थप समाचार बुधबार, असोज ३१, २०७५

फौजीको खल्लो दशैं

दीपक ज्ञवाली

भारतीय सेनामा कार्यरत नेपालीको एकपछि अर्को पुस्ता सैनिक जीवनमा जोडिएपछि दशैं पारिवारिक जमघट विनाको चाड बन्दै गएको छ।

अफगानिस्तानको हेलमण्ड प्रान्तमा खटिएका ब्रिटिश गोर्खा सैनिक दशैं मनाउँदै । 

बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा...

भारतीय सेनाका भूूतपूर्व क्याप्टेन कुलबहादुर रानालाई स्वरसम्राट नारायण गोपालले गाएको यो गीत झैं हरेक दशैंमा आफ्नो गाउँ कपिलवस्तुको चार नम्बर फर्किने चाहना हुन्थ्यो । तर, २८ वर्षको फौजी जीवनमा उनले यस्तो अवसर एक पटक मात्र पाए ।

भारतीय गोर्खा राइफल्स्मा संलग्न भएको नवौं वर्षमा सन् १९७० को दशैंमा मात्र उनी परिवारसँग दशैं मनाउन घरमा आएका थिए ।

गोर्खा राइफल्स्मा १९६२ जनवरीमा भर्ती भएका कुलबहादुरको पहिलो पोष्टिङ भारतको देहरादुनमा भएको थियो । कहिलेकाहीं बिदा मिल्थ्यो, तर सधैं दशैं बाहेकको समय पथ्र्यो । दशैंको बेला परिवार र गाउँ सम्झिएर भक्कानिन्थे ।

त्यसो त पल्टनमा दशैंको कार्यक्रम धुमधाम हुन्थ्यो । तर, त्यो बेला परिवारसँग टाढा हुनुको पीडाले पोल्थ्यो । त्यस्तो अवस्थामा श्रीमतीको सम्झना मेटाउने रमाइलो काइदा हुने गरेको राना सम्झ्न्छन् । “पल्टनको दशैं भव्य हुन्थ्यो, पञ्चबलि गर्दा ठूला अफिसरहरूलाई समेत बोलाइन्थ्यो”, उनी भन्छन्, “अझै रोचक त, घरकी आफ्नीलाई सम्झँदै केटालाई केटी बनाएर नाचिन्थ्यो ।”

सन् १९६२ देखि १९९० सम्म भारतीय सेनामा काम गरेका बुटवलका खगप्रसाद पुन पनि दशैंका बेला विरलै मात्र घर आउन पाए । नेपालमा परिवारले दशैं मनाइरहँदा उनी एक वर्ष भारत र पाकिस्तानको सिमाना जम्मु–कश्मिरमा लडाइँमा थिए ।

१९८९ मा उनी शान्ति सेनाका रूपमा श्रीलंकाको जाफ्ना पुगेर विद्रोही समूह लिट्टेका लडाकूसँग भिडे । “दुवै लडाइँमा संयोगले बाँचियो”, उनी भन्छन् ।

पुनको दशैं स्मरण पनि कुलबहादुरकै जस्तो छ । “धेरैजसो दशैंमा लडाइँको मैदानमै भइयो” पुन भन्छन्, “लडाइँ नभएको बेला पल्टनमै धुमधामसँग दशैं मनाइन्थ्यो, तर परिवारसँग टाढा हुँदा नरमाइलो लाग्थ्यो ।”

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रूपन्देहीका अध्यक्ष क्याप्टेन किशनबहादुर रानाले २८ वर्ष औपचारिक र १० वर्ष थप गरी ३८ वर्ष भारतमा सैनिक जीवन बिताए । त्यति लामो अवधिमा उनले पनि धेरै वर्ष नेपालमा रहेका परिवार विनै दशैं मनाए ।

पल्टनमा अधिकांश गुरुङ, मगर लगायत दशैं मनाउने समुदायका सैनिक भएकाले दशैं भव्य मनाए पनि परिवारविहीन ती दिन उनका लागि पीडादायी थिए ।

