रिपोर्ट शुक्रबार, जेठ २, २०७७

कोरोना संक्रमित पहिचान गर्ने 'कन्ट्याक्ट ट्रेसिङ'मा कहाँ भइरहेछ कमजोरी ?

रामु सापकोटा

कोरोना संक्रमित पहिचान गर्ने 'कन्ट्याक्ट ट्रेसिङ'मा कहाँ भइरहेछ कमजोरी ?

सरकारले कोभिड–१९ का शंकास्पद बिरामी र संक्रमित पत्ता लगाउन गरिरहेको कन्ट्याक्टट्रेसिङ प्रभावकारी रुपमा सबै ठाउँमा हुन सकेको छैन भने कतिपय विधि अवैज्ञानिक देखिएका छन्।

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या एकपछि अर्को बढ्दै अढाई सय नाघिसकेको छ। अझै पर्याप्त मात्रामा परीक्षण नगरिएका कारण संक्रमितहरू फेला पर्न नसकेको विभिन्न क्षेत्रबाट औंल्याइँदै आएको छ। परीक्षणको दायरामा आउन नसकेका संक्रमितले थप व्यक्तिलाई संक्रमण सार्न सक्ने र यसबाट प्रकोपको रूप लिने भन्दै विज्ञहरूले चिन्ता प्रकट गर्न थालेका छन्।

सरकारले संक्रमितको सम्पर्कमा रहेका व्यक्ति तथा शंकास्पद बिरामी पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ मोबाइल एप, वेब पोर्टल सञ्चालन र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो।

भक्तपुरमा र्‍यापिड डायग्नोष्टिक किटमार्फत कोरोना परिक्षण गरिदैँ । तस्वीर : बिक्रम राई ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित र शंकास्पद व्यक्ति पहिचानमा सघाउ पुग्ने भन्दै १६ चैतदेखि हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्यायो। सरकारकै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड१९ संक्रमित र शंकास्पद बिरामीको सूचना संकलनमै प्रयोग गर्ने गरी मोबाइल एप कोभिड एनपी २७ वैशाखदेखि सञ्चालनमा ल्याएको छ।

यस्तै, १७ चैतदेखि काठमाडौं महानगरपालिकाले शंकास्पद बिरामी पहिचान गर्न ‘नेपाल कोभिड १९ सर्भिलेन्स सिस्टम’ प्रविधि प्रयोगमा ल्यायो। एपसहितको सुविधा भएको महानगरको यो प्रणालीमा व्यक्तिले आफूमा देखिएका स्वास्थ्य समस्या कोभिड–१९ सँग मिल्दोजुल्दो भए/नभएको हेर्न मिल्ने सुविधा छ।

हे.लिंक– कोभिड–१९ उपचारः पूर्वाधार र सुरक्षामा फ्रन्टलाइनका स्वास्थ्यकर्मी नै छैनन् ढुक्क

संक्रमित र शंकास्पद बिरामीहरुको सूचना र जानकारी संकलनका लागि नेपाली सेनाले पनि कोभिड–१९ रेस्पोन्स एप नेपाल नामक मोबाइल एप १६ चैतदेखि प्रयोगमा ल्याइरहेको छ।

संक्रमित व्यक्ति पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ विधि उपयोग गर्ने गरिएको छ। यो तरिकाबाट कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू पहिचान गरी क्वारेन्टिनमा राख्नुका साथै परीक्षणको दायरामा ल्याइन्छ। जुन महामारी नियन्त्रणमा प्रभावकारी मानिन्छ।

अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी) का अनुसार, रोग नियन्त्रणको मुख्य रणनीति अन्तर्गत स्थानीय र प्रदेश स्तरका स्वास्थ्यका कर्मचारीहरु परिचालन गर्नु आवश्यक हुन्छ। सीडीसीले बताए अनुसार यो काम गर्न समुदाय स्तरमा निजी र सरकारी निकायको सहकार्यमा स्वास्थ्यका कर्मचारीलाई तालिम दिंदै उनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ।

कन्ट्याक्ट ट्रेसिङमा स्वास्थ्यकर्मी परिचालन गर्दा संक्रमित बिरामीलाई संक्रमण फैलिएको अवधिभर को–को व्यक्तिसँग सम्पर्कमा पुगेको भनेर सम्झाउन सहयोग गर्न सकिन्छ। जसका आधारमा शंकास्पद व्यक्ति खोज्न सहज हुन्छ।

