कृषि पर्यटनबाट सम्भव छ नेपालको रूपान्तरण
सगरमाथा, लुम्बिनी वा पोखरा देखाएर मात्र पर्यटन क्षेत्रले फड्को मार्दैन। बहुसंख्यक र ग्रामीण भेगका जनताको जीवन धानिएको कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नसके देश समृद्धिको बाटोमा हिँड्नसक्छ।
नेपालका ६५ प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित छ। यसको मुख्य कारण यहाँको भौगोलिक अवस्था नै हो। कृषिमा लागेका अधिकांश जनता ग्रामीण भेगमा बस्छन्। त्यसैले कृषि विकासको लक्षित क्षेत्र गाउँ नै हुनुपर्छ।
२०१३ सालदेखि शुरू भएको योजनाबद्ध विकासले नेपालको रूपान्तरण कृषिबाटै सम्भव हुने देखिएको छ। विगतका १४ वटा आवधिक योजनाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखे पनि उपलब्धि हासिल गर्न सकिएको छैन। तर, कृषि विकास मन्त्रालय, विभाग, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, विकास साझेदार लगायतलाई लक्ष्य अनुरूपको प्रगति नहुनुका कारणको जानकारी नै छैन। अथवा जानकारी भएर पनि सम्बोधन र व्यवस्थापन गर्न नसक्नु लापरवाही हो।
कृषि प्रधान देशमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान ३१.७ प्रतिशत मात्रै छ। कृषि उत्पादनको आन्तरिक खपत र निर्यातको बजार सम्भावना प्रचुर भएको मुलुक आज युवाशक्ति विदेश पलायन गराएर विप्रेषणले चल्नुपरेको छ। यो विसंगति र विकृतिको कारण खोज्नुपर्छ। तर, कृषिको व्यावसायिक उत्पादन, बजारीकरण र त्यसमा प्रयोग हुने नेपाली श्रमको सही अध्ययन तथा विश्लेषण हुन सकेको छैन।
कृषिको पर्यटकीय विविधीकरण गर्दै केही व्यवस्थापकीय सुधारबाट समृद्धिको यात्रा सम्भव छ। त्यसकारण कृषि र पर्यटनलाई जोड्नुपर्ने आवश्यकता छ। जीडीपीमा पर्यटन क्षेत्रको योगदान मुस्किलले चार प्रतिशत छ। त्यस्तै, ६५ प्रतिशत कृषि, ३१.७ प्रतिशत रोजगार, २९.११ प्रतिशत विप्रेषणले धानेको छ।
गाउँघरको ऐँचोपैँचो गुजाराले हामी कहिले आत्मनिर्भर हुने? त्यसैले कम लगानीको कृषि–पर्यटन छोटो समयमै आम्दानीको राम्रो बाटो हुनसक्छ। कृषि–पर्यटनले स्थानीय रूपमैै रोजगारी सिर्जना गर्छ। स्थानीय स्रोतसाधनको पहिचान, उपयोग, परिचालन र बजारीकरण गर्छ। विकासले गति लिएपछि युवाशक्ति विदेशिनबाट धेरै हदसम्म रोकिन्छ।
कृषि–पर्यटनका आयाम धेरै छन्। नेपालको भू–संरचना र हावापानी समुद्री सतहबाट ६० देखि ८८४८ मिटर उचाइसम्म छ। त्यसैले संसारभरिका देशमा हुने अधिकांश कृषि तथा पशुपालन नेपालमा सम्भव छ। उत्तर र दक्षिणका मित्रराष्ट्रमा हाम्रो उत्पादनले राम्रो बजार पाउन सक्छ।
हामीमा जाँगर छ, आँट छैन। उत्पादन हुन्छ, बजार छैन। श्रमशक्ति छ, रोजगारीमूलक व्यवसाय छैन। पैसा छ, उद्यमशील सीप छैन। यस्ता समस्याको समाधानतर्फ योजनाविद् तथा विकासकर्मीहरू अनभिज्ञ देखिन्छन्। अब यो क्रम र भ्रम भंग हुनेछ।
