ब्लग शनिबार, असार ६, २०७७

ज्वाईं सहितै माइत बसें

रुपा जोशी

ज्वाईं सहितै माइत बसें
चन्द्रकुमारी जोशीकाे बिधवापछिकाे तस्वीर र चन्द्रकुमारीका श्रीमान हिमालय राज जोशी । तस्वीर: जाेशी परिवार

मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की–अड्की, दोहोर्‍याई–तेहेर्‍याई पुराना कुरा गर्नुहुन्छ । मुवा ९ वर्षको हुँदा आफूभन्दा १३ वर्ष जेठा हिमालयराज जोशीसँग बिहे भएको थियो । १५ वर्षको उमेरमा ८ महीनाको छोरो काखमा हुँदा विधवा हुनुभयो । मुवा माइत (ढोकाटोल) मा नै धेरै बस्नुभयो । घर खलकसित खासै हिमचिम भएन । यसपालिको अंशमा बिहे, पति, ससुरा र सौतेनी सासूका बारेमा उहाँकै शब्दमाः

रुपा जाेशी

घर जानै मन लाग्दैनथ्यो

अहिलेका केटीहरूलाई धेरै राम्रो । उ वेला त अलिकति उमेर भयो कि बिहे गर्दिहाल्ने । साह्रै दुःख थियो । मलाई बिहे भनेको के हो थाहै थिएन । बूढीबजै (बुढीसासू) मेरो बडमुवा (शिवकुमारी पाण्डे) कहाँ चाकडी गर्न आउँथिन्, अनि उनैले बडमुवालाई ‘हजुरको नातिनी मेरो नातिलाई बक्स्योस्’ भनेर मागेकी रै’छन् । त्यसरी पो भएको त बिहे।

बूढीबजैले मलाई एकदम माया गर्थिन्। माइतमा बोलाए जस्तै ‘मैया’ भनेर बोलाउँथिन्। मेरो बडमुवाकहाँ आउने भएकोले बिहेमा के के हाल्नुपर्छ भनेर सबै जानेकी थिइन्। त्यसैले मेरो बिहेमा लुगाफाटा, गहना राम्रो हालेको थियो।

मैले दुल्हा (हिमालयराज जोशी) लाई बिहे गर्नुअघि एकचोटि मात्र देखेको हो । मेरो बिहे गर्ने वेलामा अरू त रोए होलान्, म पनि रोएँ । अनि त मसँगै सँगी (नानीमैया) पनि आइन् बग्गीमा । सँगीको बिहे भइसकेको थियो । धाई र बुबु पनि आएका थिए । सबलाई लिएर गएको!

ठाइँली, मेरो सौतेनी सासूले भित्र्याएको हो मलाई। मानापाथी पनि उनै सासूसँग गरेको हो । बिहे सकेपछि बुढाहरू, ससुरा (चन्द्रकान्त जोशी) हरू मधेश गए, अनि म माइत फर्कें । बिहेपछि माइतै धेरै बसें। कैले कैले घरबाट लिन पठाउँथे, एउटी स्वास्नीमान्छे आउँथिन्। तर म जान्नथें । जान मन लाग्दैनथ्यो। दशैंमा एकचोटि जानु परिहाल्थ्यो । अनि दशैँ सिद्धिनासाथ फेरि माइत । हुँदाहुँदा ज्वाईं समेत माइतै!

यो पनि पढ्नुस्ः बुहारी पढाउँदाका दुःख (उवेलाका कुरा)

हिमालय राज जोशी दरबार हाइस्कूलमा पढ्न थाल्दाको सन् १९२५ मा छापिएको अंग्रेजी पाठ्यपुस्तक । यसमा हिमालय राजले व्याकरण अलि नमिलेको अंग्रेजीमा 'यो मेरो किताब हो, कसैले नचोर्नुु' भनेर लेखिएकाे हस्तलेखन ।

म घर जाँदा दुई जनालाई साथी लिएर जान्थें । अनि त बिहान सबेरै शुरूमा मलाई दूध खुवाएकी काइँली बजैको दुल्हाले ‘नानीलाई खान्दिन पर्छ’ भनेर तात्तातो जिल्फीसिल्फी सब बोकेर आउँथे डिल्लीबजारमा। कस्तो माया गर्ने तिनीहरू।

