टिप्पणी आइतबार, असार २८, २०७७

घाटमा हराएको मानवता

मिलन बगाले

घाटमा हराएको मानवता
स्केच: भानु भट्टराई
मिलन बगाले

कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका स्याङ्जाका एक वृद्धको शव व्यवस्थापनमा स्थानीय वडाध्यक्षदेखि प्रदेश सांसदसम्म सम्मिलित समूहले अवरोध गर्‍यो। त्यहीकारण १९ घण्टासम्म शव अलपत्र परेको थियो।

प्लाष्टिकले पोको पारेर लगिंदै गरेको शवलाई एम्बुलेन्सभित्र बसेर मृतककी श्रीमती र छोरीले हेरिरहेको दृश्य हृदयविदारक थियो। लामो रस्साकस्सीपछि जेसीभीले खाल्डो खनेर सेती नदीको रिठ्ठे घाटमा उनको शव गाडिएको थियो।

यो पनि पढ्नुहोस्— भेरीमा बगेको हाम्रो मानवता

 कोरोनाभाइरसको संक्रमण फैलँदै जाँदा समाजका विभिन्न चित्र र चरित्र बाहिर आएका छन्। संक्रमितसँगै मृतकको संख्या बढ्दै जाँदा शव व्यवस्थापनमा समस्या देखिन थालेको छ। गएको ११ असार र २६ जेठमा पोखरामा शव व्यवस्थापनमा देखिएको समस्या गोरखामा पनि देखियो। प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमै कोरोनाभाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन कार्यविधि बनाएको छ। त्यसमा परम्परागत रुपमा चलिआएका स्थानमा नै विशेष सावधानी अपनाई अत्येष्टि गर्न सकिने उल्लेख छ ।

यो पनि पढ्नुहोस्— कोभिड–१९ महामारी: मान्छेलाई बिसन्चो, प्रकृतिलाई सन्चो

शव गाड्न वा जलाउन मिल्ने पनि उल्लेख छ। शव उठाउनुअघि ‘डेड बडी ब्याग’ मा बन्द गरी (वा भित्र सेतो कपडा र बाहिर प्लाष्टिकले बेर्ने) शववाहन चालक र शव व्यवस्थापन समूहले पीपीई लगाउनुपर्ने उल्लेख छ। त्यस्तै अन्तिम संस्कारमा सहभागी नातेदार र आफन्तले पन्जा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने, एक मिटर टाढाबाट हेर्न पाउने, अस्तुले जोखिम पैदा नहुने हुँदा उठाउन मिल्ने जस्ता विषय पनि उल्लेख छन्।

यो पनि पढ्नुहोस्— महामारीमा स्थानीय सरकारको भर

यति धेरै सावधानी अपनाएर अन्तिम संस्कार गर्दा पनि ढुंगामुढा गरिनुले समाजमा चेतना भन्दा अफवाह बढी फिजिएको महशुस हुन्छ। समस्याप्रति समाज संवेदनशील बन्न नखोजेको पनि स्पष्ट हुन्छ। स्थानीय अगुवाहरुले समाजलाई सम्हाल्नु पर्नेमा आफै उत्तेजित बनेर अवरोध गर्दै हिंड्नु दुखद छ।

मृत शरीरले खोक्दैन। थुक्दैन। हाच्छ्युँ पनि गर्दैन। न छुन जानु परेको छ, न त बोक्न नै। यो सबै जिम्मेवारी सुरक्षा निकायले आफ्नो काँधमा हालेका छन्। अनि मृत शरीरले कसरी कोरोना सार्छ?

हामी कोही पनि अजम्मरी छैनौं । कोरोना भए\नभए पनि मृत्यु शाश्वत सत्य हो। यतिबेला त कोरोनाको नाममा मृत्युको छाया वरिपरि घुमिरहेको छ। यो विपत्ति जुनसुकै समयमा जता पनि सल्किन सक्छ। त्यसकारण सुरक्षा निकायले शव व्यवस्थापन सम्बन्धी राष्ट्रिय मापदण्डको पालना गरी भइरहेको अन्तिम संस्कारमा अवरोध गर्नु, संवेदनशील काममा खटिएका सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्नु, मृतकका परिवारलाई थप पीडा दिनु कदापि जायज छैन। यस्ता काममा जनप्रतिनिधिले नै अगुवाइ गर्नु ठूलो बिडम्बना हो।

यो पनि पढ्नुहोस्— राहतको राजनीति र राज्यको उपस्थिति

मृत शरीरले खोक्दैन। थुक्दैन। हाच्छ्युँ पनि गर्दैन। न छुन जानु परेको छ, न त बोक्न नै। यो सबै जिम्मेवारी सुरक्षा निकायले आफ्नो काँधमा हालेका छन्। अनि मृत शरीरले कसरी कोरोना सार्छ?

