समाचार बुधबार, असोज ३१, २०७५

अक्षताः मौलिक प्रचलन

विनय बञ्जारा

दशैंको टीकामा अक्षताको प्रयोग गरिनुको कारण विभिन्न धार्मिक मान्यतालाई आधार देखाइए पनि यो मौलिक प्रचलन भएको मानिन्छ।

नेपाली बृहत् शब्दकोश मा अक्षताको अर्थ लेखिएको छ– ‘चामलका सग्ला गेडा, देवपितृ कार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा ।’ यस्तै, जोखना आदिमा पनि अक्षता प्रयोग गरिन्छ ।

देव तथा पितृकार्य दुवैमा प्रयोग गरिने अक्षताको प्रयोग दशैंको टीकामा निर्विकल्प मानिन्छ । हिन्दू नेपालीहरूले अक्षतामा दही र रातो रङ/अबीर मिसाएर तथा किरात समुदायले सेतो अक्षता लगाउँछन् । प्रश्न आउँछ, अक्षता लगाउने चलन कसरी शुरू भयो होला ?

धर्मशास्त्रका जानकार डा. ऋषिराम पोखरेलको बुझाइमा शक्तिस्वरूपा दुर्गाको गुण आत्मसात् गर्ने मान्यता अनुसार प्रसाद स्वरूप अक्षताको टीका लगाउने प्रचलन शुरू भएको हो । “मानिसको आस्था, मर्यादा, पहिचान र संस्कृतिलाई संकेत गर्ने चिह्न हो टीका”, पोखरेल भन्छन् ।

नेपाल पञ्चांग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेल भने पञ्चमहाभूत अर्थात् प्रकृतिको आराधना गरेर त्यसको प्रतीक स्वरूप अक्षताको टीका लगाउने प्रचलन शुरू भएको मान्छन् । “भगवान शिवजीले केही काम गर्न शक्ति चाहिन्छ, त्यो शक्ति भनेकै पार्वती अर्थात् दुर्गा हुन्” उनी भन्छन्, “त्यस्तो शक्तिको पूजा आराधना गरेर प्रसादस्वरूप अक्षताको टीका लगाउने चलन चलेको हो ।”

सनातन धर्म र संस्कृतिबारे अध्ययन गरेका पत्रकार नारायण भण्डारी टीका लगाउने संस्कृति धर्मशास्त्रभन्दा बढी योग र ध्यानसँग जोडिएको मान्छन् । दुई आँखीभौं बीचको भाग (भृकुटी) इडा, पिंगला र सुषुम्ना भनिने तीन वटा मूल नाडीको संगमस्थल हो, जसलाई आज्ञाचक्र पनि भनिन्छ । “त्यही आज्ञाचक्रमा औंला राखेर ऋषिहरूले आफ्ना शिष्यलाई आज्ञा र मन्त्र दिने चलन थियो”, भण्डारी भन्छन् ।

त्यसरी नै मान्यजनले आफूभन्दा सानालाई आज्ञाचक्रमा औंला राखेर केही आज्ञा दिएमा गुरु मानेर शिरोपर गर्छ भन्ने मान्यताबाट टीका लगाउने संस्कृतिको विकास भएको उनी बताउँछन् ।

दशैंको पहिलो दिन घटस्थापनामा मूलाधार चक्र स्थापना गरेर ध्यानको शुरूआत गर्ने र प्रकृति अर्थात् शक्तिको आराधना गरेर ध्यान केन्द्रित गर्दै माथिल्ला चक्रहरूलाई जागृत बनाउँदै जाने चलन बसेको हुनसक्ने भण्डारीको बुझइ छ । “१०औं दिनमा ध्यानबाट जागृत भएपछि गुरुबाट आज्ञा लिने प्रचलनकै रूपमा टीका लगाउने चलन शुरू भएको हो”, उनी भन्छन् ।

त्यसो त, अक्षताको प्रचलन कहिले शुरू भयो भन्ने स्पष्ट प्रमाण भेटिन्न । संस्कृतिविद् सत्यमोहन जोशी अक्षताको प्रचलन शुरू भएको यकिन समय नभेटिए पनि पौराणिक कालदेखि नै चलिआएको बताउँछन् । भन्छन्, “प्रष्ट इतिहास त छैन, तर यो हाम्रो मौलिक चलन हो ।”

