टिप्पणी बुधबार, असार २४, २०७७

हाँसेरै धेरै राेग निकाे हुन्छ, त्यसैले हाँसाैं

डा. रामदेव पण्डित

हाँसेरै धेरै राेग निकाे हुन्छ, त्यसैले हाँसाैं

हास्य–चिकित्सा संज्ञानात्मक (कग्निटिभ) व्यवहार र वैकल्पिक चिकित्सा हो । मानसिक स्वास्थ्यमा अद्भुत लाभ दिने यस चिकित्साले इम्युनिटी पनि बृद्धि गराउँछ । यस चिकित्सामा कुनै खालको औषधि प्रयोग गरिंदैन ।

मुखको मुद्रा र कान्तिले हृदयको खुशी वा आनन्द प्रकट गर्नु नै हाँस्नु हो । हाँस्दा कोही आवाज निकालेर प्रशन्नता प्रकट गर्छन् भने कोही मुस्कान छरेर खुशी प्रकट गर्छन् । रोक्न नसक्दा खित्का छाडेर हाँस्नेहरू पनि हुन्छन् । हाँसोका विविध रूप छन् । त्यसैले त ‘जो हाँस्न जान्दैन ऊ बाँच्न जान्दैन’ भनिन्छ ।

डा. रामदेव पण्डित

प्रकाशको उपस्थितिमा अँध्यारोको अस्तित्व समाप्त भए झैं हाँसोको उपस्थितिमा दुःख, पीडा, तनाव, निराशाको अस्तित्व पनि मेटिन्छ । अर्थात् हाँस्ने मानिसले तत्काल ती सबैबाट मुक्ति पाउँछ ।

हाँस्नु र मुस्कुराउनु एउटै भने होइन । यी दुई शब्दका अर्थ फरक छन् । मुस्कुराउने काम सधैं सकारात्मक, सहज एवं सन्तुष्टि भाव व्यक्त गर्ने मुखको शैली हो तर हाँस्नुको कारण भने सधैं सकारात्मक हुँदैन । हाँसो आश्यर्चजनक वा अनपेक्षित अवस्थाप्रतिको प्रतिक्रिया हो । हाँसोमा प्रायः आवाज निस्कने हुन्छ भने मुस्कुराउँदा आवाज निस्कनु जरूरी हुँदैन ।

यो पनि पढ्नुहोस्— भाँती पुर्‍याएर पानी पिए धेरै रोगबाट बच्न सकिन्छ

हाँसो र ठट्टा यी दुई शब्दहरू मानिसले धेरै पटक पर्यायवाचीका रूपमा प्रयोग गरेको पाइन्छ । उस्तैउस्तै लाग्ने यी दुई शब्दको अर्थ भने फरक छ। सरल रूपमा भन्नुपर्दा हाँसो कार्य हो र ठट्टा हाँसोको कारण (उत्प्रेरक) हो । चुट्किला सुनेपछि हाँसो उठ्छ । अतः यहाँ हाँसोको कारण चुट्किला हो।

अहिले शारीरिक रूपमा रोगी र मानसिक रूपमा पीडित मानिस यत्रतत्र भेटिन्छन्। कोभिड–१९ को महामारीले झनै समस्या थपिदिएको छ । विविध कारणले मानिसहरू आत्महत्या गरिरहेका छन्। जीवनमा सम्भावना नदेख्ने र हरेश खानेहरूको संख्या बढिरहेको छ।

यस्तो परिस्थितिमा हास्य–चिकित्सा राहतको एक सहज, निःशुल्क, सुलभ र स्वाभाविक विधि बन्न सक्छ। हाँसोले बालकदेखि वृद्धसम्म सबै जनालाई शारीरिक स्वास्थ्य, मानसिक शान्ति एवं एकाग्रता र आत्मिक प्रशन्नता दिन सक्छ । जीवनमा संभावना र बाँच्ने आशा जगाइदिन सक्छ।

‘द लाफ्टर पे्रस्क्रिपस्नः अ टुल फर लाइफ स्टाइल मेडिसिन’ शीर्षकमा ३० मे सन् २०१४ मा ‘अमेरिकन जर्नल अफ लाइफ स्टाइल मेडिसिन’ मा प्रकाशित एक शोध प्रतिवेदनका अनुसार हाँसो भनेको वातावरण, परिस्थिति र संवेगप्रतिको एउटा जटिल भावनात्मक प्रतिक्रिया हो।

