रिपोर्ट विहीबार, साउन १५, २०७७

कानूनी छिद्रबाटै उम्कन्छन् 'हाइप्रोफाइल' बाघ तस्कर, के फुत्किएलान् त कुन्जोक लामा पनि?

तुफान न्यौपाने

कानूनी छिद्रबाटै उम्कन्छन् 'हाइप्रोफाइल' बाघ तस्कर, के फुत्किएलान्  त कुन्जोक लामा पनि?
रसुवामा सेनाले बरामद गरेको वन्यजन्तुका अंग, पक्राउ परेका अभियुक्त र कुन्जोक छिरिङ तामाङ। सबै तस्वीरहरू: सीआईबी।

बाघको छाला, हड्डी तथा दाँत बिक्री गर्ने क्रममा समातिएका हाइप्रोफाइल व्यक्तिमध्ये कोही कानूनी छिद्रबाट उम्किए भने कोही न्यूनतम सजाय भोगेर छुट्दैछन्, दक्षिण एशियामै कडामध्ये मानिएको नेपालको वन्यजन्तुसम्बन्धी कानूनको खास परीक्षण हुँदैछ- कुन्जोक लामाको मुद्दामा।

१५ वर्षअघि रसुवाको साविक स्याफ्रु गाविसमा भएको एउटा घटना वन्यजन्तुको अवैध व्यापार नियन्त्रणको क्षेत्रमा अहिलेसम्म पनि चर्चाको केन्द्रमा छ। नेपाली सेनाको टोलीले बाघ, चितुवा र ओतका अंग र तिनको तस्करीमा संलग्नलाई पक्राउमा पाएको सफलताले अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाएको थियो। पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ केजी हड्डीसहित पाँच जनालाई नेपाली सेनाले पक्राउ गरी लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो।

यो घटनामा समातिएकाहरूको मुद्दा राष्ट्रिय निकुञ्ज, तत्कालीन पुनरावेदन अदालत पाटन हुँदै सर्वोच्च अदालतमा पुग्यो। वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्नको आरोप लागेका पाँच जनामध्ये मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भन्ने रिसाङ लामालाई १२ फागुन २०६६ मा सात वर्ष कैद र रु. एक लाख जरिवाना भयो। उनीहरूका सहयोगीको रूपमा बलराम श्रेष्ठलाई पाँच वर्ष कैद भयो भने घटना भएको घरका धनी थोप्तेन तामाङले सफाइ पाए। यससँगै यो मुद्दा सकिएको ठानिएको थियो।

तर, त्यस घटनामा पक्राउ परेकामध्ये अधिकांशले आफूहरूले कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङका लागि काम गरेको बयान दिएका थिए। नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा रहेका तिनै तामाङलाई ११ असार २०७७ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेको छ।

कुन्जोक सन् १९९९ मा भारतको उत्तर प्रदेशस्थित गाजियावाद, सन् २००० मा उत्तर प्रदेशकै खागा र सन् २००८ को मध्य प्रदेशस्थित हरियाणामा भएको वन्यजन्तु अपराध मुद्दामा समेत फरार प्रतिवादीको रूपमा छन्। भारतीय अनुसन्धान ब्यूरो र वन्यजीव अनुसन्धान ब्यूरोले प्रकाशन गरेका प्रतिवेदनमा उनीमाथि भारतमा ६०० भन्दा बढी बाघको छाला तस्करी गरेको आरोप लगाइएको छ।

नेपाल प्रहरीको सीआईबीले नियन्त्रणमा लिएपछि उनलाई ११ असारमै लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएको छ। त्यसपछि रसुवा जिल्ला अदालतले १४ असारमा उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट निर्दोष मान्न नसकिने’ भन्दै थुनामा पठाएको छ।

