ब्रिटिश-गोर्खा इतिहासको भव्य संग्रह– गोर्खा मेमोरियल म्यूजियम
![ब्रिटिश-गोर्खा इतिहासको भव्य संग्रह– गोर्खा मेमोरियल म्यूजियम](https://www.himalkhabar.com/uploads/posts/800X600/GurkhaMuseum-1712642413.jpg)
विभिन्न युद्धमा मृत्युवरण गरेका गोर्खा सैनिकमा समर्पित यो संग्रहालयले लाखौं सैनिकको कथा, गाथा र व्यथालाई जीवन्त बनाएको छ।
ब्रिटिश साम्राज्यको ईस्ट इन्डिया कम्पनी र गोर्खालीको पहिलो मुठभेड ६ नोभेम्बर १७६७ मा भएको थियो, सिन्धुलीमा। त्यो वेला गोर्खाका राजा पृथ्वीनारायण शाहको सेनाले कम्पनीको ठूलो फौजलाई एकै झमटमा हराएर लखेटेको थियो।
तत्कालीन विश्वशक्ति ग्रेट ब्रिटेन र विस्तारित नेपाल राज्यको योजनाबद्ध पहिलो भिडन्त भने ३१ अक्टोबर १८१४ मा नालापानी किल्लामा भयो, जसमा ब्रिटिश कमान्डर जनरल जिलेस्पी मारिए। एक महीना लामो प्रयासपछि ३० नोभेम्बरमा किल्ला फत्ते गर्न सफल बनेको कम्पनी फौज १८१५ को अप्रिलमा मलाउ किल्ला कब्जा गर्न पुग्यो।
न जनबल न त धनबल, केवल साहसको भरमा लडेको नेपाली फौजसँग मलाउ गुमेपछि शक्तिशाली शत्रुको मित्रता स्वीकार गर्नुको विकल्प रहेन। परिणाम- नेपाली कमान्डर अमरसिंह थापाले जनरल डेभिड अक्टरलोनीले अगाडि सारेको आठबुँदे सहमतिपत्रमा १५ मे १८१५ मा सही गरे। अर्को वर्ष ४ मार्चमा सुगौली सन्धि भयो।
नेपालीको वीरताबाट कायल अंग्रेज कम्पनीले जैथक किल्लामा चढाइ गरेपछि तितरबितर भएका गोर्खा सिपाही भेला पारेर २४ अप्रिल १८१५ मै सिरमूर बटालियन खडा गरेको थियो।
त्यसयताको समयमा ग्रेट ब्रिटेन संलग्न साना वा ठूला कुनै युद्ध छैनन्, जसमा गोर्खाली नलडेका हुन्। त्यस्तो कुनै युद्ध छैन, जसमा गोर्खा रेजिमेन्टका सिपाहीहरूले उच्चतम बहादुरीको तक्मा नपाएका हुन्। त्यसयताको करीब २१० वर्षमा नेपाल-बेलायत सम्बन्धको मुख्य कडी पनि गोर्खा सैनिक नै रहिआएको मानिन्छ।
![_IMG7932.JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/GorkhaMuseum/_IMG7932.JPG)
यो इतिहासको संरक्षण गर्ने मिहिन काम भने पोखरामा भएको छ, भूपू ब्रिटिश-गोर्खाहरूबाट। गोर्खा रेजिमेन्ट स्थापना भएको सन् १८१५ देखि २०१५ को अवधि समेटिएको भनिए पनि ‘गोर्खा मेमोरियल म्यूजियम’ ले त्योभन्दा परको गोर्खाली इतिहास ‘शो केस’ गरेको छ। यस अवधिका सबै युद्धका प्रमाण, घटनाक्रम, तिनका नायक, पुस्तक, अभिलेख, तस्वीर, पेन्टिङ आदिले संग्रहालय भरिभराउ छ।
गोर्खा इतिहासका कतिपय महत्त्वपूर्ण सामग्रीको ‘रेप्लिका’ राखिएको छ, जस्तो- क्वीन्स ट्रन्चन। यो ट्रन्चन सेकेन्ड गोर्खा रेजिमेन्ट ट्रस्टको अनुमतिमा काठमाडौंमा बनाइएको संग्रहालय निर्माण अभियन्तामध्येका एक पूर्व गोर्खा मेजर (क्वीन्स गोर्खा इन्जिनीयर्स) जुदबहादुर गुरुङले बताउँछन्।
