रैथाने प्रजाति मासिरहेको मिचाहा
जलवायु परिवर्तन र त्यसलाई नियन्त्रण गर्न अपनाइएका उपाय दुवैले मिचाहा प्रजाति विस्तारमा सघाउँदा कृषि, स्वास्थ्य, पर्यावरण, जैविक विविधतामा थप क्षति पुगिरहेको छ।
२०७७ सालमा आफूले पालेका ७० वटा खसीबाख्रा एकै चोटि मर्दा झापाको बिर्तामोड-७ का होमप्रसाद आचार्य आत्तिए। पशुचिकित्सकले जाँच गर्दा ती खसीबाख्राले विष खाएको पत्ता लाग्यो। खोज्दै जाँदा आचार्यले तिनलाई हालिदिएको घाँस नै विषालु रहेको बुझे। त्यो घाँस थियो- उल्टा काँडा (मिमोसा डिप्लोट्रिचा)।
उक्त घटनापछि सोही वर्ष झापाको सुन्दर निचाझोडा सामुदायिक वनमा पुगी अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र विभागका प्राध्यापक भरतबाबु श्रेष्ठ र फरेस्ट एक्सन नेपालका लीलानाथ शर्माले यो घाँसलाई नयाँ मिचाहा प्रजातिको सूचीमा राखेका छन्। झापा र मोरङका ६८ किसानसँग कुराकानी गरी सन् २००२ देखि २०२३ सम्मका घटना केलाएका उनीहरूले यस अवधिमा यही झार खाएर २५० भन्दा बढी गाईबस्तु र ५०० भन्दा बढी बाख्रा मरेको आँकडा निकाले।
उक्त अध्ययनले उल्टा काँडा बढीजसो झापा, मोरङ र सुनसरीतिर फैलिएको देखाएको छ। श्रेष्ठ भन्छन्, “हामीकहाँ यो प्रजातिबारेको अध्ययन अझै शुरूआती चरणमै छ।”
राष्ट्रसंघीय खाद्य तथा कृषि संस्था अन्तर्गतको एशिया प्रशान्त क्षेत्रका वनको मिचाहा प्रजाति सञ्जालको प्रतिवेदन अनुसार उल्टा काँडामा विषालु रसायन मिमोसिन हुन्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले विश्वका अत्यन्त हानिकारक १०० मिचाहा प्रजातिमा राखेको उल्टा काँडा नेपालमा चाहिं सबैभन्दा हानिकारक पाँच मिचाहा प्रजातिमै पर्छ।
उल्टा काँडा मध्य र दक्षिण अमेरिकी तथा क्यारेबियन क्षेत्रको रैथाने हो जुन अहिले अफ्रिका, अस्ट्रेलिया, दक्षिणएशिया, दक्षिण-पूर्वी एशिया र प्रशान्त महासागर क्षेत्रका ३० भन्दा बढी देशमा फैलिइसकेको अन्तर्राष्ट्रिय कृषि र जीव विज्ञान केन्द्रले प्रकाशन गरेको मिचाहा प्रजाति संग्रहमा उल्लेख छ।
“यो दक्षिणएशियामा कहिले आयो, यकीन छैन। यद्यपि भारतमा माटोमा नाइट्रोजनको मात्रा बढाउन ल्याइएको अनुमान छ,” अनुसन्धाता शर्मा भन्छन्, “नेपालमा भने एक जना व्यक्तिले माटो उर्वरा बनाउन भनी आसामबाट २०५१ सालतिर ल्याएको अनुमान छ।”
२०० वर्षे इतिहास
वन मन्त्रालयले २०७७ सालमा निकालेको नेपालमा फैलिएका बाह्य मिचाहा वनस्पतिहरू पुस्तकमा नेपालमा मिचाहा प्रजाति उन्नाइसौं शताब्दीको आरम्भदेखि फैलन थालेको उल्लेख छ। यस अनुसार यहाँ पहिलो पटक सन् १८२० मा अमेरिका उद्गम रहेको करौते घाँस पहिचान गरिएको थियो। मेक्सिकोदेखि दक्षिण अमेरिकासम्म उद्गम रहेको सेतो वनमारा चाहिं सन् १८२५ मा नेपाल भित्रिएको मानिन्छ।
