टिप्पणी विहीबार, असार ४, २०७७

अबको आन्तरिक पर्यटन: यी हुन् महामारीमुक्त दुर्गम गन्तव्य

हिमालखबर

अबको आन्तरिक पर्यटन: यी हुन् महामारीमुक्त दुर्गम गन्तव्य
रातमा गाेसाइँकुण्ड । तस्वीर: येभेन सामुचेन्कोले \नेपाली टाइम्स

नेपालको ग्रामीण पर्यटन विकास सहज र सुनिश्चित छ । तर हिजोको जस्तो पर्यटक सहजै र छिट्टै आउँछन् भन्ने छैन । त्यसैले महामारीबाट मुक्त दुर्गम गन्तव्यहरूको प्रचार र प्रवर्द्धन गर्नुपर्छ ।

प्रा.डा. प्रेम शर्मा

कोभिड–१९ को महामारीले विश्वव्यापार र भूमण्डलीय पर्यटन गतिविधिमा नराम्रो असर पार्‍यो । यसको असर सन् १९३० को दशकको आर्थिक मन्दी बराबर हुने देखिएको छ । यो महामारीबाट पश्चिमा धनी मुलुकको तुलनामा पूर्वीय मुलुक कम प्रभावित छन्।

रेमिटेन्समा निर्भर हाम्रो मुलुकले निकट भविष्यमा आय आर्जन तथा रोजगारीको माध्यम परिवर्तन गर्नुपर्ने हुन्छ । युवा जनशक्ति देशभित्रै रहेपछि अबको वैदेशिक रोजगार, शहर केन्द्रित पर्यटन र उपेक्षित एवं गुजारामुखी मात्रै बनेको कृषि व्यवसायमा आमूल परिवर्तन हुनसक्छ।

वैदेशिक रोजगारीमा गएका एक तिहाइ नेपाल फर्कने अनुमान छ । त्यसैले यी युवाशक्तिसँग भएको अनुभव, सीप र ज्ञानलाई गाउँठाउँमै व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम बनाउनुपर्छ। यसले स्थानीय स्तरमा रोजगार सिर्जना र गुणस्तरीय उत्पादनको बजार प्रवद्र्धन गर्छ। आन्तरिक पर्यटन उठाउन पनि साथ दिन्छ।

कृषि उत्पादनलाई वृद्धि गर्दै जान सकियो भने आयातमुखी अर्थतन्त्रमा खाद्यान्नको हिस्सा कम गर्न सकिन्छ । हाम्रो भूमि विश्वका जुनसुकै मुलुकमा उत्पादन हुनसक्ने प्रायः कृषिजन्य सामग्री उत्पादन हुने खालको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको योगदान ३.७ प्रतिशत छ । तर यो योगदान अब केही समय थाती राख्नुपर्ने भएको छ । अहिले ठप्प रहेको पर्यटन क्षेत्र अझ केही समय चलायमान हुन सक्दैन।

मनाङ गाउँबाट देखिने पुरिंदै गएको गंगापूर्ण ताल । 

याे पनि हेर्नुहाेस् – मनाङको मोहनी

बाह्य पर्यटकको आगमन नहुँदा काठमाडौं, पोखरा, लुम्बिनी, सगरमाथा, लाङटाङ सहितका पर्यटकीय क्षेत्र बढी प्रभावित छन्। अब सरकार निजी क्षेत्रसँगको समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ। खासगरी पर्यटन व्यवसायीहरू महामारीबाट मुक्त दुर्गम गन्तव्यहरू मनाङ, मुस्ताङ, रसुवा–लाङटाङ, मुगु, हुम्ला जस्ता क्षेत्रको पर्यटकीय आकर्षण बढाउन लाग्नुपर्छ। सरकारी सोच, योजना तथा कार्यक्रम र नीतिहरू ग्रामीण पर्यटन केन्द्रित हुनुपर्छ।

