रिपोर्ट बुधबार, असार ३१, २०७७

वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन सडक ‘पास’

तुफान न्यौपाने

वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन सडक ‘पास’
नारायणघाट–मुग्लिन सडकखण्डमा बनाइएका अन्डरपासलाई आवागमनका लागि वन्यजन्तुले प्रयोग गरेको पाइएको छ। तस्वीरहरू: डब्लूडब्लूएफ/हरियो वन कार्यक्रम।

पछिल्लो तीन वर्षमा करीब ४०० वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु भयो। वन्यजन्तुलाई सडक पार गर्ने बाटो बनाइदिंदा यस्तो मरण घटाउन सकिने चितवनको अनुभवले सिद्ध गरेको छ र अन्यत्र पनि यसैलाई पछ्याइँदैछ।

सडक दुर्घटना भन्नासाथ हामी मान्छेलाई मात्र बुझ्छौं। वर्षेनि ठूलो संख्यामा मृत्यु सडक दुर्घटनाकै कारण हुने गर्छ। तर, दुर्घटनामा ज्यान गुमाउने मान्छे मात्र छैनन्। वन क्षेत्रमा सडक पार गर्ने क्रममा सयौं वन्यजन्तुले पनि ज्यान गुमाइरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष जस्ता संरक्षण क्षेत्रमा ४९५ वन्यजन्तुको मृत्यु भयो, जसमध्ये ११९ वटा (२४ प्रतिशत) वन्यजन्तुको मृत्यु सडकमा सवारीको ठक्करबाट भएको थियो।

अघिल्ला वर्षहरूको तुलनामा यो मृत्युदर अझ बढी हो। विभागले वर्षेनि सार्वजनिक गर्ने वार्षिक प्रतिवेदनहरूका अनुसार आर्थिक वर्ष २०७४/७५ मा संरक्षण क्षेत्रभित्र ३९१ वन्यजन्तुको मृत्यु भएकोमा १२४ (३१ प्रतिशत) वटा मरण सडक दुर्घटनाका कारण थियो। त्यसभन्दा अघिल्लो वर्ष २०७३/७४ मा ३२६ वन्यजन्तुको मृत्यु भएकोमा १३३ (४१ प्रतिशत) को मृत्युको कारण पनि दुर्घटना नै थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षेनि हुने वन्यजन्तुको मृत्युमध्ये करीब एक चौथाइको मृत्यु सडक दुर्घटनाका कारण हुने गर्छ। पूर्व–पश्चिम राजमार्गको २७१ किलोमिटर सडक पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनको मध्यवर्ती क्षेत्र भएर जान्छ। त्यस्तै पूर्व–पश्चिम हुलाकी राजमार्गले पनि कम्दी, खाता, वसन्ता र लालझाडी–मोहना करिडोरलाई काट्छ। यी चार करिडोरमा हुलाकी राजमार्गको १२२ किलोमिटर भाग पर्छ। त्यसबाहेक सवारी गुड्ने साना ठूला सडक अन्य थुप्रै जंगल र संरक्षण क्षेत्र भएर जान्छन्।

यी सबै ठाउँमा बनेका सडकखण्ड वन्यजन्तुका लागि सम्भावित दुर्घटना र जोखिमका क्षेत्र हुन्। विश्व वन्यजन्तु कोषका एक संरक्षण अधिकृत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकले देखाएको मृत्यु संरक्षण क्षेत्रभित्रको मात्र भएकाले त्यसबाहिर समेत गर्दा यो आँकडा कम्तीमा ५–१० गुणाले बढ्न सक्ने बताउँछन्।