यो पनि पढ्नुहोस्— खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र

शोधका अनुसार हाँसो पाँच प्रकारका हुन्छन् । पहिलो स्वस्फूर्त वा स्वाभाविक रूपमा उठ्ने हाँसो । जसलाई जेन्युन/स्पोन्टेनियस लाफ्टर भनिन्छ । यो सकारात्मक मूडको कारणले प्रकट हुन्छ । दोस्रो सिमुलेटेड/सेल्फ इन्डयुस्ड हाँसो अर्थात् कुनै कारणले प्रकट हुने हाँसो हो । जुन सकारात्मक मूडसँग जोडिएको हुँदैन । तेस्रो स्टिमुलेटेड हाँसो । जस्तैः काउकुती लगाउँदा प्रकट हुने हाँसो । चौथो इन्डयुस्ड हाँसो, जस्तै औषधि खुवाएकाले प्रकट हुने हाँसो । पाँचौं, प्याथोलोजिकल हाँसो औषधि ख्वाउँदा पनि नहाँस्ने तर बाध्यताका कारण उत्पन्न रोगी हाँसो ।

सन् १९७९ मा नर्मन कउजिनले ‘एनाटमी अफ एन् इल्नेस’ पुस्तकमा हाँसोले कसरी ‘एन्कोलाइजिङ स्पोन्डोलाइसिस्’ रोगमा दुखाइ निवारक प्रभाव दिन्छ भन्ने विषय आफ्नो पुस्तकमा प्रकाशित गरेपछि हाँँसोको चिकित्सकीय पक्षप्रति वैज्ञानिक र संस्थागत स्तरमा चासो र खोजी हुन थाल्यो । हाँसोले शरीर–क्रिया (फिजियोलोजी) र मनोविज्ञान (साइकोलोजी) मा पार्ने प्रभावका बारे चिकित्सा विज्ञानको साइको–न्यूरो–इम्युनोलोजी शाखाले पनि अध्ययन गर्न थाल्यो ।  

स्वस्थ हाँसोले मनोविज्ञानलाई सकारात्मक रूपमा कसरी उत्प्रेरित गर्दछ भन्ने विषयमा धेरै खालका चिन्तन वैज्ञानिक समुदायमा पाइन्छन् । जसलाई वैज्ञानिकहरूले हाँसोको सिद्धान्त भनेका छन् । हाँसोले ल्याउने सकारात्मक उत्प्रेरणाको मापन न्यूरो–इमेजिङका माध्यमबाट गरिन्छ ।

हाँसोका पनि विभिन्न थ्यौरीहरू हुन्छन्। दबिएर रहेका इच्छा एवं उत्प्रेरणाहरूको भौतिक प्रस्तुतिलाई रिलिज थ्यौरी भनिन्छ। त्यस्तै अर्को सुपेरियोरिटी थ्यौरी हुन्छ। यो थ्यौरी अनुसार हाँसो प्रकट गराउन एउटालाई होच्याएर अर्कोलाई ठूलो देखाइन्छ। तेस्रो इन्कङ्ग्य्रुटी थ्यौरी हो। यसमा अस्वाभाविक रूपले दुई वा त्योभन्दा बढी विषयको तालमेल सिर्जना हुन्छ। यी हाँसोका प्रसिद्ध सिद्धान्तहरू हुन्।

यो पनि पढ्नुहोस्—आखिर इम्युनिटी हो के ?

के बनावटी हाँसो र स्वस्फूर्त हाँसोकोे शरीरमा समान प्रभाव रहन्छ ? हाँसो सम्बन्धी एक अर्को सिद्धान्त ‘मोसन क्रियेट्स इमोसन थ्यौरी’ का अनुसार वस्तुतः मन मस्तिष्कले बनावटीे हाँसो र स्वस्फूर्त हाँसो बीच फरक छुट्याउन सक्दैन। अतः दुवै हाँसोका लागि शरीरले समान प्रतिक्रिया जनाउँछ । दुवै खालका हाँसोले समान खालको जैव रसायन उत्पन्न गर्दछ । यसै जगमा हास्य–चिकित्साको विकास भएको छ । पश्चिममा निकै चर्चामा रहेको ‘लाफ्टर योग’ पनि यसैमा आधारित छ।

हाँसोका आयाम

१. चिकित्साको रूपमा हाँसोः हास्य–चिकित्सा रोगीमा स्वतन्त्र रूपमा प्रयोग गरिने चिकित्सा विधि होइन । अन्य चिकित्सा विधिसँग प्रयोग गरिन्छ, यही कारणले यसलाई ‘एड्जुभेन्ट थेरापी’ भनिन्छ । हाँसोको प्रभाव चामत्कारिक र व्यापक हुन्छ, जुन तत्कालै देखिन्छ।

