पश्चिम नेपालमा दुई वर्षमा मारिए सात वटा बाघ, किन बढ्दै छ शृंखलाबद्ध शिकार?
चोरी शिकार र मानिस तथा घरपालुवा जनावरमाथिको बढ्दो आक्रमणबाट बच्न बाघमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणले यो लोपोन्मुख प्रजातिको संरक्षणमा चुनौती थपेका छन्।
३ जेठमा बाँकेको गोकुल सामुदायिक वनमा एउटा वयस्क बाघ मृत फेला पर्यो। डुडुवा गाउँपालिका-५ स्थित सामुदायिक वनमा मृत भेटिएको १०/१२ वर्षको भाले बाघको चार वटै दाह्रा निकालिएका कारण शिकारीले मारेको हुनसक्ने आशंका गरिएको छ। बाघको सम्पूर्ण शरीर गलिसकेकाले पोस्टमार्टम गर्न नसकिएको डिभिजन वन कार्यालय बाँकेका अधिकृत रमेश बुढाथोकीले बताए।
पोस्टमार्टम नभएकाले बाघको मृत्युको कारण पत्ता लागेको छैन। तर, बाघको हड्डी, छाला, मासु, दाह्रा सबैको व्यापार हुने कारणले शिकारीले नै मारेको भए दाह्रा मात्रै झिकेर सिङ्गो शरीर नछाड्नुपर्ने भन्ने अनुमान पनि वन अधिकारीहरूले गरेका छन्। उनीहरू स्थानीय गाउँलेले विष प्रयोग गरेर मारेको हुनसक्ने बताउँछन्।
वन अधिकृत बुढाथोकीले त्यो क्षेत्रमा बाघले घरपालुवा जनावर मारेको पाइएको बताए। आफूले मारेको जनावर खान फर्केर आउने बाघको स्वभाव थाहा पाएका स्थानीयले घरपालुवा जनावर र आफूहरूमाथि थप आक्रमणको जोखिम घटाउन उसले मारेको जनावरमा विष मिसाइदिएको हुनसक्ने बुढाथोकीले बताए।
उनले बाघको बंगारा, नङ्ग्रा र छालाको नमूना राखेको र त्यसको डीएनए परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइने जानकारी दिए। "चोरिएको दाह्रा बरामद गर्न सकियो भने डीएनए परीक्षण गरेर यही बाघको भए/नभएको थाहा पाउन सकिन्छ। यसले अनुसन्धानलाई मद्दत गर्छ," उनले भने।
मानिसमाथि बाघको बढ्दो आक्रमण, बढ्दो शिकार
बाँके, बर्दिया क्षेत्रमा पछिल्लो समय मानिस र घरपालुवा जनावरमाथि बाघको आक्रमण बढ्दो छ। गत वर्षको साउनयता नै १० जनाको मृत्यु भइसकेको छ।
तर, बर्दिया आसपास क्षेत्रमा बाघको आक्रमण मात्रै बढेको होइन। त्यहाँ शिकारीले बाघमाथि गर्ने आक्रमण पनि बढेको छ। साथै, मानिस र बस्तुभाउमाथि भइरहेको बाघको आक्रमणबाट जोगिन स्थानीयले प्रतिशोधमा बाघ मार्ने क्रम पनि बढेको छ। यी घटनाले बाघ संरक्षणमा नेपालले पाउँदै गएको सफलतामा चुनौती थपेको संरक्षणकर्मीहरू बताउँछन्। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यालयका प्रमुख डा. रविन कडरिया चोरी शिकार वा स्थानीयको प्रतिशोध जसरी बाघ मारेको भए पनि त्यसले संरक्षणमा चुनौती थप्ने बताउँछन्।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीका अनुसार, गत वर्ष पनि बाँकेको निकुञ्जसँग जोडिएको वन क्षेत्रमा शिकारीले बाघ मारेका थिए। २० असार २०७७ मा लुम्बिनी प्रदेशको 'क्षेत्रीय अनुसन्धान ब्यूरो' को टोलीले बाघको छाला र हड्डी किन्ने ग्राहक बनेर बाँकेको राप्ती सोनारी-१ तितिनघारीबाट बाघको छाला र १० किलो हड्डीसहित नवराज घर्ती मगर, तिलकसिंह घर्ती मगर र मनोज लामिछानेलाई पक्राउ गरेको थियो। उनीहरूको बयानको आधारमा डिभिजन वन कार्यालय बाँकेले जिल्ला अदालतमा रेशमराज लामिछाने, प्रकाश लामिछाने, नरबहादुर घर्ती मगर, मोहन गिरी र गंगाराम डाँगीविरुद्ध मुद्दा चलाएको छ।
