भ्यूटावर जस्तै अनुत्पादक भड्किलो बत्तीमा राज्यकोषको दुरुपयोग
महानगरपालिका तथा नगरपालिकाहरूले ठूलो रकम खर्चेर आवश्यकता विना नै नगरका विभिन्न स्थानमा ‘हाई म्यास्ट फ्लडलाइट’ जडान गरेका छन्, जसले प्रकाश प्रदूषण बढाएको छ।
अग्लो पोलको टुप्पामा चारैतर्फ प्रकाश छर्ने बत्ती। जसले छरिरहेछ आँखै खाने चर्को उज्यालो! भरतपुर महानगरपालिकाका आधा दर्जनभन्दा बढी स्थानको दृश्य हो यो।
भरतपुर महानगरले पछिल्लो समय ‘उज्यालो शहर- भरतपुर’ अभियान चलाएको छ। अभियान अन्तर्गत आमजनको सुविधा र सुरक्षाका लागि सडकबत्ती मात्र जडान भइरहेको छैन, अनावश्यक र उल्टै प्रतिकूल असर पार्ने चम्किलो बत्ती पनि राखिएको छ।
महानगरका आठ ठाउँमा २०० वाटका ‘हाई म्यास्ट फ्लडलाइट’ जडान गरिएका छन्। पारस बसपार्क, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्रचोक, पुल्चोक, पोखरा बसपार्क, आँपटारी चोक र मालपोत चोकमा १६ मिटर अग्लो पोल गाडेर यस्ता बत्ती राखिएका हुन्। हाई म्यास्ट निकै तिक्खर प्रकाश दिने बत्ती हो। सामान्य सडकबत्तीले नै पर्याप्त उज्यालो हुने ठाउँमा आवश्यकता र प्रयोजन विना यति भड्किलो बत्ती बालिंदा छेउछाउको रात बिथोलिएको छ।
महानगरले शहरी पूर्वाधार विकासका नाममा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर राजमार्ग क्षेत्रमा स्मार्ट लाइट र नगरका मुख्य चोकमा हाई म्यास्ट फ्लडलाइट जडान गरेको हो। प्राधिकरणको ७० प्रतिशत लागतमा महानगरले १२ करोड रुपैयाँको लगानीमा बत्ती जडान गरेको हो। यसमध्ये हाई म्यास्ट फ्लडलाइटमा मात्रै एक करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।
एउटा हाई म्यास्ट लाइट खरीददेखि जडान गर्न १० लाखदेखि १३ लाख रुपैयाँ परेको प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजालले बताए। यो पहिलो चरणको काम सकेर गत असार ५ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनी सेफ स्टील, सूर्योदय ऊर्जा र टपसन जेभीका इन्जिनीयर अनमोल खत्रीले जानकारी दिए।
दोस्रो चरणमा राजमार्ग क्षेत्रमा थप सडकबत्ती र विभिन्न चोकमा ६० वटा मिनिम्यास्ट तथा १० वटा हाई म्यास्ट फ्लडलाइट जडान गर्ने योजना छ। दोस्रो चरणको काम वर्षापछि थालिने भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बताए।
अनुत्पादक क्षेत्रमा लगानी गर्ने भरतपुर महानगर एक्लो भने होइन। ललितपुर महानगरपालिका, पोखरा महानगरपालिकामा, कन्काई, बेलका, भिमेश्वर, भिमदत्त र मन्थली नगरपालिकाले पनि ‘हाई म्यास्ट फ्लडलाइट’ जडान गरेको प्राधिकरणले जनाएको छ। उनीहरू अनुत्पादक र भड्किलो ‘हाई म्यास्ट फ्लडलाइट’ मा ६ करो २० लाख भन्दा बढी खर्चिसकेका छन्।
अनुत्पादक खर्च
पछिल्लो समय शहरबजारदेखि गाउँका डाँडापाखासम्म रातको समयमा चाहिनेभन्दा बढी चम्किलो बत्ती बाल्ने होडबाजी चलेको छ। रातको झिलिमिलीलाई आकर्षक र विकासको प्रतीक मान्ने प्रवृत्तिका कारण पालिकाहरूले अनावश्यक ठाउँमा पनि ठूलो चहकिलो बत्ती राख्न एकबाट अर्कोले सिको गरे झैं देखिन्छ।
केही समयअघि पोखरा महानगरपालिकाले वडा नं. १३, आर्वाको डाँडामा हाई म्यास्ट फ्लडलाइट राखेको थियो। यसकै पछिल्लो कडी बन्न पुगेको छ, भरतपुर महानगर।
