पर्वतारोहण, हिमाली समुदाय र हिमाली गतिविधिको अभिलेख, संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पर्वतारोहीको सहयोगको अनुपम नमूना बनेको छ।
कलात्मक भवन, खुला ठाउँ। हरियाली र पृष्ठभूमिमा टलक्क टल्किने माछापुच्छ्रे हिमाल। लहरै देखिने अन्नपूर्ण हिमशृंखला।
यो रमणीय दृश्य हो, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको। दैलोमा स्वागतका लागि उभिए जस्तो चौंरीलाई बायाँ पारेर भित्र प्रवेश गरेसँगै बेग्लै संसारको अनुभूति गराउँछ, यसले। जहाँ हिमाल, हिमाली समुदाय र हिमाली गतिविधि नै झल्किन्छन्।
नेपाली समुदायले देखेको यही पर्वतीय संग्रहालयको सपना पूरा गर्न जापानका पूर्व प्रधानमन्त्री रियातारो हासिमातो अग्रभागमा उभिए। हासिमातोको नेपाल र नेपालका हिमालप्रतिको मायाले संग्रहालय निर्माणमा जापानबाट निरन्तर सहयोग मिलिरह्यो।
उनीबाट प्रेरित हुँदै जापानी नागरिक र संसारभरका पर्वतारोहीले सहयोगको हात बढाए। यसरी देशविदेशबाट आएको आर्थिक सहयोगले पोखरामा अन्तर्राष्ट्रिय स्तरको पर्वतीय संग्रहालय तयार भयो। “निर्माण शुरू गरेपछि पनि अनेक कठिनाइ आए, तैपनि झन्डै आठ वर्ष लगाएर संग्रहालय बन्यो,” नेपाल पर्वतारोहण संघका तत्कालीन अध्यक्ष आङ छिरिङ शेर्पा भन्छन्।
डा. गुरुङ र हासिमातोको दोस्ती
२०४५ सालमा जापान, चीन र नेपालबीचको सम्बन्ध सुधार गर्न मैत्रीपूर्ण सगरमाथा आरोहणको यात्रा तय भएको थियो। जापानी समूहको नेतृत्व उनै हासिमातोले गरेका थिए भने नेपाली समूहमा डा. हर्क गुरुङ थिए। त्यही आरोहणको पहिलो पटक विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो।
त्यति वेला हासिमातो जापानको स्वास्थ्य तथा यातायातमन्त्री भइसकेका थिए। उनको नेपाल भ्रमणले डा. गुरुङसँगको सम्बन्ध प्रगाढ बनाइदियो।
हासिमातो पछि अर्थमन्त्री हुँदै जापानको प्रधानमन्त्री बने। संग्रहालय निर्माणका क्रममा हासिमातोले शुरूआतमा पाँच लाख जापानी येन सहयोग गरेको नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार तथा तत्कालीन अध्यक्ष आङ छिरिङ शेर्पा बताउँछन्।
संग्रहालय निर्माणमा डा. गुरुङको हासिमातोसँगको सम्बन्धले काम गरेको संघका सल्लाहकार तथा समाजशास्त्री डा. गणेश गुरुङ सुनाउँँछन्। “पर्वतीय संग्रहालय निर्माणमा डा. हर्क गुरुङको जापानीहरूसँगको सम्बन्धले पनि सहयोग पुर्यायो। पूर्व प्रधानमन्त्री हासिमातोले निकै सहयोग गरेका थिए,” उनी भन्छन्।
सल्लाहकार गुरुङले हासिमातो र डा. हर्क गुरुङको सम्बन्धबारे हिमालखबर मा प्रकाशित लेखमा पनि उल्लेख गरेका छन्। हासिमातो डा. हर्क गुरुङको घरमा पाक्ने म:मका फ्यान रहेको स्मरण गरेका छन्।
अनि पोखरामै बन्यो संग्रहालय