यसले सडक दुर्घटनाबाट मारिने वन्यजन्तुको भयावह तस्वीर देखाउँछ। यही कारण पनि ‘सडक सुरक्षा’ वन्यजन्तु संरक्षणका लागि प्रमुख अजेण्डा बन्नुपर्ने आवाज उठ्न थालेको छ। प्रमुख सडकहरूमा वन्यजन्तु ओहोर–दोहोर गर्ने वैकल्पिक मार्ग बनाइदिंदा दुर्घटना कम हुने र वन्यजन्तुको संरक्षणमा समेत सहयोग पुग्न सक्छ। त्यसको एउटा उदाहरण हो, नारायणघाट–मुग्लिन सडकमा वन्यजन्तुका लागि बनाइएको ‘अन्डरपास’।

नारायणघाट–मुग्लिन सडकखण्डमा बनाइएका अन्डरपासमा मृग ।

नेपालकै पहिलो अन्डरपास
चितवनको नारायणघाटदेखि मुग्लिन जोड्ने ३३.२७ किलोमिटर सडक विश्व ब्यांकको आर्थिक सहयोगमा ‘एशियन हाई–वे स्ट्यान्डर्ड’ मा बनाइएको हो। सडक सुरक्षा र वातावरण संरक्षणका लागि समेत उक्त मापदण्ड पूरा गर्नुपर्ने भएकाले यो सडकखण्डको आँपटारी र रामनगरमा वन्यजन्तुका लागि चार वटा ‘अन्डरपास’ निर्माण गरिएको छ। वन्यजन्तुको दुर्घटना रोक्न नेपालमै पहिलो पटक बरण्डाभार करिडोरमा यी अन्डरपास निर्माण गरिएको हो।

अण्डरपास बनेपछि वन्यजन्तुले यिनको प्रयोग गरे कि गरेनन् भनेर बुझ्न विश्व वन्यजन्तु कोषको ‘हरियो वन कार्यक्रम’ ले अध्ययन गरेको थियो। सन् २०१७ को अगस्तदेखि २०१८ को जून महीनासम्म तीन प्रमुख सिजनमा गरिएको अध्ययनको निष्कर्ष केही समयअघि सार्वजनिक भएको छ। अध्ययनका क्रममा फेला परेका तथ्यले संरक्षणकर्मीलाई उत्साहित बनाएका छन् भने थप स्थानमा यस्ता ‘पास’ निर्माणको आवश्यकता पनि बोध गराएका छन्।

अध्ययन टोलीमा सहभागी विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का वरिष्ठ कार्यक्रम अधिकृत प्रमोद न्यौपाने प्रमुख तीन सिजनका एक–एक महीनामा गरिएको अध्ययनमा ६६८ वटा वन्यजन्तुले अण्डरपास प्रयोग गरिरहेको तस्वीर संकलन गर्न सकिएको बताउँछन्। ती क्षेत्रमा १५ प्रजातिका वन्यजन्तु रहेको अध्ययनले देखाएको छ, जसमध्ये १३ प्रजातिका वन्यजन्तुले अन्डरपास प्रयोग गरेको देखिएको छ।

चार वटै करिडोरमा १४ वटा क्यामेरा जोडेर जाडो, वर्षा र गर्मी सिजनको (एक वर्षको अवधिमा) एक–एक महीनासम्म अध्ययन गरिएको थियो। ‘युज एण्ड इफेक्टिभनेस अफ वाइल्डलाइफ क्रसिङ इन नेपालः रिजल्ट फ्रम द वाइल्डलाइफ अन्डरपास बिल्ट अलङ नारायणघाट–मुग्लिन रोड इन बरन्डाभार करिडोर फरेष्ट’ शीर्षकमा प्रकाशित अध्ययनले ती अन्डरपासको उपयोग प्रभावकारी रूपमा भइरहेको देखाएको छ। “नेपालमै पहिलो पटक बनाइएका यी अन्डरपास कत्तिको प्रभावकारी रूपमा उपयोग भइरहेका छन् भन्ने अन्योल थियो” न्यौपानेले भने, “नारायणघाट–मुग्लिनको सफलताले अन्यत्र पनि यस्तो संरचना बनाउनुपर्ने आवाज उठ्न थालेको छ।”

