टिप्पणी बुधबार, साउन १४, २०७७

बाघ संरक्षणमा नेपाल विश्वमै नमूना, तर चुनौती बाँकी नै छन्

हिमालखबर

बाघ संरक्षणमा नेपाल विश्वमै नमूना, तर चुनौती बाँकी नै छन्
 चितवन राष्ट्रिय निकुञ्जमा भेटिएको वाघ । तस्वीर: सागर गिरी

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने विश्व प्रतिबद्धताको अत्यन्त निकट नेपाललाई सफलतालाई जोगाइराख्ने ठूलो चुनौती छ।

माधव खड्का

राणा प्रधानमन्त्री चन्द्रशमशेरको निमन्त्रणामा बेलायतका राजा जर्ज पाँचौं सन् १९११ मा नेपाल आए । उनको भव्य स्वागतका लागि चन्द्रशमशेरले उनलाई चितवनमा शिकारको प्रस्ताव गरे । यो टोलीले १० दिनभित्रै ३९ वटा बाघको शिकार गर्‍यो ।

तराईमा औलो उन्मूलन भएपछि पहाडबाट भएको बसाइँ–सराइका कारण तराईको घना वनजंगल फँडानी भयो । यसले एकातिर बाघको वासस्थान विनाश भयो भने अर्कोतर्फ मानव चापले अवैध चोरी–शिकारी बढ्न थाल्यो ।

मानव अतिक्रमणको असर संसारभर रह्यो । यसले करीब एक शताब्दी अघिसम्म विश्वमा एक लाखको हाराहारीमा रहेका बाघको संख्या तीन हजार दुई सयमा झ¥यो । यो अवधिमा बाघका तीन उपप्रजाति त कहिल्यै नदेखिने गरी लोप नै भए ।

विशेष अभियान सञ्चालन नगर्ने हो भने बाघ विश्वबाटै लोप हुने खतरा बढेपछि सन् २०१० मा बाघ पाइने नेपाल लगायत १३ वटा मुलुकका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुले रसियाको सेन्ट पिटर्सवर्गमा ‘ग्लोबल टाइगर समिट’ आयोजना गरे । शिखर सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्‍यो ।

यो लक्ष्य हासिल गर्न मुख्यतः बाघको वासस्थान वृद्धि, आहारा बढाउने, बाघ–मानव द्वन्द्व व्यवस्थापन र अवैध चोरी–शिकारी तथा बाघका अंगको व्यापारमा नियन्त्रण गरिनु अत्यावश्यक छ ।

वन्यजन्तु अपराध नियन्त्रणमा सहकार्य
वन्यजन्तु अपराध संगठित अन्तर्राष्ट्रिय संगठित प्रकृतिको अपराध हो । संगठित अपराध नियन्त्रण गर्न संगठित नै भएर अगाडि बढ्ने नीति सरकारले लिएको छ । त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय संरचना निर्माण गरेको छ ।

चीनसँग वन–जंगल र जैविक विविधता संरक्षण सहयोग सम्बन्धी सहमतिपत्र तथा भारतसँग संकल्प प्रस्तावमा हस्ताक्षर गरी दुई पक्षीय सहकार्य भइरहेको छ । क्षेत्रीय सहकार्यका लागि साउथ एशिया वाइल्डलाइन इन्फोर्समेन्ट नेटवर्क (सावेन) गठन भई काठमाडौंमा सचिवालय स्थापना पनि भइसकेको छ ।

वन्यजन्तु संरक्षणमा विद्यमान कानून सुदृढीकरण, चोरी–शिकार तथा अवैध व्यापार नियन्त्रणमा राजनीतिक प्रतिबद्धता र नीतिगत मार्गदर्शनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ‘राष्ट्रिय बाघ संरक्षण समिति’ पनि बनिसकेको छ । सरोकारवाला निकायहरुबीच समन्वयका लागि वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा ‘राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति’ पनि सक्रिय छ ।


याे पनि पढ्नुहाेस्– • ‘बाघको वृद्धि उत्साहजनक छ’


यी दुवै निकायको निर्देशन कार्यान्वयन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा ‘वन्यजन्तु अपराध नियन्त्रण इकाइ’ पनि कार्यरत छ । संवेदनशील मानिएका २८ मध्ये २६ जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण इकाइ गठन भई वन्यजन्तु अपराध नियन्त्रणका काम पनि भइरहेको छ ।

