सरकारले बाङ्लादेशमा भएको हत्यालाई आधार बनाई तराई-मधेशमा धर्मको नाममा फैलाइएको साम्प्रदायिक हिंसा रोकेन भने बन्दै गइरहेको चुनावी माहौल भताभुंग बनाउने काम हुनेछ।
पुस १० गते बाह्रखरी कथा प्रतियोगिताको समापन कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सरकारले चौतर्फी दबाब झेलिरहेको र शान्तिपूर्ण निर्वाचन गराउन अप्ठेरो परिरहेको संकेत गरिन्। समाजमा बढिरहेको विवादले द्वन्द्वको रूप धारण गरी त्यो मारकाटमा परिणत भए नेपाल पनि बाङ्लादेश बन्न सक्ने उनको मन्तव्यको सार थियो। आफूलाई जेन-जीको प्रधानमन्त्रीको रूपमा चिनाउने कार्कीको भनाइ थियो– ‘देश बाङ्लादेश नबनोस्।’ स्थापित दल लगायत जेन-जी अगुवाहरूले नयाँ जनादेशका निम्ति तयारी गरिरहेको र चुनाव हुन दुई महीना मात्र बाँकी रहेको सन्दर्भमा प्रधानमन्त्रीबाट यस्तो मन्तव्य आउनु अर्थपूर्ण छ।
डेढ वर्षअघि विद्यार्थीहरूको अगुवाइमा बाङ्लादेशमा भएको हिंसात्मक विद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई ५ अगस्ट‚ २०२४ मा भारत निर्वासनमा जान बाध्य पाऱ्यो। ५४ वर्षअघि पाकिस्तानबाट स्वतन्त्र देश बनाउन नेतृत्व गरेका शेख मुजिबुर रहमानकी छोरी हसिनालाई ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले मानवता विरोधी अपराधमा फाँसीको सजाय सुनाएको छ। सेनाको ब्याक अपमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको चुनावी सरकारले जसोतसो १२ फेब्रुअरी‚ २०२६ का निम्ति निर्वाचनको मिति तोकेको थियो। तर, पुस ३ मा हसिना सरकार ढाल्ने इन्किलाब मोन्चोका सह-संस्थापक तथा प्रवक्ता ३२ वर्षीय शरीफ उस्मान हादी मारिए। उनलाई २६ मंसीरमा मस्जिदबाट निस्कँदै गर्दा गोली प्रहार गरिएको थियो। त्यसपछि भड्किएको हिंसाले निर्वाचनको माहौल धेरै पर धकेलिदिएको छ। उस्मानको घटना सेलाउन नपाउँदै पुस ७ मा राष्ट्रिय नागरिक पार्टीका युवा नेता मोतेलब सिक्दरलाई पनि गोली हानेर मारिएपछि बाङ्लादेश अनिश्चयको दुष्चक्रमा फसेको छ।
उस्मानको मृत्यु भएको दिन आक्रोशित भीडले इस्लामको निन्दा गरेको आरोपमा हिन्दू अल्पसंख्यक समुदायका २७ वर्षीय श्रमिक दिपुचन्द्र दासको क्रूर तरीकाले हत्या गऱ्यो। उस्मानको हत्यामा संलग्न भनिएका व्यक्ति भारत पुगेको भन्दै बाङ्लादेशमा भारत विरुद्ध प्रदर्शन चर्कियो। हत्या-हिंसाको पछिल्लो घटनाले डेढ वर्षदेखि बिग्रिएको बाङ्लादेश र भारतबीचको कूटनीतिक सम्बन्धमाथि थप आघात पुगेको छ। धर्मको नाममा दुवै देशका कूटनीतिक नियोगमाथि आक्रमण भएको छ। साम्प्रदायिक घृणा सीमा नाघेर जनस्तरसम्म चर्किएको छ। हिन्दू युवामाथि आक्रमण भएको भन्दै भारतमा भारतीय मुस्लिम समुदायमाथि आक्रमण शुरू भएको छ। हत्या-हिंसाको शृंखला चलेपछि बाङ्लादेशको आसन्न निर्वाचन संकटमा छ। प्रधानमन्त्री कार्कीले हाम्रो सन्दर्भमा धर्मनिरपेक्ष देश बाङ्लादेशको यही साम्प्रदायिक दृष्टान्त अगाडि सारेकी हुन्।