भूगोलविद् डा. हर्क गुरुङ सहित पर्यटनविद् एवं उद्योगीहरू कुमार खड्का, विक्रम शाह, छिरिङ तेन्जिङ लामा, नरसिंहमान प्रधान, टेकचन्द्र पोख्रेल, शैलेन्द्रराज शर्मा लगायतको परिकल्पना तथा नेतृत्वमा २०३० सालमा नेपाल पर्वतारोहण संघको स्थापना भयो। संघ स्थापना गरिनुको प्रमुख उद्देश्य पर्वतीय पर्यटनको प्रवर्द्धन र पर्वतीय वातावरण संरक्षण थियो।
नेपालका हिमाल संरक्षण र यसको व्यवसायीकरण, प्रवर्द्धनबारे डा. हर्क गुरुङ निरन्तर वकालत गर्थे। त्यही समयमा नै उनले नेपालमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको निर्माणबारे छलफल शुरू गरेका थिए। अन्तत: संग्रहालय बन्ने टुंगो लागे पनि कहाँ बनाउने भन्ने यकीन थिएन।
काठमाडौंदेखि विराटनगरमा बनाउनेसम्म चर्चा चलेको डा. गणेश गुरुङ सम्झन्छन्। अधिकांशको जोड काठमाडौंमा नै बनाउने थियो तर डा. हर्क गुरुङ सबैथोक काठमाडौं केन्द्रित गर्न नहुनेमा जोड दिन्थे।
त्यति वेला आरोहण र पदयात्राका लागि पोखरामा संसारभरबाट विदेशी पर्यटक आउने क्रम शुरू भइसकेको थियो। त्यसैले पनि डा. हर्क गुरुङले संग्रहालय बनाउन हिमालैहिमालले घेरिएको शहर पोखरा रोजे। “धेरै नबोल्ने स्वभाव थियो, बोलेपछि त्यो अकाट्य हुन्थ्यो,” विगत सम्झिँदै डा. गणेश गुरुङ भन्छन्, “त्यति वेला डा. हर्क गुरुङले नै पोखरामा बनाउनुपर्छ भन्नुभएको थियो।”
पोखरामा बन्ने टुंगो लागिसकेपछि पनि कहाँ बनाउने भन्ने ठेगान थिएन। अन्तर्राष्ट्रिय स्तरमा बृहत् बनाउने परिकल्पना रहकाले त्यही अनुसारको जमीन चाहिन्थ्यो। स्पष्टसँग हिमशृंखला देखिने ठाउँ रोज्न पोखराका धेरै ठाउँ चहारिएको थियो। अन्ततः तिब्बती शरणार्थीले लिएको पोखरा-१७, रातोपैह्राको १०० रोपनी जमीन संग्रहालयका लागि रोजियो। व्यक्तिगत नाममा रहेको १०० रोपनी जग्गा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय निर्माणका लागि किनियो। त्यति वेला त्यहाँ खच्चडहरू राखिन्थे।
पर्यटन र ट्रेकिङका खम्बा मानिएका दाबा नोर्बु शेर्पा २०५० सालमा संघको अध्यक्ष बने। उनी आइसकेपछि पर्वतीय संग्रहालयले बल्ल सार्थकता पायो। दाबा नोर्बु शेर्पाले आर्थिक संकलनका लागि निकै दौडधूप गरेको संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पा सम्झन्छन्।
उनी अध्यक्ष रहँदै २०५२ सालमा संग्रहालयको शिलान्यास गरियो। निर्माणको कामले पनि तीव्रता लिइसकेको थियो। तर संग्रहालय तयार नहुँदै २०५४ सालमा दाबा नोर्बु शेर्पाको निधन भयो।
कुमार खड्क विक्रम शाह, डा. हर्क गुरुङ र दावा नोर्बु शेर्पाको शालिक।
लगत्तै अध्यक्ष बनेका टासी जाङबु शेर्पा र उनी पछिका अध्यक्ष आङ छिरिङ शेर्पाले पर्वतीय संग्रहालय निर्माणको कार्य पूरा गरे। आङ छिरिङ शेर्पाका अनुसार संग्रहालय बनाउन १४ करोड रुपैयाँ लाग्यो। शिलान्यासको झन्डै आठ वर्षपछि २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको औपचारिक उद्घाटन गरे।
