अमेरिकामा भर्चुअल सत्सङ्ग
युनिभर्सल मानव धर्म सेन्टर कर्पोरेसनको भजन मण्डली प्रमुख बिर्ख गुरुङले न्यूयोर्कको रोचेस्टरबाट कार्यक्रम शुभारम्भको घोषणा गरे । उद्घोषक राम गुरुङले ओहायोको वेस्ट चेस्टरस्थित आफ्नो घरबाट दशऔंला जोडेर सबैलाई स्वागत गरे । अनि अमेरिकाभरि छरिएका सहभागीले ‘जय श्री सच्चिदानन्द’ भनेर अभिवादन फर्काएपछि ‘भर्चुअल सत्सङ्ग’ शुरू भयो ।
पेन्सिलभेनियाको ह्यारिसवर्गका भीम तामाङ पहिले नै भजन गाउन हार्माेनियमका रिडमा औंला राखेर तयारी साथ बसेका थिए । ओहायो सिनसिनाटीका टेक दुधराज, एक्रोन ओहायोका सोनाम गुरुङ, केन्टुकीका पूर्ण गुरुङ, टेक्सासकी इभना खतिवडा, ओहायो वेस्ट चेस्टरका दीक्षान्त गुरुङ र उनका भाइ दिगान्त गुरुङ, केन्सासका धन सिरुवाल, ओमाहा नेब्रास्काका दुर्गा विश्व र मिजौरीका चन्द्र ल्वागुनले भजन गाए । नेब्रास्काका प्रेमबहादुर घलेले प्रार्थना गरे ।
नेब्रास्काकै दुर्गा विश्वले संक्षिप्त शाखा गतिविधि प्रस्तुत गरे । उनी युनिभर्सल मानव धर्म नेब्रास्का शाखाका अध्यक्ष हुन् । म्यासाचुसेट्सकी ममता मगर क्षेत्रीले सत्सङ्गको महत्व केन्द्रित मन्तव्य राखिन् ।
२१ जूनको यो सत्सङ्गको मुख्य प्रवचक हाल न्यूयोर्कमा रहेकी फ्लोरिडास्थित युनिभर्सल मानव धर्म सेन्टर कर्पाेरेसनकी प्रभारी महात्मा गार्गी बाइजी थिइन् । उनले बिहान ११ः३० मा भक्तजनहरूलाई अभिवादन गरेर आहार र बुद्धिबीचको तालमेलबारे प्रवचन दिइन् ।
यसरी करीब तीनघण्टा भर्चुअल सत्सङ्ग चल्यो । युनिभर्सल मानव धर्म सेन्टर कर्पाेरेसनका अध्यक्ष नरबहादुर गुरुङले संस्थाका पछिल्ला गतिविधिको जानकारी दिए । सत्सङ्गको अन्त्यमा सबैले आरती गाए ।
भरमोण्ट राज्यका मेघनाथ अधिकारी आरतीको लागि मूल स्वर दिन तयार थिए । उनले आरती शुरू गर्नासाथ उनीभन्दा ९४४ माइल टाढा केन्टुकी राज्यका तारा सेन्चुरीले शंख बजाए । इन्टरनेटको उपयोग गरेर उनीहरू एकअर्कालाई सुन्न, बोल्न मात्र होइन लयमा ताली बजाउन पनि अभ्यस्त भएका छन्।
हरेक आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्ने मानव धर्मको यो भर्चुअल सत्सङ्गमा अमेरिकाका एकदर्जनभन्दा बढी राज्यका नेपालीभाषी एकत्रित हुन्छन् । हरेक साता यसमा सहभागी संख्या बढिरहेको छ । भक्तजनहरूले भित्ताको टेलिभिजन सेटमा इन्टरनेट जडान गरेर सत्सङ्गको आनन्द लिइरहेका हुन्छन् ।
हरेक आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्ने मानव धर्मको यो भर्चुअल सत्सङ्गमा अमेरिकाका एकदर्जनभन्दा बढी राज्यका नेपालीभाषी एकत्रित हुन्छन्। हरेक साता यसमा सहभागी संख्या बढिरहेको छ। भक्तजनहरूले भित्ताको टेलिभिजन सेटमा इन्टरनेट जडान गरेर सत्सङ्गको आनन्द लिइरहेका हुन्छन्। यसपटक २१ जूनमा भने विश्व योग दिवस, विश्व संगीत दिवस र अमेरिकामा मनाइने ‘फादर्स डे’ पनि थियो।
छेक्यो कोरोनाभाइरसले
गत फेब्रुअरीमा कोरोनाभाइरसको महामारी शुरू हुनअघि यहाँ सत्सङ्ग गर्ने तरिका नै फरक थियो । टोल–छिमेक र एकघण्टासम्मको मोटर दूरीमा रहेका मानव धर्ममा आबद्ध भक्तजनहरू कुनै एकको घरमा भेला हुन्थे । अर्काे साताको भेला हुने घर पहिले नै तय हुन्थ्यो।
