ब्लग शनिबार, जेठ १७, २०७७

भेरीमा बगेको हाम्रो मानवता

मिलन बगाले

भेरीमा बगेको हाम्रो मानवता

नवराज विकसँगै यतिवेला थुप्रै युवा र तिनको परिवारका सपना भेरीमा बगेका छन् । हामीले भन्ने गरेको मानवता, कथित ‘सुखी र समृद्ध’ को नारा अनि आडम्बरयुक्त आधुनिकताको परिभाषा पनि यससँगै बगेको छ ।

मिलन बगाले

१० जेठ शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको जघन्य हत्याकाण्डले मन–मुटु हल्लाएको छ । एक दलित युवाले गैरदलित युवतीलाई मन पराएकै कारण ती युवा मात्र होइन, उनीसँग गएका पाँच जनाको शव फेला परिसकेको छ, एक जना अझै हराइरहेका छन् ।

भेरी नदीमा गोताखोरहरूले शव बाँधिएको अवस्थामा भेट्नुले युवालाई कुटपिट गरेर बाँधेर नदीमा फालिएको देखिन्छ । यसबाट बुझिन्छ, कुन हदको क्रूरता र ज्यादती गरिएको थियो । यति असभ्य समाजको कल्पना मात्र पनि शायदै गरिएको थियो ।

समाचार अनुसार प्रेमिकाकै सहमतिमा उनलाई लिन गएका नवराज विक र उनका साथीहरूले जोरजबर्जस्ती गरेका छैनन् । अपहरण शैलीमा उठाउन खोजेका पनि छैनन्। डर, धाक–धम्की दिएका पनि छैनन् । प्रेमिकाकी आमाले गालीगलौज तथा हल्लाखल्ला गर्न थालेपछि उनीहरू डराएर निस्केका छन् । तर, आफ्नो बाटो लागेका युवाहरूलाई गौंडो ढुकेर, घेरा हालेर, जनप्रतिनिधिकै नेतृत्वमा गाउँलेले लखेटी–लखेटी कुटपिट गर्छन्, बाँधेर नदीमा फालिदिन्छन्, कोही मारिने डरले नदीमा हाम्फाल्छन्।

तर, यस्ता घटनामा पनि कोही भने पीडित पक्षकै दोष खोजिरहेका छन् । ‘घर घेर्न किन गए; लकडाउनमा कसरी गए; छोरी अपहरण गर्न जानेलाई के गर्नु त’ जस्ता अनेक प्रश्नहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । यी प्रश्नहरू अर्थहीन मात्र छैनन्, यिनले हामीभित्रको क्रूरतालाई पनि प्रष्ट्याएका छन् ।

‘दलित’ युवाको सट्टा ‘गैरदलित’ युवाको टोली त्यसरी गएको भए गाउँ ज्यानै मार्ने तहमा उत्रिन्थ्यो ? के यो ‘दलित’ लाई जे–जस्तो ज्यादती पनि गर्न सकिन्छ भन्ने कुत्सित मानसिकताको उपज होइन र ?

प्रश्न त यो हो– ‘दलित’ युवाको सट्टा ‘गैरदलित’ युवाको टोली त्यसरी गएको भए गाउँ ज्यानै मार्ने तहमा उत्रिन्थ्यो ? के यो ‘दलित’ लाई जे–जस्तो ज्यादती पनि गर्न सकिन्छ भन्ने कुत्सित मानसिकताको उपज होइन र ? हाम्रो समाज र व्यक्तिको मानसिकतामा हिंसाको यो बीउ कहाँनेर छ र यसले विभिन्न स्वरुपमा वेला–वेला शिर उठाइरहन्छ ?