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यालय ।

भाइरसको लक्षण नदेखिंदा चुनौती

अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार, कोभिड–१९ संक्रमण भएकामध्ये ४५ प्रतिशतलाई भाइरसका लक्षण देखिने गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सुख्खा खोकी लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु, सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्।

अध्ययनले संक्रमितमध्ये ४० प्रतिशतलाई भाइरसका पर्याप्त लक्षण नदेखिने गरेको र ५ प्रतिशतलाई त एउटै पनि लक्षण नदेखिएको जनाएको छ। बाँकी १० प्रतिशतलाई अप्रत्यक्ष रुपमा अर्थात् वातावरणीय कारणले कोरोना संक्रमण हुने गरेको अध्ययनले देखाएको छ।

हे.लिंक– संक्रमितको उपचार गर्न भेन्टिलेटर र आईसीयू अपर्याप्त

संक्रमित व्यक्तिले कुनै वस्तुमा संक्रमण फैलाएर त्यही ठाउँमा अर्को स्वस्थ व्यक्तिले छोएका कारण हुने संक्रमणलाई वातावरणीय कारण मानिन्छ। तर, यो अन्तर्राष्ट्रिय परिवेश नेपालसँग मेल खाँदैन।

मुलुकमा २ जेठसम्ममा २ सय ५८ जना कोरोना संक्रमित फेला परेका छन्। यीमध्ये अधिकांश अर्थात् ८० देखि ८५ प्रतिशतलाई लक्षणविना नै कोरोना संक्रमण देखिएको छ। जबकि, अन्तर्राष्ट्रिय अध्ययनले पाँच प्रतिशतमा मात्र लक्षणविना कोरोना संक्रमण देखिएको बताएको छ।

विज्ञहरु मुलुकमा लक्षणविनाका कोरोना संक्रमित देखिएकाले कन्ट्याक्ट ट्रेसिङ को काम चुनौतीपूर्ण बनेको बताउँछन्।

ग्रान्डी अस्पतालका संक्रमणजन्य रोग विशेषज्ञ डा. प्रभात अधिकारी लक्षणका आधारमा कोरोना संक्रमितलाई सजिलै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लगाउन सकिने भए पनि नेपालको परिवेशमा त्यो कठिन देखिएको बताउँछन्। संक्रमितले लक्षण नदेखाए छोटो समयमा धेरै व्यक्तिमा फैलिएर महामारीको रुप लिने जोखिम हुने उनको भनाइ छ।

हे.लिंक–कोभिड–१९ संक्रमितको निगरानीमा सरकार कहाँ चुकिरहेको छ ?

सरकारी टोलीमा विज्ञका रुपमा रहेर काम गरिरहेका डा. अधिकारी भन्छन्, "संक्रमितले लक्षण देखाए उनीहरुलाई छिटै पहिचान गरेर औषधि उपचार गर्न सकिन्छ, तर लक्षण नदेखिए संक्रमितलाई नै आफू बिरामी भनेर थाहा नहुने भएकाले धेरैमा फैलिने संभावना हुन्छ।”

त्यसैकारण विज्ञहरु संक्रमित व्यक्ति खोज्न कन्ट्याक्ट ट्रेसिङलाई व्यापक र प्रभावकारी बनाउनुपर्ने बताउँछन्।

डा. अधिकारीका अनुसार, लक्षणका आधारमा संक्रमित पत्ता लगाउन नसकिएको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ विधि संक्रमित व्यक्तिसँग को–को सम्पर्कमा आए भनेर सोधपुछ गरेर शंकास्पद व्यक्ति खोज्न सकिन्छ। 

प्रदेश नम्बर-५ मा सञ्चालनमा रहेको कोरोना परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन ।

कसरी भइरहेको छ कन्ट्याक्ट ट्रेसिङ ?

जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित कन्ट्याक्ट ट्रेसिङकै कारण पछिल्ला दिनहरुमा कोभिड–१९ का नयाँ संक्रमितहरु फेला परेको बताउँछन्। तर, परीक्षण गर्ने पीसीआर किट अभाव भएकाले अझै पनि कन्ट्याक्ट ट्रेसिङको काम देशव्यापी रुपमा हुन नसकेको उनको भनाइ छ।

कन्ट्याक्ट ट्रेसिङ दुई विधिबाट हुने गरेको छ– मोबाइल एप लगायत प्रविधिको प्रयोग गरेर र स्वास्थ्यकर्मी स्थानीय स्तरमा नै पुगेर। मोबाइल एपबाट प्रयोगकर्ताले पछिल्ला भ्रमण, शरीरमा देखिएका लक्षण लगायत आफ्नो बारेमा उल्लेख गरेका विवरणबाट तथा स्वास्थ्यकर्मी स्थानीय स्तरमा पुगेर संक्रमित व्यक्तिसँग कुराकानी गरी उसको सम्पर्कमा पुगेका व्यक्तिहरु पत्ता लगाउने गरिन्छ।

हे.लिंक– संक्रमित पहिचानमा मोबाइल एप प्रभावकारी कि स्थानीय स्वास्थ्यकर्मी

यस्तै, मोबाइल फोनमा मेसेज पठाएर शंकास्पद व्यक्ति खोज्ने र शंका लागेमा उनीहरुको स्वास्थ्य जाँच गर्ने विधि पनि सरकारले अपनाएको छ। एसएमएसमा विदेशबाट आएको/नआएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा पुगे/नपुगेको सोधेर जानकारी लिइन्छ।

शंकास्पद व्यक्तिको फोन नम्बर पत्ता लगाएर ती व्यक्तिलाई नेपाल टेलिकम र एनसेलको जीपीएसबाट ट्रयाक गर्ने काम पनि भइरहेको छ।

सरकारी स्तरमा कन्ट्याक्ट ट्रेसिङको लागि विज्ञका रुपमा काम गरिरहेका अधिकारीहरु भारतबाट फर्केका व्यक्तिले नयाँ सिम कार्ड निकालेर प्रयोग गर्ने भएकाले त्यो ट्रयाक गर्ने विधि पनि अपनाइएको बताउँछन्। ती अधिकारीहरुका अनुसार स्थानीय तहले वडा अध्यक्ष वा वडा कार्यालयलाई सम्पर्क गरेर कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका छन्।

तर स्थानीय स्तरबाट शंकास्पद संक्रमित पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी हुनसकेको छैन। कतिपय स्थानमा त यो काम शुरु नै हुन सकेको छैन।

एप लगायत प्रविधिबाट कन्ट्याक्ट ट्रेसिङ गरेर चीन, ताइवान, दक्षिण कोरिया लगायतका मुलुकले संक्रमण नियन्त्रणको काम प्रभावकारी रुपमा गरिरहेका छन्। यहीं विधि प्रयोग गरिएको ताइवानमा धेरै संक्रमण देखिएको छैन।

हे.लिंक– नेपालमा किन सुस्त भइरहेको छ कोरोनाभाइरस परीक्षण

सरकारी टोलीमा विज्ञका रूपमा काम गरिरहेका डा. प्रभात अधिकारी नेपालमा एपबाट एक्टिभ कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताउँछन्। उनका अनुसार, ब्लुटुथ इन्टर कनेक्सनका माध्यमबाट पनि कन्ट्याक्ट ट्रेसिङ गरिंदैछ।

एप प्रयोगमा ल्याउनुअघि प्रयोगकर्तालाई कोभिड–१९ सम्बन्धी क्रमशः पाँच वटा प्रश्न सोधिने र त्यसको उत्तर भरेर पठाएपछि मात्र एप एक्टिभ हुने व्यवस्था मिलाइएको छ। “ती प्रश्नका जवाफ र एप मार्फत भरेर पठाएका अन्य सूचनाका आधारमा व्यक्ति शंकास्पद मात्र हुन् वा उच्च जोखिममा छन् भन्ने थाहा हुन सक्छ”, डा. अधिकारी भन्छन्।

यसपछि सरकारी संयन्त्रले शंकास्पद व्यक्तिलाई कसरी सम्पर्कमा ल्याउने भनेर काम गर्ने गरेको छ। यही विधिका माध्यमबाट हिट म्यापिङको काम भइरहेको छ।