नयाँ ठाउँ पुगेपछि छोटो समयमै धेरै ठाउँमा फैलिई त्यहाँको जैविक विविधता, पारिस्थितिक प्रणाली, वातावरणदेखि कृषिसम्मलाई असर पुर्याउने भएकैले यस्तो प्रजातिलाई मिचाहा भनिएको हो। जस्तो- जल जम्बु/पटपटे झारले खाद्य बालीमा असर पुर्याउँछ। आफू हुर्कन यसले छेउको बालीको पोषण समेत खोसिदिने भएकाले कृषि उत्पादन घट्न पुग्छ। त्यस्तै, यो झार सिमसार क्षेत्रमा फैलँदा त्यहाँको पानीमा अक्सिजनको मात्रा घटाउँदै बिस्तारै पानी नै सुकाइदिन्छ। त्यहाँ रहेका माछा नाशिन्छन्। यसरी यसले आफ्नो विस्तार क्षेत्रको जैविक विविधता समेत मासिदिन्छ।
त्रिभुवन विश्वविद्यालय वनस्पति विभागले गरेको अध्ययनले अहिलेसम्म कम्तीमा १८३ बाह्य प्रजाति नेपालमा स्थापित भइसकेको र तीमध्ये ३० वटा मिचाहा बनेको देखाएका छन्। तिनमा उल्टा काँडा, लहरे वनमारा, सेतो वनमारा, काँडे वनमारा र जलकुम्भी अति हानिकारक, कालो वनमारा, नीलो गन्धे, जल जम्बु, वन सिलाम र पातिझार मध्यम हानिकारक तथा गन्धे, काँडे लुँडे, थाकल, कालो कुरो, फूल झार, चित्लांगे, बेसरम, करौते घाँस, लज्जावती, सुगा प्वाँखे, चरी अमिलो, कुम्भिका, ठूलो टाप्रे, आलु पाते, सिंगापुर डेजी, जंगली सूर्यमुखी, भेडे कुरो, नयाँ पाटे सल्ला र इपिल इपिल हानिकारक सूचीमा छन्।
विज्ञहरूका अनुसार सामान्यतया रैथाने प्रजाति विभिन्न प्राकृतिक अवरोधका कारण आफैं अन्य क्षेत्रमा फैलन सक्दैनन्। तिनलाई मानिसले बनाएका यातायात सञ्जालले नै एउटाबाट अर्को महाद्वीप पुर्याएका हुन्। कतिपयलाई चाहिं मानिसले बसाइँसराइकै क्रममा लगे। मकै, गहुँ, आलु, फर्सी, स्याउ, मेवा, सयपत्री, मखमली आदि नेपालमा त्यसै गरी भित्रिएका हुन्। तर यी मिचाहा होइनन्।
मानिसले सीमित प्रयोजनले भित्र्याएका कतिपय प्रजाति चाहिं रोपिएको क्षेत्रबाट फैलिई मिचाहा बनेका छन्। अनुसन्धाता श्रेष्ठ वनफाँडा/काँडे वनमारा (ल्यान्टना)लाई यसको उदाहरण बताउँछन्। उनका अनुसार नेपालमा सन् १८४८ मा पहिलो पटक पहिचान भएको यो वनस्पति बगैंचा सजाउन भारतबाट ल्याइएको थाहा भएको छ। भारतमा चाहिं अमेरिकाबाट आएको थियो। अहिले नेपालका धेरै क्षेत्रमा फैलिइसकेको छ। श्रेष्ठका अनुसार सन् १९६६ तिर कसैले सजाउनकै लागि ल्याएको जलकुम्भी पनि अहिले नेपालका तालतलैयामा जताततै फैलिएको छ। दक्षिणएशियाबाट गएका प्रजाति पनि अन्यत्र मिचाहा बनेका छन्। जस्तो- उत्तर यूरोपमा फैलिएको गुराँस। दक्षिणएशियाकै रैथाने मुसा अस्ट्रेलिया र न्यूजिल्यान्डमा मिचाहा बनेको छ।
चौतर्फी असर
