बौद्ध भिक्षुले खुलाएको पोखराको बाटो
सवा सय वर्षअघि बौद्ध भिक्षुको पदयात्राबाट शुरू भएको पोखराको पर्यटन अहिले ‘नेचर’, ‘कल्चर’ र ‘एड्भेन्चर’ को संगम बनेको छ।
बौद्ध धर्मको अध्ययन र अनुसन्धान गर्ने चाहले जापानी बौद्ध भिक्षु एकाई कावागुचीले १२५ वर्षअघि तिब्बत जाने संकल्प गरे, नेपालको बाटो। पोखरादेखि मुस्ताङ हुँदै तिब्बत पुग्ने योजना बन्यो। संकल्पमा दृढ कावागुची तिब्बत यात्राका लागि विसं १९५५ मा नेपाल आइपुगे।
उनी नेपाल आउने पहिलो जापानी नागरिक थिए। त्यसको २७ वर्षपछि स्थापित नेपाल-जापान कूटनीतिक सम्बन्धको कडी उनै बौद्ध भिक्षु कावागुची बने।
तिब्बत यात्राका लागि भिक्षु कावागुचीले हिउँदको एक साँझ पोखरा टेके। उनी नै पोखरा आउने पहिलो पर्यटक पनि मानिन्छन्। जति वेला पोखरा दुर्गम गाउँ थियो।
पोखराबाट उत्तर लागेका उनी तीन महीना मार्फा गाउँमा बसे। मुस्ताङको मार्फामा अहिले पनि ‘एकाई कावागुची निवास’ सुरक्षित छ। त्यहाँबाट तिब्बततिर लागेका थिए।
भिक्षु कावागुची दुई वर्ष लुकिछिपी तिब्बतमा बसे। स्थानीय तिब्बती नागरिक बनेर अध्ययन तथा अनुसन्धान गरे। जापानी नागरिक भएको परिचय खुलेपछि भारतको बाटो हुँदै भाग्नुपर्यो।
पोखरा आएको दशकपछि पुस्तक लेखे, थ्री इयर्स इन तिब्बत अर्थात् तिब्बतमा तीन वर्ष। १९६५ सालमा प्रकाशित पुस्तकमा पोखरा, मार्फा, धौलागिरि हिमालको वर्णन गरेका छन्। पुस्तकले पोखरा र आसपासको क्षेत्रको अस्तित्व र सौन्दर्यलाई बाहिर ल्यायो, विश्वमाझ पुर्यायो।
पाँच दशकपछि फ्रान्सेली आरोही मौरिस हरजोगले बौद्ध भिक्षु कावागुचीको बाटो पछ्याए। हिमाल आरोहणका लागि पोखराको उत्तरमा उभिएको अन्नपूर्ण हिमशृंखलासम्म आइपुगे। आठ हजार मिटरभन्दा अग्ला हिमालको आरोहणका क्रममा २००७ जेठ २१ मा अन्नपूर्ण पहिलो हिमालको सफल आरोहण गरे। यो आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलो आरोहण थियो।
एक वर्षपछि अन्नपूर्ण आरोहण यात्राको वर्णन गर्दै हरजोगले द अन्नपूर्ण पुस्तक लेखे। पुस्तकले विश्वको ध्यान खिच्यो। त्यही पुस्तकबाट प्रेरित भएर भित्रिएका पर्यटकले पोखरा र पोखरा हुँदै अन्नपूर्ण पदयात्राको खोज गरे। पर्यटनका लागि विश्वभर नै पोखराले चर्चा कमायो।
विदेशी पर्यटक पोखरा आएर क्याम्पिङ गर्न थाले। विशेष गरेर फेवा ताल किनारमा क्याम्पिङ गर्थे। त्यति वेला ‘पर्यटन’ र ‘पर्यटक’ बारे पोखरा मात्रै होइन, नेपालभर नै खासै थाहै थिएन। काठमाडौंमा भने ‘हिप्पी’ आउने चलन थियो।
२०१९ सालमा हो, सदा झैं केही पर्यटक क्याम्पिङका लागि फेवा तालको किनारमा पाल टाँगेर बसेका थिए। अत्यधिक वर्षासँगै हुरीबतासले पाल उडायो। फेवा किनारमा कसरी बस्ने टुंगो थिएन।