संरक्षणको प्रयास
संरक्षित क्षेत्रका कर्मचारी र नेपाली सेनाले विगत चार दशकदेखि निकुञ्ज/आरक्षको नियमित गस्ती, सुराकी परिचालन, समुदायको क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन मार्फत बाघ संरक्षण गर्दै आएका छन् । पछिल्लो समय संरक्षणमा सीसीटीभी क्यामेरा, रियल टाइम स्मार्ट पेट्रोल, कन्जरभेसन ड्रोन, भेहिकल ट्रयाकिंग सिस्टम र तालिम प्राप्त कुकुर लगायतका प्रविधिहरु समेतको प्रयोग बढेको छ ।

संरक्षित क्षेत्र बाहिर डिभिजन वन कार्यालयले वन्यजन्तु संरक्षणको कार्य गरिरहेको छ । वन्यजन्तु अपराध नियन्त्रण इकाइको समन्वयमा वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न नेपाल प्रहरीको विशेष भूमिका छ, जसमा केन्द्रीय अनुसन्धान ब्यूरोको भूमिका सह्राहनीय छ । सीमा नाकाबाट हुने वन्यजन्तुको आखेटोपहार ओसार–पसार नियन्त्रणमा सशस्त्र प्रहरी बलको विशेष योगदान छ ।

स्थानीय समुदाय संरक्षणको अग्रपंक्तिको मोर्चा हो । अन्नपूर्ण संरक्षण क्षेत्रबाट शुरु भएको स्थानीयको सहभागिताले हाल सामुदायिक वन उपभोक्ता समूहको अवधारणासम्म आइपुग्दा बाघको वासस्थान जोगाउन थप मद्दत पुगेको छ । संरक्षित क्षेत्रको राजस्वको ३० देखि ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रका समुदायमा आधारित कार्यक्रममा खर्च गर्ने कानूनी व्यवस्थाले संरक्षणमा समुदायलाई थप हौसला मिलेको छ ।

हाम्रो सामाजिक संरचना र भू–बनोट विश्लेषण गर्दा स्थानीयको सहयोग वा सहभागिता विना बाहिरी व्यक्तिले सोझै वन्यजन्तुको शिकार गर्न प्रायः असम्भव छ । यसलाई मनन् गरी युवा लक्षित समुदायमा आधारित चोरी–शिकार नियन्त्रण इकाइ परिचालित छन् । बाघको वासस्थान रहेको तराई भू–परिधि क्षेत्रभित्र मात्र करीब पाँच सय ६८ यस्ता इकाइ मार्फत पाँच हजार भन्दा धेरै युवा चोरी–शिकार नियन्त्रणमा सक्रिय छन् । युवाहरु स्वतस्फुर्त स्वयंसेवकका रुपमा स्थानीयस्तरमा जनचेतना फैलाउँदै चोरी शिकारीलाई निरन्तर रुपमा खबरदारी गरिरहेका छन्, जुन वन्यजन्तु अपराध नियन्त्रणको मुख्य आधार हो ।

सफलताको कथा
नेपालमा सन् २००९ को गणना अनुसार बाघको संख्या एक सय २१ थियो । यो संख्या दोब्बर पुर्‍याउने प्रतिबद्धता अनुसार २०१८ को गणनामा बाघको संख्या दुई सय ३५ पुग्यो । यसले नेपाल विश्वसामु गरेको प्रतिबद्धता पूरा गर्ने संघारमा देखिन्छ ।

नेपालले अवलम्बन गरेको वन्यजन्तुको अपराध नियन्त्रणको प्रयासले मूर्तरुप लिई सन् २०११ मा शून्य चोरी शिकार वर्ष मनाउन सफल भयो । नेपालले चोरी शिकार नियन्त्रणमा पाएको सफलता विश्वलाई सुनाउने र सिकाउने उद्देश्यले बाघ पाइने विश्वभरका मुलुकका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेतको सहभागितामा काठमाडौंमा सन् २०१५ को फेब्रुअरीमा ‘टुवार्डस् जेरो पोचिंग इन एशिया’ विषयमा गोष्ठी नै आयोजना गरियो ।

