रिपोर्ट शनिबार, जेठ १०, २०७७

अमेरिकामा भूटानी शरणार्थीहरु भन्छन्, “छरिएका सन्तानको सम्झनाले मुटु पोल्न थालेको छ”

गोपाल गडतौला

अमेरिकामा भूटानी शरणार्थीहरु भन्छन्, “छरिएका सन्तानको सम्झनाले मुटु पोल्न थालेको छ”
सुकबहादुर गुरुङ (७४) र फुलमाया गुरुङ (७३) ।

भूटानी शरणार्थीले भूटान छाडेकाे २९ वर्ष भयाे । अनेकन हण्डरपछि पुनर्वासमा अमेरिका पुगेकाका सन्तानहरु काेही भूटानमै त काेही नेपालमा छन् भने काेही पुनर्वासपछि विभिन्न देशमा । छरिएका सन्तानहरुकाे सम्झनाले मुटु पाेल्न थालेकाे छ, अमेरिकामा बुढ्याैली जीवन बिताइरहेका शरणार्थीहरुलाई ।

सुकमाया राई (७५) का पाँचमध्ये तीन छोरी भूटान, एउटी भारतको दार्जिलिङ र एउटी अमेरिकाको न्यूयोर्कमा छन् । पाँच छोरामध्ये एकजना भूटान, एकजना नेपाल र तीनजना अमेरिकामा छन् । उनी अमेरिकाकै पेन्सिलभेनियामा बस्छिन् ।

छरिएका परिवार र छुटेका आफन्तको लम्बे सम्झनाले बूढो छाती पोलिरहन्छ । “तिनीहरूसँग यो जुनीमा अब भेट नहोला” निराश स्वरमा भन्छिन्, “नेपाल र भूटानमा २७ जना नाति—पनाति छन्, तिनीहरूसँग नभेटी यतै कालको काखमा पुगिएला ।”

उनी हरेक बिहान ६ बजे उठ्छिन् । चिया पिएपछि हरियो दुबोमा घुम्छिन् । १० बजेसम्ममा खाना खाने चलन भूटानदेखिकै हो, अमेरिका आइपुग्दा पनि कायम छ ।

गएको ३ जेठ अपराह्न उनी अमेरिकाको पूर्वी राज्य पेन्सिलभेनियाको सानो शहर कार्लाइस्थित घरको ‘ब्याकयार्ड’ मा थिइन् । पुराना दिन सम्झिइन्। भनिन्, “यो ज्यानले धेरै समय त दुःख मात्र पायो, दुःखमै जिन्दगी बिताइयो ।”

सुकमायाको जन्म दक्षिण भूटानको दागना जिल्लामा पर्ने दोराना ब्लकमा भएको हो । १५ वर्षको उमेरमा जसबहादुर राईसँग विवाह भएपछि चिराङ जिल्लाको निम्तोला ब्लक पुगिन् ।

मनग्ये धान र मकै फल्ने सिमखेत । बाख्रा–बस्तु चराउने दम्स्याइलो घाँसे मैदान । खाने वेलामा सँगै भाग बस्ने कुकुर बिराला । खेत खलियानको काम गर्दा फुक्का मनले पर्म गर्ने पुस्तौनी चलन । कहिल्यै चोर—डाँकाको डर नभएको शान्त गाउँ ।

गाउँमा बढीजसो डुक्पा र राईहरू थिए । शान्त बस्तीमा दुश्मन बनेर एकाएक सरकार पस्यो । अघिल्लो दिनसम्म धुवाँएको छिमेकीको भान्सा बन्द भइसकेको हुन्थ्यो । किन चकमन्न छ भनेर बुझ्दा उनीहरू हिंडिसकेका हुन्थे ।

एकदिन डुङ्पा (सहायक जिल्ला अधिकारी) ले सुकमायाका श्रीमान् जसबहादुरलाई बोलाएर भनेछन्, “भूटान छोडेर जाऊ ।” सरकारी अधिकारीसँग सवाल—जवाफ गर्न सक्ने अवस्था थिएन । केही दिनलाई पुग्ने सातुसामलको पोको बोकेर उनीहरू बिहानै घरबाट निस्किए । उनी सम्झिन्छिन्, “कहाँ पुग्ने ठेगाना नभई र के गर्ने नसोची हिंडेका थियौं ।”

