केका लागि लड्यौं फोकल्यान्ड युद्ध?
फोकल्यान्डमा हामी गोर्खाली जसका तर्फबाट ‘दुश्मन’सँग लड्यौं, उसलाई जिताएरै छाड्यौं। तर, अहिले लाग्छ-त्यो जित हाम्रो थिएन।
इलाम जिल्लामा हालको सूर्योदय नगरपालिका अन्तर्गत तकपत भन्ने ठाउँ छ। तकपतलाई छबिसे पनि भन्छन् मान्छेहरू। नेपाल-भारत सीमाको २६ नम्बरको जङ्गे पिलर त्यहीं पर्ने भएकाले तकपतलाई छबिसे भनिएको हो। छबिसेको सानो पानीपँधेरोबाट मेची नदी शुरू हुन्छ। मेरो गाउँ मेची नदीको मुहान हो।
त्यही तकपतमा सन् १९६५ मा बुबा जङ्गवीर र आमा शान्तिको जेठो सन्तानका रूपमा म जन्मिएँ। सरकारी कागजपत्रमा भने सन् १९६२ को जन्म छ। बुबा जङ्गवीर भूतपूर्व गोर्खा हुनुहुन्थ्यो। उहाँको आर्मी नम्बर २११३७६७७ हो। उहाँले १५ वर्ष सेनामा जागीर गरेपछि लान्स कर्पोरलबाट पेन्सन पकाउनुभयो। पेन्सन निस्कने वेला उहाँ सेभेन गोर्खा रेजिमेन्टको सेकेन्ड बटालियनमा हुनुहुन्थ्यो।
बुबा सन् १९४९ देखि १९५८ सम्म मलायामा हुनुहुन्थ्यो। मलाया भनेको अहिलेको मलेशिया हो, उति वेला मलाया बेलायतको उपनिवेश थियो। त्यहाँको ‘मलायन कम्युनिस्ट पार्टी’ ले बेलायती सरकार विरुद्ध छापामार युद्ध छेडेको थियो, जसलाई पार्टीले ‘वार अफ न्याशनल लिबरेसन’ नाम दिएको थियो। मलायाका उग्रवादी कम्युनिस्ट छापामारलाई बेलायत सरकारले दुश्मन/डाँकु भन्थ्यो। मलाया युद्धमा दुश्मन मारेको र कहिले दुश्मनले झन्डै सिध्याएको बुबाको कथा चाख मानेर सुनियो। त्यहाँ गुरिल्ला युद्ध सन् १९४८ देखि १९६० सम्म चलेको थियो। उक्त युद्धलाई अंग्रेजहरू भने ‘वारफेयर’ भन्न रुचाउँथे।
युद्धपछि बेलायतले गोर्खालाई मलाया युद्धमा भेदभाव गरेको कुरा उठिरहेको थियो। पछि म आफैं गेसो (गोर्खा आर्मी एक्स सर्भिसम्यान्स् अर्गनाइजेशन) ले उठाएको ‘गोर्खा आन्दोलन’ मा लागेपछि थाहा पाएँ कि त्यस गुरिल्ला युद्धमा अनगिन्ती गोर्खा प्रयोग भएका रहेछन्। सुने अनुसार ब्रिटिश रक्षा मन्त्रालयले एउटा गोर्खा सिपाही बराबर मलाया सरकारबाट प्रति महीना उति वेला ४०० मलायन रिङ्गिट असुलेर गोर्खालाई ४० देखि ४२ रिङ्गिट मात्र भुक्तानी गर्थ्यो।
युद्धमा प्रयोग भएका गोर्खा सिपाहीहरूको संख्या बेलायत सरकारले मलाया सरकारलाई बढी देखाउँदो रहेछ। यसो गर्दा बेलायत सरकारले बढी पैसा पाउने भयो। गुरिल्ला युद्ध समाप्तिपछि गोर्खालाई तिमीहरूको काम सकियो अब हामीलाई तिमीहरूको आवश्यकता छैन भन्दै जम्माजम्मी मलायन रिङ्गिट २०० देखि ३०० सम्म बक्सिस दिँदै नेपाल फर्काइएका भुक्तभोगी योद्धाहरू म आफैंले धेरै भेटें।
तीमध्ये इलामको साविक साङ्रुम्बा गाविसमा भेटिएका ९२ वर्षीय लालबहादुर मगरको कथा सबैभन्दा चाखलाग्दो थियो। उनको भनाइमा उनी ब्रिटिश आर्मीमा भर्ती भएर दोस्रो विश्वयुद्धमा बर्मास्थित मोर्चामा लडिरहँदा जापानी सेनाले जित्दै आएपछि ब्रिटिश पक्ष पछि हट्नुपर्ने भयो। त्यसैले बर्माको सिताङ नदीको पुल दिएको समयभित्र तरिसक्नुपर्ने आदेश अनुसार लालबहादुरको ग्रूप केही ढिलो हुँदा ब्रिटिश पक्षले नै पुल बमले उडाइदियो। तब कति हो कति गोर्खाली हताहत भए, लेखाजोखा भएन।
भाग्यवश, लालबहादुर र उनका केही साथी ज्यान जोगाउन सफल भएछन्। उनले सिताङ नदी गोर्खालीको रगतले रंगिएको, मरेका वा डुबेका गोर्खालीका अनगिन्ती ह्याट (छत्रे टोपी) ले नदी छपैक्कै ढाकेको आफ्नै आँखाले देखेको सुनाए। शायद त्यसैको सम्झनामा आज पनि गोर्खाली पल्टनहरूमा वार्षिक रूपमा आयोजना हुने पौडी प्रतियोगितामा सिताङ रेस भनी कम्प्लेट कम्ब्याट ड्रेस र बूट लगाई, राइफल र गोलीगट्ठा बोकेर नदी पार गर्नुपर्ने बाजी गराइन्छ।
त्यसपछि गोर्खाली समूहबाट छुट्टिएका लालबहादुर र उनका साथीहरू कैयन् दिनसम्म भोकभोकै जङ्गलमा लुकिछिपी बसे। तर, एक दिन जापानी सेनाले घेराबन्दी गरी युद्धबन्दी बनाइहालेछ। जापानीको अधीन रहँदा पनि गोर्खालीहरूले जस्तोसुकै काम छिटोछरितोसँग गरेको देखेपछि उनीहरूले आफ्नो फौजी ड्रेस लगाइदिई, डाँडामा बसेर ब्रिटिश पक्षका गतिविधि नियालेर खबर गर्ने काममा खटाएछन्।
यसरी लालबहादुरले जापानीहरूको समेत विश्वास जित्दै गए। एक दिन उनलाई ब्रिटिश युद्ध मोर्चाभित्रकै खबर लिनू भनी पठाइएछ। उनी ज्यानको परवाह नगरी सुटुक्क ब्रिटिश मोर्चाभित्र पसेछन् र भनेछन्, “म गोर्खाली हो, सिताङ नदी पार गर्दा छुट्टिएँ, मलाई जापानीहरूले पक्रेर राखे, मलाई गोली नहान, मलाई नमार।”
लालबहादुरले यसरी जापानी फौजी पोशाक र राइफल सहित आत्मसमर्पण गर्दा एक छिन त गोर्खाली सेना सहित ब्रिटिश अफिसरहरू तिनछक परेछन्। उनलाई फेरि ब्रिटिश पक्षले युद्धबन्दी सरह राखेर लामो छानबिन गरेछ। उनको कुरा सही ठहरिएपछि फेरि नोकरीमा त राखियो, तर उनलाई आफ्नै साथी र कतिपय ब्रिटिश अफिसरहरूले विश्वास नगरे जस्तो लाग्न थालेछ। साथीहरूले ‘जापनीज’ भनेर बोलाउन थालेपछि असह्य हुन्थ्यो रे। त्यसैले युद्ध समाप्त हुनासाथ ‘म घर जाने’ भन्दै ६ वर्षको जागीरबाट छुटकारा लिएका रहेछन्।
लालबहादुर मगरको घर इलाम सदरमुकामबाट एक घण्टाको हिंडाइमा पुगिने भए पनि उनलाई भेट्न निकै प्रयत्न गर्नुपरेको थियो। उनी भेट्न त के हाम्रो नाम सुन्नासाथ गुमनाम भइहाल्ने। एक दिन छद्मभेषी बनेर पुग्यौं। २०४५ सालको भूकम्पले घर लडाएकाले गोठमा बस्ने गरेका उनी केही समयअघि श्रीमती पनि गुमाएपछि एक्लो भएका रहेछन्। एरिया वेलफेयर सेन्टर फिदिमले आफ्नो लालबूक लगेर असली ब्रिटिश आर्मी नम्बरको सट्टा अर्कै राखी मासिक ३,५०० र केही सिटामल ट्याब्लेट दिने गरेको उनले सुनाए।
हामीले धेरै विश्वास दिलाएपछि मात्र कुरा गर्न तयार भएका थिए। गोर्खा वेलफेयरले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यकर्तासँग भेटघाट गरेको थाहा पाए खाईपाई आएको पेन्सन र सुविधा खोसिने चेतावनी दिएकाले हामीसँग तर्किएका रहेछन्। त्यसपछि भने उनी हाम्रो सम्पर्कमै थिए। वृद्ध अवस्थामा पनि एकपल्ट दमक र एकपल्ट धरानमा आयोजित पूर्वाञ्चल क्षेत्रीय भेलामा सहभागी भए। अहिले उनको निधन भइसकेको छ।
०००
बाबा जङ्गवीर हरेक वर्ष पेन्सन थाप्न धरानको घोपा क्याम्प जानुहुँदा म लगायत बहिनीहरूलाई पालैपालो धरान घुमाउन लैजानुहुन्थ्यो। क्याम्पभित्रको सरसफाइ, सजावट र ‘जहाँतहीं थुक्न मनाही’ अनि ‘चौरबाट नहिंड’ लेखिएको बोर्ड देखें। गोराहरूको देशको विकास र सभ्यता जसरी पनि देख्ने, हेर्ने र बुझ्ने चाहना मनमा बस्यो।
त्यस वेला हरेक तीन वर्ष काम गरेपछि गोर्खा सिपाहीले ६ महीनाको छुट्टी पाउँथे जसलाई ‘लङ लिभ’ भनिन्थ्यो। लङ लिभमा आएका लाहुरेहरूको टाँटफाँटले हामी युवालाई लोभ्याउँथ्यो।
०००
धरानको घोपा उति वेला ‘ट्रान्जिट क्याम्प’ जस्तो थियो। विदेशबाट आएका लाहुरे घोपामा आएपछि मात्र आफू कहिले फर्कने, आफ्नो हिसाब के कस्तो छ? पाउनदार (पाउने रकम) कति छ सबै थाहा पाउँथे। यसरी लङ लिभमा आएको लाहुरेहरू घोपा क्याम्पको नर्थ गेटबाट लर्को लागेर सुटकेस गुडाउँदै बाहिर निस्केको देख्दा मैले पनि गोर्खा लाहुरे बनेको सपना देख्न थालें। आफू पनि लेन्सवाला जापनिज ‘यासिका’ क्यामरा भिरेर छुट्टीमा आएको कल्पना गर्दा मनै फुरुङ्ग हुने...।
गोर्खा भर्ती लाग्न ५२ केजी वजन र छाती फुलाउँदा ३६ इन्चको हुनुपर्ने न्यूनतम मापदण्ड रहेको छ। मैले १४ वर्षदेखि नै छाती फुलाउन, ह्याभिङ सेटअप गर्न, रनिङ गर्न अनि साधारण व्यायाम गर्न शुरू गरेको थिएँ। कहिले आमालाई दंग्याएर कुखुरीको अन्डा माग्थें त कहिले बहिनीहरूको ‘पेवा कुखुरी’ को अन्डा खाइदिन्थें। बिहानबेलुका दूध, अन्डा र भिजाएको काँचो चनालाई ‘डाइट’ बनाउँथें। बहिनीहरूको कुखुरी र अन्डा हिनामिना गरे बापत उनीहरूलाई लाहुरे भएपछि हङकङबाट राम्रो जामा ल्याइदिने शर्त राख्थें।
समय यसरी बित्दै गए। मेरो मावली दार्जीलिङको घुम जोरबंगला भएकाले कहिले मेचीवारि र कहिले मेचीपारि गरेर १६ वर्ष बितेको पत्तै भएन। बोर्डरवारिको घर र पारिको मामाघर आउजाउ गर्दैमा दिने बिते।
भर्ती सपना
मैले मात्र होइन, भर्ती हुन चाहने सबै केटाहरूले उमेर बढाउने गर्थे। गोराहरूले खिचेको पुराना गोर्खा सैनिकको फोटो हेर्नुभयो भने पनि त्यहाँ १५ वर्ष जतिका केटाहरू भर्ती भएका देखिन्छन्। यो कुरा गल्ला, गोरा र हामी नेपाली सबैलाई थाहा छ। गल्ला भनेको गाउँबाट युवाहरू छान्ने पूर्व ब्रिटिश गोर्खा लाहुरे हुन्। गोरालाई जनशक्ति चाहिने, हामी नेपालीलाई रोजगार। त्यही भएर यसलाई ‘ओपन सेक्रेट’ भन्दा पनि हुन्छ।
त्यति वेला धरानको घोपा क्याम्पमा भर्ती लिइन्थ्यो। जति पनि पूर्वका मान्छे भर्ती हुन्थे, त्यहींबाट हुन्थे। मलाई पनि ‘ड्याम बूट’ लगाउने र राइफल भिर्ने रहर लाग्यो। केटाहरू सानैमा भर्ती लागेको राम्रो मानिन्थ्यो। भर्ती भएपछि केटोले गरिखाने लाइन समात्यो भन्ने हुन्थ्यो। अभिभावकलाई छोरो तह लगाइयो र आफ्नो कर्तव्य पूरा गरियो भन्ने भान पर्थ्यो। धेरथोर कमाइ पनि हुने र भविष्य सुरक्षित हुने भएकाले छोरो लाहुरे बन्दा अभिभावक खुशी नै हुन्थे।
म सन् १९८० मा धरानबाट बेलायत आर्मीमा भर्ती भएँ। भर्ना त लिएँ, तर उमेरमा सानो देखेर त्यो लटमा हङकङ नपठाई रनरको दर्जा दिएर क्याम्पभित्रै राखे। रनर भनेको अफिसमा चिठी पत्र ओसारपसार गर्ने पियन जस्तै हो। तीन महीनापछि भर्ती भएका अन्य साथीसँग मिसाएर हङकङको सेकोङस्थित गोर्खा रिक्रुट ट्रेनिङ डिपोट पठाइयो। वास्तविक उमेर साढे १६ वर्ष थियो, तर भर्ती हुनलाई उमेर मिलाएर त्यस्तै १८ वर्ष बनाएको थिएँ।
हङकङको सेकोङमा नौ महीने आधारभूत ट्रेनिङ सकेपछि ‘वान सेभन जिआर’ मा पोस्टिङ भएँ। सबैले बुझ्ने गरी भन्दा यो ‘सेभेन्थ ड्युक अफ एडिनबर्गस् ओन गोर्खा राइफल्स’ को फस्ट बटालियन भन्ने बुझिन्छ। ८०० जना जति मान्छे भएको मेरो बटालियन चाहिं इन्फेन्ट्री (पैदल फौज) थियो। यसको नेतृत्व लेफ्टिनन्ट कर्णेलले गर्थे। आधारभूत ट्रेनिङमा राइफल प्रयोग, युद्धकला, फिटनेस, ड्रिल लगायतका कुरा सिकाइन्थ्यो।
बेलायत प्रस्थान
गोर्खा पल्टनको आर्मी बेस र एचक्यू बिजी (हेडक्वार्टर, ब्रिगेड अफ गोर्खाज) हङकङमा थियो। त्यहाँको रेजिमेन्टलाई हरेक दुई वर्षमा एक पटक बेलायत ल्याइन्थ्यो। सो वेला बेलायत आउने दुई वर्षे पालो अन्तर्गत १/७ जिआर दुई वर्षका लागि बेलायतमा थियो।
हामी पनि १/७ जिआरमा पोस्टिङ भयौं र हामीलाई ट्रेनिङ दिने गुरुजीहरूसँगै बेलायतको अल्डरसट नजिकै चर्च क्रुकहाम भन्ने ठाउँमा रहेको गोर्खा क्याम्पमा आयौं। हङकङबाट पहिलो पोस्टिङमा नै बेलायत आउन पाउने सिपाही दोस्रो पटक पनि बेलायत आउन पाउने सम्भावना हुने हुनाले पुराना गुरुजीहरू हामीलाई लक्की ग्रूप भन्थे। आफूभन्दा पुरानो भर्ती र तालीम सिकाउनेलाई गुरुजी भनिन्छ। बेलायतको पैसा र हावापानी हङकङको भन्दा बढी राम्रो मानिन्थ्यो। उतिवेला हामी सिपाही महीनावरी तलब ७० पाउन्ड थाप्थ्यौं।
बेलायतमा फ्लीट भन्ने ठाउँको नजिकै जङ्गलमा नाइट एक्सरसाइज गर्दागर्दै मध्यरातमा अर्जेन्टिनाले फोकल्यान्ड कब्जा गरेको खबर आएकाले सबै एक्सरसाइज क्यान्सिल गरेर क्याम्प फकाईयो। यसअघि हामीले फोकल्यान्डको नामै सुनेका थिएनौं।
हामीले हतार हतारमा कसम परेड (शपथ ग्रहण कार्यक्रम) भ्यायौं। फोकल्यान्ड युद्धमा होमिनुअघि युद्धको पूर्वाभ्यास गर्न बेलायतको वेल्समा पर्ने स्यान्डी ब्रिज गयौं। त्यहाँ सन् १९८२ को मे महीनाको २ देखि ११ सम्म बटालियन स्तरको पूर्वाभ्यास गर्यौं।
तालीम सकेर फर्केने वेला हामी चढेको ल्यान्डरोभर गाडी दुर्घटना भयो। गाडीले गोली गट्ठा बोकेको थियो। यसैले थिचेर सार्जन्ट रणबहादुर लिम्बू (२११५७०४७) को घटनास्थलमा ज्यान गयो।
कलर सार्जन्ट कमलकुमार लावती (२११५७३४०) र राइफलम्यान टिकजीत सुनुवार (२११६४०००) गम्भीर घाइते हुनुभयो।
०००
हामीलाई पढाइने र हामीले पढ्ने भनेको बेलायती आँखाबाट लेखिएको इतिहास हो। हामीलाई बताइए अनुसार फोकल्यान्ड बेलायतको भूमि रहेछ। सन् १८३३ देखि नै त्यहाँ बेलायती शासन रहेछ। अर्जेन्टिनाले पनि यसलाई आफ्नो भूमि भन्दो रहेछ। २ जून १९८२ मा अर्जेन्टिनी सेनाले अप्रेसन रोजारियो नाम दिएर फोकल्यान्ड प्रवेश गरी त्यहाँ कब्जा जमाएछ।
अर्जेन्टिनीले फोकल्यान्डमा धावा बोलेको ५६ दिनपछि बेलायत सरकारले युद्धका लागि टास्क फोर्स बनायो। टास्क फोर्समा फिफ्थ इन्फ्न्ट्री ब्रिगेडको नेतृत्वमा कमान्डो, प्यारासुट रेजिमेन्ट र १/७ जिआरलाई सम्मिलित गरियो। १२ मे १९८२ को दिन बेलायतको साउथह्याम्पटन बन्दरगाहबाट क्यूई-टु (क्वीन एलिजाबेथ-२) पानीजहाज, गोर्खा सहित तीन हजारभन्दा बढी सेना लिएर युद्धका लागि रवाना हुने भयो।
फोकल्यान्ड प्रस्थान