नजिकै घर देखे। त्यो रात त्यही घरमा वास बसे। भोलिपल्ट खुशी भएर केही डलर घरधनीको हातमा थमाइदिए।
उत्साही बनेका घरधनीले पर्यटक राख्न थाले। गर्दागर्दै होटल नै शुरू गरे। घरधनी थिए, योगेन्द्रबहादुर भट्टराई। फेवा ताल किनारमा सबैभन्दा पहिलो होटल व्यवसायी उनै भट्टराई थिए।
पर्यटक आएर बसेपछि राम्रो आम्दानी पनि भयो। त्यसले होटल चलाउन झन् उत्साही बनायो। २०२६ सालमा त औपचारिक रूपमै होटल लेकसाइड खोले, फेवा किनारतिर।
पोखरा ताल विकास समितिका हाकिम समेत भएका चलचित्र निर्देशक चेतन कार्कीले २०१८ सालतिर पोखरामा आवासका लागि होटल नभएको एक संस्मरणमा उल्लेख गरेका छन्। कार्कीले भनेका छन्, “तिनताका एअरपोर्ट अगाडि भट्टीहरू मात्र थिए। खरले छाएको चित्रो र भकारीले बेरेका भट्टीहरू। बजारमा आवासका लागि होटल थिएनन्। उता फेवाताल छेउ- योगेन्द्र भट्टराईज्यूको रेस्टुराँ र कटेज खुलेपछि एक-एक गरेर सम्पूर्ण बैदाम र ड्यामसाइडमा होटल र लजहरू, क्यूरियो र बूकशपहरू, रेस्टुराँ र बारहरू खुल्दै गए।”
पोखराको सौन्दर्य वर्णन गर्दै थुप्रै गीत, कविता, गजल लगायत साहित्यिक रचना गरिएका छन्। कैयौं पुस्तक लेखिएका छन्। पोखराबारे जति लेखिंदै गयो, त्यति मान्छेलाई आकर्षित गरिरह्यो। अहिले त पोखरा देशकै पर्यटनको हब बनेको छ।
विश्वचर्चित व्यक्तिले पनि पोखरा भ्रमण गरेका छन्। जस्तो- २०१७ सालमा बेलायती महारानी एलिजाबेथ द्वितीयले पोखराको भ्रमण गरेकी थिइन्।
त्यस्तै, २०३७ सालमा तत्कालीन बेलायती राजकुमार चार्ल्सले पोखरामा ट्रेकिङ गरेका थिए। उनी अहिले बेलायतका राजा छन्। उनले नयाँ रूट नै खोज गरेका थिए। त्यति वेला उनी ९० जना सहयोगीसँगै पदयात्रामा निस्केका थिए।
विजयपुर खोला, कालिकास्थान, स्याक्लुङ, चिसापानी हुँदै बेगनास तालसम्मको छोटो पदयात्रा गरेका थिए। यो छोटो पदमार्ग आज पनि रोयल ट्रेकका रूपमा चर्चित छ।
गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पोखराको भ्रमण गरेका थिए। पुम्दीकोट र अन्नपूर्ण आधारशिविरको भ्रमणले अन्तर्राष्ट्रिय स्तरको ध्यान पनि तानेको थियो।
बर्सेनि कति पर्यटक घुम्छन्, यकीन तथ्यांक छैन। तैपनि लाखौं पर्यटक पोखरा आउने अनुमान छ। नेपालमा आएकामध्ये ४० प्रतिशत पर्यटकले पोखरा घुम्ने गरेको पर्यटनको क्षेत्रमा क्रियाशील व्यक्तिहरूको आकलन छ। आन्तरिक तथा बाह्य पर्यटक पोखरालाई केन्द्र बनाएर आसपासका ठाउँ पुग्ने तथा पदयात्रामा जाने गर्छन्।
प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक क्रियाकलापले पनि पोखरा विश्वभर परिचित छ। संसारका आठ हजार मिटरभन्दा अग्ला २० हिमशिखरमध्ये तीन हिमाल अन्नपूर्ण प्रथम (८,०९१ मिटर), धौलागिरि (८,१६७ मिटर) र मनास्लु (८,१६३ मिटर) पोखरा आसपासकै क्षेत्र अर्थात् गण्डकी प्रदेशमा पर्छन्।