दुल्हा पैला त मधेशमा बाउसँग बस्थे । पढ्नुसढ्नु छैन, त्यसै बसिरहेका। मधेशमा बस्दा पढाएका रैनछन् । अलि अलि बूढीआमाले पढाएकी थिइन् रे ! सौतेनी आमा थिइन्, आफ्नो आमाको मृत्यु भइसकेको । ‘किन यसरी बस्नु, पढ्नुपर्छ। आउ यहीं’ भनेर ढोकाटोल डाके । अनि त स्कूल जान थाले । अंग्रेजी पढ्न थाले। पढ्न त पाउनै पर्‍यो नि ! ससुराले ‘छोरालाई गुरुज्यूहरूले पढाइदिएको छ र आनन्द भा’छ' भन्थे।

घरमा दुल्हा र सासूको बिहान बेलुकै खुट्टा ढोग्नुपर्थ्याे । पछि सानीमैया (बुहारी अंगुरबाबा जोशी) लाई भित्राएपछि त्यो वेलाको चलन अनुसार ढोगाउनुपथ्र्यो, तर म ‘भो, भो, भो बा भो, उठ उठ’ भन्थें । बिहेको एक दिन पो ढोगाउने। त्यो रोज रोज पनि कोही ढोगाउँछ ? त्यो साह्रै हेलाँ गरेको, नोकर जस्तो, मैले त गराइनँ।

घरमा दुल्हा र सासूको बिहान बेलुकै खुट्टा ढोग्नुपथ्र्यो । पछि सानीमैया (बुहारी अंगुरबाबा जोशी) लाई भित्र्याएपछि त्यो वेलाको चलन अनुसार ढोगाउनुपथ्र्यो, तर म ‘भो, भो, भो बा भो, उठ उठ’ भन्थें । बिहेको एक दिन पो ढोगाउने। त्यो रोज रोज पनि कोही ढोगाउँछ ? त्यो साह्रै हेलाँ गरेको, नोकर जस्तो, मैले त गराइनँ।

चन्द्रकान्त जोशी (बायाँ) र उनका भाइ दीर्घराज । तस्वीर सौजन्य: जयराज जोशी

म दुल्हासँग धेरै वर्ष बसिनँ, बा । ढोकाटोलमा हामी अलग अलग कोठामा हुन्थ्यौं । म बडमुवासँगै सुत्थें, दुल्हा अलग्गै सुत्थे । उ अनि दाइदाइ (कुलनाथ लोहनी) अनि अरूहरू चोकको त्यो ठूलो बैठकमा सुत्थे । धेरैपछि मात्र सँगै बस्यौं। अनि त गइहाले । ६ वर्षमा त दुल्हा खत्तम भइहाले । बिफरले । बिफर पनि निको भइसकेको थियो। फेरि के भयो, बिते।


यो पनि पढ्नुस्ः चारबिसे तन्नेरी

मलाई डाक्न आए । ११ दिन त्यहीं बिताएँ । दुल्हा बित्दा त्यो गतिमा बस्नु पर्दा के भयो होला ? उनलाई त पशुपतिमा जलाए । उनका बाबु र सौतेनी आमा काशीमै थिए। खोइ कसले दागबत्ती दियो ? बिर्सें।

त्यसपछि फुपूको घरमा बस्न गएको । म त्यहाँ, छोरो माइतमा । दुल्हा बितेपछि गाह्रो त भइहाल्यो नि ! भयंकर नरमाइलो भयो। लोग्ने मरेपछि दुःख हुन्न त बा ? अनि बरखी सकिएपछि त ढोकाटोलमा बसिहालें। घरमा बसिसक्नु ठाउँ थियो र ? रद्दी। दुल्हा बितेपछि घर आउ भनेनन्, किन भन्थे?

