ब्लग शनिबार, साउन ३, २०७७

धुमधाम नाम कमाएर गइन् सानीमैया

रुपा जोशी

धुमधाम नाम कमाएर गइन् सानीमैया
११ वर्षमा विवाह हुँदा र कलेज पढ्ने बेला अ‌ंगुरबाबा जाेशी ।

मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की–अड्की, दोहोर्‍याई तेहेर्‍याई पुराना कुरा गर्नुहुन्छ। गएको ६ असारमा मुवाले ७८ वर्षअघि भित्र्याएकी बुहारी ‘सानीमैया’ (मेरी सासू अंगूरबाबा जोशी) स्वर्गे हुनुभयो। मुवाले बुहारी बितेको कुरो थाहा पाउँदा “उनी भाग्यमानी रैछन् !” भन्दै रुनुभएको थियो। ११ वर्षकै उमेरमा बुहारी बनेर भित्रिनुभएकी सानीमैयाबारे मुवाले साह्रै गाह्रो मानेर कुरा गर्नुभयो। दुःखको घाउ धेरै कोट्याउन पनि उचित ठानेनौं। मुवाको सम्झना उहाँकै शब्दमाः

रूपा जोशी

बिहे गर्ने बेलामा सानीमैया (बुहारी अंगूरबाबा जोशी) ११ वर्षकी थिइन्। धुमधाम राम्री। गोरी, ठूलाठूला आँखा। सब कुरा राम्रो, मिलेको थियो। लुगा पनि राम्रोसँग लाउँथिन्। कपाल घुम्रेको जस्तो थियो, त्यो पनि चट्ट मिलाएको हुन्थ्यो। टक्क पारेर फूल पनि लगाउँथिन्। बानी राम्रो थियो। मान्छे सारै बेस, सबको भलाइ गर्ने। सबैलाई माया गर्ने। त्यस्तो भएर पनि कसरी मरिहालिन् !

मेरो छोरा बल्लाम (बलराम जोशी) पनि राम्रो थियो। बल्लामको बिहेमा सबै खर्च बुवाले गरिबक्स्यो। ससुरा र सौतेनी सासू बनारसमा बस्ने तर, बिहे काठमाडौंमै गरियो। जोईपोई एकदम मिलेका थिए। सबैतिर सँगसँगै पढ्न गए।

बलराम जाेशीका साथ अंगुरबाबा ।

१९ वर्षमा सानीमैयाले छोरो पाइन्। म नाति पाएर दंग त हुने नै भएँ नि ! मेरो बुहारीलाई ढोकाटोलमा सबैले कस्तो माया गर्थे। बुवा र मुवाले एकदमै मन पराउने। उनले पकाएको पनि बुवा, मुवा र सबलाई मन पथ्र्यो। मीठो पकाउँथिन्। मसँग बिन्दा (बैनी बिन्दा शाक्य) बस्ने हुनाले बिन्दा र सानीमैयाको खूब मिल्ती थियो। रमाइला दिन थिए।

डिल्लीबजारको पुरानो घर रद्दी झुत्रे छाप्रे थियो। तीन तलाको। त्यसैले पछि डिल्लीबजारमै मैले छुट्टै घर बनाएँ। घरको नक्शाहरू भएको किताब थियो। अनि बुवाले पनि यसरी यसरी बनाउनु भनेर मर्जी पनि भाथ्यो। कस्तो राम्रोसँग बनाएकाथ्यौं। सबै कोठामा घाम आउँथ्यो।

याे पनि पढ्नुहाेस्– बुहारीको सम्झनामा अंगुरबाबा जोशीः सासू हैन गुरु

बुवाले हामी छोरीहरूलाई घर बनाउन सुन दिबक्सेको थियो। बुवालाई मेरो घर एकदम मन परेर पछि त एक महीना आएर राज पनि भयो। मैले डिल्लीबजारमा घर बनाएपछि त्यै घरबाट बल्लामको बिहे भयो। त्यै घरमा सानीमैयालाई भित्र्याएको हो।

