टिप्पणी शुक्रबार, फागुन १६, २०७६

बुझौं दुखाईका संकेत !

हिमालखबर

बुझौं दुखाईका संकेत !
डा. रामदेव पण्डित

शारीरिक एवं मानसिक दुःखहरूको व्यक्त रूप नै दुखाइ हो । दुखाइका कारण हाम्रा आनीबानी, लोक–व्यवहार, सामाजिक संस्कार, आत्मविश्वास, नाता–सम्बन्ध सबैमा ह्रास आउँछ । स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य, यौनक्रीडामा असफलता र दैनिक गतिविधिमा समेत अवरोध सिर्जना गर्छ । अध्ययनहरूले लामो समयदेखि दुखाइ भोगेका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुने गरेको देखाएको छ ।

दुखाइलाई आधुनिक चिकित्सा विज्ञानले सामान्यतः तत्काल हुने दुखाइ (एक्युट पेन) र दीर्घकालीन (क्रोनिक पेन) भनेर चिन्छ । कहीं काट्यो, पोल्यो, चिमोट्यो, ठोक्कियो, शल्यक्रिया आदि तत्काल हुने दुखाइ (एक्युट पेन) हो भने क्यान्सर, ढाडदुखाइ, पहिले ठोक्किएर भएको दुखाइ आदि दीर्घकालीन दुखाइ (क्रोनिक पेन) हो ।

एकदेखि ६ महीना वा त्यसभन्दा बढीसम्म रहिरहने दुखाइ क्रोनिक पेन भनिन्छ । समस्या भएको ठाउँबाहेक अन्यत्र दुखेको अनुभूति हुनुलाई रेफर्ड पेन भनिन्छ । दाँतको दुखाइ कानमा हुनु, हृदयघात हुनुअघि कसैलाई कुम दुख्नु, गल्नु यसका उदाहरण हुन् ।

एक अध्ययन अनुसार ३१ प्रतिशत नेपालीलाई ढाड दुख्ने समस्याले दुःख दिएको छ । त्यसपछि हाडजोर्नीका दुखाइहरू अर्थात् घुँडा, कुम, पाखुराका जोर्नी दुख्ने समस्या भएको पाइएको छ । अस्पतालमा दुखाइको समस्या बोकेर आउने मध्ये करीब ३० प्रतिशत जोर्नी दुखेर पनि हिंड्ने गर्छन् ।

करीब १७ प्रतिशतमा माइग्रेन तथा बेस्सरी टाउको दुख्ने समस्या पाइन्छ, १६ प्रतिशतमा गर्धन दुख्ने समस्या पाइएको छ । ५ प्रतिशतलाई अनुहार, मुख तथा दन्त स्वास्थ्यमा देखिने समस्याले पिरोलेको छ ।

दुखाइ व्यवस्थापन आधुनिक चिकित्साशास्त्रको एक विशिष्ट (पेन म्यानेजमेन्ट/पेन क्लिनिक) विधा बनेको छ । अध्ययनहरूका अनुसार दीर्घकालीन दुखाइ अशक्तता र ठूलो आर्थिक बोझ्को प्रमुख कारणमध्ये एक हो ।

दुखाइ निवारणका परम्परागत उपाय

शरीरमा पिलो (घाउ) निस्कँदा साह्रै दुख्छ । गाउँघरतिर यस्ता दुखाइ निवारणमा परम्परागत विधिहरू अपनाइन्थ्यो । नपाकेको पिलोमा गुलाफ, बयर आदिको पात वा मेथीको दाना वा बेसारको लेप लगाएर पहिले घाउलाई पकाइन्थ्यो । पीप भरिइसकेपछि त्यसको मुख जगाउन गुलाफ, बयर, सिउँडी, कागती, भोगटे आदिको काँडा प्रयोग गरिन्थ्यो र पिप निकालेर दुखाइ शान्त पारिन्थ्यो ।

दाँत दुख्दा ल्वाङ दाँत मुनि च्याप्ने चलन अहिले पनि छ । पेट दुख्दा अदुवा, कागती, प्याज, पुदिना इत्यादिको रस वा जीरा–पानीको प्रयोग अहिले पनि यदाकदा गरिन्छ । बच्चाहरूको पेट दुख्दा घिउमा हिंग भुटेर नाभिमा लगाउने गरिन्थ्यो । जोर्नीहरूमा दुखाइ हुँदा गाईको घ्यू लेपेर आगोमा सेकाइएको आँकको पात वा सालको पातले सेक्ने वा नून तताएर सानो पोटरी बनाएर सेक्ने वा एरण्डको तेल लगाउने चलन थियो ।