समुद्री सतहबाट एक हजारभन्दा पनि कम उचाइमा रहेको पोखराबाट आठ हजार मिटरभन्दा माथिका हिमशिखर अवलोकन गर्न सकिन्छ। पोखरा र आसपासका ठाउँबाट प्रकृतिको अनुपम अनुभव लिन सकिन्छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङ पोखरासँगै जोडेर अब गण्डकी प्रदेशकै प्रचार गर्नुपर्ने बताउँछन्। मन्त्रालयले २०७६ सालमा प्रदेशका ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो।
पोखरासँगै प्रदेशलाई चिनाउन पर्यटकीय राजधानी नै घोषणा गरिएको छ। गत चैत ४ मा गण्डकी प्रदेश सरकारको अग्रसरता, पोखराका पर्यटन व्यवसायी, उद्योगी, सरोकारवालाको सहयोगमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका थिए। विश्वकै पर्यटन बजारमा पोखराको ब्रान्डिङ गर्नुपर्ने दाहालको भनाइ थियो।
पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्डिङमा सहयोग पुग्ने विश्वास पर्यटन व्यवसायीको पनि छ। नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्सका प्रदेश अध्यक्ष हरिराम अधिकारी पर्यटकीय राजधानी घोषणाले पोखरासँगै गण्डकी क्षेत्र केन्द्रित पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुने बताउँछन्।
यसले आसपासका क्षेत्रको पर्यटनमा पनि सघाउ पुग्ने आश गरिएको छ। यससँगै पर्यटकलाई धेरैभन्दा धेरै समय पोखरामा बिताउने वातावरण बनाउनुपर्ने व्यवसायीको भनाइ छ। पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्ड निर्माणमा सहयोग पुगेको बताउँदै पोखरा पर्यटन बोर्डका निमित्त प्रमुख नवीन पोखरेल भन्छन्, “पोखरा र आसपासका क्षेत्रको प्रवर्द्धन गरेर पर्यटकको बसाइँ लम्ब्याउने पहल गर्छौं।”
नेचर, कल्चर र एड्भेन्चर
संसारभर पर्यटकलाई तीन कुराले आकर्षित गरेको हुन्छ- नेचर, कल्चर र एड्भेन्चर अर्थात् प्रकृति, संस्कृति र साहसिक गतिविधि। यी तीनमध्ये एउटा भए पनि पर्यटन उद्योगलाई धान्न सक्छ। पोखरासँग भने तीनै कुरा छन्, जसले संसारभरका पर्यटकलाई आकर्षित गर्दै आएका छन्।
प्रकृति त पोखराको प्रमुख विशेषता नै भयो। सुन्दर हिमाल र डाँडाकाँडा, रमणीय तालतलैया, छाँगाछहरा त भए नै, ८२२ मिटरमा रहेको समथर भूभागदेखि आठ हजार मिटरभन्दा अग्ला हिमालको दृश्यावलोकन पोखराबाटै गर्न सकिन्छ।
संस्कृतिमा पनि धनी छ पोखरा। धार्मिक तथा सांस्कृतिक सम्पदा त छन् नै, विभिन्न समुदायको बसोबास, रहनसहन, चालचलनले विविधता थपेको छ। विभिन्न जातजातिका मेला, पर्व र जात्रा पोखराका सम्पत्ति हुन्।
