ब्लग आइतबार, फागुन ४, २०७६

नौ वर्षकी दुलही

हिमालखबर

नौ वर्षकी दुलही
१०० पछि जन्मिएका जनाति र जनातिनाहरूसित चन्द्रकुमारी ।

अचला सप्तमीको दिन (१८ माघ) मा बूढीसासू (सासूकी सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेक्यो। ढोकाटोल (यट्खा) मा राजाहरूलाई मन्त्र सुनाउने बडागुरुज्यू (पाण्डे) को खलकमा उहाँको जन्म भएको हो। ९ वर्षको उमेरमै आफूभन्दा १३ वर्ष जेठा हिमालयराज जोशीसित बिहे भयो। ६ वर्षपछि, काखमा आठ महीनाको छोरो हुँदा श्रीमान्को मृत्यु भयो। छोरा डा. बलराम जोशीको पनि ६३ वर्षको उमेरमा मृत्यु भइसकेको छ। बुहारी अङ्गुरबाबा जोशी (८९) अब्बल शिक्षित नारी बन्न उहाँको निकै योगदान छ। अहिले उमेरका कारण विस्मृतिले च्याप्न थालेको छ। करीब तीन सातायता स्वास्थ्यमा केही सुधार भएपछि छोटो वैवाहिक जीवनबारे हामीले सुन्न पाएका केही सम्झना उहाँकै शब्दमा–

रुपा जाेशी

त्यो वेला पनि बिहेका लागि केटी माग्न जानुपथ्र्यो । मलाई दुई–तीन ठाउँबाट माग्न आएका थिए । एउटा पलाञ्चोकतिरको थियो । अर्कालाई बाबुले देखाउन भनेर ल्याएका थिए, ढोकाटोलमा । बडामुवालाई ऊ नै मन पर्‍यो, अनि त्यही भयो । मैले उनलाई त्यही वेला देखेको हो । राम्रै लुगा लगाएका थिए । देख्नमा त त्यति राम्रा थिएनन्, ठीकैका । मधेशमा बसेर अलि काला भएका थिए ।

बिहे गर्दा मलाई पटक्कै रमाइलो लागेन । साह्रै सानी थिएँ । बिहे गरेर दुलाहाको घर जाँदा बग्गीमा गएकी । गुरुज्यूकी छोरी भएकाले घोडावाल बग्गी चढ्न पाएकी थिएँ ।

दुलाहाको घर डिल्लीबजारमा थियो । घरको ढोका टाउकै ठोक्किने । चर्पी त हरे ! घरबाहिर रहेछ । ढोका बोराको पर्दाले छोपेको, पानी गहिरो इनारबाट तानेर लोटामा अलग्गै लैजानुपर्ने । फसाद ! झडा फेर्न त म ढोकाटोल नै जान्थें ।

तन्नेरी चन्द्रकुमारी (पाण्डे) जोशी (बायाँ) र २८ वर्षमै बित्नुभएका हिमालयराज जोशी (बीचमा) र १८ माघ, जन्मदिनमा खिचेको तस्वीर ।

 

दुलाहाको गोडाको पानी खाने चलन थियो । व्रत लिएपछि र पूजा गरेपछि पानी खानुपर्ने । त्यस्तो फोहोरीको पनि कसैले पानी खान्छ, फालिदिन्थें म त । कस्तो हेलाँ गरेको ! त्यस्तो पनि हेप्नुहुन्छ ? मैले त गर्दै गरिनँ ।

बिहेको भोलिपल्ट दुलाहाको जुठो खानुपर्ने । ‘दुलाहाले पैसा दिन्छ, अनिखाऊ’ भन्न थाले । फ्वाक्क हालेको भातलाई उसले औंलाले क्वार क्वार गरेर गिजोलेको । घिनलाग्दो ! मैले त जुठो नपरेतिर सलक्क परेको भात अलिकति खाएँ, त्यत्ति हो । भगवान्को प्रसाद भनेर खानुपर्ने रे ! त्यस्तो गर्न त भगवान्को जस्तो बुद्धि पनि त हुनुपर्थ्याे नि ! त्यहीवेला मैले सोचेकी थिएँ, मेरा छोराछोरी भए त त्यस्तो के ख्वाउँथें, ज्यानगए खानदिन्नथें !