गुरुङका अनुसार सन् १८५७ को भारतीय सिपाही विद्रोह दमनपछि ब्रिटिश साम्राज्यको ‘ट्रस्टेड फोर्स’ का रूपमा महारानी भिक्टोरियाबाट सिरमूर बटालियनलाई यो ट्रन्चन प्रदान भएको हो। त्यसपछि नै यो बटालियन गोर्खा राइफल्स रेजिमेन्ट बन्यो। त्यसअघि यसलाई ‘न्याटिभ वा लोकल बटालियन’ भनिन्थ्यो।
क्वीन्स ट्रन्चनमा तीन जना गोर्खा सैनिकले बेलायती राजमुकुट थामेका छन्। ब्रिटिश-गोर्खा रेजिमेन्टमा यसलाई ‘निशानी माई’ पनि भनिन्छ।
संग्रहालय परिसरमा भवनको बायाँपट्टि सानो ‘लाल गेट’ र त्यसमुनि गोर्खा सैनिकको शालिक छ। यो शालिक सन् १८१५ यता ग्रेट ब्रिटेनका तर्फबाट लडेका सबै गोर्खा सैनिकको प्रतीक हो। ‘लाल गेट’ चाहिं देहरादूनस्थित पुरानो सिरमूर जेरिमेन्टल गेटको रेप्लिका हो। संग्रहालयको मूल ढोकाको शोभा बनेका दुई वटा तोप नेपाली सेनाको उपहार हो।
गत वर्ष ४८ हजार स्वदेशी-विदेशीले यो संग्रहालयको अवलोकन गरे। यस वर्ष (२०२४) आगन्तुकको संख्या बढ्ने अनुमान छ। ट्रस्टको कार्यसमिति अध्यक्ष पूर्व गोर्खा क्याप्टेन कर्णबहादुर थापा पोखरा आउने स्वदेशी-विदेशीका लागि यो संग्रहालय महत्त्वपूर्ण गन्तव्य बनिसकेको बताउँछन्।
थापाका अनुसार आगन्तुकमा विद्यार्थी र इतिहास अध्येताको संख्या उल्लेख्य छ। तिनमा पनि सैनिक इतिहासमा रुचि राख्ने अध्येता धेरै हुन्छन्। संग्रहालय प्रवेश शुल्क नेपालीलाई ५० रुपैयाँ र नेपाली विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ। त्यस्तै, सार्क सदस्य मुलुकका व्यक्तिले १५० र अन्य मुलुकका नागरिकले २५० रुपैयाँको टिकट लिएर संग्रहालयको अवलोकन गर्न पाउँछन्।
![_IMG7896.JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/GorkhaMuseum/_IMG7896.JPG)
पोखराको तल्लो दिपस्थित ब्रिटिश गोर्खाज् क्याम्प अगाडि रहेको तीनतले संग्रहालयमा गोर्खा सैनिक इतिहास, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध लगायत सबै युद्धमा प्रयोग भएका सामग्रीको प्रदर्शनीका साथै प्रायः सबै सूचना तथा जानकारी छन्। यहाँ रहेका एक-एक तस्वीर र मेडलहरूले गोर्खालीका सैन्य पराक्रमको गाथा गाउँछन्।
संग्रहालयमा ब्रिटिश-गोर्खा र इन्डियन-गोर्खाका अलावा नेपाली सेना सम्बन्धी सामग्री पनि छन्। नेपाली सेना लडेको युद्धका पेन्टिङ, केही सेना प्रमुखका ट्युनिक लगायत सेरेमोनियल सामग्री छन्। संग्रहालयलाई पूर्णता दिने क्रममा नेपाली सेनाबाट राम्रो समन्वय-सहयोग भएको मेजर गुरुङ बताउँछन्।
तीनतले भवनमा राखिएका सयौं तस्वीर, पेन्टिङ, हातहतियार, पोशाक, मेडल र अन्य सामग्रीले पराक्रमी गोर्खा सैनिकका फरक फरक गाथा बताउँछन्।