साहसिक गतिविधिका लागि त पोखरालाई कसैले उछिन्न सक्दैन। समथरको सजिलोदेखि पहाडको पदयात्रा र हिमालको आरोहण त भयो नै, आकाशमा उड्नेसम्मका गतिविधिका लागि पोखरा प्रख्यात छ। प्याराग्लाइडिङ, बन्जी, क्यानोनिङ, बोटिङ त विशेषता नै बनेका छन्।
तालको सयर
पोखरा र आसपासमा नौ वटा ताल छन्। रामसारमा सूचीकृत नौ वटै तालमध्ये दुई वटा पोखरामा र सात वटा ताल लेखनाथमा पर्छन्।
पोखराको फेवा ताल देशकै प्रमुख पर्यटकीय स्थल हो। पोखरा आउने प्रायः पर्यटक फेवा ताल पुग्छन्, लेकसाइड क्षेत्रमा रमाउँछन्। फेवासँगै अन्य आठ ताल पर्यटकको पर्खाइमा छन्।
कमलपोखरी, बेगनास, रुपा, खास्टे, दिपाङ, गुदे, न्यूरेनी र मैदी ताल घुम्नै पर्ने गन्तव्य हुन्। पोखरा-१३ स्थित कमलपोखरी त कमल फुल्ने याममा अझ सुन्दर देखिन्छ। चराको अवलोकन र पर्यटकीय चाप कम रहेका ताल खास्टे, दिपाङ, गुदे, न्यूरेनी, मैदीमा शान्त र सुरम्य वातावरणमा रमाउन सकिन्छ। बेगनासमा डुंगा सयर गरेर नजिकैको रुपा तालको अवलोकन गर्न सकिन्छ।
रोमाञ्चक सूर्योदय र सूर्यास्त
पोखरा हिमालसँगै डाँडाले घेरिएको छ। गाडी वा हाइकिङ गरेरै सूर्योदय र सूर्यास्तको मजा लिन सकिन्छ। पोखराबाट उत्तर-पश्चिममा रहेको सराङकोटको डाँडा सूर्योदय तथा सूर्यास्त हेर्नका लागि प्रख्यात छ। हिमशृंखलाको मनमोहक दृश्य र फेवा ताललाई उचाइबाट हेर्न सराङकोट पुग्नै पर्छ।
सराङकोटबाटै हाइक गर्दै वा गाडीमा आधा घण्टामै कास्कीकोट पुगिन्छ। दरबार रहेको कास्कीकोट डाँडाबाट बिहान र साँझ रमणीय दृश्यावलोकन गर्न सकिन्छ।
काँहुडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ। पोखरा बजार, फेवा ताल तथा हिमशृंखला नियाल्न सकिन्छ। पोखरा-१६, लामाचौर हुँदै पुगिने ढिकीडाँडाको बेग्लै महत्त्व छ। पोखराको बजारबाट अलि पर रहेको यो डाँडाबाट हिमशृंखलासँग अर्मला बजार अवलोकन गर्न सकिन्छ।
पातले छाँगा
पोखराको छोरेपाटनस्थित पातले छाँगा (डेभिस फल) पुरानो तथा चर्चित पर्यटकीय गन्तव्य हो। यहाँ फेवाको ड्यामसाइडबाट निस्किएको पानी छाँगाका रूपमा खसेको सुन्दर दृश्य देखिन्छ।
गुफाको गुनगुन
पोखराका तीन गुफा चर्चित छन्। पोखरा-१६ स्थित महेन्द्र गुफा, जसको लम्बाइ १२५ मिटर छ। यसको पश्चिममा छ चमेरे गुफा, जहाँ चमेरा अवलोकन गर्न सकिन्छ। छोरेपाटनस्थित गुप्तेश्वर गुफा अर्को आकर्षण हो। गुप्तेश्वर मन्दिरका रूपमा परिचित यो गुफा धार्मिक हिसाबले पनि प्रख्यात छ।
शहरमा गाउँको स्वाद
पोखरा र आसपासका क्षेत्रमा गाउँ र गाउँले जीवन बुझ्न र घुम्नका लागि होमस्टे छन्। ल्वाङ-घलेल, सिक्लेस, तानतिङ, हेम्जाकोट, अर्मलाकोट होमस्टे प्रमुख गन्तव्य हुन्। पोखराबाट केही घण्टामै पुगेर एक दिन गाउँको परिवेशमा रमाउन सकिन्छ।
धार्मिक सहिष्णुताको संगम
