कसरी जोगाउने खरमुजुर?
अतिक्रमण, खण्डीकरण, मिचाहा वनस्पति आदिका कारण वासस्थान संकुचन र विनाशको अवस्था भोगिरहेको खरमुजुर जोगाउन घाँसे मैदानको संरक्षण पहिलो शर्त हो।
विश्वमै अति संकटापन्न चरा प्रजाति हो, खरमुजुर। नेपाल, भारत, कम्बोडिया, भियतनाम लगायत केही देशमा मात्र पाइन्छ यो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले यसलाई गम्भीर खतरामा रहेको जनाउँदै रातो सूचीमा राखेको छ। नेपालमा पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले खरमुजुरलाई संरक्षित पन्छी उल्लेख गरेको छ।
खरमुजुरको वैज्ञानिक नाम ‘हौबरोप्सिस बंगालेन्सिस’ हो। घाँसे मैदान यसको उपयुक्त वासस्थान हो। काँस, सिरु, खरको छोटो घाँसे चौरमा लुकेर बस्न रुचाउँछ यो। भालेभन्दा पोथी ठूलो हुन्छ। भाले १.२ देखि १.५ किलोसम्मको हुन्छ भने पोथीको तौल १.७ देखि १.९ किलोसम्म हुन्छ। यसले एक चोटिमा एकदेखि दुई वटासम्म अन्डा पार्छ।
भालेको टाउकोदेखि छातीसम्म कालो हुन्छ। पोथी अलि फिक्का खैरो बलौटे रङको हुन्छ। भालेले प्रजनन समयमा पोथीलाई आकर्षित गर्न आफ्नो घाँटी र छातीको भुत्ला उठाउँदै नाच देखाउँछ। खरमुजुरका प्रमुख आहारा कीराफट्यांग्रा, उभयचर, दाना, बोटबिरुवाका टुसा आदि हुन्।
नेपालमा खरमुजुर चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइन्छ। यसको संख्या यहाँ १०० भन्दा पनि कम रहेको चराविज्ञहरूको आकलन छन्। अनुसन्धाता लक्ष्मणप्रसाद पौडेल, पारस सिंह र सुजन महर्जनको टोलीले सन् २००७ अप्रिल-मेमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा खरमुजुरबारे अध्ययन गरेको थियो। उक्त अध्ययन ‘स्टेटस एन्ड डिस्ट्रिब्यूसन अफ बंगाल फ्लोरिकन इन नेपाल, २००७’ का अनुसार ती निकुञ्जमा यस चराको संख्या सन् २००१ को तुलनामा ३० प्रतिशतले घटेको थियो।
सन् २०२० मा चराविज्ञ हेमसागर बराल सम्मिलित टोलीले गरेको अध्ययनमा कोशीटप्पु क्षेत्रमा ४१ वटा खरमुजुर देखिएका थिए। जसमा २९ वटा भाले र १२ वटा पोथी थिए। यसअघि सन् २०१२ मा त्यस क्षेत्रमा बृहत् सर्वेक्षण गरिंदा ४९ वटा खरमुजुर भेटिएका थिए। खस्किएको यो संख्याले यो चरा प्रजातिलाई विभिन्न खतरा रहेको जनाउँछ। चराविज्ञहरूका अनुसार कोशीटप्पु क्षेत्रका घाँसे चौर खरमुजुरका लागि निकै उपयुक्त वासस्थान हो। तर मानवीय अतिक्रमण, खण्डीकरण आदिका कारण घाँसे मैदानको विनाश र संकुचन हुनु, भएका घाँसे मैदानमा व्यवस्थापनको अनुपयुक्त तरीका अपनाइँदा वासस्थानको गुणस्तर खस्किनु खरमुजुरका लागि संकट हो।
खरमुजुरको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘बंगाल फ्लोरिकन कन्जर्भेशन एक्शन प्लान’ (सन् २०१६-२०२०) निर्देशिका जारी गरेको छ। खरमुजुरको वासस्थान पूर्ण रूपमा सुरक्षित गर्नु र यसको राष्ट्रिय स्थिति सुधारिएको सुनिश्चित गर्नु यस कार्ययोजनाको लक्ष्य छ।
घाँसे चौर खरमुजुरका लागि उपयुक्त वासस्थान हो। अन्डा पार्न होस् वा शिकारी जीवबाट आफूलाई बचाउन, यसले घाँसे चौरको प्रयोग गर्छ। अत: यस्ता घाँसे चौर जति व्यवस्थित हुन्छ, त्यसले यसको संख्या वृद्धि र विकासमा टेवा पुर्याउँछ। घाँसे चौर भएन भने यसले अन्डा पार्न वा बच्चा कोरल्न अर्कै ठाउँ जानुपर्ने हुन्छ, त्यहाँ अन्डाको राम्रो संरक्षण हुन नसक्नुका साथै शिकारी जीवबाट ज्यान नै जोखिममा पर्न सक्छ। मानवीय अतिक्रमण, खण्डीकरण आदिका कारण घाँसे मैदानको विनाश भइरहँदा यस्तो ठाउँमा मात्र पाइने खरमुजुर संकटमा पर्दै लोप हुन सक्ने जोखिम बढाएको छ।
खरमुजुर यदाकदा किसानको खेतबारीमा पनि भेटिएको छ। राम्रो घाँसे चौरको कमीका कारण यस्तो भएको हुन सक्छ। त्यसैले खरमुजुरको संरक्षण गर्ने र यसको संख्या बढाउने हो भने घाँसे चौर र मैदान जोगाउनु हाम्रो प्राथमिकता हुनुपर्छ। यसको वासस्थानका लागि निकै उपयुक्त मानिएको कोशीटप्पुको घाँसे चौरको संरक्षण र आवश्यक बजेट विनियोजन गर्न जरुरी छ।
अर्कातिर, खरमुजुरको वासस्थान मानवीय अतिक्रमणका साथै वनमारा जस्ता मिचाहा वनस्पतिले पनि संकुचन गरेका छन्। स्तनधारी प्राणी जस्तै स्याल, न्याउरीमुसा तथा कुकुर पनि यो चराका लागि संकट बनेका छन्। त्यसैले खरमुजुरलाई बचाउन समुदायमै संरक्षणको चेतना विकास गर्नुपर्छ। नेपाल र भारत सीमावर्ती क्षेत्रमा चरा आउजाउ गर्ने करिडोरको विकास गरिनुपर्छ। गाईबस्तु चरन क्षेत्रमा पनि यसको वासस्थान रहेको इलाकामा प्रजनन अवधिमा घाँसे मैदान जोगाउनुपर्छ।
विश्वमै अति संकटमा रहेको खरमुजुर जस्ता चरा नेपालका गहना हुन्। यस्ता दुर्लभ पन्छीको संरक्षणका कार्यक्रम अघि बढाउँदै संख्या बढाउन सके विश्वमाझ हामी एक उदाहरण बन्न सक्छौं। साथै, चरामा रुचि राख्ने अनुसन्धाता, वैज्ञानिक, विद्यार्थीलाई अध्ययन-अनुसन्धान र पर्यटकीय हिसाबले आकर्षण गर्न सक्छौं।
जीवविज्ञानका विद्यार्थी न्यौपानेले नेपालका उभयचर र सरीसृपबारे अध्ययन गर्दै आएका छन्।