कानूनी छिद्रबाट उन्मुक्ति

वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणका लागि बनेको नेपालको कानून अत्यन्त कडा छ। भारत, पाकिस्तान, भुटान लगायत छिमेकी देशमा अधिकतम सात वर्षको कैद सजाय हुने वन्यजन्तुसम्बन्धी अपराधमा नेपालमा १५ वर्षसम्म कैद सजाय हुनसक्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले गैंडा, बाघ, हात्ती, चितुवा जस्ता संरक्षित वन्यजन्तु मार्ने, खरीद बिक्री गर्ने वा तिनका अंगहरूको कारोबार गर्ने व्यक्तिलाई रु. पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ। तर, अदालतका फैसलाहरू केलाउँदा यिनको व्यापार–व्यवसाय वा तस्करीमा संलग्न प्रमुख व्यक्तिले अधिकतम सजाय पाएका घटना विरलै छन्। अभियुक्तहरू या त कानूनी छिद्र प्रयोग गरेर उम्केका छन् वा न्यूनतम सजाय पाएर कारागारबाट छिटै छुट्छन्।

कानूनका छिद्र प्रयोग गरी उम्किएका एक जना त्यस्तै ‘हाइ प्रोफाइल’ अभियुक्त हुन्– काठमाडौंका लोडु डिमे। २८ पुस २०६९ को साँझ करीब ७ बजे काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा २ ख ७५०४ नम्बरको सामान बोक्ने गाडी जाँच गर्दा प्रहरीले चामलको बोराका बीचमा लुकाइराखेको पाटे बाघको छाला पाँच थान, हड्डी सात बोरा (५१२ थान) र पाटेबाघको दाह्रा १२२ थान बरामद गर्‍यो। साथै, गाडी चालक नकुल तामाङ र गाडी धनी सुकबहादुर तामाङ पनि पक्राउ परे।

चालक तामाङले आफूलाई केही जानकारी नभएको बयान दिए भने गाडी धनी सुकबहादुरले काठमाडौं–६, बौद्ध तीनचुलीका लोडु डिमेको सामान आफूले रु. १ लाख पाउने गरी स्याफ्रुसम्म लगिदिन लागेको बताए। त्यसपछि प्रहरीले डिमेको काठमाडौंस्थित घरमा छापा मारेर वन्यजन्तुका थुप्रै अंग, तीबाट बनेका सामान, ८ थान राहदानी तथा करीब रु. ४० लाख नेपाली, भारतीय रूपैयाँ, चिनियाँ युआन, बाङ्लादेशी टाका र इन्डोनेसियन मुद्रा बरामद गर्‍यो।

जो कानूनी छिद्रबाट उम्किए: लोडु डिमे र पाँच वर्षको कैद सजाय वापत उनलाई ४५ हजार धरौटीमा छाड्न सर्वोच्च अदालतले दिएको आदेश ।

जिल्ला वन कार्यालय, नुवाकोटले गाडी धनी सुकबहादुर तामाङलाई रु. ६० हजार जरिवाना र ९ वर्ष कैद गर्ने निर्णय सुनायो भने चालक नकुल र मुख्य अभियुक्त लोडुलाई रु. एक लाख जरिवाना मात्रै हुने फैसला दियो। लोडु डिमेकी पत्नी छिरिङ डिकीले सफाइ पाइन्। पक्राउ नै नपरेका लोडु फैसलापछि आएर खुरुक्क रु. एक लाख जरिवाना तिरेर उम्किए। गाडी धनी र चालकले पुनरावेदन गरे।

तत्कालीन पुनरावेदन अदालतले जिल्ला वन कार्यालय नुवाकोटको अन्य फैसला सदर गर्‍यो, मुख्य अभियुक्त लोडु डिमेलाई भने पाँच वर्ष कैद समेत हुने फैसला सुनायो।

१२ फागुन २०७१ मा यस्तो फैसला आएपछि पनि उनी फरार नै रहे। लुकिछिपी नेपाल–भारत आउजाउ गरिरहे।

शुरुमा प्रहरीले पाटे बाघको छाला पाँच थान, हड्डी सात बोरा र पाटेबाघको दाह्रा १२२ थान बरामद गरेको थियो। एउटा बाघको ‘शिकार गर्ने दाह्रा’ चार वटा हुने हिसाबले प्रहरीले लोडु डिमेले ३१ वटा बाघको दाह्रा संकलन गरेको हिसाब निकालेको थियो। त्यो हिसाबले उनी वन्यजन्तुको अवैध व्यापारका ठूला नाइके ठानिएको थियो।

