टिप्पणी बुधबार, माघ ८, २०७६

के हाे 'इन्टरमिटेन्ट फास्टिङ' ?

हिमालखबर

के हाे 'इन्टरमिटेन्ट फास्टिङ' ?

पौराणिक ग्रन्थ, पुराण र आयुर्वेदमा सन्तुलित जीवनको आधार मानिएको व्रत अर्थात् उपवासलाई अहिले आएर आधुनिक विज्ञानले पनि अपरिहार्य ठहर्‍याएको छ।

डा‌‌‌ रामदेव पण्डित

पछिल्ला धेरै अध्ययनले मानव स्वास्थ्यमा उपवासको सकारात्मक प्रभाव बारेका विभिन्न तथ्य सार्वजनिक गरिरहेका छन् । पश्चिमाजगतमा ‘इन्टरमिटेन्ट फास्टिङ’ विधिको चर्चा यसको उदाहरण हो ।

इन्टरमिटेन्ट फास्टिङ उपवास विधिमा ८ घन्टा खाने १६ घन्टा नखाने सूत्र अपनाइन्छ । बीचबीचमा खाली पेट राख्नाले हाम्रो मेटाबोलिज्म्को क्यालोरी पचाउने तरिका नै फेरिंदोरहेछ भन्ने विज्ञानले पनि प्रमाणित गरेको छ । यो आलेखमा उपवासले मानव स्वास्थ्यमा पुर्‍याउने बहुआयामिक एवं चामत्कारिक लाभहरूबारे पूर्वीय मत प्रकाश पार्ने प्रयास गरिएको छ ।

व्रत वा उपवास सनातन धर्म र नेपाली संस्कृतिको अभिन्न अभ्यास हो । धार्मिक अनुष्ठान, चाडपर्व तथा पूजाआजामा व्रत बस्नु हाम्रो समाजको पुरानै चलन हो । व्रतको महत्वबारे जानकारी नभएकाले यसलाई अन्धविश्वास वा आडम्बर मान्नेहरू पनि धेरै छन् । उपवासका अन्य धेरै ‘चामत्कारिक’ लाभहरू पनि छन्, जसबारे हामी अनभिज्ञ पनि हुनसक्छौं ।

वैदिक संहिताहरूमा उपवास जनाउन व्रत शब्दको व्यापक प्रयोग भएको छ । उपवास शब्दको प्रयोग उपनिषद्कालबाट मात्रै भएको हो । खानेकुरा सेवन नगर्नु वा भोकै बस्नु उपवास हुनसक्छ तर त्यसलाई व्रत भन्न मिल्दैन किनभने व्रत आध्यात्मिक साधना हो, जुन उपवास नहुन सक्छ । व्रतमा निश्चित सङ्कल्प जोडिएको हुन्छ, व्रतको खास उद्देश्य, विधि र समय हुन्छ जुन उपवासको नहुन सक्छ ।

शब्द निर्माणलाई हेर्दा वस् धातुमा उप उपसर्ग लागेर बनेको उपवास शब्दको दार्शनिक अर्थ स्वभाव (वा परमात्मा) सँग नजिक बस्नु हुन्छ । स्वस्थ शब्दको शाब्दिक दार्शनिक अर्थ स्वयंमा स्थित हुनु हो । अतः उपवासद्वारा स्वयंको नजिक बस्नु भनेको स्वयंमा स्थित हुनेतर्फ अग्रसर हुनु हो । परिणामतः उपवासले व्यक्तिलाई स्वयंमा स्थित गराउँछ, स्वस्थ तुल्याउँछ भन्ने बुझानुपर्दछ ।

आधुनिक पोषण विज्ञानले ‘तिमी त्यही हौ, जे खान्छौ’ भन्ने मान्यता राख्छ तर आयुर्वेदीय पोषण विज्ञानले यसलाई अपुरो मान्छ । आयुर्वेदले ‘तिमी त्यही हौ, जे पचाउँछौ’ को मान्यता राख्छ किनभने स्वास्थ्यको लागि राम्रो खानु मात्र पर्याप्त होइन । खानाबाट हाम्रो शरीरले के ग्रहण गर्छ त्यो बढी महत्वपूर्ण हुन्छ ।