२०७६ सालको चैत तेस्रो साता बाँकेकै जङ्गलमा बाघ मारेको कुरा उक्त बाघका अंग बेचबिखन गर्ने क्रममा करीब तीन महीनापछि शिकारी पक्राउ परेपछि खुल्न आयो। नवराज घर्तीमगरले २५ मंसीर २०६४ मा पनि वन्यजन्तुको अवैध व्यापारमा संलग्न रहेको अभियोगमा जेल सजाय पाएका थिए भन्ने पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रकाश लामिछानेले उनका भाइ मनोजसँग गएर २० चैत २०७६ मा बाँकेको राष्ट्रिय वनको दुलाखुटी क्षेत्रमा बाघ मारेका थिए। उनीहरूमाथि जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा दुलाखुटीमा बाघले गाई मारेर थुपारेको क्षेत्रमा लुकेर बसी मासु खान आएको बाघलाई मारेपछिका एक-एक विवरण उल्लेख गरिएको छ। जसअनुसार, गोली लागेपछि छटपटाउँदै करीब २५ मिटर पर पुगेर बाघ ढलेको, करीब १० मिनेटपछि मरेको, दुई वटा बेरिङको गोला भरेको बन्दुकको एकै फायरमा दुवै गोली चलेको, ती गोली बाघको कोखा मुनिबाट छिरेको, पछि छाला झिकेर मासु र हड्डी छुट्याउने क्रममा मुटु र कलेजोमा समेत गोलीले बनाएको घाउ देखिएको जस्ता विवरण उल्लेख छन्। मनोजका अनुसार, पाटेबाघको शिकारपछि त्यही क्षेत्रमा उक्त बाघको छाला काड्ने, मासु निकालेर सुकुटी बनाउने, छाला र हड्डी सुकाउने र त्यहाँबाट बिक्री गर्नेसम्मको प्रक्रियामा सात जना सहभागी थिए।
२०७६ सालको चैत तेस्रो साता बाँकेकै जङ्गलमा बाघ मारेको कुरा उक्त बाघका अंग बेचबिखन गर्ने क्रममा करीब तीन महीनापछि शिकारी पक्राउ परेपछि खुल्न आयो। नवराज घर्तीमगरले २५ मंसीर २०६४ मा पनि वन्यजन्तुको अवैध व्यापारमा संलग्न रहेको अभियोगमा जेल सजाय पाएका थिए भन्ने पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यस्तै, सीआईबीका अनुसार, घर्तीबाट प्रहरीले बरामद गरेको मोबाइलको कल डिटेल्स विश्लेषण गर्दा उनी अर्का 'बाघका अंग व्यापारी' सुरजित रामजा बुढासँग पनि सम्पर्कमा रहेको देखिएको छ।
उनै सुरजितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २७ माघ २०७६ मा दाङको तुलसीपुर नगरपालिका- ५ बसपार्कस्थित हिमालय होटल एन्ड लजबाट पक्राउ गरेको थियो। उनीसहित अमबहादुर राना र रमित सुनार पनि पाटे बाघको छाला किनबेच गर्दै गर्दा पक्राउ परेका थिए। राना र सुनार माओवादीका पूर्वलडाकु हुन्। हाल जिल्ला अदालत दाङमा विचाराधीन यो मुद्दामा संलग्न कागजात अनुसार, उनीहरूले बाँकेको जङ्गलमा बाघको शिकार गरेको बयान दिएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यालयका प्रमुख डा. रविन कडरियाले दाङबाट बरामद भएको बाघको छालाको विश्लेषणबाट उक्त बाघ बाँके राष्ट्रिय निकुञ्जको भएको पुष्टि भएको बताए। "सन् २०१८ को बाघ गणनामा बाँके राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापमा परेको बाघलाई शिकारीले मारेको पाइयो," उनले भने, "गत वर्षको चैतमा शिकारीले बाँकेमा मारेको भनिएको अर्को बाघ भने हामीसँग भएका तस्वीरसँग मेल खाएको छैन। त्यसको अर्थ त्यो हाम्रो बाघ थिएन भन्ने होइन। सन् २०१८ को गणनामा उक्त बाघ क्यामेरामा कैद नभएको पनि हुनसक्छ।"