हेर्नमा ठीकै थिए दुल्हा

दुल्हाका आँखा राम्रै थिए ठूल्ठूला । आँखीभौं मोटो थियो । ओठ बाक्लो थियो । जुँगा थियो । मभन्दा धेरै अग्ला थिए । उमेरमा पनि ठूला । हेर्नमा त ठीकै थिए, राम्रो त होइन । मान्छे बाठै थिए । बेस थिए, ज्ञानी थिए । उनी दाइदाइसित नजिक थिए।

उनलाई खान के मन पथ्र्यो मलाई त थाहा छैन बा । खै, के खान्थे के खान्थे । खाना लिएर खुवाउने त्यस्तो चलनै थिएन । उनी र दाइदाइ बुवासितै भान्छामा भुजा खान्थे । पैला केटाहरू एकैचोटि खान्थे । बुवाको थालमा मुवाले खाने । दाइदाइको थालमा भाउजूले खाने । म त जूठो थालमा खान्थिनँ । अर्कै थालमा खान्थें।

मलाई दुल्हाको के माया लाग्थ्यो र, खोइ ? दुल्हाले त माया गर्थे । दुल्हाहरू त सबैले नै माया गर्छन् नि ! मलाई ‘मैया’ भनेर बोलाउँथे । मैले त ‘उ’ भनेर कुरा गर्थें । ‘उल्लाई सोधन’ भन्थें । हजुरसजुर भन्दिनथें । कुरा नै हुँदैनथ्यो । अहिलेको जस्तो जमाना होइन बा । अर्कै हुन्थ्यो।

बल्लाम (छोरा बलराम जोशी) पेटमा छँदा उनले जे देख्यो ‘मैयालाई मीठो लाग्छ’ भनेर बोकेर ल्याउँथे । हलुवाइकहाँबाट घेवर किनेर ल्याउँथे । मलाई घेवर एकदम मन पथ्र्यो । घेवर त ठूलै हुन्थ्यो, सानो सानो टुक्रा पारेर खाने । कैले कैले उनले योमरी पनि ल्याउँथे।

बल्लाम (छोरा बलराम जोशी) पेटमा छँदा उनले जे देख्यो ‘मैयालाई मीठो लाग्छ’ भनेर बोकेर ल्याउँथे । हलुवाइकहाँबाट घेवर किनेर ल्याउँथे । मलाई घेवर एकदम मन पथ्र्यो । घेवर त ठूलै हुन्थ्यो, सानो सानो टुक्रा पारेर खाने । कैले कैले उनले योमरी पनि ल्याउँथे।

बल्लाम त ठूलै बच्चा थियो । पाउने वेलामा काली मिसिनी (सुँडिनी) सँगै बसेकी थिई । सब दंग परे । मुख हेरेर पैसा दिए । छोरा पाएकोमा दुल्हा पनि खुशी थिए । न्वारान पछि बोक्थे पनि छोरालाई ।

दुल्हा मधेशमा बस्थे । उनीहरूको जग्गा थियो, डिगोलमा । त्यहाँबाट आएकोले खान पुग्थ्यो । रामेछाप चिसापानीमा पनि जग्गा थियो । ससुराका पुर्खा त्यहाँ वैद्य रैछन्, अनि हातले छुनु नहुने, तलै बसेर महारानीको नाडीमा बाँधेको धागोबाट रोग पत्ता लगाएपछि ‘जति जग्गा देख्छौ तिम्रो भयो’ भनेको रे ! त्यहाँ पनि म कैल्यै गइनँ । तर सब सामान आउँथ्यो त्यहाँबाट । खानेकुरा सबै, चामल दाल, तेल, घ्यू, गेडागुडी । घरमा मेरा सासूहरूले सबै आफैं कुटेर खान्थे । धेरै भएको बेच्ने । डिल्लीबजारमा जान्थ्यो सबै सामान ।

बाल्यकालका किरणराज जोशी (चन्द्रकुमारी जाेशीका नाति, चन्द्रकान्त जाेशीका पनाति) र बाल्यकालका बलराम जोशी (चन्द्रकुमारी जाेशीका छाेरा) ।

ससुरा र सौतेनी सासू

जग्गाबाट आएको पैसा सबै सौतेनी सासूले लान्थिन् । सौतेनी सासू हो, हेलाँ त भैहाल्थ्यो नि ! भयंकर कि थिइन् । ओहो ! छोरालाई हेलाँ गर्थिन् । एक पैसा नदिने । चलनै रद्दी । मेरो धाईले बुवा मुवासित ‘ज्वाईं बाजेलाई यस्तो यस्तो दुःख छ’ भनेको सुन्थें । क्या हो क्या हो, म त बुझ्दिनथें । कत्रो थिएँ र म ! सानै थिएँ।