सरकारले व्यवसायीहरूको समस्या बुझेर लगानी प्रोत्साहन, बजार व्यवस्थापन, बिचौलिया नियन्त्रण र गुणस्तरीय उत्पादनमा ध्यान पुर्याउनुपर्ने छ। तर, सरकार जनशक्ति विदेश पठाउन मित्रराष्ट्रहरूसँग श्रम सम्झौता गर्छ, विदेशमा सीप, शिक्षा र अनुभव हासिल गरेको श्रमशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने वातावरण र कार्यक्रम बनाउँदैन।
विगतमा कृषि विकासका लागि विदेशीको समेत प्रयास भए। ब्रिटिश सरकारको सहयोगमा कास्कीको लुम्लेमा र धनकुटाको पाख्रिवासमा, जर्मन सरकारको सहयोगमा तनहुँको खैरेनीटारमा, इजरायल सरकारको सहयोगमा नवलपरासी र बाँकेमा कृषि विकास तथा पशुपालनका प्रयास भएका थिए। साप्रोस नेपाल, सिप्रेट, नार्क आदि अनुसन्धान तथा प्रवद्र्धन गर्ने निकाय सक्रिय थिए। ठाउँ ठाउँमा खोलिएका बालीनाली तथा पशुविकास फार्म तथा मत्स्यपालन केन्द्रहरू नमूना बने। तर, व्यवसाय गर्न र बजारीकरणको ज्ञान सिकाउन सफल भएनन्।
अहिले सहकारी र निजी उद्यम व्यवसायले कृषिको आवश्यकता र महत्त्व बुझ्न थालेका छन्। सरकारले पनि व्यवसायीहरूको समस्या बुझेर लगानी प्रोत्साहन, बजार व्यवस्थापन, बिचौलिया नियन्त्रण र गुणस्तरीय उत्पादनमा ध्यान पुर्याउनुपर्ने छ। तर, यसमा सरकारको कमजोरी छ। सरकार जनशक्ति विदेश पठाउन मित्रराष्ट्रहरूसँग श्रम सम्झौता गर्छ, तर विदेशमा सीप, शिक्षा र अनुभव हासिल गरेको श्रमशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने वातावरण र कार्यक्रम बनाउँदैन।
श्रम मन्त्रालयमा हालसम्म कति युवाशक्ति विदेशमा के–के काम गरेर स्वदेश फर्केका छन् र के–कस्तो सहयोगको वातावरण सिर्जना गरियो भने उनीहरूलाई नेपालमै स्वरोजगारमा लगाउन सकिन्छ भन्ने तथ्यांक छैन। यद्यपि, विदेशबाट फर्केका युवाले स्वतस्फूर्त नयाँ उद्योग, व्यवसाय सुरु गर्न थालेका छन्। सरकारले लगानी वातावरण बनाइदिने, विदेशी बजारमा निर्यात हुनसक्ने गुणस्तरीय उत्पादन र बजार व्यवस्थापन गरिदिनेतर्फ पाइला चाल्नुपर्छ।
कृषि क्षेत्रको नयाँ उत्पादनले पर्यटकलाई आकर्षित गर्नसक्छ। कृषि–पर्यटनमा केही मौलिक उत्पादन हुन थालेका छन्। भक्तपुरको जुजु धौले चिनियाँ पर्यटक आकर्षित गरेको छ। नुवाकोटको रानीपौवा, ककनी र पोखराको भुजुङखोलामा ट्राउट माछा खान आन्तरिक पर्यटक पुग्न थालेका छन्। थकाली भान्छा र नेवारी खाजाले स्वदेशी तथा विदेशी पाहुना आकर्षित गरेको छ। कैलाली टीकापुरमा पाइने केराको झन्डै ४० थरीका व्यञ्जन, साँगाको लप्सीको माडा तथा दक्षिणकालीको खुवा पनि प्रसिद्ध छन्।
धरान, झापा, स्याङ्जा, कास्कीको बंगुर, पहाडी र हिमाली जिल्लाका सुन्तला र स्याउले आन्तरिक माग पूरा गर्नसकेका छैनन्। चीनमा रु.२ लाख पर्ने चौरी सीमामा क्वारेन्टिनको अभावले नेपालमा ६० र ७० हजारमा पनि बिकेको छैन। ट्रोफल, गुच्ची च्याउ, यार्चागुम्बा, किवी, एभोकाडो, चिउरीको घिउ लगायतको बजार खोज्न सकेका छैनौँ।
