ब्लग शनिबार, चैत २२, २०७६

काेभिड-१९ महामारी: मान्छेलाई बिसन्चो, प्रकृतिलाई सन्चो

मिलन बगाले

काेभिड-१९ महामारी: मान्छेलाई बिसन्चो, प्रकृतिलाई सन्चो
बन्दाबन्दीकाे दिन २१ चैतकाे धुलाे धुवाँरिहत काठमाडाै । तस्वीर: बिक्रम राई

समग्र सृष्टि आफ्ना लागि बनेको, आफूले लाउने, खाने, रमाउने साधन मात्र हो भन्ने अहङ्कार त्यागेको दिन प्रकृतिसँगै मान्छेलाई पनि सञ्चाे हुन्छ।

मिलन बगाले

हिजोआज घरको छतमा उभिएर काठमाडौंको आकाश नियाल्दा काठमाडौंभित्र छु जस्तो लाग्दैन। उपत्यकाको आकाश यति सफा र खुलेको कहिल्यै महसुस भएको थिएन। कोरोना भाइरसको संक्रमणले पृथ्वीलाई ढाकेसँगै मान्छे घरभित्र छ। मान्छे घरभित्र भएकाले पृथ्वीलाई सञ्चो भएको छ। कसैले धूँवा फालेको छैन। पहरो फोरेको छैन। रुख काटेको छैन। नदी थुनेको छैन। नदीनालामा एसिड फालेको छैन। बम पड्काएको छैन। आकाश थर्काउँदै हुलका हुल जहाज उडेका छैनन्। मान्छेले सामान्य खनखान, मलजल र गोडमेल मात्रै गरेको छ। त्यसो गर्दा प्रकृति रुँदैन, रिसाउँदैन।

विकासका नाममा मान्छे कुदेको कुद्यै थियो। आकाश छुने आफ्ना अनगिन्ती महत्वाकांक्षा पूरा गर्ने नाममा उडेको उड्यै थियो। आकाश, जमिन र जल थर्काएर। अहिले त मान्छे नदेखिने शत्रुसँग थरर भएको छ। यो डरलाग्दो कहर सकिएपछि मान्छेका रहर फेरियोस्। मान्छे अलि खुम्चियोस्। प्रकृति चम्कियोस्। के मान्छे फेरिएला? कि ब्याजसमेत असुल्ने गरी नयाँ नयाँ होडबाजीमा होमिएला?

कोरोना भाइरस हाम्रा लागि छोइदेउ कि रोइदेउ भएको छ। जे छोए पनि रोग सर्ला कि भनेर डराउनुपर्ने भएको छ। पैसा छुन पनि डर लाग्ने अनौठो परिस्थिति बनेको छ। मिचिमिची हात धोएको धोयै गर्दा हात फुस्रा भैसके। हात धुने प्रोजेक्ट नेपालमा उहिल्यैदेखि चलिरहेको थियो । हात धुन सिकाउनेहरुलाई डलर धोएको भन्दै उडाउनेहरुको कमी थिएन। अहिले विश्व हात धुन सिकिरहेछ।

हात धुन अल्छी मानेर अब हुनेवाला छैन। कोरोना भाइरस विरुद्धको लडाइँमा हामी हात धोएर लाग्नैपर्ने भएको छ। घरभित्र थुनिएर, हात धोएर कोरोना भगाउनु छ। दौडेर, उडेर, गुडेर होइन, सुतेर कोरोना भगाउनु छ। सामाजिक दूरीमा संवेदनशील हुँदै भौतिक दूरी बनाएर लड्नुपर्ने भएको छ। घेरिएर होइन, छरिएर बस्नुपर्ने भएको छ। संसारको घडी उल्टो घुम्ने कस्तो समय आएको!

प्रकृति बिरामी भएसँगै हाम्रो समय उल्टिएको छ। मान्छे कामविहीन भएको छ। निद्रा हराएको छ। जिब्रोको स्वाद हराएको छ। जिन्दगीको लय हराएको छ। यो महामारीको आँधी कहिले थामिएला, जवाफ कसैसँग छैन। आँधी थामिएपछि जिन्दगी उस्तै होला ? फेरि रोग नफैलेला ? एउटा देश संक्रमणमुक्त भयो भने त्यसले रोग बोक्ने आकाश र जमीनको नाका थुन्ला। यसरी थुनेपछि रोग नआउला। अत्यावश्यक कामले आकाश र जमीन खुलेको वेला त्यसरी आउने मान्छे १५ दिन थुनिएर मात्र निस्केला। जिन्दगीको गति यसरी खुम्चिएपछि मान्छे के गर्ला ? प्रकृतिको सेरोफेरोमा रमाउला ? प्रकृतिलाई माया गर्ला ? छिनछिनमै उडिरहने, गुडिरहने आफ्नो गति घटाउला ? सपना खुम्च्याउला ? खेतीपाती नै राम्रो, गाउँ नै राम्रो भन्ला?