सडकमा सेन्सर लाइट जडान गरे पर्याप्त हुने र कसैलाई चाहिंदै नचाहिने हाई म्यास्टमा लगानी गर्नु अनुत्पादक खर्च भएको ट्रान्सपरेन्सी इन्टरन्याशनल नेपालकी निवर्तमान अध्यक्ष पद्मिनी प्रधानांग बताउँछिन्। “आवश्यकता विना चोक चोकमा हाई म्यास्ट लाइट जडान गर्नु र रातभर बाल्नु हाम्रो पूँजी खेर जानु र खर्च बित्थामा बढाउनु हो,” उनी भन्छिन्। यसरी अनावश्यक खर्च गर्नुभन्दा यस्तो रकम अन्य जरुरी कार्यमा लगानी गरिनुपर्ने उनको सुझाव छ।
भरतपुर महानगरले चालू आव २०८१/८२ को नीति तथा कार्यक्रममा पनि ‘उज्यालो भरतपुर अभियान’ लाई निरन्तरता दिंदै बत्ती जडानको दोस्रो चरणको काम गर्ने योजना समेटेको छ। यस अन्तर्गत १५० किलोमिटर सडकमा स्मार्ट लाइट, ६० स्थानमा मिनिम्यास्ट लाइट र १० स्थानमा हाई म्यास्ट फ्लडलाइट जडान गर्ने योजना छ। यसका लागि १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जबकि यही आर्थिक वर्षमा महानगरले शिक्षा विकास शीर्षकमा ११ करोड, स्वास्थ्य सेवा अन्तर्गत चार करोड, रोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकास शीर्षकमा १ करोड ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ।
भरतपुर महानगरमा पहिलो र दोस्रो चरणमा हाई म्यास्ट लाइट जडान गर्दा दुई करोड ३५ लाख रुपैयाँको हाराहारीमा खर्च हुनेछ। विद्युत् प्राधिकरण र महानगरको लागत साझेदारीमा बत्ती जडान गरिएको हो, जसमा प्राधिकरणको लागत ७० प्रतिशत छ।
यति ठूलो रकम अनावश्यक बत्ती जडानमा खन्याउनुको साटो शिक्षा, स्वास्थ्य लगायत महत्त्वपूर्ण क्षेत्रमा प्रयोग गर्न सकिन्थ्यो नि भनेर हिमालखबरले महानगरका उपप्रमुख चित्रसेन अधिकारीसँग जिज्ञासा राखेको थियो। उनले बत्ती जडानमा गरिएको लगानी महानगरपालिकाको आन्तरिक बजेट नभई संघीय सरकारबाट आएको अनुदान भएको बताए। अर्थात् संघबाट आएको बजेट भएकाले अनुत्पादक क्षेत्रमा खर्च गरे पनि हुने आशय उनको भनाइबाट बुझिन्थ्यो।
पछिल्लो समय विद्युत् प्राधिकरणले स्थानीय तहसँगको सहकार्यमा बत्ती राख्ने काम गरिरहेको र त्यसै क्रममा भरतपुरले साझेदारी गरेर उज्यालो शहर अभियान अन्तर्गत बत्ती जडान गरेको उपप्रमुख अधिकारीले बताए। उनले भने, “भरतपुरलाई उज्यालो शहर बनाउन हामीले संघीय सरकारसँग सिफारिश गर्दा अनुदान रकम आएपछि प्राधिकरणसँगको साझेदारीमा बत्ती जडानको काम अगाडि बढाएका हौं।”
महानगरका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भरतपुर महानगरले बेहोर्ने ३० प्रतिशत लगानीका लागि संघीय सरकारबाट सशर्त अनुदान प्राप्त भएको बताए।
भरतपुर महानगरपालिकामा अहिले नै ठूलो रकम खर्चेर हाई म्यास्ट फ्लडलाइट राख्न आवश्यक नभएको चितवन बछौलीस्थित थारू सांस्कृतिक संग्रहालयका संस्थापक अध्यक्ष वीरेन्द्र महतो बताउँछन्। अन्य देशको सिको गरेर हामीलाई आवश्यक नै नपरेको भड्किलो बत्ती राखिएको उनको भनाइ छ। “बाहिरका देशमा चौबीसै घण्टा व्यापार-व्यवसाय हुने भएकाले त्यहाँ रातभर उज्यालो आवश्यक होला, तर भरतपुरको सन्दर्भमा त्यस्तो नभएकाले कडा खालको बत्ती अहिले नै आवश्यक छैन,” उनी भन्छन्, “अनावश्यक बत्तीमा खर्च गर्नुको साटो यस्तो रकम निम्न वर्ग र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट पीडित समुदायमा लगानी गर्न सकिन्थ्यो।”