संग्रहालयको परिकल्पना
बेलायतको सर्वोच्च सैनिक पदक भिक्टोरिया क्रस (भीसी) हो। पहिलो विश्वयुद्धअघिसम्म ब्रिटिश सैनिकलाई मात्र भीसी दिइन्थ्यो। बेलायतका लागि लड्ने गैरब्रिटिश सैनिकलाई पनि भीसी दिने नियम लागू हुँदा पहिलो विश्वयुद्धमा दुई जना नेपालीले यो सर्वोच्च युद्ध पदक जितेका थिए। यसैगरी, दोस्रो विश्वयुद्धमा १० र बोर्नियोको युद्धमा एकले गरी हालसम्म १३ जना नेपालीले भीसी पाएका छन्।
![_IMG7885.JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/GorkhaMuseum/_IMG7885.JPG)
२०५० सालमा त्यस वेला जीवित सात जना गोर्खा भीसीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको थियो। त्यस क्रममा गोर्खाली वीरताको इतिहासको सम्मानबारे बहस चल्दा गोर्खा संग्रहालय स्थापनाको आवश्यकता महसूस गरिएको मेजर गुरुङ सम्झन्छन्।
उनका अनुसार त्यही साल माघमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गोर्खा मेमोरियल ट्रस्ट दर्ता गरियो। पूर्व गोर्खा क्याप्टेन एकनारायण गुरुङ अध्यक्ष रहेको ट्रस्टको कार्यसमिति नौ सदस्यीय थियो। ट्रस्टको चार सदस्यीय सल्लाहकार मण्डलमा डा. हर्क गुरुङ, पूर्व लेफ्टिनेन्ट कर्णेल जेपी क्रस, पूर्व लेफ्टिनेन्ट कर्णेल लालकाजी गुरुङ र पूर्व मेजर दीपकबहादुर गुरुङ थिए।
त्योसँगै लैनचौरमा कार्यालय खोलेर संग्रहालय बनाउन पूर्व ब्रिटिश, सिंगापुर र इन्डियन-गोर्खा समुदायमा सहयोगको अपील गरियो। बेलायतको विन्चेस्टरस्थित गोर्खा म्यूजियमलाई पनि पत्र लेखेर ऐतिहासिक सामग्रीका लागि अनुरोध गरियो।
“भूपूहरूले सुटकेस भरी-भरी सामान ल्याएर दिन थाले,” मेजर जुदबहादुर गुरुङ भन्छन्, “केही महीनामा नै लैनचौरको भाडाको दुई कोठामा ठाउँ नै अपुग भयो। त्यही वेला विन्चेस्टरबाट पनि सामानहरू आउन थालेपछि अर्को निर्णय गर्नुपर्ने भयो।”
अनि पोखरा सर्यो संग्रहालय
२०५८ सालमा क्याप्टेन एकनारायण गुरुङ नै ट्रस्टको अध्यक्ष थिए। मेजर यामबहादुर गुरुङ र मेजर जुदबहादुर गुरुङ क्रमशः प्रथम र द्वितीय उपाध्यक्ष थिए। काठमाडौं बाहिर संग्रहालय सार्ने विषयमा छलफल हुँदा पोखरा र पूर्वको धरानको नाम आयो।
त्यस वेला पोखरा महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै थियो। ब्रिटिश गोर्खाज्को मुख्य क्याम्प पनि पोखरामै थियो। “त्यसैले धरानभन्दा पोखरामा संग्रहालयलाई दिगो बनाउन बढी सजिलो होला भनेर यता सार्ने निर्णय गरियो,” मेजर यामबहादुर गुरुङ सम्झन्छन्।
![_IMG7884.JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/GorkhaMuseum/_IMG7884.JPG)