नेपाल प्रकृति र संस्कृतिले सम्पन्न मुलुक भएकैले यहाँ वर्षैभरि पर्यटकीय आकर्षण हुनसक्छ । सगरमाथा, लुम्बिनी र हिन्दू धर्मका अन्य केन्द्र, १२५ जातजाति, १३० भाषाभाषी र संस्कृतिलाई नै पर्यटनमा जोड्न सकिन्छ। विश्व मानचित्रमा गोरखाली वीरता पहिचान दिने नेपालीदेखि घुमन्ते फिरन्ते कुसुन्डा र राउटेहरूसँग रहेको भेषभूषा, संस्कृति पनि पर्यटन आकर्षण गर्ने माध्यम हुन् । त्यसैगरी हुम्लास्थित लिमी उपत्यकाको संस्कृति एउटा जिउँदो सङ्ग्रहालय हो । लिमी उपत्यकाको अध्ययन गरेर केही यूरोपेलीले विद्यावारिधि पनि हासिल गरिसकेका छन्।

बाह्य पर्यटकको आगमन नहुँदा काठमाडौं, पोखरा, लुम्बिनी, सगरमाथा, लाङटाङ सहितका पर्यटकीय क्षेत्र बढी प्रभावित छन् । अब सरकार निजी क्षेत्रसँगको समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नुपर्छ। खासगरी पर्यटन व्यवसायीहरू महामारीबाट मुक्त दुर्गम गन्तव्यहरू मनाङ, मुस्ताङ, रसुवा–लाङटाङ, मुगु, हुम्ला जस्ता क्षेत्रको पर्यटकीय आकर्षण बढाउन लाग्नुपर्छ। सरकारी सोच, योजना तथा कार्यक्रम र नीतिहरू ग्रामीण पर्यटन केन्द्रित हुनुपर्छ।

साताको ५०० अमेरिकी डलर खर्चेर उपल्लो मुस्ताङ, डोल्पा, विभिन्न राष्ट्रिय निकुञ्ज सहितका क्षेत्रमा विदेशीहरू पुगिरहेका छन् । यहाँका पर्यटकीय गन्तव्यलाई विदेशी सञ्चारमाध्यम लोन्ली प्लानेटले ‘वान इज दी टेन फ्यामस डेस्टिनेशन’ भनेर चिनाउनुपर्ने अवस्था छ।

याे पनि हेर्नुहाेस् – मुदित मुस्ताङ (भिडियाेसहित)

मुस्ताङ जाने बाटाे । तस्वीर: हिमाल आर्काइभ/भरतबन्धु थापा

यस्ता गन्तव्य, संस्कृति र प्रकृतिलाई सरकार र पर्यटन व्यवसायीले चिनाउने समय आएको छ । यी ठाउँमा कोरोनाभाइरस र विश्व महामारीको प्रभाव छैन । सरकारले माथिल्ला हिमाली क्षेत्रलाई ‘पर्यटक सुरक्षित गन्तव्य’ घोषणा गर्न सक्छ । त्यस अनुसार नीति र रणनीति तय गर्नुपर्छ । सरोकारवाला तथा स्थानीय सरकार यस्ता पर्यटकीय स्थलको प्रवद्र्धनमा लाग्नुपर्छ।

नेपालको ग्रामीण पर्यटन विकास सहज र सुनिश्चित छ । तर हिजोको जस्तो पर्यटक सहजै र छिट्टै आउँछन् भन्ने छैन । त्यसैले सरकारले पर्यटनमैत्री व्यावसायिक वातावरण निर्माण गर्दै जानुपर्छ । यसका लागि आवश्यक नीति, योजना, कार्यक्रम, रणनीति र भौतिक एवं मानवीय पूँजीको प्रवद्र्धन गर्नुपर्छ । ग्रामीण क्षेत्रमा पूर्वधार विकास गर्नै पर्छ।