प्रकाश प्रदूषणको असर
रातको अँध्यारो मास्ने गरी बत्तीको अनावश्यक वा अत्यधिक प्रयोग गरिनुलाई प्रकाश प्रदूषण मानिन्छ। सडक तथा सार्वजनिक स्थलमा आवश्यक मात्रामा सुविधा र सुरक्षाका लागि राति बत्ती बाल्नु अस्वाभाविक होइन। तर अनावश्यक रूपमा अत्यधिक प्रकाश छर्ने बत्ती रातभर बाल्दा प्राकृतिक वातावरण बिथोलिने र जीवजन्तुको जीवनचर्या खलबलिने विज्ञहरू बताउँछन्।
चर्को प्रकाश छर्ने बत्तीको उज्यालो टाढा टाढासम्म पुग्ने र यसको असरले राति चहलपहल गर्ने र दिनमा सक्रिय हुने दुवै प्रकारका पशुपक्षीको जीवनचक्र बिथोलिने वन्यजन्तु वैज्ञानिक प्रा.डा. मुकेशकुमार चालिसे बताउँछन्। “मांसाहारी जनावर प्रायः राति शिकार खोज्न निस्किन्छन्, राति पनि उज्यालो भयो भने उनीहरूको आहारविहारमा समस्या पर्छ,” उनी भन्छन्, “अर्कातिर, रातमा धेरै उज्यालो भयो भने दिउँसो उड्ने चराचुरुंगी राति पनि सक्रिय हुन थाल्छन्, जुन प्राकृतिक भएन।”
उनका अनुसार सधैंभरि उज्यालो भयो भने राति मात्र निस्किने जीवजन्तु बाहिर निस्कन पाउँदैनन् र लोप हुने जोखिम हुन्छ। यस्तै, सबै कीरा दिउँसो सक्रिय हुँदैनन्। राति मात्रै चलायमान हुने यस्ता कीराफट्यांग्रालाई रात्रिकालीन उज्यालोले दृष्टि र शारीरिक क्षमतामा असर पार्नुका साथै शरीरभित्रको जैविक प्रक्रिया समेत खलबल्याउन सक्छ। “रातमा अँध्यारो हुनुपर्ने प्राकृतिक नियम विरुद्ध गइयो भने उनीहरूको शारीरिक क्षमता र वृद्धि विकासमा समस्या देखिन्छ,” चालिसे भन्छन्।
चराविद् हिरुलाल डंगौरा पशुपक्षीको वासस्थान र उनीहरू आवतजावत गर्ने क्षेत्रमा कृत्रिम उज्यालो बनाउनु प्राकृतिक चक्रका लागि घातक हुने बताउँछन्। उनका अनुसार कृत्रिम प्रकाशले चराको उडान मार्गमा समेत असर पार्न सक्छ। विश्वभर चराका नौ वटा उडान मार्ग छन्। मध्यएशिया उडान मार्ग अन्तर्गत पर्ने नेपालको बाटो भएर करीब ३०० प्रजातिका चरा बसाइसराइँ गर्छन्। “बसाइँसराइका क्रममा राति कृत्रिम प्रकाशको झिलिमिलीका कारण चराहरू सधैं हिंडेको बाटो भुलेर अन्तै मोडिन सक्छन्,” उनी भन्छन्। यद्यपि यस विषयमा नेपालमा अध्ययन हुन बाँकी रहेको उनी बताउँछन्।
विगतमा रातको समयमा यत्रतत्र देखिने जुनकिरी अचेल हराउनुमा कृत्रिम प्रकाशको अधिक प्रयोग नै कारण रहेको डंगौरा बताउँछन्। जुनकिरी उज्यालोमा बस्न सक्दैन।
नेपालमा २३ प्रजातिका लाटोकोसेरा पाइन्छन्। तिनले उज्यालोमा आँखा कम देख्ने भएकाले अँध्यारो रातमै निस्किएर आहारा खोज्छन्। राति पनि उज्यालो भयो भने तिनको आहारविहार चौपट हुन्छ।
प्राकृतिक अँध्यारो मास्ने कृत्रिम प्रकाशले पशुपक्षीलाई मात्र नभई मानव स्वास्थ्यमा पनि असर पुर्याउने अनुसन्धानहरूले देखाएका छन्। यसको असरले अनिद्रा, टाउको दुख्ने, बेचैनी, थकान, तनाव, मोटोपना लगायत समस्या हुन्छन्। यस्तै, धेरै रंगीन उज्यालोको प्रयोग गर्दा पराबैजनी किरणहरूले दृष्टि शक्तिमा असर पार्न सक्ने पनि अनुसन्धानले औंल्याएका छन्। गत फेब्रुअरीमा प्रकाशित एक अनुसन्धान लेखले प्रकाश प्रदूषणले पछिल्लो समय अल्जाइमर रोगको समस्या बढाइरहेको उल्लेख गरेको छ।
थप सामग्री पढ्नुहोस् :