बाङ्लादेशको घटना हिंसा ढुकिबस्नेलाई निहुँ
हाम्रा छिमेकी दुई देशबीच बिग्रिएको कूटनीतिक सम्बन्धको दुष्प्रभाव नेपालमा पनि देखिइसक्यो। बाङ्लादेशको घटनालाई लिएर भारतको हिन्दू सर्वोच्चतावादी संगठन एवं सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र यसका अर्धभूमिगत भ्रातृ संगठनहरूले जसरी भारतीय मुस्लिममाथि आक्रमण गरिरहेका छन्, त्यही शैलीमा तराई-मधेशमा पनि नेपाली मुस्लिममाथि अतिवादीहरूले आक्रमण बढाएका छन्। बाङ्लादेशमा दिपुचन्द्र दासको हत्याको बदला लिने भन्दै तराई-मधेशमा बजरंग दल र हिन्दू सम्राट् सेना जस्ता नामधारी संगठनहरूले मुस्लिम अल्पसंख्यकमाथि गरिरहेको अत्याचार सामाजिक सञ्जालभरि फैलाइँदै छ। तिनले स्थानीय मुस्लिम समुदायलाई ‘बाङ्लादेशी मुस्लिम हौ कि होइनौ’ भन्दै ठाउँका ठाउँ ‘चेकजाँच’ गरिरहेका छन्। भारतबाट श्रम गर्न आएका भारतीय मुस्लिमहरूमाथि दुर्व्यवहार गरेका छन्, जबरजस्ती चौकीमा लगेका छन्। यसमा स्थानीय प्रशासनले समेत हिंसात्मक समूहलाई साथ दिएको देखिन्छ। आफ्ना आफन्तसँग बाइकमा हिंडिरहेकी महिलालाई दुर्व्यवहार गर्दै ‘जय श्री राम भन नत्र छाडिंदैन’ भन्दै हकारेका भिडीओ डिजिटल प्लाटफर्ममा फैलिएको छ। यस्ता दुर्व्यवहारले मुस्लिम समुदायमा आतंक फैलिएको छ।
गत शुक्रवार साँझ बर्दिया जिल्लाको गुलरिया नगरपालिका-१०‚ पर्सियामा बजरंग दलसँग सम्बद्ध दीपक श्रीवास्तव, ननकु गुडिया र पुजारी गुडियाको नेतृत्वमा आएको भीडले पाँच वटा मुस्लिम परिवारमाथि आक्रमण गरेको छ र तिनका घरमा आगजनी र तोडफोड गरेको छ। पीडित परिवारले किटानी जाहेरी दिंदा समेत आक्रमणमा संलग्नहरूलाई पक्राउ गरिएको छैन। अपराधीलाई दण्ड दिनुपर्नेमा प्रहरीले मिलापत्र गराएपछि दण्डहीनतालाई प्रश्रय मिलेको छ।
यता शुक्रवार साँझै सप्तरीका अफरोज आलमले तीन वर्षअघि लेखेको एउटा ‘स्टाटस’लाई आधार बनाई जिल्ला प्रशासन कार्यालय राजविराजमा सार्वजनिक रूपमा माफी माग्न लगाइँदै थियो भने सनातनी समाज नामक समूहले सीडीओ कार्यालय नजिकै रहेको साहेब आलमको पसलमा आक्रमण गरी तोडफोड गर्दै थियो। त्यही समूहले सीडीओ कार्यालयमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यासको प्रयोग गरी भीड नियन्त्रण गर्नु पऱ्यो।
तीन वर्षअघिको स्टाटसका लागि जिल्ला प्रशासन कार्यालय राजविराजमा अफरोज आलमलाई सार्वजनिक रूपमा माफी माग्न लगाइँदै। स्रोत : शीर्ष खबर
अतिवादीहरूको हिंसा तराई-मधेशभरि फैलिएको छ। बाङ्लादेशमा हिन्दू युवा मारिएको विरोध भन्दै सिराहाको करजन्हा नगरपालिका बन्दीपुरमा रहेको मस्जिदबाट हिन्दू सम्राट् सेनाले माइक हटाउन लगाएको छ। यो काम प्रहरीको रोहवरमा गरिएको छ। यही अर्धभूमिगत समूहले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै विद्यालयमा मुस्लिम छात्राहरूले लगाउने हिजाब र बुर्का तत्काल प्रतिबन्ध लगाउन दबाब दिएको छ। विद्यालयमा बुर्का र हिजाब प्रतिबन्ध गर्नु भनी सम्राट् सेनाको पर्सा जिल्ला समितिले प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको थियो।