पछिल्ला दिनमा यी परम्परागत विधिहरू हराउँदै गएका छन् । पेनकिलरका औषधिबाट दुखाइ दबाउने र एन्टिबायोटिकबाट पिलो सुकाउने प्रवृत्ति बढेको छ । पेनकिलर र एन्टिबायोटिकको अनावश्यक र घातक प्रयोगले मानव स्वास्थ्य आक्रान्त बन्दै गएको छ । दुखाइको असम्यक् व्यवस्थापनले दिनानुदिन दुखाइ घट्नुको साटो औषधिका दुष्प्रभाव बढेका छन् ।

सम्पूर्ण जीउ दुख्दा लसुन, ज्वानो, मेथी आदि तेलमा फुराएर दल्ने प्रचलन अझै छ । ग्याँस जम्मा भएर पेट दुख्दा सैन्धव लवण (सिधे नून) मिश्रित ज्वानोपानी पकाएर ख्वाइन्थ्यो । कडा खालको शारीरिक दुखाइ शान्त पार्न अफिम वा गाँजाको पनि प्रयोग हुन्थ्यो । काँचो सिम्रिक घोटेर पनि खाने गरिन्थ्यो ।

अहिले पनि गाउँघरमा गानो गोला चल्दा नाभिमा तेलको मालिस गरेर दुखाइको उपचार गरिन्छ । महिलाहरूले पेट वा तल्लो पेटको दुखाइ निवारणका लागि दशमूल, हरचूर, सूपको दाना आदिलाई विभिन्न रूपमा सेवन गर्दछन् ।

काटेको घाउको दुखाइ शान्त एवं रगत बग्न बन्द गर्न वनमाराको पातको रस हाल्ने गरेको पाइन्छ । हड्डी भाँचिंदा स्थानीय रूपमा सिस्नुको पात, कालो लट्टे, मासको पीठो आदि मिसाएर बनाएको लेप लगाएर नेपाली कागजले ढाक्ने र बाँसको काम्रो हाली दुखाइ व्यवस्थापन गरिन्छ ।

तर, पछिल्ला दिनमा यी परम्परागत विधिहरू हराउँदै गएका छन् । पेनकिलरका औषधिबाट दुखाइ दबाउने र एन्टिबायोटिकबाट पिलो सुकाउने प्रवृत्ति बढेको छ । पेनकिलर र एन्टिबायोटिकको अनावश्यक र घातक प्रयोगले मानव स्वास्थ्य आक्रान्त बन्दै गएको छ । दुखाइको असम्यक् व्यवस्थापनले दिनानुदिन दुखाइ घट्नुको साटो औषधिका दुष्प्रभाव बढेका छन् ।

पेनकिलरहरू खाएर दुखाइ दबाउन गरिने हतारोले दुखाइका कारक तत्व दबेर बस्छन् । अधिक पेनकिलरहरूको हुने ‘साइड इफेक्ट’, मुटु, मिर्गौला, कलेजो, अल्सर हुँदै क्यान्सर लगायतका गम्भीर रोगको कारण पनि बन्न सक्छ ।

गम्भीर रोगले अत्यधिक दुखाएपछि मात्र बिरामी अस्पताल एवं चिकित्सकको सम्पर्कमा पुग्दा रोग जीर्ण एवं घातक बनिसकेको हुन्छ । त्यसैले दुखाइको व्यवस्थापनमा आधुनिक रासायनिक औषधिभन्दा नेचुरोपैथी एवं फिजियोथेरापीका आधुनिक विधिहरू प्रयोग गर्नु उत्तम हुन्छ ।

दुखाइ केही गम्भीर रोगको सङ्केत पनि हुनसक्ने हुँदा, सजग मानिस केही दुखाइ हुनेवित्तिकै चिकित्सकसँग परामर्श लिन दौडिहाल्छन् । जसबाट बिरामी स्वयंको शरीरमा आउनै लागेको गम्भीर रोगबारे समयमै जानकारी पाइन्छ, फलतः बिरामीलाई जीवनदान मिल्दछ ।

(डा.पण्डित आयुर्वेद चिकित्सक हुन् ।)

प्रतिकृया दिनुहोस