भारतको आरएसएस सम्बद्ध संस्थाहरूले नेपालमा धर्मको नाममा विद्वेष फैलाउने काम गरिरहेका छन्। समाजमा हिंसा फैलाउने यी संस्थाहरू राज्यको निगरानीमा कसरी परेनन्?
महेश कुशवाहा
अघिल्लो साता मधेशमा फेरि पनि धर्मको नाममा तनाव चर्कियो। हिन्दू युवा र मुस्लिम समुदायबीच झडपको रूप लिएको यो तनाव वीरगञ्जमा शुरू भई छिट्टै अन्य शहरहरूमा फैलियो। सामाजिक सञ्जाल यो पटक पनि उक्साउने माध्यम बन्यो, तर केही वर्षयता नेपालमा उल्लेखनीय रूपमा बढ्दै गएको यो चिन्ताजनक प्रवृत्ति भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र त्यसको राजनीतिक शाखा भारतीय जनता पार्टी (भाजपा) को हिन्दूत्ववादी विचारधारा र कार्यनीतिसँग जोडिएको छ। प्रश्न उठ्छ, आरएसएसबाट प्रेरित अतिवाद कसरी नेपाली राज्यको निगरानीलाई छल्दै सिमाना पार गर्दै छ?
यसलाई बुझ्न ‘द क्याराभ्यान’द्वारा हालसालै गरिएको गहिरो अनुसन्धान पढ्नुपर्छ, जसले आरएसएस अर्थात् संघको संगठनात्मक संरचना, सञ्चालन पद्धति र जेलिएको सम्बद्ध संस्थाहरूको विश्वव्यापी सञ्जाललाई उजागर गरेको छ। उक्त अनुसन्धानले आरएसएस अर्थात् संघको संगठनात्मक संरचना, काम गर्ने तरीका र यससँग जोडिएका संस्थाहरूको विश्वव्यापी सञ्जाललाई स्पष्ट रूपमा देखाएको छ। र, आरएसएससँग सम्बन्ध भएका २५ हजार संस्थाहरू सार्वजनिक गरेको छ। यी सम्बन्ध केवल विचारधाराको आधारमा मात्र होइन, आर्थिक, संगठनात्मक र व्यावहारिक सम्बन्धका आधारमा पनि रहेको देखिन्छ। अनुसन्धानमा भनिए अनुसार आरएसएसले ‘केन्द्रदेखि घेरासम्म’ (सेन्टर टु पेरिफेरी) मोडेलमा काम गर्छ। यसको अर्थ, केन्द्रमा रहेको मूल संगठनसँग बाहिरतिरका धेरै साना, सामान्य देखिने र कम परिचित संस्थाहरू जोडिएका हुन्छन्। ती संस्थाहरू समाजका विभिन्न तहमा पुग्छन् र ठूला समुदायसम्म आफ्नो पहुँच बनाउँछन्।
यो विशाल र विविध सञ्जालको बलले आरएसएसले समाजमा उल्लेखनीय प्रभाव पार्छ। प्रतिवेदनले उल्लेख गरे झैं आरएसएस सञ्जालमा यस्ता संस्थाहरू पनि छन्, जो अत्यन्तै ‘गोप्य’ रूपमा सञ्चालन हुन्छन्। यी संस्थाले अरू संस्थासँग राखेको सम्बन्ध स्पष्ट देखिंदैन र यिनीहरूका बारेमा सूचना कमै पाइन्छ। यसकारण उनीहरूले आरएसएसका बढी विवादास्पद र राजनीतिक रूपमा संवेदनशील कार्य गर्न सक्छन्। यी सबै संस्था धर्मको नाममा गरिएको आरएसएसको राष्ट्र-निर्माण अभियानमा प्रभावकारी रूपमा सहकार्य गर्छन्। यस कुराको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गर्वका साथ प्रशंसा गरेका छन् ।
नेपालमा आरएसएस सम्बद्ध संगठनात्मक संस्थाहरू