आश्चर्य त बाघ नपाइने जिल्लाहरुबाट २१ वटा छाला बरामद भएका छन् । यसले बाघको छालाको अवैध ओसार–पसार भइरहेको पुष्टि हुन्छ । काठमाडौं र नुवाकोट जिल्लाबाट धेरै संख्यामा बाघको छाला बरामद हुनुले बाघको अवैध व्यापार संघीय राजधानीलाई नै केन्द्र बनाई चीन तथा अन्य मुलुकहरुमा पठाउने गरेको सहजै अनुमान गर्न सकिन्छ।

यो गोष्ठीमा नेपालले अवलम्बन गरेको स्थानीय समुदायदेखि प्रधानमन्त्रीसम्म सबैले एउटै उद्देश्य र लक्ष्यसाथ काम गर्ने हो भने वन्यजन्तु अपराध नियन्त्रणमा सफलता मिल्ने निचोड निकालियो । शून्य चोरी शिकारको लक्ष्य मुख्यतया समुदायको साथ, सरोकारवालाहरुबीच समन्वय, सफल अनुसन्धान तथा अभियोजन, नवीन प्रविधिको उपयोग, क्षमता वृद्धि तथा अवस्थाको मूल्याङ्कन गरी ६ पिल्लरमा काम गर्दा प्रभावकारी हुने सम्मेलनको निष्कर्ष थियो ।

नेपालको यही रणनीतिलाई अन्य मुलुकले पनि अनुसरण गरे । भुटान, केन्या, युगान्डा लगायतका मुलुकलाई शून्य चोरी शिकार रणनीति बनाउन विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले सहयोग पनि ग-यो । विश्वभरका रेन्जरहरुलाई नेपालले सफल अनुभव साट्न नवौं विश्व रेन्जर सम्मेलन एशियामै पहिलो पल्ट नेपालमा सम्पन्न भयो ।

चुनौतीको चाङ
नेपालमा बाघ संरक्षण सफल रुपमा अघि बढे पनि चुनौती सकिएका छैनन् । सन् २०१० देखि अहिलेसम्मका विभिन्न सरकारी निकायको आकडा केलाउने हो भने ४८ वटा बाघको छाला बरामद भएका छन् जसमध्ये पश्चिम तराईका जिल्लामा मात्र २३ वटा छाला बरामद गरिएको छ । यसले यी क्षेत्रहरु बढी संवेदनशील भएको प्रमाणित गर्दछ ।

मे, २०१८ मा मकवानपुरमा बरामद भएको बाघको छाला चितवन राष्ट्रिय निकुञ्जको बाघको भएको पुष्टि भयो । यस्तै सन् २०२० फेब्रुअरीमा दाङ्गमा बरामद भएको छाला बाँके राष्ट्रिय निकुञ्जको बाघको थियो । यी दुवै मारिनुअघि बाघ क्यामेरामा कैद भएका थिए । यी घटनाले नेपालका राष्ट्रिय निकुञ्जहरुमा बाघ चोरी शिकारको चुनौती सकिएका छैनन् भन्ने देखाउँछन् ।

अझ आश्चर्य त बाघ नपाइने जिल्लाहरुबाट २१ वटा छाला बरामद भएका छन् । यसले बाघको छालाको अवैध ओसार–पसार भइरहेको पुष्टि हुन्छ । काठमाडौं र नुवाकोट जिल्लाबाट धेरै संख्यामा बाघको छाला बरामद हुनुले बाघको अवैध व्यापार संघीय राजधानीलाई नै केन्द्र बनाई चीन तथा अन्य मुलुकहरुमा पठाउने गरेको सहजै अनुमान गर्न सकिन्छ ।


यो पनि पढ्नुहोस्— बाघः संख्यासँगै संरक्षणमा चुनौती  –कुन्द दीक्षित


वन्यजन्तुको अपराध नियन्त्रणमा सबै सरोकारवाला निकायहरुको सक्रियता र समन्वयबाट अपराधीहरु पक्रन सफलता मिले पनि मुद्दा अनुसन्धान र अभियोजन भने उति प्रभावकारी हुन सकेको छैन । बाघको चोरी शिकार तथा अवैध व्यापारमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्ने विभिन्न विधि ‘मोडस ओपे-यान्डी’ मध्ये पक्राउ गर्ने स्वयंले नै व्यापारीको रुप धारण गरी पैसाको मोलमोलाइ समेत गर्दा व्यापारका लागि बजारमा आएको आखेटोपहार लगायत संलग्न व्यक्तिहरुलाई पक्राउ र बरामद गर्न सफल भएको देखिन्छ ।