बाँके र बर्दिया निकुञ्जभित्र र आसपासमा गरी पछिल्लो दुई वर्षमा मात्रै ६ वटा बाघ मारिएका छन्। गत १६ चैत २०७७ मा पश्चिमकै शुक्लाफाँटा निकुञ्जमा मारिएको बाघसमेत जोड्दा यस्तो संख्या सात पुग्छ।
बर्दिया राष्ट्रिय निकुञ्जका अधिकारीहरूले पनि गत वर्षको ९ असोजमा पासोमा परेर मरेको अवस्थामा निकुञ्जभित्रै बाघ फेला पारेका थिए। निकुञ्जका सूचना अधिकारी असीम थापाका अनुसार, त्यसको तीन महीनापछि पुसमा निकुञ्जभित्रबाट दुई जना शिकारी तीन वटा भरुवा बन्दुक, १७ थान गोली, गुलेली, जाल, हँसिया, बारुदसहित पक्राउ परे। गस्तीमा रहेका सुरक्षाकर्मीलाई देखेपछि गोली चलाएका उनीहरूलाई निकुञ्जको खयरभट्टी पोस्टबाट झन्डै ६ किलोमिटर उत्तरपश्चिम गिठ्ठे खोलानेर पाल टाँगेर बन्दोबस्तीका सामानसहित बसेको अवस्थामा पक्राउ गरिएको थियो। सुर्खेत बराहताल गाउँपालिका-३ का चक्रबहादुर विष्ट (३४) र सोही ठाउँका गणेश तिवारी (२४) लाई मुद्दा चलाइएको सूचना अधिकारी थापाले बताए।
सन् २०१८ मा पनि बर्दियामा विद्युतीय धरापमा पारेर अर्को बाघ मारिएको थियो। "त्यो चोरी शिकारको उद्देश्यले मारेको जस्तो चाहिँ थिएन, घरपालुवा जनावर र मानिसमाथि नै आक्रमण बढेपछि स्थानीय समुदायले त्यसबाट जोगिन करेन्टसहितको तार छाडेकाे रहेछ," निकुञ्जका सूचना अधिकारी थापाले भने, "तर, जे उद्देश्यले मारेको भए पनि संरक्षणमा त्यो ठूलो क्षति हो। हामीले वर्षौंदेखि गरिरहेको लगानी खेर जान्छ।" पछिल्लो दुई वर्षमा बर्दियामा सडकमा गाडीको ठक्करबाट थप दुई बाघ मारिएको तथ्यांक निकुञ्जसँग छ।
यसरी बाँके र बर्दिया निकुञ्जभित्र र आसपासमा गरी पछिल्लो दुई वर्षमा मात्रै ६ वटा बाघ मारिएका छन्। गत १६ चैत २०७७ मा पश्चिमकै शुक्लाफाँटा निकुञ्जमा मारिएको बाघसमेत जोड्दा यस्तो संख्या सात पुग्छ। निकुञ्जका वार्डेन दिलबहादुर पुर्जा पुनका अनुसार, नेपाल-भारत सीमाको २४ नम्बर पिल्लर नजिकै मोटरसाइकलको क्लचको तारले घाँटी छिन्नै लागेको अवस्थामा भेटिएको घाइते बाघ निगरानीमा राखिएको केही समयमै मरेको थियो।
शिकारीले थापेको पासोमा परेको र पासोबाट फुत्किन सके पनि तार बेरिँदै गएर बिस्तारै घाँटी पछाडिको भागमा गड्दै गरेको अवस्थामा भेटिएको उक्त बाघ मरेपछि निकुञ्जले पोस्टमार्टम पनि गरेको थियो। विष खाएको वा गोली लागेको कुनै निशान नपाइएको वार्डेन पुनले जानकारी दिए। शुक्लाफाँटा निकुञ्जमा सन् २०१८ मा १८ वटा बाघ गणना भएकोमा अहिले मृत भेटिएको बाघ भने तीमध्येको होइन।
भारत कनेक्सन
नेपाल प्रहरीको सीआईबीले सन् २०१५ को जनवरीदेखि हालसम्म गरेको ३५ वटा 'सिजर्स' मा ३७ वटा बाघका छाला र अन्य अङ्गहरू बरामद गरेको छ। जसमध्ये ३१ वटा नयाँ हुन् भने ६ वटा पुराना। यी सबैको फरेन्सिक जाँच नभएकाले नेपाल, भारत वा अन्य देशमध्ये कहाँको बाघका अंग हुन् भन्ने यकिन छैन। तर, पछिल्लो समय नेपालकै जङ्गलमा पनि बाघहरू मारिन थालेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी समेत रहेका इकोलोजिस्ट हरिभद्र आचार्य नेपालमा बाघका अंगसहित समातिएकामध्ये अधिकांश भारतमा बाघ मारेर चीनको तिब्बतसम्म पुर्याउन लागेका भरिया र व्यापारी रहेको बताउँछन्।
