टिप्पणी बुधबार, माघ २२, २०७६

अँधेरी रातको उज्यालो सम्भावना

हिमालखबर

अँधेरी रातको उज्यालो सम्भावना
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रस्थित गोक्योबाट खिचिएको रातको आकाशको तस्वीर । प्रसिद्ध नेशनल जियोग्राफिकले यो क्षेत्रलाई राति आकाश हेर्ने विश्वकै उत्कृट ६ गन्तव्यमा राखेको छ। तस्वीरः जेफ डाई

–डा.ज्ञान न्यौपाने, डा.घनश्याम गुरुङ र गोकर्णजङ्ग थापा

करीब तीन अर्ब वर्षदेखि, सूर्य, चन्द्रमा र तारा मिलेर सम्झाैता नै गरे झैं धर्तीमा उज्यालो र अँध्यारोको सन्तुलित वातावरण सृजना गरिरहेका छन् ।तर, आज हामी मनुष्यले आफ्नो स्वार्थ पूरा गर्न कृत्रिम उज्यालोले अँधेरी रातलाई चुनौती दिंदै पृथ्वीको यो सन्तुलनलाई असर पुर्‍याउन थालेका छौं।

मानव सभ्यतामा उज्यालोको महत्व धेरै छ । उज्यालो विना धर्तीमा जीवन नै सम्भव छैन ।सम्पूर्ण जगत नै सूर्यको उज्यालोले चलायमान बनाएको छ। पृथ्वीको पारिस्थितिकीय प्रणाली पनि सूर्यकै प्रकाशमा भर पर्दछन् । जीवन चाहे मानवको होस् या जीवजन्तु, सरीसृप तथा अन्य जैविक प्राणी सबैमा उज्यालो प्रकाशले साथ दिएको छ ।

पृथ्वीमा दिनसँगै रात पनि हुन्छ जसको आफ्नै महत्व छ । मानव लगायत कतिपय प्राणी छन् जो दिनमा काम गर्छन् र रातमा आराम ।निशाचर जीव भने दिनमा सुत्छन् र राति सक्रिय हुन्छन् । तर, रातमा उज्यालोका कारण उनीहरूको प्राकृतिक दैनिकी परिवर्तन हुन थालेको छ ।

अँधेरी रात प्रदूषणरहित वातावरण, स्वच्छ हावापानी, शान्त वातावरण, जस्तै एउटा प्राकृतिक सम्पदा हो, जुन मानवका साथै प्राणी जगतको दैनिकीलाई आवश्यक हुन्छ । मानव सभ्यता उज्यालोसँगै रम्दै गर्दा शहरीकरण, औद्योगिकीकरण, मनोरञ्जन पार्क बढ्यो, ग्रामीण क्षेत्र शहरोन्मुख हुँदै गए ।

१०० वर्ष अगाडि करीब करीब सबै मानिसले खगोलीय पिण्ड, उल्कापिण्ड, आकाशगंगा ताराहरूको पुञ्ज, तारा नक्षत्र सबै रातिको समयमा हेरेर मज्जा लिन्थे, तर आजकल विभिन्न देशका मुख्य शहरमा बस्ने करोडौं बालबालिका बत्तीको प्रकाशले गर्दा खगोलको मज्जा लिन सकिरहेका छैनन् ।

विलासिता, मनोरञ्जन, यातायातका उपकरणमा वृद्धि सँगसँगै हाम्रो दैनिकीमा समेत परिवर्तन हुन थालेको छ । रातको समयमा अँध्यारो आकाशमा जुनकिरीको झिलिमिली, कीराहरूको आवाज, चम्किला ताराहरू, उल्का वर्षा, उल्कापिण्ड विस्तारै देख्न छाडेका छौं ।

हाम्रा कथा किंवदन्तीहरूमा खगोल बारे धेरै बयान गरिएका पाइन्छन् । अँधेरी रात कला र संस्कृतिको प्रेरणाको स्रोत पनि मानिन्छ । रातिमा खुला आकाश मुनि बसेर सुन्दर स्वच्छ आकाशले धेरै कलाकार, कवि, वैज्ञानिक, ऋषिमुनि र जनसाधारणलाई प्रेरणा र मनोरञ्जन प्रदान गरेको छ ।