‘द क्याराभ्यान’मा प्रकाशित नक्शा ले नेपालमा आरएसएससँग निर्णायक सम्बन्ध भएका तीन संस्था देखाउँछ– हिन्दू स्वयंसेवक संघ, नेपाल (एचएसएस-नेपाल), युथ फर सेवा नेपाल र विश्व हिन्दू महासंघ (भीएचएम)। ‘द क्याराभ्यान’ को वर्गीकरणमा यी संस्थाले ‘पर्फेक्ट लिंकेज स्कोर १’ पाउँछन्। नेपालमा आरएसएसले कति गहिरोसँग प्रवेश गरेको छ भन्नेबारे यसले महत्त्वपूर्ण संकेत दिन्छ। उदाहरणका लागि, एचएसएस-नेपालले आफूलाई संघको संस्था भएको स्व-घोषणा गरेको छ। यसले आरएसएस र औपचारिक संघ परिवारका विभिन्न सदस्यलाई बोल्न आमन्त्रित गरेको छ र अरू हिसाबले संलग्न गराएको छ। संघका प्रकाशनहरूसँग एचएसएसको सम्बन्ध रहेको पनि लेखले पुष्टि गर्छ। साथै, लेख अनुसार एचएसएस नेपालले प्रयोग गर्ने नामकरण र सामग्रीमा आरएसएससँगको सम्बन्धका स्पष्ट संकेतहरू देखिन्छन् (जस्तै, आरएसएसका संस्थापक केशव बलिराम हेडगेवारको तस्वीर फ्रेम गरिएको हुनु वा एक ‘प्रचारक’ अर्थात् संघका पूर्णकालीन कार्यकर्ताको नामबाट नामकरण हुनु)। यसले संघका अन्य सम्बद्ध संस्थासँग संयुक्त कार्यक्रमहरू पनि सञ्चालन गरेको छ।
युथ फर सेवा नेपालको आरएसएससँगको सम्बन्ध एचएसएस-नेपालको जस्तो स्पष्ट देखिंदैन, तर यसले पनि ‘स्कोर १’ प्राप्त गरेको छ, अर्थात् क्याराभ्यानका अनुसार यसको आरएसएससँग निर्णायक सम्बन्ध छ। यो युवा परोपकारी संस्थाले संघबाट आर्थिक सहयोग पाएको मात्र छैन, यसलाई आरएसएससँग ठोस सम्बन्ध भएका संस्थाहरूले साझेदार संस्थाका रूपमा सूचीबद्ध पनि गरेका छन्। यसका अतिरिक्त, संघका सम्बद्ध संस्थाहरूसँग सम्बन्ध रहेको र उनीहरूसँग संयुक्त कार्यक्रमहरू सञ्चालन गरेको पाइन्छ। अन्ततः भीएचएमलाई संघकै संस्था मान्ने आधारहरूमध्ये संघको एउटा संस्थाद्वारा स्थापना गरिनु एक हो भने यसले संघका विभिन्न अंगसँग पदाधिकारीको साझेदारी गर्नु अर्को हो।
प्रतिवेदनले नेपालमा आरएसएससँग खास सम्बन्ध भएका तीन संस्थाहरू मात्र सूचीकृत गरेको छ, यद्यपि शिव सेना (नेपाल) र बजरंग दल (नेपाल) सहित दर्जनौं अन्य संस्था पनि नेपालमा सक्रिय छन्। अनुसन्धानका सीमितता वा अन्य कारणले यी सम्बद्ध संस्थाहरू सूचीमा नपरेका हुन सक्छन्। तर यी संस्थाहरू आरएसएस र भाजपा जस्ता केन्द्रीय संस्थाहरूसँग प्रत्यक्ष जोडिएका पनि हुन सक्छन्। यी सबै संस्था मुख्य संस्थाको बाहिरी घेरामा रहेका सहायक संस्था जस्तै भएर चलिरहेका हुन्छन्। अर्को शब्दमा, संघको संगठनात्मक संरचना र सञ्चालनले यसलाई नेपाली समाजमा प्रत्यक्ष पहुँच प्रदान गर्छ।
संघीय सम्बन्धहरूको प्रभाव
नेपालमा सक्रिय संघ सम्बद्ध संस्थाहरूका वैचारिक र राजनीतिक प्रतिबद्धता भारतका आरएसएस र भाजपाकै जस्ता हुन्छन्, जसमा हिन्दू उग्रवाद र हिन्दूत्व सबैभन्दा चिन्ताजनक पक्ष हुन्। भारतमा देखिएको जत्तिकै तीव्रता नेपालमा नदेखिए पनि सीमापार उग्रताको फैलावट पछिल्ला वर्षहरूमा छर्लंगै छ। विशेष गरी हिन्दू पर्वहरूको समयमा, पहिले कम घर्षण हुने विषयहरूलाई लिएर स्थानीय युवाबीच झडप हुने क्रम बढेको छ , जसका कारण मधेश क्षेत्रमा धर्मको नाममा हुने साम्प्रदायिक टकरावमा वृद्धि भएको छ। परिणाम– नेपालमा सामाजिक सद्भाव क्रमशः क्षय हुँदै गएको छ, जुन न स्वाभाविक हो, न त संयोगले मात्र भएको हो। आप्रवासन, जनसांख्यिक संरचनामा परिवर्तन र डिजिटल मीडियाका विविध भूमिका पनि कारण हुन् भने आरएसएस सम्बद्ध संस्थाहरूको भूमिका निर्णायक छ र तिनका गतिविधिमाथि गहिरो निगरानी आवश्यक छ। उदाहरणका लागि, एचएसएस-नेपाल देशभर सञ्चालन हुने आफ्ना तालीम शिविर र शाखाहरू मार्फत प्रचार-प्रसार गरेर युवालाई उग्र बनाउने कार्यका लागि बदनाम छ।