पर्यटन व्यवसाय भनेको मान्छेका पाँच वटा ज्ञानेन्द्रियको आकर्षण हो। आँखा, कान, जिब्रो, छाला र नाकमार्फत पर्यटकलाई तान्नुपर्छ। त्यसका लागि सुलभ, सहज, सस्तो, मिठो र सन्तुष्टि दिने उत्पादन हुनुपर्छ।
पर्यटन व्यवसाय भनेको मान्छेका पाँच वटा ज्ञानेन्द्रियको आकर्षण हो। आँखा, कान, जिब्रो, छाला र नाकमार्फत पर्यटकलाई तान्नुपर्छ। त्यसका लागि सुलभ, सहज, सस्तो, मिठो र सन्तुष्टि दिने उत्पादन हुनुपर्छ।
केरा प्रायः संसारभरि नै खाइन्छ। यो फल मात्र नभएर विभिन्न परिकार पनि बन्छ। केरा, यसको थाम, रेशा र बुङ्गोबाट चार दर्जन परिकार बनाउन सकिन्छ। हामी आलुको प्रायः तरकारी वा अचार मात्र बनाएर खान्छौँ। तर, आलुबाट दर्जनौँ परिकार बन्छन्। नेवारी संस्कृतिमा भैँसीको मासुको धेरै परिकार बन्छ। हामीले यस्ता स्थानीय ज्ञान र संस्कृतिमार्फत कृषि पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ।
भारतको दालजन्य पदार्थबाट उत्पादित हल्दिराम भुजियाले अन्तर्राष्ट्रिय बजार पाएको छ। चौधरी ग्रुपको वाईवाई चाउचाउले आन्तरिक र अन्तर्राष्ट्रिय बजार पाएको छ। दोलालघाट, मलेखु लगायत कर्णाली चिसापानीमा समेत भारतीय माछाले स्थान पाएका छन्। तर, स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सकिएको छैन। हाम्रा ६ हजार खोलानालामा त्युना, ट्राउट, प्राउन र राजबाम उत्पादनलाई प्रवद्र्धन किन नगर्ने? व्यवसायीले बँदेल भनेर कालो सुँगुर, धराने कालो बंगुर भनेर सेतो बंगुर मिसाएर पाहुनालाई आकर्षण गर्ने गरेका छन्। आन्तरिक पर्यटकले भ्रमित स्वाद लिनुपरेको छ।
जातीय भेषभुषा, परम्परा, कला र संस्कृतिले थारू होमस्टेहरूमा पर्यटकको घुइँचो लाग्ने गरेको छ। दालभात, साग, मासु र अचार प्रायः सबैको भान्छामा पाक्ने गर्छ। तर, थकालीको आतिथ्यकला र गलाले किन मोहनी लगाउँछ? यसको राज बुझ्नैपर्छ। ललितपुर च्यासलको २२ थरीको राँगाका परिकारका व्यञ्जन, होनाचाको पिरो आलु र छ्याङ, धोबीघाट श्याम दाइको हाँसको छोइला पसल कृषिमा आधारित व्यवसाय हुन्।
नारायणघाटस्थित भेटघाट रेस्टुरेन्टको तास (खसीको मासुको आइटम) आज काठमाडौंमा साम्राज्य फैलाउँदै छ। यस्ता प्रकारका व्यवसाय, उत्पादन र गन्तव्य अरू पनि छन्। यसले कृषि पर्यटन र बजारीकरणको सम्भावना देखिएको छ। अब कृषि पर्यटनको विविधीकरणको पनि जरुरी छ। कृषि व्यवसाय शहरमा पनि हुन्छ। तर, कृषि पर्यटनको गन्तव्य प्रायः ग्रामीण भेग हुने हुनाले गाउँको विकासमा यसले टेवा पुर्याउँछ।
कृषि पर्यटनका लागि नेपालको पहिचान झल्कने मौलिक परम्परालाई पनि प्रयोग गर्नुपर्ने हुन्छ। स्थानीय सीप र ज्ञानको समुचित प्रयोग गर्नुपर्छ। कच्चा पदार्थ त गाउँकै प्रयोग हुने भइहाल्यो। तर, हाम्रो सोच र काम गर्ने तरिकामा परिवर्तन आउनु जरुरी छ। कृषि पर्यटन प्रवद्र्धनका लागि उपयुक्त वातावरण बनाउने काम सरकारको हो भने उद्यम, व्यवसाय सञ्चालन गर्ने काम निजी क्षेत्रको हो। कृषि पर्यटनबाटै नेपालको रूपान्तरण सम्भव छ।