पृथ्वीमा वायु, पानी, माटो, ध्वनि, उष्मीय, रेडियोधर्मी प्रदूषणसँगै, विस्तारै आकाशतिर भूउपग्रह प्रदूषणसँगै प्रकाश प्रदूषण पनि थपिएको छ । हामीले विस्तारै अँधेरी रातहरूलाई उज्यालोमा परिणत गर्न थालेका छौं । यो अप्राकृतिक कुकामले खगोल विज्ञान, मानवीय स्वास्थ्य, वनस्पति, पारिस्थितिकीय प्रणालीलाई असर पार्न थालेको छ ।

१०० वर्ष अगाडि करीब करीब सबै मानिसले खगोलीय पिण्ड, उल्कापिण्ड, आकाशगंगा ताराहरूको पुञ्ज, तारा नक्षत्र सबै रातिको समयमा हेरेर मज्जा लिन्थे, तर आजकल विभिन्न देशका मुख्य शहरमा बस्ने करोडौं बालबालिका बत्तीको प्रकाशले गर्दा खगोलको मज्जा लिन सकिरहेका छैनन् ।

के हो प्रकाश प्रदूषण

प्रकाश प्रदूषण भनेको अत्यधिक मात्रामा राति बालिने कृत्रिम बत्तीको प्रयोग हो, जसले प्रत्यक्ष रूपमा मानवीय स्वास्थ्य, वातावरण जोखिम र वन्यजन्तुमा असर पार्दछ।

हामीले घर बाहिर, बाटोमा बाल्ने अव्यवस्थित बिजुलीले जहाँ उज्यालो बनाउनुपर्ने हो, त्यो भन्दा बाहिर छरिएर हाम्रो दृष्टिमा असर पार्नुका साथै आकाशलाई समेत प्रदूषित बनाउँछ ।एशियाका विभिन्न देशमा धार्मिक, रीतिरिवाज, चाडबाडमा प्रत्येक घरमा बालिने अत्यधिक बत्तीहरू पनि प्रकाश प्रदूषणका स्रोतहरू हुन् ।

प्रकाश प्रदूषण औद्योगिक क्रान्तिपछिको असर हो । कृत्रिम उज्यालो प्रयोग हुने ठाउँहरू दिन प्रतिदिन बढ्दै गएकाले यसको असर आगामी दिनमा झनै विकराल रूप लिन सक्छ, त्यसैले हामीले, चाहिने, अति आवश्यक स्थानमा, प्रतिस्पर्धाका लागि नभई आवश्यक र नियन्त्रणात्मक हिसाबले बत्ती बाल्ने गर्नुपर्छ ।

प्रदूषणको असर

मानवीय जीवनचर्या उज्यालो (दिन) र रात (अँध्यारो) को आधारमा हामी बिहान उठ्छौं दिनभरि कम गर्छौं र राति सुत्छौं । आजकल धेरै मानिस अत्यधिक उज्यालोका कारण सुत्नै सक्दैनन् । विकसित देशका ठूला शहरमा बसोबास गर्ने मानिसहरूलाई निस्पट्ट अँध्यारो अनुभव गर्नै गाह्रो पर्न थालेको छ ।

अनुसन्धानले रातको कृत्रिम उज्यालोले मानवीय स्वास्थ्यमा समेत प्रतिकूल अनि गम्भीर समस्या पुर्‍याउन सक्ने अनुमान गरेको छ । अत्यधिक उज्यालोले मेलाटोनिन उत्पादनमा कमी ल्याउँछ । मेलाटोनिनले मानवलाई रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्दछ । यसको कमीले कोलेस्ट्रोल बढाउनुका साथै थाइराइड, प्यान्क्रियाज, एड्रेनल ग्रन्थीको उत्पादनमा प्रत्यक्ष असर पार्दछ ।

पृथ्वी मानवका लागि मात्र नभई सम्पूर्ण ८७ लाख जीवित प्रजातिको हो । तर, मानव मात्रको व्यवहारले धर्तीमा कृत्रिम प्रकाशको प्रदूषण फैलिएको छ, जसले बाँकी सारा जीवजन्तुलाई जोखिममा पारिरहेको छ

