समाचार मंगलबार, असोज ३०, २०७५

हाम्रो दशैं

हिमालखबर

कहिलेकाहीं त लाग्छ,  नेपाली जातीय चाड दशैंलाई पछि मात्र धार्मिक रङ दिइएको त होइन ?

टेकबहादुर जिरेल, पूर्व शिक्षक
मैले थाहा पाउँदा जिरी (दोलखा) संसारको केन्द्रविन्दु थियो । तिब्बतीहरू हाम्रो गाउँको बाटो भएर ओहोरदोहोर गर्थे । सगरमाथा क्षेत्रतिर जाने गोराहरू पनि लावालस्करसाथ हिंड्थे । तिनलाई र स्विस प्रोजेक्टमा आएका विदेशी देख्दा चाहिं संसार फराकिलै छ कि भन्ने लाग्न थालेको थियो । तर पनि तामे, शेर्दुङ र हनुमन्ते लेकहरू पारिको देश–दुनियाँको कल्पना समेत आउँदैनथ्यो ।

हाम्रा लागि लत्ताकपडा त्यसबेलाको नेपाल, अहिलेको काठमाडौंबाट आउँथ्यो । त्यसैले नयाँ लुगा दुर्लभ हुन्थ्यो । र पनि दशैंमा खेस (एक प्रकारको बाक्लो खाँडी) का दौरा–सुरुवाल भने पाइन्थ्यो । जुत्ता भने मैले १३/१४ वर्षको उमेरमा मात्र लगाएको हुँ ।

न्वागी खाने पूजा, उँधौली–उभौलीका बेला हुने कुलपूजा, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, चैते दशैंहरू नै हाम्रा चाडबाड थिए ।

दशैं–तिहारको भने कुरै बेग्लै । हामी त्यसबेला जति खुशी कहिल्यै हुँदैनथ्यौं । नयाँ नाना, जुटेसम्मका मीठा खाना, गानाबजाना । माथि नीलो आकाश, तल सयपत्री र गोदावरीको सौन्दर्य । दशैं सबै कुराले स्वादको हुन्थ्यो ।

दशैं हाम्रो चाड थियो । यो चाड अरूले पनि मनाउँछन् भन्ने हामीलाई थाहा थिएन ।

तर, पछि पढ्दै–बढ्दै गएपछि पाठ्यपुस्तक र सञ्चारमाध्यममा ‘हिन्दू मात्रको महान् चाड’ भनेको पढे–सुनेपछि चाहिं तीतो लाग्यो । तर, त्यो तीतो लागेको दशैं र तिहारप्रति हुँदै होइन । बरू हाम्रोपन र हाम्रो भावना नबुझी दशैंलाई कित्ताबन्द गरिदिनेहरूप्रति हो । ममा रहेको दशैंप्रतिको अनुराग र श्रद्धा सधैं उस्तै रहिरह्यो ।

हरेक कुराको शुरूआत विन्दु हुन्छ । तर, हामी शुरूका प्रकृतिपूजक र पछिका बौद्ध धर्मावलम्बीहरूको समाजमा कहाँ, कहिलेदेखि र कसरी दशैं मनाउन थालियो होला भन्ने कुराको मैले कुनै भेउ पाएको छैन ।

मान्छे अझ पनि रातो अक्षता कि सेतो अक्षता भन्नेमा अल्मलिइरहेका छन्, मैले भने संसारमा अन्त कतै नभएको चामलका अक्षताको टीका लगाउने चलन नेपालमा कहिले र कसरी शुरू भयो होला भन्ने बारेमा कतै पढ्न पाएको छैन ।

दशैं आर्य र हिन्दूहरूको चाड हो भने हाम्रोभन्दा ठूलो हिन्दू जनसंख्या भएको भारतमा दशैं किन हाम्रो जसरी मनाइँदैन, मलाई त्यो पनि थाहा छैन ।
कहिलेकाहीं त लाग्छ, यो नेपाली जातीय चाडलाई पछि मात्र धार्मिक रङ दिइएको त होइन ? 
(कुराकानीमा आधारित)

सम्बन्धित लेख: खुलेको फैलिएको दशैं

प्रतिकृया दिनुहोस