नारायणघाट–मुग्लिन सडकका अन्डरपासको प्रयोग सबभन्दा बढी हिउँदमा भएको पाइएको छ। तीन प्रमुख सिजनका एक–एक महीनामा गरिएको अध्ययनमा सबैभन्दा बढी (५२.१५ प्रतिशत) वन्यजन्तु ओहोर–दोहोर १७ जनवरी–१८ फेब्रुअरी २०१८ मा गरेका थिए। त्यसपछि वर्षायाम (२३ अगस्त–२३ सेप्टेम्बर २०१७) मा २६.६ प्रतिशतले र सबैभन्दा कम गर्मीयाम (८ मे–७ जून २०१८) मा २१.२ प्रतिशत वन्यजन्तुले अण्डरपासबाट आवागमन गरेको तथ्य रेकर्ड गरिएको छ।

यी चारवटै अन्डरपास साना र मध्यम आकारका वन्यजन्तुले धेरै प्रयोग गरेको पाइएको छ। प्रतिवेदन अनुसार अन्डरपास प्रयोग गर्नेमध्ये सबैभन्दा बढी मध्यम आकारका वन्यजन्तु (६१.०६ प्रतिशत) छन्। त्यसपछि साना (२८.३ प्रतिशत) र सबैभन्दा कम ठूला वन्यजन्तु करीब १० प्रतिशत छन्। डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल अन्डरपासको आकार सानो भएकाले ठूला वन्यजन्तु ओहोर–दोहोर गर्न नसकेको बताउँछन्। “अन्डरपासको प्रयोग भए पनि आवश्यकता जति हुन नसकेको हो कि भन्ने लागेको छ। अन्डरपासमा फोहोर थुपारिदिएका कारण पनि बाटो अझ साँघुरो भएको छ”, उनले भने।

डब्लूडब्लूएफका वरिष्ठ कार्यक्रम अधिकृत न्यौपाने संरचना पुरानो हुँदै जाँदा प्रयोगको दर बढ्दै जाने बताउँछन्।

सडक विभागको भू–वातावरण तथा सामाजिक शाखाका वातावरण निरीक्षक मनोज अर्याल चितवनको सफलताले वन्यजन्तुका लागि सुरक्षित रूपमा सडक पार गराउन यस्ता पास चाहिनेरहेछ भन्ने आवश्यकताबोध भएको बताउँछन्। “पहिले यसलाई अतिरिक्त खर्चको बोझका रूपमा सोच्ने गरिन्थ्यो, अहिले त्यहाँको सफलताले वन्यजन्तुको आवतजावत हुने अन्यत्रका सडकमा पनि यस्ता पास बनाउनेबारे छलफल तीव्र भएको छ”, उनले भने।

नारायणघाट–मुग्लिन सडकखण्डमा बनाइएका अन्डरपासबाट पार गर्दै ज‌ंगली बँदेल ।

अन्यत्र सम्भावना कति ?
विश्व बैंकको सहयोगमा नारायणघाट–बुटवल सडक (११५ किलोमिटर) थप चौडा पारिंदैछ। त्यसमा सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार, वातावरणीय प्रभाव मूल्यांकन र जैविक विविधता सम्बन्धी बेसलाइन सर्भेको काम सम्पन्न भएको छ। सडक विभागका वातावरण निरीक्षक अर्यालले उक्त सडकखण्डको दाउन्ने पूर्वको भागमा मात्रै ३० ठाउँमा वन्यजन्तुको आवतजावत रेकर्ड भएको बताए। “जसमध्ये मुख्य चार ठाउँमा अन्डरपास र एक ठाउँमा ओभरपास राख्ने गरी छलफल भइरहेको छ”, उनले भने।