बिदाइको क्षणमा जहाजको प्रवेशद्वारमा एकातिर गोर्खा पल्टनका पण्डित भवानीप्रसाद उपाध्याय मङ्गल मन्त्रोच्चारण गरिराख्नुभएको थियो भने अर्कोतिर पल्टनको पाइप एन्ड ड्रम्स (मसकबाजा) ले बेलायतको राष्ट्रिय धुन (गड सेभ द क्वीन...) बजाइरहेको थियो।
गोराहरूका आफन्तले समुद्री किनारा टन्नै भरिएको थियो शायद मनोबल उच्च पार्नको लागि होला। उनीहरू यति सम्म उच्छृङ्खल बनिरहेका थिए कि गोरिनी केटीहरू सिपाहीहरूलाई आफ्नो भित्री वस्त्र खोलेर फ्याँकिरहेका थिए। गोरा सिपाही त्यो वस्त्रलाई एंकर (पानीजहाज अड्काउने फलामे अङ्कुश) ले तानातान गरेर आफूसँग राख्न वा रमाइलोका लागि हारालुछ गरिरहेका थिए।
हामी गोर्खालीहरूको भने प्रतिनिधिका रूपमा गोर्खा कमिशन अफिसर मेजर रामबहादुर गुरुङका श्रीमती र उहाँको छोरा आउनुभएको थियो। मेजरकी श्रीमतीले गुन्यूचोली लाउनुभएको थियो, त्यो देख्दा परिवारका सदस्य देखे जस्तो लाग्ने। हङकङ छाडेपछि गून्युचोली लाउने कोही पनि नेपाली बेलायतमा देखिएका थिएनन्।
पानीजहाजको माथिल्लो भागबाट हेर्दा मेजर गुरुङकी श्रीमती रुँदै हुनुहुन्थ्यो र छोराले उहाँलाई सम्हालिरहेका थिए। त्यो देख्दा मैले आफ्नी आमा सम्झिएँ। त्यस्तैमा क्यूई-टु ट्वाँट्वाँ गर्दै एकोहोरो कडा हर्न बजाउँदै अगाडि बढ्यो। म आँखाले भ्याएसम्मको समुद्री क्षितिज हेर्दै एकोहोरिएँ। नढाँटी भन्नुपर्दा मेरो भित्री मन रोइरहेको थियो, तर सिपाहीको पहिरनमा आँसु खसाल्न नहुने...।
जीवनमा पहिलोपल्ट पानीजहाज छिरेको भएर होला, सबै कुरा नौलो थियो। संसारकै शौखिनहरूको हलिडे शिप (छुट्टी मनाउने) भनेर चिनिएको रहेछ हामी चढेको जहाज। जहाज साँच्चै नै आरामदायी थियो। फौजीले लापरवाही गर्लान् र उनीहरूको आवतजावतले भुइँ कोरिएला वा अन्य ठाउँमा क्षति पुग्ला भनेर जहाजका भुइँ र भित्ता कागजको बाक्लो गाताले ढाकिएका थिए।
जहाजको अघि र पछिको भागमा हेलिप्याड थिए। हेलीले नजिकको बजारबाट दैनिक चिठीपत्र आदानप्रदान गर्थ्यो। डेकमा विपन ट्रेनिङ गर्थ्यौं र यसका लागि प्रशस्त जग्गा थियो। एक-दुईपल्ट हामीले समुद्रमा एसएलआर फायर गरेर ट्रेनिङ गरे जस्तो पनि लाग्छ, तर ठ्याक्कै सम्झना भने भएन। धेरै लामो समय भयो, बिर्सियो।
पानीजहाज कस्तो थियो भन्नुहुन्छ भने बडो ठूलो। डेकमा परेड खेल्न मिल्ने, तीन वटा फिल्म हल भएको, एक्सरसाइज गर्न मिल्ने, स्वीमिङ पुल र हक्की कोर्ट भएको। बजाउनका लागि ठूला पियानोहरू पनि थिए। बहुत शानदार र आरामदायी। अफिसर र हामीहरू बिहान सँगै फिल्म हेर्थ्यौं। दिनमा दुइटा क्यान बीयर फ्री बाँडिन्थो। पहिले-पहिले आफ्नो भाग लिएर गुरुजीहरूलाई दिएर खुशी पारियो भने पछि चाख्दाचाख्दै आफैंलाई पिउने बानी लाग्यो।
पानीजहाजमा चार-पाँच जना फोटोग्राफर पनि थिए। चित्र कोर्ने आर्टिस्ट पनि थिए। बारक्लिज ब्यांकको शाखा पनि थियो भन्ने सुनियो। ब्यांक भए पनि हामीलाई तलब सोझै हातमा ‘पे परेड’ भनेर बाँडिने हुँदा ब्यांकको बारेमा थाहा भएन। पे परेड गर्ने भिन्नै ‘गोर्खाली काइदा’ थियो। सिपाहीहरू लाम लागेर उभिन्थे। अफिसरहरू पैसाको झोला टेबलमा राखेर कुर्सीमा बस्थे। सिपाहीहरू आफ्नो आठ अङ्कको आर्मी नम्बर लिएर रेडी भएर बस्नुपर्थ्यो। जति दिए पनि फलानो महीनाको पे (तलब) म (फलानो) ले ठीक पाएँ सर भनेर बक्सिस पाए जस्तो गरी सलाम ठोकेर हिंड्नुपर्ने।
साउथह्याम्पटनबाट हिंडेको १६ दिनपछि २८ मे १९८२ का दिन साउथ जर्जिया आइल्यान्ड पुग्यौं। यो ठाउँ ब्रिटिश ओभरसीज टेरिटोरीज अन्तर्गत साउथ एट्लान्टिक ओसनमा पर्छ। त्यहाँ जहाजले तेल भर्यो। त्यसपछि जहाज एसेन्सन आइल्यान्डतर्फ अगाडि बढ्यो जहाँ ब्रिटिशको एउटा सानो आर्मी क्याम्प पनि छ। यो पनि साउथ एट्लान्टिक ओसनमै पर्छ।
कुन्नि किन हो, क्यूइ-टुलाई एसेन्सन आइल्यान्डबाट अघि बढाइएन। हामी सिपाहीलाई सबै कुरा थाहा हुँदैन। के हुन सक्छ भने फोकल्यान्ड पनि नजिकै आउन लागेको र कथंकदाचित् अर्जेन्टिनाले हमला गरेमा धेरै क्षति हुने भएकाले अर्को जहाजमा हामीलाई बस्न भनिएको हुन सक्थ्यो। युद्धमा हिंडेको मान्छेले सबै कुरा सोधी बस्न पनि भएन।
एसेन्सन आइल्यान्डमा पानीजहाज बदली भयो। क्यूई-टू छाडेर हामी नोरल्यान्ड भन्ने ‘वार शिप’ मा चढेर सान कार्लोस बेतिर लाग्यौं। नोरल्यान्ड जहाज राडार र मिसाइल जडित थियो। यसलाई चारैतिरबाट पनडुब्बीले पहरा दिइएको थियो। नोरल्यान्डमा युद्धबन्दी भनेर ब्यानर टाँसेको थियो। चार-पाँच जना अर्जेन्टिनी सिपाहीलाई युद्धबन्दी गराई नोरल्यान्डमा राखेको रहेछ।
उनीहरूको आँखामा कालोपट्टी बाँधिएको थियो। ती नआत्तिऊन् भनेर र चिसो हावा खुवाउन वेलावेला उनीहरूलाई जहाजको बाहिर लगेर डेकमा केही क्षण उभ्याइन्थ्यो। युद्धबन्दी भएको पानीजहाजमा दुश्मनले आक्रमण नगर्लान् भनेर युद्धबन्दीलाई डेकमा ल्याएर देखाउने गरिएको रहेछ। जहाजमा आक्रमण भयो, तर हामीलाई केही भएन।
मलाई पनि एक पटक युद्धबन्दीलाई भित्रबाहिर गराउने ड्यूटी मिलेको थियो। यूएन (राष्ट्रसंघ) को युद्ध सम्बन्धी सिद्धान्त अनुसार युद्धबन्दी भएको जहाजमा आक्रमण गर्नु युद्ध उल्लंघन गर्नु हो। अर्कातर्फ बेलायतले पनि युद्धमा हिंडेका सिपाही भएको पानीजहाजमा ‘प्रिजनर अफ वार’ लेखेको थियो। यो पनि युद्ध विरोधी कार्य थियो।
०००
साउथ एट्लान्टिक महासागरको मध्यभागको ठूलो छालमा सानो नोरल्यान्ड युद्धपोत ढाक्ने गरी आएको समुद्री छालले हामीलाई सुतिरहेको बेडबाट भुइँमा नै झार्ने गरी हल्लाएपछि सबै सिपाहीहरू सी सिकनेसबाट आजित भए। बान्ता गर्दागर्दा आन्द्रै बाहिर निस्केला जस्तो हुने। नवाक्ने त कोही थिएनन्।
विपक्षीबाट आक्रमण भएमा वा हुन लाग्यो भनेर सचेत गराउने सङ्कटकालीन घण्टी बजेपछि जहाँ छ त्यहीं सुत्नुपर्ने नियमले दिक्कै लगाउने। १ जून १९८२ बिहान फेरि सङ्कटकालीन घण्टी लाग्यो। हामी बेडबाट भुइँमा लम्पसार परियो। अर्जेन्टिनाले पानी भित्रबाट मिसायल आक्रमण गरेको रहेछ। हाम्रो पनडुब्बीले निष्क्रिय पारिदियो भनेर सुनाइयो।
बिहानको ब्रेकफास्ट खाँदै गर्दा सान कार्लोस बे आइसकिएको रहेछ। यो फोकल्यान्डको पूर्वी भागमा पर्दो रहेछ। फोकल्यान्डलाई पूर्व र पश्चिम गरी दुई भागमा बाँडिएको रहेछ।
नोरल्यान्डबाट झर्नुअघि हाम्रो फस्ट सेभेन जीआर कमान्डिङ अफिसर लेफ्टिनन्ट कर्णेल माइक मोर्गनले ‘तिमीहरूको बाउबाजेदेखि ब्रिटिश सरकारलाई ठूलो सहयोग मिलेको छ। त्यो इतिहास र शान कायम राख्ने तिमीहरूको पालो आएको छ भन्ने विश्वास गरेका छांै’ भनेर छोटो स्पीच नेपालीमै दिनुभयो। उहाँले भनेको वाक्य नै यही हो, मलाई कण्ठै छ। यो सुनेपछि मेरो शरीरमा फुर्ती आयो। जोशले टुप्पीदेखि पैतालासम्म रगत उम्लेर आयो।
फोकल्यान्डमा
ठूलो पानीजहाज किनारासम्म नआउने भएकाले सानो खालको पानीजहाज (ल्यान्डिङ शिप लजिस्टिक बोट) बाट हामीले जमीन टेक्ने तयारी गर्यौं। यस्तो खालको जहाज किनारासम्मै आउँछ। हामी उक्त एलएसएल बोटभित्र उभिएर हात समातासमात गरेर उभिएरै किनारासम्म पुग्यौं। उभिँदा नलडियोस् भनेर हात समातेका थियौं।
सान कार्लोसबाट हाम्रो कम्पनीलाई डार्विन भन्ने ठाउँमा ब्राभो नोभेम्बर भन्ने हेलिकोप्टरले ओसार्यो, जहाँ तीन वटा मात्र घर थिए। यो ठाउँमा दुई दिनअघि टू पारा भन्ने ब्रिटिश पल्टनले अर्जेन्टिनी फौजलाई तहसनहस बनाएको थियो। सेकेन्ड पाराका कमान्डिङ अफिसर हमला सफल भएपछि हेलिकोप्टरमा आफ्ना फौजलाई भेट्न युद्धभूमिमा पुगेका थिए। आत्मसर्मपण गरिसकेका अर्जेन्टिनी सेनाले आत्तिएर आफ्ना जीपीएमजी (जनरल पर्पोज मशिन गन) पोस्टबाट ‘र्यापिड ब्रस्ट’ फायर गरे। आक्रोशित ब्रिटिश सेनाले जवाफी कारबाही गर्दा अर्जेन्टिनी पक्षमा ठूलो हताहती भएको थियो।
हामी त्यहाँ पुग्दा शत्रु पक्षका सिपाहीका लास, हतियार, बन्दोबस्तीका सामग्री र हेल्मेटहरू छरपस्ट देखिए। अर्जेन्टिनाका युद्धबन्दीलाई निश्शस्त्र पारी आफ्नै सहयोद्धाको लास ट्र्याक्टरमा जम्मा पार्न लगाइएको थियो। उनीहरू लास उचाल्दै हाल्दै थिए। लासको चाङ बीभत्स थियो। भुरा माछा थुपारेको जस्तो। हाम्रो मुटु भित्रभित्रै काँपेको थियो। तर, अर्जेन्टिनी फौजहरू भने हामीलाई पहिलोपल्ट देखेर गोर्खा...गोर्खा.. भनेर डराए जस्तो, तर्सिए जस्तो गर्थे।
खासमा यस्तो हल्ला चलेको रहेछ- ‘गोर्खासँग दैविक शक्ति भएको हतियार हुन्छ जसलाई खुकुरी भनिन्छ। त्यसलाई दापबाट निकालेपछि भोग खुवाउनै पर्छ। भेट्टाए शत्रु काट्ने नभए आफ्नै हातको औंला काटेर भोग दिई खुकुरी दापमा हाल्नुपर्छ। गोर्खालाई खानका लागि रासन चाहिंदैन, उनीहरू साथीको शव खाएर पनि लड्छन्।’
यस्तो हल्ला सुनेर उनीहरू डराएका थिए। हल्ला चाहिं बेलायतीले नै चलाएका हुन भन्ने सुनियो। गोर्खा यस्ता बहादुर सिपाही हुन्, उस्ता विश्वासिला योद्धा हुन् भनेर हाम्रो बारे हल्ला बीबीसी लगायत मिडियाहरूले पनि फैलाएका थिए। युद्धमा प्रयोग गरिने त्यो एउटा प्रोपगान्डा थियो।
त्यसैको भोलिपल्ट ‘टू पारा’ अगाडि बढ्यो। गोर्खा फौजलाई त्यो ठाउँ डिफेन्स (घेरा हाली मोर्चा बन्दी) गर्ने कार्यादेश भयो। हामीले ट्रेन्च (खाल्डो) खन्यौं र फाइटर प्लेनहरूबाट फायरिङ हुँदा पनि बच्न सकिने ओभरहेड प्रोटेक्शन सहितको ट्रेन्च बनायौं। अनि, एकबाट अर्को ट्रेन्चमा घस्रेर पुग्न सक्ने बाटो सहितको ट्रेन्च बनाएर बन्दोबस्तीका साथ बस्यौं।
फोकल्यान्ड साह्रै नै चिसो ठाउँ रहेछ। हामी पुग्दा पानी परिरहेको थियो। धेरैजसो समय सिमसिम पानी पर्ने भएकाले जताततै हिलो मात्र हुने। २४ घण्टामा ६/७ घण्टा उज्यालो हुने अरू वेला रातको रात। राजधानीमा स्कूल थियो, अन्यठाउँमा थिए कि थिएनन्, थाहा पाइएन। बेलायतको मुख्य भूमिको तुलनामा अलि दुर्गम जस्तो ठाउँ थियो त्यो। फोकल्यान्डका विभिन्न टापुहरूमा ब्रिटिश ब्रान्डका ल्यान्डरोभर गाडी लगिएका रहेछन्। हिले सडकमा ती चल्थे, कालोपत्रे कतै थिएन। जाडो धेर हुने भएकाले हामीलाई लगाउन चाहिं ‘आर्कटिक ड्रेस’ इस्यू गरिएको थियो।
युद्ध चलिरहँदा बेलायतको खाद्यान्न बोकेको एट्लान्टिक कन्भेयर जहाजलाई अर्जेन्टिनाले ध्वस्त बनायो। खानेकुराको अभाव भयो। राम्रोसँग खान पनि पाइएन। धेरैजसो समय सूप खाएरै छाकहरू टारियो। आफूसँग भएको एउटा एउटा चकलेट पनि दाँतले टोक्दै बाँडेर खायौं। दाँतलाई...न आँतलाई... भने जस्तो। हरेक दिन हेलिकोप्टर देख्दा पनि केही खानेकुरा ल्यायो कि भनेर आश लाग्ने। त्यस्तै आशमा छोटा दिन र लामा रात बिताइयो। एक कप चिया पनि सेक्सनभरिको सबैले बाँडेर खाइयो। साथीको महत्त्व लडाइँको वेला मात्र थाहा हुने रहेछ।
मेरो सेक्सनको कमान्ड कर्पोरल खेम गुरुङले नेतृत्व गरेका थिए। गुरुङको घर नेपालमा रुम्जाटार हो, उनी बितिसके। सेकेन्ड टुआईसी (सेकेन्ड-इन-कमान्ड) चाहिं लान्स कर्पोरल रामबहादुर गुरुङ थिए। सेक्सनमा हामी १० जना जति राइफलम्यान थियौं। म आफ्नो सेक्सनमा सबैभन्दा कान्छो थिएँ, उमेर र भर्ती दुवैका हिसाबले। कान्छो भएपछि अरूलाई भन्दा बढी काम लगाउने कुरा त सामान्य नै भयो। एक प्रकारले भन्दा घरकी कान्छी बुहारी जस्तो, अलिकति माया पाउने तर काम धेरै गर्नुपर्ने। सम्झे अनुसार सेक्सनमा हामी राइफलम्यानहरू सूर्य राई, दुर्गा गुरुङ, देवराज राई, बमसिंह गुरुङ लगायत थियौं।
९ जून १९८२ मा हामीलाई डार्विन छाडेर ब्लफ कोभ भन्ने ठाउँमा अगाडि बढ्नुपर्ने हुकुम आएपछि हेलिकोप्टरले हामी पुग्नुपर्ने ठाउँभन्दा अलिक वरै झार्यो। दुश्मनहरूले आर्टिलरी, बमगोला लगातार झार्न थालेपछि अब हामी दुश्मनबाट धेरै टाढा छैनांै भन्ने भयो। आर्टिलरी भनेको ठूलो क्यालिबर भएका हतियार हुन् जस्तो ट्यांक। जति अघि गयो उति नै धेरै गोलाबारी। उनीहरूको बम बारी छल्दा छल्दा हामी थेत्तरो र अटेरी भइसकेका थियौं। मर्ने अहिले हो कि आजै जस्तो, तैपनि हामी दुःख भुल्न गीत गाउँदै हिंड्यौं।
हामी झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ भन्ने गाउँथ्यौं। गीतमा शुरूको प्रयोग भएको ‘दशी धारा पो नरोए आमा, बाँची पठाम्ला तस्वीरै खिचेर’ भन्ने र अन्तिममा प्रयोग भएको ‘बाबा रुन्छन् लौ वर्षदिन, आमा जुनी भरिलाई हजुर’ तुक्काले खूब छुन्थ्यो। आमाको याद खूब आउने।
हामी अनेक गीत गाउँथ्यौं। कुनै ओरिजिनल, कुनै रिमिक्स, कुनै आफैंले बनाएका। एउटा गीतको टुक्रा यस्तो थियो-
‘नौ नम्बरको टप्परमा गोली बर्सन्छ खप्परमा’
हाम्रो पूर्वतिर टप्पर भनेको चाहिं खाली जमीन हो। बाँझो जमीन भन्दा अलि राम्रोसँग बुझिएला। नौ नम्बर भनेको कित्ता नम्बर जस्तो हो, यसो गीतको टुक्का मिलाउन राखिएको। हामीले ‘असारै मैनामा पानी पर्यो रुझाउने...’ भन्ने गीतको भाकामा यस्तो गीत बनाएका थियौं-
केटाः
हिउँ पानी हावामा फोकल्यान्डको धावामा
मुटु नै चुडिने बम खस्यो हरर
नौ डाँडापारि छ नेपालको गाउँघर सिपाहीको जीवन...