यस्तै, शंकास्पद व्यक्ति आइसोलेसनमा बसेका छैनन् भने उनीहरुको बारेमा रिपोर्टिङ गर्ने पोर्टल पनि सञ्चालनमा ल्याइएको छ।

सरकारको कोभिड एनपी मोबाइल एप मार्फत कन्ट्याक्ट ट्रेसिङ गर्न चिकित्सक र इञ्जिनियरसहितको झण्डै २० जनाको टोली कार्यरत छ। यो टोलीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कोरोना नियन्त्रण उच्चस्तरीय समिति मार्फत काम गरिरहेको छ।

उक्त एपका प्रयोगकर्ता अहिलेसम्म झण्डै दुई हजार नाघिसकेको जनाइएको छ।

कोरोना नियन्त्रण उच्च स्तरिय समितिले सञ्चालनमा ल्याएको कोभिड एनपी मोबाइल एप ।

कोभिड एनपी एपमा विदेशमा बस्ने नेपालीले कोभिड–१९ सम्बन्धी वा भीसाको विषयमा कुनै समस्या भए राख्न सक्ने व्यवस्था मिलाइएको छ।

यस्तै, हाम्रो स्वास्थ्य एप र पोर्टल मार्फत पनि शंकास्पद व्यक्ति खोज्न विज्ञहरूको समूह सक्रिय छ। उक्त एप मार्फत फारम भरेका व्यक्तिहरु सरकारले तोकेको रेड जोनमा परे उच्च प्राथमिकतामा राखेर स्वास्थ्य परीक्षण गरिंदै आएको छ।

अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश, कर्णाली प्रदेश र धुलिखेलको काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कूल अफ मेडिकल साइन्सेजले समुदाय स्तरबाट कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी रुपमा सञ्चालन गरेको बताइन्छ।

कन्ट्याक्ट ट्रेसिङको काम गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी), कोरोना नियन्त्रण उच्चस्तरीय समिति, स्वास्थ्य मन्त्रालय अन्तर्गत केन्द्रीय स्तरमा १७ वटा समिति बनाइएको छ। प्रत्येक प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत रहने गरी एक–एक वटा समिति बनेका छन्। पहिला केन्द्रमा बनेको समितिले नै शंकास्पद बिरामी खोज्ने गरेकोमा पछिल्लो समय प्रदेश स्तरका समितिहरूले जिल्ला जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छन्।

केन्द्रीय र प्रदेश स्तरमा कन्ट्याक्ट ट्रेसिङ गर्न जनस्वास्थ्य वा चिकित्सा विज्ञान अध्ययन गरेका स्वास्थ्यका कर्मचारीहरु खटाइएको छ।

इडिसिडिका एक विज्ञ चिकित्सकका अनुसार सरकारले स्थानीय स्तरमा कन्ट्याक्ट ट्रेसिङ गर्न महिला स्वास्थ्य स्वंयसेविकालाई खटाउने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। अहिले स्थानीय स्तरमा शिक्षक, पत्रकार र स्थानीय व्यक्तिको सहयोगमा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनी बताउँछन्।

ट्रेसिङमा लापरवाही

सरकारले शुरूआती समयमा रियल टाइम पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई लक्षित गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने गरेको थियो। अहिले भने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएका संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गर्न थालेको छ।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आरडीटी किट मार्फत पोजेटिभ देखिएको दुई दिनअघिसम्म ती संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको मात्र कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ। इडीसीडीले झण्डै चार साता अघिदेखि आरडीटी मार्फत पोजेटिभ देखिएका व्यक्तिको दुई दिन अघिसम्मको कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको छ।

हे.लिंक– सरकारले गरिरहेको कोरोनाको र्यापिड टेष्ट अवैज्ञानिक, किन हुनसक्छ घातक

आरडीटीमा नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिको सम्पर्कमा पुगेका कुनै पनि व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम गरिएको छैन। सरकारको यो कदमलाई विज्ञहरू लापरवाहीको संज्ञा दिन्छन्।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित आरडीटी मार्फत पोजेटिभ देखिएका व्यक्तिको सम्पर्कमा पुगेकाहरुमाथि कन्ट्याक्ट ट्रेसिङ गर्नुको औचित्य नभएको बताउँछन्। आरडीटीले संक्रमित भए/नभएको यकिन नहुने भएकाले पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएकाहरूको मात्र बृहत् र व्यवस्थ्ति रूपमा ट्रेसिङ गर्नुपर्ने उनी सुझाव दिन्छन्।