गोर्खा राइफल्स्का क्याप्टेन गुल्मी भार्सेका भीमबहादुर थापा १९७१ को दशैंमा परिवारसँग रमाउन घर फर्कने तयारी गर्दै थिए । त्यही बेला पञ्जावको डेराबाबा नानकमा भारतीय र पाकिस्तानी सेनाबीच लडाइँ हुने खबर आयो । उनलाई सैन्य हेडक्वाटरले युद्धमा खट्न निर्देशन दियो । “घर पुग्ने उमंग छाडेर भारी मनले युद्धमा गएँ”, उनी सम्झन्छन् ।

लाहुरे पुस्ताः उता र यता
क्याप्टेन कुलबहादुरपछिका दुई पुस्ता पनि सैनिक सेवामै आबद्ध छन् । पहिले उनी भारतमा रहेका कारण दशैंको बेला नेपालमा पूर्ण पारिवारिक जमघट दुर्लभ थियो, अहिले उनी सेवानिवृत्त भएर फर्कंदा छोरा र नाति भारतमा छन् ।

उनीपछि ठूलो छोरा दमबहादुर भारतीय सैनिकमा भर्ती भए । लगत्तै कान्छो छोरा भक्तबहादुर पनि । अहिले दमबहादुर सेवानिवृत्त भइसके, उनका छोरा सुशान्त भारतीय सेनामा प्रवेश गरेको चार महीना भयो ।

कुलबहादुर भन्छन्, “सपरिवार दशैं मान्ने धोको कहिल्यै पूरा भएन ।”

यस्तै कथा छ, क्याप्टेन भीमबहादुरको पनि । उनी नेपालमा छ“दा पिता स्वर्गीय जितबहादुर ३९ वर्ष भारतमा फौजी जीवनमा थिए । पिता रिटायर्ड हुनु तीन वर्षअघि उनी पनि भारतीय सेनामै भर्ती भए ।

संयोग कस्तो भने, उनी रिटायर्ड हुन चार वर्ष बाँकी रहँदा छोरा लालबहादुर पनि सेनामै भर्ती भए । तीन पुस्ता केही वर्ष भारतमै रहँदा पनि उनीहरू छुट्टाछुट्टै स्थानमा भए, छुट्टाछुट्टै पल्टनमा दशैं मनाए ।

“एकसाथ दशैं मनाएको धेरै याद छैन” भीमबहादुर भन्छन्, “कहिले को कता, कहिले को कता भइयो । बुवा उता हुँदा म नेपाल, बुवा नेपाल फर्किंदा म भारत । अनि म नेपाल फर्किंदा छोरो भारत ।”

अधिकांश वर्ष एक्लाएक्लै दशैं मनाएका भीमबहादुरकी श्रीमती अमृता भन्छिन्, “के गर्नु, जस्तो प¥यो भोग्नै पर्छ । सेनाको जागिर खाएपछि खटाएको ठाउँमा जानैपर्‍यो ।”

भूतपूर्व सैनिक मेजर टेकबहादुर थापाको दशैं पनि यस्तै खल्लो भइरहेको छ । कारण, २८ वर्षको सैनिक जीवन बिताएर उनी नेपाल फर्किंदा छोरा सन्तबहादुर एक वर्षअघि उनकै पथमा भारत हान्निए ।

बुटवलका उनले सन् १९७६ देखि २००४ सम्म सैनिक जीवन बिताएका थिए । भन्छन्, “परिवारसँग दशैं मनाउन नपाउँदा दुःख लाग्छ । तर दशैंभन्दा सेनाको कसम नै ठूलो !”