सहभागीहरूका लागि फलफूल र प्रसादी तयार पार्न फुर्सदमा रहेका भक्तजनले सहयोग गर्थे। पूरै नेपाली गाउँघरको झल्को आउने गरी यस्ता धार्मिक कार्यक्रम गर्ने चलन थियो।
सत्सङ्गमा नेपाली, नेपालीभाषी भूटानी र भारतीय समुदाय सहभागी हुन्थे । कहिलेकाहीं अन्य विदेशी तथा अमेरिकी नागरिक पनि आउँथे । प्रायः साताका ६ दिन काममा जाने उनीहरूलाई एकआपसमा घुलमिल हुने अवसर पनि थियो । विशेषगरी वृद्धवृद्धाहरूका लागि यस्ता सत्सङ्गले ऊर्जा र मनोरञ्जन दिन्थ्यो।
यो पनि पढ्नुहाेस्– लक्ष्मीलाई आएको प्रियंका चोपडाको त्यो फोन
अमेरिकी समाजमा बालबालिलका स्कूलमा र युवा तथा वयस्कहरू काममा जाने भएकोले वृद्धवृद्धा प्रायः एक्लै हुन्छन्। सत्सङ्ग जस्ता सनातनी धार्मिक अभ्यासले वृद्धवृद्धाहरूको मन चङ्गा बनाउन मद्दत गर्ने युनिभर्सल मानव धर्म सेन्टर कर्पाेरेसनका अध्यक्ष नरबहादुर बताउँछन्। उनी भन्छन्, “सत्सङ्गले मानसिक चिन्ता दूर गर्न र समुदायबीच घुलमिल बढाउन ठूलो भूमिका खेलिरहेको हुन्छ।”
तर केही महीना यता कोरोनाको कहरले मानिसहरूलाई घरमै थुनेको छ। स्थानीय र संघीय सरकारहरूले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन सूचित गरेका छन्। खुल्ने म्याद नतोकी स्कूलहरू बन्द गरिएका छन्। पहिले नै तोकिएका विवाहका मिति पनि पछि सारिएका छन् । तिथि–श्राद्ध, न्वारान आदि पनि टेलिफोनबाटै काम चलाउन थालिएको छ। “यही अवस्थाका कारण हामीले भर्चुअल सत्सङ्गको अवधारणा ल्याएका हौं”, युनिभर्सल मानव धर्म सेन्टर कर्पाेरेसनका पूर्व अध्यक्ष राम गुरुङ भन्छन्।
यो संस्थाले गत फेब्रुअरीदेखि भर्चुअल सत्सङ्ग शुरू गरेको हो। यसका लागि आफ्नो ग्याजेटमा इन्टरनेटको माध्यमबाट जुम एप्स डाउनलोड गरेर इच्छुक सबैले सत्सङ्गमा सामेल हुनसक्छन्।
सत्सङ्गमा प्रायः आध्यात्मिक चेतना, अहिंसा, परोपकार तथा दुःख निवारण आदिबारे बोलिन्छ। रोगी र गरीबहरूलाई मद्दत गर्ने प्रस्ताव आउँछन्। आफूखुशी सहयोगको घोषणा गरिन्छ।
सत्सङ्गमा प्रायः आध्यात्मिक चेतना, अहिंसा, परोपकार तथा दुःख निवारण आदिबारे बोलिन्छ। रोगी र गरीबहरूलाई मद्दत गर्ने प्रस्ताव आउँछन्। आफूखुशी सहयोगको घोषणा गरिन्छ।
यो पनि पढ्नुहाेस्– अमेरिकामा भूटानी शरणार्थीहरु भन्छन्, “छरिएका सन्तानको सम्झनाले मुटु पोल्न थालेको छ”
यो समुदायका सबै सदस्य शाकाहारी हुन्छन् । उनीहरू मादक पदार्थबाट टाढै रहन्छन्। भारतको हरिद्वारस्थित प्रेमनगर आश्रममा रहेका सत्पालजी महाराजलाई उनीहरू गुरुको रूपमा पुज्छन् । १०० भन्दा बढी मुलुकमा छरिएर रहेको यो समुदायका सदस्य आ–आफ्नो देशको समयानुसार हरेक आइतबार सत्सङ्ग गर्छन्।
मानव धर्मका अनुयायीहरूले ओहायो राज्यको कोलम्बसमा आश्रमसहितको सत्सङ्गस्थल पाँच लाख डलरमा खरीद गरिसकेका छन्। नेपालबाट पुनर्वास भएर आएका भूटानीको यसमा ज्यादा सहभागिता छ। यसअघि फ्लोरिडामा पहिलेदेखि नै अमेरिकाका लागि मानव धर्मको केन्द्रीय आश्रम निर्माण भइसकेको थियो।
यो पनि पढ्नुहाेस्– नेपाल सम्झाउने अमेरिकाको वोइलिङ स्प्रिङ पार्क