हास्य–चिकित्सामा चिकित्सक र रोगीले निम्न चार विषयलाई मूल रूपमा ध्यान दिनुपर्छ । फ्रिक्वेन्सी (कति पटक), इन्टेन्सिटी (कति शक्तिका साथ), ड्युरेसन (कति समय), टाइप (कस्तो हाँसो) । प्रायः आफूलाई मनपर्ने शैलीको हाँसो कम्तीमा ३० मिनेटसम्म र हप्ताको कम्तीमा एक पटक पेट मिचीमिची हाँस्ने सल्लाह चिकित्सकहरूले दिएको पाइन्छ ।

आयुर्वेद सुश्रुत संहितामा स्वास्थ्यको परिभाषा गर्दै ‘समदोष समाग्निश्च समधातुमलक्रिया प्रसन्नात्मेन्द्रियमनः स्वस्थ इत्यभिधियते’ भनिएको छ। अर्थात् प्रशन्नता आत्मा, मन र इन्द्रिय सबैको विषय हो । शरीर मात्र ठीक भएर पुग्दैन मन, इन्द्रिय र आत्मामा प्रशन्नता भएपछि मात्र व्यक्ति स्वस्थ हुन्छ । अतः प्रशन्नताको सन्दर्भमा यहाँ पनि हाँसो अपेक्षित छ।

२. साधनाको रूपमा हाँसोः इन्द्रियहरू मार्फत मनभित्र प्रवेश गर्ने संवेगहरूले हाँसोे उत्पन्न हुने गर्छ । मन सदा आत्माको प्रेरणामा सक्रिय हुन्छ। अतः हाँसोले आत्मिक जागरणलाई पनि प्रभावित तुल्याएको हुन्छ । प्रशन्न चित्त एवं अनुहार सही साधना र सच्चा साधकको परिचय पनि हो। प्रायः आध्यात्मिक गुरु वा साधकहरू हँसिला देखिन्छन्।

यो पनि पढ्नुहोस्— बुझौं दुखाईका संकेत !

श्रीमद्भगवद्गीताको अध्याय दुई श्लोक ६५ मा भनिएको छ, ‘प्रसादे सर्वदुःखानां हानिरस्योपजायते । प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते।’ अर्थात् आत्मिक रूपमा जागृत व्यक्तिको जीवनमा दुःख धेरै समय टिक्दैन। प्रशन्न चेतना भएको व्यक्तिले दुःखबाट सजिलै पार पाउन सक्दछ। साथै प्रशन्न व्यक्तिको बुद्धि पनि सजिलै स्थिर बन्छ।

बुद्धि स्थिर भएपछि मनमा एकाग्रता र शान्ति स्थापित हुन्छ। व्यक्तिको जीवनमा स्मृतिशक्ति, निर्णय शक्ति, निर्भयता, वैचारिक स्पष्टता, तर्कशक्ति एवं व्याधिक्षमत्व शक्ति आदिको उदय एवं वृद्धि हुन्छ।  ‘प्रशन्नता’ हाँसोको श्रेष्ठ प्रकार हो, जसलाई हाँसोको पर्यायको रूपमा पनि प्रयोग गरिन्छ।

हाँसो मनोरञ्जनको लागि हो, तर मनोरञ्जनको साधन मात्र भने होइन। हाँसोले जीवनको बहुआयामलाई एकसाथ प्रभावित पारेको हुन्छ।

हाँसोको प्रभाव

शारीरिक प्रभाव प्राविधिक रूपमा भन्नुपर्दा कोही व्यक्ति हाँस्दा शरीरको १२ वटा मांसपेशीहरूको संलग्नता भएको हुन्छ । भनिन्छ, हाँसोको वेला अप्रत्यक्ष रूपमा भने लगभग ३० देखि ५२ वटा मांसपेशीहरूको व्यायाम भइरहेको हुन्छ।

सन् २००३ मा प्रकाशित अमेरिकी लेखक मार्थ बेकको पुस्तक ‘जोय डाइट’ का अनुसार एक जना वयस्क व्यक्तिले प्रति दिन मात्र १७ पटक हाँस्ने गरेको पाइन्छ । तर स्वस्थ रहन एक जना व्यक्तिले दिल खोलेर कम्तीमा ३० पटकसम्म हाँस्नुपर्छ। १०० पटकसम्म हाँस्न सक्नु अति नै उत्तम मानिन्छ।

स्टान्डफोर्ड विश्वविद्यालयका मानसिक रोगका प्राध्यापक डाक्टर विलियम फ्राईका अनुसार बच्चाहरू अरू उमेर समूह भन्दा बढी हाँस्छन् । नर्सरी कक्षामा पुग्दै गरेको बच्चाले प्रतिदिन औसतमा ३०० पटकसम्म हाँस्ने गर्छ भन्ने तथ्य अनुसन्धानहरूले देखाएका छन्।