सन् २०१६ मा १२४ देश समेटेर गरिएको अनुसन्धानमा आधारित ‘मिचाहा प्रजातिबाट कृषिमा विश्वव्यापी खतरा’ लेखमा मिचाहाले कृषि क्षेत्रमा पार्ने जोखिमका हिसाबले नेपाल तेस्रो नम्बरमा रहेको देखाएको छ। पहिलोमा मंगोलिया, दोस्रोमा गिनी बिसाउ र चौथोमा बाङ्लादेश छन्।
नेपालमा मिचाहाले कृषि क्षेत्रमा पारेको पछिल्लो असरका रूपमा २०७६ सालदेखि अमेरिकी फौजी कीराले मकै लगायत बालीमा पुर्याउँदै आएको नोक्सानीलाई उदाहरण लिन सकिन्छ। शुरूआती वर्षमै नेपालका ७२ जिल्लामा फैलिएको यस कीराले यहाँको मकै बालीमा पुर्याएको क्षति २०७६ सालमा १७ प्रतिशत, २०७७ सालमा १० प्रतिशत र २०७८ सालमा चार प्रतिशत हाराहारी रहेको २०७९ सालमा कृषि मन्त्रालयले ‘आर्मी कीरा व्यवस्थापन : देशको वर्तमान अवस्था र नेपालमा यसको व्यवस्थापन’ लेखमा उल्लेख छ।
“अहिले नेपालमा उपलब्ध प्रविधि प्रयोग गरी कृषकहरूले यस कीराको व्यवस्थापन गर्दै आएका छन्,” कृषि मन्त्रालयका वरिष्ठ संरक्षण अधिकृत देवराज अधिकारी भन्छन्।
अफ्रिकाबाट भित्रिएको शंखेकीरा कृषिक्षेत्रमा क्षति पुर्याइरहेको अर्को मिचाहा हो। जैविक विविधता र पारिस्थितिक प्रणाली सेवा सम्बन्धी अन्तरसरकारी मञ्च (आईपीबीईएस) को अध्ययन अनुसार मिचाहाका कारण विश्वव्यापी रूपमा हुने आर्थिक हानि हाल वार्षिक १६३ अर्ब अमेरिकी डलरभन्दा बढी छ। यस्तो हानिको वृद्धिदर प्रतिदशक तीन गुणा छ।
मिचाहाले मानव स्वास्थ्यमा पनि प्रतिकूल असर पार्ने गरेका छन्। जस्तै- पातिझार (पार्थेनियम)ले छालामा एलर्जीका साथै श्वासप्रश्वासमा समस्या पारेको सन् २०११ मा सीमा पटेलले तयार पारेको ‘पार्थेनियमका हानिकारक र लाभदायी पक्ष’ लेखमा उल्लेख छ।
पातिझारकै विषयमा विद्यावारिधि गरेकी सृजना महर्जन लामो समय यसको संसर्गमा रहँदा शरीरमा एलर्जी भएको सुनाउँछिन्। “यसले श्वासप्रश्वासमा पनि असर गर्ने भएकाले अहिलेसम्मै सताइराखेको छ,” उनी भन्छिन्।
महर्जनका अनुसार यो प्रजाति चिस्यानमा वर्षैभरि फुल्छ। यसले चरन क्षेत्रको घाँसे प्रजातिको विविधतामा असर पुर्याउँछ। यसको बोट लामखुट्टेका लागि अनुकूल वासस्थान हुने भएकाले औलो फैलाउन पनि सघाउँछ। छोटो आयु भए पनि धेरै बीउ उत्पादन गर्ने भएकाले पातिझार धेरै ठाउँ फैलिन्छ। मेक्सिको, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको रेथाने यो झार नेपालमा सन् १९५० को दशकमा भित्रिएको हो। भारतले मेक्सिकोबाट गहुँ आयात गर्दा त्यससँगै पातिझार पनि आएको र त्यहाँबाट नेपाल आएको मानिन्छ।
नेपालमा अहिले समुद्री सतहदेखि दुई हजार मिटरसम्मको उचाइमा यो झार फैलिइसकेको छ। महर्जनका अनुसार गाडी जाने ठाउँमा पांग्रामा टाँस्सिएर पुगेको यो झार अहिले रसुवा, दार्चुलाको माथिल्लो भेगसम्मै भेटिन्छ। “यसको बीउ एकदमै सानो हुन्छ। त्यसैले गाडीले एकै चोटिमा धेरै लैजान्छ,” उनी भन्छिन्।
