रिपोर्ट विहीबार, वैशाख ११, २०७७

पहाड चढ्दै पाटेबाघ

मुकेश पोखरेल

पहाड चढ्दै पाटेबाघ
डडेलधुराको महाभारत क्षेत्रमा २ हजार ५०० मिटरको उँचाइमा राखिएको क्यामराले खिचेको पाटेबाघको तस्वीर ।

बाघको संख्या बढेसँगै निकुञ्ज क्षेत्रको सीमित बासस्थानको विकल्पमा पहाडी र चुरे क्षेत्र उपयुक्त हुन सक्छ। हालै डडेलधुराको महाभारत क्षेत्रमा २ हजार ५०० मिटरको उँचाइमा पाटेबाघ भेटिनुले पनि त्यो क्षेत्र बाघका लागि अनुकूल हुने देखिएको छ।

२३ फागुन २०७६ देखि एक महीनासम्म डडेलधुराको महाभारत क्षेत्रमा राखिएका स्वचालित क्यामेरामा पाटे बाघको तस्वीर कैद भयो। समुद्री सतहदेखि २ हजार ५०० मिटरको उँचाइमा नेपालमा पाटेबाघ भेटिएको यो नै पहिलो घटना हो।

विगतमा केही स्थानीय र वन्यजन्तु विज्ञहरूले नेपालका पहाडी क्षेत्रका उच्च स्थानमा पाटेबाघ पाइने दाबी गरे पनि त्यसको कुनै प्रमाण नभेटिएकाले आधिकारिक मानिएको थिएन। डिभिजनल वन कार्यालय डडेलधुराका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार, आधिकारिकता पुष्टि गर्नकै लागि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को सहयोगमा स्वचालित क्यामेरा जडान गरेर बाघको अध्ययन गरिएको हो।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका पूर्व प्राध्यापक करनबहादुर शाह भने उच्च स्थानमा बाघ पाइनु नयाँ कुरा नभएको बताउँछन्। उनका अनुसार, विगतमा अहिले रेकर्ड भएभन्दा अझ उँचाइमा बाघ पाइएको थियो।

“७०/८० वर्षअघि अहिले भेटिएभन्दा पनि उच्च स्थानमा पर्यात मात्रामा पाटे बाघ पाइन्थे”, शाह भन्छन्, “मैले गाउँहरू घुम्दा शिकारीबाट पाएको सूचनाका आधारमा नेपालमा ३ हजार ५०० मिटर उँचाइमा पाटेबाघ रहेको कुरा दश वर्ष अघि नै एउटा पुस्तकमा लेखेको थिएँ।” शिकार गर्ने क्रम बढेर आहार प्रजाति नाशिंदै गएपछि पहाडमा बाघको संख्या घटेको उनी बताउँछन्।

“परापूर्व कालमा पहाडमा बाघ नभएको होइन, तर त्यहाँ मानव बस्ती बाक्लो भएपछि जनावरहरू मारिंदै गए र बाघ पनि हरायो। आहारा प्रजाति जहाँ उपलब्ध हुन्छ, बाघ त्यहाँ पुग्छ ।”

डा. हेमसागर बराल, वन्यजन्तुविज्ञ

नेपालमा उष्ण प्रदेशीय हावापानी भएका तराईका जंगल र राष्ट्रिय निकुञ्जमा मात्र पाटे बाघ पाइन्छ भन्ने आम मनोविज्ञान रहिआएको छ। तर, डडेलधुराको उँचाइमा पाटे बाघ पाइएको घटनाले पहाडमा पनि बाघ पाइन्छ भन्ने प्रमाणित भएको छ।

वन्यजन्तुविज्ञ डा. शान्तराज ज्ञवाली पहाडी क्षेत्रमा पाटे बाघ नदेखिएको र रेकर्ड पनि कतै नभएकाले तराईमा मात्र पाइन्छ भन्ने बुझाइ रहेको बताउँछन्।

