ब्लग विहीबार, असार १८, २०७७

बुहारीको सम्झनामा अंगुरबाबा जोशीः सासू हैन गुरु

रुपा जोशी

बुहारीको सम्झनामा अंगुरबाबा जोशीः सासू हैन गुरु
सासू–बुहारी: अंगुरबाबा जाेशी र रुपा जाेशी । तस्वीरहरु: जाेशी परिवार ।

 

'मैले मामी (मेरी सासू अंगुरबाबा जोशी) लाई देख्नुभन्दा धेरै अघि उहाँले मलाई देखिसिएको रहेछ । म स्कूलबाट फर्कंदा मदन पुरस्कार पुस्तकालय अगाडि दादा (बुवा, कमलमणि दीक्षित) सँग कुरा गर्दैगर्दा मामीले मलाई देखेदेखी नै बुहारी बनाउने नजरले हेरेको पछि भनिसिन्थ्यो ।'

रूपा जोशी

हुन त मामीले पद्मकन्याको प्रिन्सिपलको नाताले अरू धेरै ‘नानी’हरूलाई त्यस्तै नजरले नियालिसिन्थ्यो होला ! तर उहाँले मदन स्मारक विद्यालयमा पढाउने सानिमा सासू बिन्दा शाक्य मार्फत बारम्बार मेरो सोधीखोजी गर्ने र दादालाई पनि वेलावेला ‘हजुरको छोरी मेरो बुहारी है !’ भनिसिंदोरै’छ । दादाले कुरा टालेको टालेकै गर्ने ।

म ६ या ७ कक्षामा हुँदी हुँ । मामी मदन पुस्तकालयमा आउँदा एकपटक काम सकिएपछि दादालाई ‘हजुरको परिवार पनि भेटौं न’ भनिसेछ । बर्खाको विदा भएकोले हामी सबै केटाकेटी घरै थियौं । देवीजी (आमा अञ्जु दीक्षित) ले कतै खेल्दै गरेका हामी सबैलाई बोलाउनुभयो । मामी र देवीजी एउटै सोफामा ।  देवीजीलाई मामी त्यहाँ आउनुको कारण थाहा रहेछ । म गएर मामी नजिकै सोफाको हात राख्ने ठाउँमा थुचुक्क बसें । देवीजीले मलाई आँखा तर्नुभयो । मैले वास्ता गरिनँ ।

अंगुरबाबा भन्ने नाम हामी केटाकेटीले पनि सुनेका थियौं । कहिलेकाहीं मजाक गरेर नाम बिगारेर भट्याउने पनि गथ्र्यौं । त्यसैले अंगुरबाबा आएकोमा हामी दाइ–बैनीलाई रमाइलै लागेको थियो । मामीले हामी तीनैलाई पढाइ र रुचिबारे चाख लिएर सोधिस्यो । हामीले खुरुखुरू बतायौं ।

म त्यतिवेला स्कूलमा पियानो बजाउँथें । त्यो थाहा पाएपछि मामीले मलाई पियानो बजाउन लगाइस्यो । अनि खूब तारिफ पाईयो । म फुर्किएँ ।

दाजी (दाइ कुन्द) आफूले बनाएका स्केचहरू मामीलाई देखाउँदै थियो । एउटा स्केचमा स्वयम्भूको स्तूपा र पगोडा सँगसँगै कोरेको थियो। मामीले त्यसलाई नियाल्दै भनिस्यो, “ओहो कस्तो राम्रो। नेपालको धार्मिक सहिष्णुता झल्कने सोचले बनाएको।”

दुल्है भित्राएपछिको बेला: अंगुरबाबा जाेशीका साथ छाेरा–बुहारी किरण र रुपा ।

दाजीले मक्ख परेर नाक फुलायो। म चूप बस्न सकिनँ। सोफाको हातछेउमा बसिरहेकी मैले भनें, “दाजीले त्यसरी (सोचेर) बनाएकै हैन, यत्तिकै बनाएको हो।” मामीको छेउमा बस्नुभएकी देवीजीले त पुक्लुक्कै निस्केला जस्तो गरेर मलाई आँखा तर्नुभयो। के थाहा मामीले भावी बुहारीको रूपमा मलाई परख्दै हो कि भनेर!