करीब ६० वर्षको अवधिमा दक्षिणएशियाका सबै राष्ट्रमा फैलिइसकेको यो वनस्पति नियन्त्रण गर्नुपर्ने कुरा सन् २०२३ मा भएको ‘जी ७’ को अजेन्डामा पनि उल्लेख छ। यो विश्वका धनी राष्ट्रहरूको समूह हो।
जलवायु प्रभाव
विश्वव्यापी तापक्रम वृद्धि मिचाहा प्रजाति फैलाउन थप सहायक देखिएको विज्ञहरू बताइरहेछन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को नेपालमा जलवायु परिवर्तनको अवस्था, प्रभाव र अनुकूलन प्रयास पुस्तकमा लेखिए अनुसार तल्लो भेगका मिचाहा प्रजाति अनुकूल तापक्रम बनेकैले अहिले उपल्लो भेगमा फैलँदै छन्। वायुमण्डलको तापक्रम र कार्बनडाइअक्साइड ग्यासको वृद्धि रैथानेभन्दा मिचाहा प्रजातिलाई बढी अनुकूल भइदिन्छ।
वायुमण्डलमा फैलिइरहेको कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन घटाउन अहिले धेरै देशमा खनिज ऊर्जाको साटो जैविक ऊर्जालाई प्रवर्द्धन गर्न थालिएको छ। यसका लागि विश्वव्यापी रूपमै चलाइएको वृक्षरोपण कार्यक्रम अन्तर्गत नेपालमा पनि छिटो बढ्ने बाह्य प्रजातिका रूख ल्याएर रोपिएको छ। यी कतिपय रूख वृक्षरोपण क्षेत्रभन्दा बाहिर गई मिचाहा प्रजातिमा परिणत हुन सक्ने देखिएको छ। जस्तो- अमेरिकाको एक सल्लो प्रजाति न्यूजिल्यान्ड लगिएकामा त्यो अहिले ठूलो क्षेत्रमा फैलिई रैथाने वनस्पति र पारिस्थितिक चक्रलाई नै असर पारिरहेको छ। “नेपालमा पनि सबैभन्दा बढी वृक्षरोपण भएको प्रजाति यही हो,” श्रेष्ठ भन्छन्।
उनका अनुसार एक अध्ययनले अमेरिकाको फ्लोरिडा राज्यमा जैविक ऊर्जा उत्पादनका लागि खेती गर्न प्रस्ताव गरिएका १२ मध्ये आठ वटा वनस्पति मिचाहा हुने सम्भावना देखाएको छ। यसबाट बुझिन्छ कि जलवायु परिवर्तनका असर घटाउन अपनाइने रणनीतिले पनि मिचाहा प्रजातिको विस्तारमै सघाइरहेका छन्।
भर्खरै प्रकाशित जैविक विविधता र पारिस्थितिक चक्र सम्बन्धी विश्वव्यापी अनुसन्धान प्रतिवेदन अनुसार मानव क्रियाकलापले वातावरणमा पुर्याएका पाँच प्रमुख हानिमा मिचाहा प्रजातिको विस्तार पनि छ। विश्वमा उपलब्ध विभिन्न प्रजाति लोप हुनुमा मिचाहाको विस्तारलाई दोस्रो प्रमुख कारण मानिएको छ।
अनुसन्धाता श्रेष्ठका अनुसार अहिलेको जलवायु परिवर्तनले ७५ प्रतिशत मिचाहा वनस्पतिका लागि अनुकूल भूभाग विस्तार गर्दै जाने र ती क्रमशः हिमालतर्फ फैलन सक्ने देखिएको छ। “त्यसैले सकेसम्म रैथाने प्रजातिको मात्र प्रयोग गर्ने, बाह्य प्रजाति ल्याउँदा पनि भविष्यमा मिचाहा हुने/नहुने पहिल्यै विचार गर्नुपर्छ,” उनी भन्छन्।
सरकारी रवैया