दुलाहा–दुलहीको कुरा हुँदैनथ्यो । म बोल्दै बोल्दिनथें, वास्तै गर्दिनथें । दुलाहाले त पढेको पनि थिएन । मैले ऊभन्दा धेरै पढेकी थिएँ । बिहेपछि ढोकाटोलमै ल्याए । दरबार स्कूलमा भर्ना गराए । अनि दाइदाइ (कुलनाथ लोहनी) सँगै म्याट्रिकसम्म पढे ।

सुत्केरी हुन भने उनकै घर जानुपर्‍यो । छोरा जन्मेपछि दुलाहा दङ्ग परे । घरभरिकालाई के के बाँडे क्यार ! अनि पछि माइतमै ल्याए ।

दुलाहालाई बिफर भयो । निको पनि भइसकेको थियो । तर, फेरि खै के भयो, बल्झ्यो । अनि ढोकाटोलबाट उनलाई आफ्नै घर पठाए । बिफरपछि निमोनिया भयो । अनि खत्तम भए, उतै बिते । त्यसपछि, ११ दिनसम्म उनकै घरमा बस्नुपर्‍यो । त्यसपछि बुवामुमाले मेरो फुपूको घर पोकलड्याङमा लगेर छाड्नुभयो । एक वर्षसम्म त्यहीं बसें । ‘बाबुआमालाई हेर्न हुन्न, माइत जानुहुन्न’ भन्थे ।

याैवनकालमा चन्द्रकुमारी

शुरूमा आठ महीनाको छोरासँग अलग्गै बस्नुपर्‍यो । छोरा ढोकाटोलमै भएकाले दूध खुवाउन छुट्यो । धाईको दूध खान सकेन, वाक्क गर्‍यो रे ! गाईको दूध खुवाएछन् । त्यहाँ खूब स्याहार पायो । बुवा–मुमाले माया गर्ने । अनि म पोकलड्याङ बस्न गएपछि छोरा पनि म सँगै बस्यो । तर, मेरो दूध सुकिसकेको थियो ।

त्यो एक वर्षसम्म फुपूको घरमा बस्दा कतै बाहिर गइनँ । फुपूकी नातिनी ‘सँगी’ र अरूहरू पनि थिए । ओहो कस्तो दुःख ! भयङ्कर नरमाइलो भयो नि !

एक वर्षसम्म सेतो लुगा लगाएँ । पछि पनि रातो लगाउन नमिल्ने, चुरा–पोते–टीका क्यै लगाउन नमिल्ने । पछि मिनाकारी गरेको सुनको चुरा लगाउन थालें । यार्लिङ लगाउन नमिल्ने, टप चाहिं हुने । तिलहरी नत्थ सबै थियो तर, लगाउन नमिल्ने । पछि गहना बनाउने वेलामा मासियो ।

फुपूको घरबाट एक वर्षपछि ढोकाटोल गएँ । बुवा–मुमाले छोराको खर्च सबै हेर्ने, मैले क्यै गर्नुपर्दैनथ्यो । तर, छोरोलाई कसरी ठूलो मान्छे बनाउने भन्ने मलाई साह्रै पीर थियो । उसले राम्रोसित पढेकाले ‘फस्टका फस्ट’ भएर पास भयो । डिल्लीबजार पनि पठाइनँ । मामाघरै बस्यो ।

मेरा बाउआमाले एकदमै फुर्क्याएर राखेकाले छोरो बलराम शेर्रा भएकोथ्यो । सबलाई घँचेट्ने गर्थ्याे, टेर्दैनथ्यो । अनि सबले गाली गर्थे, ‘कस्तो मापाको’ भन्थे । एकदिन उसकै उमेरको सानिमा बिन्दा (बिन्दा शाक्य) लाई ‘ए बिन्दा आऊ, म तिमीलाई राम्रो पारिदिन्छु’ भनेर बैठकको ठूलो ऐना अगाडि लगेछ र एकापट्टिको चुल्ठी च्वाट्टै काटिदिएछ ! अनि त बिन्दाको आमाले धूमधाम गाली गरिहालिन् नि !

पुराना कुरा त्यस्तै हो बा !

(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)

 

प्रतिकृया दिनुहोस