चिया खाएपछि जाने वेलामा मामीले हाम्रो बारीमा फलेको देखेर मकै साह्रै मन पर्ने बताइस्यो। देवीजीलाई के चाहियो, खुर्र गएर एक अँगालो मकै पटापट भाँचेर ल्याउनुभयो । मामीले त्यो मकै लिंदै, मुसुमुसु हाँसेर भनिसेछ, “जय होस्, अहिलेलाई मकै मात्र लान्छु।” मैले त सुनिनँ त्यतिवेला, तर देवीजीले भन्नुहुन्थ्यो। देवीजीलाई आफ्नो छोरी खोस्ने जस्तो कुरा लागेर मामीसँग त्यो वेला असाध्यै रिस उठेको थियो रे!

आमाले भनिसेछ, “सबै कुरो, घरपरिवार ठीक छ भने हत्ते गरेर माग्न आएको ठाउँमा तेरो छोरीले सुख पाउँछे, तेरी छोरीलाई चीज गरेर राख्नेछन् ।” अनि दादा र देवीजीले सल्लाह गरेर, विशेष गरेर बिहे पश्चात पनि मेरो पढाई नबिग्रने देखेर, ‘हुन्छ’ भनेको वर्ष दिन नबित्दै मेरो बिहे भयो।

म सिनियर क्याम्ब्रिज गर्ने वेला मेरो श्रीमान् (किरणराज जोशी) बम्बैबाट पढेर फर्कने समय भएको थियो । मामीले फेरि दादासित मेरो हात मागिसेको रहेछ । दादाले आफ्नो आमा बाबुसित भन्नुभएछ, “के गर्ने होला ? यो अंगुरबाबाले त नाई भनेको मान्दै नमान्ने रै’छ । बैनी (मलाई माइतमा सबले बैनी भन्छन्) को हात माग्न आएको छ, आएको छ ।”

आमाले भनिसेछ, “सबै कुरो, घरपरिवार ठीक छ भने हत्ते गरेर माग्न आएको ठाउँमा तेरो छोरीले सुख पाउँछे, तेरी छोरीलाई चीज गरेर राख्नेछन् ।” अनि दादा र देवीजीले सल्लाह गरेर, विशेष गरेर बिहे पश्चात पनि मेरो पढाई नबिग्रने देखेर, ‘हुन्छ’ भनेको वर्ष दिन नबित्दै मेरो बिहे भयो र म अंगुरबाबा जोशीको बुहारी भएर डिल्लीबजारको घरमा भित्रिएँ।

गृह प्रवेशको वेला मामीले मेरो गोडा समाएर ढोकाको सँघारमा लहरै राखेका बत्ती पालैसित निभाउदै भनिसेको थियो, “ल बुहारी, यही हो मैले तिम्रो पहिलो र आखिरी चोटि खुट्टा समाउने ।” सासू र सानिमा सासूबाट आरती साँवली भयो । मुख हेर्ने, ढोग्ने बेला सासूले मलाई चार पानाको ‘स्वागत पत्र’ हातमा थमाइसेको थियो । त्यसमा व्यक्तित्व विकास बाहेक मेरो नयाँ परिवारको हरेक व्यक्तिको चिनारी थियो । अनि मुवा (मामीको सासू चन्द्रकुमारी जोशी) लाई ‘आफ्नो सासू ठानेर रिझाउनू’ भनेर लेखिएको थियो ।

एक वर्ष अघि (विस‌ं‍. २०७६): जन्मदिन र आमाको मुख हेर्ने दिनकाे तस्वीरमा सासू–बुहारी अंगुरबाबा र रुपा जाेशी ।

मामी र मुवाबीच पहिला कहिलेकाहीं तनाव भएको रहेछ । हाम्राबीचमा त्यो नदोहोरिनका लागि मामी सँधै चनाखो । हाम्रो सम्बन्ध सुमधुर राख्न हरसम्भव प्रयास गरिसिन्थ्यो । शुरूमा नै मलाई मामीले भनिस्यो, “तिमी मेरो एक्लो बुहारी, त्यसैले म तिमीलाई बुहारी भन्छु, तिमी मलाई सासू भन्नु ।” मलाई पहिला यसले एक किसिमको ‘डिप्लोमेटिक’ आत्मीय दूरी कायम गरेको जस्तो लाग्थ्यो ।

पछि नजिकिंदै गयौं, र सासूबाट मामीमा सम्बोधन परिणत भयो । मामीले पनि मलाई बुहारी, दुल्है नानीका साथै रूपा भन्दै, झन् पछी त मलाई ‘यो मेरो कान्छी छोरी हो’ भन्न थालिस्यो । मामीलाई दुईवटा क्यान्सर, हार्ट फेलियर, सेप्टिसिमिया हुँदा मैले स्याहारें । त्यसपछि मामीले भनिसिन्थ्यो, “म तिमीलाई अरू वेला डिस्टर्ब गर्दिनँ, तर बिरामी भएको वेलामा मलाई तिमी नै चाहिन्छ है ।”

बिहेपछि मामीको सामाजिक क्रियाकलाप, उहाँको व्यक्तित्वबाट धेरै प्रभावित भएकी थिएँ । मैले थाहै नपाई मामीको जस्तो ठूलो ठूलो टीका लगाउने, कपाल टिनिक्क पार्न थालिछु । एकचोटि त मेरो काकाले भनिस्यो पनि, “हैन यो बैनी, अंगुरबाबा जस्तै देखिन थाली त !”