त्यसैगरी चार लेन सडकका रूपमा विकास गर्न लागिएको पूर्व–पश्चिम राजमार्गकै बाराको पथलैयादेखि धनुषाको ढल्केबरसम्मको सडकमा पनि यस्तै अन्डरपास बनाउनेबारे सडक विभागमा छलफल भइरहेको छ। विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति हुने उक्त सडकमा वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रस्ताव आह्वान भइसकेको छ। पर्सा राष्ट्रिय निकुञ्ज र चारकोसे झाडी क्षेत्र छिचोलेर जाने यो सडकखण्ड पनि वन्यजन्तुका लागि जोखिम क्षेत्र भएकाले ‘वाइल्डलाइफ पास’ बनाउने गरी छलफल थालिएको अर्याल बताउँछन्।

त्यसैगरी, पूर्व–पश्चिम हुलाकी राजमार्गको बर्दिया खण्डमा पनि ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ बन्ने भएको छ। बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रलाई हुलाकी सडकले काट्छ, जसका कारण त्यस क्षेत्रमा वन्यजन्तुको उत्तर–दक्षिण आवागमनमा बाधा पुगेको छ।

प्रदेश–५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय बर्दियासँगको समन्वयमा उक्त ‘ओभरहेड ब्रिज’ का लागि डीपीआर समेत तयार पारिसकेको छ। प्रस्ताव अनुसार बर्दियाको मधुवन नगरपालिका–३, खातामा यस्तो ब्रिज बनाइनेछ।


“चितवनको सफलता र अन्य तीन–चार ठाउँमा सडक पास बनाउनेबारे भइरहेका छलफलले वन्यजन्तुको सघन बसोबास भएका क्षेत्रका सडकमा अब पास नबनाई हुँदैन भन्ने महसूस सबैलाई भएको छ।”

अध्ययनले खाता क्षेत्रको ७८४ मिटर सडक खण्डमा वन्यजन्तुको सघन आवतजावत भइरहेको देखाएको छ। त्यसमध्ये बाघ, गैंडा, हात्ती जस्ता ठूला जनावर सबैभन्दा बढी ओहोरदोहोर हुने ठाउँको ४५ मिटर क्षेत्रमा आकाशे पुल प्रस्ताव गरिएको हो। गौमुखी इन्जिनियरिङ सर्भिस प्रालि ललितपुरले त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको छ। डीपीआर स्वीकृत हुनेवित्तिकै वातावरणीय प्रभाव मूल्यांकन गरेर निर्माण अघि बढाइने डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए। उनले डीपीआरले रु.८ करोड १२ लाख ५७ हजार लागत अनुमान गरेको उल्लेख गर्दै त्यसका लागि बजेटको सुनिश्चितता भइनसकेको जानकारी दिए।

त्यहाँको संरक्षित वन क्षेत्रभित्र हुलाकी सडकको करीब तीन किलोमिटर खण्ड पर्छ।

२७ पुस २०७६ मा बाराको अमलेखगन्ज जंगलमा मोटरको ठक्करबाट मारिएको हरिण। तस्वीर: किरण नेपाल

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोड्ने खाता करिडोर भएर हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तु आवतजावत गर्छन्। वन्यजन्तुलाई जंगलमै हिंडेको भान पार्न पुलमाथि रूख रोपेर झाडी समेत तयार पारिने वन कार्यालय प्रमुख वाग्लेले बताए।

यसरी बनाइने सडक पासले दुर्घटना कति कम गरेका छन् भन्ने यकिन अध्ययन भइसकेको छैन। तर, तीव्र गतिमा सवारी हुँइकिने सडकमा वन्यजन्तुले व्यहोर्नुपर्ने सास्ती र खतरा त्यसले धेरै हदसम्म कम गरेको जानकारहरू बताउँछन्।

“चितवनको सफलता र अन्य तीन–चार ठाउँमा सडक पास बनाउनेबारे भइरहेका छलफलले वन्यजन्तुको सघन बसोबास भएका क्षेत्रका सडकमा अब पास नबनाई हुँदैन भन्ने महसूस सबैलाई भएको छ”, सडक विभागका वातावरण निरीक्षक अर्यालले भने।

प्रतिकृया दिनुहोस