बुढासुब्बा गोल्ड कप फागुन तेस्रो साता
![बुढासुब्बा गोल्ड कप फागुन तेस्रो साता](https://www.himalkhabar.com/uploads/posts/800X600/budhasubba-1708587726.jpg)
बुढासुब्बा गोल्ड कप फूटबल प्रतियोगिताको २४औं संस्करण फागुन २६ देखि चैत ३ गतेसम्म धरान रंगशालामा हुने भएको छ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ। यस पटक एक विदेशी सहित आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक धरान फूटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए।
यस वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि विजेता चर्च ब्वाइज युनाइटेड सहित धरान फूटबल क्लब, थ्रीस्टार क्लब, एनआरटी क्लब, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फूटबल ट्रेनिङ सेन्टर, जिल्ला फूटबल संघ, मोरङ र भारतीय क्लब यूके एफसीले प्रतिस्पर्धा गर्नेछन्।
२०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता २०७७ र २०७८ सालमा रोकिएको थियो। २०७९ सालबाट पुनःसञ्चालन भइरहेको छ। प्रतियोगितालाई निरन्तरता दिन चुनौतीपूर्ण रहेको अध्यक्ष तामाङले बताए।
धरान उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा ७७ लाख ६० हजार रुपैयाँ आम्दानी हुने र ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। आर्थिक मन्दी र मदिराजन्य उत्पादनले प्रायोजन गर्न नपाउने सरकारको नीतिले प्रतियोगिता आयोजना गर्न समस्या परेको अध्यक्ष तामाङले बताए।
यस वर्ष पनि पुरस्कार राशि यथावत् छ। विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै, उत्कृष्ट खेलाडी एक लाख रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ७० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ, उत्कृष्ट गोलकीपरले २५ हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डरले २५ हजार रुपैयाँ, उत्कृष्ट मिडफील्डरले २५ हजार रुपैयाँ र उत्कृष्ट स्ट्राइकरले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।