१७ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिएकी म, अपरिपक्व थिएँ । पाटनढोकाको रमझम र चहलपहल छोडेर दुल्हाको शान्त घरमा बानी पर्न मलाई निकै कठिन भएको थियो । सबै ‘फ्रस्ट्रेशन’ म श्रीमान्माथी पोख्थें । उहाँ ठुस्किनुहुन्थ्यो । मामीलाई यो सबै थाहा थियो । उहाँ नौलो घरमा आएकी बुहारीको ओड लिएर उल्टै आफ्नो छोरालाई गाली गरिसिन्थ्यो । अनि मलाई आत्मग्लानि हुन्थ्यो ।

मलाई सानोतिनो ‘कल्चरल शक’ बाट माथि उठ्नलाई मामीका यस्ता कुराले ‘घर खान’ सहज बनाउँदै गयो। शुरू–शुरूमा मलाई माइत ७५ आरपीएम (रिभोलुशन पर मिनेट) को गतिमा दौडने र घर भने ३५ आरपीएममा घिस्रिने जस्तो लाग्थ्यो। विस्तारै घरको शान्त वातावरणले प्रभाव पार्‍यो । अलि–अलि गरेर घर र माइतीको त्यो जीवनको गतिमा सन्तुलन ल्याउन सफल भएँ ।

अ‌ंगुरबाबा जाेशी: ४ वर्ष अघि बिरामी पर्दा बुहारी रुपा जाेशीसँगै । र बनारसमा पढ्न जाँदाताकाकाे तस्वीर ।

मामीको व्यवस्थापकीय क्षमता उच्च थियो । घरमै पनि केही पकाउने रहर लाग्दा, सामग्री काटकुट गर्ने, मसला पिस्ने सब कुरा अह्राई–पह्राई गरेर, ‘झ्वाईं’ पार्न मामी नै आउने । ‘यसरी चलाऊ, यसो गर, उसो गर’ भनेर जाने । अनि पछि, “मैले पकाएको कस्तो लाग्यो ?” भनिसिन्थ्यो ।

पहिला पहिला कुनै चाडबाड आउँदा के के पकाउने, क–कसले के के गर्ने, के–के किन्नुपर्छ सबै मामीले लेखेर दिए अनुसार म गर्थें । पछि मैले पनि सिकें । अनि मामीबाट सबै कामको जिम्मेवारी पाएँ ।

पहिलो क्यान्सरले त्यस्तो राम्री भनेर कहलाइएकी मामीको अनुहार बाङ्गो भयो । तर उहाँ भनिसिन्थ्यो, “म त झन् राम्री भएकी छु, भित्रैदेखि राम्री।” मुख बाङ्गिएका कारण मामीमा लाज, संकोच, आत्मग्लानि पटक्कै देखिएन । बरु अरू बेलाभन्दा बढी समाजमा देखा परिस्यो, टेलिभिजनमा कैयौं अन्तर्वार्ता दिस्यो । दोस्रो क्यान्सरले एउटा स्तन काटेर फाल्नु पर्दा ‘म त अर्धनारीश्वर भएँ’ भनिस्यो । पछि त ‘क्यान्सरको बरदान’ पुस्तक नै लेखिस्यो ।

मामीको आत्मबल अतुलनीय थियो । कडा कडा रोग लाग्यो । हामीलाई ‘खोइ यसपालि के हुने हो’ जस्तो लाग्थ्यो । तर मामी हरेक स्वास्थ्यको तगारोलाई सकारात्मक सोचले नाघिसिन्थ्यो । कताबाट आउँथ्यो कताबाट त्यो बल !

