मोबाइल पनि नचलाउने बूकर विजेता भन्छिन्, ‘म अझ पछाडि फर्किन सक्छु’
अन्तरिक्ष केन्द्रमाथि लेखिएको उपन्यासबाट बूकर पुरस्कार पाएकी लेखिका सामन्ता हार्भी भन्छिन्, “अर्बिटल वास्तवमा नोक्सानीको पीडा सँगसँगै पृथ्वीको सौन्दर्यको उत्सव हो, जसलाई लेख्न चिन्ताग्रस्त अनिद्राले प्रेरित गर्यो।”
भर्खरै बूकर पुरस्कार विजयी उपन्यास अर्बिटलकी लेखिका सामन्ता हार्भीले झन्डै यो उपन्यास पूरा नै नगरी छोड्न आँटेकी थिइन्। यो उपन्यासमा १७ हजार ५०० प्रतिमाइलको गतिमा दौडिरहने पृथ्वीबाट २५० माइलपरको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका ६ जना अन्तरिक्षयात्रीको दैनन्दिन जीवनको कथा छ।
हार्भीले उपन्यासका केही हजार शब्द लेखिसकेकी थिइन्, तर एकाएक लय भत्कन पुग्यो। उनलाई लाग्यो, अन्तरिक्षबारे आफूले थाहा नपाएको विषयमाथि कलम चलाउँदै छु। “आखिर म अन्तरिक्षयात्री पनि त होइन,” बूकर पुरस्कार पाएको भोलिपल्ट चियागफमा भेटिंदा हार्भीले हाँस्दै भनिन्, “म उस्तो साहसी, आत्मविश्वासी, व्यावहारिक र निडर मान्छे होइन। बरु डरपोक र विचारमग्न प्राणी हुँ। म त खत्तमै हुँ कि जस्तो लाग्थ्यो।”
लेखनका अन्य विषयमाथि अल्झिरहँदा उनले एक दिन झुक्किएर कम्प्युटरमा आफूले बेवास्ता गरेको ‘वर्ड डकुमेन्ट’ खोलिन्। आफूले लेखर त्यसै छाडेका विषय पढ्दै जाँदा उनलाई अन्य विषयभन्दा यो बढी ओजपूर्ण र आकर्षक लाग्यो। “मलाई लाग्यो, मैले यति धेरै डराउनु पर्दैन। अन्तरिक्षयात्रीले बिताउने समयबारे लेखिनेभन्दा भिन्न तरीकामा यो लेखिएको छ भने केही न केही रोचक कथा त बन्छ नै।”
आफूले त्यसै छोडेको पाण्डुलिपिमा फेरि काम गर्ने सुर कसिन्। त्यसपछि त टुंग्याएरै छोडिन्।
‘अहिलेको पुस्ताकी भर्जिनिया उल्फ’ तथा ‘आकाशकी हर्मन मेल्भिली’ को उपमा पाएकी हार्भी यो वर्ष बूकर पुरस्कारको अन्तिम सूचीमा परेकी एक मात्र बेलायती लेखिका थिइन्। हार्भीको पाँचौं उपन्यास अर्बिटललाई सुन्दर, शक्तिशाली र मौलिक साहित्य मानिएको छ। उपन्यासको कथा एक दिनको मात्र भए पनि अन्तरिक्षको समय भने फरक फरक हुँदो रहेछ, जहाँ ‘बिहानी डाँक प्रत्येक नब्बे मिनेटमा आउँछ’ र सूर्य पनि ‘कुनै यान्त्रिक खेलौना जस्तै तल-माथि तल-माथि गरिरहन्छ।’