पाटे बाघ पुस्तकका लेखक डा. हेमसागर बराल मध्यपहाडमा मानिसको चाप बढेपछि त्यहाँबाट पाटेबाघ लोप भएको बताउँछन्। “परापूर्व कालमा पहाडमा बाघ नभएको होइन, तर त्यहाँ मानव बस्ती बाक्लो भएपछि जनावरहरू मारिंदै गए र बाघ पनि हरायो”, उनी भन्छन्।

नेपालमा उच्च पहाडमा पाटेबाघ पाइएको पहिलो घटना हालै पुष्टि भए पनि यसअघि नै भुटानमा ४ हजार र भारतमा ३ हजार ६०० मिटरको उँचाइमा समेत पाटेबाघ पाइएको थियो।

बाघको बासस्थान र पहाड

डडेलधुराको अभिलेखबाट उत्साहित भएका संरक्षणकर्मीहरूका बीचमा बाघको बासस्थान तराई मात्र होइन, पहाडका जंगल पनि हुनसक्ने बहस चलेको छ।

वन्यजन्तुविज्ञ डा. ज्ञवाली चुरे क्षेत्रका साथै महाभारत र पहाडी क्षेत्रका जंगल बाघको लागि उपयुक्त बासस्थान हुनसक्ने बताउँछन्। वन्यजन्तुको आहोरदोहोर सहज बनाउन उत्तर-दक्षिणलाई जोड्ने गरी वन क्षेत्रको विकास गर्नुपर्ने उनको भनाइ छ।

वन्यजन्तुको संरक्षण र उनीहरुको निर्बाध ओहोरदोहोरलाई सहज गराउने गरी हाल बागमतीदेखि कञ्चनपुरसम्म तराई भू-परिधि तथा चितवनदेखि कालीगण्डकी करिडोरमा अन्नपूर्ण भू-परिधि कार्यक्रम सञ्चालनमा छन्। तराई भू-परिधि कार्यक्रम सरकारको पाटे बाघ लक्षित कार्यक्रम हो। नेपालमा बाघको संख्या वृद्धि हुनुको श्रेय यसै कार्यक्रमलाई दिइन्छ।

वन तथा वातावरण मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता सिन्धुप्रसाद ढुंगाना सरकारले सञ्चालन गरेका दुई कार्यक्रमको प्रभाव सकारात्मक रहेको बताउँछन्। “वन्यजन्तु एक ठाउँमा मात्र खुम्चिएर बस्दैनन्, तिनले एक निकुञ्जबाट अर्कोमा सहज रूपमा आवतजावत गर्नसक्ने करिडोर विकासका लागि यी कार्यक्रम सञ्चालन गरिएको हो।”

“जीवजन्तुको लागि चुरे र महाभारतका पहाडी क्षेत्र अत्यन्तै महत्वपूर्ण छन् । अब उत्तर र दक्षिण जोड्ने करिडोरमा ध्यान दिनुपर्छ ।”

डा. शान्तराज ज्ञवाली, वन्यजन्तुविज्ञ

समुदायलाई वन हस्तान्तरण भएपछि पहाडी क्षेत्रमा वन क्षेत्र उल्लेख्य वृद्धि भएको छ। राष्ट्रिय वन स्रोत सर्वेक्षण २०१६ अनुसार, मध्य पहाडमा २२ लाख ५३ हजार ७ सय हेक्टर वन छ। यो सन् १९९८ को भन्दा झण्डै १० प्रतिशतले बढी हो।

बाघका लागि अनुकूल बासस्थानको सन्दर्भमा जंगलसँगै पर्याप्त आहारा प्रजाति महत्वपूर्ण विषय हो। डा. बरालका भनाइमा आहारा प्रजाति जहाँ उपलब्ध हुन्छ, बाघ त्यहाँ पुग्छ।