जति धेरै सामाजिक सम्बन्ध र सम्पर्कमा बसिन्छ हाँसोको संख्या उति नै बढेको देखिएको छ । पुरुषहरूको तुलनामा महिलाहरू बढी हाँस्छन् फलतः पुरुषहरूले भन्दा महिलाहरूले सहज रूपमा सामाजिक सम्बन्धहरू बढाउन सक्छन् । धेरै व्यक्तिलाई आकर्षित गर्न सक्छन्।

मानसिक प्रभावः सन् १९८९ मा द अमेरिकन जर्नल अफ मेडिकल साइन्सेजमा प्रकाशित एक अध्ययन ‘न्यूरोइन्डोक्राइन एण्ड स्ट्रेस हार्मन चेन्जेज् डियुरिङ माइण्डफूल लाफ्टर’ का अनुसार १० जनाको एउटा समूहलाई एक घण्टाको हास्य भिडियो देखाएर उनीहरूको रगतमा विभिन्न हार्मोनहरूको मात्रा परीक्षण गरिएको थियो। समूहका पाँच जनालाई एक घन्टाको हास्य भिडियो देखाइएको थियो र बाँकी पाँच जनालाई देखाइएको थिएन। त्यसपछि एकसाथ १० जनाकै रगतमा परीक्षण गरिएको थियो।

यो पनि पढ्नुहोस्—अनिद्राको समस्या छ ? यी हुन् मीठो निद्रा लाग्ने उपाय

भिडियो हेर्ने समूहमा कर्टिसल (तनावदायक हार्मोन) को स्तर औसतमा २४० बाट झरेर लगभग ९० पुगेको थियो । तर भिडियो नहेर्ने समूहको रगतमा कर्टिसलको तह औसतमा ३९० बाट झरेर लगभग २७० मा मात्र झरेको थियो।

त्यसै प्रकृतिको अर्को अनुसन्धानमा हाँसोले रगतमा ‘नेचुरल किलर सेल्स’ को सक्रियता बढेको देखिएको थियो। नेचुरल किलर सेल्सले शरीरको इम्युनिटी बढाउने गर्छ।

हाँसोको अभ्यासले प्राकृतिक रूपमा इन्डोर्फिन्स नामक जैव–रसायन मस्तिष्कमा उत्पन्न भएर रगतमा पुग्छ। त्यसपछि शरीर एवं मन झुम्म पार्छ र दुखाइ बिर्सिइन्छ। लागू औषधको रूपमा प्रयोग हुने अफिम र हेरोइनले पनि यही विधिबाट मन एवं शरीरमा प्रभाव छोड्छ।

त्यसबाहेक हाँसोले ‘सेरेटोनिन’, ‘अक्सिटोनिन’ जस्ता जैव रसायनहरू पनि मस्तिष्कमा उत्पन्न गराउँछ जसबाट शान्ति एवं एकाग्रता प्राप्त हुन्छ । हँसिला मान्छेहरूलाई हृदयरोग लाग्ने खतरा अत्यन्तै कम हुन्छ ।

सामाजिक प्रभावः हँसिलो मान्छेसँग धेरै मानिस आकर्षित हुन्छन् । हँसिलो मान्छेले सजिलै साथी बनाउन सक्छ। समूहलाई आफ्नो प्रभावमा लिन सक्छ । छोटो समयमै सबैको प्यारो र मायालु बन्छ । यसरी हाँसोले व्यक्तिलाई सामाजिक र बहिर्मुखी बन्न सघाउँछ।

सम्बन्धहरूको सन्दर्भमा, गम्भीर र कम हाँस्ने मानिसहरूको तुलनामा अधिक हाँसो–ठट्टा गर्ने जोडीहरूको दाम्पत्य जीवन गुणस्तरीय र दिगो हुने गरेको पाइएको छ। हँसिला जोडीहरूको यौनजीवन पनि राम्रो हुने देखिएको छ । अतः सामाजिक सफलता एवं सन्तुलित सम्बन्धयुक्त जीवनको सूचक हो– हाँसो। हाँसो सुमधुर सम्बन्ध स्थापित गर्ने हतियार पनि हो।

यो पनि पढ्नुहोस्— के हो ‘इन्टरमिटेन्ट फास्टिङ’ ?

आजको व्यस्त एवं तनावयुक्त जीवनशैलीमा हाँस्नका लागि सबैले हास्यप्रधान सिनेमा, रेडियो कार्यक्रम, टिभी शो, कवि सम्मेलन, कथा र चुट्किला आदिलाई आफ्नो जीवनमा स्थान दिनु जरूरी छ।

जीवनमा हाँसो जोडौं र आरोग्यता प्राप्त गरौं। दीर्घ जीवन प्राप्त गरौं। आफू पनि हाँसौं अरूलाई पनि हँसाऔं। हा हा हा!

प्रतिकृया दिनुहोस