प्रविधिको वरदान
प्रविधि सहज नभएको समयमा सम्पर्क गर्ने माध्यमको अभावमा चाडबाडको बेला फौजी मन र तिनको परिवारमा कस्तो सन्ताप छाउँथ्यो होला ? समय बदलिंदा अहिले भौगोलिक रूपमा टाढा रहे पनि सञ्चारका साधनले नजिकै रहेको अनुभूति गराउँछ ।

क्याप्टेन किशन पहिले र अहिलेको तुलना गर्दा चकित पर्छन् । “त्यतिबेला दशैंमा घर पठाएको चिठी माघेसंक्रान्तिमा पुग्थ्यो । घर पठाएको समान त कहाँ जान्थ्यो कहाँ” उनी भन्छन्, “अहिले परिवारसँग टाढा रहे पनि सीधै सम्पर्क हुन्छ । सामाजिक सञ्जालबाट टीका लगाउन, आशीर्वाद लिन–दिन पाइन्छ ।”

भारतीय सैनिक भक्तबहादुर रानाकी श्रीमती भुवानी रानाको पनि यस्तै अनुभव छ । कपिलवस्तुका भक्तबहादुर १९ वर्षदेखि राँचीमा सैनिक नायकका रूपमा कार्यरत छन् ।

विवाह भएको १३ वर्षयता उनीहरूलाई गएको वर्ष मात्र सँगै दशैं मनाउने अवसर मिल्यो । दशैंमा गाउँभरि सबैका घरमा मान्छेको जमघट भएर रमाइलो माहोल देखिए पनि आफ्नो मान्छे नआउँदा नमीठो लाग्ने भुवानी सुनाउँछिन् । भन्छिन्, “धन्न प्रविधि छ र टाढा भए पनि सँगै भएको महसूस हुन्छ । चाहेको बेला भिडियोमा कुरा गर्न मिल्छ ।”

अघिल्लो पुस्ताका भूपू सैनिकहरूलाई अहिलेको सूचना–प्रविधि चामत्कारिक लाग्छ । क्याप्टेन भीमबहादुर सम्झ्न्छन्, “घरपरिवारको याद आए पनि सम्पर्क गर्ने माध्यम नै थिएन । अहिले त पत्यारै नलाग्ने विकास देख्दा चकित भइन्छ ।”

क्याप्टेन कुलबहादुरको भनाइमा दशैंमा घर आउन नपाएको व्यहोराको चिठी पठाउँदा नेपाल पुग्न ७÷८ महीना लाग्थ्यो । त्यही चिठी पढिदिने मान्छे पाउन मुश्किल हुन्थ्यो । नेपालबाट जवाफ आउन त एक/डेढ वर्ष नै लाग्थ्यो ।

सैनिक तिलकबहादुर थापाकी श्रीमती निर्मला भट्टराई थापा पनि सूचना–प्रविधि चित्त बुझउने बाटो भएको ठान्छिन् । २२ वर्षदेखि भारतीय सेनामा कार्यरत तिलकबहादुरसँग उनको विवाह भएको १८ वर्ष भयो, उक्त अवधिमा श्रीमान् तीन पटक मात्र दशैंमा घर आउन पाए ।

निर्मला भन्छिन्, “चाडबाडमा पनि सँगै हुन नपाउँदा असाध्यै खिन्नता हुन्छ, तर प्रविधि चित्त बुझउने बाटो बनेको छ ।”

भूतपूर्व सैनिक संघसंस्थाहरूका अनुसार, अहिले पनि एक लाखभन्दा बढी नेपाली भारतीय सेनामा कार्यरत छन् । ९५ हजारभन्दा बढी नेपाली भूतपूर्व सैनिक छन् । तीमध्ये ४० प्रतिशत भूतपूर्वका सन्तान अहिले भारतीय सेनामा कार्यरत छन् ।

उनीहरू पहिले पिता भारतमा हुँदा खल्लो मान्दै दशैं मनाउँथे, अहिले पिता जस्तै परिवारसँग टाढा भएर दशैंलाई ‘मिस’ गर्दैछन् । 

दशैं सम्बन्धी यि सामाग्री पनि पढौं:

माओवादी हिंसाले बिथोलेको आञ्चलिकता (मस्त केसी)

दशैंको राजनीति (आनन्द राई)

दशैंको सुवास (रुपा जोशी)

दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)

अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)

दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)

खुलेको फैलिएको दशैं (केदार शर्मा)

हाम्रो दशैं (टेकबहादुर जिरेल)

दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)

अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)

अतिवादको चेपुवामा दशैं (वसन्त महर्जन)

प्रतिकृया दिनुहोस