आधुनिक विज्ञानको मतानुसार हरेक मानिसको दैनिक आवश्यकता निश्चित क्यालोरी ऊर्जा मात्र हुन्छ । यदि त्यसभन्दा बढी खाइएको छ भने त्यसलाई ग्लाइकोजेन वा बोसोका रूपमा कलेजोमा सञ्चय गर्न रगतमा अधिक मात्रा इन्सुलिन उत्पादन हुन्छ । तर जब उपवासका क्रममा खाना छाडिन्छ रगतमा ग्लुकोज र सँगै इन्सुलिनको मात्रा पनि घट्छ । यस्तो वेला शरीरमा सञ्चित ग्लाइकोजेन वा बोसो खपत गर्न मस्तिष्कले सन्देश जारी गर्छ ।

सञ्चित ग्लाइकोजेन २४–३६ घण्टासम्ममा ग्लुकोज बन्छ, खपत हुन्छ र सञ्चित बोसो ग्लुकोजमा रूपान्तरण भई दैनिक क्यालोरीको रूपमा खपत हुनथाल्छ । यसरी उपवासले शरीरको तौल नियन्त्रणमा राख्छ । उच्च रक्तचाप र मधुमेह जस्तो रोग लाग्ने सम्भावना पनि घटाउँछ । 

आयुर्वेद अनुसार खाना खाएपछि सामान्यतः त्यसबाट सप्तधातुमध्येको पहिलो रक्त धातु बन्छ । रक्त धातुबाट मांस धातु र मांसबाट मेद धातु बन्दै क्रमिक रूपमा शुक्र धातुसम्म बन्छ । तर जब आवश्यकता भन्दा बढी खाना खाइन्छ त्यसले शरीरमा मांस र मेद धातुको आधिक्य हुन्छ । जसले गर्दा मेद धातुबाट अस्थि, मज्जा र शुक्र धातुको निर्माण अवरुद्ध हुन्छ ।

उपवासले रस धातु बन्न रोकिन्छ, त्यो समय शुक्र धातुको क्षयको पूर्ति हुनसकिरहेको हुँदैन । शरीरलाई चाहिने भन्दा बढी भएको मांस र मेद धातुबाट क्रमिक रूपमा अस्थि, मज्जा र शुक्र धातुको निर्माणपथ क्रियाशील बन्छ । अन्ततः उपवासबाट शरीरमा धातु निर्माण प्रक्रिया र धातुको मात्रा सन्तुलित अवस्थामा रहन्छ ।

आयुर्वेदकै अर्को सिद्धान्त अनुसार उपवासले मानव शरीरमा हुने १३ प्रकारका अग्निहरूको पुनर्जागरण गर्छ । आहार पाचनमा भूमिका खेल्ने जठराग्निले उपवासका वेला पेटमा अवस्थित अपक्व वा अर्धपक्व पदार्थलाई पाचन गरी आमाश्य र पक्वाश्यलाई शुद्ध सफा बनाउँछ ।

त्यसैगरी शरीरमा अवस्थित ७ प्रकारको धात्वाग्निहरूले रस, रक्त, मांस, मेद, अस्थि, मज्जा तन्तुहरू बीच रहेको सञ्चित पदार्थहरूलाई पाचन गरी सफाइ गर्दछ । अन्ततः कोषहरूको स्तरमा रहने पाँच प्रकारका भूताग्निहरूले कोषहरूमा सञ्चित विकार निष्काशन गर्दछ ।

शास्त्रमा व्रत–उपवास

व्रत–उपवास बारे वेदकालीन ग्रन्थहरूमा भने खासै व्याख्या भएको पाइँदैन । उपनिषद्कालीन ग्रन्थहरूमा पनि व्याख्या गरिएको छैन । त्यसपछिको समय पौराणिक र इतिहासकालका ग्रन्थहरूमा भने व्रत वा उपवासबारे धेरै चर्चा गरिएको छ । अग्नि महापुराणमा व्रत वा उपवासबारे विस्तृत व्याख्या छ । एकादशी महात्म्य र स्वस्थानी व्रत कथामा त व्रत–उपवास नै प्रधान छ ।