पहिलो क्यान्सरले त्यस्तो राम्री भनेर कहलाइएकी मामीको अनुहार बाङ्गो भयो । तर उहाँ भनिसिन्थ्यो, “म त झन् राम्री भएकी छु, भित्रैदेखि राम्री ।” मुख बाङ्गिएका कारण मामीमा लाज, संकोच, आत्मग्लानि पटक्कै देखिएन । बरु अरू बेलाभन्दा बढी समाजमा देखा पर्ने, टेलिभिजनमा कैयौं अन्तर्वार्ता दिने काम भयो । दोस्रो क्यान्सरले एउटा स्तन काटेर फाल्नु पर्दा ‘म त अर्धनारीश्वर भएँ’ भनिस्यो । पछि त ‘क्यान्सरको बरदान’ पुस्तक नै लेखिस्यो ।

पोहोर जाडोमा कडा निमोनिया र त्यसमाथि स्ट्रोकले बोल्न र निल्न गाह्रो भयो । मेडिसिटीका डाक्टरसाबहरूले मामीलाई अब आइन्दा निमोनिया हुन नदिनलाई सर्किन हुन्न भनेर खानेकुरा, झोल निल्ने तरिका सिकाउनुभयो । “हेर त, ९० वर्ष पुग्न आँटेको बूढीलाई अब यसरी खानुपर्छ, यसरी निल्नुपर्छ भनेर सिकाउँदै छन्, बच्चा जस्तै!” भनेर हाँसिसिन्थ्यो । हैन, हाँस्न कोशिश गरिसिन्थ्यो भन्नुपर्छ । किनकि क्यान्सरले गर्दा दाहिने मुखको नसा काट्नु परेकोले मामीको मुखको आधा भाग मात्र चल्थ्यो । त्यसैले हाँस्नको लागि मुख चलाउन सकिसिन्नथ्यो । हाँस्दा ‘हु हु...’ गरेर आवाज निकाल्न सिक्नु परेकाे थियाे मामीलाई ।

हिजो हरिशयनी एकादशीमा ९०औं जन्मदिन मनाउने चाहना थियो मामीलाई, तर ‘एस्टरिक’ मा राखे झैं तुरुन्त दुवै हात माथितिर फर्काउँदै भनिसिन्थ्यो, “चाहे विधि राखे राम ताहि विधि रहिये !”

सासू–बुहारी चन्द्रकुमारी जोशी र अंगुरबाबा जाेशी ।

उहाँ भनिसिन्थ्यो, “यति चोटि मृत्युको मुखमा पुगेर फर्किसकें, मलाई मृत्युसँग डर पटक्कै छैन । आई एम प्रिपेर्ड ! यो सबै भएको मेरो शरीरलाई हो, मलाई हैन ।” यसपालि मामीलाई स्ट्रोकले थचार्‍यो । अनि उही निमोनियाले विस्तारै प्राण चुस्यो । तैपनि मामीको शरीरले २१ दिनसम्म लड्यो । तर यसपालि मामीलाई निको पारेर घर ल्याउन सकिएन ।

मामी मेरो गुरु होइसिन्थ्यो । हरेक गुरुपूर्णिमामा मामीले मुवालाई, मैले मामीलाई देउतालाई पुजे जस्तो गरेर पुज्थ्यौं । अरूप्रति समभावले हेर्ने, सकारात्मक सोच्ने, रीतिरिवाज कायम राख्ने, ठूलाबडाको आदर गर्ने, यी र अरू थुप्रै कुरा मैले मामीबाट सिकें ।

धार्मिक कुरामा अन्धो भएर ‘रिचुवल’ मात्र गर्ने होइन, हरेक कार्यको अर्थ के हो ? दियो बाल्ने भनेको ज्ञानको ज्योति बाल्ने हो । दशैंको वेला असुर बध गर्नु भनेको आफूभित्रको द्वेषहरू मार्नु हो भनेर सिकाइसिन्थ्यो । संस्कृत र आध्यात्मको ज्ञान र अनुभवले गर्दा कतिपय बेला पुरेतबाजे आउन नपाउँदा मामी आफैं पुरेत बनेर मलाई पूजा गर्न लगाइसिन्थ्यो ।

बिहे गर्दा दिइसेको स्वागतपत्रको अन्तिम हरफमा मामीले मलाई मार्गदर्शन गर्दै लेखिसेको थियो, “परिवारको सुयश अझै बढाई सेवा कार्यहरू गर्दै कुलको मर्यादा राख्नेछौ भन्ने विश्वास सहित यसको निमित्त आवश्यक आत्मबल, आत्मविश्वास र आत्मसंयम श्री पशुपतिनाथजीले तिमीलाई सदा प्रदान गर्नुहोस् भन्ने मेरो आन्तरिक आशीर्वाद छ ।” त्यही गुरुवचन लिएर म अगाडि बढ्नेछु, मामी ।

जाेशी परिवारका चार सासू–बुहारी ।

 

प्रतिकृया दिनुहोस