तराई-मधेशमा हिंसा र उग्र-हिंसात्मक बोलीलाई सामान्यीकरण गर्न खोजिंदै छ। अर्धभूमिगत समूह हिन्दू सम्राट् सेना नेपालका उपाध्यक्ष तथा विभिन्न अपराधमा संलग्न कृष्णा यादवका हालका गतिविधिहरू यसका उदाहरण हुन्। भाइरल भएको उनको एउटा भिडीयोमा सार्वजनिक स्थलमा यस्तो गीत बजाइएको छ जसमा नेपाली मुस्लिमलाई पाकिस्तानी भनिएको छ, इस्लाम धर्मप्रति वितृष्णा फैलाउने काम गरिएको छ र मुस्लिम महिलाहरूप्रति नराम्रो आशय व्यक्त गरिएको छ।
कृष्णा यादव तिनै व्यक्ति हुन्, जसले गत वैशाख ३ गते काठमाडौंमा भएको राजावादीहरूको कार्यक्रममा ‘म्यानमारमा पाँच लाख मारिए, हामी नेपालमा एउटा पनि बाँकी राख्दैनौं’ भनी नेपाली मुस्लिमहरूमाथि जनसंहारको धम्की दिएका थिए। त्यतिखेर ५० जना नागरिक अगुवाले यस्तो हिंसात्मक अभिव्यक्ति दिनेलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रधानमन्त्री र गृहमन्त्री समक्ष माग गरेका थिए । तर उनीमाथि कुनै कार्बाही भएन, त्यसको मूल्य समाजले चुकाइरहेको छ।
बाङ्लादेशमा हिन्दू युवा मारिएकोमा तिमीहरू किन नबोलेको भन्दै अतिवादीहरूले नेपाली मुस्लिम समुदायमाथि प्रश्न गर्दैछन्। आरएसएसका भगिनी संगठनहरूको अगुवाइमा भारतमा सयौं संख्यामा मुस्लिमहरू हिंसात्मक भीडद्वारा मारिन्छन्, मारिंदैछन्। बाङ्लादेशको घटनाभन्दा तीन दिनअघि हाम्रो सीमा जोडिएको बिहारको नालन्दा जिल्लामा ५० वर्षीय मुस्लिम व्यापारी मोहम्मद आतहर हुसैनलाई हिन्दूत्ववादीहरूले मुस्लिम भएकै आधारमा हत्या गरे। भारतमा मुस्लिम लगायतका अल्पसंख्यकमाथि आक्रमण हुँदा आफूलाई मानव अधिकारकर्मी दाबी गर्नेहरूले नेपालबाट एउटा पनि विज्ञप्ति निकाल्दैनन्। अभियन्ताहरू बोलेको सार्वजनिक रेकर्डमा भेटिंदैन। यहाँका प्राज्ञिक र बौद्धिक मञ्चमा त्यसमाथि छलफल चल्दैन। आतंकको मार खेपिरहेका नेपाली मुस्लिमहरूले समेत भारतको आन्तरिक मामिला भन्दै खुलेर विरोध गर्न चाहँदैनन्। जबकि बाङ्लादेशमा हिन्दू युवक मारिए लगत्तै नेपाल मुस्लिम समाज संघ, पर्साले पुस ५ गते विज्ञप्ति निकालेर ‘बंगलादेशमा हिन्दू युवामाथि भएको बर्बर हत्या’ को विरोध जनाएको छ। त्यसको भोलिपल्ट जनकपुरबाट मुस्लिम धर्मगुरु मुफ्ती मोहम्मद उस्मानले पनि घटनाको भर्त्सना गरेका छन्। राष्ट्रिय सभा सदस्य मोहम्मद खालिद सिद्दिकी, पूर्वमन्त्री जाकिर हुसैन, पूर्वमन्त्री रिजवान अन्सारी र मुस्लिम आयोगका पूर्वअध्यक्ष समीम मियाँ अन्सारीले बाङ्लादेशमा हिन्दू युवा हत्याको कडा विरोध गरेका छन्। सोही हत्याको विरोधमा शनिवार वीरगञ्जमा मुस्लिम धर्मगुरुहरूको अगुवाइमा ऱ्याली नै निकालिएको छ। के तथाकथित सहिष्णुताको परीक्षा कमजोर पक्षले मात्र दिनुपर्ने हो?