मिचाहा प्रजाति फैलाउन सरकारकै पनि हात देखिन्छ। २०७६ सालमा भरतपुर महानगरपालिकामा जलकुम्भी रोप्न प्रदेश सरकारको बजेटबाट प्रतिघरधुरी १५ हजार रुपैयाँ अनुदान दिइएको थियो। पालिकामा आएको बजेटबाट तत्कालीन बाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीले वातावरण सुधार योजना अन्तर्गत पानी शुद्ध बनाउन आफ्नो वडामा जलकुम्भी राख्ने ट्यांकी बनाउन लगाएका थिए।
महानगरको तत्कालीन वातावरण शाखाका प्रमुख विराट घिमिरे (हाल महानगरकै पूर्वाधार शाखामा इन्जिनीयर)का अनुसार घरभित्रको पानी सफा गरी बगैंचा, करेसाबारीमा प्रयोग गर्न सकिने अवधारणा ल्याइएको थियो। स्थानीय विकास मन्त्रालयको नेतृत्वमा वातावरण संरक्षणको यस्तो पाइलट प्रोजेक्ट चलिरहँदा स्थानीय र प्रदेश सरकारकै बजेटमा चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैयामा जलकुम्भी हटाइँदै थियो।
त्यसयता पनि मिचाहा प्रजाति नियन्त्रण गर्न देशमा विभिन्न ठाउँमा बजेट खर्चिंइदै छ। फेवा तालमा जलकुम्भी हटाउन लाखौं खर्चेर मशिन किनिएको छ। तर तालभित्रैका तिलापिया माछाले अन्य प्रजातिलाई पारेको असर वास्ता नगरिएको अनुसन्धाता श्रेष्ठ बताउँछन्। यो माछा कृषि मन्त्रालयले नै पाल्ने भनी भित्र्याएको हो। अरूका भूरा खाइदिने तिलापियाले आफू धेरै भूरा जन्माएर रैथानेलाई विस्थापन गरिरहेको छ।
“अहिले फेवा तालमा १०० माछामा ७० वटा तिलापिया भेटिन्छन्। पालन नै गर्ने भए रैथाने माछा छँदै थिए, बाह्य प्रजाति किन चाहिन्थ्यो र?” श्रेष्ठ भन्छन्, “सरकारको दोहोरोपन देखिन्छ।” यस्ता मिचाहा प्रजाति काठमाडौंका विभिन्न नर्सरीमा पनि छन्।
नेपालमा मिचाहा व्यवस्थापनका लागि तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभागले २०७४ सालमा छुट्टै रणनीतिको मस्यौदा समेत तयार पारेको थियो। त्यसले अझै पूर्णता पाएको छैन।
“सबै कुरा समेट्नुपर्ने भएकाले समय लागेको हो,” वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगाना भन्छन्, “यो मस्यौदा छिटै ल्याउने तयारीमा छौं।”
राष्ट्रिय सिमसार नीति, २०६९ र कृषि जैविक विविधता नीति, २०७१ ले पनि मिचाहा नियन्त्रणलाई प्राथमिकतामा राखेका छन्। राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ मा बाह्य मिचाहा प्रजातिको विस्तार न्यून पार्ने उल्लेख छ भने वन क्षेत्र रणनीति (२०१६-२०२५)ले संरक्षित क्षेत्रमा बाह्य मिचाहा प्रजातिको अवस्था सर्वेक्षण गरी नियन्त्रण गर्नुपर्ने औंल्याएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मिचाहा प्रजाति नियन्त्रणको काम, कर्तव्य र अधिकार स्थानीय तहलाई छ।
राष्ट्रिय रेड कार्यान्वयन रणनीति, २०७५ ले बाह्य मिचाहा प्रजातिलाई वन क्षयीकरणको प्रमुख कारक पहिचान गरी नियन्त्रण र व्यवस्थापनमा जोड दिएको छ।
सम्भव छ नियन्त्रण?