लोडु डिमेलाई रु. एक लाख जरिवाना गर्ने जिल्ला वन कार्यालय नुवाकोटको फैसलालाई सदर गरेको तत्कालीन पुनरावेदन अदालतले १२ फागुन २०७१ मा उनलाई पाँच वर्ष कैद समेत हुने फैसला सुनायो। तर, लोडुले सर्वोच्च अदालतमा दिएको पुरावेदन निवेदनमा फैसला सुनाउँदै सर्वोच्चले उनलाई थुना बाहिर रहेर मुद्दा लड्ने सुविधा दिन र पाँच वर्ष कैद सजायबापत रु. ४५ हजार धरौटीमा छाड्न आदेश दियो।

लुक्दै हिंडेका उनी अन्ततः २१ फागुन २०७४ मा भारतमा पक्राउ परे, प्रहरीले पुनरावेदन अदालतको फैसला अनुसार पाँच वर्ष कैद गर्न जिल्ला कारागार नुवाकोट पठायो। लोडु डिमेले दुई वटा तर्क गरेर सर्वोच्च अदालतमा निवेदन दिए। पहिलो– आफूलाई पुनरावेदनबारे कुनै जानकारी नदिइएकाले आफ्नो प्रतिरक्षा गर्ने अधिकारबाट वञ्चित गरिएको। दोस्रो– आफूले पुनरावेदन अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराइसकेका कारण थुनामुक्त भएर मुद्दा लड्न पाउनुपर्ने। सर्वोच्च अदालतका न्यायाधीशहरू मीरा खड्का र डम्बरबहादुर शाहीको इजलासले डिमेलाई थुना बाहिर रहेर मुद्दा लड्ने सुविधा दिन आदेश गरे। त्यसपछि एक वर्षको रु. ९ हजारका दरले पाँच वर्ष कैद सजायबापत रु. ४५ हजार धरौटी राखेर उनी छुटे। उनले भाडामा लिएको गाडी धनी ९ वर्षको कैद सजाय भुक्तान गरिरहेका छन्।

“४५ हजार धरौटी बुझाएर छुटेपछि डिमे भागिसके, उनी पहिलेकै ‘व्यापार’ मा संलग्न छन्,”, सीआईबीका एक प्रहरी अधिकृतले भने, “त्यत्रो वन्यजन्तुको अंगको मालिक पुष्टि भइसकेको मान्छे सामान्य ४५ हजार धरौटी बुझाएर निस्कन पाए, अदालतले उनलाई विदेश जानबाट रोक पनि लगाएन। सर्वोच्च अदालतले ठहर नै गर्‍यो भने पनि अब उनी फुत्किसके।”

नेपाल प्रहरीको सीआईबीले पछिल्लो पाँच वर्षमा बाघको चोरी शिकार र अवैध व्यापारसँग सम्बन्धित ३१ वटा घटनामा ७३ जनालाई पक्राउ गरेको छ। जसमध्ये ९ जना भारतीय र दुई जना चिनियाँ छन्। उक्त घटनामा २८ वटा बाघको छाला, दुई वटा चितुवाको छाला र १३९.५९ केजी बाघको हड्डी बरामद गरेको छ। तौल नलिइएका थप ७२ वटा हड्डी र बाघका चार वटा दाँत बरामद गरेको सीआईबीको तथ्यांकमा देखिन्छ। यस अवधिमा करेन्ट लगाएर र विष हालेर दुई वटा बाघ मारिएको पाइएको सीआईबीको ‘वाइल्डलाइफ पिल्लर’ का प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

पक्राउ परेका ९ जना भारतीय नागरिक वन्यजन्तुको चोरी शिकारमा परम्परागत सीप भएका बाबरिया समुदायका हुन्। तीमध्ये २१ वैशाख २०७२ मा पक्राउ परेका रामजस बन्जाराले बाघको चोरी शिकार, अवैध व्यापारको रुट र व्यापारी समेत चिनेजानेका र आफ्नै सञ्जाल बनाइसकेका थिए। बर्दियाका मगरगढी–४ मा बाघको एउटा सग्लो छाला र १४.३ केजी हड्डी (४७ थान) सहित पक्राउ परेका उनलाई बर्दिया जिल्ला अदालत र उच्च अदालत नेपालगञ्ज इजलासबाट पाँच वर्ष कैदको सजाय सुनाएको थियो। २१ वैशाख २०७७ मा पाँच वर्ष कैद भुक्तान गरी उनी छुटिसकेका छन्। पाँच वर्षको सजाय नेपालको कानूनले वन्यजन्तुका अंगको अवैध व्यापार गर्ने व्यक्तिका लागि तोकेको न्यूनतम सजाय हो।

