रिपोर्ट विहीबार, मंसिर १२, २०७६

एमडीएमएस ठेक्का पाउने मलेशियाको कम्पनी निलम्बित

रामु सापकोटा

एमडीएमएसको ठेक्का पाउने जेभी कम्पनीमध्ये अर्को विवादित कम्पनी हो, मलेशियाको न्यूमेरा एसडीएन बीएचडी । तर न्यूमेरा मलेशियामा खराब सूचीमा परेको कम्पनी हो ।

नेपालमा सञ्चालन हुन लागेको एमडीएमएस जस्तै मलेशियाको ‘पब्लिक सेलुलर ब्लकिङ सर्भिस’ को ठेक्का न्यूमेराले सन् २००९ देखि पाएको थियो।

तर, मलेशिया सरकारको कम्युनिकेशन एण्ड मल्टिमिडिया कमिसनले न्यूमेराले सन् २०१४ मा चार करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ताको व्यक्तिगत सूचना चुहाउने काममा संलग्न भएको भन्दै १७ असोज २०७६ मा ठेक्का रद्द गरेको पाइएको छ ।

यसअघि सन् २०१८ को जनवरीमा पनि कमिसनले मोबाइल प्रयोगकर्ताको गोपनीयताको सुरक्षा गर्न नसकेको भन्दै न्यूमेरासँगको ठेक्का रद्द गरेको थियो ।

न्यूमेरालाई पब्लिक सेलुलर ब्लकिङ सर्भिस स्थापना गर्न मलेशियाका दूरसञ्चार सेवा प्रदायक कम्पनी मार्फत मोबाइल प्रयोगकर्ताहरूको व्यक्तिगत सूचनामा पहुँच दिइएको थियो ।

कमिसनले न्यूमेरालाई मिलेमतोमा ठेक्का दिने निर्णय गरेको भन्दै शुरुआतदेखि नै विवाद भएको थियो । ठेक्का रद्द गरेसँगै कमिसनले न्यूमेरालाई निष्क्रिय कम्पनीमा सूचीकृत गरेको छ ।

टेलिकम क्षेत्रका विज्ञहरू मलेशियामा मोबाइल प्रयोगकर्ताको व्यक्तिगत विवरण चुहाउने काममा संलग्न कम्पनीलाई दूरसञ्चार प्राधिकरणले एमडीएमएसको ठेक्का दिनु लापरबाही र जोखिमपूर्ण भएको बताउँछन् ।

 

दूरसञ्चार प्राधिकरणबाट ठेक्का पाएको कम्पनीमा अवैध लगानी

व्यक्तिगत गोपनीयता धरापमा पार्ने दूरसञ्चार प्राधिकरणकाे रु.१ अर्बको ठेक्का

प्रतिकृया दिनुहोस