ब्लग मंगलबार, चैत ११, २०७६

भुइँचालोले घरबाहिर पुर्‍यायाे, कोरोनाले घरभित्र

मिलन बगाले

भुइँचालोले घरबाहिर पुर्‍यायाे, कोरोनाले घरभित्र

भूकम्पले हामीलाई घरबाहिर धकेलेकोे थियो । कोरोनाले घरभित्र घचेटेको छ । यतिबेला हाम्रो भर भन्नु नै घरभित्रको जीवन भएको छ । संसारभर फैलिएको यो कहरका बेला नेपाल सिंगो पृथ्वीको डिलजस्तो भएको छ।

प्रवीणता प्रमाणपत्र तहमा जुनसुकै विषय पढ्नेले पनि ‘नेपाल परिचय’ पढ्नुपर्थ्याे। कहिल्यै नछुट्ने साझा सवाल थियो— विश्व मानचित्रमा नेपाल।

कोरोनाभाइरसको प्रकोपले संसारको नक्सा रातै भएको यतिखेर म त्यही वाक्य सम्झिरहेछु । र, देखिरहेछु, रातो थोप्लो मिस्सिएको तर पनि अझैं हरियोपन र हरियो मन बाँकी रहेको नेपाल।

गत मंगलबार (४ चैत) फ्रान्सबाट कतार हुँदै आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालले सर्लक्क हरियोको हैसियत चाहिं गुमाएको छ । हरियो देशमा रातो थोप्लो थपिएर खतराको घण्टी जोडले बजेको छ।

कोरोनाले संसारलाई धुरुक्क रुवाएको छ । तर अपवाद केसबाहेक हामी कसरी जोगिएका छौं यतिबेलासम्म ? सरकारले बिरामी नखोजेर ? संक्रमणकारीलाई टेस्ट गर्दै नगरेर ? सानोतिनो रुघाखोकी र ज्वरोलाई घरमै दबाएर ? देशविदेश धेरै आवतजावत नभएर ? प्रश्न धेरै छन् । तर सत्य के हो भने नेपाल आजका दिनसम्म कोरोना संक्रमणबाट बचेकै छ । हरियोमा एकाध अपवाद मात्रै मिसिएको छ।

तर, यो हरियो पात छिनभरमै झरेर देश राताम्य हुनसक्छ भन्ने हामीले बुझ्नुपर्छ । कोरोना बाहिरी सम्पर्कबाट आउन सक्छ, घरभित्र आफैँ आउँदैन भन्ने कठोर सत्यलाई बुझ्न र पालना गर्न सक्नुपर्छ। कोरोना फैलिएको प्रमाण भेटिइनसकेकाले पनि हामीले आफ्नो जीवनलाई बेलैमा घरभित्र सीमित बनाउन सके हाम्रा जीवनका हरिया पातहरु बुरुरु झर्ने छैनन् । हाम्रो देश पतझरको देश बन्ने छैन । सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरिसकेको छ । फुत्तफुत्त घरबाहिर निस्केर बहादुरी देखाउने बेला हैन हो।

हामीले चार वर्षअघि भुइँचालोको कठोर पीडा व्यहोर्‍यौं । त्यो पीडाबाट लगभग तंग्रिसकेका छौं । सानाठूला, जे जस्ता भएपनि हिजोभन्दा बलिया घर बनिसकेका छन्।

भुइँचालो पनि बाजा बजाएर आएको थिएन । एकैचोटि आयो र हामीलाई घरबाट बारीको डिलमा पुर्‍यायो । घरमात्र हैन, भरसमेत भत्केको दृश्यको लाचार साक्षी बन्दै हामी बारीको डिलमा पाल हालेर, बोरा ओछ्याएर बस्यौं। विस्तारै धूलो टक्टकायौं, धर्मराउँदै उठ्यौं।

भूकम्पपछिको पहिलो रात भात पाकेन । तर भोलिपल्ट उज्यालो भएपछि अचम्म भयो । घरघरबाट ग्याँस, चामल, दाउरा, नून, तेल, तरकारी जे जे छ निकाल्यौ । पालमुनि मिलेर पकायौं, खायौं । दोस्रो छाकमै अधिकांशको पेटमा तातो दाल र भात पर्‍यो ।

बेलैमा तातो खान पाएर सातो गएको हाम्रो अनुहारमा विस्तारै कान्ति फिजियो । भूकम्पपछि बेलैमा सरसफाइ र तातोतातो खानपिनमा हाम्रो स्वतस्फूर्त ध्यान पुग्यो । रोगहरु फैलन पाएनन् । घाउले मल्हम पायो । घर विस्तारै उठे । हामीलाई संसारले भर दियो । सरकारले साथ दियो । सञ्चारमाध्यम असाध्यै परिपक्व बने ।

केही कमीकमजोरी भएपनि पालबाट हामी उठ्यौं । हामीले पुर्खाबाट पाएको निर्माण संस्कृति त जोगिएन । घरहरु पनि फराकिलो र सहज जीवनयापन गर्न लायक बनेनन् । काम फटाफट भएनन् । पुनर्निर्माण अल्झिरह्यो, अझैं पनि थोरबहुत अल्झिरहेकै छौं । तर तत्कालको उद्धार, उपचार, राहत र उपकार त लोभलाग्दो थियो।

भूकम्पले हामीलाई घरबाहिर धकेलेकोे थियो । कोरोनाले यतिबेला घरभित्र घचेटेको छ । यतिबेला हाम्रो भर भन्नु नै घरभित्रको जीवन भएको छ । संसारभर फैलिएको यो कहरका बेला नेपाल त सिंगो पृथ्वीको डिलजस्तो भएको छ।

यो डिल जोगाउने एउटै उपाय छ, आफैंले आफैलाई थुन्ने । आफूलाई थुन्ने, आकाशलाई थुन्ने, जमिनको यातायातलाई थुन्ने । अब हामीले स्वअनुशासनमा आफूलाई बाँध्ने नागरिकको कर्तव्य पूरा गर्नुछ।

हर घर क्वारेन्टाइन नै कोरोनाको कहर कम गर्ने सहज उपाय हो । यो पाठ चीनले संसारलाई सिकाइसकेको छ । कोरोनालाई एकहिसाबले कोरा सम्झेर बारौं । भाँजो नहालौं । ‘आकाशैं बाँधु, पातालै बाँधु, घरै बाँधु’ भन्दै आधारातमा ‘फेरि’ लगाएको सम्झौं र बाधौं । तन र मनलाई घरभित्र बाँध्दा धेरथोर तनाव होला । योग र ध्यानले सहज बनाउन सक्छ।

कोरोनाको कहर कति लम्बिन्छ थाहा नभएकाले, खानेकुरा फारो गरौं । मिठो जिब्रोलाई बाधौं । एक पटकमा दाल या तरकारीमात्र पकाऔं । घर वा डेरामा भएका थोत्रा कार्टुन र गमलामा अब तरकारी रोपौं ।

हामी पृथ्वीको डिलैमा उभिएका छौं । डिल फराकिलो छैन । त्यति बलियो पनि छैन । दायाँबायाँ दलदले हिलो भइसकेको छ। डिल नजोगिए हामी जोगिन ढिलो हुन्छ । त्यसैले मनको बाँधलाई बाँधेर स्वतस्फूर्त कर्फ्यू लगाऔं।

प्रतिकृया दिनुहोस