“खुंखार मान्छे न्यूनतम सजाय पाएर छुटे, उनी जस्तै नेपालका जेलमा रहेका अन्य भारतीय बाबरियाहरूलाई पनि न्यूनतम सजाय तोकिएकाले जेलमुक्त हुने समय आउँदै छ”, बाघ तस्करलाई समात्न सीआईबीले गरेका थुप्रै ‘स्टिङ अप्रेसन’ मा सहभागी भएका प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी भन्छन्, “उनीहरू चोरी शिकारमा पारंगत र अवैध व्यापारको रुटबारे जानकार छन्। व्यापारी पनि चिनेका छन्, त्यसैले बाघको शिकारदेखि बिक्रीसम्मको सबै ‘साइकल’ बारे जानकार व्यक्तिहरू न्यूनतम सजायमा छुट्नु भनेकै हाम्रा लागि अबको मुख्य चुनौती हो।”

२७ माघ २०७२ मा कैलालीको पहलमानपुरबाट पाटेबाघको छालासहितका आखेटोपहारसहित पक्राउ गरेका ६ भारतीयसहित ८ जनामध्ये पाँच जना भारतीय पनि कानूनी छिद्रबाट उम्किए। कैलाली जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमै उनीहरुलाई एक/एक लाख धरौटीमा छाड्ने आदेश दिएपछि धरौटी बुझाएर भारत छिरे। अन्तिम फैसलामा पाँच वर्षदेखि १५ वर्षसम्मको कैद सजायको फैसला भए पनि उनीहरु भारत पुगिसकेका कारण त्यो भुक्तान हुन सकेन।

२१ वैशाख २०७२ मा बर्दियाबाट बाघको छाला र हड्डीसहित पक्राउ परेका रामजस बन्जारा- पक्राउ परेपछि र कारागारमा रहँदाका तस्वीरहरू। बाघको चोरी शिकार, अवैध व्यापारको रुट र व्यापारी समेत चिनेजानेका र आफ्नै सञ्जाल बनाइसकेका उनी न्यूनतम सजाय भुक्तान गरेर छुटिसकेका छन्।

सीआईबीले २७ माघ २०७२ मा कैलालीको पहलमानपुरबाट पक्राउ गरेका ६ भारतीयसहित ८ जनामध्ये पाँच जना भारतीय पनि कानूनी छिद्रबाट सजिलै उम्किए। दुई वटा पाटेबाघको छाला र ३९.५ किलो हड्डी बरामद गर्दै प्रहरीले रामु बाबरिया, श्रवण बाबरिया, कमल बाबरिया, अनारकली बाबरिया (पन्जाब), जगदीशचन्द्र बाबरिया र रामपाल बाबरिया (हरियाणा) तथा लालबोजी–१ कैलालीका दुःखीराम चौधरी र पहलमानपुर–६ का अगानु चौधरीलाई पक्राउ गरेको थियो।

यसअघि बाघको चोरी शिकार र तस्करीमा संलग्न भारतीयहरू नेपालमा फाट्टफुट्ट समातिंदै आएकोमा सीआईबीले पहिलो पटक एकै ठाउँमा ६ जना फेला पारेको थियो। उक्त घटनाले नङ्ग्रा भएका जंगली जनावरको शिकार गर्ने पुर्ख्यौली पेशा भएको बाबरिया समुदाय (भारत) का व्यक्तिहरू नेपाली जंगलमा बाघको चोरी शिकारमा सक्रिय रहेको तथ्य बाहिर आएको थियो। विष प्रयोग र पासोबाट बाघ मार्न सिपालु उनीहरू नेपाली जंगलमा पल्किसकेका थिए। गोलीले प्वाल नपारेको छालाको माग बढी हुने भएकाले बाघ मार्ने उनीहरूको परम्परागत सीप अझ बढी प्रयोगमा आएको थियो। बन्दूक प्रयोग नगर्ने हुनाले पनि वन्यजन्तुको अंग बोकेको अवस्थामा बाहेक अरू वेला सुरक्षाकर्मीको नजरबाट जोगिंदै आएका उनीहरू पक्राउपछि पनि कानूनी छिद्रबाट उम्किए।