पोखरा धार्मिक सहिष्णुताको संगम पनि हो। जहाँ सबै धर्मावलम्बी मिलेर बसेका मात्रै छैनन्, धार्मिकस्थललाई पर्यटकीय गन्तव्य पनि बनाएका छन्। हिन्दू धर्मावलम्बीका लागि फेवा तालबीचको तालबाराही मन्दिर, पोखरा-२ को विन्ध्यवासिनी मन्दिर, पोखरा, कुँडहरको भद्रकाली मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर, लेकसाइडको केदारेश्वर मन्दिर प्रमुख धार्मिक गन्तव्य हुन्। हालै पुम्दिकोटमा निर्माण गरिएको महादेव मन्दिरले पनि धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ। ५२ फुट अग्लो महादेवको मूर्ति रहेको स्थान नयाँ गन्तव्य बनेको छ।
बौद्धसँगै हिन्दू धर्मावलम्बी पुग्ने चर्चित गन्तव्य हो, पोखराको अनदु डाँडास्थित विश्व शान्ति स्तूप। बुद्धको अस्तु राखिएकाले पनि विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बनेको छ। पोखराको छोरेपाटनबाट एक घण्टाको उकालो हाइकिङ गर्ने अथवा गाडीमा हुँइकिएर शान्ति स्तूप पुग्न सकिन्छ।
पोखरा-१२ को माटेपानी गुम्बा अर्को चर्चित नाम हो। बुद्धपूजाका साथै बौद्ध शिक्षा प्रदान गरिने गुम्बा शान्त वातावरणमा रमाउनेको रोजाइमा पर्छ। पोखराकै नदीपुरस्थित धर्मशिला बुद्धविहार ऐतिहासिक स्थल हो। बौद्ध अनुयायीका लागि यो ठाउँ विशेष छ। लेकसाइड, हेम्जा, पृथ्वीचोकस्थित बौद्ध गुम्बाले पनि धार्मिक पर्यटकलाई तानिरहेका छन्।
मुस्लिम धर्मावलम्बीका लागि पोखरा-१३, मियाँपाटन बस्ती र मस्जिद विशेष गन्तव्य हुन्। पोखराको पुरानो मुस्लिम बस्ती हो, मियाँपाटन। आजानसँगै बिहानको शुरूआत हुने यस बस्तीको अवलोकन गर्न दूरदूरबाट पर्यटक आउने गरेका छन्।
पुरानो बजार
अहिले पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा हो। कुनै समय पोखराको पुरानो बजार गणेश टोल, नालामुख, भीमसेन टोल, भैरव टोल, मोहरिया टोल, बागबजार थिए। किनमेल गर्न पोखरा आसपासका गाउँका बासिन्दा यही क्षेत्र पुग्थे।
भक्तपुरबाट २६ कुरियाका रूपमा नेवार समुदायलाई पोखरामा ल्याएर बस्ती बसालेको इतिहास छ। पुरानो बजारमा अझै पनि पुराना घर जस्ताका तस्तै छन्। पैदलै पुरानो बजारको अवलोकन गर्न सकिन्छ।
संग्रहालयले बढाएको शान
पोखराको शान बढाउने चार संग्रहालय पनि छन्। पर्वतीय शृंखलाबारे बुझ्न पोखरा-१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन गर्न सकिन्छ। जुन संसारकै ध्यान खिच्ने पर्वतीय संग्रहालयमध्ये पर्छ।
पोखरा-९, नयाँबजारको प्रदेशस्तरीय संग्रहालय विविध जातजातिको इतिहास बुझाउने सामग्रीले सजिएको छ। पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसमा पुगेर अन्नपूर्ण संग्रहालयमा जैविक विविधता, हिमालका साथै पुतली बाजे उपनाम पाएका कोलिन स्मिथले संगृहीत गरेका पुतलीको अवलोकन गर्न सकिन्छ।