"संसारका जुनसुकै ठाउँमा बाघ मारिएको भए पनि त्यो संरक्षणकर्मीका लागि चिन्ताको कुरा हो। बाघ जस्तो लोपोन्मुख प्राणीको अस्तित्वसँग जोडिएको विषय हो, तर पछिल्लो समय नेपालकै जङ्गलमा पनि बाघ मारेको पाइएको छ," उनले भने, "नेपालका बाघ संरक्षणमा हाम्रो मिहिनेत र लगानी रहेकाले थप चिन्ता हुन्छ।"
नेपाल प्रहरीको सीआईबीको वाइल्डलाइफ पिल्लरका प्रहरी अधिकृतहरूले पश्चिम नेपालमा अहिले भइरहेको बाघको मृत्युमा भारतका छिमेकी जिल्लाहरूमा सक्रिय रहेको तस्करहरूको समूह संलग्न भएको आशंका गरेका छन्।
गत वर्षको मंसीरमा ३ हजार १६५ मिटर उचाइमा इलाममा बाघ भेटिएर नेपालका लागि रेकर्ड बनेको थियो। सन् २०१८ को गणनामा नेपालमा २३५ वटा बाघ पाइएका थिए। जुन सन् २००९ को भन्दा झन्डै दोब्बर हो। यो संख्याले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने अन्तर्राष्ट्रिय लक्ष्य नजिक नेपाल पुगिसकेको देखाउँछ। तर, नेपालमा भइरहेका चोरी शिकार र अवैध व्यापारका घटनाले त्यसमा चुनौती थपेका छन्।
सीआईबीको वाइल्डलाइफ पिल्लरका प्रहरी अधिकृतहरूले पश्चिम नेपालमा अहिले भइरहेको बाघको मृत्युमा भारतका छिमेकी जिल्लाहरूमा सक्रिय रहेको तस्करहरूको समूह संलग्न भएको आशंका गरेका छन्। भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला, खिरी ग्राम, सम्पूर्णनगर थाना मिलनबराजका लम्बु भनिने फरियाद नाम गरेका व्यक्ति पश्चिम नेपालको राष्ट्रिय निकुञ्ज क्षेत्र (बाँके राष्ट्रिय निकुञ्जदेखि शुक्लाफाँटासम्म) सँग जोडिएको भारतीय जिल्लाहरूमा बाघको चोरी शिकार र अवैध व्यापारमा सक्रिय छन्।
नेपालमा हुने अवैध व्यापारमा समेत नाम जोडिएका फरियाद सीआईबीको सिजर्समा दुई-तीन पटक फुत्किसकेका छन्। नेपालमा पक्राउ परेका भारतीय र नेपाली भरिया/व्यापारीले उनको समेत नाम लिने गरेका छन्। अहिले कैलाली र कञ्चनपुर जिल्ला अदालतमा चलेका बाघका अंगको अवैध व्यापार सम्बन्धी चार वटा मुद्दामा फरियादलाई पनि अभियोग लगाइएको छ।
"उनै व्यक्ति वा उनको समूहका अन्य व्यक्ति अहिले पश्चिम नेपालमा भइरहेका बाघको मृत्युमा पनि संलग्न भएका हुनसक्छन्," सीआईबीका एक प्रहरी अधिकृत भन्छन्, "दुई वटा बाघलाई गोली हानेरै मारेको पाइयो। बाँकी विष हालेर वा पासो थापेर मारिएकामा पनि तस्करहरू संलग्न हुनसक्छन्। मारिसकेर पनि लैजान नपाएका हुनसक्छन्। त्यसैले गाउँलेले प्रतिशोधका कारण मारेका हुनसक्छन् भन्ने अनुमान गरेर अनुसन्धान बन्द गरिहाल्न हुन्न।"
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुर्जा भारतीय शिकारीहरू फेरि सक्रिय हुनसक्ने सम्भावनालाई आफूहरूले नजरअन्दाज नगरेको बताउँछन्। "सीमाक्षेत्र भएका कारण पारिका शिकारी र तस्करहरू पनि संलग्न भएका हुनसक्छन्। हामीले भारतीय 'काउन्टरपार्ट्स' सँग अनलाइन मिटिङहरू गर्ने र आवश्यकता अनुसार दोहोरो सहयोगका लागि छलफल गर्ने गरेका छौं," उनले भने, "सूचना आदानप्रदान र संयुक्त पेट्रोलिङ पनि गरिरहेका छौं।"