सरकारले पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको दिनको एक साताअघि सम्म संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरुमाथि मात्र कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ। डा. दीक्षित संक्रमित पहिचान भएको दिनदेखि कम्तिमा दुई साता वा एक महीना अघिसम्म सम्पर्कमा आएका व्यक्तिहरुको अनिवार्य कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने बताउँछन्। “यसो नगरे भित्रभित्रै संक्रमित व्यक्तिहरु बढ्ने तर सरकारलाई थाहै नहुने समस्या देखिन्छ, जसका कारण महामारीको रूप लिन्छ ।”

डा. दीक्षित पीसीआर किटको अभावका कारण सरकारले कन्ट्याक्ट ट्रेसिङ देशव्यापी रुपमा सञ्चालन गर्न नसकेको बताउँछन्।

हे.लिंक–अवैज्ञानिक आरडीटीः डब्लूएचओले सिफारिश नगरेको कम्पनीबाट किट किनियो, हतारमा सिध्याइयो

सरकारले विदेशबाट आएका ३० हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने भनेर सम्पर्क नम्बरसहितको विवरण संकलन गरेको थियो। तर यी सबैको कन्ट्याक्ट ट्रेसिङ भएन। जनशक्ति र अन्य स्रोत साधनको अभाव भएको भन्दै उक्त काम हुन नसकेको बताइन्छ।

सरकारको एक टोलीमा कार्यरत एक विज्ञ चिकित्सक कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने व्यक्तिलाई ट्रेसिङको दायरामा ल्याउन नसक्दा संक्रमण समुदायमा भयावह बन्न सक्ने भएकाले यसलाई सरकारको गम्भीर लापरवाही मान्छन्। उनी सरकारले कन्ट्याक्ट ट्रेसिङको कामसँगै पीसीआर परीक्षण गरेर शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने व्यवस्था मिलाउनुपर्छ।

इडीसीडीले कन्ट्याक्ट ट्रेसिङका क्रममा अर्को अवैज्ञानिक र अव्यावहारिक काम गरिरहेको भेटिएको छ। कन्ट्याक्ट ट्रेसिङमा काम गरिरहेका केही विज्ञ चिकित्सकहरुले हिमालखबरलाई बताए अनुसार, पीसीआर मार्फत पोजेटिभ देखिएको संक्रमितको सम्पर्कमा पुगेका चालक, अस्पतालका स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरूलाई दुईदेखि तीन दिनभित्रै पीसीआर मार्फत स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ। जबकि, कुनै व्यक्ति संक्रमितको सम्पर्कमा पुगेको एक साता पुगेको छैन भने त्यसअघि गरिने पीसीआर जाँचले नेगेटिभ देखाउने सम्भावना रहन्छ।

त्यस्ता व्यक्तिहरुको शरीरमा दुई वा तीन दिनमै भाइरसको वृद्धि विकास (इन्कुबेसन पिरियड) नहुने भएकाले उनीहरुलाई कम्तिमा एक सातासम्म क्वारेन्टिनमा राखेर मात्र पीसीआर परीक्षण गर्नुपर्ने विज्ञहरु बताउँछन्। नाम उल्लेख गर्न नचाहने एक विज्ञ चिकित्सक भन्छन्, “एक साता क्वारेन्टिनमा नराखी तत्काल परीक्षण गरेर नेगेटिभ देखिएका आधारमा उनीहरुलाई घर पठाउँदा अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना रहन्छ।”

इडीसीडीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक बिरामीमा देखिएको संक्रमण र ललितपुरको निदान अस्पतालमा एक नर्सलाई देखिएको संक्रमणपछि उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई एक/दुई दिनभित्रै पीसीआर परीक्षण गरेको थियो। विज्ञहरू लगत्तै पीसीआर गर्दा आधिकारिक नतिजा नआउने भएकाले पीसीआर किट अनावश्यक खर्च मात्र हुने बताउँछन्।

प्रतिकृया दिनुहोस