रिपोर्ट बुधबार, साउन १४, २०७७

बाघ बढे, चितुवा निस्के

मुकेश पोखरेल

बाघ बढे, चितुवा निस्के
बर्दिया राष्ट्रिय निकुञ्जमा कैद गरिएको पाटे बाघको तस्वीर । तस्वीरहरुः सागर गिरी

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा चितुवाले घरपालुवा जनावरलाई क्षति पुर्‍याउने क्रम बढेको छ। निकुञ्जमा बाघ बढेपछि आहारको खोजीमा चितुवा बस्ती पस्न थालेका हुन्।

बारबर्दिया नगरपालिका–९ स्थित सात्खलवामा पाँच वर्षअघिसम्म चितुवाले घरपालुवा जनावरलाई क्षति गर्ने घटना वर्षमा दुई–चार वटा मात्र हुन्थे। तर, अहिले हरेक महीनाजसो चितुवाले गाईका बाच्छाबाच्छी, बाख्रा, सुँगुरका पाठा खाइदिने गरेको स्थानीय सूर्यराज आचार्य बताउँछन्।

गएको असारमा मात्र सात्खलवा गाउँमा चितुवाले चार परिवारले पालेका जनावरलाई क्षति पुर्‍यायो। चूडामणि उपाध्यायले बोयर जातको बोका पालेका थिए। साँझ साढे ७ बजेतिर आएको चितुवाले गोठैमा खाइदियो। अर्का स्थानीय चन्द्रबहादुर घर्तीको दूध दिने गाई पनि मारिदियो। अरू दुई जनाको सुँगुरका पाठा खाइदियो।


यो पनि पढ्नुहोस्— बाघः संख्यासँगै संरक्षणमा चुनौती  –कुन्द दीक्षित


बारबर्दियामा मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा चितुवा गाउँ पसेर घरपालुवा जनावर खाइदिने गरेका छन्। स्थानीयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि चितुवा गाउँ पस्न थालेका हुन्।

बाघ भएको स्थानमा चितुवा नबस्ने भएकाले मध्यवर्ती सामुदायिक वनतिर सरेको उनीहरू बताउँछन्। मधुवन–१ डल्लाका सुदीप चौधरी भन्छन्, “बाघ भएको स्थानमा चितुवा बस्दैन, त्यही कारण चितुवा गाउँ नजिक आउँदा स्थानीय समस्यामा परेका छन्।”

बाघविज्ञ डा. झमक कार्की स्थानीयको भनाइसँग सहमत छन्। “आफूभन्दा ठूलो प्रजातिको जनावर भएको स्थानमा चितुवा बस्दैन, बाघको दबदबा भएपछि आहाराको समस्याले गाउँ नजिक आएको हुनसक्छ”, उनी भन्छन्। जंगली जनावर मार्न जस्तो मिहिनेत गर्नु नपर्ने हुनाले चितुवाले घरपालुवा पशुलाई शिकार बनाउने उनी बताउँछन्।

 चितवन राष्ट्रिय निकुञ्जमा भेटिएको वाघ । 

पाटे बाघको विषयमा अनुसन्धान गरेका डा. चिरञ्जीवी पोखरेल बाघसँग चितुवा सधैं तर्केर हिंड्ने बताउँछन्। “बाघको कारणले चितुवा बाहिर निस्कने हुनसक्छ। बाघले चितुवालाई दबाबमा राख्छ” पोखरेल भन्छन्, “ठ्याक्कै यही भन्न सकिन्न। बाघले धेरै क्षेत्र कभर गरेर चितुवालाई तर्साउने गरेर यस्तो हुने सम्भावना छ।”

पोखरेलका अनुसार बाघले ‘होम रेञ्ज’ र ‘टेरिटोरी’ गरी दुई प्रकारले आफ्नो क्षेत्र निर्धारण गर्छ। ‘टेरिटोरी’ बाघको लागि महत्वपूर्ण हो। यस्तो क्षेत्र एउटा वयस्क भाले बाघले ५० देखि ६० वर्ग किमिसम्म बनाउँछ। पोथीले २५ देखि ३० किलोमिटर बनाउँछ।