जति नै शान्त, सौहार्द, समभाव र सहनशील भनिए पनि नेपाली समाजमा हिंसा पराया छैन । यो समाजले दलितमाथिको थिचोमिचोलाई ‘गैरदलित’ समाजले आफ्नो अधिकार सम्झेको छ । महिलामाथिको हेलाँ–होचोलाई बहादुरी सम्झेको छ । फरक विचार दबाउनुलाई समाजले आफ्नो कर्तव्य सम्झेको छ । मृत्युको ठेक्कापट्टा गर्नेको यहाँ कुनै कमी छैन ।

कथित प्रेमी प्रेम प्रस्ताव अस्वीकार भएपछि ‘प्रेमिका’लाई नै एसिड छ्याप्छ, बलात्कार गर्छ । अनि कथित भद्रभलाद्मी जुटेर तिनै पीडकसँग पीडितको विवाह गराइदिने फैसला गर्छन् । बलात्कारीको परिवार र बलात्कारीले थप यातना दिएपछि युवती आत्महत्या गर्न विवश हुन्छिन् । ‘समाज’ उसैलाई चरित्रहीनको बिल्ला भिराउँछ र दोबाटोमा हलल्ल हाँस्छ । बोक्सी भन्दै महिलालाई दिसा कोच्याउनेको पनि कमी छैन । यस्ता हिंसा घरघरमा छन् । गनिसाध्य र भनिसाध्य छैन ।

पीडितभन्दा पीडक बलियो भएपछि हरेक अपराधलाई सर्लक्कै मोड्ने र अपराधी बचाउन जस्तो पनि झूटो प्रमाण बनाउन सक्ने हैसियत राज्य प्रशासनको छ । तर, किन्तु, परन्तुले अपराध ढाकछोप गर्ने, पीडितलाई नै दोषी देखाउने, मुद्दा मिलाउने, काइते कागज लेख्ने जस्ता चलखेल पनि प्रशस्त हुन्छ । राजनीतिको आडमा अपराधीलाई बचाउन पनि राज्य माहिर छ ।

हिंसा रोप्नेहरूलाई आफूलाई रोपेको हिंसाले नै सिध्याउँछ । हिंसाको खेलमा कसैले जित्दैनन् । चौरजहारीले आफूलाई पनि सिध्यायो, अरूलाई पनि सिध्यायो ।

देशमा मौलाएको दण्डहीनताले हिंसालाई मलजल गरिरहेको छ । दण्डहीनताको जगमा उभिएको हिंसालाई तह लगाउने उपाय भनेको राज्यको बलियो उपस्थिति र हिंसा विरुद्धमा शून्य सहनशीलता नै हो । तर, कथित भद्रभलाद्मी जुटेर टालटुल पार्ने कुप्रथाको जरो नउखेलिएसम्म मानवता यसरी नै भेरीमा धकेलिनेछ ।

आफ्नो देखेको देश पुस्तकमा संग्रहित ‘बर्बरताको विस्तार’ शीर्षकको आलेखमा मोहन मैनाली लेख्छन्— ‘हिंसा र घृणाको पशुवत् चाहना अरू जनावरमा भए जस्तै मानिसमा पनि हुन्छ । तर, त्यस्तो चाहनालाई संसारले बोकेन भने त्यो होचो हुन्छ । संसारले बोक्यो भने त्यो विशाल हुन्छ । त्यसको विशालताले सभ्यतालाई निस्सासिने अवस्थामा पुर्‍याउँछ । यस्तो अवस्थाको पहिलो शिकार तिनीहरू हुन्छन्, जो तिनका पालक, पोषक र वाहक हुन्छन् ।’

हो, हिंसा रोप्नेहरूलाई आफूलाई रोपेको हिंसाले नै सिध्याउँछ । हिंसाको खेलमा कसैले जित्दैनन् । चौरजहारीले आफूलाई पनि सिध्यायो, अरूलाई पनि सिध्यायो । मानवता विरुद्धको यो कुकर्मको जति निन्दा गरे पनि कम हुन्छ ।

यतिवेला प्रहरी बनेर देश सेवा गर्ने, परिवारलाई सुख दिने, आफूले माया गरेकी युवतीसँग घरजम गर्ने नवराज विकसँगै थुप्रै परिवारको सपना भेरी किनारमा नराम्ररी निमोठिएको छ । ढुंगालाई पुजेर मान्छेलाई मार्ने समाजले यो कुकर्मको फल पक्कै भोग्नेछ ।

प्रतिकृया दिनुहोस