पुराणहरूमा तीन प्रकारका व्रतको चर्चा छ । १) नित्य व्रतः प्रतिदिन ईश्वर भक्तिको सङ्कल्प गर्नु तथा आचरण ठीक राख्नु; २) नैमित्तिक व्रतः पाप वा दुःखबाट छुटकारा पाइने तिथि विशेषमा गरिने व्रत; र ३) काम्य व्रतः कुनै कामना पूर्तिका लागि बसिने व्रत आदि । पुराणहरूमा १३ प्रकारका उपवासको चर्चा गरिएको छ । (हे इन्फो)

यसबाहेक पुराणमा कायिक, वाचिक र पयो व्रत विधिका बारे पनि उल्लेख छ । दिनरात, वारहरू, पक्ष, महीना र अयनको आधारमा पनि उपवास गर्ने विधि पुराणहरूमा उल्लेख गरिएको छ । अग्नि महापुराणमा कृष्णाष्टमी, गणेशचतुर्थी, नवरात्रि व्रत, दशमीव्रत, एकादशी व्रत, द्वादशी व्रत, त्रयोदशी व्रत, चतुर्दशी व्रत, मकर सङ्क्रान्ति, षष्ठी व्रत, दिपावली व्रत, सप्तमी व्रत, अशोक पूर्णिमा व्रत, होली व्रत, नक्षत्रव्रत, षोडश संस्कार व्रत आदि व्रतबारे सविस्तार वर्णन गरिएको छ ।

चाणक्यसूत्रमा भनिएको छ– जीर्णभोजनं व्याधिर्नोपसर्पति अर्थात् पहिले खाएको अन्न पचेपछि अर्को पटक खाने मानिसलाई रोगले छुन पाउँदैन । आयुर्वेदको चरक संहिताले मान्ने त्रिविध चिकित्सा अन्तर्गत दैवव्यपाश्रय अन्तर्गत व्रत उपवासलाई राखिएको छ । जसको प्रयोग विशेष रूपले मानसिक रोगीमा गरिन्छ । आयुर्वेद अष्टाङ्गसङ्ग्रह अनुसार द्विविधोपक्रमणीय अध्याय २४ मा उपवासलाई लघंन चिकित्साको रूपमा व्याख्या गरिएको छ ।

प्राकृतिक चिकित्साको पञ्चतत्व सिद्धान्त अनुसार उपवासबाट शरीरमा खालीठाउँ (आकाश तत्व) को वृद्धि हुन्छ । आकाश तत्वमा सत्वगुणको अधिकता हुन्छ अतः उपवासले मनमा सत्वगुणको वृद्धि गराउँदछ । सत्वगुणको वृद्धिले बुद्धि, स्मृति र ज्ञान पनि वृद्धि हुन्छ । यसै अवधारणाले भगवद्गीताको अध्याय १७ को श्लोक संख्या ८–१० मा आहारलाई पनि सत्व, रजो र तमोगुणी भनी वर्गीकरण गरिएको छ ।

उपवासमा खाना छोड्नु भनेको खानाको शब्द, रूप, रस, गन्ध र स्पर्शबाट समेत ज्ञानेन्द्रियहरूलाई पर राख्नु हो । यसरी इन्द्रियहरूलाई निग्रह गरेर मनलाई नियन्त्रण गर्ने प्रयासलाई योग दर्शनमा प्रत्याहार भनिन्छ । पतञ्जली योगसूत्र, साधनपद, सूत्र ५४ मा भनिएको छ, ‘स्वविषयासम्प्रयोगे चित्तस्य स्वरुपानुकार इवेन्द्रियाणां प्रत्याहारः’ अर्थात् मनले सोच्ने र खोज्ने ती तमाम विषयहरूबाट मनलाई छुट्याइयो भने इन्द्रियहरूले स्थिरता प्राप्त गर्दछ ।

फलस्वरुप चित्तले आफ्नै स्वरुप (आत्मिक स्वभाव) पाएर शान्त हुन जान्छ । यसरी उपवासले प्रत्याहार विधिबाट व्यक्तिलाई प्राकृतिक अवस्थामा स्थापित गर्दछ । मनको शान्ति, एकाग्रता, स्मृति र बुद्धिको वृद्धि हुन थाल्छ । यसैले पनि उपवास अपरिहार्य छ । 

(डा.पण्डित आयुर्वेद चिकित्सक हुन्।)

डा. रामदेव पण्डित

प्रतिकृया दिनुहोस