हो हो सिपाहीको जीवन ...।
केटीः
वाकवाकी लाग्नाले खानु रुच्दैन अब ऊ गएको भयो ६ महीना
बोक्दै छु पेटमा महीना हो जेठमा छोरो नै हुने छ देखाउछु भेटमा
यी छोरा भनेर ...
हो हो यी छोरा भनेर ...
यो गीत भने हामीले युद्धपछि धेरै गाएका थियौं।
काल पर्खे झैं
अंग्रेजी जून महीनाको ९ देखि १२ तारीखसम्म जीवनमा पहिलोपल्ट प्रत्यक्ष रूपमा सक्कली युद्धको अनुभव गरियो। रणभूमि ब्लफकोभमा अर्जेन्टिनी पक्षको वान ओ फाइभ (१०५) मिलिमिटर आर्टिलरीले रातदिन लगातार बमबारी गर्यो। हाम्रो छेउछाउमा असंख्य बमगोला बर्से पनि भाग्यवश हाम्रो कम्पनीलाई केही भएन।
भोक, प्यास, निद्रा केही भन्न पाउनु छैन। थकित भएर काल पर्खे झैं लाग्यो। बमको आवाज सुनेर त्यो आफूभन्दा टाढा खस्यो कि नजिक भनेर थाहा पाउँथ्यौं, टाउको लुकाउँथ्यौं। आफू आफू हेराहेर गर्ने बाहेक केही विकल्प थिएन।
१९८२ जून १३ का दिन ब्रिटिश फोर्स अन्तिम लडाइँका लागि अघि बढ्ने तय भयो। हाम्रो कम्पनीलाई माउन्ट विलियम पुगेर कम्पनीहरूलाई सपोर्टिङ फायर दिनुपर्ने कार्यादेश थियो। हामीहरूलाई ब्लफकोभबाट हेलीले सकेसम्मको कम उचाइमा उडान गरी खोलाको किनारैकिनार अत्यन्तै टेक्निकल पारामा फक्स बे भन्ने ठाउँ क्रस गर्यो। क्रस गर्दा ६ दिनअघि मात्र अर्जेन्टिनाको दुइटा मिराज फाइटरको हमलामा परेको ब्रिटिश युद्धपोत सर गलाहदबाट धुवाँको मुस्लो उडिरहेको देखेर मन खिन्न भयो।
उक्त सर गलाहदबाट वार भेइकलहरू जमीनमा झार्नको लागि हाम्रा पल्टनबाट भैरवबहादुर राई (२११६१०९८) खटिनुभएकोमा उक्त हमलामा परी सख्त घाइते हुनुभएको थियो। त्यसैमा सवार ब्रिटिश वेल्स गार्ड र शिप क्रू गरी २८ जना सैनिकको त्यति वेलै एकै चिहान भयो र धेरै सख्त घाइते भए। हाम्रो हेलीले माउन्ट च्यालेन्जरको फेदीमा ल्यान्डिङ गर्न खोज्दा दुश्मनको आर्टिलरीले र्यापिड फायरिङ शुरू गर्यो। हाम्रो हेलीलाई हुभरिङ गरेर घरी माथि उचाइमा त घरी तल गरेर बल्लतल्ल फोर्स ल्यान्डिङ गराइयो। गाउँघरतिर कुखुराको चल्ला टिप्ने बेसहारा पक्षी जस्तो घरी आकाशमा टक्क अडिन्छ, घरी सीधै तल झर्छ, घरी सीधै माथि उचालिन्छ।
अब भने हामीहरू दुश्मनको साँच्चिकै नजिक आमनेसामने भएका थियौं। फौजीमा दुश्मनको नजिक हुनु भनेकै कालको नजिक हुनु जस्तै हो। त्यसैले हामीहरू तुरुन्तै सीएचक्यू (कम्पनी हेडक्वार्टर) खडा गरी फाइनल ब्याटल (अन्तिम युद्ध) तयारीमा जुट्यौं। सम्पूर्ण गोलीगट्ठा, बन्दोबस्तीका सरसामान र पर्सनल फस्ट एड बाहेक सबै पर्सनल सामानहरू स्पष्टसँग बुझ्ने गरी आफ्नो नामनम्बर लेखेर सीएचक्यूमा बुझाउनू भन्ने अर्डर आयो।
सबै कुरा बताउँदा डराउँछन् भनेर हो कि किन हो, कमान्डरहरूले सबै नबताए पनि मलाई यो जीवनको अन्तिम रात हुन सक्छ भन्ने लागेर आमालाई छोटो सन्देश लेखी छाड्न मन लाग्यो। साधारणतया यसअघि म आफन्त सुर्ताउँछन् भनेर सबै ठीक छ, लडाइँमा जानु पर्दैन भनेर सन्देश लेख्थें। तर, अन्तिम चिठी लेख्दा मैले सत्य नलेखी धर पाइनँ। ‘नरुनु है आमा मैले हजुरहरूको सेवा गर्न पाउँदिनँ जस्तो छ, सक्नुहुन्छ भने मलाई माफ गरिदिनुहोला...’ भन्ने दुई वाक्यभन्दा अगाडि केही लेख्न सकिनँ।
आफूसँग भएका केही फोटोहरू, कहिलेकाहीं विपत्तिमा काम लाग्छ कि भनी दुमोस्वरूप राखिएको २० पाउन्ड जति नगद र बहिनीले धरानमा भर्ती भएपछि भेट्न आउँदा हातले बुनेर दिएको रुमाललाई अलग्गै प्याक गरेर आफ्नो प्याक (प्याक गरिएको सामग्री) भित्र छिराएर राम्ररी हेरें। फेरि पनि छामें...।
आज (१३ जून १९८२) वार कि पार गर्ने गरी लडाइँ भिड्नु जानुपर्ने भएर होला, हेलीबाट दुम्बा (भाले भेडा)को झोल मासु र तातो भात ल्याइएको थियो। क्यूई-टू पानीजहाज छाडेको साढे दुई हप्तापछि तातो भात खान पाएर होला खूब मीठो मानेर थपीथपी खाइयो। सीएचक्यूबाट थप गोलीबारुद इस्यू (जारी) भयो। सीएचक्यूमा झोला बुझाउन जाँदा कर्पोरल ज्ञानबहादुर राई ( २११५९१८५) कसको के कति सरसामान छ भनेर दर्ता र रेकर्ड गर्दै हुनुहुँदो रहेछ।
मलाई झोला बुझाउन आएको देखेर उहाँले ‘ए शंकरे त ढिलो जन्मिस्, हामी त कम्पनी हेडक्वार्टर (सीएचक्यू) हो। तँ शत्रु क्लीयर गर्दै जा, हामी तेरो पछि आउने हो’ भनेर अलिक हेयको भावले भन्नुभयो। मैले पनि ८५ (आर्मी नम्बरको पछिल्लो दुई अङ्क) गुरुजी मैले भन्दा बढी तपाईंले ब्रिटिशको नुन खानुभएको छ। नुनले सराप्छ है, मलाई त्यसो नभन्नु भनेर ओठे जवाफ दिएँ। राई मभन्दा पुरानो हो फौजमा। उहाँ कोतको भण्डारे हो। यो भनेको हातहतियार राखिने कोतघरको प्रमुख हो।
करीब मध्यराततिर हामी माउन्ट विलियमतिर अगाडि बढ्नआर्मी फर्मेशन मिलाएर लाइन अप भयौं।
अरूहरूलाई सपोर्टिङ फायर दिनुपर्ने हुँदा हामीले ६०/६५ किलोसम्मको गोलीगट्ठा बोकेर अँध्यारो रातमा लड्दै थियौं। लडाइँमा खानेकुराको भन्दा पनि गोलीको माया हुँदो र’छ। त्यही भएर मैदानमा फेला परेका शत्रुपक्षका गोली र म्यागजिन पनि सफा गरेर झोलामा हाल्यौं। उनीहरूका र हाम्र्रा हतियार एकै प्रकारमा थिए अर्थात् ७.६२ क्यालिबरको गोली लाग्ने सेल्फ लोडिङ राइफल। गोली मिलेपछि ग्यागजिन पनि मिल्ने भयो।
लामो समय भयो कि, भुलिगइयो, राइफलमा २० गोली लाग्ने म्यागजिन हुन्थ्यो जस्तो लाग्छ। हाम्रो सेक्सनमा जीपीएमजी (जनरल पर्पोस मशिन गन) र लन्चर पनि थियो। लन्चर ६६ मिलिमिटर क्यालिबर भएको पावरफुल विपन हो। यो ट्यांक, बंकर र घरको पर्खाल ध्वस्त पार्न प्रयोग गरिन्छ। यो एक पटक प्रयोग भएपछि पुनः प्रयोग मिल्दैन, युज एन्ड थ्रो हो।
घाइते साथीहरू
हामी अलिकति मात्र बढ्न शुरू गरेका थियौं। अर्जेन्टियन पक्षले भीषण आर्टिलरी फायर शुरू गर्यो। मभन्दा केही कदम अगाडि रहनुभएका कर्पोरल ज्ञानबहादुर राईलाई अर्जेन्टिनाको अर्टिलरी बम लाग्यो। उहाँ जुरुक्कै उचालिनुभयो। बमको ज्योतिले गर्दा मेरो आँखामा एकैछिन सेतो पर्दा लागे जस्तो भयो, केही देखिनँ। बम यसरी पड्क्यो कि कानको जाली नै फुट्यो जस्तो लाग्यो। बमले उडाएका ढुङ्गामाटो र हिलो हाम्रो शरीरमा ठोकियो।
घाइते कर्पोरल ज्ञानबहादुर राई मलाई बचाओ... भनी कराइरहनुभएको थियो। हाम्रो कम्पनीको सेकेन्ड कमान्डर (टूआईसी) क्याप्टेन क्यूजीओ (क्वीन्स गोर्खा अफिसर) नारायणप्रसाद राई मेडिक... मेडिक... भनेर स्वास्थ्यकर्मीलाई बोलाइरहनुभएको थियो। जहाँ हल्लाखल्ला बढी थियो त्यहीं दुश्मनको बम हमला बढ्दै थियो। टाउको उठाउने अवस्था थिएन। कर्पोरल ज्ञानबहादुर राईको पेटमा आन्द्राभुँडी र ढुङ्गामाटो लतपत थियो।
उहाँको बोली बिस्तारै मलिन हुँदै गइरहेको थियो। हामीले उहाँलाई तपाईंलाई केही भएको छैन, हस्पिटल लैजान हेली आउँदै छ, त्यसपछि सब ठीक हुन्छ भनेर मुखले सान्त्वना त दियौं, तर उहाँ बाँच्ने आशा मारेका थियौं। त्यस्तैमा मेडिकल टीमका लान्स कर्पोरल पञ्चवीर राई (२११६१६५६) र अर्का लान्स कार्पोरल रामबहादुर गुरुङ (२११६१६६१) स्ट्रेचर सहित रेक्स्यू गर्न आइपुग्नुभयो। घाइते ज्ञानबहादुर राईलाई पोन्चोकेपमा पोको पारेर स्ट्रेचरमा हाली केही पछाडि र्याप (रेजिमेन्टल एड पोस्ट)मा पुर्याइयो।
जहाँ वारप्लान अनुसार दुई डाक्टरको नेतृत्वमा आठ वटा स्ट्रेचर र हरेक स्ट्रेचरलाई हेन्डल गर्न दुई जना सहयोगीहरू आवश्यक दबाई-पानी सहितको कम्ब्याट मेडिकल टीम तैनाथ गरिएको थियो। यो टीममा हाम्रो रेकी प्लाटूनको सदस्यहरू लेफ्टिनन्ट केन्टिन ओट्स, वारेन्ट अफिसर डम्बरबहादुर लिम्बू (२११५६३४४), लान्स कर्पोरल सीताराम राई ( २११६१०९७), सार्जन्ट प्रेमबहादुर लिम्बू (२११५८६३४), कर्पोरल मुगाधन राई (२११५९२१९), लान्स कर्पोरल देवेन्द्र लिम्बू (२११६०७५५), लान्स कर्पोरल रामबहादुर गुरुङ (२११६१६६१), लान्स कर्पोरल सुक्रिम राई (२११६१६४३), लान्स कर्पोरल पञ्चवीर राई (२११६१६५६), राइफलम्यान सप्तबहादुर गुरुङ (२११६१९९०), राइफलम्यान बुद्धि राई (२११६१९९५), राइफलम्यान तखतबहादुर राई (२११६३८१२) र लान्स कर्पोरल धनबहादुर राई (२११६०८००), राइफलम्यान तोरण लिम्बू (२११५८६१७), राइलफम्यान चाचाहाङ लिम्बू (२११५९४८६) र राइफलम्यान पृथबहादुर राई (२११६३९७५) थिए।
ज्ञानबहादुर राईलाई डाक्टरले प्राथमिक उपचार गरेरपेन किलर इन्जेक्सन लगाइदिएपछि उहाँ पूर्ण रूपमा बेहोस हुनुभयो। त्यस बखत सबैभन्दा सख्त घाइते हुनुभएका ज्ञानबहादुर राई सहित आठ जना घाइतेहरू कर्पोरल ज्ञानेन्द्र राई (२११६०८०१), गौरीमान राई (२११६०७८५), राइफलम्यान हर्कराज गुरुङ (२११६२६९१), क्याप्टेन क्यूजीओ दलबहादुर सुनुवार, राइफलम्यान बद्रीप्रसाद राई, दीपमणि राई र प्रणय राईलाई प्राथमिकताको आधारमा पालैपालो हेलीले वार हस्पिटल युगान्डा शिपमा ओसार्यो।
ज्ञानबहादुर राईलाई हेलीमा केजरभेक (घाइतेलाई गरिने प्राथमिक उपचार) गरेर पठाएपछि केही शान्त भए झैं आर्टिलरी फायर पनि कम हुँदै गयो। पारि पारिबाट फ्रेन्डली फोर्सले जीपीएमजी र हेभी मशिन गनले कभरिङ फायर गरे। हेभी मशिन गनले बुटुटुटु चुई...बुबुटुटु चुई... आवाज निकाल्दै रातो ट्रेसर राउन्ड (रातो बल्दै जाने गोली) बाल्दै लगातार निर्देशित क्षेत्रतिर फायरिङ गरिरहेको थियो। हामी बिस्तारै फेरि निर्देशित दिशातिर बढ्न थाल्यौं।
फस्ट लाइट (आर्मी भाषामा बिहानको झिसमिस) हुँदा हामी टम्बल डाउन डाँडा वरिपरि भेला भइसकेका थियौं। फोकल्याडको राजधानी स्ट्यान्लीमा अन्तिम लडाइँका लागि नजिकबाट लड्ने अवस्था आयो भने गोर्खा प्रयोग गर्नुपर्छ भनेर हामीलाई तयारी पोजिसनमा राखिएको थियो। हाम्रो काम परिआएमा खुकुरी चार्ज गर्ने थियो।
बिहानको १०/११ भएको थियो होला, त्यहाँ भर्खरै उज्यालो हुँदै थियो, मर्ने अर्जेन्टिनी योद्धाहरूको शव र युद्ध सामग्रीहरू यत्रतत्र छरिएको बिस्तारै देखिन थाल्यो। फोकल्यान्डको राजधानी स्ट्यानली नजिकै रहे पनि उज्यालो कम भएकाले अलि अलि मात्र देखिन्थ्यो। यस्तैमा स्ट्यानलीमा ठूलो सेतो पर्दा जस्तो उठाएको देखियो।
स्ट्यानलीमा युद्धविराम भयो भन्ने जानकारी पाइयो। हामीलाईरेडियो सेटबाट पनि खबर आयो। माउन्ट विलियम डाँडामाथि ब्रिटिशको झन्डा (युनियन ज्याक) अगाडि राखी पाइप ब्यान्डले (मसक बाजा) र बिगुलले ब्रिटिश राष्ट्रिय धुन बजाएपछि हामीले पनि हिप हिप हुर्रे... जय सेभन जिआर... भन्दै विजय उत्सव मनायौं। प्रष्ट उज्यालो भैसकेकोले शवहरू र हतियारहरू छरपस्ट देखिन थाले। जाडोले निकै च्यापेकोले हामीले तातो तातो चिया पकाएर एउटै कपमा सुरुपसुरुप पालो गर्दै पियौं।
त्यसपछि सबै भेला भएर सम्झनाका लागि केही फोटोहरू खिचियो। अर्को आदेश नभएसम्म एलर्ट पोजिसनमा (रेडी टु फायर, गोली लोड गरेर बस्ने) बाट नन-टेक्टिकल हारबोर मात्र गरेर बस्नू भन्ने आदेश आयो। नन-टेक्टिकल हारबोर भनेको युद्धमा जस्तो अलर्ट पोजिसन नभई सेन्ट्री मात्र राखेर सामान्य तवरले सुरक्षा विधि अपनाएर बस्ने प्रक्रिया हो।
रातिको भीषण भिडन्तमा छरपष्ट छरिएको राइफलहरूकै टेको लगाएर पन्चुकेपको छाना लगाएर बास बस्ने र आफूसँग बचेखुचेको खाना खाएर छाक टार्ने कोशिश गरियो। युद्धस्थलभरि छरपष्ट शवहरू र हतियारहरूको ओसारपसार र व्यवस्थापनमा सबै हेलिकोप्टरहरू व्यस्त भएकाले, त्यहाँबाट कतै जान हेली बाहेक अन्य साधन नभएकाले अर्को एक दिन हामीले युद्धस्थलमै हेली पर्खेर बितायौं।
०००
हामीलाई लागेको थियो स्ट्यानलीमा आमनेसामने अन्तिम लडाइँ भिड्नुपरेमा खुकुरी चार्ज हुनेछ र गोर्खा नै खटाइनेछ। तर, त्यो अन्तिम भिडन्तअघि नै अर्जेन्टिनाले आत्मसर्मपण गरेकाले गोर्खाले दुश्मनसँग लड्नु परेन। हुन त त्यस रात हाम्रो ८१ मिलिमिटर मोर्टार प्लाटूनले गोटरिज भन्ने ठाउँबाट २०६ वटा बम गोला प्रहार गरेको थियो। उक्त मोर्टार फायर टीममा कर्पोरल शिवधन राई (२११५९८३१), लान्स कर्पोरल राजन राई सुप्तिहाङ (२११६१६४२), राइफलम्यान चन्द्रबहादुर राई ( २११६०७९०) लगायत हुनुहुन्थ्यो।
यस युद्धमा गोर्खालीले आमनेसामने लडेको भनेको सुक्रिम राई (२११६१६४३) मात्र हो। उहाँहरूले ७ जून १९८२ का दिन एग हार्बर हाउसबाट बन्दूक र गोली चार्ज नै नगरी खुकुरीको भरमा तीन जना दुश्मनहरूलाई आत्मसर्मपण गराई गोर्खालीको इतिहास कायम राख्न सफल हुनुभयो। एग हार्बर भनेको इस्ट फोकल्यान्डको लाफोनिया भन्ने ठाउँमा रहेका खाली भवन हुन् जहाँ भेडा राख्ने गर्ने गरिएको रहेछ।
