कृषिमा व्यावसायिक घरानाः संभव होला कृषिजन्य उत्पादनको निर्यात ?
![कृषिमा व्यावसायिक घरानाः संभव होला कृषिजन्य उत्पादनको निर्यात ?](https://www.himalkhabar.com/uploads/posts/800X600/page-8-9c-1_1600960019.jpg)
कृषिमा आधुनिक प्रविधि र तौरतरिकासहित भइरहेको ठूला व्यावसायिक घरानाको प्रवेशले व्यावसायिक खेतीको दायरा फराकिलो पार्दैछ। तर, नेपाली कृषि उपजलाई निर्यातमुखी बनाउन कृषियोग्य भूमिको सदुपयोग गर्ने सहज व्यवस्थासँगै अरु कैयौं काम गर्न बाँकी छ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रु.२ खर्ब ४३ अर्बको कृषिजन्य उत्पादन आयात भयो। अघिल्लो आव २०७५/७६ को तुलनामा गत वर्ष रु.१९ अर्बले कृषि उत्पादनको आयात बढ्यो। दुईतिहाइ जनता कृषिमै आश्रित देशमा कृषि उत्पादनका लागि भने विदेशीको भर पर्नु परिरहेको छ।
बढ्दो आयात र परनिर्भरतालाई केही हदसम्म भए पनि कम गर्न व्यावसायिक घरानाले कृषिमा लगानी शुरु गरेका छन्। कृषि उत्पादनमा संम्भावना देखेरै लगानी थालेको आईएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा बताउँछन्। आईएमएस ग्रुपले कृषि उत्पादनलाई खाडी मुलुकसम्म पुर्याउने उद्देश्य राखेर दीर्घकालीन रणनीतिसहित लगानी गरेको हो।
नयाँ र आधुनिक प्रविधिमार्फत कृषिमा लगानी गर्न यो क्षेत्रमा प्रवेश गरेको मलहोत्राको भनाइ छ। उनी भन्छन्, “शुरुआती चरणमा युएई र कतारमा कृषि उत्पादन निर्यात गर्ने उद्देश्य राखेर लगानी थालेका हौं।”
आईएमएस एग्रोको नामबाट उनीहरुले अहिले सुनसरीमा २५ विगाहा जग्गामा कागती, स्टबेरी, मेवा, धान, गहुँको खेती शुरु गरेका छन्। “यो वर्ष शुरुआत मात्रै भएकाले आगामी वर्ष रणनीति बनाएर पूर्वदेखि पश्चिमसम्म नै विस्तार गर्ने योजना छ” उनी भन्छन्, “कोरोना महामारीपछि विदेशीमा रोजगारी गुमाएका युवा स्वदेश फर्कन थालेका छन्। यही वेला कृषिमा उत्साह थपेर भविष्यमा विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने भएकाले पनि यो क्षेत्रलाई प्राथमिकता दिनुपर्छ।”
व्यावसायिक घरानाको पहिलो लगानी कफी खेतीमा
कफी खेतीमा होमिने पहिलो व्यावसायिक घराना ज्योति समूह हो। ज्योति समूहले सन् २००३ मा नेपालबाट जम्मा १०० किलो कफी विदेश निर्यात गर्दा देखेको यो व्यवसायको सम्भावनालाई सन् २००८ देखि भने औपचारिकता दियो। ज्योति समूहका निर्देशक सौरभ ज्योति भन्छन्, ‘‘पहिलो पटक विदेशी विशेषज्ञबाट स्थलगत निरीक्षण गरेर व्यावसायिक खेती शुरु गरेका कारण अहिले त्यसले सकारात्मक नतिजा दिइरहेको छ।’’
नेपाली कफीको माग विदेशमा बढ्दो थियो। त्यसैले निर्यातका लागि आन्तरिक उत्पादन बढाउन सन् २००८ मा कास्कीको निर्मलपोखरीमा कफी खेती शुरु गरेको ज्योति सम्झन्छन्।
अहिले त्यो गाउँ र वरपरका थप दुई गाउँका १०० भन्दा बढी कृषक कफी खेतीमा लागेका छन्। ज्योति समूहले वार्षिक एक हजार किलो मात्रै कफी उत्पादन गर्छ। तर, यो समूहले दिएको तालिम, उत्प्रेरणा र बजार सुनिश्चितताले अहिले वार्षिक तीन हजार किलो कफी एउटै क्षेत्रबाट संकलन गर्न सकिएको उक्त समूहले जननाएको छ।
यो समूहले जापानमा कफी निर्यात गर्छ। त्यसैले जापानबाटै विशेषज्ञ ल्याएर खेती गर्न सिकाएपछि कास्कीको निर्मलपोखरी कफीको पकेट क्षेत्र भएको छ। अहिले यसको विस्तार लमजुङमा पनि हुन थालेको सौरभ ज्योति बताउँछन्। नेपालमा उत्पादन हुने अराविका जातको कफीलाई जापानमा हिमालय अराविका ब्राण्डबाट चिनाइएको छ।