मान्छेहरु काम परेर मात्र होइन, विना काम लखर–लखर हिंडेकै छन्। भीडभाड गरेकै छन्। यो संसारमा कोरोना नै छैन जस्तो गरी भोजभतेर, भेला, मेला, उत्सव, सम्मान, पुरस्कार, आन्दोलन, नाचगान सबै चलेकै छन्। सानादेखि ठूलासम्म सबैलाई मास्क नलगाए पनि चलेकै छ। साबुनपानीले राम्ररी हात नधोए पनि चलेकै छ। यति धेरै मनपरी गरेर पनि मृत शरीरसँग किन सातो उडेको?

यो पनि पढ्नुहोस्— राहत कोषले बल्ला सर्वसाधारणको चूल्हो?

बरु शव व्यवस्थापनको विरोध गर्न हुलका हुल बाँधेर जाँदा कोरोना सर्न सक्छ। स्थानीय एफएम र पत्रपत्रिकामा यसबारे सचेतनामूलक सामग्रीहरु प्रसारण तथा प्रकाशन भए भ्रम अलिकति चिरिन्थ्यो कि!

सामाजिक सञ्जालमा भाइरल हुने अफवाह नै नेपाली समाजको सूचनाको आधिकारिक स्रोत बनेको छ। त्यस्तै अफवाहको पछि लागेर समाज भ्रमित भएको छ। आफूलाई कहिल्यै समस्या नै पर्दैन भनेजसरी केही व्यक्ति स्वार्थी पनि बन्दै गएका छन्। आफूलाई नपरेसम्म पटक्कै संवेदनशील नहुने रोग झांगिदो छ। सामाजिक समस्यालाई सरकारको समस्याको रुपमा बुझ्ने ‘रोग’ फैलिँदो छ। यो नदेखिने रोगले समाजको हार्दिकता हराउँदै गएको छ।

यो पनि पढ्नुहोस्— भुइँचालोले घरबाहिर पुर्‍यायाे, कोरोनाले घरभित्र

‘जिउँदाको जन्ती, मर्दाको मलामी’, उखान मात्र होइन हाम्रो जीवन चक्र हो। जीवनको चक्र नै उखेलिने गरी हामी कति असहिष्णु बन्न थाल्यौं? अराजकताको नेतृत्व गर्ने अगुवाहरुले आत्ममन्थन गर्नुपर्ने भएको छ।

मृत शरीरलाई दुर्व्यवहार गरेर, मृतकका परिवारलाई थप पीडा दिएर सुरक्षाकर्मीलाई सताएर हामीले केही जित्दैनौं । हामी भित्रको खराब मान्छे चिनाउने कामबाहेक अरु उपलब्धि मिल्दैन। कोरोना सिंगो मानव समुदायको समस्या हो। मानसिक र सामाजिक दूरी होइन, भौतिक दूरी कायम गरौं।

कोरोनाबाट बच्न हामीले भौतिक दूरीको पालना गर्नुपर्छ। तर, यसलाई ‘सामाजिक दूरी’ भनियो। त्यो सामाजिक दूरीले ‘छिछि र दूरदूर’ मा परिणत भयो। क्वारेन्टिन र आइसोलेन सेन्टरहरुमा बसेकाहरु दुर्व्यवहार भोग्न बाध्य भए।

हाम्रो देशमा पनि कोरोना भुसको आगोझैं सल्किसकेको हुनसक्छ। सरकारले अड्कली अड्कली कोरोना जाँचेको छ। समुदाय स्तरमा जाँच हुनै सकेको छैन। सरकारको समर्थन र विरोधको नाममा सडकमा तनाव देखिएकै छ। मास्क पनि हामीले सरकारका लागि लगाइदिए जस्तो गरेका छौं।

त्यसले आफूलाई मात्र होइन, परिवार र समाजलाई नै पिर्न सक्छ। सतर्कता नअपनाउँदा आफू जोखिमको जाँतोमा पर्न सक्छु र भोलि त्यो दुर्दशा आफूलाई आउन सक्छ भन्ने नबिर्सौं । मृत शरीरलाई दुर्व्यवहार गरेर, मृतकका परिवारलाई थप पीडा दिएर सुरक्षाकर्मीलाई सताएर हामीले केही जित्दैनौं । हामी भित्रको खराब मान्छे चिनाउने कामबाहेक अरु उपलब्धि मिल्दैन। कोरोना सिंगो मानव समुदायको समस्या हो। मानसिक र सामाजिक दूरी होइन, भौतिक दूरी कायम गरौं।

प्रतिकृया दिनुहोस