मैले त उनलाई छोरी जस्तै गरेर राखेकी थिएँ। बुहारी जस्तो देख्ने थिइनँ। आफ्नै छोरी जस्तो गरेर माया गर्थें पछिसम्म पनि। बिहे गरेर आउँदा त म नै उसलाई ‘आउ बा’ भनेर कपाल चुल्ठी पारिदिने, लुगा फेरिदिने गर्थें। बाहिर जाने बेलामा वा तामदानमा उनको माइत जाने बेलामा सिंगारपटार पार्ने गौरी भन्ने थिई, उनले गर्थिन्। पाउडर, लिपिस्टिक, गाजल लाउने हो। नमिलेको जति म मिलाइदिन्थें।

अंगुरबाबा जाेशीले महिला संगठनमा व्यस्त भएर काम गरिन् (बायाँ) र सम्मान ग्रहण गर्दै । 

शुरूमा उनको काम जम्मै गरिदिन्थें। उनलाई पढ्नुपथ्र्यो। ढोकाटोलमा उनलाई पढाउने मान्छे आउँथे। ‘तिमी पढ’, भन्थें। म यस्तो बनाउँछु मेरो बुहारी ठानेकी थिएँ, बुहारीलाई त्यस्तै बनाएँ। मलाई एकदम सुख, आनन्द भयो, बा।

स्वास्नीमान्छेले त झन् पढ्नुपर्छ भनेर सानीमैयालाई पढ्न लगाएँ। पढिन् पनि। पहिला त बनारस पढ्न गइन्, अनि पछि बेलायत। बल्लामले बेलायत पढ्न जाने बेलामा सानीमैयाले पाएकी थिइनन्। पछि फेरि पाइन्। अनि दुवै जना गए। अनि नातिनातिना मैले स्याहारें। मैसँग बस्थे बच्चाहरू।

उनीहरू फर्केर आउने बेलामा घरमा ठाउँ अलि सानो भएकोले मिलाएँ। मैले सानीमैया र बल्लामलाई ‘तिमीहरू जोईपोई दुवै जना सँगसँगै गएर पीएचडी गर्नुपर्छ’, भनेकी थिएँ। आखिरमा दुवैले गज्जब पढे। मेरो इच्छा पुगिहाल्यो। यहाँ सानीमैया जति पढेको अरू स्वास्नीमान्छे थिएनन्।

सानीमैया बेलायतबाट पढेर आएपछि एकदमै काम गरिन्। घरमा बस्ने नै होइन। गजब गरिन्। बेलायतमा पढेर सबै थाहा पाएकी थिइन्, अनि त खूब फाइदा भयो नि। पद्मकन्यामा राम्रो पोजिशन थियो उनको। पद्मकन्यालाई कस्तो राम्रो तुल्याइन्। हजारौं केटीहरूलाई पढाइ दिएर सब स्वास्नीमान्छेको उन्नति हुने काम गरिन्। सबलाई एकनासको लुगा लगाउने बनाइन्। नत्र कसैले के, कसैले के लगाउने। पढाउनेहरूले पनि अरू लगाउन नपाउने गरिन्। राम्रो काम गरेर गइन्। अरूले त्यस्तो गरेका थिएनन्। पढेर आएकी बुहारीले त्यो सबै गरेको देख्दा मलाई धुमधाम रमाइलो लाग्थ्यो, गर्व लाग्थ्यो।

अंगुरबाबा– श्रीमान्‌ले दु:ख दिएकाे र हेला गरेका कारुण दु:ख पाएका पत्नी र छाेराछाेरीहरुलाई मद्दत गर्ने र उनीहरुका हक, अधिकारका लागि लड्ने गर्थिन् ।

अनि महिला संगठनमा पनि खूब राम्रो गरिन्। पूरै व्यस्त। बिहान सबेरै निक्लिन्थिन्, बेलुका आउने। खान पनि फुर्सद नहुने। ओहो ! धेरै दुःख गरिन्। स्वास्नीमान्छेलाई जे फाइदा हुन्छ, त्यै गर्थिन्। पोइले दुःख दिएको, हेलाँ गरेको त्यस्ता स्वास्नीमान्छेलाई मद्दत गर्थिन्। उनीहरूका लागि लड्थिन्। उनीहरूलाई बुन्ने, सिउने तालिम लिन लगाउँथिन्। छोराछोरीलाई पढाउन मिलाइदिन्थिन्। मेला पनि गर्थे। फेरि डिल्लीबजारमा दुःखी स्वास्नीमान्छे कति आउँथे कति ! उनीहरूलाई चियासिया सब खुवाउनुपथ्र्यो। खुवाउने काम लक्ष्मी र अर्की मान्छेको थियो।