त्यसरी २०५८ भदौमा गोर्खा संग्रहालय पार्दीको एउटा भाडाको घरमा सर्यो। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसँग जग्गा मागेर त्यसपछिको नयाँ व्यवस्था गर्ने सल्लाह थियो तर त्यस अनुसार नभएपछि अभियन्ताहरू अर्को ठाउँ खोज्नतिर लागे। भवनका लागि भूपू गोर्खाबीच अर्थ संकलन अभियान पनि चलिरहेकै थियो।
२०५९ सालमा ट्रस्टको अध्यक्षता मेजर यामबहादुर गुरुङले गरे। मेजर जुदबहादुर गुरुङ भने ट्रस्टमा आमन्त्रित सदस्य मात्र रहने भए। कारण थियो, उनले पाएको आकर्षक ‘जब अफर’। उनी ब्रिटिश गोर्खाज् पोखरामै मुख्य कार्यालय रहेको कादूरी एग्रिकल्चर एड एशोसिएशन गए, प्राविधिक निर्देशक भएर।
यता, भाडाको घरमा सञ्चालित संग्रहालयमा आगन्तुक आउन थालिसकेका थिए, जुन दिनदिनै साँघुरो भइरहेको थियो। अनि गोर्खा म्यूजियम बनाउन ब्रिटिश क्याम्पकै जमीन माग्ने सल्लाह भयो।
त्यस वेला कर्णेल पिटर शार्लेन्ड ब्रिटिश गोर्खाज् नेपालका प्रमुख थिए। ब्रिटिश-गोर्खाको इतिहास मात्र नभई उहिलेको ईस्ट इन्डिया कम्पनीदेखि अहिलेको बेलायत-नेपाल सम्बन्धसम्मको विषय भएको प्रस्ताव अस्वीकार गर्न सकेनन् उनले। परिणाम- २०६० फागुनमा नेपाल आएका फील्ड मार्शल सर जोन च्यापलबाट संग्रहालय भवनको शिलान्यास भयो।
![_IMG7933.JPG](https://www.himalkhabar.com/uploads/editor/Tourism/GorkhaMuseum/_IMG7933.JPG)
भवन बनाउन सबै लाहुरे एकजुट नै थिए, डिजाइन र निर्माण निर्देशकको जिम्मेवारी मेजर जुदबहादुर गुरुङले पाए। एकसरो संरचना निर्माण भइसकेपछि संग्रहालयविज्ञ गाई विल्सनलाई बेलायतबाट बोलाइयो। तीन तलामा सारा ऐतिहासिक सामान वर्गीकरण गरेर कुनलाई, कहाँ, कसरी राख्ने भनेर इन्टेरियर डिजाइन उनैले गरे।
एउटा कुरा मात्र विल्सनले चाहे जस्तो भएन। उनले संग्रहालयभित्र बाहिरी प्रकाश नपार्न भवनलाई झ्यालविहीन बनाउन खोजेका थिए तर त्यस वेला नेपालमा लोडशेडिङ व्याप्त भएकाले त्यो सम्भव भएन।
“जे होस्, हामीले चाहेको म्यूजियम तयार भयो, त्यो पनि कुल एक करोड ७० लाख रुपैयाँको लागतमा। २०६५ फागुनमा गोर्खा ब्रिगेडका कर्णेल जनरल डेभिड रिचर्डस्बाट उद्घाटन भयो,” मेजर जुद भन्छन्, “यसमा भूपू परिवारबाट दिल खोलेर सहयोग भयो, भूपू बाहेक अरूको सहयोग छैन। सबै दाताको नेम प्लेट म्यूजियममा छ।”
विभिन्न युद्धमा मृत्युवरण गरेका गोर्खा सैनिकमा समर्पित यो संग्रहालयले लाखौं सैनिकको कथा, गाथा र व्यथालाई जीवन्त बनाएको छ। आफ्नो कथा आफैंले नभने त्यो स्वतः हराउने स्थिति देखिंदा यो स्मारक खडा गरिएको मेजर जुद बताउँछन्। उनी भन्छन्, “विश्वले गोर्खालीको बहादुरी, त्याग, समर्पण र दुःख-पीडा बुझ्नु जरुरी छ।”
(सम्पादनः आनन्द राई, भाषाः प्रद्युम्न खनाल)