बाङ्लादेश घटनाको नाममा मुस्लिममाथि घृणाले भरिएका शब्दहरू ओकलिएका भिडीओ र स्टाटस डिजिटल प्लाटफर्ममा छ्यापछ्याप्ती छन्। यस्ता घृणात्मक अभिव्यक्ति दिनेहरूलाई पक्राउ गर्नु पर्दैन? राज्यले यस्ता विषयमा आँखा चिम्लेर बस्न किमार्थ मिल्दैन।
नेपालमा मुस्लिम समुदायको जनसंख्या १४ लाख छ। अल्पसंख्यक नै अल्पसंख्यकहरूले बनेको देश नेपालमा राष्ट्रिय तथ्यांक विभागको पछिल्लो वर्गीकरण अनुसार क्षत्री, बाहुन, मगर, थारू, तामाङ र विश्वकर्मापछि मुस्लिम समुदायको जनसंख्या रहेको छ। मुस्लिमहरू नेपाली समाजको एउटा अभिन्न अंग हुन्। कुनै पनि समुदायमाथि हिंसात्मक गतिविधि गरिनु भनेको समाजमा साम्प्रदायिकता छिराएर आतंकको वातावरण सिर्जना गर्नु हो। अहिले त यो हिंसा मुस्लिम समुदायप्रति लक्षित देखिन्छ, तर आरएसएस शैलीको हिन्दूत्ववाद यतिमै रोकिंदैन। यसले अन्य समुदायलाई पनि बाँकी राख्दैन।
राज्यको पक्षबाट हेर्दा १४ लाख जनसंख्या भएको मुस्लिम समुदाय आफ्नो अस्तित्व रक्षाको नाममा विरोधमा उत्रिए के होला? राज्य मात्र नभई धर्म जस्तो संवेदनशील विषयमा नागरिक समाज, मीडिया, बौद्धिकवृत्त पनि अत्यन्त चनाखो बन्न जरूरी छ। चैत ३० मा वीरगञ्जमा भएको धार्मिक दंगामा चुकाएको मूल्यबाट हामीले सिक्न जरूरी छ। त्यति वेला मस्जिदमाथि आक्रमण भयो । झडपमा ३० जनाभन्दा बढी घाइते भए, मुस्लिम नागरिकका एक दर्जन मोटरसाइकल जलाइए, होटेल र पसलहरूमा लुटपाट र तोडफोड भयो। यो भौतिक क्षति हो। हामीले सामाजिक क्षतिको हिसाबकिताब नै गरेका छैनौं। धर्मनिरपेक्ष राज्यमा बहुसंख्यकबाट अल्पसंख्यकमाथि भइरहेका यस्ता आक्रमण ढाकछोपमा कोही नलागौं।
तैं चूप मै चूप
आपसी सद्भावलाई बलियो बनाउँदै आ-आफ्ना समुदायका समस्याहरू उठाउन भनी संविधानतः ९ वटा जातीय, क्षेत्रीय, समावेशी, लैंगिक आयोग बनाइएका छन्। तराई-मधेशसँग प्रत्यक्ष सरोकार राख्ने मुस्लिम आयोग, मधेशी आयोग र थारू आयोग छन्। तर यी आयोगहरू पनि तराई-मधेशमा फैलिरहेको साम्प्रदायिक विद्वेषमाथि मौनधारण गरेर बसेका छन्। त्योसँगै संघीय राजधानीमा मधेशकेन्द्रित अनुसन्धान केन्द्र, छलफल मञ्च लगायतका दर्जनौं संस्था छन्, जसले तराई-मधेशका मुद्दालाई केन्द्रमा राखेर विमर्श गर्दै आइरहेका छन्, यो विषयमा ती कहाँ छन्, अत्तोपत्तो छैन। मधेशी दलहरू कहाँ छन्? मधेशवादी दलहरूभन्दा मधेशबाट बढी मत पाएका नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेपाली मुस्लिममाथि गरिएको आक्रमणबारे किन बोल्दैनन्? आफूलाई नयाँ पुस्ता र सुशासनका संवाहक दाबी गर्दै आएका दुई पात्र रवि लामिछाने र बालेन्द्र शाहले साम्प्रदायिक विखण्डन विरुद्ध कहिल्यै कुनै अपील गरेको सुनिएको छैन।
काठमाडौंका मेयर बालेन्द्र शाहको भेटघाट थलोको पलपलको खबर दिने काठमाडौंकेन्द्रित मीडियाहरूमा तराई-मधेशमा भइरहेको हिंसात्मक फैलावटबारे न समाचार आउँछ, न त विश्लेषण। नेपाली मीडिया साम्प्रदायिक लफडामा शान्तिको बहाना गरी मौन बस्दै आइरहेको छ। यसअघि पनि हामीले भनिसकेका छौं, यो पत्रकारिताको धर्म होइन। धार्मिक अल्पसंख्यकमाथि आक्रमण हुँदा आवाजविहीनहरूको आवाज दाबी गर्ने पत्रकार कसरी चूप लागेर बस्न मिल्छ?
