समाचार बुधबार, असोज ३१, २०७५

दशैंको सुवास

रुपा जोशी

बालापनको जस्तो दशैं अब नरहे पनि मानसपटलमा गढेको त्यसको मिठास अझै पनि चाख्न सकिन्छ।

सयपत्री, धानको बाला र सेलरोटीको मिश्रित सुगन्ध अनि डम्म कुहिरो । सानो छँदाको दशैं सम्झँदा यिनै कुरा ताजा भएर आउँछन् । त्यस्तो बास्ना र वातावरण गाउँघरतिर अझै पनि भेटिन्छ ।

काठमाडौंमा त धानखेत र फूलबारी कंक्रिटको जंगलले मासिइसकेको छ । कुहिरो पनि हिजोआज मध्य जाडोमा नै लाग्न छाडेको छ ।

तर, त्यस बेलाको दशैं मीठो हुनुको कारण यति मात्र थिएन, जिम्मेवारीले थिचेको अहिलेको अवस्थामा फर्केर हेर्दा निष्फिक्री त्यो उमेरमा दशैं भनेको रमाइलो नै रमाइलो थियो । न आफूले किनमेलका लागि खर्च जुटाउनुपर्ने, न पाहुनाको सत्कारमा खटिनुपर्ने !

उबेलाको दशैंमा मन नपर्ने कुरा पनि हुन्थे । सबैभन्दा पिरलो चाहिं बिहान सबेरै उठेर नुहाउनुपथ्र्यो । देवीजी (आमा) ले ‘तीन वटा तारासम्म देखिने बेलामा उठ्नुपर्छ’ भने अनुसार गाह्रो गरी अँध्यारोमै उठिन्थ्यो र लुगलुग काँप्दै नुहाइन्थ्यो ।

दशैंको मन नपर्ने अर्को पाटो थियो, टीकाको दिन कलशमा फूलपाती सहित १० दिनसम्म राखिएको दुर्गन्धित पानीको अभिषेक लिनु ।

पुरेतले शान्ति पाठ गर्दै पानी छर्किंदा कसैको पछाडि लुके पनि पछाडिसम्म पुग्ने गरी पानी पार्न भ्याउनुहुन्थ्यो । अनि त नयाँ लुगामा दिनभरि त्यही गन्ध आइरहन्थ्यो । तर, कैयौं खुशीको माझ् यी तिक्तता त्यसै विलाउँथे ।

हामी सानो छँदा नयाँ लुगाको कति महत्व हुन्थ्यो ! शहरमै पनि विद्यालयलाई चाहिने पोशाक बाहेक नयाँ लुगाको लागि अक्सर दशैं नै कुर्नुपर्थ्यो ।

दशैंको लुगा तयार पार्ने तरिका अहिलेको भन्दा कति फरक र आफ्नै किसिमको रमाइलो । अहिलेको जस्तो फुत्त पसल गएर विदेशबाट आयातित लुगाको थुप्रोबाट छान्ने सुविधा थिएन ।

दशैंभर कुन कुन दिन के के लगाउने भन्ने पनि हुँदैनथ्यो, एक जोर नयाँ लुगाले दशैं टर्थ्यो । कसैले कपडा किनेर ल्याइदिन्थ्यो वा देवीजीलाई कतैबाट आएको हुन्थ्यो ।

नजिकै बस्ने सूचिकार भक्तबहादुर घरमै आउनुहुन्थ्यो, बडेमाको सियर्स क्याटलग काखी मुनि च्यापेर । क्याटलगको ढड्डाबाट फ्रकहरूको डिजाइन देखाउँदै “यसपालि कस्तो बनाउने नानी ?” भनेर सोध्नुहुन्थ्यो ।

आमा–छोरी मिलेर पहिले नबनाएको डिजाइन वा आफूसित भएको कपडाले सिलाउन भ्याउने खाले रोजिन्थ्यो । एक–दुई हप्तामा तयार हुन्थ्यो दशैंको लुगा ।

बाँकी रह्यो जुत्ता, मोजा । जुत्ता पाउने एउटै ठाउँ थियो, नयाँसडकको ‘बाटा’ पसल । त्यहीं गएर वर्षको एक जोर जुत्ता किनिन्थ्यो– स्कूलको युनिफर्मसँग मिल्ने कालो फित्तावाल !