उपन्यासका १६ खण्डलाई पृथ्वीका एक-एक कक्षमा विभाजित गरिएको छ। कथानकमा अन्तरिक्षको दैनिक जीवनका सानातिना कर्म वर्णित छन्, जस्तै क्याप्सुल सफा गर्ने काम, मुसा र अन्य परजीवीको निगरानी गर्ने काम आदि। अनि अन्तरिक्षमा भएको एउटा शौचालय सधैं अवरुद्ध हुँदो रहेछ। त्यहाँबाट फिलिपिन्समाथि ठूलो आँधी आएको देखिन्छ।
उपन्यासका ६ जना पात्रले पुराना घटनाहरू सम्झन्छन्। चेकी आमा बितिन्; एन्टोन श्रीमतीसँगको प्रेममा बिरक्तिएको छ; शअनको प्रेम अंकुराउँदै छ, यस्तै यस्तै।
उपन्यासको कथा अन्तरिक्षमा रचिए पनि विषयवस्तु पृथ्वीकै छन्। यो हाम्रो समस्याग्रस्त ग्रहलाई लेखिएको १३६ पृष्ठको प्रेमपत्र सरह छ। यसलाई हार्भीले ‘अन्तरिक्ष गाथा’ भन्न रुचाएकी छन्, मानौं कि यो अन्तरिक्षमाथि लेखिएको प्राकृतिक लेख हो। “म पृथ्वीको सौन्दर्य उत्सव मनाउने विषयमा लेख्न चाहन्थें, तर यस ग्रहमाथि हामीले जे गरिरहेका छौं, त्यो विचार गर्दा मेरो लेखाइमा दुःखको भावना र पीडाबोध होस् भन्ने पनि चाहन्थें,” उनले भनिन्।
मृदुभाषी, घना केशराशि र कमलो व्यक्तित्वकी हार्भीमा अन्य अलौकिक गुण पनि छन्। मूर्ख भन्नुहोस् वा जे भन्नुहोस्, उनीसँग मोबाइल छैन, अन्य सामाजिक सञ्जालको कुरा त परै रहोस्।
हाल उनी बसिरहेको विल्टसायर-समरसल्टको घर पनि १६औं शताब्दीमा बनेको हो। “म चाँडै अझ पछाडि फर्किन सक्छु,” उनी ठट्टा गर्छिन्।
वर्षौं लगाएर उनले पूर्ण कदको मूर्ति बनाउने तालीम लिएकी छन्। आफ्नो जीवनसाथीको पूर्ण कदको मूर्ति (६ फिट २ इन्च)लाई घर पछाडिको बगैंचाको झाडीमा लुकाएर राखेकी छन्। उनले लेख्न बस्ने कोठा ‘चिसो, जीर्ण, ओसिलो र पुरानो’ छ, न त कोठाको राम्रो सजावट नै गरिएको छ। उनी इमानदार छिन् र केही अजीव पनि देखिन्छिन्। तर आफ्ना कथा जस्तै गम्भीर छिन् र व्यवहार पनि कोमल छ। उनी कहिल्यै प्रचारको भोकमा हुँदिनन्।
हार्भी आध्यात्मिक नभए पनि कथामा भने आस्तिक विश्वास फिरेको देखिन्छ। त्यो अर्बिटलमा पनि देखिएको छ। “हामी अहिले धर्मनिरपेक्ष समाजमा छौं,” हार्भी प्रश्न गर्छिन्, “हामीले ठूला दार्शनिक उपाय कहाँबाट पाउँछौं? अर्थ कहाँबाट ग्रहण गर्छौं?”