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी र धर्मनिरपेक्ष संविधान जोगाउँछौं भन्दै भाषण दिने दर्जनौं नामधारी जेन-जी संगठनका नेताहरूलाई यति ठूलो बबन्डरबारे थाहा नभएको हो वा नबोलेका हुन्, थाहा छैन। तर ती लोकरिझ्याइँमा यतिविघ्न लिप्त छन् कि तिनको पनि यो संवेदनशील विषयमा केही सरोकार देखिंदैन। दुःखद पक्ष हो, यस्तो संवेदनशील मुद्दामा तराई-मधेशबाट आएका जेन-जी प्रतिनिधि पुरुषोत्तम यादव, माजिद अन्सारी, अर्णव चौधरी, शिव यादव, मोनिषा चौधरी समेत मौन देखिन्छन्। मधेशसँग प्रत्यक्ष सरोकार भएका जेन-जीका मन्त्री बब्लु गुप्ता र कानूनमन्त्री अनिलकुमार सिन्हा यस सन्दर्भको परिदृश्यमा कतै देखिंदैनन्। जब उनीहरू नै बहुसांस्कृतिक समाज तहसनहस पार्ने यस्ता तत्त्वहरू विरुद्ध बोल्न सक्दैनन् भने कसरी हामीले बहुसांस्कृतिक देशको सौन्दर्यलाई बचाइराख्न सक्छन् भनी विश्वास गर्ने?
नाजीवादलाई आदर्श मान्ने आरएसएसले धर्मनिरपेक्ष देश भारतमा हुर्काइरहेको हिन्दूत्व राजनीतिले मुस्लिम, क्रिश्चियन, दलित, आदिवासी, कम्युनिष्टलाई दुश्मन ठान्छ र पूर्वोत्तर भारतका मान्छेमाथि रूपरंगका आधारमा विभेद गर्छ। त्यस्तो अतिवाद नेपालमा हामीले फस्टाउन दिनुहुँदैन। अहिले तराई-मधेशमा जहाँ जहाँ धर्मको नाममा हिंसात्मक गतिविधि फैलिरहेको छ, ती आरएसएसले तालीम दिंदै आइरहेका स्थानहरू हुन्। यी हिंसात्मक गतिविधि तयारीका साथ गरिंदैछन्, हामीले बुझ्न जरूरी छ। धर्म राजनीतिका कारण धर्मनिरपेक्ष लोकतान्त्रिक भारत अहिले इतिहासमै सबभन्दा कमजोर भएको छ। त्यही बाटोमा बाङ्लादेश हिंड्न लागेको देखिन्छ। धर्मनिरपेक्ष देश बाङ्लादेशमा इस्लामिक अतिवाद फैलँदो छ। बाङ्लादेशमा फेब्रुअरीमा हुन गइरहेको निर्वाचन बिथोल्न दुई जना विद्यार्थी नेताको हत्या गराइएको चर्चा चलिरहेको सन्दर्भमा हामीले नेपाल सरकारमाथि सचेत निगरानी राख्न जरूरी छ। सबैभन्दा बढी जनसंख्या भएको तराई-मधेशमा चलिरहेको अतिवादले दुई महीनापछि हुन गइरहेको चुनावको लागि चाहिने माहौल सिर्जना हुन दिंदैन। त्यसैले चुनावी सरकारका प्रमुखलाई हाम्रो विशेष आग्रह छ, देश चुनावी लयमा हिंडिसकेको अवस्थामा पहिला तराई-मधेशमा फैलिरहेको हिंसा नियन्त्रण गर्नोस्, कहाँ कोसँग कूटनीतिक वार्ता गर्नुपर्छ, गर्नोस् तब मात्र तपाईंले भनेजस्तो देश बाङ्लादेश बन्नबाट बच्नेछ।