पर्यटन निजी क्षेत्रको व्यापार पनि हो । यसबाट व्यक्ति र समुदायले फाइदा उठाउँछन् । सरकार र आम नागरिकलाई यसबाट प्रत्यक्ष एवं अप्रत्यक्ष फाइदा हुन्छ । पर्यटन व्यवसाय सौखिन मानिसका पाँच ज्ञानेन्द्रियहरूलाई सन्तुष्ट बनाउने व्यापार पनि भनिन्छ।

पर्यटनलाई व्यापारको कलाका रूपमा बुझ्न सक्छौं । यो व्यापार र कलालाई भरपूर उपलब्धि दिन हाम्रा गाउँ आकर्षक केन्द्र सावित भइसकेका छन् । स्थानीय सरकारले व्यक्ति, समुदाय र उद्यमशील व्यवसायीलाई शिक्षा, ज्ञान, अनुभव, सीप प्रदान गरी आतिथ्यकलाले भरिपूर्ण गराउँदै जानुपर्छ । व्यापक प्रचारप्रसार र बजारीकरण गर्नुपर्छ।

अपार पर्यटकीय संभाव्यताहरू छन् भनेर बस्दैमा पर्यटक आउँदैनन् । यसका लागि वातावरण बनाउनुपर्छ । पर्यटकीय वस्तु र गन्तव्यलाई अधिकतम उपयोगमा ल्याउनुपर्छ । यसका लागि गाउँ–गाउँमा स्थानीय सरकारले होमस्टे, पथप्रदर्शक, आतिथ्य कलाको तालिम, उपहार/कोसेलीहरू पठाउने आफ्नै सीप, उद्यम व्यावसायिक तालिम, पाक शिक्षा, स्वास्थ्य एवं सुरक्षा शिक्षामा जोड दिनुपर्छ।

पर्यटन निजी क्षेत्रको व्यापार पनि हो । यसबाट व्यक्ति र समुदायले फाइदा उठाउँछन् । सरकार र आम नागरिकलाई यसबाट प्रत्यक्ष एवं अप्रत्यक्ष फाइदा हुन्छ । पर्यटन व्यवसाय सौखिन मानिसका पाँच ज्ञानेन्द्रियहरूलाई सन्तुष्ट बनाउने व्यापार पनि भनिन्छ।

धेरै नेपालीले विगतमा विदेशमा रहेर सिकेका अनुभव र शिक्षालाई हाम्रो देशको आर्थिक पुनःनिर्माणमा लगाउने वेला भएको छ। यसका लागि आवश्यक योजना, रणनीति र कार्यक्रम तयारी गर्नुपर्छ। नेपालले हालसम्म आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठोस कार्यक्रम र योजनाहरू ल्याउन सकेको छैन।

गत वर्ष गण्डकी प्रदेशले ‘आन्तरिक पर्यटन वर्ष २०१९’ घोषणा गरेर केही प्रचारप्रसार गरेको थियो । प्रत्येक स्थानीय तहले आ–आफ्नो क्षेत्र, प्रदेशको प्रवद्र्धनमा यस्तो कार्यक्रम ल्याउनुपर्छ । आ–आफ्नो प्रदेशका र अन्तर स्थानीय तहबीच मौजूदा पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्छ । व्यावहारिक नीतिका साथ– पहिचान, अध्ययन, अनुसन्धान, संरक्षण एवं संवद्र्धन गर्ने स्पष्ट कार्यक्रम चाहिन्छ ।

८० प्रतिशतभन्दा बढी गाउँले भरिएको नेपालमा ६५ प्रतिशतभन्दा बढीको रोजगारी क्षेत्र कृषि हो । कमजोर अर्थतन्त्रको सुधार गर्ने पहिलो प्राथमिकता कृषि र कृषि पर्यटनलाई व्यावसायिक बनाउने हो । शहरदेखि गाउँसम्म रोजगारी विकासमा पर्यटन व्यवसायले योगदान गर्ने हुँदा यसको दिगो विकासका लागि राज्यले नै पहल लिनुपर्छ।

(लेखक ग्रामीण पर्यटनका जानकार हुन् ।)

प्रतिकृया दिनुहोस