हामीले धेरै पछि सुन्यौं। शत्रुहरूले के भन्दा रहेछन् भने जाडोमा घोडालाई खुवाउने खालको जस्तो कडा रम खुवाएर गोर्खालाई मताएर ब्रिटिशले लड्न पठायो। हामीले त्यस्तो केही खाएनौं। हाम्रो बाउबाजेले लडाइँको कहानी सुनाउँदा ‘घोडे रम’ खाएर मातेर लड्न जान्थ्यौं भन्नुहुन्थ्यो। घोडे रम भनेको जाडो देशमा घोडा लगायतका जनावरलाई खुवाउने घरेलु रम हो।
हाम्रो ‘७ जीआर’ मा दशैंको अवसरमा चार-पाँच दिन कुक हाउस पनि बन्द हुने गर्छ। त्यसैले आफू आफू मिलेर पकाएर खाने र रमाइलो गर्ने काम हुन्छ। टीकाको भोलिपल्ट डाँडामा गई खुकुरी चार्जको ट्रेनिङ गरिन्थ्यो। यसमा शत्रुलाई खुकुरीले प्रहार गरेको जस्तो नाटक गर्नुपर्थ्यो। रमले मातिन्थ्यो पनि। बेलायतको चर्च क्रुकहाम र फ्लीट ठाउँको बीचको डाँडामा गएर खुकरी चार्ज अभ्यास गरिन्थ्यो।
०००
१४ जूनका दिन युद्धविराम भैहाल्यो। ७४ दिनसम्म भएको लडाइँमा २५५ जना बेलायती सेना मारिए, ७७५ घाइते भए र ११५ जना समातिए। तीन जना फोकल्यान्डका निःशस्त्र बासिन्दा पनि यही युद्धमा मारिए। अर्जेन्टिनातर्फ भने ६४९ मारिए, एक हजार ६५७ घाइते भए र ११ हजार ३१३ युद्धबन्दी बनाइए। यो बेलायत सरकारको तथ्याङ्क हो।
युद्ध सकिएको तेस्रो दिन अर्थात् १६ जून १९८२ मा हाम्रो ए कम्पनीलाई चिनोक नामको हेलीमा पुनः डार्विनमा ल्याइयो। यसपल्ट भने हाम्रो ट्रेन्चमा नभई सिभिलियनहरूले छाडेर भागेको तीन वटा घरमा बाँडेर बसाइयो। यस क्रममा हामीहरूलाई ट्रेन्चहरू पुर्ने र क्लिअर अप गर्ने जिम्मा दिइयो।
शत्रुको फोटो
दुश्मनको ट्रेन्चमा खानेकुरा पाइन्छ कि भनेर खोज्यौं चकलेट, टिनका बट्टामा खानेकुरा भेटिए। बन्द बट्टामा भेटिएका मासु खायौं, पछि साथीहरू भन्थे- त्यो त घोडाको रै’छ। एक पटक यस्तै खानेकुरा खोज्दा एउटा फोटो भेटियो। रगत लागेथ्यो। फोटोमा महिला र केटाकेटी देखिए। त्यो शत्रुपक्षको मृतक सिपाहीको परिवार फोटो थियो। त्यो मैले आफूसँग राखेको भए पनि हुने। बुद्धि आएन, राखिएन। अहिले सम्झँदा कस्तो कस्तो लाग्छ...।
त्यो फोटो सम्झँदा अहिले के लाग्छ भने ऊ आफ्नो देशका लागि लड्न आएको थियो, आफ्नै देशका लागि मर्यो। म भने अरू नै देशका लागि अलिकति पैसामा लडिरहेको छु। लड्न जाँदा म सानै थिएँ। बिहे पनि भा’थेन। परिवारको महत्त्व पनि थाहा थिएन। त्यो फोटोले अहिले मलाई परिवारको महत्त्व कति हुँदो रहेछ बताएको छ।
रोकिएको राशनपानी युद्ध सकिएपछि खुल्यो। शत्रुले मार्ला कि भन्ने पनि भएन। स्थानीयका भेडा थिए, ती पनि खाइयो। जङ्गली हाँस पनि मारेर खाइयो। क्लिअर अप गर्दै ट्रेन्च पुर्ने क्रममा हेडक्वार्टर कम्पनी सिग्नल्स प्लाटूनका लान्स कर्पोरल बुद्धप्रसाद लिम्बू (२११६१६६६) को दुश्मनको ट्रेन्चमुनि पुरिएको ग्रिनेड विस्फोट भई घटनास्थलमा नै मृत्यु भयो। उहाँको अन्त्येष्टि गुजग्रिन नजिकै पल्टनका पुरोहित भवानीप्रसाद उपाध्यायद्वारा हिन्दू धर्मानुसार गरियो।
पछि बेलायत फिरेपछि थाहा भयो कि फोकल्यान्डमा वीरगति प्राप्त अंग्रेज सिपाहीहरूको शव बेलायत ल्याइएको रहेछ। तर, एक मात्र गोर्खाको शव उहीं नै किन छाडियो भन्ने कुरा चलेपछि मृतकको बाबुआमालाई बेलायतमा बोलावट भयो। बुद्धको शव उत्खनन गरी बेलायत ल्याई पुनः अन्त्येष्टि गरियो। उतिवेला गोर्खा मेजर लालबहादुर राई थिए, शायद उनले नै यो कुरा उठाए कि?
लिम्बूको मृत्युले एउटा अर्को भेद खोलिदियो। त्यो के भने लिम्बू अविवाहित हुनुहुन्थ्यो। गोर्खाहरू बेलायतमा रहँदा विवाहित र अविवाहितहरूको मासिक तलब तीन-चार गुणा अन्तर थियो। विवाहितको इनकम ट्याक्स कम लाग्नुका साथै विवाह भत्ता फाल्टै पाइन्थ्यो। विवाह भत्तालाई छोटकरीमा मुगा (म्यारिड अनकम्प्यानियन गुर्खा अलाउन्स) भनिन्थ्यो। लिम्बूले पनि विवाहित लेखाएर यी भत्ता मासिक बुझेका रहेछन्।
बेलायतबाट लिम्बूको विधवा श्रीमतीलाई सहयोग रकम बुझाउन उनको घर धरान पुगेको बेलायती रक्षा मन्त्रालयको प्रतिनिधिले लिम्बूको विवाह नभएको पाएपछि गोर्खा ब्रिगेडमा निकै ठूलो छानबिन भयो। कतिले यसरी लिएको मुगा भत्ता फिर्ता दिएर जागीर जोगाए भने कतिले जागीरबाटै हातै धोए।
करीब एक महीना डार्विनमा बसेपछि हाम्रो पल्टनको ५९८ सैनिकहरूले १६ जुलाई १९८२ मा बेलायत फिर्ता हुन एस एस युगान्डा नामको पानीजहाज चढे। युद्धका वेला यो हस्पिटल शिप थियो। हामी २२ दिनपछि बेलायत आइपुग्यौं। युद्धबाट फर्केकोले होला, फौजी तालीम नगरी साधारण फिटनेसका तालीम गर्ने, फिल्म हेर्ने, मनोरञ्जन गर्ने काम भयो।
हामी बेलायत आइपुगेको दिन साउथह्याम्पटनमा ज्ञानबहादुर राई (२११५९१८५) पनि आउने कुरा सुनियो। पहिलो त यो खबर विश्वास गर्नै सकिरहेका थिएनांै। हामीले युगान्डा शिपबाट साउथह्याम्पटनको जमीन टेकेसँगै मार्चपास शुरू गर्यौं। बेलायती जनताले हामीलाई स्वागत-सत्कार देखाउन फूल छरेर पुष्पवर्षा गरे जस्तो गरे। वेल डन, थ्यांक्यू, वेलकम ब्याक जस्ता लेखिएका ब्यानरहरू देखाएर कृतज्ञता जनाए। यसरी नै चर्च क्रुकह्याम ब्यारेक छिर्नुअघि फ्लीट सिटीमा मार्च पास गरेका थियौं।
पत्याउनै नसक्ने कुरा जस्तो लाग्ने, ज्ञानबहादुर राईलाई पुष्पगुच्छा दिएर हामीलाई स्वागर्त गर्न ह्वीलचेयरमा ल्याइएको थियो।
उहाँको पिठिउँको मासुहरू निकालेर बमले लडाएको ठाउँमा टाँलिएको थियो। शारीरिक रूपमा ज्यादै कमजोर देखिनुहुन्थ्यो, शरीर अस्थिपञ्जर जस्तो भए पनि बोली उस्तै प्रस्ट र रवाफिलो।
भेटमा उहाँले मलाई ‘तपाईंलाई केही हुँदैन भनेको कुरा साँचो भो, हौसलाले म बाँचे’ भन्नुभयो। मलाई चाहिं उतिवेला किन ओठे जवाफ लाएछु, त्यसो नभनेको भए पनि हुने भन्ने लागेको थियो। ज्ञानबहादुर राईले अलि हेयले मलाई त्यसो भनेका हुन् भन्ने मनमा परेपछि मैले त्यस्तो जवाफ फर्काएको थिएँ।
चर्च क्रुकह्याम ब्यारेक फिरेपछि हामीलाई एक महीनाको ब्लक लिभ (विशेष बिदा) दिइने भयो। पुराना गुरुजीहरू आफ्नै खर्चमा टिकट काटेर परिवार भेट्न नेपाल जान तम्सनुभयो। हामी नयाँ टोलीलाई परिवार भेट्ने जति नै चाहना भए पनि युद्धकालभरिको कमाइले पुग्नेवाला थिएन। साँच्चै भन्नुपर्दा, मेरा लागि छुट्टी पट्यारलाग्दो र दिक्दारपूर्ण रह्यो। पुरानाहरूलाई पछ्याएर नौ दिन यूरोप भ्रमणका लागि गएँ।
६ महीना जति पछिको कुरा हो। ज्ञानबहादुर राईलाई साधारण पेन्सनमा पठाइँदै थियो। जुन दिन उहाँको नेपाल जाने फ्लाइट थियो त्यही दिन भर्खरै सरुवा भई आएका ए कम्पनीका कमान्डर मेजर माइक शिरले उनको फ्लाइट रोकिदिए। सिरको भनाइ थियो- यस्तो घाइते मान्छेलाई मेडिकल पेन्सन नदिई कसरी नर्मल पेन्सनमा पठाउन सकिन्छ? उनले राईलाई वार पेन्सन र मेडिकल पेन्सन दिलाइदिए। मेजर सिर गोर्खालाई निकै माया गर्थे। उनको नेतृत्वमा हामी ए कम्पनीका २३ जना सिपाहीहरूले लन्डन म्याराथन समूहमा भाग लिएर सफलताका साथ सम्पन्न गर्ने मौका पनि पाएका थियौं।
हाम्रा गोर्खा अफिसरहरू चाहिं आफूभन्दा मुनिका जुनियरहरूको हकअधिकारको कुरा ब्रिटिशसँग गर्दा आफ्नो बढुवा हुने पोइन्ट बिग्रेला कि? गोरा साहेब रिसाउलान् कि? मेरो सबै कुरा ठीकै छ, बेकार भाइहरूको लागि बोलेर किन आफ्नो भविष्य बिगार्ने भने जस्तो गर्थे। कहिले त सानो कुरालाई उछालेर तिललाई पहाड बनाएर भाइहरूको जागीरै खान समेत पछि पर्दैनथे।
हङकङ फिर्ता
बेलायतबाट हङकङ पुगेको केही महीनापछि पल्टन क्यासिनो लाइनमै फिर्ता भयो। केही समयपछि ए कम्पनीबाट सपोर्ट कम्पनी ८१ मिलिमिटर मोर्टार प्लाटूनमा पोस्टिङ भयो। मोर्टारको बेसिक ट्रेनिङ सकेर म ६ महीनाको लामो बिदामा नेपाल गएँ। युद्धपछि भेट भएर होला, आमा लगायत सम्पूर्ण परिवार खुशी भयो। समाजको लाहुरेप्रति हेर्ने दृष्टिकोण फरक थियो। दिदीहरू आफ्नो घरमा र भाउजूहरू आफ्नो माइतमा मेजवान खुवाउन तानातान गर्थे। दिदीहरू नन्द र भाउजूहरू आफ्ना बहिनीसँग जोडी बाँधिदिन चाहन्थे। कसले जोडी बाँध्न सक्ने भन्दै दिदी-भाउजूको बाजी नै पर्थ्यो।
नेपालबाट फिरेको आठ महीनापछि फेरि नेपाल जाने मौका मिल्यो। कञ्चनजंघा हिमाल छेउमा पर्ने ‘नेपाल पीक’ र ‘किरात चुली’ हिमाल पर्वतारोहण गर्ने अवसर पाएँ। मौसमको कारण आरोहण गर्ने सपना सफल हुन नसके पनि लास्ट क्याम्पमै चित्त बुझाउनुपर्यो र सपना अधुरै रह्यो। तथापि आरोहणको दुइटा कुरा सम्झनयोग्य बने।
हिमालतिर जाने क्रममा संखुवासभाको गुफा पोखरी भन्ने ठाउँमा बास बस्ने क्याम्प गाडेपछि वरपरका कसैलाई दुःख-बिमार परेको छ कि भनी सारा नामकी लेडी डाक्टर दबाई बाँड्दै थिइन्। जानी नजानी म दोभाषे भएको थिएँ। हाम्रो भरियाले अत्यधिक मादक पदार्थ खाएको रहेछ। जुकाले खाएर रगत बगेको घाउमा ऊ औषधि माग्न थाल्यो। हामीले त्यसको दबाई हुँदैन भनेपछि उसले डाक्टरलाई धकेलिदियो।
डाक्टरलाई जोगाउन मैले उसलाई एक झापड दिएँ। दिउँसो त केही भएन, तर अँध्यारो भएपछि गाउँले घारा-घोचा लिएर पुल्ठा बाल्दै मलाई खोज्न थाले। डा. साराले मलाई उनको तम्बुमा लगी उनको जामा र छत्रे टोपी लगाउन दिइन्। उनीहरू मलाई खोजिरहेका थिए। हामीहरू भने उनीहरूकै अगाडि पार्टी खाइरह्यौं। उनीहरू हार खाएर गएपछि खूब हाँसियो।
जब हाम्रो टोली ताप्लेजुङको घुन्सा पुग्यो, हामी नेपालीहरू (सेनाका अफिसर सहित) कुखुराको मासुभात खाने भइयो। गोराहरू भीरबाट लडेको हो वा लडाइँएको हो, याकको मासु रोस्ट गरेर खाने भए। यस्तै खाइतालमा अंग्रेज मेजर (उनको थर डंकन हो जस्तो लाग्छ) ले यति मासु त नेपालीले दशैंमा मात्र खान पाउँछन् भनेको शाही सेनाका मेजरको कानमा पर्यो जो हाम्रो लियाजन अफिसर भएर गएका थिए।
उनले चाहेमा त्यो एक्सपिडिसन नै खारेज गर्न सक्ने सम्मको हैसियत राख्दथे। उनको नाम गौरवशमशेर जङ्गबहादुर राणा हो जो पछि नेपाली सेनाका सेनापति भए। राणा र बेलायती मेजरको विवाद बढ्दै गयो। पछि मेम्बर टीमले सम्झाएपछि अंग्रेज मेजरले आँसु चुहाउँदै हात जोडेर मेजर राणासँग माफी मागे।
हवाईमा
प्रथम र द्वितीय विश्वयुद्धबाट नै गोर्खाको चर्चा-परिचर्चा हुँदै आइरहेको थियो। फोकल्यान्ड युद्धपछि गोर्खाको चर्चा अझ संसारभरि फैलियो। बेलायत र अमेरिका नाटोमा संलग्न भएको हुँदा गोर्खासँग सयुक्त फौजी अभ्यास गर्नु आवश्यक छ भन्ने सोच निकै पहिलेदेखि चल्दै आएको थियो। यसै सोच अनुसार फोकल्यान्डबाट बेलायत फिरेको केही महीनापछि सन् १९८३ मा अमेरिकाको वाशिङ्टनस्थित सियाटल को फोर्टलुइस सैनिक तालीम केन्द्रमा बसेर अमेरिकन रेन्जर फोर्ससँग बसेर बटालियन स्तरको ‘जोइन्ट एक्सरसाइज’ गर्न पाइयो।
तालीममा अमेरिकन सेनाहरूको लेटेस्ट हतियार र तालीम सामग्रीहरू प्रयोग गर्न पाइयो। उक्त अभ्यासपछि अमेरिकाको वाशिङ्टन शहर र नजिकै पर्ने क्यानाडाको भ्यानकुभर शहर समेत भ्रमण गर्ने मौका पाइएको थियो। भ्रमणमा, परिचयका क्रममा ‘हामी गोर्खा हौं’ भन्दा तिमीहरूले फोकल्यान्ड लडेका होइनौ? भनी सोध्थे। अनि ‘लाइभ गोर्खा’ भेटेर अति ‘लक्की’ भइयो भन्थे।
०००
दोस्रो पटक पुनः सन् १९८६ अप्रिलको मध्यदेखि मे महीना पूरै ‘कम्पनी लेभल’ को अभ्यासका लागि अमेरिकीको हवाई द्वीपमा जाने भयौं। खासमा त्यो तालीममा सेभेन जि.आर.को ‘चार्ली कम्पनी’ जाने पालो परेको थियो। चार्ली भनेको सी कम्पनी हो। फौजी काइदा अनुसार सी कम्पनीका कमान्डरहरूले हवाइमा ट्रेनिङ एरियाको रेकी अघिल्लो वर्ष नै गरेका थिए। तर, पछि अप्रत्याशित रूपमा सपोर्ट सम्पनी जाने निश्चित भयो। यस्तो निर्णय हुनुमा सपोर्ट कम्पनीको ओसी (अफिसर कमान्डिङ) लाई माथिको आशीर्वाद प्राप्त भएको कुरा कमान्डरहरू सुनाउँथे।
तालीमका लागि सपोर्ट कम्पनीका चार प्लाटून र ‘पाइप ब्यान्ड प्लाटून’ समावेश भयौं। उक्त तालीमको नाम ‘युनियन प्यासेफिक’ दिइयो। तत्कालीन सपोर्ट कम्पनी कमान्डर क्याप्टेन सि.जे. पियर्सले टीमको नेतृत्व गर्ने मौका पाए। पियर्स खासमा गोर्खा पल्टनको नभई ब्रिटिश सेनाको रोयल एन्जिलियन रेजिमेन्ट आबद्ध थिए। पियर्स ब्रिटिश ब्रिगेडियरका ज्वाइँ भएका कारणले बेलायतबाट ईआरई (काज) मा हङकङ पुगेका थिए। यही सम्बन्धका कारण पियर्सको कुरा पल्टनमा कसैले काट्न सक्ने अवस्था थिएन्।
सोही अनुसार उनैको नेतृत्वमा सपोर्ट कम्पनी हवाई तालीममा जाने भयो। गोर्खा पल्टनमा कम्पनी कमान्डर हुनलाई मेजर पदमा बहाल हुनुपर्ने र प्रारम्भिक नेपाली भाषाको टेस्ट पास गरेको हुनुपर्ने भए पनि पियर्सलाई दुवै कुरा लागू भएन। उनी क्याप्टेन मात्र भए पनि माथिको आशीर्वादले एक्टिङ (कार्यवाहक) मेजर पद प्राप्त गरी सपोर्ट कम्पनीको कम्पनी कमान्डर (अफिसर कमान्डिङ) को जिम्मेवारी हत्याए। उनी नेपाली भाषाको एक शब्द पनि जान्दैनथे र सिक्ने चासो देखाएको पनि पाइएन। हामी गोर्खालाई इङ्लिस त्यति नआउने र कमान्डरलाई नेपाली नआउने हुँदा भाषाका कारणबाट पनि केही असमझदारी र अप्ठ्यारो भयो।
