सहमतिपछि कृष्णनगरको तनाव हट्यो, आफन्तले शव बुझे
लक्ष्मी पुजाका लागि बनाइएको मुर्ती विसर्जनका क्रममा कपिलवस्तुको कृष्णनगरमा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ ।
बिहीबार राति दुवै पक्ष सहमतिमा विवाद हल गर्न सहमत भएका हुन् । सहमतिअनुसार, प्रहरीले मुर्ती विसर्जन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सुरजकुमार पाण्डेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।
प्रदर्शनकारीले मृतकलाई राहतको माग गरे पनि पाण्डे भारतीय नागरिक भएकाले यसबारे केही निर्णय हुन सकेन । प्रदर्शनका क्रममा तोडफोड गर्ने दुवै पक्षलाई पहिचान गरी कार्बाही गरिने भएको छ ।
बाँकी मुर्तीहरु विसर्जनका लागि प्रहरीले सुरक्षा दिने सहमति भएको छ । १३ कात्तिक राति कृष्णनगर खोलामा मुर्ती विसर्जन गर्न लैजाने क्रममा विवाद उत्पन्न भएको थियो ।
मस्जिद भएको बाटो भएर मूर्ती लगिएको भन्दै विवाद उत्पन्न भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान ११ बजेसम्मका लागि कृष्णनगरमा कर्फ्यू लगाएको छ ।
तर, सहमतिपछि प्रदर्शन रोकिएकाले कर्फ्यू हटाउने प्रशासनले तयारी गरेको छ ।