तर, चोरी शिकारीहरुको जालो राम्ररी नबुझेका सुराकी र आलाकाचा कार्यशैलीले बजारमा वन्यजन्तुको आखेटोपहारको कृत्रिम माग बढ्ने हुँदा बाघ मारिने र छाला बरामद हुने दृष्टान्त समेत पाइएका छन् । वन्यजन्तु अपराधका मुद्दाको अनुसन्धानको पक्ष कमजोर हुँदा कानूनी छिद्रहरु प्रयोग गरी अपराधीहरुले उन्मुक्ति पाउने र पुनः अर्को अपराधमा संलग्न भएका घटनाहरु पनि हाम्रा सामु छन् ।

तराईका जिल्लाहरुमा अस्थायी टेन्ट गाडेर बस्ने फिरन्ते बन्जाराहरु समेत बाघको चोरी शिकार तथा तिनका अङ्गको अवैध व्यापारमा संलग्न भएको फेला परेको छ । पटक–पटक यस्ता घटना बाहिरिंदा तिनीहरु बस्ने स्थान र गतिविधिमा थप निगरानी बढाउनु पर्ने देखिन्छ ।

वन्यजन्तु संरक्षणमा कोभिड १९ महामारीको असर पनि थालिसकेको छ । बन्दाबन्दी शुरु हुनु भन्दा अघिल्लो महीना अर्थात् गएको फागुनमा बाघ पाइने संरक्षित क्षेत्रमा अनधिकृत रुपमा राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको संख्या दुई सय ७१ थियो, जुन बन्दाबन्दी शुरु भएको चैतमा सात सय १७ पुग्यो। वैशाखमा एक हजार दुई सय ४८ र जेठमा एक हजार दुई सय ९५ मानिस अवैध रुपमा प्रवेश गरेको तथ्यांक छ ।

निकुञ्जमा यसरी मानवीय चाप बढ्दा वन्यजन्तु अपराधमा संलग्न व्यक्तिहरुले बेरोजगार स्थानीयलाई आर्थिक प्रलोभन र प्रभावमा पारी चोरी शिकार गर्न प्रोत्साहन गर्न सक्ने सम्भावना नकार्न सकिन्न ।

अबको बाटो
अनेक चुनौती हुँदाहुँदै पनि हाल अवलम्बन गरेका संरक्षणका साझा प्रयासलाई निरन्तरता दिने हो भने प्रतिबद्धता अनुसार नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुने देखिन्छ ।

तर, सत्य के पनि हो भने संरक्षणमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, सरकारी एवं गैरसरकारी निकाय, नागरिक समाज, स्थानीय जनता सबै सजग र चनाखो नहुने हो भने हाम्रो जंगलका बाघ कुनै पनि बेला संसारका लागि दुर्लभ हुनेछ ।

आज २९ जुलाई, विश्व बाघ दिवसका अवसरमा बाघ संरक्षणका प्रयासहरुलाई झनै मजबुत बनाउन सबैले थप प्रतिबद्ध हुनुको विकल्प छैन ।

(खड्का डब्लूडब्लूएफ नेपालसँग आबद्ध छन् ।)

यो पनि पढ्नुहोस्

पहाड चढ्दै पाटेबाघ  

बाघको आक्रमणमा आँखा गुमाएका भदै थारुः जो बाघकै संरक्षणमा जुटिरहेछन्

लालझाडीमा एउटा बाघ भेटियो, शुक्लाफाँटामा १७ वटा

थपिए ३७ बाघ

नेपालको उच्च स्थानमा पहिलो पटक भेटियो पाटे बाघ

‘मिनी चिडियाखाना’ मा चितुवादेखि सर्पसम्म (तस्वीरहरू)

• वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन सडक ‘पास’

प्रतिकृया दिनुहोस