समानुपातिक उम्मेदवार चयनमा दलका शीर्ष नेताले आफ्नै जिल्लाकालाई बढी समेटेको देखिन्छ। भूगोल र समुदायका हिसाबले सीमान्तकृतहरूलाई यसपालि पनि समानुपातिक उम्मेदवार छनोटमा उपेक्षा गरियो।
२०८२ फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूची बाहिरिएपछि तिनको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। कारण– उम्मेदवार छनोटमा शीर्ष नेताहरूले आ-आफ्नो गृह जिल्लाबाटै धेरै नाम समावेश गरेर पठाए।
यसअघि प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय लगायत स्रोत बढी भएका मन्त्रालय सम्हालेका मन्त्रीहरूले राष्ट्रिय बजेटको ठूलो हिस्सा विभिन्न योजना बनाएर आ-आफ्नो जिल्लामा विनियोजन गरेको भन्दै संसद्मा तीव्र विरोध हुने गर्थ्यो, अहिले त्यस्तै नेताकेन्द्रित विरोध समानुपातिकको बन्दसूचीलाई लिएर भइरहेको छ।
ओलीकै हालीमुहाली
नेकपा एमालेले बुझाएको समानुपातिक सूचीमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट मात्रै ९ जनाको नाम सूचीकृत छ। ओली प्रधानमन्त्री हुँदा उनीमाथि राष्ट्रिय ढुकुटीको ठूलो धनराशि विभिन्न परियोजनाको नाममा झापामा लगिएको आरोप लाग्ने गरेको थियो।
पाँच निर्वाचन क्षेत्र रहेको झापाबाट एमालेले समानुपातिक सांसदका लागि अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी शिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, सोम पोर्तेल, निता घतानी, जितु गौतम दर्जी र विना साह महतोको नाम समावेश गरेको छ।
देशभरि वडास्तरसम्मै संगठन भएको एमालेले बन्दसूचीमा ५६ जिल्लाबाट मात्र नाम सिफारिश गरेको छ। २१ जिल्लाबाट एक जना पनि उम्मेदवार चयन गरिएन। जबकि‚ समानुपातिक सांसदको संख्या ११० हुन्छ।
मधेश र काठमाडौं केन्द्रित कांग्रेस
यसपालि नेपाली कांग्रेसले पहिला समानुपातिकबाट जित्नेलाई नदोहोऱ्याउने निर्णय गरेबमोजिम उम्मेदवारको चयन गरेको छ। कांग्रेसले समानुपातिक सूचीमा एमालेको भन्दा बढी जिल्ला (६४) समेटे पनि देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दलको उम्मेदवार चयन पनि शक्तिशाली नेताहरूकै वरपर घुमेको देखिन्छ।
समानुपातिकमा मधेश प्रदेशको राजधानी समेत रहेको धनुषाबाट ७ जनाको नाम बन्दसूचीमा परेको छ। धनुषाबाट मनहरि श्रेष्ठ, रामसुन्दर महरा, परमिला महतो, औरमिलाकुमारी यादव, रामानन्द चौधरी र चन्द्रमोहन यादवको नाम समावेश छ। सबैभन्दा धेरै बन्दसूचीमा नाम परेको यो जिल्ला पार्टीका पूर्वउपसभापति तथा महामन्त्री विमलेन्द्र निधि र पूर्वराष्ट्रपति रामवरण यादवको गृह क्षेत्र हो।
महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य तथा वरिष्ठ नेता प्रकाशमान सिंहको काठमाडौं जिल्लाबाट नियति सिंह, भीमसेनदास प्रधान, नारायण श्रेष्ठ, कमला राजभण्डारी, श्रीविनोद भट्टराई, हरिशरण नेपालीको नाम समावेश भएको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य तथा वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको गृह जिल्ला झापाबाट गोमाकुमारी भट्टराई, सुशीला ढकाल आचार्य, मनुमाया विश्वकर्मा, उमा शिवाकोटी र राधा कार्कीको नाम समावेश गरिएको छ।
सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट भने एक जना दलित महिला हरिना कामी सिफारिश भएकी छन्।
पहिला समानुपातिकमा परेकालाई यसपालि नदोहोऱ्याउने निर्णय गरेको पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले पनि ५२ जिल्लाबाट मात्र समानुपातिकको सूचीमा नाम समावेश गरेको छ।
नयाँ गठजोड पनि उस्तै
स्थापित दलले यसअघि नै समानुपातिकको मर्मबमोजिम यस प्रणालीको दुरुपयोग गर्दै आइरहेका थिए। तर यसपालि आफूहरूलाई नयाँ र सुशासनको पक्षधर दाबी गर्दै एउटै झण्डामुनि संगठित भएका राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील पार्टी, उज्यालो नेपाल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको गठजोडले पनि स्थापित दलकै अभ्यास पछ्यायो।
नातावाद, कृपावाद तथा धनवादको विरोधी भएको दाबी गर्ने रास्वपाले सभापति रवि लामिछाने निर्वाचित जिल्ला चितवनबाट मात्र २१ जनाको नाम सिफारिश गऱ्यो। मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा, सन्देश गुरुङ, सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल सूचीमा परे। यस दलको समानुपातिक उम्मेदवारको बन्दसूचीमा ३८ जिल्लालाई मात्रै समावेश गरियो।
रास्वपाको समानुपातिक सूचीमा चर्चित ‘सेलिब्रिटी’ नै समावेशी कोटामा परे। आर्थिक, सामाजिक पुँजी निर्माण गरिसकेका यिनीहरू सबै हिसाबले प्रत्यक्षमा निर्वाचन उठ्न सक्ने हैसियत राख्छन्। मिस नेपाल अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन र गायक सत्यकला राईको नाम पनि समानुपातिकमा समावेश गरिएको छ। समावेशीकरणको बहस गरिरहेका अनुसन्धाता महेन्द्र लावतीको नाम पनि समानुपातिकको सूचीमा पऱ्यो।
रास्वपाको आदिवासी जनजाति समूह अन्तर्गत पहिलो नम्बरमा राम लामा रहेका छन् भने दोस्रोमा खुश्बु सरकार श्रेष्ठ, तेस्रोमा मिङ्मा ग्याल्बो शेर्पा, चौथोमा मनोहर प्रधान र पाँचौंमा ज्ञानेन्द्र मल्लको नाम छ।
खस आर्य पुरुषको पहिलो नम्बरमा विपिन आचार्यको नाम रहेको छ भने केबलकार व्यवसायी एवं ग्लोबल आईएमई बैंक सञ्चालक तथा उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल खस आर्यको दोस्रो नम्बरमा समेटिएका छन्। उनलाई रास्वपाले के आधारमा समानुपातिक सूचीमा राखेको हो? प्रस्ट छैन।
पूर्वसचिव अनुपकुमार पाण्डे र योजना आयोगमा पूर्वसदस्य अरनिकोकुमार पाँडेको नाम पनि समानुपातिकको बन्दसूचीमा रहेको छ। के उनीहरू समानुपातिक कोटाबाट संसद् छिर्नुपर्ने अवस्थाका हुन्?