संग्रहालयको डिजाइनका लागि विभिन्न समयमा थुप्रै आर्किटेक्चरले काम गरेका थिए। शुरूदेखि नै संग्रहालयको मुख्य भवन सिर्जनात्मक र भव्य बनाउन लागिपरेका व्यक्ति थिए, आर्किटेक्चर नरेन्द्र प्रधान। “संग्रहालयको भवन त्यो समयमा बने पनि निकै आधुनिक र सिर्जनात्मक छ,” डा. गणेश गुरुङ भन्छन्, “संग्रहालयभित्र आइसकेपछि दर्शकलाई छुट्टै संसारमा पुगेको अनुभूति गराउन नरेन्द्र प्रधानले मेहनत गरे।”
दैनिक दुई हजार जनाले गर्छन् अवलोकन
पर्वतीय संग्रहालयको मुख्य भवन साढे ६ रोपनी क्षेत्रफलमा बनेको छ। संग्रहालयमा विभिन्न हिमाल र तिनमा हुने गतिविधिको प्रदर्शनी, हिमाली समुदायको सामाजिक- सांस्कृतिक झल्काउने सामग्री, विश्वको पर्वत शृंखलाको उत्पत्ति, वन्यजन्तु, वनस्पति प्रदर्शनीमा राखिएको संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुकर बताउँछन्।
नेपालका विभिन्न विद्यालयबाट आउने विद्यार्थीको भ्रमणले पर्वतीय संग्रहालय भरिभराउ हुने गरेको छ। आर्थिक वर्ष २०७९/८० मा मात्र ९९ हजार ८९५ विद्यार्थीले अवलोकन गरेका छन्। त्यस्तै, ५४ हजार ५५५ नेपाली र आवासीय भिसा भएका १८२ जनाले पर्वतीय संग्रहालयको भ्रमण गरेका थिए।
नेपालीसँगै विदेशी पर्यटकलाई पनि संग्रहालयले आकर्षित गरिरहेको छ। गत आर्थिक वर्षमा १६ हजार ३३७ जना विदेशी संग्रहालयमा पुगेका छन्। त्यस्तै, सार्क राष्ट्रबाट २७ हजार ८४५ पर्यटकले भ्रमण गरेका छन्।
सबै गरेर एक वर्षमा एक लाख ९८ हजार ८२५ जनाले संग्रहालयको अवलोकन गरेको संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने बताउँछिन्। “पर्वतीय संग्रहालय हिमाल र हिमाली संस्कृति बुझ्न, अध्ययन र अनुसन्धानका लागि अन्तर्राष्ट्रिय स्तरको थलो बनेको छ,” न्यौपाने भन्छिन्।
संग्रहालय अवलोकनका लागि विदेशीबाट ५०० रुपैयाँ, सार्क राष्ट्रका नागरिकलाई २५० रुपैयाँ, नेपालीका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ र आवासीय भिसा भएका नागरिकलाई २५० रुपैयाँ शुल्क तोकिएको छ। निर्देशक न्यौपानेका अनुसार दैनिक औसत दुई हजार जनाले संग्रहालयको अवलोकन गर्ने गरेका छन्। सबैभन्दा धेरै एकैदिन चार हजार जनाले अवलोकन गरेको अभिलेख छ।
संग्रहालय अवलोकनसँगै अध्ययन र अनुसन्धानका लागि नेपालीसँगै विदेशी पनि आउने गरेका छन्। नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पा यो संग्रहालयमा नेपालको मात्र नभएर विभिन्न देशका हिमाली क्षेत्रलाई पनि समेटिंदा विदेशी पर्यटकले भ्रमण गर्ने अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बनेको बताउँछन्।
संग्रहालय भ्रमणमा विदेशीसँगै नेपाली विद्यार्थीको घुइँचो देख्दा डा. हर्क गुरुङलाई सम्झने गरेको डा. गणेश गुरुङ सुनाउँछन्। उनी भन्छन्, “संग्रहालयमा विद्यार्थीको भीड देख्दा डा. हर्क गुरुङको सपना पछ्याइरहेको अनुभूति हुन्छ, खुशी लाग्छ।”