यो पनि पढ्नुहोस्— मानव सुरक्षा विनाको बाघ संरक्षणलाई कसरी ‘क्याबात्’ भन्ने ?  –कमल मादेन


आफ्नो क्षेत्रभित्र एउटा बाघले अर्को बाघलाई प्रवेश गर्न दिंदैन। “बाघको मुख्य प्रतिस्पर्धा सेक्समा हुन्छ, एउटा भालेले चार पाँच वटा पोथीलाई आफ्नो क्षेत्र भित्र पार्न प्रयास गर्छ” पोखरेल भन्छन्, “यस्तो क्षेत्र सबैतिर बराबरी हुँदैन। आहारा धेरै भएको ठाउँमा बाघको घुमफिर कम हुन्छ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सन् २०१८ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाघ थिए। सन् २०१३ मा यो संख्या ५० र २००९ मा १८ थियो।

नेपालमा अहिले बाघको संख्या २३५ छ। सन् १९९५ यता नेपालमा बाघको संख्या क्रमिक रूपमा बढेको छ। सन् १९९५ मा ९८ वटा बाघ रहेकोमा २००० मा १०९, २००५ मा १२६, २००९ मा १२१ र २०१३ मा १९८ पुगेको थियो।

चितवन राष्टिय निकुञ्जमा कैद गरिएको चितुवा ।

विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। जस अनुसार सन् २०२२ सम्म नेपालमा बाघको संख्या २४२ हुनुपर्छ।

किसानलाई नोक्सानी

बारबर्दियामा जस्तै ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ५ गोविन्दपुरमा पनि चितुवाले घरपालुवा जनावर मार्ने क्रम बढेको स्थानीय जीवन थारू बताउँछन्। जेठ र असारमा मात्र आठ वटा जनावर मारेको उनको भनाइ छ।


यो पनि पढ्नुहोस्— पहाडिया पाटेबाघ !  –कनकमणि दीक्षित


साउन पहिलो हप्ता मधुवन नगरपालिका–१ डल्लाका लालमोहन चौधरीको गाईको बाच्छो र हर्कबहादुर खत्रीको बाख्रो पनि चितुवाले खाएको थियो। मधुवनका सुदीप चौधरी भन्छन्, “पहिला हामीले राति पनि बाख्रा खोरमा थुन्दैनथ्यौं, रातभर आँगनमै हुन्थे, अहिले त खोरमा थुनेका बाख्रा पनि चितुवाले थुतेर खान्छ।”

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार चितुवाले अघिल्लोको तुलनामा पछिल्लो आर्थिक वर्ष दुई गुणाभन्दा बढी जनावर मारेको छ। आर्थिक वर्ष २०७६/७७ मा चितुवाले ५६२ पशुचौपायाको क्षति गरेको छ। आव २०७५/७६ मा २३१ जनावरमा क्षति गरेको थियो।

बारबर्दियाका सूर्यराज आचार्य भन्छन्, “पहिला पहिला चितुवाले यति धेरै क्षति गरेको थाहा हुँदैनथ्यो, फाट्टफुट्ट मात्रामा क्षति गथ्र्यो, अहिले त घरपालुवा पशुलाई क्षति नगरेको कुनै महीना छैन।”

यो पनि पढ्नुहोस्

पहाड चढ्दै पाटेबाघ  

बाघको आक्रमणमा आँखा गुमाएका भदै थारुः जो बाघकै संरक्षणमा जुटिरहेछन्

लालझाडीमा एउटा बाघ भेटियो, शुक्लाफाँटामा १७ वटा

‘बाघको वृद्धि उत्साहजनक छ’

थपिए ३७ बाघ

नेपालको उच्च स्थानमा पहिलो पटक भेटियो पाटे बाघ

‘मिनी चिडियाखाना’ मा चितुवादेखि सर्पसम्म (तस्वीरहरू)

• वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन सडक ‘पास’

प्रतिकृया दिनुहोस