खस आर्य महिलाको पहिलो नम्बर सूचीमा प्रतिभा रावलको नाम छ। उनी, पूर्वगभर्नर तिलकबहादुर रावलकी छोरी हुन्। दोस्रो नम्बरमा विदुषी राणाको नाम छ, जो नेपालको चर्चित जुत्ता गोल्डस्टार कम्पनीकी मालिक हुन्। खासमा समानुपातिक प्रणाली उनी जस्ताका लागि थिएन र होइन। पूर्वमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्।
दलित कोटाबाट प्रकाश सपुतदेखि रिमा विश्वकर्मासम्म परेका छन्। प्रकाश दलित पुरुषको पहिलो नम्बरमा छन् भने रिमा दलित महिलाको पहिलो नम्बरमा छिन्। उनीहरू दुवै जना चर्चित कलाकार हुन्। रिमा टेलिभिजन रियलिटी शो नेपाल आइडल र कमेडी च्याम्पियनका प्रस्तोता थिइन्। त्यस्तै चिकित्सक रूपक विश्वकर्मा घिमिरे पहिलो नम्बरमा छन्। त्यस्तै मुस्लिम कोटाको पहिलो नम्बरमा कलाकार आसिफ शाहको नाम रहेको छ। कलाकार शाह रास्वपाका नेता एवं पूर्वसांसद असिम शाहका सहोदर दाजु हुन्।
खुला प्रतिस्पर्धाबाट सहभागिताको वकालत गर्ने रास्वपाले समावेशी प्रणालीको विरोध गर्दै आएको थियो। तर उसैले आफ्ना आसेपासेलाई सीट वितरण गरेर लामो समयदेखि बहिष्करणमा परेकाहरू– जो प्रत्यक्ष निर्वाचन जितेर संसद्मा पुग्न सक्दैनन्– उनीहरूका लागि गरिएको समानुपातिक समावेशी व्यवस्थाको धज्जी उडाएको छ।
सूचीलाई लिएर जेन-जी अगुवा र सर्वसाधारणबाट व्यापक विरोध आएपछि रास्वपाले उम्मेदवारका नाममाथि पुनर्विचार गर्ने प्रतिबद्धता दिएको छ भने यीमध्ये प्राध्यापक महेन्द्र लावती, गायक त्रिशला गुरुङ, व्यवसायी सचिन ढकाल र अरनिको पाँडे, कलाकार आसिफ शाह, हिमाल आरोही टासी लाक्पा शेर्पाले आफ्नो नाम रास्वपाको बन्दसूचीबाट हटाउन आग्रह गरेको समाचार सार्वजनिक भएका छन्।
हेपाइमा कर्णाली
यस रिपोर्टमा समेटिएका मुख्य चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र रास्वपाले पेश गरेको ११० जनाको बन्दसूचीमा ४४० जनाको नाम दर्ता भएको छ। यस तथ्यांकमा ४३७ जनाको विश्लेषण गरिएको छ। तीन जना उम्मेदवार कुन जिल्लाबाट सिफारिश भएको हो‚ खुलेको छैन। रास्वपाबाट दलित महिला क्लस्टरबाट सुष्मा स्वर्णकार डिम्पल, गिजादेवी मल्लिक र तारा विश्वकर्माको जिल्ला खुलाइएको छैन।
समानुपातिक बन्दसूचीको प्राथमिकतामा सबैभन्दा धेरै उम्मेदवार बागमती प्रदेशबाट परेका छन्। यस प्रदेशले समानुपातिकको सबैभन्दा बढी २४ प्रतिशत हिस्सा ओगटेको छ। मधेश प्रदेशले १९ प्रतिशत‚ गण्डकी र लुम्बिनी प्रदेशले ११/११ प्रतिशत स्थान लिएका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेश भने उपेक्षामा परेका छन्। सुदूरपश्चिम प्रदेशको उम्मेदवारी हिस्सा ८ प्रतिशत छ भने कर्णाली प्रदेशको ६ प्रतिशत मात्र छ। सात प्रदेशमध्ये सबैभन्दा ठूलो भूगोल ओगटेको कर्णाली प्रदेशमा यी प्रमुख दलहरूले समानुपातिक उम्मेदवारी सबैभन्दा कम दिएका छन्।
बारम्बार दुरुपयोग
समावेशी अभ्यासबारे प्रशस्तै आलोचना हुने गरेका छन्। हिमालखबरको अध्ययन अनुसार २०६४ सालयता लागु भएको समानुपातिक प्रणालीको दुरुपयोग गर्नेमा नेताका आसेपासे, परिवारका सदस्य र आर्थिक रूपमा सम्भ्रान्तहरू थिए। यसपालि पनि त्यस्तै पात्र र प्रवृत्ति दोहोरिएका छन्।