१ लाख १५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको डडेलधुराको जंगल मुलुककै सबैभन्दा ठूलो वनक्षेत्र हो। त्यहाँ मृग, बँदेल, रतुवा जस्ता बाघका आहार प्रजाति पाइन्छन्। “आहारा प्रजाति उपलब्ध भए बाघ लेकतिर पनि लाग्न सक्छ, आहारा खोज्दै हिउँचितुवा समेत हिमाली क्षेत्र मुनि झरेको रेकर्ड हामीसँग छ”, बराल भन्छन्।

प्राध्यापक करनबहादुर शाहको भनाइमा जंगल, आहार प्रजातिको उपलब्धता र मानवीय अवरोध नभए पाटेबाघ जुनसुकै भूगोलमा पनि सहजै उपलब्ध हुन्छ। डडेलधुराको जंगलमा बाघका लागि आवश्यक पर्ने यी सबै चिज उपलब्ध रहेको डिभिजनल वन कार्यालय डडेलधुराका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्य बताउँछन्। जसका कारण त्यहाँ सहज रुपमा बाघ पाइएको हो।

त्यति मात्र होइन, डडेलधुराको जंगल क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पनि जोडिएको छ। शुक्लाफाँटाका बाघहरु डडेलधुरामा आवतजावत गर्ने गरेको अनुमान छ। डडेलधुरामा पाइएको बाघ आगन्तुक हो वा उक्त जंगलमै बसोबास गर्ने रैथाने हो, त्यसको अध्ययन गर्नुपर्ने डिभिजन वन अधिकृत आचार्य बताउँछन्।

मुलुकमा बाघको संख्यामा वृद्धि हुँदा तिनलाई बासस्थानको आवश्यकता पर्ने भएकाले पहाडी क्षेत्र पनि बासस्थान बन्नसक्ने पूर्व प्राध्यापक करनबहादुर शाह बताउँछन्। हुन पनि सन् १९९५ यता नेपालमा बाघको संख्या क्रमिक रूपमा उल्लेख्य बढेको छ। सन् १९९५ मा ९८ वटा बाघ रहेकोमा सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ पुगेको थियो।

“निकुञ्ज क्षेत्र सीमित भएकाले बाघको संख्यामा वृद्धि हुँदा स्वाभाविक रूपमा नयाँ बासस्थान आवश्यक पर्छ। त्यस क्रममा पहाडी क्षेत्रका जंगल पनि उपयुक्त हुनसक्छ ।"

करनबहादुर शाह, पूर्व प्राध्यापक

पाटे बाघ १३ वटा मुलुकमा पाइन्छ। यी मुलुकहरूका सरकार तथा राष्ट्रप्रमुखहरुको रसियाको सेन्टपिटर्समा भएको सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २३५ छ। चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ वटा बाघ भेटिएका थिए।

एउटा बाघलाई विचरणका लागि ४० देखि ६० किमि क्षेत्र आवश्यक पर्छ। निकुञ्ज क्षेत्र सीमित भएकाले बाघको संख्यामा वृद्धि हुँदा स्वाभाविक रूपमा नयाँ बासस्थान आवश्यक पर्ने र त्यस क्रममा पहाडी क्षेत्रका जंगल पनि उपयुक्त हुने पूर्व प्राध्यापक शाहको तर्क छ।

अर्का वन्यजन्तुविज्ञ डा. शान्तराज ज्ञवाली पनि वन जंगल वृद्धि हुँदा आहार प्रजाति पनि बढ्ने भएकाले पहाडका जंगल पनि बाघको लागि बासस्थान हुनसक्ने बताउँछन्।

“जीवजन्तुको लागि चुरे र महाभारतका पहाडी क्षेत्र महत्वपूर्ण भएकाले उत्तर र दक्षिणलाई समेटेर संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्छ”, उनी भन्छन्। त्यस कार्यमा स्थानीयको साथ–सहयोग चाहिने र त्यसका लागि पहाडमा समेत पर्यटनका कार्यक्रम बढाएर स्थानीयको जीविकोपार्जन बढाउन सकिने उनको सुझाव छ।