चौथो, बगरको केआई सिंह पुल नजिकै रहेको गोर्खा स्मारक संग्रहालय हो। जहाँ गोर्खा सैनिकका वीरगाथा स्मरण गर्न सकिन्छ। नेपालीले लडेका संसारभरका युद्ध तथा लडाइँसँग सम्बन्धित तस्वीर, चित्र र सामग्री हेर्न सकिन्छ।
साहसीको उडान
हावामा चरा जस्तै उड्ने अनुभव सँगाल्न प्याराग्लाइडिङ गर्नैपर्छ। सराङकोटबाट उड्ने प्याराग्लाइडिङमा पाइलटसँगै बसेर फेवा ताल, पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ।
पोखराका दुई ठाउँबाट बन्जी गर्न सकिन्छ। हेम्जामा हाइग्राउन्ड एड्भेन्चरको ८० मिटरको उचाइबाट र रातोपैह्रे नजिकको बन्जी नेपालको १०१ मिटरको उचाइबाट हाम फाल्न सकिन्छ।
आकाशमा उड्दै हिमशृंखला नजिकबाट नियाल्न तथा पोखरा अवलोकन गर्न अन्य विकल्प पनि छन्- अल्ट्रालाइट, माउन्टेन फ्लाइट, स्काईभ डाइभ र हट एअर बलून। जसले साहस बटुल्न सघाउँछन्।
केबलकार : पोखरा, फेवा ताल, सेती बगरबाट १० मिनेटमै केबलकार मार्फत सराङकोट पुग्न सकिन्छ। अन्नपूर्ण केबलकारका रूपमा सञ्चालित यो फरक माध्यमबाट सराङकोट अवलोकन गर्न र केबलकारको अनुभव लिन सकिन्छ।
जहिल्यै जलक्रीडा
जमीन र आकाश मात्रै होइन, जलमा पनि रमाउने स्थल हो पोखरा। जहाँ जलसँग सम्बन्धित विविध क्रियाकलाप गर्न सकिन्छ, जस्तो- क्यानोनिङ। माछापुच्छ्रे गाउँपालिका घलेलमा क्यानोनिङ गर्न सकिन्छ। एड्भेन्चर र नेचरको संगम रहेको क्यानोनिङ साहसिक अनुभूति बटुल्ने माध्यम बनेको छ।
बोटिङ : फेवा, बेगनासमा बोटिङ गरेर तालको सयर गर्न सकिन्छ। फेवामा त बिहानको झुल्के घामसँगै बोटिङ शुरू हुन्छ। देशविदेशका आगन्तुक सूर्यास्तसम्मै फेवामा रमाइरहेका हुन्छन्।
र पोखराको बाटो
सवा सय वर्षअघि जापानी बौद्ध भिक्षु कावागुची पोखराको बाटो भएर उत्तरी पठार तिब्बत पुगेका थिए। अहिले पनि उनकै पदचाप पछ्याइँदै छ। कतिपय पर्यटक तिब्बत जोड्ने उत्तरी हिमालसम्म पुग्छन् भने कतिपय चाहिं पोखरा आसपासका ठाउँमै आनन्द लिन्छन्।
पोखराबाट नजिक र टाढाका गन्तव्य पहिल्याउन सकिन्छ। जस्तो- ल्वाङ गाउँ, स्याङ्जा, कास्की र पर्वत जिल्लाको त्रिकोणात्मक संगमस्थल पञ्चासे क्षेत्र, गुरुङ गाउँ सिक्लेस, धम्पुस, घान्द्रुक, कृस्ती।
यससँगै अन्नपूर्ण पदयात्रा, खुमै डाँडा, मर्दी ट्रेक, क्हफुचे, कोरी, खोपारा, पुनहिल, तिलिचो ताल, मुक्तिनाथ पोखराकै बाटो भएर पुग्न सकिन्छ। अब पोखरा पुग्न कावागुची जस्तो पैदलै हिंड्नु पनि पर्दैन, सुविधासम्पन्न गाडीमा हुइँकिएर होस् या जहाजमा उडेर पुग्न सकिन्छ। पोखरा आगन्तुकलाई स्वागत गर्न तम्तयार छ।
(सम्पादन : बच्चु विक, भाषा : प्रद्युम्न खनाल)
डुलौं देश शृंखलाका थप सामग्री :