हवाई जानुभन्दा पहिला सि.जे. पियर्स छोटो समय पूर्वी नेपाल भ्रमणमा गएका थिए। नेपाल भ्रमण गरेर फर्केपछि उनले गोर्खालीप्रति गर्ने व्यवहारमा आकाशपाताल अन्तर पर्न थालेको महसूस हामीलाई हुन थालेको थियो। पियर्सले नेपाली र नेपालीको आर्थिक स्थिति दयालाग्दो देखेको कुरा हामीलाई बताउँथे। भन्थे, ‘नेपालमा खानेकुरा पनि भने जस्तो नपाइँदो रहेछ, हस्पिटलका लागि टाढा जानुपर्दो रहेछ, र अधिकांश बिरामीले धामीझाँक्रीबाट उपचार गराउँदा रहेछन्। त्यसैले तिमीहरू हामीसँग जोडिन पाउनु अहोभाग्य हो।’
त्यही समय आसपास बीबीसी च्यानलमा नेपालीहरू कसरी भर्ती हुन्छन्, के छ जीवनशैली? कस्तो छ नेपालीको आर्थिक अवस्था जस्ता विविध पक्ष समेटिएको डकुमेन्ट्री बेलायती टिभीमा आएको थियो। डकुमेन्ट्रीमा धरान र पोखरामा सयौं नेपाली युवाहरू बेलायती सेनामा भर्ती हुन लाइन बसेको, भर्ती हुन नपाउँदा रोएको, भर्तीपछि हर्षोल्लास मनाएको देखाइएको थियो। त्यही डकुमेन्ट्रीमै सडक बालबालिकाहरूले लाम लागेर खानुका लागि थाल थापेर भीख मागिरहेको, नेपालीहरूको प्रमुख खाना भन्दै आँटोढिँडो ओढालेर खादै गरेका दृश्य अनि महिलाहरू झुरुप्प बसेर जुम्रा हेर्दै बसेको देखाइएको थियो। यसले गर्दा गोर्खाको वीरताको कथामा धब्बा लागेको महसूस हुन्थ्यो।
क्याप्टेन पियर्स हवाई पुगेपछि अमेरिकन सेनाको अघि आफ्नो रवाफ देखाउन उनले आफू र गोर्खालीहरूको सम्बन्ध मालिक र नोकरको जस्तो देखाउन थाले। हामीलाई गर्ने व्यवहार त्यति राम्रो भएन। नेपालको दरिद्रता झल्काउन साना साना केटाकेटीले बडेमान भारी बोकिरहेका पोस्टरहरू कुक हाउस लगायतका भित्ता भित्तामा क्याम्पभरि टाँस्न लगाए। पियर्सले अमेरिकन सेनाहरूको अगाडि हाम्रो चिनारी दिंदा बीबीसीले देखाएको त्यही डकुमेन्ट्री क्यासेट देखाउँथे। हामी चूपचाप शिर झुकाएर स्विकार्नुको विकल्प थिएन।
पियर्स हामीहरूलाई त्यही अनुसारको निम्न स्तरको घटिया व्यवहार गर्थे र भन्थे, ‘यिनीहरू बल भएका मूर्ख हुन्। यिनीहरूलाई ट्वाइलेट प्रयोग गर्न हामीले सिकाएका हौं। नेपालमा यिनीहरूको न बास बस्नलाई घर छ न खानेलाई खानेकुरा नै। यिनीहरू जङ्गल, ओढार, रूखको फेद र जहाँतहीं रात बिताउँछन। झारपात खाएरै गुजार गर्ने जाति हुन्। यिनीहरू भरियाको देशका नागरिक हुन्। यतिसम्म असभ्य छन् कि टेबलमा काँटाचम्ची सजाएर राखिदिए पनि हातैले भात खान खोज्छन्।’ पियर्स हामीलाई दरिद्र देशका भाग्यमानी सिपाही भन्दै मानसिक यातना दिन्थे। अपमान गर्थे।
अमेरिकनहरूसँग भन्थे, ‘नेपाली दिसा गरेर ढुङ्गा र झारपातले पुछ्छन्। यिनीहरूको खुट्टाले जुत्ता देखेको भर्ती भएपछि मात्र हो। मासुभात खाने दशैंमा हो। भर्ती भएपछि यिनीहरूले दैनिक बूट लाउन र मासुभात खान पाएका छन् अनि भर्ती भएकोमा आफूलाई भाग्यमानी सम्झिन्छन्। हामीले यिनीहरूलाई सभ्य हुन सिकाएका हौं।’
गोर्खाको अपमान
तालीमका क्रममा ३१ सेन्टिग्रेड तापमा फुल कम्ब्याट युनिफर्ममा आफ्नो पर्सनल हतियार, गोलीगट्ठा बन्दोबस्तीको सरसामानहरू अनि ८१ मिलिमिटर मोर्टारको ब्यारल बोकेर कम्ब्याट मार्चिङ गरिन्थ्यो। कम्पनी कमान्डर भएकाले पियर्सले हाम्रो मार्चिङको लिड गर्नुपर्ने हो। तर, उनी जिम्मेवारीविहीन भएर मार्चिङ ग्रूपको पछि पछि अमेरिकन सेनाबाट उपलब्ध गराइएको गाडीमा नभई भाडामा लिइएको महँगो हुडलेस कारमा सवार थिए।
काउ ब्वाई फिल्ममा घोडा सवारले गाईबस्तुको हुल खेदाए झैं मुभ... मुभ... हरी अप... युर आर लेजी गोर्खा...यू शूड यू इट...भन्दै कराउँथ्यो। उनी भन्थे- रिमेम्बर, हू आर यू? थाउजेन्ड क्यान्डिडेट्स फर वान जब, यू गट मोर मनी देन प्राइमिनिस्टर अफ नेपाल, वी अल्रेडी पेड यू...।
यस्ता कुरा सुनाएर बारम्बार हाम्रो मनोबल गिराइरहन्थे। ब्रिटिश आर्मीमा भर्ना हुन सयौं युवामध्यबाट छानिएर नेपालको प्रधानमन्त्रीले भन्दा बढी तलब खाएका छौ भन्ने जस्ता गाली गरेर हाम्रो मनोबल गिराउने गर्थे। हामीलाई पशु सरहको व्यवहार गरिएको महसूस हुन थाल्यो। हामी दिनदिनै पियर्ससँग आजित र निराश बन्दै गयौं।
तम्बु टाँगेर बनाइएको हाम्रो क्याम्पमा बसोबास र खानपिनको बन्दोबस्त अति नै घटिया किसिमको थियो। फिल्ड फायरिङ तालीमका वेला सेनाहरू टेन्टभित्र धेरैमा हप्ता १० दिन मात्र बसोबास गर्ने गर्छन्, तर हामीहरूलाई महीनौं दिनसम्म ३० डिग्रीको गर्मीमा पनि पङ्खा बेगर राखियो। बिरामी हुँदा समेत केही उपचार थिएन। अमेरिकी अस्पताल अत्यन्तै महँगो हुने भएकाले हामीलाई १०० डिग्रीभन्दा बढी ज्वरो आउँदा पनि सिटामोल मात्र दिइन्थ्यो, अस्पताल लगिँदैनथ्यो। ‘तिमीहरूको देशमा झारपात खाएर उपचार हुन्थ्यो, तिमीहरूमध्ये कोही धामीझाक्री छौं भने उसैबाट उपचार गराऊ’ भनिन्थ्यो।
पियर्सले ‘म नेपाल घुम्न जाँदा बिरामी भएँ। जहाँ थिएँ, त्यहाँबाट धरानको हस्पिटल भेट्टाउन १० दिन लागेको थियो’ भनेर उल्टै मानसिक तनाव दिन्थे। क्याम्पभित्र हुँदा हामीलाई अति नै कमसल राशनपानी खान बाध्य पारियो। विशेषगरी हरेक दिन भात खाने चामलमा सबैको असन्तुष्टि थियो। जति उजुरी गर्दा पनि केही सुधार भएन। हाम्रो पल्टनको कमान्डिङ अफिसर लेफ्टिनन्ट कर्नेल सेन्ट (नाम) फिल्ड भिजिटमा आउँदा हामीले यसबारे उजुरी गर्दा समेत केही सुनुवाइ भएन।
जङ्गल तालीममा खटिंदा २४ घण्टाको लागि ६ घण्टा मात्र पुग्ने खालको राशन दिइयो। खै कुरा बुझाबुझ नभएर हो कि? दुःख दिने मनसायले हो? साधारणतया गोर्खा कम्पो राशन प्रि-कुक्ड (पहिले नै पकाइसकेको) चाउचाउ जस्तो तातो पारेर खान मिल्ने गरी टिनको बट्टाहरूमा प्याक गरिएको हुन्छ। यस्ता राशन २४ घण्टाका लागि यौटा पोका इस्यू हुन्थ्यो। तर, अमेरिकन सेनाको भने २४ घण्टाका लागि ब्रेकफास्ट, लन्च, टिफिन र डिनर छुट्टाछुट्टै पोका हुने रहेछ।
त्यसैले हामीले पनि दिनको चार पोका राशन पाउनुपर्नेमा हामीलाई गोर्खा कम्पो राशन एक पोका मात्र दिइयो। जुन पोकामा दुई ओटा चियाको ब्याग, सानो कफी प्याकेट, तीन ओटा चिनीको पकेट, धुले दूधको सानो पोका, एकदुइटा चकलेट, दुईतीन चक्की बिस्कुट बाहेक केही थिएन। हामीले फेरि फोकल्यान्डकै दिनहरू सम्झँदै ३ दिनको कठोर फिल्ड एक्सरसाइज सकायौं।
साँचो भन्नुपर्दा सिपाहीका लागि तालीम छोटो अवधिको भए पनि धेरै शारिरीक परिश्रम र मानसिक तनावहरू समेत झेल्नुपर्ने हुँदा युद्धभन्दा तालीम बढी कठिन हुन्छ। तालीममा पसिना बगाउन सके मात्र युद्धमा रगत बगाउनु पर्दैन भन्ने मान्यता फौजीमा रहेको हुन्छ।
एकातिर क्याप्टेन पियर्सको अपमान र हेपाहा प्रवृत्तिबाट गोर्खालीहरू आजित भइरहेका थिए भने अर्कातर्फ सार्जन्ट काजीमान गुरुङ (२११६०१०१) ले दैनिकजसो गोर्खा क्याप्टेन चन्द्रकुमार प्रधानको विरुद्धमा सिपाहीहरूलाई उक्साउने गर्थे। वास्तवमा त्यस घटनामा सार्जन्ट काजीमानको व्यवहार सबैभन्दा सन्दिग्ध र शङ्कास्पद देखिन्थ्यो किनभने सार्जन्ट गुरुङले हवाई काण्डमा एकातिर सिपाहीहरूलाई उचालेर उत्तेजित पार्थे भने अर्कोतिर घटनामा घाइते पियर्सलाई अस्पतालसम्म पुर्याएको नाटक गरी जागीर मात्र जोगाएनन्, उनले त पियर्सलाई उद्धार गरे बापत बहादूरी सहित गोर्खा क्याप्टेन पदसम्म बढुवा भई पेन्सन पकाए।
तर, हाम्रो आँखामा उनी आफैले आगो लगाएर आगो निभाउन आफैं पहिला पुग्ने पात्र हुन्। त्यसैले भविष्यमा हवाई काण्ड छानबिन हुने अवसर जुटेमा सर्वप्रथम उनीबाटै छानबिन शुरू हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ।
विदेशमा विवाद
२५ मे १९८६ को साँझ हामी बस्ने तम्बुदेखि ३ माइल (४.८ किलोमिटर) जति टाढा अमेरिकी सेनाको स्कफिल्ड ब्यारेक्सस्थित अफिसर मेसमा बिदाइ भोजको आयोजना गरिएको थियो। उक्त पार्टीमा पेयपदार्थको रेखदेखदेखि सप्लाई समेतको व्यवस्थापन गर्न मेरो नेतृत्वमा अन्य चार जना जुनियर सिपाहीहरूलाई सहयोगी खटाइएको थियो। यीमध्ये राइफलम्यान राजेन्द्र नेम्वाङ (२११६५६४२) एक थिए।
आफ्नो जिम्मेवारीमा व्यस्त हुनुपरेकोले मैले सबै कुरा देख्ने र सुन्ने कुरै भएन। चीफ गेस्टका रूपमा अमेरिकी सेनाका जनरललाई बोलाइएको रहेछ। उनको आगमनपछि क्याप्टेन पियर्सले गोर्खाको चिनारी गराउने क्रममा पुनः गोर्खाहरू अत्यन्तै मूर्ख र असभ्य जाति हुन्, यिनीहरू खुर्सानी धेरै खान्छन्, एकपल्ट भनेको कुरा कहिल्यै बुझ्दैनन्, यिनीहरूले स्कूल देखेका हुँदैनन्, यिनीहरूले आफ्नो सावाँ अक्षर धूलो माटोमा कोरेर सिक्छन् र त्यो नै सम्पूर्ण शिक्षा हो भने। यिनीहरूको गाउँमा २० लिटर (एक गाग्रा) पानी ल्याउन ६ घण्टाभन्दा बढी पैदल हिंड्नुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिएपछि गोर्खाले पाहुनाको सामु आफु अत्यन्तै अपमानित ठाने।
त्यसपछिको कार्यक्रममा पाहुनाहरूलाई चिनोस्वरूप खुकुरी उपहार दिने कार्यक्रम थियो, तर प्रमुख अतिथि अमेरिकन जनरललाई खुकुरी प्रदान नगरी हङकङबाटै हामीलाई मद्दत गर्न आएका ब्रिटिश सेनालाई मात्र पाँच वटा खुकुरी उपहार दिइयो। यसमा पनि गोर्खाको असन्तोष रह्यो। पार्टीको मध्यतिर क्याप्टेन पियर्सले टेबलहरू जोडेर विशेष उच्च ओहोदाका भीआईपीलाई सम्मान गर्दा प्रयोग गरिने खालको सलामी मञ्च बनाउन लगाए।
आफू सलामी ग्रहण गर्न उभिएर पाइप एन्ड ड्रम (ब्यान्ड बाजा) बजाउन लगाई सबैलाई कवज (मार्च पास) गर्न लगाए। पहिले अभ्यास (रिहर्सल) नगरेको वा सबैले मादक पदार्थ पिएका कारण सबैको एकसाथ कवाजको ताल मिलाउन नसकेपछि पियर्सले दोहोर्याई तेहेर्याई पटक पटक उनको वरिपरि घुमाएको घुमायै गर्न लगाए।
पाहुनाको सामु मार्चपास नमिलाएर आफूलाई नटेरेको जस्तो पियर्सलाई लाग्यो होला। अरिङ्गाले (जोसिएका, चलाएपछि झुरुप्प भएर चिल्न आउने भन्ने अर्थमा) भएर मातेका गोर्खा दुःखसुख भुलेर रमझम गर्ने र मिलेमा मादल घन्काएर चुट्के र तुक्के दोहोरी गाउने सोचमा थिए। तर, पियर्सले उल्टै मार्च पास गराई सजाय दिई गोर्खालीको सपनामा तुषारापात गरे। मार्च पास सकिँदा गोर्खाहरू पसिनाले निथ्रुक्क भिजेका थिए र उत्तिकै रिसाएका पनि थिए।
गोर्खाहरू यतिसम्म रिसाएका थिए कि दुई जना गोर्खा परेड सकिने बित्तिकै छेउमै रहेको स्वीमिङ पुलमा कपडै नखोली जुत्तै सहित झ्वाम्म हाम फाले। त्यो देखेर शायद राम्रो नहुने लख पियर्सले काटे। उनले छिटो छिटो भात खाएर पार्टी निर्धारित समय अगावै सकाउने विचारले गोर्खालाई बस चढेर क्याम्प फर्किने उर्दी जारी गरे। कम्पनी सार्जन्ट मेजर पुरण लिम्बूलाई बोलाएर पार्टीमा फालिएको जुठो भात र हड्डीको टुक्रा देखाउँदै तिमीहरूले नेपालमा यसरी नै खाना फ्याँक्छौ? भन्दै हप्कीदप्की गरे।
कुटाकुट
एउटा बसले पटक पटक गरेर पार्टी स्थलबाट साथीहरूलाई ओसार्न थाल्यो। हामी बारम्यानहरू थन्को मन्को लगाउन र खर्च भएको अनि बचेको पेयपदार्थहरूको हिसाब मिलान गर्न लाग्यौं। अन्तिम ट्रिपमा हामी टेन्ट क्याम्प फिर्दा भोजमा शुरू भएको सानो विवाद बढेर उग्र रूपमा चर्को होहल्लामा परिणत भैसकेको थियो। अध्याँरो भएकाले देख्न सकिने अवस्था थिएन। होहल्ला भएको स्थान मेरो तम्बुदेखि करीब १०० मिटरको दूरीमा थियो भने पियर्सको तम्बु १५० जति माथि थियो।
गर्मी ज्यादै भएकाले म मेरो बिस्तारा भएको तम्बुमा पसेर हतार हतार कपडा फेरेर सेन्डो भेस्ट र तौलियाको कछिया मात्र बाँधेर के भएको रहेछ भनी हल्ला भएको ठाउँतिर जान खोज्दा मेरो प्लाटून कमान्डर ओलरीले बीच बाटोबाटै नजाऊ भनेर फर्काए। मलाई लागेको थियो- चाँडै नै कसैले पुलिसलाई खबर गर्ला वा पियर्सले घटनास्थल छाडेर जालान्, त्यसपछि सबै ठीकठाक हुन्छ। यही सोचेर म सार्जन्ट मेसको टीभी रूममा गई सार्जन्ट पुरण तामाङ (२११५८०२४) सँग टिभी हेरेर बसें।
करीब दुईदेखि तीन बजेको राति होहल्ला बढे पछि तम्बुबाट बाहिर निस्केर हेर्दा पियर्स तम्बुबाट बाहिर कुदिरहेका थिए। उनका पछि दुई-तीन जना सिपाहीहरू कुदाकुद गरिरहेको जस्तो देखें। घटनास्थल तीन-चार सय मिटर टाढा थियो र सडकको धमिलो बत्तीका कारण मान्छे त्यत्ति चिनिने सकिने अवस्था थिएन। गार्डरुमअघि दुई-चार जना मान्छे भेला भएको देखेर म पनि त्यतै जाँदा ओसी साबलाई ढाल्यो भन्दै सार्जन्ट काजी गुरुङ (२११६०१०१) भाडामा लिइएको कार निकाल्दै थिए। एक मनले मलाई उनकै कारमा जाऊँ जस्तो लागे पनि कछ्छी मात्र लगाएर जान ठीक लागेन। त्यसैले घटनास्थल मेरा लागि अदेख र अन्जान नै रह्यो। त्यसपछि होहल्ला पूरै शान्त भएकाले म आफ्नो तम्बुमा आएर सुतें। बिहान मात्र सार्जेन्ट काजीले ओसीलाई अस्पताल पुर्याएको भन्ने सुनियो।