मान्छेले बिसन्चो मानेसँगै प्रकृतिले सन्चो मानेको छ। मान्छेले त यसलाई अस्थायी युद्धविराम मानेको होला। अहिलेको युद्धविरामको क्षतिको हिसाब निकालिरहेको छ मान्छे। त्यो क्षतिपूर्ति गर्न मान्छे झन् छिटो उड्न रहर गर्ला कि ? झन् छिटो गुड्न, दौडिन रहर गर्ला कि ? छिटोछिटो रुख काट्ने मेशिन बनाउला कि ? छिटोछिटो पहरो फोर्ने लहरो बनाउला कि? झन् छिटो खानी खोतल्ला कि ? कि साँच्चै सुध्रिएला मान्छे ? मान्छे यतिवेला अन्तर्मनको यात्रा गरिरहेछ। यो यात्राबाट निस्कँदा झन् ठूलो युद्ध जित्ने बनेर निस्केला कि फेरिएको प्रकृतिसँगै बाँच्ने गरी आफ्नो जिन्दगीको लय समाउला?

मान्छे सुध्रिने सम्भावना झिनो छ। पृथ्वी उसले आफ्नो बिर्ता ठानेको छ। आफूलाई एक्लो मालिक ठानेको छ। सम्पूर्ण सृष्टिलाई आफ्नो लाउने, खाने र रमाउने साधन बनाएको छ। बाँचेका चीजहरु उसले मार्न नसकेर मात्र बाँचेका छन्। उसका मनोरञ्जनका लागि बाँचेका छन्। उसले खान नमिल्ने, लाउन नमिल्ने, खन्न, खोतल्न नसक्ने चीजहरु मात्र बाँचेका छन्। युद्धविरामको हिसाब गरिरहेको मान्छे क्षतिपूर्तिको बलियो योजना सहित मैदानमा उत्रेला। त्यो क्षतिपूर्तिको रहरले भविष्यमा झन् ठूलो कहर निम्त्याउँछ भन्ने बुझियो भने प्रकृतिले मान्छेलाई पनि सन्चैसँग बाँच्न दिन्छ। विनाश–लीलाको गति बढ्यो भने योभन्दा झन् ठूलो विस्फोटको लाचार साक्षी बन्नुपर्ने दिन आउँछ भनेर मान्छेले बुझिदिए हुन्थ्यो ।

विनाश–लीला मच्चाएर गरिने विकासको लहरबाट नेपाल पछाडि हट्ने कुरै आएन। अलि दिन पहिलासम्म नेपाल पनि समृद्ध नेपाल सुखी नेपालीको सपना देखिरहेको थियो। डोजरले देश जोतिरहेका थियो। सुरुङै सुरुङ बनाएर काठमाडौंमा रेल ल्याएर, लाखौं रुख काटेर विमानस्थल बनाएर विकासमा उलटफेर गरिदिन्छु भन्ने आवाज निकै चर्को थियो। त्यसो नगरौं भन्नेलाई विकास विरोधी भन्नेको लर्को पनि लामै थियो। प्रकृतिसँग मिलेरै विकास गरौं। घाँटी र पेट मिलेर बाँच्नुलाई विकास भनिन्छ, घाँटी काटे पेट पनि मर्छ भन्ने बुझे पो प्रकृतिलाई सन्चो हुन्छ।

मान्छेलाई बिसन्चो भएर प्रकृति सन्चो हुनु मान्छे बाहेक अरु प्राणी, जीवजन्तु र बोटविरुवाका लागि सुखद खबर हो। मान्छेका लागि यो दुःखद खबर हो। समग्र सृष्टि आफ्ना लागि बनेको, आफूले लाउने, खाने, रमाउने साधन मात्र हो भन्ने अहङ्कार त्यागेको दिन प्रकृतिसँगै मान्छेलाई पनि सन्चो हुन्छ। मान्छेले आफ्नो मात्र होइन, प्रकृतिको सन्चो–बिसन्चो पनि ख्याल गरोस्।

भाइरल बनेको भाइरसले छोडेर हामी घरबाहिर एकदिन त निस्कन पाउँछौं होला। त्यतिवेला अहिलेको हिसाबकिताब पक्कै होला। भत्काएर क्षतिपूर्ति हैन, मलजल गरेर क्षतिपूर्ति खोज्ने रहर गरेको दिन प्रकृति र मान्छे दुबैको पक्कै जय हुनेछ।

प्रतिकृया दिनुहोस