संघको घोषित लक्ष्य “संघ समाज बनेगा”– अर्थात् संघ नै समाज बन्ने हो। यही लक्ष्यका साथ नेपालमा संघको विस्तार गर्नुले नेपाली समाजमा मात्र होइन, दीर्घकालमा नेपाली राज्यको सार्वभौमिकतामै पनि प्रभाव पार्न सक्छ। यसलाई पूर्ण रूपमा बुझ्न नेपाल र अन्य देशमा रहेका आरएसएसका विदेशी सम्बद्ध संस्थाहरूबीचको भिन्नता बुझ्न आवश्यक छ। अन्य देशमा ती संस्था प्रायः (भारतीय) हिन्दू प्रवासी समुदायका संगठनहरू हुन्छन्, जसले भारतभित्र आरएसएस/भाजपालाई विभिन्न प्रकारका सहयोग जुटाउँछन्। तर‚ नेपालका सम्बद्ध संस्थाहरूको उद्देश्य छः आरएसएसका सिद्धान्त र राजनीतिक लक्ष्य अनुसार समाजलाई संगठित गर्नु। भारतसँग खुला सिमाना र घनिष्ठ सामाजिक-सांस्कृतिक तथा भाषिक सम्बन्ध भएको नेपालका लागि, यो सीमापार प्रभाव सामाजिक सद्भाव विघटनमै सीमित नरही दीर्घकालमा नेपाली समाजका केही क्षेत्रको राष्ट्रिय कल्पनालाई नै रूपान्तरण गर्न सक्ने क्षमता राख्छ। ग्रामीण मधेशमा केसरिया वस्त्रधारी हिन्दू पुजारी र गुरुहरू परिवार-परिवारमा पुग्छन् र राष्ट्रियता वा नागरिकता भन्दा पर साझा भाषा र कहिलेकाहीं पारिवारिक-सामाजिक सम्बन्धका कारण उनीहरूको प्रभाव रहने गर्छ। यस पृष्ठभूमिमा आरएसएसका सम्बद्ध संस्थाहरूको संस्थागत पहुँच र नेपाली समाजसँगको सम्पर्कले आफ्नो राजनीतिक लक्ष्य अनुसार समाजलाई प्रभाव पार्न वा आकार दिन सक्ने सम्भावना प्रबल हुन्छ।
अगाडिको बाटो
धार्मिक संघ-संस्थाहरू वा तिनका राजनीतिक अभिव्यक्तिहरू नेपाली संविधानले निषेध गरेको छैन; तर तिनका सम्बन्ध, उद्देश्य र गतिविधिहरू पारदर्शी हुनुपर्छ र राष्ट्रिय हितलाई सेवा गर्नुपर्छ। ‘द क्याराभ्यान’को नयाँ प्रतिवेदनले संघका केही पक्षको सन्दर्भ बुझाउन मद्दत गर्छ, तर यी संस्थाले नेपालमा पार्ने प्रभावको विस्तृत मूल्यांकनका लागि अझ गहिरो अनुसन्धान आवश्यक छ। यो केवल शैक्षिक अभ्यास होइन; यो राष्ट्रिय सुरक्षाको आवश्यकता हो। नेपालको वर्तमान राजनीतिक वातावरणमा कुनै पनि किसिमको उक्साहट कमै वाञ्छनीय भए पनि औपचारिक र संरचनात्मक अन्तर्राष्ट्रिय सम्बन्धका संयन्त्रहरूलाई छल्दै निगरानीबाट बच्ने कुनै पनि विदेशी पात्रको दुर्भावनापूर्ण उद्देश्य र भूमिकाको परीक्षण प्राथमिकतामा पर्नै पर्छ।
(कुशवाहा आयरल्याण्ड गणराज्य स्थित डब्लिन सिटी विश्वविद्यालयको स्कूल अफ ल एन्ड गभर्नमेन्टमा विद्यावारिधिका शोधार्थी हुन् र सेन्टर फर सोशल इनोभेशन एन्ड फरेन पलिसीका गैरआवासीय फेलो हुन्।)
यो पनि पढ्नुस्–