भोलिपल्ट बिहान कम्पनीको सामूहिक फोटो खिचाउने कार्यक्रम थियो, तर कम्पनी कमान्डर (सि.जे. पियर्स) नै हस्पिटल भएपछि कार्यक्रम स्थगित भयो। प्लाटून कमान्डर ओलरी लगायतका अरू सिनियरहरूबाट लम्बेतान लेक्चर दिने काम भयो। सबैको सारमा हिजो जे भयो राम्रो भएन, गलत भयो भन्ने भनाइ थियो। त्यसको अर्को दिन हङकङ फर्किनुपर्ने भएको हुँदा हामी हातहतियार र सैनिक सामग्री प्याक गर्नतिर व्यस्त भयौं। फर्किने दिने बिहान सबेरै हामी सबैले चिया, ब्रेकफास्ट खाएर सम्पूर्ण तयारी अवस्थामा बसेका थियौं।
म लगायत १३/१४ जनालाई आर्मी नम्बरबाट बोलाउँदै आजको फ्लाइट धेरै ओभरलोड भयो, तिमीहरू रेअर ग्रूप (पछिल्लो समूह) मा हातहतियार र सैनिक सामग्रीहरू लिएर अर्को फ्लाइटमा आउनू भनियो। पार्टीमा भएको घटनाबारे चिन्ता लिनु पर्दैन, तिमीहरू इनोसेन्ट जस्तो देखिन्छौ, तिमीहरूमाथि सोधखोज होला जस्तो लाग्दैन समेत भनियो। त्यसैले हामी हातहतियार र सरसामानहरूको ड्यूटी गर्दै ढुक्कसँग बसियो। मेरो शौख म्याराथन दौड भएकोले यसअघि लन्डन, हङकङ लगायत कैयन् दौडहरूमा भाग लिइसकेको थिएँ। करीब एक महीनापछि अमेरिकाको सनफ्रान्सिस्को म्याराथनमा भाग लिनुपर्ने भएकाले त्यसैको तयारीमा समय बिताएँ।
हामीलाई निर्दोष छौं भने पनि समूहबाट अलग रहनुपर्दा के भइरहेको छ भन्ने चासोले सताइरह्यो। त्यसैले समूहभित्र चानचुने (क्वाइन) पैसा उठाएर दिन बिराई बिराई पब्लिक टेलिफोन बुथबाट ग्रूपमा हङकङ क्याम्पमा फोन गरी कुरा बुझ्दै थियौं। हवाईबाट मेन बडी (मुख्य समूह) लिएर आएको प्लेन हङकङ काइटक एअरपोर्टमा ल्यान्ड हुने बित्तिकै आर्मी नम्बरबाट बोलाउँदै केही साथीहरूलाई बख्तरबन्द गाडीमा कोचेर हङकङमा रहेका सबै गोर्खा पल्टनका गार्डरुमहरूमा नजरबन्द गरिएछ। हवल्दार मेजर पुरण लिम्बू र हवल्दार नवीन राईलाई सार्जन्ट मेसभित्रै नजरबन्द गरिएछ। बाँकी रहेकालाई भेला पारेर घटनाबारे सोध्ने काम भएछ।
क्याप्टेन पियर्सले नेपाली भाषा र ‘गोर्खाली काइदा’ नबुझेकोले समस्या आएको भनेर माफी मागेछन्। उनले घटनालाई बिर्सेर अघि बढ्नुपर्छ, म आफ्नो पल्टन रोयल एङ्लियन रेजिमेन्टमा फर्कन्छु, अब यो केसलाई अन्त्य गरांै भनी अनुरोध गरेछन्। कमान्डिङ अफिसर वार्डनले स्याबास् सपोर्ट कम्पनी भन्दै धरधरी रोए पनि गोर्खा मेजर प्रताप सिंह लिम्बूले गोर्खा इतिहासमा मालिकलाई कुटेको इतिहास छैन। त्यसैले एसआईबी (स्पेशल इन्भेस्टिगेशन ब्यूरो) लगाएर अनुसन्धान गर्नुपर्छ भनी माग राखेपछि केस अघि बढ्ने प्रमुख आधार बन्यो।
फेरि हङकङ
यसरी झन्डै दुई हप्तापछि हामी रेअर ग्रूप पनि हवाईबाट हङकङ आइपुग्यौं। क्यासिनो आर्मी ब्यारेकमा आइपुग्दा सबै पल्टन नै हङकङ र चाइनाको बोर्डरमा डिप्लोई भइसकेकाले ब्यारेक सुनसान जस्तै थियो। मसँगै आएका साथीलाई पनि एक-दुई दिनपछि बोर्डर ड्यूटीमा खटाए। चाइनाबाट मानिसहरू हङकङ छिर्ने भएकालाई उनीहरू रोक्न बोर्डरमा खटिनुपर्थ्यो।
म चाहिं म्याराथन ट्रेनिङ गर्ने भनेर बोर्डर ड्यूटी जानु परेन। एक-दुई जनालाई एसआईबीले इन्टरभ्यू लियो रे भन्ने सुनिए पनि उनीहरूसँग प्रत्यक्ष भेट हुन सकेन। घटना किन र कसरी किन भयो भन्ने नभई कसले कुट्यो भन्नेमा मात्र केन्द्रित छ भन्ने सुनियो। सोधखोजको क्रममा सार्जन्ट मेसमा गोर्खा मेजर प्रतापसिंह लिम्बूले कस कसले कुटे, नाम दे भन्दै कडीकडाउ गरेपछि स्टाफ सार्जन्ट शिवधन राईले ‘साहेब घटना कसरी भयो भन्दा पनि किन भयो भनेर बुझिदिनुपर्यो’ भनी अनरोध गर्दा त्यो मेरो काम होइन भन्दै ठाडै इन्कारेको कुरा राई आफैंले लेखेको पुस्तकमा समेत उल्लेख गरिएको छ।
एसआईबीले मलाई पनि बयानका लागि बोलाउला कि भन्ने लागेको थियो। तर, बोलाएन। दुई हप्तापछि म म्याराथनमा भाग लिन सनफ्रान्सिस्को लागें। हप्ता दिनको अमेरिका बसाइपछि हङकङ फिर्दा पल्टन बोर्डर ड्यूटी सकेर फर्केको रहेछ।
दोस्रो दिन बिहानै ‘सपोर्ट कम्पनी इमर्जेन्सी भेला’ भनेर बेलाइयो। भेलामा कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल पदका सेन्ट जोसेफ वारेनले तिमीहरू ‘डिसमिस’ भयौं अब नेपाल जानुपर्छ भने। त्यसपछि हेड क्लर्कले आर्मी नम्बर बोलाउँदै चक वान, चक टू भन्दै ग्रूप छुट्याए। चक भनेको सिपाहीहरूको समूह हो। छुट्याइएको चाहिं कुन कुन फ्लाइटमा पठाउने भनेर रहेछ।
म चक फोर अर्थात् अन्तिम डफ्फामा परें। चक फोरमा राखिएकाहरू विवादमा नपरेका थिए।
०००
चक टु (दोस्रो डफ्फा) नेपाल पुगेपछि विशेषगरी केही नेपाली अखबारहरू र ‘बीबीसी नेपाली सेवा’ कार्यक्रममा हवाई काण्ड प्रचार भयो। केही दबाब पर्यो कि? हामी नेपाल पठाउन बाँकी रहेकाहरूमाथि झन् निगरानी बढाइयो। क्याम्पभित्र पस्ने गेटहरूबाट स्थानीय पत्रकार छिर्लान् भनी सिल जस्तै गरियो। तामी क्याम्प म्यारिड क्वार्टरको गेटबाट छिर्ने प्रयास गरेका हङकङको प्रसिद्ध पत्रिका ‘साउथ चाइना मर्निङ पोस्ट’ का पत्रकारहरूलाई कुटेर लखेटियो भन्ने सुनियो।
चक थ्री नेपाल गएपछि हामीलाई पालैपालो क्याम्पको अर्ली रुम (युनिटको प्रशासकीय फाँट) मा क्यु लगाएर अंग्रेजीमा लेखेको कागजमा सही गर्नू भनी अर्डर गरियो। त्यसमा के लेखिएको थियो भन्नेबारे बुझिएन/बुझाइएन। अंग्रेजीमा भएकाले सबै कुरा पनि बुझिएन। पक्कै अभियोग स्विकारेको कागज हुनुपर्छ भन्ने शङ्का लागेर सही गर्न नमानेपछि किन सही नगर्ने? यहाँ लेख भन्दै खाली कागज दिइयो। हामीलाई लगाइएको चार्ज अर्थात् हाम्रो दोष के हो? हामीले किन सजाय पाइरहेका छौं भन्ने थाहा नभएपछि के भनेर लेख्ने हामी आफैं अन्योलमा पर्यौं।
मैले जानीनजानी दुई-चार वाक्य लेखें। तर, उनीहरूले मेरो अंग्रेजी बुझे जस्तो लाग्दैन। हामीलाई सही नगरी धरै दिइएन। सही गरेनौ भने तिमीहरूको पाउनदार केही पाउँदैनौ, तिमीहरूको लालबूक, पासपोर्ट र अन्य कुनै पनि कागजात पाउँदैनौ भन्दै धक्की दिइयो। लालबूक भनेको आर्मीले हामीलाई दिने राहदानी आकारको पुस्तिका हो जसमा कहिले भर्ती भएको, कुन पदमा रहेको, बढुवा कहिले भएको, कुन कुन ठाउँमा खटिएको, कुन कुन युद्धमा गएको? कुन कुन पदक पाएको? कस्ता ट्रेनिङ गरेको भन्ने जस्ता विवरण लेखिएको हुन्छ।
गुनासो गर्ने र अपील गर्ने मेसोमेलो भएन। एकदुई जना साथीले कमान्डिङ अफिसर लेफ्टिनन्ट कर्नेल वारेन र अन्य अफिसरहरूले गुनासो लिएर भेट्न पाए भन्ने सुनियो। तर, मैले कसैलाई भेट्न पाइनँ। स्टाफ सार्जन्ट शिवधन राईलाई सहीछाप गराउन अर्लीरुममा लगिँदा उनीसँगै पहिले काम गरेका एजिटेन्ट (प्रशासकीय अधिकृत) सँग भेट हुँदा आफूले सपोर्ट कम्पनीमा धेरै दुःख गरेको, फोकल्यान्ड युद्ध लडेको र अहिले आफू लगायत गोर्खाहरूमाथि अन्याय भएको भनी सुनाउँदा क्रुशली नामका ती अधिकृतले उल्टै तिमीहरूलाई एमओडी (बेलायती रक्षा मन्त्रालय) ले त्यतिको पैसा खर्चिएर क्वालिफाइड सिपाही बनायो। अब त्यो पैसा तिमीहरूले फिर्ता गर्न सक्छौ भनेर झम्टिएछन्।
स्पेशल इन्भिेस्टिगेशन ब्यूरोले हाम्रो कम्पनी बोर्डर ड्यूटी गरिरहेको ठाउँमा गएर २४ घण्टाभित्र तिमीहरूले थाहा पाएको कुरा हामीलाई भन र अनुसन्धानमा सहयोग गर नत्र कम्पनी डिसमिस हुन सक्छ भनी अल्टिमेटम दिएको कुरा पछि थाहा पाएँ। तर, क्यासिनो क्याम्पभित्र त्यस्तो केही सुनाएको वा भेला भएको केही थाहा पाइनँ। या म म्याराथनमा भाग लिन सानफ्रान्सिस्को जाँदा गरिएको पनि हुन सक्छ। यसरी भन्न नपाउने अन्जानहरू जो ड्युटी परेर र अन्य कारणले पार्टीमा सामेल हुन पाएनन्, थुप्रै थिए।
केही प्रतिनिधि पात्रहरू हुन्, २११६४७६७ राइफलम्यान प्रकाश राई र २११६४६६७ राइफलम्यान भीमबहादुर राई लगायत। त्यस रात म्यागजिन गार्ड अर्थात् राइफल लगायत हातहतियार र गोलीगट्ठा राखिएको अस्थायी तम्बुमा बनाइएको कोटमा पहरा दिने ड्यूटी र अर्का एक जना राइफलम्यान जो स्थानीय बजारको नाइट क्लबमा गएर झगडा गर्दा खुकुरी निकालेको अभियोगमा अमेरिकी सैनिक पुलिसले गिरफ्तार गरी बुझाएकाले तम्बुभित्रकै कस्टडीमा कैद गरिएका थिए।
उनीहरू पनि पार्टीमा सामेलै हुन पाएनन्। जब झगडाले उग्र रूप लिन थाल्यो, लेफ्टिनेन्ट ओलरी गार्डरुममा आई भीम र प्रकाशलाई ‘तिमीहरू एकदमै एलर्ट पोजिशनमा बस्नू, कोही मान्छे आएर हतियार र गोली झिक्न खोजे केही गरी नदिनू’ भनी सम्झाए। तर, पछि उनीहरूलाई न त युनिटको कसैले सोधे न त एसआईबीले नै सोधे।
खुकुरी मुद्दामा परेका राइफलम्यान त्यत्तिकै कैदमुक्त भए कि माफी पाए कुन्नि, त्यो मुद्दा त्यत्तिकै ओझेल पारियो। यसरी नै पार्टी सकिएपछि सोझै स्थानीय बजारको नाइट क्लबमा नाच्न पुगेका सार्जन हरिप्रसाद राई (२११६०२५३) बिहान मात्रै तम्बु क्याम फिरेकाले न झगडाको केही मेसो पाए न त छानबिनका क्रममा उनलाई कसैले सोधे। बरु १२३ दिनले सर्भिस पुगेन भनेर सर्भिस पेन्सनबाट वञ्चित गराइदिए। अहिले पनि उनको पेन्सन मुद्दा ‘होई एन्ड कोई ल फर्म’ मा पेन्डिङ छ।
मैले नै जसरी हवाई काण्डमा केही नसुन्ने र केही भन्न नपाउने प्रतिनिधि पात्र राइफलम्यान टंंकबहादुर खापुङ (२११६४८१०) पनि हुन्। उनी हवाईबाट फिर्ने बित्तिकै सेकङ आर्मी ड्राइभिङ स्कूलमा ड्राइभिङ कोर्समा व्यस्त थिए। उनले हवाई काण्डको फैसलापछि आफूलाई नेपाल फर्काउने फ्लाइट टुङ्गो लागेपछि मात्र पहिलोपल्ट र अन्तिमपल्ट थाहा पाए।
अर्को लान्स कर्पोरल सन्तबहादुर राई (२११६१९९०) को पनि उस्तै कथा भयो। उहाँ टीडीबीजी (ट्रेनिङ डिपाट ब्रिगेड अफ गोर्खाज) सेक्योङमा एनबिसी (न्यूक्लियर बाइलोजिकल केमिकल) कोर्षमा व्यस्त हुनुहुन्थ्यो भने राइफलम्यान दिल्लीराज राई (२१६३२७४) लाई ५२ दिनको जङ्गल तालीमको लागि सेरिया, ब्रुनाई पठाइएको थियो। उहाँले हवाई काण्डको फैसला ब्रुनाईको जङ्गलमै सुन्नुभयो। हङकङ समेत आउन नदिई उहाँलाई ब्रुनाईबाटै सीधा नेपाल पठाइदिए। यसरी हेर्दा हवाई काण्डको छानबिन कसरी गरियो भन्ने देखाउँछ। हचुवा ढङ्गबाट गरिएको छानबिन र निर्णयले ११० भन्दा बढी गोर्खाको जीवनमाथि खेलबाड गर्यो।
महारानीलाई बिन्ती
कतिपयले आफ्नो मान्छे ब्रिटिश आर्मीमा ठूलो पदमा भएको कारण चिनजानका आधारमा यो राम्रो मान्छे हो भन्ने सिफारिशका कारण जागीर जोगाए। अनि मेजर पियर्स र एन्टिट्यांक प्लाटून कमान्डर चन्द्रकुमार प्रधानले विवादमा हाम्रो ज्यान बचाएको भनेर सिफारिश गरेपछि पनि केहीले जागीर जोगाए।
फर्काउने निर्णय भएपछि हामीलाई नजरबन्द जस्तै गरेर राखियो। वरपर गर्न र भेटघाट गर्न पूर्ण बन्देज लगाइयो। हामीले जबर्जस्ती गरेर भए पनि परिवारका लागि केही कपडाहरू किन्यौं, केही सरसामान साथीहरूलाई किन्न पठायौं। हङकङ छाड्ने अघिल्लो साँझ मेरो पुरानो प्लाटून कमान्डर क्याप्टेन क्यूजीओ (क्वीन्स गोर्खा अफिसर) टेकबहादुर लिम्बूज्यूले निकै कर गरेर आफ्नै रिक्समा मलाई क्वार्टरमा खाना खुवाउन लैजानुभयो। फोकल्यान्ड युद्धकालमा उहाँ मेरो प्लाटून कमान्डर हुनुहुन्थ्यो। त्यस वेला उहाँ लेफ्टिनन्ट क्यूजीओ हुनुहुन्थ्यो। लडाइँको वेला सबैभन्दा कलिलो देखेर मलाई उहाँले माया गर्नुहुन्थ्यो।
खानापछि दुःखसुख र फोकल्यान्ड युद्धका कुराहरू गरियो। यसै क्रममा क्याप्टेन लिम्बूकी श्रीमती सरस्वता लिम्बूले पतिसँग मेरो जागीर जोगाउन आफूले सकेसम्मको जोडबल लगाउनुभयो। क्याप्टेन साहेबले फौजीको प्रक्रिया अरूभन्दा फरक हुने भएकाले आफ्नो केही नलाग्ने लाचारी बताउनुभएपछि सरस्वता दिदीले झोक्किएर ‘तपाईंको नाम मात्रको पावरलेस क्याप्टेन फुली ढ्वाङमा फालिदिनोस्’ भनेर थर्काउनुभयो।
सरस्वता दिदी शिक्षित हुनुहुन्थ्यो र हङकङको सेकोङमा रहेको ‘गोर्खा हाइस्कूल’ मा अंग्रेजी शिक्षिका हुनुहुन्थ्यो। उहाँले नेपालमा ताप्लेजुङको फुङलिङ हाइस्कूलमा समेत लामो समय शिक्षण गर्नुभयो। केही वर्षअघि मात्र उहाँको निधन भयो।
क्याप्टेन टेक लिम्बूसँग खाना खाएको भोलिपल्ट बिहान हामीलाई नेपाल पठाउने कार्यक्रम थियो। चक फोरलाई नेपाल पठाउने ड्यूटी अफिसर पनि क्याप्टेन टेक लिम्बू नै हुनुहुन्थ्यो। जिम्मेवारीले गर्दा उहाँ गम्भीर भएर सबेरैदेखि खटिनुभएको थियो। उहाँसँग मैले जसरी भए पनि आफ्नो कमजोरी देखाउन नचाहेर हाँसेरै बिदाबादी भइयो।
