रिपोर्ट सोमबार, चैत १७, २०७६

संक्रमित पहिचानमा मोबाइल एप प्रभावकारी कि स्थानीय स्वास्थ्यकर्मी ?

रामु सापकोटा

संक्रमित पहिचानमा मोबाइल एप प्रभावकारी कि स्थानीय स्वास्थ्यकर्मी ?
फाइल तस्वीर

कोरोनाभाइरस (कोभिड–१९) महामारीको जोखिम बढिरहेका वेला नेपालमा विभिन्न निकायले संक्रमित र शंकास्पद बिरामी पत्ता लगाउन मोबाइल एप लगायतको प्रविधि प्रयोगमा ल्याएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित र शंकास्पद व्यक्ति पहिचानमा सघाउ पुग्ने भन्दै १६ चैतदेखि ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।

काठमाडौं महानगरपालिकाले पनि १७ चैतदेखि शंकास्पद बिरामी पहिचान गर्न ‘नेपाल कोभिड १९ सर्भिलेन्स सिस्टम’ प्रविधि प्रयोगमा ल्याएको छ। एपसहितको सुविधा भएको यो प्रणालीमा व्यक्तिले आफूमा देखिएका स्वास्थ्य समस्या कोरोनाभाइरससँग मिल्दोजुल्दो भए/नभएको हेर्न मिल्छ।

संक्रमित र शंकास्पद बिरामीहरुको सूचना र जानकारी संकलनका लागि नेपाली सेनाले पनि कोभिड–१९ रेस्पोन्स एप नेपाल नामक मोबाइल एप १६ चैतदेखि प्रयोगमा ल्याएको छ। जुन हालका लागि एन्ड्रोइड फोन प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्छन्।

यसरी विभिन्न निकायले सञ्चालनमा ल्याएका मोबाइल एप कत्तिको प्रभावकारी होला त ?

विज्ञहरु एप मार्फत विभिन्न निकायले आ–आफ्नो तरिकाले सूचना संकलन गर्दा ‘डुप्लिकेसन’ को जोखिम हुने बताउँछन्। जसका कारण शंकास्पद व्यक्तिको आधिकारिक सूचना पत्ता लाग्ने सम्भावना कम हुने उनीहरुको चिन्ता छ।

इपिडिमियोलोजिष्ट ल्यामो याङचेन शेर्पा शहरमा एप मार्फत आफ्नो स्वास्थ्य समस्या उल्लेख गर्न सक्ने व्यक्ति भए पनि गाउँगाउँमा यसको प्रभावकारिता कम हुने देख्छिन्। “शहरका व्यक्तिले राख्ने विवरण पनि सही नै हुन्छ भन्न सकिंदैन”, उनी भन्छिन्।

अहिलेसम्म नेपालमा भेटिएका पाँच जना संक्रमित सबै विदेशबाट आएका थिए। उनीहरु विदेशमा रहँदा नै कोभिड १९ संक्रमित भएर स्वदेश फर्किएका थिए। पाँचमध्ये एक जना काठमाडौंका बासिन्दा हुन् भने बाँकी सबै उपत्यका बाहिरका।

विदेशबाट आएका संक्रमित पत्ता लगाउन अहिलेसम्म सरकारले एयरलाइन्स कम्पनीसँग यात्रुको विवरण मागेर त्यस मार्फत निगरानी गर्न खोजेको देखिन्छ।

उपत्यकासहित विभिन्न जिल्लामा संक्रमित र शंकास्पद व्यक्ति खोज्न वा निगरानी गर्न स्थानीय स्तरमा रहेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकालाई परिचालन गर्नु उचित हुने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्।

इपिडिमियोलोजिष्ट स्थानीय स्तरबाट शंकास्पद र संक्रमित व्यक्ति खोजेर केन्द्रमा रिपोर्टिङ गर्ने प्रणाली बनाउनुपर्ने सुझाव दिन्छिन्। “यसका लागि स्थानीय तह मार्फत महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक स्वास्थ्य कार्यकर्ता परिचालन गर्नु प्रभावकारी हुन्छ”, उनी भन्छिन्।

जनस्वास्थ्यविद् डा. रिता थापा पनि स्थानीय स्तरमा भएका जनशक्ति परिचालन गरेर विदेशबाट आएका र अन्य शंकास्पद व्यक्ति खोजेर त्यस सम्बन्धी सूचना केन्द्रमा रिपोर्टिङ गर्ने प्रणाली प्रभावकारी हुने बताउँछन् ।

इपिडिमियोलोजिष्ट शेर्पा गाउँगाउँमा रहेका स्वास्थ्य चौकी मातहत कम्तिमा नौ जनासम्म स्वास्थ्य स्वयंसेविका रहेकाले अहिलेको संकटमा तिनलाई स्थानीय तह मार्फत परिचालन गर्नु उपयुक्त हुने बताउँछिन्। उनका अनुसार, हेल्थपोष्ट नपुगेका ठाउँमा स्थानीय तहले सञ्चालन गरिरहेका शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी लगायतका जनशक्तिलाई समुदायमा निगरानी गर्ने काममा लगाउन सकिन्छ।

“स्वास्थ्य स्वयंसेविका, नर्स, अनमी लगायतका जनशक्तिलाई प्रायः आफ्नो वडामा विदेशबाट को आए भन्ने थाहा हुन्छ” शेर्पा भन्छिन् “उनीहरुले शंकास्पद व्यक्तिमा देखिएका लक्षण र उसको सम्पर्क नम्बरसहितका व्यक्तिगत विवरण स्थानीय तह हुँदै केन्द्रसम्म पठाउन सक्छन्।”

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी सबै व्यक्तिले एप चलाउन नसक्ने भएकाले स्थानीय स्तरमा उपलब्ध स्रोत साधन परिचालन गरेर शंकास्पद बिरामी खोज्ने काम शुरु गर्नुपर्ने बताउँछन्। रोग नियन्त्रणका कदम चाल्न सरकार अल्मलिएको बताउँदै उनी भन्छन्, “महाशाखा जस्ता निकायलाई एक्टिभ केस सर्भिलेन्सका लागि सक्रिय बनाउन सरकारको ध्यान गएको देखिदैन।”

चार/पाँच वर्षअघिसम्म स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन–ए खुवाउने कार्यक्रममा दिनभरको काम सकिएपछि त्यस सम्बन्धी विवरण साँझमा मोबाइलबाट एसएमएस गरेर स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य महाशाखालाई पठाउँथे। त्यही तरिकाले उनीहरुलाई कोभिड–१९ का संक्रमित र शंकास्पद व्यक्ति खोजीमा परिचालन गर्न सकिने डा. मरासिनी सुझाउँछन् ।

स्थानीय स्तरमा कोरोनाभाइरसका शंकास्पद बिरामी खोज्न सुरक्षा सामग्री भने अनिवार्य उपलब्ध गराउनुपर्ने विज्ञहरु बताउँछन्।

कोभिड–१९ का शंकास्पद बिरामी र संक्रमित पत्ता लगाउन एप र वेबसाइट सञ्चालनमा

 

प्रतिकृया दिनुहोस