कैलाली जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमै उनीहरूमध्ये श्रवण, अगानु र दुःखीराम बाहेकका बाँकी पाँच जनालाई एक/एक लाख धरौटीमा छाड्ने आदेश गर्‍यो। उनीहरू धरौटी बुझाएर भारत छिरे।

पछि अन्तिम फैसला हुँदा श्रवण बाबरिया, अगानु चौधरी र दुःखीराम चौधरीलाई १५ वर्ष कैद र रु. एक लाख जरिवानाको फैसला भयो भने बाँकीलाई पाँच वर्ष कैद र रु. ५० हजार जरिवाना। तर, त्यतिन्जेल पाँचै जना धरौटी बुझाएर भारत पुगिसकेका कारण उनीहरूको सजाय र जरिवाना असुली हुन सकेन।

"वन र निकुञ्जका कार्यालयमा अदालती कार्यविधिबारे जानकार व्यक्ति नभएकाले कहिलेकाँही उनीहरूको सामान्य प्राविधिक त्रुटिमा पनि अदालतले छाड्दिन्छ," प्रहरी निरीक्षक पन्थीले भने।

२७ माघ २०७२ मा कैलालीको पहलमानपुरबाट पक्राउ गरेका ६ भारतीय र दुई नेपाली। उनीहरूमध्धे पाँच भारतीय धरौटीमा छुटे।

वन्यजन्तुको चोरी शिकार र अवैध व्यापारमा संलग्न व्यक्तिहरू कोही कानूनी प्वालबाट उम्किएको त कोही न्यूनतम सजाय काटेर थुनामुक्त भएका यी केही उदाहरण हुन्। यस्तै प्रयासमा छन्, हुम्लाका कुन्जोक तामाङ पनि।

उम्किने दाउमा कुन्जोक

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थायी घर भई काठमाडौं–६ बस्ने कुन्जोक छिरिङ तामाङले आफूलाई मुद्दाको टुंगो नलागुन्जेल थुनामा राख्ने रसुवा जिल्ला अदालतको गएको १४ असारको आदेशलाई पाटन उच्च अदालतमा चुनौती दिएका छन्। निर्दोष मानिसलाई फसाउन खोजिएको भन्दै उनले आफू थुनामुक्त हुनुपर्ने माग गर्दै २८ असारमा निवेदन दिएका हुन्। ३० असारमा पाटन उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईले तामाङलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशको फाइल मगाउने आदेश दिएका छन्।

१५ वर्षअघि रसुवामा भएको आखेटोपहार कारोबार घटनामा गएको ११ असारमा समातिएका कुन्जोक लामा कानूनका छिद्र प्रयोग गरेर उम्कने प्रयासमा छन्। उनले प्रहरीसमक्ष कुन्जोक लामा भनिने व्यक्ति आफू नै हुँ भनी स्वीकारेर गरेको कागजबारे अनभिज्ञता प्रकट गरेर उच्च अदालतमा थुनामुक्त हुन पाउनुपर्ने दाबी गरेका छन्।

वन्यजन्तुको अवैध व्यापारमा मुछिएका अन्य हाइप्रोफाइल व्यक्तिहरू जसरी नै तामाङ पनि कानूनका छिद्र प्रयोग गरेर उम्कने प्रयासमा छन्। उनी रसुवामा ठूलो परिणाममा बाघका अंग बरामद भएको घटनापछि पनि ‘व्यापारको सिलसिलामा’ भन्दै विदेश आउजाउ गरिरहेका थिए। अध्यागमन विभागको रेकर्ड हेर्दा यस अवधिमा उनी दुई पटक अमेरिका आउजाउ गरिसकेको देखिन्छ।

उनले प्रहरीसमक्ष कुन्जोक लामा भनिने व्यक्ति आफू नै हुँ भनी स्वीकारेर कागज गरेको तथ्यलाई आफू ‘लेखपढ गर्न नजान्ने निरक्षर’ भएको भन्दै उक्त कागजबारे अनभिज्ञता प्रकट गरेर उच्च अदालतमा थुनामुक्त हुन पाउनुपर्ने दाबी गरेका छन्।