गृहमन्त्री भइसकेका रामबहादुर थापा ‘बादल’लाई एमालेले आदिवासी जनजातिको पहिलो नम्बरमा राखेको छ। उनी एमालेका वरिष्ठ उपाध्यक्ष हुन्। थापा २०६४ सालमा भएको पहिलो संविधान सभामा समानुपातिकबाटै संसद् छिरेका थिए। उनलाई राष्ट्रिय सभामा पनि लगिएको थियो। पार्टीको ११ औं महाधिवेशनबाट महिलातर्फबाट पदाधिकारीमा जितेकी पद्मा अर्यालले पनि समानुपातिक रोजेकी छन्। अर्याल यसअघि मन्त्री भइसकेकी हुन्। मन्त्री पदमा पुगिसकेका शान्ता चौधरी र उषाकला राईले समानुपातिकमा ‘ह्याट्रिक’ गरेका छन्। एकै व्यक्तिले तीन पटकसम्म समानुपातिक कोटाको उपयोग गर्नु प्रणालीको चरम दुरुपयोग हो।
समानुपातिक सांसद छनोट गर्दा नेपाली कांग्रेस नातागोताभन्दा माथि उठ्न सकेको छैन। राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम खस आर्य महिलाको पहिलो नम्बरमा छ। पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवको नाम पनि समानुपातिक कोटामा समावेश भएको छ। विमलेन्द्र निधिकी भाञ्जी निनु कर्ण र बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीको नाम पनि समावेश गरिएको छ। त्यस्तै प्रकाश स्नेही रसाइलीका भाइ सुन्दर स्नेही रसाइलीको नाम दलित कोटामा समावेश गरिएको छ। प्रकाश पनि यसअघि २०७४ मा समानुपातिक कोटाबाटै सांसद भएका थिए।
नेकपाले चाहिं यस पटक पहिले समानुपातिकबाट सांसद भएका कसैलाई पनि दोहोऱ्याएन। यद्यपि, समानुपातिकबाट नातागोतालाई सांसद बनाउने उसको सोचमा कुनै सुधार भएको देखिंदैन। दलितमा विनिता विश्वकर्माको नाम समावेश छ। यसअघि उनका श्रीमान् कर्णबहादुर विश्वकर्मा बाजुराबाट २०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा समानुपातिक कोटाबाटै सभासद् भएका थिए।
सच्चिएला त सूची?
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पुस १४ गतेसम्ममा उम्मेदवारहरूको बन्दसूची पेश गर्ने समय सीमा तोकेको थियो। यसका लागि पुस १४ गते रातभर निर्वाचन आयोग खुल्लै रह्यो। दलका नेताहरूले राति अबेरसम्म आयोगमा गएर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका थिए।
पुस १५ गते बिहानैदेखि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलका नेताहरूले पेश गरेको बन्दसूची समेटिएका समानुपातिक उम्मेदवारका नाम बाहिरिए। अनि शुरू भयो आलोचना। कलाकार, खेलाडीदेखि विभिन्न पेशा, व्यवसायमा संलग्नहरूको नाम समेटिएको सूची सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर दुवैतिर विरोध चर्कियो। सबैभन्दा चर्को विरोध रास्वपाले सामना गऱ्यो। किनकि, त्यसले सबैभन्दा बढी सुशासन र भ्रष्टाचार विरोधी भाषण गर्दै आइरहेको छ। तर आफैं नीतिगत भ्रष्टाचारमा सामेल भएपछि उसले विरोध खेप्नु परेको हो। रास्वपामा कलाकारदेखि उद्योगी, हिमाल आरोही, व्यापारी र तिनका सन्तानहरू समावेश थिए। पार्टी पंक्तिमा समेत विरोध चर्केपछि रास्वपा नेतृत्वले त्यसलाई सच्याउने प्रतिबद्धता जनाएको हो।
आयोगले पुस २८ सम्म बन्दसूची सच्याउन समय थपेको छ। यस समयावधिभित्र कुन कुन दलले सूचीलाई संवैधानिक मर्मबमोजिम सच्याउँछन्, अहिलेको आम चासो त्यसैमा केन्द्रित छ।
यो पनि पढ्नुस्–
समानुपातिक प्रणालीमा बलमिच्याइँ, संविधानको हुर्मत लिने अभ्यास
आरक्षण खारेजी होइन परिस्कार
समानुपातिक प्रणालीमा चाहिने सुधार : खस आर्यलाई पुछारमा, दलितलाई शिरमा
आरक्षण खारेज गर्ने वेला भएकै हो?
निजामती सेवामा समावेशी सौन्दर्य
दलित समुदायलाई कस्तो आरक्षण?
आरक्षण बढाउन माग गर्दै थारू समुदाय आन्दोलनमा
हसिना खेद्ने बाङ्लादेशमा चलेको आरक्षण राजनीतिको अन्तर्य