अघिल्लो दिन तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र निजी भ्रमणको क्रममा हङकङको काइटक एअरपोर्ट आउँदै गरेको र नेपाल फर्काउन लाइन बसाइएको गोर्खालीहरू आमुन्नेसामुन्ने भई क्रस भएकाले हामीलाई एयरपोर्टको टर्मिनल नछिराई एयर प्लेनको ढोकासम्मै सोझै आर्मीको बख्तरबन्द ट्रकहरूबाट पुर्याइयो।
हामीलाई ड्रेस लगाएका हाम्रा आफ्नै गोर्खा गार्डले युद्धबन्दी वा अपराधीलाई जस्तै स्कोर्टिङ गरी धरान पुर्याएका थिए। धरानस्थित घोपा क्याम्पभित्र एक रात वास दिएर सबेरै सबैलाई अन्तिम भुक्तानी नर्थ गेटबाट बुझी क्याम्प तुरुन्तै छाड्नु भन्ने बेइज्जतपूर्ण आदेश गरियो। मेरो ६ वर्षे जागीरको जम्मा ४७ पाउन्ड ४७ पेन्स (नेरु. तीन हजार २००) भुक्तानी दिए। त्यसपछि हामीलाई क्याम्प पस्न दिइएन। हाम्रो लालबूकमा ‘हाइली रिकमेन्डेड फर एनी जब’ भनी लेखिएको भए पनि जागीरका लागि निवेदन नलिने र नछानिने व्यवहार भयो। लालबूकमा भविष्यमा अयोग्य नठहरिने गरी निकालिएको भनेर लेखिएको छ, तर व्यवहारमा त्यस्तो भएन।
ब्रुनाईमा भूपू गोर्खाहरूको गोर्खा रिजर्भ युनिट छ। यसले ब्रनाईको सुल्तानको रेखदेख गर्छ। हामी एक्स आर्मीका लागि यो सबैभन्दा राम्रो अवसर हो काम गर्नका लागि। हामीले पनि युनिटमा एप्लाई गरेका थियौं जागीरका लागि, तर कहिल्यै रेस्पोन्स भएन। हामीलाई लाग्छ हवाई काण्डमा समावेश भएका व्यक्तिहरूको नाम समेटिएको ब्ल्याक लिस्ट पठाइदिएपछि हाम्रो बाटो रोकियो।
०००
अर्काको देशमा अपमान, हेपाइ पाइयो। आफ्नो देशबाट न्याय र सम्मान पाइन्छ होला भन्ने लागेको थियो, तर त्यस्तो केही भएन, केही पाएनौंं। हामीले त्यति वेलाका सञ्चारमन्त्री कृष्णकुमार राईलाई धरान बोलाई हामी अन्यायमा परेको र नेपाल राष्ट्रकै अपमान गरिएको सबै कुरा बतायौं। तर, उहाँ काठमाडौं फर्केपछि सरकारी मुखपत्र गोर्खापत्रमा ‘अनुशासनहीन ब्रिटिश गोर्खा सैनिकलाई निष्काशन गरियो’ भन्ने हेडलाइन बनाएर मुख्य पृष्ठमा न्यूज आयो। हामी अलमलमा पर्यौं।
हामीलाई लागेको थियो, हामीले आफ्नो रगत पसिना र युवा उमेरको मूल्य गुमाएर भए पनि देशको स्वाभिमान बचाएकोमा पक्कै पनि देशले हाम्रो सम्मान नगरे पनि हाम्रो गुनासो सुन्नेछ। तर, आफ्नै देश हाम्रा लागि बिरानो भइदियो। गोराले तिम्रो देशको प्रधानमन्त्रीले भन्दा धेरै तलब पाएका छौ भन्दा एउटा बेचिएको सिपाहीको मुटु छियाछिया भयो, तर देशको जिम्मा लिएका शासकहरूले यो कुरा सहजै स्विकारे वा ब्रिटिशको विरोध गर्ने हैसियत राखेनन्। हामी निष्काशितहरूमा धेरै पूर्वका थियौं। सेभन जीआरको भर्ती नै पूर्वमा हुन्थ्यो। निकालिएकाहरूले धरानमा भेला राख्यांै र त्यहाँबाट बेलायती महारानीलाई हामी अन्यायमा परेको उल्लेख गरी बिन्तीपत्र चढाउने निर्णय गरियो।
सार्जन्ट हरि राई (२११६०२५३) को नेतृत्वमा हवाई काण्डमा परेकाहरूको एउटा समिति बनायौं। त्यो समिति बनाएको थाहा पाएपछि ब्रिटिश सरकारले सार्जन्ट हरिलाई हङकङमा शिक्षकको जागीर मिलाई हामीबाट छुट्याउने काम भयो। हामी त्यतिकै सेलायौं। सार्जन्ट हरिलाई पनि गएको ६ महीनापछि हङकङबाट नेपाल फर्काइयो। बेलायती महारानीलाई बिन्तिपत्र चढाउने, मन्त्रीद्वय कृष्णकुमार राई र पद्मसुन्दर लावती अनि नेपालका विभिन्न नेताहरूलाई गुहार्ने काम भयो। तर, कतै सुनुवाइ भएन।
त्यो वेलाको पञ्चायत सरकारले हाम्रो कुरा सुनेको थाहा पाइएन। सुनिन्थ्यो, एक गोरा सिपाहीलाई लाग्ने खर्चले १० गोर्खाको खर्च व्यवस्थापन गर्न पुग्थ्यो।
खर्चमा ब्रिटिशभन्दा कम र काम ब्रिटिश सेनाले भन्दा बढी गरिदिने अनि चाहिँदा जति पनि संख्यामा राख्न मिल्ने र नचाहिँदा कटौती गर्न मिल्ने भएपछि गोर्खा ब्रिटिशको रोजाइमा परेको हो। त्यही कारणले गोर्खालीहरूलाई त्यति वेला धेरै भर्ती गरिन्थ्यो र गोर्खा पल्टन पनि धेरै थिए। गोरा र गोर्खाको शर्त, सुविधा र पेन्सनबारे समानताको कुरा उठ्न थालेपछि गोर्खालाई पनि कम लिन थालियो। यो संयोग वा नियत दुवै हुन सक्छ।
अपमानसँगै समस्या
हवाई काण्डमा परेका हामीहरू नेपालमा दिनदिनै छिन्नभिन्न भयौं। अब के गर्ने, कसो गर्ने अन्योल बढ्दै गयो। पढ्ने वेलामा बेलायती बूट लगाएर राइफल भिर्ने रहर गरियो। जीवनमा यस्तो अन्याय भोगेर अन्योलपूर्ण दिन आउलान् भनेर कहिल्यै कल्पना पनि गरिएको थिएन। राइफलसँगै एकै पटक भीरबाट खसे जस्तो भयो।
सेनामा सिकेको कलाकौशल भन्नु नै आफू बाँचेर दुश्मन कसरी मार्ने भन्ने मात्र थियो। यो सीप पनि नेपालमा फर्काइएपछि काम लागेन। नेपाल वा भारतीय सेनामा भर्ती हुने उमेर पनि काटिसकेको थियो। उमेर भएको भए त भर्ती हुने सम्भावना पनि हुन्थ्यो। राइफलबाटै जीवन चल्ला भन्ने ठानियो। उमेरसँगै खर्च गर्ने बानी पनि बढेको थियो, तर कमाइ गर्ने बाटो नभएपछि चरम आर्थिक समस्यामा पर्न थालियो। पारिवारिक बेमेल हुन थाल्यो।
मेरो बाबुले ‘तैंले मेरो इज्जत फालिस्, साथीभाइको छेउमा तँलाई मेरो छोरो भन्न पनि लाज लाग्छ’ भन्न थाल्नुभयो। मैले आफू एक अयोग्य सिपाही भएको महसूस गरें। आत्मग्लानिले भित्रभित्रै जलेर जिन्दगीदेखि नै अत्यास लाग्न थाल्यो। कति साथीहरूको विवाहको मगनी भङ्ग भयो, कतिको डिभोर्स। नेपाल सरकारको सेक्सन अफिसर छाडेर लाहुरेलाई छोरी दिने चलन थियो उवेला।
हामीमध्येका धेरै साथीका प्रेमिकाले अन्तै बिहे गरे। इटहरी तरहराका राइफलम्यान खेम गुरुङ (२११६२०१५) ले पारिवारिक बेमेलकै कारण घाँटी रेटेर आत्महत्या गरे। उनले आत्महत्या गर्नुको मुख्य कारण हवाई काण्डबाट उत्पन्न भएको नैराश्य नै हो। पाँचथर रानीटारका लान्स कर्पोरल हेम गुरुङ (२११६२६३१) लाई उनकै श्रीमतीले खुकुरी प्रहार गरी हत्या गरिन्।
हेम लगायत कति फौजीहरू हवाई तालीममा खटिदाँ, उनीहरूका जहान परिवार फेमिली प्रमोशन भएर भर्खरै नेपालबाट पार्सल भई हङकङ तामी क्याम्प म्यारिड क्वार्टर आइपुगेका थिए। फेमिली प्रमोशन भनेको जागीरको अवधिमा दुई-अढाई वर्ष परिवारसँग बस्ने सुविधा हो। पार्सल भनेको लोग्ने पल्टनमा हुँदा अरू व्यक्ति जो नेपालबाट फिर्दै छ उसको साथ लागेर गन्तव्यसम्म जाने हो।
हवाईबाट हङकङ फिरेका श्रीमान्लाई नेपालबाट आएका परिवारले भेटन् पाएनन् किनभने काइटक एअरपोर्टबाटै सैनिकलाई बख्तरबन्द गाडीमा हाली अपराधीलाई झैं सीधै क्याम्पको गार्डरुममा लगेर बन्दी बनाइएको थियो। तर, परिवारलाई बन्दी बनाइएको त कहाँ हो कहाँ, हवाईबाट श्रीमान् हङकङ आइपुगेको जानकारीसम्म गराइएन। सक्षम श्रीमतीहरू हुँदा हुन त मेरो लोग्ने कहाँ गायब पार्यो भनेर उजुरी गर्न सकेको भए गोर्खा मेजर लगायत अफिसरहरू नराम्रैसँग फस्थे।
बिचरा परिवारहरूले हङकङ त टेके, तर क्याम्प बाहिर निस्कन र हेर्न पाएनन्। लोग्नेको बर्खास्ती परेपछि रुँदैरुँदै बसको झ्यालबाट हङकङलाई हेरेर फर्कनुको विकल्प रहेन। यति मात्र होइन, बिरामी बालक मात्र नभई दुई-तीन दिनका सुत्केरीहरूलाई घाउको स्टिच समेत नझिकी रगत चुहाउँदै नाबालकलाई काखमा च्यापेर हिंड्न बाध्य पारियो।
हिजो बेलायत सरकारलाई चाहिँदा बेलायतको महारानीको राजदरबार बकिंघम प्यालेसमा शाही गार्ड भएका, फोकल्यान्ड युद्धमा घाइते भएका गोर्खा सेना र तिनको परिवारमाथि योभन्दा माथिको अपमानित व्यवहार अरू के होला र? यो एउटा ब्रिटिशले गोर्खाहरूलाई काम सकिएपछि गर्ने व्यवहारको ठोस प्रमाण पनि हो।
माथि उल्लेख गरिएका हेम गुरुङकी श्रीमतीले पनि डिप्रेशनमा गएर श्रीमान्को हत्या गरेको हुन सक्छ। यसरी मर्नु र मार्नुको मुख्य कारण पनि हवाई काण्ड नै मुख्य थियो भन्नु अत्युक्ति नहोला। किनकि हवाई काण्डपछि चरम आर्थिक अभावले पिरोल्यो। आफूमा नैराश्य उत्पन्न भयो। परिवारमा रातदिन झैझगडा, एकअर्कामा मारपिट र मादक पदार्थ नै जिउनुको सहारा बन्न थाल्यो।
०००
नेपाल आएपछि हामी झन् चरम सामाजिक बहिष्करणमा पर्न थाल्यौं। समाजले हामीलाई अपराधीको नजरले हेर्न थाल्यो। सकेसम्म कोही पनि हामीसँग बोल्न त के, छेउ पर्नसम्म चाहँदैनथे। समाजले यिनीहरू अपराधी हुन्, अपराध नगरी किन बेलायतले फर्काउँथ्यो भन्ने किसिमबाट हामीलाई व्यवहार गर्यो।
सबै जना हामीदेखि परपरै तर्किएको देखेर म आफैंले आफैंलाई सोध्थें ‘के समानताका लागि आवाज उठाउनु, आफ्नो अधिकार खोज्नु अपराध हो त?’ हवाई काण्डपछि गोर्खा पल्टनमा तलब, भत्ता, राशनदेखि हरेक सुविधाहरूमा आकाशपाताल सुधार भयो। तर, गोर्खाहरूले यो सुधार हवाई काण्डबाटै शुरूआत भएकाले ब्रिटिश सचेत भएर प्राप्त भएको हो भन्ने अन्दाजसम्म गर्न सकेका छैनन्। उल्टै हवाई काण्डलाई कोड भाषामा ‘वन टेन’ भन्नसम्म पछि परेनन्।
११० जनाको टोलीलाई साङ्केतिक रूपमा वान टेन भनेर हामीलाई चिनाइन्थ्यो। नेपाल फिर्ता गरिएको हाम्रो ११० जनाको संख्यालाई लिएर यसो भनिएको थियो। आर्मीको निर्णय हो, हुकुम हो मान्नुपर्छ भन्ने किसिमले हामीलाई आदेश गरियो। बेलायतको पार्लियामेन्टमा पनि हवाई काण्डको कुरा उठ्यो भन्ने सुनियो। कसरी उठ्यो, के गरी उठ्यो, कसले उठायो भन्ने कुरा हामीलाई केही जानकारी छैन।
एउटा कुरा भन्छु, जब हवाई काण्ड घट्यो त्यस वेलासम्म फस्ट ७ जीआर र सेकेन्ड ७ जीआर भन्ने दुई पल्टन थियो। सेकेन्ड ७ जीआरलाई टुटाउँदै (खारेज) थियो। मान्छे त कटौती गर्नैपर्ने अवस्था थियो। हवाई काण्डमा परेकालाई कटौती गरियो। उनीहरूलाई कुनै सेवासुविधा नदिई हटाइयो। कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले बढार्यो। सेकेन्ड ७ जीआर सन् १९८१ मा गठन गरिएको थियो, तर हवाई काण्डपछि यसलाई भङ्ग गरियो। भङ्ग गरिएकालाई पेन्सन दिएर पठाइयो।
०००
नेपाल आएपछि के गरी जीवन धान्ने भनेर पिरोलिन थालें। केही समय उद्देश्यविहीन भएर बिताएपछि आफन्तहरूको सङ्गतिमा मैले आफ्नै ठाउँमा निर्माण व्यवसाय र चियाखेती शुरू गरें। सामाजिक र राजनीतिक क्षेत्रमा पनि सक्रिय बनें। इलाम नगरपालिकाको वाड नं ८ बाट मनोनीत सदस्यका रूपमा विसं २०५४ देखि २०५९ सम्म काम गरें। आफ्नै समुदायको ‘किरात राई यायोक्खा’ जिल्ला कार्यसमितिको अध्यक्ष भएर पनि काम गरें।
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति इलामको निर्वाचित सदस्य भएँ। त्यसैगरी डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा आपत्कालीन रक्तसञ्चार सेवाको संयोजकका रूपमा सेवा गर्ने मौका पाएँ। इलाम जिल्लामा त्यो समयमा ब्लड ब्यांक नभएकाले अचानक रगत चाहियो भने विभिन्न रक्तदाताहरूको ब्लड ग्रूपको रेकर्ड राखिने र रगत आवश्यक हुँदा सोझै उनीहरूलाई बोलाएर रगत निकालेर बिमारीका लागि पोकामा रगत उपलब्ध गराउनुपर्थ्यो। म स्वयंले पनि तीन-चार पल्ट रक्तदान गरें।
दुर्घटनामा परेका घाइते र रक्तअल्पता भएका सुत्केरी आमाहरूको ज्यान जोगाउन त्यो सेवा अत्यन्तै सफल रह्यो। दैनिकी व्यस्त र सफलै भएकाले फेरि विदेश जाने सोचिनँ। तर, बिस्तारै नेपालको राजनीतिमा डामाडोल स्थिति आउँदा सबै पेशा-व्यवसायहरू चौपट भए। त्यो वेला म गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) जिल्ला कार्यसमिति इलामको सचिव पदमा कार्यरत थिएँ। हवाई काण्डपीडित पनि भएकाले हवाईपीडितको प्रतिनिधिका रूपमा गेसोले मलाई बेलायत पठाउने भयो।
त्यति वेला गेसोले गोर्खाका लागि बेलायतमा समानताको मुद्दा उठाएको थियो। त्यही भएर म बेलायत आएँ। बेलायत आएपछि आईएलआर (इन्डिफिनिट लिभ टु रिमेन) निवेदन गरेमा बस्न पाइन्छ भन्ने थाहा भयो। निवेदन दिएर बस्न थालियो। जीवनयापन गर्न सानोतिनो जागीरको भर छ। बचेको समयमा हवाई काण्डपीडितकै मुद्दा उठाउन सक्रिय रहेको छु।
०००
हामी गोर्खा पनि अनेक तह र तप्काका छौं। अहिलेसम्म जसको पेन्सन/भत्ता आउने बाटो थियो उनीहरूको थप सुविधा थपिएको मात्र हो, हामी जस्ता अन्यायमा परेका तर आउने बाटो नबनिसकेकाहरूलाई हालसम्म पनि नयाँ थप सुविधा या थप भएको छैन। गोर्खाहरूले मासिक १३-१४ सय नेपाली रुपैयाँ मात्र पेन्सन पाउनेमा अहिले ५५/६० हजार रुपैयाँ पाउनुहुन्छ। तर, हामी हवाई काण्डका पीडितहरूका लागि केही भएको छैन।
हामीले पाएको सुविधा भनेको जसले बेलायती सेनामा चार वर्ष सेवा अवधि पूरा गरेका थिए, उनीहरू बेलायत आउन पाए, त्यही हो। संयोगवश के पर्यो भने हवाई काण्डमा परेकाहरूमध्ये अधिकांशले चारवर्षे सेवा अवधि पूरा गरिसकेकाले सबै बेलायत आउन पाए।
जसले सेनामा चार वर्ष अवधि बिताए तिनलाई बेलायतमा बस्ने सुविधा दिनुपर्छ भनेर आवाज उठाउने हवाई काण्डपीडित कर्पोरल ज्ञानेन्द्र राई (२११६०८०१) हुन्। यसमा उनको ठूलो योगदान रहेको छ, जो फोकल्यान्ड युद्धका घाइते हुन्। गोर्खालाई बेलायतमा सुविधाका लागि माग गरी अदालतमा मुद्दा दर्ता गर्नेमा एक जना ज्ञानेन्द्र राई पनि हुनुहुन्छ।