२०६२ सालको घटनामा दोषी ठहर भएका व्यक्तिले बाघको छाला र हड्डीको मालिकको रूपमा चिनाएको कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको उनको मुख्य जिकिर छ। जबकि, प्रहरीले उक्त घटनामा संलग्न व्यक्तिहरूसँग सम्पर्क भएको मोबाइल नम्बर यिनै कुन्जोकको भएको प्रमाण पेश गरिसकेको छ।

११ पुस २०७२ मा सुनसरीको इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रामदयाल बाबरिया र श्रवण बाबरिया।

गएको ३० असारमा पाटन उच्च अदालतले रसुवा जिल्ला अदालतलाई कैफियत प्रतिवेदन (आदेशको फाइल) माग गर्दै पत्र पठाइसकेको छ। उच्च अदालतका अनुसार, अब जिल्ला अदालतबाट फाइल आएको एक/दुई दिनमा सुनवाइका लागि पेश हुनेछ। त्यसपछि उच्च अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशको वैधानिकता जाँच गर्नेछ।

“तामाङलाई पनि धरौटीमा वा तारेखमा छाड्ने हो भने अन्तिम फैसलामा उनी दोषी नै पाइए पनि कार्यान्वयन गर्न सकिने छैन”, सीआईबीको ‘वाइल्ड लाइफ’ पिल्लरका एक प्रहरी अधिकृतले भने, “विदेश जान पनि नरोक्ने हो भने थुनामुक्त भएर फरार हुने कैलाली घटना यहाँ पनि दोहोरिनेछ।”

नेपालमा सन् २०१८ को गणनामा २३५ वटा बाघ पाइएका थिए। जुन सन् २००९ को भन्दा झण्डै दोब्बर हो। जसले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने अन्तर्राष्ट्रिय लक्ष्य नजिक नेपाल पुगिसकेको देखाउँछ। तर, नेपालमा भइरहेका चोरी शिकार र अवैध व्यापार तथा त्यसमा संलग्नहरूको उन्मुक्तिको घटनाले भने त्यसमा चुनौती थपेको छ।

“कुन्जोक तामाङलाई धरौटीमा वा तारेखमा छाड्ने हो भने अन्तिम फैसलामा उनी दोषी नै पाइए पनि कार्यान्वयन गर्न सकिने छैन। विदेश जान पनि नरोक्ने हो भने थुनामुक्त भएर फरार हुने कैलाली घटना यहाँ पनि दोहोरिनेछ।”

- सीआईबीका एक अधिकृत

संयुक्त राष्ट्र संघको ‘वर्ल्ड वाइल्डलाइफ क्राइम रिपोर्ट–२०२०’ ले सन् २००७ देखि २०१८ को बीचमा बाघको चोरी शिकार र अवैध किनबेचका घटना बढेको देखाएको छ। उक्त प्रतिवेदनले ठूला घटना मुख्यगरी थाइल्याण्ड र भारतमा भए पनि नेपाल, बाङ्लादेश र भुटानमा समेत बढिरहेको देखाउँछ।

‘ह्यान्डबुक अन वाइल्डलाइफ इन्फोर्समेन्ट इन इन्डिया’ मा बाघको छाला र अंगको अवैध कारोबारका लागि भारतबाट बाहिरिने प्रमुख नाकामा नेपालका साथै भुटान, चीन, म्यानमार र बाङ्लादेश रहेको उल्लेख छ ।

राष्ट्र संघको ‘यूनाइटेड नेशन अफिस अफ ड्रग्स एण्ड क्राइम’ ले ६०० वटा घटनाको विश्लेषणबाट तयार पारेको विवरण अनुसार, दक्षिण एशियाका केही क्षेत्र बाघको अवैध ओसारपोसारका लागि ‘हटस्पट’ बन्दै छन्। त्यसमा पनि चीनतर्फ निर्यातका लागि भारत र नेपालका नाकाहरू प्रमुख रहेको उक्त विवरणमा देखाएको छ।

त्यस्तै, भारतबाट प्रकाशित ‘ह्यान्डबुक अन वाइल्डलाइफ इन्फोर्समेन्ट इन इन्डिया’ ले पनि बाघको छाला र अंगको अवैध कारोबारका लागि भारतबाट बाहिरिने प्रमुख स्थल मार्गमा नेपाललाई चित्रण गरेको छ।

प्रतिकृया दिनुहोस