चाड मुरेले भनेका छन्, हामीले वातावरणमा कृत्रिम प्रकाश थप्ने हो भने त्यसले वन्यजन्तुको सम्भावित वासस्थानमा हानि पुर्‍याउन सक्छ ।वैज्ञानिक तथ्यले के भन्छ भने कृत्रिम उज्यालोले उभयचर, चरा, स्तनधारी वन्यजन्तु, कीरा तथा वनस्पति विशेषगरी रातमा सक्रिय हुने जीवमा नकारात्मक प्रभाव पर्दछ ।

उज्यालोकै कारण राजमार्गमा कैयन जीवजन्तु गाडीको ठक्करले मरेका छन् ।रातमा पनि उज्यालो हुन थालेकैले हामीले जुनकिरीहरू कम देख्न छोडेका छौं ।किनभने, जुनकिरीको प्रजनन् राति अँध्यारोमै हुने गर्दछ ।

कतिपय बसाइँ सर्ने चरा (माइग्रेटरी बर्ड्स) रातको समयमै चन्द्रमा या ताराहरूको आधारमा बसाइँ सर्ने गर्दछन् ।अग्लाअग्ला विद्युतीय तथा संचारका टावरमा ठोकिएर तथा अत्यधिक उज्यालोका कारणले हरेक वर्ष लाखौं चरा मरिरहेका छन् । लाटोकोसेरो जस्तै अन्य चरामा कृत्रिम उज्यालोको नकारात्मक असरबारे विभिन्न अनुसन्धान पनि भएका छन् ।

कीराहरू राति नै वनस्पतिको परागसेचनमा सक्रिय हुन्छन् । तर, उज्यालोका कारण किराहरूको संख्या तीव्र रूपमा कमी हुँदै जाँदा खाद्यान्न उत्पादनमै ठूलो असर पर्न सक्ने देखिन्छ ।

उज्यालो उपाय

कृत्रिम उज्यालोको प्रदूषण न्यूनीकरण गर्ने मध्यम उज्यालो दिने ढुंगाहरू (कोर ग्लो स्टोन्स) प्रयोग गर्न सकिन्छ । विकिरणको उज्यालो सोसेर बनाइएका यस्ता ढुंगाले ५ देखि ७ वटा मैनबत्ती बराबरको उज्यालो दिन्छ ।घर बाहिर मानिस हिंड्ने बाटो, होटेलका बगैंचा, खुला ठाउँहरूमा यस्ता ढुंगा प्रयोग गर्नाले प्रकाश प्रदूषण घटाउन मद्दत गर्दछ ।

प्रदूषण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण गरिएका बत्तीहरूको पनि प्रयोग गर्न सकिन्छ । यस्ता बत्तीले आवश्यकता भन्दा बढी चमक र उज्यालो हुन दिँदैनन् । न्यून ऊर्जा खपत गर्ने, तोकिएको समयमा मात्र बल्ने, गति सेन्सर भएका बत्तीको प्रयोगले पनि प्रदूषण रोक्न सघाउ पुर्‍याउँछ ।

ऊर्जाको अत्यधिक दोहन आफ्नै घरमा हेरे पुग्छ ।हाम्रा घरहरूमा बत्ती, टीभी, रेडियो, ल्यापटप, डेस्कटप कम्प्युटर, एअरकन्डिसनर आदि मध्ये कुनै एक उपकरण रातभर खुलै हुन्छ ।यसले ऊर्जा खेर मात्र गएको छैन, आकाश अत्यधिक चम्किलो बनाउन पनि भूमिका खेलेको छ ।

अमेरिकामा करीब १३ प्रतिशत बिजुली आवासीय क्षेत्रमा घर बाहिर बालेर खेर गइरहेको छ । यसबाट करीब १५ मिलियन टन कार्बनडाइअक्साइड हाम्रो वायुमण्डलमा उत्सर्जन हुन्छ । यसलाई हिसाब गर्ने हो भने प्रति वर्ष करीब ३ अर्ब डलर बराबरको ऊर्जा खेर गइरहेको छ ।

