञ्चबाटै आफ्नो नाममा बारा र पर्सामा रहेको एक हजार बिघा जमीन सुकुम्बासी जनतालाई बाँड्ने घोषणा गरेका थिए। पछि बजेट भाषणका क्रममा उनले आफ्नो नाममा रहेको १२ हजार बिघा जमीन राष्ट्रियकरणको घोषणा गरे। अहिलेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, त्यही भूमि हो। सभापति सुवर्ण शमशेरको सिको गर्दै कांग्रेसका कैयौं नेताले आफ्नो नाममा रहेको जमीन राष्ट्रियकरण गरे।
“आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिंदैन। व्यक्ति नै समाजवादको जीवित तत्व हो। आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित तत्व व्यक्तिलाई खुशी बनाउनु हो। त्यसो हुनाले प्रजातन्त्र समाजवादको अभिन्न अंग हो ।” – बीपी काेइराला
तर, २०४७ साल पछाडि कांग्रेसले यसबारे बहस नै गर्न छोड्यो। “महाधिवेशन सधैं नेतृत्व हत्याउन केन्द्रित हुने र अरू बेला सरकारको छिनाझपटीमै समय सकिने हुन थालेपछि पार्टीको मूल सैद्धान्तिक कार्यक्रममाथि कहिल्यै छलफल हुन सकेन”, नेविसंघका पूर्व सभापति प्रदीप पौडेल भन्छन्।
बीपीले अगाडि सारेको अर्को पक्ष हो, प्रजातन्त्र। बीपी सधैं लोकतन्त्रलाई समाजवादसम्म पुग्ने मार्ग मान्ने गर्थे। “आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिंदैन। व्यक्ति नै समाजवादको जीवित तत्व हो। आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित तत्व व्यक्तिलाई खुशी बनाउनु हो। त्यसो हुनाले प्रजातन्त्र समाजवादको अभिन्न अंग हो”, वीरगञ्जमा सम्पन्न छैटौं महाधिवेशनमा बीपीले भनेका थिए।
बीपीले आफ्नै जीवनमा पनि पार्टीभित्र र बाहिर लोकतन्त्रको अभ्यास गरे, त्यसैका लागि आजीवन लडे। जेलमा रहेका टंकप्रसाद आचार्यदेखि सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईलाई आफैंले सभापति बनाए। तर, बीपी पछाडि जीवित रहेसम्म अर्कोले नेतृत्व नपाउने प्रवृत्ति हावी हुन थाल्यो।
अघिल्ला सभापतिहरूको बाटो पछ्याउँदै देउवाले पनि निर्धारित समयमा महाधिवेशन गरेनन् भने महत्वपूर्ण भ्रातृ संगठनहरू विघटित अवस्थामा छन्। महाधिवेशन सकिएको दुई महीनाभित्र गठन गरिनुपर्ने विभागहरू महाधिवेशन आउन ६ महीना अगाडि मात्रै गठन र विस्तार गरिंदैछ, जसको विरोधमा असन्तुष्ट पक्षले अनशनसम्मको कार्यक्रम घोषणा गरेको छ।
अलमलमा कांग्रेस
दक्षिण छिमेकमा जवाहरलाल नेहरू र उत्तरी छिमेक चीनमा माओत्सेतुङ जस्ता शक्तिशाली नेतृत्व रहँदा बीपी कोइरालाले प्रष्ट पारेको कांग्रेसको राष्ट्रियताबारे नीतिलाई पछि सत्ता बार्गेनिङको दाउमा राखिएको आरोप कांग्रेस नेतृत्वमाथि लाग्यो। कतिसम्म भने आफ्नै नेतृत्वमा २०७२ को संविधान जारी भएको दाबी गर्ने कांग्रेसमा संविधान संशोधन हुनुपर्ने पक्षमै नेताहरू देखा परे। जसको लाभ भने नेकपालाई मिल्यो।
अहिले संसदीय राजनीतिमा इतिहासमै पहिलो पटक कमजोर छ कांग्रेस, संघदेखि स्थानीय तहसम्म नेकपा दुई तिहाइ नजिक जनमत प्राप्त छ। “स्पष्ट कार्यक्रम बोकेको कांग्रेस सधैं अस्पष्ट बन्न पुग्यो। कम्युनिष्टलाई हेर्ने दृष्टिकोण प्रष्ट भएन, जनतालाई अलमलमा राख्न पुग्यौं”, केन्द्रीय सदस्य डा. शेखर कोइराला भन्छन्। २०४६, २०६२ र २०७२ मा कम्युनिष्टसँग एकता गर्नु आवश्यकता नै भए पनि अरू बेला समेत लगातार लाभको पद लिन भागबण्डातिर कांग्रेस फस्न पुग्नु दुर्भाग्य भएको उनी बताउँछन्।
नेता पौडेल, बीपीले त्यसबेला भनेको समाजवादबारे पुनः परिभाषित गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता देख्छन्। उनी भन्छन्, “बीपी कोइराला जडतामा विश्वास गर्नु हुन्थेन, समाजवादमा कसरी पुग्न सकिन्छ भन्नेबारे तत् समाजको विश्व परिवेश हेर्न सक्नुहुन्थ्यो।” अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुसार मुलुक चलिरहेकाले पार्टीको सैद्धान्तिक कार्यक्रमबारे छलफल हुनुपर्ने उनको जोड छ। बीपीलाई देवत्वकरण गर्ने भन्दा पनि उनलाई बुझ्नुपर्ने तर्क गर्दै प्रदीप गिरि भन्छन्, “आजको आवश्यकता असमानता, विभेद, विचारहीनता र जडसूत्रवाद विरुद्ध लड्नु हो। तर, जसरी कांग्रेस बीपीको फोटोमा मात्रै अलमलिएको छ, यसले कांग्रेसको अस्तित्व नै संकटमा छ।”