नेपालमा सन् १९९५ बाट कफी खेती सुरु भएको हो। तर,सानो समूहमा उत्पादन हुने र बजारीकरण गर्न समय लागेको कारण नेपाली कफीको ब्राडिङमा गर्न ढिलो भएको कफीविज्ञ डा. राजकुमार बन्जारा बताउँछन्।
उनी भन्छन्, ‘‘लागत मूल्य बढी लाग्ने, मेसिनको प्रयोग नहुने र अर्गानिक हुने भएकोले नेपालको कफीलाई अन्तर्राष्ट्रिय बजारमा रुचाइन्छ।” उनका अनुसार फ्रान्समा सन् २०१६ मा भएको एक प्रतियोगितामा नेपालको कफी उत्कृष्ट ठहरिएपछि जति उत्पादन गरे पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने अवस्था बनेको छ। अहिले नेपालमा वार्षिक पाँच लाख किलो कफी उत्पादन हुने उनले जानकारी दिए।
‘कृषि व्यवसाय सहजीकरण गर्ने कानून आवश्यक’
करीब एक शताब्दीको औद्योगिक व्यावसायिक विरासत भएको गोल्छा समूहले कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले लगानी गरिरहेको छ। गोल्छा अर्गनाइजेशनले ‘अरिहन्त कृषि फर्म तथा रिसर्च सेन्टर’ मार्फत सुनसरीमा कृषिको काम गरिरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपालमा व्यावसायिक कृषिको सम्भावना भए पनि उपयुक्त कानून बनाउनुपर्ने बताउँछन्। नेपालको कृषिमा यान्त्रीकरण गर्न नसकिएको तथा तराई र पहाडी क्षेत्रमा हुने कृषि उपजलाई व्यावसायिक ढंगबाट लैजान नसकिएको उनको भनाइ छ।
मुख्य खाद्यान्न धानमै आत्मनिर्भर हुन नसकिएको अवस्थामा यसलाई निर्यात गर्ने अवस्थासम्म पुग्न गाह्रो हुन्छ। तर, अन्य नगदे बाली अलैंची, चिया, अदुवासहितका उत्पादन बढाउने र अन्य नयाँ उत्पादन खोजी गरी निर्यात गर्न सकिने संभावना रहेको उनी बताउँछन्। “दीर्घकालीन योजना बनाउन र व्यवसायलाई सहजीकरण गर्न सघाउन कानून परिवर्तन गरी कृषि पूर्वाधारमा लगानी बढाउन हो भने नेपालले लाभ लिन सक्छ”, उनी भन्छन्।
विदेशमा कृषि कर्म गर्न होमिने युवापुस्तालाई नेपालमा भने त्यही कामका लागि अड्याउन सकिएको छैन। व्यावसायिक कृषिका परियोजना प्रशस्त आउन नसक्नु यसको काराण भएको गोल्छा बताउँछन् ।
अर्को व्यावसायिक घराना वैद्य अर्गनाइजेशले दुई दशकअघि शुरु गरेको चिया व्यवसाय सन्तोषजनक मात्रै भएको छ। अर्गनाइजेशनका अध्यक्ष सुरज वैद्य व्यावसायिक कृषिमा नीतिगत समस्या र जग्गा व्यवस्थापन नै प्रमुख चुनौती भएको बताउँछन्। चिया खेतीबाहेक यो अर्गनाइजेशनले अन्य कृषि उत्पादन शुरु गरेको छैन।
यस्तै, व्यावसायिक घराना गोल्यान ग्रुपले एक वर्षअगाडिबाटै कृषिमा औपचारिक प्रवेश गरेको हो। गोल्यान एग्रोबाट कृषिमा होमिएको यो समूहले झापामा ५०० विगाहा क्षेत्रफलमा विभिन्न खेती गरेको छ। गोल्यान ग्रुपमा अध्यक्ष पवन गोल्यान कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउँछन्।
बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले सुनसरीमा गरिरहेकाे आधुनिक खेती प्रणाली अन्तर्गत धान हार्भेष्टिङ गरिंदै ।आन्तरिक उडानको अगुवा कम्पनी बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत पनि कृषिमा जोडिएका छन्। मोरङको डाँगीहाटमा रहेको नेपाल कृषि कम्पनीमा उनले चलाएको आधुनिक खेती प्रणाली अन्य कर्पोरेट संस्थाका लागि नमूना बनिरहेको छ।
कृषि वैज्ञानिक मनोज ठाकुर कृषिलाई व्यवसायीकरण गर्न नसक्दा सम्भावना भएर पनि यो क्षेत्र पछि परेको बताउँछन्। निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन नसकिएको उनी बताउँछन्। उनी भन्छन्, “जबसम्म सिंचाइ, सहुलियतमा ऋण, बजारीकरण, उचित मूल्य पाउने सुनिश्चितता हुँदैन तबसम्म किसानले जति मिहिनेत गरे पनि उपलब्धि नदेखिने अवस्था हुन्छ।”