सन् २००९ मा प्रकाशित पहिलो उपन्यास द वाइल्डरनेसलाई सबैले रुचाए, जसमा अल्जाइमर ग्रसित एक वास्तुविद्को कथा थियो। सन् २०१८ मा प्रकाशित चौथो उपन्यास द वेस्टर्न विन्डमा मध्यकालको एक हत्या रहस्यको कथा उनिएको थियो। यी उपन्यासमा उनले मानवीय अस्तित्व र विश्वास तथा समकालीन समय र स्मृतिमाथि प्रश्न उठाएकी छन्।
यही लहरमा उनको दोस्रो उपन्यास अल इज सङ्स (सन् २०१२) र तेस्रो उपन्यास डियर थिभ्स (सन् २०१४) रचिएका हुन्। प्रत्येक उपन्याससँगै नयाँ क्षेत्रमा दह्रो उपस्थिति जनाएकी छन्। तर सन् २०२० मा प्रकाशित संस्मरण द सेपलेस अनइज, जसमा उनले आफ्नो वर्षौंदेखिको अनिद्राको समस्या इन्सोम्नियाबारे लेखिकी छन्। त्यो रचना अहिलेको उपन्यास अर्बिटलसँग निकट रहेको ठान्छिन्। अनिद्राले ग्रसित हुँदाको विद्रूप र कहालीलाग्दो अनुभव अन्तरिक्षयात्रीका अनुभवसँग निकट हुने उनलाई लाग्छ।
“जसै म ४० वर्षमा लागें, तब चिन्ताले घेर्न थाल्यो,” हार्भी भन्छिन्, “यस्तो किन भएको हो, म केही भन्न सक्तिनँ। तर मलाई के लाग्यो भने, शायद यो संकटको समय हो।” उनी निदाउनै छाडिन्। “मलाई त यो संसारले नै घर्षण गरिरहे झैं लाग्न थाल्यो। सबै कुरा कोलाहलमय, व्यस्त र अतिशय ठूलो लाग्न थाल्यो,” उनी थप्छिन्।
अनि उनले २५० माइलपरको अवस्था कल्पँदै शान्ति खोज्ने प्रयास थालिन्। आफ्नै कुर्सीमा बसेर अन्तरिक्षमा हजारौं हजार घन्टा बिताउँदै विश्व परिक्रमा गर्ने अनुभवलाई आत्मसात् गर्न थालिन्। त्यसपछि त अनिद्राले पनि उनलाई पिरोल्न छोड्यो र खुशी तथा उमंग भरिंदै गए झैं भयो।
यो भावना प्रेममा परेको अवस्था जस्तै भयो। उनले उपन्यास लेखनलाई गति दिन थालिन्। इन्सोम्नियाले लेख्ने तरीकालाई पनि परिवर्तित गरिदियो। त्यसपछि त के थियो, उनले आफ्नो संस्मरण र उपन्यासलाई छोटो समयमै सकिन्।
हार्भीले अर्बिटललाई कोभिड-१९ महामारीअघि शुरू गरेकी भए पनि अधिकांश खण्ड बन्दाबन्दीकै वेला लेखेकी हुन्। उनको डेस्कटप कम्युटरमा जति वेलै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको भिडिओ फूटेज चलिरहन्थ्यो। “कल्पनामै भए पनि हरेक दिन अन्तरिक्षमा पुगे सरह हुनु मेरा लागि ठूलो सान्त्वना थियो,” उनी भन्छिन्, “जब म पृथ्वीमा हुन्छु, तब हामीले पृथ्वी तथा एकअर्काका लागि गरेका क्रियाकलापबाट सान्त्वना पाउन कठिन हुन्छ। तर जसै म आफूलाई ‘जूम आउट’ गर्छु तब मलाई शान्ति छाए जस्तो महसूस हुन्छ। त्यो वेला म कुनै धारणा विना नै वस्तुस्थिति विचार गरिरहेको हुन्छ, खालि त्यसको सुन्दरतालाई हेरिरहेकी हुन्छु।”
उनी सानैदेखि अन्तरिक्षप्रति हुरुक्क हुने खालकी थिइनन्। उनी केन्ट शहरमा हुर्किइन्। त्यो ठाउँमा पूरै कामकाजी वर्गका मानिसको बसोबास थियो, घरमा पढ्ने लेख्ने वातावरण थिएन। उनका बुबा निर्माणकर्मी थिए भने आमा घरैमा बस्थिन्। उनी १० वर्षको हुँदा बुबाआमा छुट्टिएका थिए।