सुकमाया राई (७५) ।

सन् १९९१ को एक दिन यसरी घर छाड्दा उनले भएका थोरै गहना पनि लगाइनन् । भूटानमै छुटेका छोरीहरूलाई दिइन् । अनि, सानै भएका छोराछोरी मात्र लिएर राई दम्पती बाटो लागे ।

हिंड्दाका बखत कसैले भनेको थियो कि गएर कतै खोलाको बगरमा बस्नुपर्छ । उनलाई लाग्यो, बगरमा बस्दा बाढीले बगाउँछ र त्यहीं मरिन्छ । उनीहरू नेपाल आइपुगे । झापाको कन्काई बगरमा शरणार्थी बने ।

कन्काईको छाप्रोमा रगतमासीले च्याप्यो । उनका सासू र जेठानी त्यही बेथाले १५ दिनको फरकमा परलोक भए । उनीहरूको काजकिरिया गर्दा सुकमाया आफैं थलिइन् । कैयौं दिन ओछ्यानमै बिताएपछि बाँच्न सफल भइन् ।

२६ वर्षअघिका गर्मी दिन सम्झिंदै भन्छिन्, “सानो शरणार्थी बस्तीबाट दिनदिनै धेरै लाश कन्काईको बगरमा अन्त्येष्टि गर्न लगिन्थ्यो ।” यो क्रम केही महीनासम्म चल्यो । हालत यति खराब थियो कि, धेरै जनासँग जिउँदाका लागि आङ ढाक्ने कपडा होइन, मरेकाका लागि कात्रो किन्ने पैसासम्म थिएन ।

कन्काई बगरमा सात महीना बसेपछि उनको परिवारलाई बेलडाँगी शिविरमा सारियो, जहाँ बसाइ केही व्यवस्थित थियो । नियमित तर अपुग सहायताको भरमा पट्यारलाग्दा धेरै वर्ष बिताउनु परिरहेको थियो । पेटभरि खाना र आङ ढाक्ने कपडाको जोहो गर्न शिविर बाहिरको श्रमबजारमा जानुपर्दथ्यो ।

यस्तै नियति भोगेर अमेरिका पुगेका छन्, अर्का वृद्ध जोडी सुकबहादुर गुरुङ (७४) र फुलमाया गुरुङ (७३) । उनीहरू ७ वर्षअघि अमेरिका पुनर्वास भएका हुन् । पेन्सिलभेनियाको कार्लाइमा रहेका सुकबहादुर दक्षिण भूटानको चिराङ गोपिनीको राम्रीटारका हुन् ।

दुई वर्षको उमेरमा आमाबाबु दुवै गुमाएका उनको बाल्यकाल आफन्तको घरमा गोठालो बसेर बित्यो । गाउँमा खुलेको पाठशाला उनी देख्थे, तर जान पाउँदैनथे । सन् १९९० मा देश छोड्दा उनी दक्षिण भूटानको तक गाउँमा बस्थे । “अहिलेको जस्तो आँट र चेत थियो भने म प्रश्न गर्थें हुँला” उनी भन्छन्, “डुङ्पाले तीन पुस्तादेखि भूटानमा रहेको मेरा सबै प्रमाण खोसेर हप्काउँदै भूटान छोड्न आदेश गरेपछि आफ्नै देशमा बास सकिएछ जस्तो लाग्यो ।”

“अहिलेको जस्तो आँट र चेत थियो भने म प्रश्न गर्थें हुँला” उनी भन्छन्, “डुक्पाले तीन पुस्तादेखि भूटानमा रहेको मेरा सबै प्रमाण खोसेर हप्काउँदै भूटान छोड्न आदेश गरेपछि आफ्नै देशमा बास सकिएछ जस्तो लाग्यो ।”