त्यतिबेला माहिली महारानी असाध्यै डाहा गर्ने, त्यो बाहुनकी छोरीले के के गरिन् भनेर। अनि काम भाँड्न खोज्ने। उनको बानी खराब थियो। यस्तो डाहाडे मान्छे। सानीमैयाले त टक्कर दिइहालिन् नि। उनी कसैसित डराउन्नथिन्। राम्रो काम गर्नेलाई के को डर ?

अ‌ंगुरबाबा जाेशीले पद्मकन्या कलेजलाई व्यापक सुधार त गरिन् नै कलेजमा वर्गीय असमानता नदेखियाेस् भनी एउटै पहिरन लगाउनुपर्ने थिति बसालिन् र त्याे नियम शिक्षकका लागि समेत लागू गरिन् ।

दरबारमा शाहजादीहरूलाई (राजा महेन्द्रका छोरीहरू) पनि पढाउन जान्थिन्। दरबारैबाट मोटर लिन आउँथ्यो। पैसा पनि दिन्थे। पछिकी रानीलाई (त्यतिबेलाकी चाँदनी राणा) पनि कलेजमा पढाइन्। मलाई पनि रमाइलो लाग्थ्यो।

तारा गाउँमा त मुख्य उनै थिइन्। के के गरिन् मलाई भन्न आउँदैन, बा। मोटर दिएको थियो। फुर्सदै हुन्नथ्यो उनलाई। उनी त मन्त्रीभन्दा पनि माथि थिइन्। धेरै राम्रो पोस्ट थियो। राष्ट्रिय पञ्चायतमा पनि थिइन्।

पछि प्राइज पनि खडा गरिन् (डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार)। सबले कति तारिफ गरे। सानीमैयाको मान धेरै ठूलो थियो।

सानीमैया काममा व्यस्त भएको बेला बल्लाम पनि त्यस्तै पढाउने काममा व्यस्त हुन्थ्यो। बच्चाबच्ची हेर्न मान्छे राखेको थियो।

समाजसेवीका रुपमा र विदेश भ्रमणका क्रममा अंगुरबाबा जाेशी ।

उनी त ठाउँ ठाउँ घुमेकी थिइन्। सबतिर गएकी थिइन्। चाइना, रसिया ससिया सबतिर गएकी।

मैले धेरैअगाडि दशैंमा सानीमैयालाई मन्त्र सुनाएकी थिएँ। मलाई माया गर्थिन्। मैले भनेको सबै ‘हस्’ भनेर गर्थिन्। मैले बुन्न सिकाएँ। अनि त बच्चाको स्वेटर, लुगाहरू सब बुन्थिन्। सिउन पनि सक्थिन्।

उनी त असाध्य धर्मात्मा थिइन्। म त त्यस्तो धर्मात्मा होइन। सारा दुःख परेकालाई उद्धार गर्दै जाने, सपार्दै जाने, धर्म गरेको त हो नि ! जे होस् नाम गज्जब कमाइन्।

सानीमैया कसरी बितिन् कसरी, केही थाहा भएन। ज्यास्ती काम गर्थिन् पहिला, त्यसैले सञ्चो भएन। के बिरामी थियो, अस्पतालमा राखे। दुःख भयो धेरै। अनि खत्तम भइन्। मेरो मनमा साह्रै दुःख आउँछ, बा। केही भन्नै सक्दिनँ। घर धुमधाम शून्य भयो। उल्टो भयो...

(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)

याे पनि पढ्नुहाेस्– के थिइनन् अङ्गुरबाबा ?

सासू–बुहारीकाे आत्मीय सम्बन्ध: अंगुरबाबा जाेशी र चन्द्रकुमारी जाेशी ।
अंगुरबाबा जाेशी र सासू चन्द्रकुमारी जाेशी (बायाँ) र बिन्दा शाक्यसँग अंगुरबाबा ।

 

 

प्रतिकृया दिनुहोस