जलवायु परिवर्तन र वन्यजन्तु

विश्वव्यापी तापक्रम वृद्धि र त्यसबाट सिर्जित जलवायु परिवर्तनका कारण वन्यजन्तु र उनीहरुको बासस्थानमा असर गरेको छ। नेपालका राष्ट्रिय निकुञ्ज र वन्यजन्तुको बासस्थान भएका क्षेत्रमा पनि यस्तो असरका संकेत देखिन थालेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, तराईमा रहेका राष्ट्रिय निकुञ्जका सिमसारलाई जलकुम्भी झारले छोप्न थालेको छ। त्यस्तै, ‘पार्थेनियम’ र ‘इपाटोरियम’ जस्ता मिचाहा प्रजाति वनस्पतिले पनि वन्यजन्तुको बासस्थानलाई प्रभाव पारेको विभागका उप–महानिर्देशक रामचन्द्र कँडेल बताउँछन्।

वन्यजन्तुका लागि आवश्यक पर्ने घाँसे मैदान मिचाहा प्रजातिका वनस्पतिका कारण नासिंदै गएका छन् भने पोखरी पनि सुक्दै गएका छन्। जसका कारण वन्यजन्तुको बासस्थान र आहारामै असर पर्न थालेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-सचिव विष्णु श्रेष्ठ वन्यजन्तुको वासस्थानलाई प्रभाव पार्ने गरी जलवायुजन्य परिवर्तनहरू देखा परेको बताउँछन्।

समय समयमा हुने भारी वर्षाले समेत निकुञ्जमा क्षति पुर्‍याउने गरेको छ। २८ साउन २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्ज नराम्रोसँग प्रभावित भएको थियो। निकुञ्जबाट बाढीले बगाएका ९ वटा गैंडालाई भारतबाट उद्धार गरी ल्याइएको थियो। त्यसवेला बाढीमा परेर कति वन्यजन्तु मरे, त्यसको कुनै तथ्यांक राख्न नसकिएको उपसचिव श्रेष्ठ बताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तुको वासस्थान सुधार र पानीको व्यवस्थापनका लागि गरेका कामले पनि राष्ट्रिय निकुञ्जमा जलवायुजन्य संकट देखिन थालेको पुष्टि गर्छ। विभागका अनुसार, गएको वर्ष चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५ सय वटा पोखरी निर्माण गरिएको थियो। यस वर्ष थप २ सय पोखरी निर्माण गर्ने तयारी छ।

घाँसे मैदानमा पनि असर देखिएकाले त्यसको व्यवस्थापनमा समेत जोड दिइएको छ। विभागले गएको वर्ष २ हजार हेक्टर घाँसे मैदान व्यस्थापन गरेको थियो। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ७५० हेक्टर, बर्दियामा ३ सय, शुक्लाफाँटामा ३ सय र बाँकी पर्सा लगायत अन्य राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन गरिएको थियो।

तराईमा गर्मी हुँदा र पानीका स्रोतहरू सुक्दा भविष्यमा वन्यजन्तु उत्तरतिर उक्लिने सम्भावना भएकाले चुरे र महाभारतका जंगलहरु एकदमै महत्वपूर्ण हुनसक्ने डा. शान्तराज ज्ञवाली बताउँछन्। “जलवायु परिवर्तनले तराईमा जति गर्मी हुँदै जान्छ, जनावरहरु चिसो ठाउँ खोज्दै उकालो लाग्छन्” ज्ञवाली भन्छन् “त्यसैले जीवजन्तुको लागि चुरे र महाभारतका पहाडी क्षेत्र अत्यन्तै महत्वपूर्ण छन्। अब उत्तर र दक्षिण जोड्ने करिडोरमा ध्यान दिनुपर्छ।”

यो पनि पढ्नुहोस्–

पहाडिया पाटेबाघ !
नेपालको उच्च स्थानमा पहिलो पटक भेटियो पाटेबाघ

प्रतिकृया दिनुहोस