रिपोर्ट शनिबार, साउन १७, २०७७

संरक्षणकर्मीका लागि सुखद समाचारः अझै थुप्रै बाघ थेग्न सक्छ चितवन राष्ट्रिय निकुञ्ज

तुफान न्यौपाने

संरक्षणकर्मीका लागि सुखद समाचारः अझै थुप्रै बाघ थेग्न सक्छ चितवन राष्ट्रिय निकुञ्ज
तस्वीर स्रोतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रतिवेदन।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गरिएको हालैको अध्ययनले ती निकुञ्जले थप बाघ थेग्न नसक्ने आशंका गलत भएको निष्कर्ष निकालेको छ। अहिले चितवनमा ९३ र पर्सामा १८ वटा बाघ छन्।

सन् २०१३ कै गणनामा १२० वटा बाघ पाइएको चितवन राष्ट्रिय निकुञ्जमा २०१८ को अर्को गणनामा बाघको संख्या बढ्ने स्वाभाविक अनुमान थियो । तर, भइदियो उल्टो, बाघ घटेर ९३ मा झर्‍यो।

देशभर १९८ वयस्क बाघ बढेर २३५ पुगेको यो अवधिमा चितवनमा भने २७ वटा बाघ घटेका थिए। सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने लक्ष्य लिएको नेपालका लागि बाघको मुख्य बासस्थान रहेको चितवन निकुञ्जमा नै संख्या घट्नु चिन्ताको विषय बन्यो।

सन् २०१८ पछि निकुञ्जमा केही वयस्क भाले बाघ आपसी लडाइँका कारण मरेका थिए। त्यसको कारण स्रोतको सीमितता ठानिएको थियो।

चितवनमा बाघ घटेको यही अवधिमा सीमा जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भमा भने बाघ बढेका थिए । यसले चितवन राष्ट्रिय निकुञ्ज थप बाघ थेग्न नसक्ने अवस्थामा पुगेको त होइन भन्ने आशंकामा बल दिएको थियो।

सन् २०१८ मा चितवन राष्ट्रिय निकुञ्जमा खिचिएको बाघको तस्वीर। स्रोतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रतिवेदन।

वैज्ञानिक र संरक्षणकर्मीहरुले चेतावनी पनि दिन थालिसकेका थिए– ‘बाघको संख्या बढ्दै जाँदा मानिससँगको द्वन्द्व पनि बढ्ने कारण बाघ संरक्षणको औचित्यमै प्रश्न उठ्न सक्छ ।’ संरक्षणकर्मीहरुको अनुमान थियो– ‘चितवन राष्ट्रिय निकुञ्जको बाघ थेग्ने क्षमता (क्यारिङ क्यापासिटी) यहाँ भन्दा बढी छैन। निकुञ्जले बाघ थेग्न नसकेरै संख्या घट्यो।’

यस्तो तर्कले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई चितवन राष्ट्रिय निकुञ्जको बाघ थेग्न सक्ने क्षमताबारे अध्ययन गर्न दबाब नै सिर्जना गर्‍यो।

विभागले २०७५ देखि थालेको अध्ययनको निष्कर्ष यसै साता सार्वजनिक गरेको छ । ‘एसेस्मेन्ट अफ इकोलोजिकल क्यारिङ क्यापासिटी अफ रोयल बंगाल टाइगर इन चितवन–पर्सा कम्प्लेक्स, नेपाल’ शीर्षकको उक्त अध्ययन प्रतिवेदनको निष्कर्ष छ– ‘चितवन र पर्सा निकुञ्जले थप बाघ थेग्न सक्छन्।’

अध्ययन टोलीमा सहभागी विभागका पारिस्थितिकीविद् हरिभद्र आचार्य आफूहरु बाघको आहारा प्रजातिको अध्ययनबाट यस्तो निष्कर्षमा पुगेको बताउँछन्।

बाघले एक वर्षमा कति संख्यामा शिकार गर्छ भन्ने आधारमा उपलब्ध आहारा प्रजातिको संख्या (प्रे डेन्सिटी) र बाघले दैनिक कति मासु खान्छ भन्ने आधारमा उसलाई चाहिने मासुको तौल (प्रे बायोमास) निकालेर दुवै सूत्रबाट गरिएको हिसाबअनुसार यी दुई निकुञ्जले १७५ वटासम्म बाघ थेग्नसक्ने निष्कर्षमा पुगेको उनी बताउँछन्।

“प्राकृतिक अवस्थामा चितवन राष्ट्रिय निकुञ्जले १३६ वटा र पर्सा राष्ट्रिय निकुञ्जले ३९ वटा बाघ थेग्न सक्ने देखाएको छ”, आचार्य भन्छन्। अहिले चितवनमा ९३ र पर्सामा १८ वटा बाघ छन्।

यसरी गरियो अध्ययन

‘चितवन–पर्सा कम्प्लेक्स’ ले कति बाघ थेग्न सक्छ भन्ने यो अध्ययन उक्त क्षेत्रमा बाघका लागि आवश्यक आहाराको उपलब्धतामा आधारित छ। प्राविधिकहरुले दुई तरिकाले त्यसको आकलन गरे।