किन रोजियो चामल ?
संसारमा धानको उत्पत्ति १० हजारदेखि १४ हजार वर्षअघि भएको मानिन्छ । वैज्ञानिकहरूका अनुसार, चीनको जुचिआङ (पर्ल) नदीको किनारस्थित क्वाङचौ उपत्यकामा धानको उत्पत्ति भयो र अत्यन्त चाँडै भारत तथा नेपालमा भित्रियो ।

४,५०० देखि ५००० वर्षअघि सिन्धुघाँटी हुँदै धानको खेती आसाम र नेपालसम्म भित्रिएको र खाद्यान्नको रूपमा प्रयोग गर्ने प्रचलन शुरू भएको ऐतिहासिक तथ्यहरू भेटिन्छन् ।

कतिपय धर्मशास्त्री र नेपाली वैज्ञानिकहरू भने धान नेपालमै उत्पत्ति भएको मान्छन् । रूपन्देहीको अजिजरा तालमा अझैं पनि जंगली धान लगाउने चलन भएकाले यसलाई नेपालको मौलिक उत्पादन मान्छन्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. दिनेशराज भुजु ।

हिन्दू विद्यापीठका प्राचार्य डा. चिन्तामणि योगी पनि मौलिक उत्पादन भएकै कारण पूजाको पञ्चोपचार (चन्दन, फूल, अक्षता, नैवेद्य र भेटी) विधिमा खाद्यान्न मध्येबाट चामल छानिएको हुनसक्ने बताउँछन् ।

सबैभन्दा पुरानो अन्नबाली जौ मानिए पनि टीका लगाउन चामल किन रोजियो होला ? “चामललाई सर्वश्रेष्ठ अनाजको रूपमा लिएर भगवानलाई अर्पण गर्ने रीति बसेको हुनसक्छ” डा. योगी भन्छन्, “धान नाच, पाथी भर्ने प्रथादेखि सिधा र कलश बिछ्याउन पनि चामलको प्रयोग गर्ने चलन यसको श्रेष्ठतासँग गाँसिन्छ ।”

डा. योगी मानिसले आफ्नो प्रिय अन्न सबैभन्दा पहिले भगवानलाई चढाएर मात्रै प्रयोग गर्ने नेपाली प्रचलन टीकामा पनि जोडिएको बताउँछन् ।

आफूले खाने चीज भगवानलाई चढाउने परम्परा अनुसार अक्षताको प्रचलन शुरू भएको इतिहासकार ज्ञानमणि नेपालको पनि बुझाइ छ ।

“मानिसले आफू जे खान्छ, भगवानलाई पनि त्यही चढाउने हो । मासु खानेले मासु, रक्सी खानेले रक्सी र नरिवल खानेले नरिवल नै चढाउँछ” उनी भन्छन्, “चामल खानेले चामल नै चढाउने भएकाले अक्षताको प्रचलन आएको हो ।”

धानको महत्व अर्थतन्त्रमा यसको योगदानसँग पनि जोडिएको छ । अर्कातिर, सबैको प्राण धान्ने भएकाले यसको नाम नै ‘धान’ राखिएको भनाइ पनि छ ।

प्रा.डा.भुजु भन्छन्, “तर अनौठो के छ भने, धान फल्ने गंगा मैदानमा, टीका लगाउने पहाडमा । यसले चामल दुर्लभ हुने स्थानमा यसको महत्व बढ्न गयो भन्ने दर्शाउँछ ।”

एक मूलका दुई धारा
सिन्धु नदीको किनारबाट विकास भएको भारतीय उपमहाद्वीपको आर्य सभ्यताको मूल एउटै हो । तर, शक्तिको आराधना गर्ने प्रचलन भने दक्षिण भारत र उत्तरी पहाडमा भिन्दाभिन्दै छ ।

‘दक्षिणे मातुली कन्या, उत्तरे मांस भोजनः’ अर्थात् दक्षिणका बाहुनहरू मामाकी छोरी विवाह गर्छन्, उत्तरका बाहुनले मासु खान्छन् भन्ने संस्कृतको एक सूक्तिले पनि भौगोलिक क्षेत्र अनुसार हिन्दूहरूको सांस्कृतिक भिन्नता दर्शाउँछ । यही भिन्नताले अक्षता प्रयोगको मौलिकता छुट्याउँछ ।

नेपालको पहाडी भेगमा जतिबेला आदिशक्ति दुर्गाको आराधना गरेर दशैं मनाइन्छ, त्यसबेला भारतमा भगवान रामले लंका विजय गरेको उत्सव स्वरूप दशहरा मनाउने चलन छ । नेपालमा अक्षताको टीका लगाउने चलन छ भने भारतमा चन्दन । नेपालमा हिन्दूहरूले दशैंको विजयादशमीलाई मूल पर्वको रूपमा मनाउँछन् भने भारतमा तिहारको दिपावली ।