भक्तबहादुरको हातको सीप अनुसारको घाँगर अनि स्कूले जुत्तामा ठाँटिएर गइन्थ्यो सबैतिर टीका थाप्न ।

दशैंको फ्रक सकेसम्म वर्षौं लगाउन मिल्ने गरी सिलाइएको हुन्थ्यो । त्यसैले कपडाले भ्याएसम्म पछि खोल्न मिल्ने गरी फेरा दोबारेर सिलाइन्थ्यो ।

फ्रक छोटो हुँदै जाँदा फेरा खोलिंदै जान्थ्यो । किफायत गर्न कति सिपालु हुन्थे हाम्रा आमाहरू । अहिले सम्झिंदा एक किसिमले हामीलाई आनन्द थियो, विकल्प सीमित भएकाले छनोटको झञ्झट थिएन । अहिलेका बच्चाहरूलाई बढी छनोटको अवसरले झञ्झट हुन्छ । अहिले त नयाँ लुगा लगाउन दशैं कुर्नै पर्दैन ।

दशैंको अर्को रमाइलो भनेको चंगा थियो । म धेरै दाजुभाइसँग हुर्किएकी हुँदा उनीहरूसँगै चंगा उडाउन खूब रहर लाग्थ्यो । रहर लागे पनि उडाउन भने पाउन्नथें ।

पाटन श्रीदरबार टोलको ठूलो गौचरमा चंगा बोकी परसम्म दगुरेर उडाइदिने जिम्मा म र मभन्दा साना भाइहरूको हुन्थ्यो । चंगा उडेपछि हाम्रो काम ‘बापाचेले धागो छोड्न सकेन...’ वा ‘चेऽऽऽट’ भनेर कराउने हुन्थ्यो ।

मैले चंगा उडाउन दाइहरूलाई फकाएर मात्र पाउँथें । कि त दाइहरू टीका लगाउन कतै गएको मौका पारेर डरैडरमा उनीहरूको चंगा उडाउँथें, कसैले चेट गरिदेला कि भन्ने पीरले ।

चेट भए चंगा त जान्थ्यो नै, धागोको पनि सत्यानाश हुन्थ्यो । दाइहरूले माड, चिप्लेकीरा र काँचको धूलो मिसाएर मिहिनेतपूर्वक बनाएको मांझवाल धागो जोगाउन चनाखो हुनुपथ्र्यो । चंगा पनि अहिलेको जस्तो प्लास्टिकको नभई लखनऊवाला वा नेपाली कागजले बनेका दामी चंगा हुन्थे ।

पाटन शहरमा चेट भएको चंगा श्रीदरबार टोलतिर आउँदैनथ्यो । किनकि दशैंमा हावा अक्सर पश्चिमबाट बहेको हुन्थ्यो । तर, नौरथाभरिमा कुनै न कुनै दिन हावा पूर्वतिरबाट बहन्थ्यो, अनि त चेट भएका चंगाको वर्षा हुन्थ्यो । तिनलाई टिप्न हामी भुराहरू धानखेतमा छिर्थ्यौं ।

धानको धारिलो पातले हातखुट्टामा दरफर्‍याउँथ्यो । कहिले चंगा खस्न कुरेको बेला भर्खर गुदी पस्ने बेलाको दुधिलो धान निचोरेर खान्थ्यौं । दुधिलो धान र धान खेतको बास्ना असाध्यै मीठो लाग्थ्यो ।

दशैंको अर्को आकर्षण मदन पुरस्कारको रमझम हुन्थ्यो । रानी जगदम्बाको ठूलो बैठकमा लहरै पलेंटी कसेर बसेका थुप्रै मानिस, पुरस्कार समारोहमा बालिने कपुरको बास्ना, तात्तातो जेरी र लिंगे पीङको मच्चाइ ! दशैंको रमाइलो दोब्बर हुन्थ्यो ।

त्यो बेलाको जस्तो दशैं अब त रहेन । तर, मानसपटलमा गढेर बसेका छन् त्यति बेलाका दृश्य, रङ, आवाज र सुवास । ‍सम्झनु मात्र पर्छ, दशैंको मिठास अझैं पनि चाख्न सकिन्छ । 

यो पनि पढौं:

दशैंका महिला: खुशी पस्किनमै सीमित

अक्षताः मौलिक प्रचलन

दशैंको रङ बदलौं

खुलेको फैलिएको दशैं

हाम्रो दशैं

दशैंको अर्थतन्त्र: उहिले र अहिले

अन्यत्र बलि, रसुवामा क्षमापूजा

प्रतिकृया दिनुहोस