विज्ञहरू नेपालमा मिचाहा भित्रिनुमा धेरैतिर खुला सीमा हुनु तर क्वारेन्टाइन त्यही तुलनामा प्रभावकारी नहुनुलाई कारण मान्छन्। “त्यसैले सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका क्वारेन्टाइन कार्यालयको क्षमता वृद्धि गरिनुपर्छ,” सृजना महर्जन भन्छिन्, “भित्रिसकेकाको हकमा पनि जोखिम मूल्यांकन गरेर थप ठाउँमा फैलनबाट रोक्नुपर्छ।”
विज्ञका अनुसार मिचाहा नियन्त्रणमा यान्त्रिक र रासायनिकभन्दा जैविक विधि प्रभावकारी हुन्छ। एउटा उपाय यी प्रजाति भएका क्षेत्रमा यिनका शत्रु प्रजाति लैजानु हो। रैथाने क्षेत्रमा पनि यी शत्रु प्रजातिकै कारण सन्तुलनमा रहेका हुन्छन्। जस्तो- वनस्पतिका हकमा कीरा र ढुसीको प्रयोग उचित मानिन्छ। अहिले नेपालमा यस्तै कीरा मार्फत पातिझारको नियन्त्रण भइरहेको छ। यी किरा र पातिझार दुवै मेक्सिकोका रैथाने प्रजाति हुन्। नेपालमा पातिझारको शत्रु-कीरा भारतबाट भित्रिएको हो। भारतमा चाहिं सन् १९८४ मा ल्याइएको थियो। यो कीरा त्यहाँ तीन/चार वर्षको परीक्षणबाट जोखिम मूल्यांकन गरेपछि मात्र छोडिएको थियो।
“शत्रु ल्याउँदा पनि धेरै सावधानी अपनाउनुपर्छ। किनकि भारतमा त्यो कीराले पातिझार सकिएपछि किसानले रोपेको सूर्यमुखी फूल पनि खाइदिएको थियो। अर्थात् एकको शत्रुले अरू प्रजातिलाई पनि असर गर्दो रहेछ,” महर्जन भन्छिन्।
त्यस्तै, अस्ट्रेलियामा पातिझार नियन्त्रणका लागि मेक्सिकोबाट दशभन्दा बढी शत्रु प्रजाति लगिएको थियो। “वनफाँडा नियन्त्रणका लागि पनि विभिन्न देशमा ४० भन्दा बढी शत्रु प्रजाति छाडिएको अध्ययनले देखाएका छन्। उपयुक्त शत्रु प्रजाति छनोट प्रक्रियाका लागि चार/पाँच वर्षसम्म लाग्ने भएकाले शुरूमा बढी खर्चिलो हुन्छ,” श्रेष्ठ भन्छन्, “तर दीर्घकालीन रूपमा मूल्यांकन गर्दा दिगो र कम खर्चिलो यही जैविक विधि हुन्छ।”
अर्को उपाय भनेको यस्ता प्रजाति जरैदेखि उखेलेर जलाइनु हो। वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राई भने मिचाहा प्रजातिलाई हानिकारक रूपमा मात्र हेर्न नहुने, बरु यसलाई सन्तुलित बनाइनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार मिचाहाले नयाँ जैविक विविधता र पर्यावरण निर्माणमा पनि सघाइरहेका हुन्छन्। “यसैले कति जनाको घर धानेको छ। जीविकोपार्जनको माध्यम बनेको छ। यसलाई सामाजिक दृष्टिकोणबाट पनि हेर्नुपर्छ,” उनी भन्छन्, “विभिन्न मिचाहा झारलाई विषादीका रूपमा पनि प्रयोग गर्न सकिन्छ।”
जैविक विविधता संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९९२ को धारा ८, आइची जैविक विविधता लक्ष्य (सन् २०१६-२०२०) तथा दिगो विकास लक्ष्य (सन् २०१६-२०३०)ले पनि मिचाहा प्रजाति नियन्त्रण तथा व्यवस्थापनलाई जोड दिएका छन्। कुन्मिङ मोनिट्रल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्कले सन् २०३० सम्म मिचाहा प्रजाति ५० प्रतिशतसम्म घटाउने लक्ष्य राखेको छ। नेपाल यसको पक्ष राष्ट्र हो।
आईपीबीईएसले विभिन्न देशका ८० वैज्ञानिकको सहभागितामा सन् २०१९ देखि २०२३ सम्म गरेको अध्ययनले मिचाहा प्रजाति नियन्त्रणलाई उच्च चुनौतीको विषय औंल्याउँदै यसका निम्ति स्थानीयदेखि विश्वव्यापी रूपमै यथार्थपरक कार्ययोजना रणनीति लागू गर्नुपर्नेमा जोड दिएको छ। “उक्त अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा पक्ष राष्ट्रहरूलाई सोही अनुसार आआफ्नो नीति बनाउन सुझाव दिइएको छ,” अध्ययनमा नेपालबाट सहभागी भरतबाबु श्रेष्ठ भन्छन्।
(सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
यो पनि पढ्नुहोस् :