सिरानीमा नागरिकता र आफैैंले चर्चेको जमीन थियो । तर, सरकारी अधिकारीहरूले एकदिन कार्यालयमा बोलाएर उनको साथमा भएका सबै प्रमाण–पुर्जा जफत गरे । अनि छिट्टै भूटान छोड्न उर्दी गरे । “अहिलेको जस्तो आँट र चेत थियो भने म प्रश्न गर्थें हुँला” उनी भन्छन्, “डुङ्पाले तीन पुस्तादेखि भूटानमा रहेको मेरा सबै प्रमाण खोसेर हप्काउँदै भूटान छोड्न आदेश गरेपछि आफ्नै देशमा बास सकिएछ जस्तो लाग्यो ।”

भूटान छोड्ने बिहान मूल दैलाको ठेलोमा श्रीमती फुलमायाले दियो बालिन् । गोठमा रहेका दुई हल गोरु, दुई माउ दुधालु गाई र बाच्छाबाच्छी सीमापारि भारतमा रहेका चिनजानकालाई जिम्मा लगाए । रमितलाग्दो बगानमा पाँच फुटको फरकमा रोपेका ५०० बोट सुपारी फल्न थालेका थिए। ती के भयो उनलाई जानकारी छैन ।

अचानक थातथलो छोडेर हिंडेपछिको १८ वर्ष झापाको बेलडाँगी शिविरमा बिताए । छोरो वीर र छोरी अम्बिकाका साथ उनीहरू सन् २०१३ मा पुनर्वास भएर अमेरिका पुगे । एक्कासी बेग्लै परिवेशमा पुग्दाका कठिनाई अनेक छन् ।

नेपाली समेत लेख्न नजान्ने उनले अमेरिकी नागरिकताको लागि अमेरिकाको इतिहास, भूगोल र संस्कारसँग सम्बन्धित १०० प्रश्नको जवाफ जान्नुपर्ने हुन्थ्यो । उनले ९० वटा प्रश्नको उत्तर कण्ठस्थ गरेका थिए । “हु इज द फादर अफ आवर कन्ट्री ?” भनेर सोधिएको एउटा त्यस्तै प्रश्नको उत्तर अहिले पनि उनलाई याद छ, जर्ज वासिङ्गटन ।

अहिले छिमेकमा रहेका अमेरिकीहरूसँग जम्काभेट हुँदा ‘हाई फ्रेन्ड’ भनेर मुस्काउँदै हात उठाउन जानिसकेका छन् । सडकमा भेटिएको अर्काे व्यक्तिलाई अभिवादन गर्न, डिपार्टमेन्ट स्टोरमा गएर सामान खरीद गरी कार्डबाट भुक्तानी गर्न, घर र सार्वजनिक स्थलमा रहेका विद्युतीय उपकरण, पानीका धारो, चर्पी आदि प्रयोग गर्न, सडकमा बाटो काट्न उनीहरूलाई पुनर्वास हुँदाका बखतमै सिकाइएको थियो ।

सुकबहादुरका नातिनातिना स्कूल जान्छन् । सरकारबाट उनीहरूले नियमित रूपमा वृद्धभत्ता पाइरहेका छन् । तर, भूटानको याद आउन छाडेको छैन । उनी भन्छन्, “नाभि गाडिएको घु¥यान, आफूले पसिना बगाएको खेत र स्याहार गरेका बाख्रा–बस्तु छोडेर हिंडेको ठेगानामा एकपटक पुग्न मन लागेको छ ।”

जमुना प्रधान (६३) ।

जमुना प्रधान (६३) सन् २००९ को सेप्टेम्बरमा अमेरिका पुगिन् । सन् २०१९ मा १४ वर्षदेखि दुखिरहेको घुँडाको शल्यक्रिया गरिन् । त्यसै वर्ष जिब्रोको पनि शल्यक्रिया गर्नु पर्‍यो । दुवै उपचार उनले अमेरिकी स्वास्थ्य सेवा विभागबाट सहुलियत स्वरुप निःशुल्क गर्न पाइन् ।