दुल्हा बितेपछि पनि म त माइतै बसें । छोरालाई कसरी ठूलो बनाउने, कसरी मान्छे बनाउने भन्ने पीर थियो मलाई । छोरा पाल्न भनेर क्यै दिएनन् । उनीहरू उतै काशीमा बस्थे । हामी ढोकाटोलमै बस्यौं । बल्लामलाई डिल्लीबजार लाँदै लगिनँ । सब खर्च मेरो बुवाले नै गरिबक्सिन्थ्यो ।

बुढा (ससुरा) त बेसै थिए, स्वास्नीको डर थियो। उनी बिरामी परेपछि पनाति (किरणराज जोशी) हेर्न एकदम रहर लाग्यो भने। किरणलाई देखाउन लगेकी थिएँ। ऊ सानै थियो। बल्लामहरू बेलायतमा थिए। बूढाले असाध्यै माया गरे किरणलाई। ‘बाबु!’ भन्या छ, काशीमा जे जे पाइन्थ्यो खान दिया छ।

यो पनि पढ्नुस्ः नेभर रिटायर्ड

किरणको त झाडा पनि धुन्थे बुढाले । अनि ठाइँलीले ‘के देख्नु पर्‍यो, नातिको चाक पनि धुनुपर्ने !’ भन्थिन् । त्यै वेला, के कारणले हो, ससुराले मलाई गाली गरेको सुनेर, किरणले ‘अब हामी यहाँ नआउने हगि ! अब आउँदै नआउने, हगि मुवा ?’ भन्यो । अनि फेरि बूढाले, ‘हेर पनातिलाई पनि मेरो विरुद्ध भड्काई’ भने । आफ्नो पनातिलाई त्यहीं राख्न भनेका थिए, त्यसैले होला रिसाएको । म के राख्न दिन्थें सौतेनी खलकमा!

ससुरा काशीमै बिते । हामीलाई उनी साह्रै बिरामी छन् भनेर तार आयो । अनि म गएँ । फुपूबजै (चन्द्रकान्तको बैनी) र फुपूबजैका छोरा, भानिज पुरेत (लोचननिधि तिवारी) पनि सँगै गएको । पटना हुँदै हवाईजहाजमा । म जाँदाजाँदै बुलानालामा बसें, अनि पछि ससुराहरू बसेको भाडाको घरमा बस्यौं । मेरो त माइत बुलानालामा भएकोले जे चाहिन्थ्यो त्यहाँबाट आउँथ्यो।

ससुरा काशीमै बिते । हामीलाई उनी साह्रै बिरामी छन् भनेर तार आयो । अनि म गएँ । फुपूबजै (चन्द्रकान्तको बैनी) र फुपूबजैका छोरा, भानिज पुरेत (लोचननिधि तिवारी) पनि सँगै गएको । पटना हुँदै हवाईजहाजमा । म जाँदाजाँदै बुलानालामा बसें, अनि पछि ससुराहरू बसेको भाडाको घरमा बस्यौं । मेरो त माइत बुलानालामा भएकोले जे चाहिन्थ्यो त्यहाँबाट आउँथ्यो।

त्यहाँ जाँदा त ससुराको हालत बेहाल थियो । झाडा फेर्न चर्पीसम्म जान नसक्ने भइसकेका थिए । पैसा धेरै लाग्छ भनेर डाक्टरलाई पनि नदेखाएको रहेछ । फुपूबजैले त ‘के गर्नुभएको यस्तो भाउजू ? यस्तो पनि गर्नुहुन्छ ?’ भनिन्।

हिमालयराज जाेशी र सौतेनी आमा (चन्द्रकान्त जोशीकी श्रीमती) ।

यो पनि हेर्नुस्ः नौ वर्षकी दुलही

अनि डाक्टरलाई देखाउँदा ‘अब अड्दैनन्’ भने । अर्काको घरमा बसेको, भित्र मर्न नदिने । अनि तल सार्‍यौं । भानिज त पुरेत थिए, त्यहीं धार्मिक के के हो गरे । मर्न तयार भएपछि अब लगिहाल भने, अनि घाट लगेको । जलाउन लागेपछि हामी फर्क्याैं। सबै काम सकाएर म नेपाल फर्कें। फुपूबजैहरू चाहिं उतै बसे।

सब बिते!

(किरणराज जोशी र रूपा जोशीसितको कुरामा आधारित)

प्रतिकृया दिनुहोस