अदालतमा बहस हुँदा उहाँकै कारण फोकल्यान्डको प्रसङ्ग पनि उठ्यो। फोकल्यान्ड युद्धमा समावेश गोरा सिपाहीहरूले चाहेमा फोकल्यान्डमा बसोबास गर्न सक्ने र हरेक सुविधा फोकल्यान्डकै नागरिक सरह पाउन सक्ने भन्ने रह्यो, तर सहयोद्धा गोर्खा सिपाही भने यस सुविधाबाट वञ्चित रहे। यो थाहा पाउँदा मुख्य न्यायाधीश अत्यन्तै भावुक बनेका थिए।
ज्ञानेन्द्र राईले यस विषयमा निरन्तर अगुवाइ गर्नुभयो। मिडियाले उहाँलाई फोकस गरे। उहाँकै योगदानले गर्दा हवाई काण्डमा परे पनि चार वर्ष सेनामा बिताएकाहरू सबै बेलायत आउन पाए।
युद्धमा घाइते भए पनि ज्ञानेन्द्र राई हामी जस्तै केही पनि सुविधा नपाउनेमा पर्नुहुन्छ। उहाँलाई मेडिकल पेन्सन र युद्ध घाइते सुविधा दिएर डिस्चार्ज गर्नुपर्ने थियो, तर त्यसो भएन। त्यसैले उहाँ डबल भिक्टिम हो। उहाँले आफ्ना कुरालाई लिएर युद्ध घाइतेहरूको सेवा सुविधा हेर्ने संस्था सर्भिस पर्सनल एन्ड भेटेरान एजेन्सीमा पुनरावलोकनको अनुरोध गर्दा १ जुलाई १९९७ भन्दा अगाडि नोकरी छाडेका गोर्खा युद्ध पेन्सन योजनाका लागि योग्य छैनन् भनियो।
१ जुलाई १९९७ भन्दा अघि गोर्खाको होम बेस हङकङमा भएको भनियो। यो मितिमा हङकङ चीनलाई हस्तान्तरण गरेपछि गोर्खाको बेस बेलायतमा भयो। यही कुरामा गोर्खाका सुविधा अल्झाइयो। हामीलाई लाग्छ, हामीले विश्वका जुन भूभागमा युद्ध लडे पनि त्यो बेलायती राजमुकुटका लागि लडेका हांै। त्यसैले युद्ध घाइते वा पीडितहरूले संसारको जहाँ रहे पनि ब्रिटिश सहयोद्धा सरहको सेवासुविधा पाउनुपर्दछ।
नेपालमा प्रजातन्त्र आएपछि, २०४७ सालमा पूर्व सांसद जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा गोर्खा समस्या सम्बन्धी सर्वदलीय समिति बनेको र त्यसले हवाई काण्डका ब्रिटिश गोर्खालाई अन्याय भएको छ भनी रिपोर्ट तयार गरी बेलायतलाई जानकारी गराएको थियो। तर पनि, समस्या जहाँको तहीं रह्यो।
०००
बेलायतले पनि गेसोको दबाबमा पूर्व प्रमुख न्यायाधीश क्युसी मेट्रयलको नेतृत्वमा एउटा गोर्खा फ्याक्ट फाइन्डिङ टीम बनाएको थियो। त्यो टीमले पनि हवाई काण्डको सही छानबिन गरेर ब्रिटिश सरकारले आफ्नो गलत इतिहासलाई सच्याउने मौका गुमाउनु हुँदैन भन्ने प्रतिवेदन दिएको थियो।
बेलायती सांसद जेकी डाइयलको नेतृत्वमा बनाइएको ‘अल पार्टी पार्लिमेन्टरी कमिटी’ ले पनि सही किसिमले छानबिन नै नगरी त्यसरी सबै समूहलाई एउटै समूहमा राखी घर पठाउँदा निर्दोषहरू माथि अमानवीय अन्याय पर्ने भएकाले पुनः छानबिन गरी निर्दोषहरूलाई उचित न्याय र क्षतिपूर्ति दिनुपर्छ भनी सिफारिश गरेपछि त्यसैको आधारमा गोर्खा समस्या समाधान गर्न भनी बेलायतको रक्षा मन्त्रालय (एमओडी/मिनिस्ट्री अफ डिफेन्स) को प्रतिनिधि, नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाल एम्बेसीका प्रतिनिधि र भूपू गोर्खा प्रतिनिधि (पूर्व गोर्खा मेजर जुद्धबहादुर गुरुङ र डा.चन्द्र लक्सम्बा) सम्मेलित एक प्राविधिक समिति (टेक्निकल कमिटी) बनाइएको थियो।
पछि वार्ताका क्रममा गोर्खा प्रतिनिधिहरूले हवाई काण्डको कुरा निकाल्दा एमओडी प्रतिनिधिहरूले यस्ता घटना ब्रिटिश आर्मीको गोरा युनिटमा थुप्रै घटेको र हवाई काण्डलाई मात्रै उठान गर्दा यस नजीरका आधारमा अरू केसहरू पनि ब्युँतने सक्ने र बेलायत सरकारलाई बेहोरिनसक्ने आर्थिक घाटा हुने र आफ्नो स्तरले पनि यस्तो मुद्दा उठाउन अधिकार नदिएको भनेर पन्छिए। प्रत्युत्तरमा गोर्खा प्रतिनिधिहरूले हवाई काण्ड एक जघन्य र अमानवीय भएकोले यसको फाइल कसरी क्लोज गरियो?
त्यसको टिपोट देऊ भनेर लगातार तीन पटकसम्म अड्डी लिएपछि हवाई केस सम्बन्धी टिपोट उपलब्ध गराइयो र हवाई केसमा ल्याङ्ग्वेज ब्यारिएर (भाषिक समस्या) ले गर्दा गहिराइसम्म जान नसकिएकाले गर्दा अन्याय भएको हुन सक्ने भनी स्वीकार गर्दै अदालतबाट त्यसलाई सुल्झाउने ‘भद्र सहमति’ का साथ हवाई केसलाई टेक्निकल कमिटीको रिपोर्टमा पारिएन।
०००
मैले मेरो अक्सोफोर्ड इष्ट (निर्वाचन क्षेत्र) का एमपी अनरेबल एन्ड्र्यू स्मिथ मार्फत एमओडीमा निवेदन गर्दा उत्तरमा चन्द्रकुमार प्रधानको करङ भाँचिएको हो, मेजर सी.जे. पियर्सको टाउकामा १३ टाँका सिलाइ परेकै हो, घटनाको यथेष्ट प्रमाण यिनै होइन र भन्ने उत्तर पाइन्थ्यो। टेक्निकल टीमको सहमति अनुसार हामीहरूले होई एन्ड को कानूनी संस्था मार्फत कोर्टमा जाने प्रयास गरेका थियौं। यसले गोर्खा युद्धबन्दी (द्वितीय विश्वयुद्ध) र गोर्खा सेटलमेन्ट राइट जस्ता मुद्दा लडी उनीहरूको पक्षमा पार्न सफल पारेको थियो।
यसका ब्यारिस्टरहरूसँग हवाई केसका बारेमा मिटिङ हुँदा यो केस अति नै जेनुइन भएकाले लिगल एड वा ‘नो विन नो पे’ बाट मुद्दा लिनलाई सहमत भए। लिगल एड भनेको कम आय हुनेहरूका लागि मुद्दा लड्न बेलायत सरकारले दिने रकम हो। मुद्दा लड्ने व्यक्तिको कमाइ वार्षिक १८ हजार पाउन्डभन्दा कम छ भने यस्तो सहयोग पाइन्छ नत्र पाइँदैन। यसमा संलग्नहरूको कमाइ योभन्दा बढी भएकाले यो सम्भावना पनि रहेन।
‘नो विन नो पे’ भनेको मुद्दा जिते पैसा तिर्नुपर्ने नत्र कानूनी सेवा तथा कुनै पनि खर्च एक पैसा बेहोर्नुनपर्ने शर्त हो। बेलायतका कानून व्यवसायीहरू नो विन नो पे केस गम्भीर र बलियो छ भने मात्र लिने गर्छन्। अर्थात् शतप्रतिशत जित्ने सम्भावना भएको र जितपछि आफ्नो पनि नाम चल्ने खालका केस उनीहरू लिन्छन्। होई एन्ड कोका वरिष्ठ ब्यारिस्टरहरूको छलफलले हवाई केस दुइटा विषयमा केन्द्रित रहने निर्णय गर्यो। पहिलो मानव अधिकार उल्लंघन, दोस्रो कुनै पनि प्रक्रिया विना अधुरो छानबिन गरी ११० सेनाको परिवारको जीवनमाथि खेलबाड गरेको।
होई एन्ड कोका सोलिसिटरहरूको पहलमा बेलायतभरिका प्रसिद्ध कानून व्यवसायीहरूको भेला गराएर काउन्सिल गठन गरी कुन विषय प्रभावकारी हुन्छ भन्ने राय लिई मुद्दा तयार पार्ने योजना बन्यो। तर, पछि अर्को मिटिङहरूमा छलफल हुँदा यो मुद्दामा बेलायत हार्ने सम्भावना रहन्छ।
मुद्दा हारेमा बेलायत सरकारलाई ठूलो आर्थिक क्षति मात्र नभई आफ्नो इज्जत र प्रतिष्ठामा समेत धक्का लाग्ने हुँदा मुद्दा कमजोर पार्न उसले संसारभरीकै नामी र महँगा कानून व्यवसायीहरू हायर गर्न सक्छ। बेलायतको नियम अनुसार मुद्दा हार्नेले जित्नेको कानूनी खर्च र समय बर्बादीको क्षतिपूर्ति समेत तिर्नुपर्ने हुन्छ। यदि हवाई मुद्दा तिमीहरूले हार्यौ भने हामीलाई त तिर्नु पर्दैन, तर जित्ने पक्षको सम्पूर्ण खर्च बेहोर्न सक्छौ भन्ने प्रश्नले हामीलाई अन्योल पारेको छ।
हामी बेलायत आएको पनि धेरै भयो र मुद्दा पनि निकै पुरानो भयो। त्यसैले हामी अदालतमा गएका छैनौं।
‘होई एन्ड को’ वकीलहरूले अब मानव अधिकारवादी संघसंस्थाहरूको सहयोगले क्याम्पियन गर्दै जानु भन्ने सल्लाह दिएका छन्। केही महीना अगाडि (अगस्ट २०२१) ज्ञानराज राई, ज्ञानबहादुर गुरुङ र पुष्पा घलेको १३ दिने आमरण अनशनपछि हवाई काण्ड पनि प्रमुख मुद्दा बन्ने भएबाट हामी थप आशावादी र उत्साहित बनेका छौं।
०००
हामीलाई हवाई काण्डको फैसला प्राप्त भयो। त्यसलाई अध्ययन गर्दा प्रशस्तै त्रुटिहरू देखिन्छ। फैसलाको मुख्य आधार एसआईबी (स्पेशल इन्भेस्टिगेशन ब्यूरो) का जुनियर अफिसर (मेजर) को टिपोटलाई आधार मानेर कारबाही अगाडि बढाएको देखिन्छ। जसमा उनले आफू निष्पक्ष रहेर छानबिन गरेको भनी कबूल गरेर शुरूआत गरेका छन्। टिपोट अनुसार पल्टनको गोर्खा मेजरको च्यानलबाट पनि छानबिन गर्न खोजिँदा एसआईबीले आफूले गरेको छानबिनमा विश्वास नगरेको भनेर प्रतिरोध गरेकाले बीचैमा रोकिएको भन्ने समेत उल्लेख छ।
हामीलाई लाग्छ, ११० जना मान्छेको भविष्यमाथिको कुरा एउटा न्यायिक समितिले छानबिन गर्नुपर्थ्यो। यस्तो महत्त्वपूर्ण कुराको निर्णयको आधार एउटा जुनियर अफिसरको निर्णलाई आधार मान्नु नेपाल राष्ट्र र गोर्खाको अपमान मात्र नभई बेलायत जस्तो प्रजातान्त्रिक देशको मानव अधिकारमाथिको धज्जी पनि हो।
भूपू गोर्खाहरूको नजरमा पनि यिनीहरू फटाहा हुन भन्ने बुझाइ छ र त्यसै किसिमको व्यवहार गरिन्छ। हाम्रा लागि न्यायको बिगुल कसैले फुकेको छैन।
फेरि फोकल्यान्ड
फोकल्यान्डमा युद्ध भएको ३०औं वर्षगाँठ मनाएपछि साउथ एट्लान्टिक मेडल एशोसिएशन (सेटा) ले सन् २०१५ हामीलाई ‘भिजिट ब्याटल फिल्ड फर भेटेरान’ को मौका मिलाइदियो। यो संस्थाको खर्च मिनिस्ट्री अफ डिफेन्सले बेहोरिदिएको थियो। हामीलाई बेलायती सेनाको जङ्गी जहाज भी सी टेनले लैजाने ल्याउने गर्यो।
बस्नका लागि फोकल्यान्डको राजधानी स्ट्यान्लीमा सेटाकै पाहुनाघरमा बस्ने व्यवस्था मिलाइयो। तर, मान्छे नअटेपछि स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइयो। उनीहरूले नै आफ्नो ल्यान्डरोभरमा राखी वरपर घुमाइदिए। त्यहाँ सेवारत गोर्खा टुकडी लगायत ब्रिटिश फोर्सले आफ्नो हेलिकप्टरमा पनि घुमाइदिए।
फोकल्यान्डका भाइस गभर्नर मेरीले हामीलाई आफ्नो कार्यालयमा जलपान गराउनुभयो। उहाँ फोकल्यान्ड युद्धमा नर्स हुनुहुन्थ्यो। भ्रमणमा हामी ३३ जना गोर्खा थियौं जसमा क्याप्टेन टेकबहादुर लिम्बू, बेलबहादुर राई, बुद्धिबहादुर राई, मेजर दिलीप गुरुङ, दिलकुमार राई, स्टाफ सर्जेन्ट शिवधन राई, सार्जन्ट धनबहादुर गुरुङ, कर्पोरल बलराम गुरुङ, राइफलम्यान टंक लिम्बू, मणिकुमार लिम्बू र म लगायत थियौं।
यीमध्ये हवाई काण्डपीडितबाट शिवधन राई, बलराम गुरुङ, मणिकुमार लिम्बू र म थियौं। आफू लडेको युद्धभूमिको अवलोकन ३० वर्षपछि गर्न पाउँदा खुशी नलाग्ने कुरै भएन। हामीले खनेका ट्रेन्चहरू जस्ताका तस्तै थिए, खालि झारपात उम्रेका। आकाशबाट हुने हमलाबाट बच्न ओभर हेड प्रोटेक्शनका लागि प्रयोग गरिएका जस्तापाताहरू खिया लागेर रातो रातो खैरो खैरो भएको पाइयो। बम खसेर पारेको खाडलहरू देख्दा त्यो वेला धन्न बाँचिएछ जस्तो लाग्यो।
डार्विन भन्ने ठाउँमा बुद्धप्रसाद लिम्बूले शहादत प्राप्त गरेको स्थानमा फूल चढाउन पुग्दा पानी परिरहेकाले निकै जाडो भयो। मेजर दिलकुमार राईले आफ्नो थर्मसबाट चिया सारेर खाँदै गरेको चियाको मग मतिर बढाउँदै जाडो भयो भाइ चिया खाऊ भन्नुहुँदा म फेरि युद्धकालको मित्रता सम्झिएर व्याकुल बनें।
फोकल्यान्डका वेला उहाँ र म दुवै एक दर्जा (राइफलम्यान) मा थियौं। त्यहाँ सेवारत गोर्खा टुकडीले भ्रमणमा धेरै नै सरसहयोग गरे भने हाम्रो चाड दशैंको वेला परेकाले उनीहरूको दशहरा पार्टीमा समेत हामीलाई निमन्त्रण गरी युद्ध विजेताका रूपमा सम्मान समेत गरे। यसरी नै त्यहाँ रहेका एअरफोर्सका दुई ओटा हेलिकोप्टरले फोकल्यान्डभरि घुमाइदिएका थिए।
भ्रमणको अन्तिम दिन डार्विनमा अर्जेन्टिनी सेनाको सामूहिक समाधिस्थलमा पुग्यौं जसलाई हामीले पहिले दुश्मन भन्थ्यौं। उनीहरूको मलामीमा मलाई पनि ड्यूटी खटाइएको थियो। समाधिस्थल व्यवस्थित र आकर्षक ढङ्गले सजाइएको रहेछ। प्रत्येक योद्धाको नाम, जन्ममिति, वीरगति प्राप्त गरेको मिति र स्थान लेखिएको थियो। तर, कसैको पनि फोटो टाँसिएको देखिन। मैले ट्रेन्च पुर्दा भेटेको फोटोको दुश्मनको समाधि कुन होला?
जो आफ्नो मातृभूमिका लागि लडेको थियो, उसले आफ्नो अमूल्य जीवन बलिदान गरे पनि उसको पक्षले जित्न सकेन। त्यसैले आखिरमा उसको देश हारेर सेतो झन्डा उठाउन बाध्य भए पनि उसले वीरगति प्राप्त गरेर देशप्रतिको कर्तव्य पूरा गरेरै छाड्यो। मैले जसको पक्षमा लडें आखिर त्यही पक्षको जित भयो। म सकलै बाँच्न सफल भएँ। तर, त्यो जित मेरो देशका लागि भएको थिएन।
बेलायतसँग अर्जेन्टिनीको हार भएपछि हामीलाई युद्धमा भाग लिएको सम्मानमा साउथ एट्लान्टिक मेडल छातीमा झुन्ड्याइदिए। तर, पछि हवाई काण्डको कलङ्कको टीका लगाएर छानबिन नै नगरी अन्यायपूर्ण र अपमानजनक ढङ्गले सेवाबाटै हटाए। हामी सबैको लालबूकमा जागीरबाट निष्कासन गरिनुको कारण एउटै वाक्य लेखिएको छ- ‘नो लंगर सर्भिस रिक्वायर्ड’ अर्थात् यो भन्दा बढी सेवा चाहिएन। तर, हामीलाई व्यवहारमा कोर्टमार्शल भन्दा कठोर जीवनभर बोक्नै नसक्ने अपमान, घृणा र तिरस्कारको भारी बोकाइएको छ।
(प्रस्तुत संस्मरण श्रीभक्त खनाल र खेमराज रानाभाट लिखित पुस्तक तीन फरक विषयः फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जङ्गबहादुरबाट साभार गरिएको हो। लेखक शंकर राईले हिमालखबरका लागि तयार पारिएको यो लेखमा केही थपेका छन्।)
अरु पनि