शरणार्थी शिविरमा सानोभन्दा सानो स्वास्थ्य समस्या हुँदा ठूलो समस्या भोग्नुपथ्र्यो । उनी भन्छिन्, “यहाँ पाइने सुविधाले जीवन केही सजिलो भएको छ ।” बिमारीलाई स्वास्थ्य सेवा, काम चाहनेहरूलाई श्रमबजारमा सजिलो पहुँच, गुणस्तरीय यातायात र वृद्धवृद्धा तथा अशक्तहरूलाई हरेक सेवा प्रदायक निकायमा दिइने प्राथमिकताबाट उनी निकै प्रभावित छिन् ।

सफा र चिल्लो सडक, घरभित्रै दुईवटा मोटर अटाउने ग्यारेज, छोटो दुबो भरिएको हरियो आँगन, बराबर उँचाइका रूख, एकै बान्कीका घरहरूको लस्कर र रातोदिन मोटर गुडिरहने सडक उनको घरको कौसीबाट देखिन्छन् । बाक्लो सोफासेट, कहिल्यै बन्द नहुने विद्युत्, ग्याँस, इन्टरनेट, २४सै घण्टा तातो—चिसो पानी आइरहने धारो, लुगाधुने र सुकाउने मेशिनले बासलाई सजिलो बनाएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिएका कारण बितेका तीन महीनादेखि पेन्सिलभेनियाको कार्लाइस्थित घरमै थुनिएकी छिन् । आँगन अगाडिको सुनसान सडकमा हरेक दिन केहीबेर टहलिन निस्किन्छिन् । गाडीबाट आधा घण्टाको दूरीमा रहेका आफन्तहरूको घर नपुगेको महीनौं भइसक्यो।

भूटानमा छँदा कृषि पेशामा आश्रित परिवारकी जमुनालाई छोडिएको घर, बस्तुगोठ, बारी र खेतको सम्झना आइरहन्छ । आठ पाथी धानको बीउ जाने गैह्रीखेत थियो । बाह्रैमास पानी लाग्ने सिमखेतमा फलेको अन्नले परिवार पाल्न पुग्थ्यो । हराभरा सुन्तलाबारी थियो ।

१८ वैशाख २०४९ मा उनी चार छोराछोरीसाथ दक्षिण भूटानको चिराङ गासेलिङबाट नेपाल आएकी हुन् । छोराछोरीको पढाइ–लेखाइ मोरङको शनिश्चरे शिविरमा भयो । पूरा १७ वर्ष शिविरमा बिताएपछि सन् २००९ मा पुनर्वास भएर परिवारसहित अमेरिकाको फ्लोरिडा पुगेकी थिइन् ।

एक वर्षपछि त्यहाँबाट अमेरिकाकै नर्थ क्यारोलेना राज्यको शार्लट शहरमा बसाइँ सरिन् । शरणार्थीको रूपमा नेपाल पुगेको एक वर्षपछि २०४९ सालमा शनिश्चरे शिविरमा जन्मिएका कान्छो छोरो बलबहादुरले पेन्सिलभेनियामा साझेदारीमा पसल चलाएका छन् । नेपालको उदयपुरमा विवाह भएकी जेठी छोरी गोमा उतै छिन् । माइली हर्कमाया पेन्सिलभेनिया, कान्छी राधिका न्यूयोर्क र जेठो छोरो देउनारायण नर्थ क्यारोलेनामा काममा छन् ।

भूटानमा छँदा कृषि पेशामा आश्रित परिवारकी जमुनालाई छोडिएको घर, बस्तुगोठ, बारी र खेतको सम्झना आइरहन्छ । आठ पाथी धानको बीउ जाने गैह्रीखेत थियो । बाह्रैमास पानी लाग्ने सिमखेतमा फलेको अन्नले परिवार पाल्न पुग्थ्यो । हराभरा सुन्तलाबारी थियो । “पुराना दिन सम्झिंदा मन हुँडलिन्छ” भूटान छोडेको २९ वर्षपछि उनले भनिन्, “आँसु थामिन थालेको धेरै भएको छैन ।”

प्रतिकृया दिनुहोस