आमाले छद्म रूपमा लेख्न थालिन्। आमाको छद्म लेखनकर्मले उनलाई ठूलो प्रभाव पर्यो। “म आमालाई प्रत्येक दिन, घण्टौंसम्म आफ्नो कम्प्युटरमा बसेर एउटा रहस्यमयी काम गरिरहेको देख्थें, त्यो काम थियो लेखन,” हार्भी सम्झिन्छिन्।
सन् १९८० का धेरै बालबालिकाले जस्तै, सन् १९८६ को च्यालेन्जर रकेट दुर्घटना उनको मनमा पनि गढेर बसेको छ। अन्तरिक्षमा उडेको ७३ सेकेन्डमै रकेट दुर्घटना भएको थियो, जसमा सवार सातै जनाको मृत्यु भएको थियो। त्यो घटनालाई उनले मार्मिक ढंगमा उपन्यासमा उतारेकी पनि छन्।
अमेरिकाको टेक्ससमा रहेको वेलामा उनको परिवारले हस्टनस्थित नासा अन्तरिक्ष केन्द्रको भ्रमण गरेको थियो। त्यहाँ रहेका ठूल्ठूला रकेट अगाडि सानी छँदा हार्भीको फोटो पनि खिचिएको थियो। आफू सरहका केटाकेटी अंग्रेजी पप ब्यान्ड डुरान डुरानको पोस्टर संकलनमा लागिरहेका वेला उनी भने अन्तरिक्षयात्रीको उद्धरण संकलन गरिरहेकी हुन्थिन्। “म सधैं ठूला दार्शनिक र भावुक विषयमा आकर्षित भइरहें,” उनी भन्छिन्।
धेरै वर्षपछि पहिलो उपन्यास लेखिरहँदा (हालसम्म अप्रकाशित) र सन् २००९ मा पहिलो पटक आफ्नो उपन्यास द वाइल्डरनेस प्रकाशित गर्दासम्म उनी बाथमा रहेको हर्सेल म्यूजियम अफ एस्ट्रोनोमीमा प्रशासनिक काम गरिरहेकी थिइन्। जहाँको बगैंचामा सन् १७८१ मा युरेनस फेला परेको थियो। “त्यो म्यूजियम वास्तवमै गजबको थियो,” उनी भन्छिन्। यसरी पनि उनले आफ्नै ढंगले अन्तरिक्षको परिक्रमा गरेकी थिइन्।
पाठकले उनलाई प्रायः सोध्ने प्रश्न हो- अर्बिटल आशामुखी भएर लेखिएको उपन्यास हो कि निराशामुखी? त्यसको निर्णय गर्ने अधिकार पाठकमै रहेको उनको भनाइ छ। “के म यो आशा गरौं, अमेरिका ट्रम्पबाट जोगिएला वा के हामी जलवायु परिवर्तनप्रतिको जिम्मेवारी पूरा गरौंला?” उनको शंकायुक्त प्रश्न छ। हालै भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनल्ड ट्रम्पले जितेका छन्।
उपन्यासमा चन्द्रमाको नयाँ मिशनका लागि उडेको एउटा रकेटले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई पार गरेको छ। उनलाई लाग्दै छ, अन्तर्राष्ट्रिय सहयोगको युग समाप्तितिर पुग्दै छ। “मानव जाति यो तहमा आइपुगेको देखेर म छक्क परेको छु। हामीले एकअर्कालाई गर्ने व्यवहार र हामीले गरेको सहकार्य तथा हासिल परिणामलाई हेर्दा यो कुरा सोचनीय देखिन्छ। सँगै सुन्दर पक्षहरू पनि देखिन्छन्,” हार्भी थप्छिन्, “के यो पर्याप्त छ त? कि उत्पादन बढाउने र उपभोगमा मात्रै ध्यान दिने प्रवृत्तिले हाम्रो उदारता र सहयोगी भावना ओझेलमा पार्नेछ? त्यो त मलाई थाहा छैन।”
(द गार्डियनमा प्रकाशित सामग्रीको महेश्वर आचार्यले गरेको अनुवाद।)