नेपालमा मनाइने दशैंको मूल आधार दुर्गा सप्तशती (चण्डी) हो भने दशहराको आधार रामायण । “त्यसकारण हामीले मान्ने दशैं लंका विजयसँग नभई पौराणिक कालसँग जोडिएको छ” योगी भन्छन्, “अक्षताको प्रचलन पनि त्यसरी नै फरक भएको हो ।”

रङको रहस्य
संस्कृतको सूक्ति अनुसार, प्राचीन भारतवर्षको उत्तरखण्ड अर्थात् पहाडी क्षेत्रका आर्यहरूले मासु खान्छन् । यसर्थ, पहाडे बाहुन–क्षेत्रीले बलि प्रथालाई प्रमुखता दिए र दशैंलाई महान् पर्वको रूपमा मनाउन थाले भन्ने विचार पनि छ ।

अक्षताको प्रसंग पनि यसमै जोडिन्छ । देवीलाई पूजा गरिएको वा चढाइएको अक्षता नै शिरमा लगाउने हो । पञ्चोपचार वा षोडषोपचारले पूजा गरेर बलि चढाइसकेपछि रगतले अक्षता रंगिन्छ । त्यही अक्षता शिरमा लगाउने भएकाले रातो अक्षता लगाउने चलन बसेको मान्ने विद्वानहरू पनि छन् ।

नेपाल पञ्चांग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले दुई वर्षअघिको एक अन्तर्वार्तामा भनेका थिए, “पूर्वी नेपालका राई–लिम्बूले सिमे–भूमे पूजा गरेर बलि दिएपछि त्यही रगत थालीको अक्षतामा चुहाएर टीका लगाउने चलन छ ।”

यी तर्कले रातो अक्षताको चलन किरातबाट तागाधारीमा सर्‍यो वा तागाधारीबाट किरातमा भन्ने स्पष्ट हुँदैन । इतिहासकार ज्ञानमणि नेपाल भन्छन्, “थुप्रै तथ्यबाट रातो अक्षताको चलन तागाधारीबाट किरातमा सरेको देखिन्छ । तर, किरातको पनि यो मौलिक संस्कृति भइसकेको छ ।”

यद्यपि, इतिहासकार नेपालकै भनाइमा अक्षतामा रङ मिसाउने परम्परा भने निकै पछि मात्रै शुरू भएको हुनुपर्छ । उनका अनुसार, रङ प्रयोग गर्ने कुरा मानिसहरूले इन्द्रेणीबाट सिके ।

आधुनिक विज्ञानले रातो, नीलो र पहेंलो रङलाई आधारभूत रङ माने पनि आर्य दर्शनले सूर्यको सात रङ (रातो, नीलो, पहेंलो, सेतो, गुलाबी, हरियो र वैजनी) लाई आधारभूत मान्छ ।

रङलाई प्रतीकको रूपमा पनि लिइने भएकाले दशैंलाई विजय, प्रेम र भ्रातृत्वसँग जोडेर रातो रङको प्रयोग गरिएको विद्वान्हरू बताउँछन् । डा. ऋषिराम पोखरेल भन्छन्, “रातो रङ विजय र बहादुरीको प्रतीक हो । सेतो रङ शान्ति, प्रकाश र ज्ञानको प्रतीक । पहेंलो चाहिं बोध, ज्ञान, परमानन्दको ।”

डा. योगी रातो रङलाई प्रेम र शक्तिको प्रतीकका रूपमा टीकामा प्रयोग गरिएको बताउँछन् ।

पश्चिमाहरू पनि रातो रङलाई उत्साह, प्राण र सुरक्षाको प्रतीक मान्छन् । इन्द्रेणीको सबैभन्दा माथिको रङ मात्रै होइन, सबैभन्दा लामो दूरीसम्म फैलिने भएकाले रातोलाई दीर्घायुको प्रतीक पनि मानिन्छ । त्यसै कारण टीकामा यसको प्रयोग अर्थपूर्ण मानिन्छ । 

सान्दर्भिक समाचार: 

दशैंको रङ बदलौं

खुलेको फैलिएको दशैं

हाम्रो दशैं

दशैंको अर्थतन्त्र: उहिले र अहिले

अन्यत्र बलि, रसुवामा क्षमापूजा

प्रतिकृया दिनुहोस