हामीले घरमा प्रयोग गर्ने बत्तीको सही छनोट गर्न सक्नुपर्दछ । विभिन्न अध्ययनले घरभित्र या बाहिर तीनहजार किलोवाट या त्यो भन्दा कम क्षमताको बत्ती बाल्नु उचित ठहर्‍याएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)ले प्रत्येक वर्षको २८ मार्चलाई ‘अर्थ आवर दिवस’ का रूपमा मनाउने गरेको छ । यस्ता अभियानहरूले कार्बनडाइअक्साइड न्यूनीकरणका साथै प्रकाश प्रदूषण घटाउन पनि प्रेरित गरेको छ ।

‘डार्क स्काई पार्क’ घोषणा

अहिले विश्वमा डार्क स्काई पार्कको अवधारणा आएको छ । यस्तो पार्कमा खुला आकाशमुनि बसेर खगोल आश्चर्यको मज्जा लिन सक्छन् । ठूलाठूला टेलिस्कोप लिएर पर्यटकहरू खगोलको मज्जा लिन भौंतारिएका छन् । त्यसै मेसोमा विभिन्न देशले डार्क स्काई पार्कको घोषणा गर्न थालेका छन् ।

पृथ्वी मानवका लागि मात्र नभई सम्पूर्ण ८७ लाख जीवित प्रजातिको हो । तर, मानव मात्रको व्यवहारले धर्तीमा कृत्रिम प्रकाशको प्रदूषण फैलिएको छ, जसले बाँकी सारा जीवजन्तुलाई जोखिममा पारिरहेको छ । त्यसैले धर्तीलाई सन्तुलित बनाउँदै सबैको जीवन अस्तित्वमा राख्ने सबैभन्दा ठूलो जिम्मेवारी पनि हामी मानिसलाई नै छ।

विश्वका ७७ वटा डार्क स्काई पार्कमध्ये अमेरिकामा मात्र ५६ वटा पार्क छन् । स्पेन, बेलायत, हंगेरी, जापान, डेनमार्क, क्रोएसिया, जर्मनी, दक्षिणकोरिया र ताइवान आदि देशले पनि यस्ता पार्क बनाएका छन् ।

भ्रमण वर्ष २०२० का अवसरमा नेपालले पनि खगोलमा आधारित पर्यटन (एस्ट्रोटुरिज्म्) को विकास गर्न सक्छ ।नेपालका कंचनजंघा, सगरमाथा, मनास्लु, अन्नपूर्ण डोल्पा, खप्तड र रारा जस्ता निकुञ्जहरू हुन् या अन्य संरक्षित क्षेत्र डार्क स्काई पार्कका लागि उत्तिकै योग्य छन् ।

त्यसै पनि नेपाल आउने अधिकांश पर्यटक शहरहरूको झिलिमिली भन्दा यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदाको अनुभूत गर्न आउँछन् ।त्यसैले पनि डार्क स्काई पार्क जस्तो पर्यटनको नयाँ क्षेत्रले हाम्रो पर्यटन विकासमा आयाम थप्न सक्छ । तराईका निकुञ्जहरूमा रात्रिकालीन जंगल सफारी गराउनु भन्दा नदी छेउबाट खगोलको अवलोकन गराउनु अद्वितीय हुनेछ ।

पृथ्वी मानवका लागि मात्र नभई सम्पूर्ण ८७ लाख जीवित प्रजातिको हो । तर, मानव मात्रको व्यवहारले धर्तीमा कृत्रिम प्रकाशको प्रदूषण फैलिएको छ, जसले बाँकी सारा जीवजन्तुलाई जोखिममा पारिरहेको छ । त्यसैले धर्तीलाई सन्तुलित बनाउँदै सबैको जीवन अस्तित्वमा राख्ने सबैभन्दा ठूलो जिम्मेवारी पनि हामी मानिसलाई नै छ । अतः अनावश्यक उज्यालो नबालौं, प्राणी जातिकै भविष्य सुरक्षित बनाऔं ।

(लेखक डा.न्यौपाने अमेरिकास्थित एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक हुन् भने डा. गुरुङ र थापा क्रमशः डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि र वरिष्ठ अनुसन्धान वैज्ञानिक हुन् । लेखकत्रयको प्रस्तुत विचारले उनीहरू कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।)

 

प्रतिकृया दिनुहोस