उपलब्ध आहाराको तौलका आधारमा निकुञ्जहरुको ‘इकोलोजिकल क्यारिङ क्यापासिटी’ निकाल्दा शुरुमा एउटा वयस्क बाघलाई एक दिनमा कति मासु चाहिन्छ भन्ने हिसाब निकालियो । एउटा वयस्क बाघलाई दैनिक पाँचदेखि ६ किलो मासु चाहिने देखियो। यो हिसाबले एक वर्षमा एक वयस्क बाघलाई औसतमा दुई हजार किलो मासु चाहिन्छ।

यस्ता संरक्षित क्षेत्रमा आहारा प्रजातिको वर्षमा १५ प्रतिशत शिकार हुन्छ र जसमध्ये १० प्रतिशत बाघले शिकार गर्ने मानिन्छ। यस हिसाबले एउटा वयस्क बाघलाई वार्षिक दुई हजार किलो मासु जोहो गर्न १०० वर्ग किलोमीटर क्षेत्रफलमा २० हजार किलो मासु भएको आहारा प्रजाति चाहिन्छ।


याे पनि पढ्नुहाेस्– कानूनी छिद्रबाटै उम्कन्छन् 'हाइप्रोफाइल' बाघ तस्कर, के फुत्किएलान् त कुन्जोक लामा पनि?


 

यही सूत्रबाट चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा भएका बाघका आहारा प्रजातिको हिसाब निकालेर यी निकुञ्जले थप बाघ थेग्न सक्ने (चितवनले १३८ वटा र पर्साले ३९ वटा) निष्कर्ष निकालिएको हो।

आहारा प्रजातिको उपलब्ध संख्याका आधारमा पनि ती निकुञ्जले कति बाघ थेग्न सक्छन् भनेर हिसाब निकालिएको छ। त्यसका लागि एउटा वयस्क बाघले वर्षमा ५० वटासम्म शिकार गर्छ भन्ने आधारमा उपलब्ध वन्यजन्तुको अनुपातमा निष्कर्ष निकालिएको छ। यो अध्ययन विधिको निष्कर्ष पनि उस्तै छ– चितवनमा १३६ र पर्सामा ३९ वटा बाघ अट्न सक्छन्।

यी दुई निष्कर्षको साझा अर्थ ती निकुञ्जले कम्तीमा १७५ बाघ थेग्न सक्छन् भन्ने हो। “मध्यवर्ती क्षेत्र र अन्य करिडोरमा उपयुक्त बासस्थान विकास गरिदिन सक्ने हो भने यो संख्या अझ बढ्नसक्छ,” पारिस्थितिकीविद् आचार्य भन्छन्, “तर, यति संख्यामा बाघ रहनसक्ने निष्कर्ष उक्त क्षेत्रलाई प्राकृतिक रुपमा छाडिदिंदा मात्रै हो, बाघलाई दख्खल दिने मानवीय गतिविधिले भने संख्यालाई फरक पार्छ।”

चितवन निकुञ्जको क्षेत्रफल (९५२.६३ वर्ग किमी) पर्साको (६२७.३९ वर्ग किमी) भन्दा करीब एकतिहाइ मात्रै बढी छ। तर, बाघ थेग्न सक्ने पर्साको क्षमता भने चितवनको भन्दा धेरै नै कम छ। यसको प्रमु्ख कारण पर्सामा बाघको मुख्य आहारा चित्तल कम हुनु हो।

औसतमा चितवनमा प्रति वर्ग किमी क्षेत्रभित्र ५२ वटा चित्तल छन् भने पर्सामा १४ वटा। चितवनमा चित्तलका लागि आवश्यक घाँसे मैदान र सिमसार क्षेत्र पर्साभन्दा बढी भएकोले यस्तो भएको प्रतिवेदनमा उल्लेख छ।


याे पनि पढ्नुहाेस्– बाघ संरक्षणमा नेपाल विश्वमै नमूना, तर चुनौती बाँकी नै छन्


आहारा प्रजातिको उपलब्धताका आधारमा यी दुवै निकुञ्जमा बाघको सम्भावित घनत्व भन्दा कम मात्रै बाघ रहेको देखिन्छ। बाघको घनत्व (प्रति १०० वर्ग किलोमीटर क्षेत्रफलमा वयस्क बाघको संख्या) पर्सामा (०.९२) भन्दा चितवनमा (३.२८) बढी छ।

यी दुई निकुञ्जसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भ (१.४९) मा भने पर्सामा भन्दा बढी र चितवनमा भन्दा कम छ। त्यहाँ २३ वटा बाघ छन्।

अध्ययनले चितवन र पर्सा दुवै निकुञ्जमा 'सम्भावित बाघको घनत्व' अहिलेको भन्दा निकै बढी क्रमशः १४.५ र ६.२२ देखाएको छ।

नेपालले सन् २०१० मा आयोजित ‘ग्लोबल टाइगर समिट’मा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने घोषणा गरेको थियो।

सन् २००९ को गणनामा देखिएको १२१ बाघको आधारमा नेपालले २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो। दुई वर्ष अगाडिको गणनामै २३५ वटा बाघ भेटिएपछि नेपाल आफ्नो लक्ष्य पूरा गर्ने सही दिशामा भएको ठानिएको छ।

याे पनि पढ्नुहाेस्– बाघ बढे, चितुवा निस्के

प्रतिकृया दिनुहोस