लेखन एक मौन भाषा
नाटकमा मौन भाषा हुन्छ भने कथामा लेखिएको भाषा पछाडि मौन आवाज हुन्छ र म सुन्दर साहित्य लेख्छु भने यो मौन आवाज अभिव्यक्त हुनैपर्छ।
निम्न माध्यमिक तहमा पढ्दै गर्दा एक दिन शिक्षकले मलाई एउटा पाठ सस्वरवाचन गर्न लगाउनुभयो। मलाई एकाएक एकखालको डर लाग्यो। जुरुक्क उठें र कक्षाकोठा बाहिर कुदें। भाग्दै गर्दा कक्षाका अरू विद्यार्थी र शिक्षकका ठूल्ठूला आँखाले पछ्याइरहेको ख्याल गरेको थिएँ। पछि आफ्नो त्यो विचित्रको व्यवहारलाई पुष्टि गर्न ‘मलाई शौचालय जान हतार थियोे’ भनें। तर तिनको अनुहारको भावले मेरो कुरा कसैले पनि नपत्याएको प्रस्ट देखाउँथ्यो। उनीहरूले म पक्कै पनि पागल भएँ वा पागल हुनेछु भन्ठाने होलान्।
सस्वरवाचन गर्नुपर्दा एकाएक जाग्ने डरले मलाई पछिसम्म पछ्याइरह्यो। समय बित्दै जाँदा आफूलाई पढ्न डर लाग्नेबारे बताउन थालं। केहीले मेरो कुरामा विश्वास गरे र पढ्न लगाएनन्। कसैले भने बहाना बनाएको भन्ठाने।
यस अनुभवबाट मैले मानिसबारे केही महत्त्वपूर्ण कुरा सिकें। अरू पनि थुप्रै कुरा सिकें।
हो, केही यस्ता कुरा सिकें जसले मलाई यहाँ यसरी उभिएर तपाईंहरूमाझ बोल्न सक्ने बनाएको छ, त्यो पनि कुनै डर विना।
मैले के सिकें त?
एक हिसाबले डरले मबाटै मेरो भाषा खोसेको थियो। मैले त्यो फिर्ता ल्याउनु थियो र बोल्नु थियो। र त्यो मैले अरूले जसरी नभई आफ्नै तरीकाले गर्नुपर्ने थियो।
अनि मैले लेख्न थालें, छोटा कविता र कथाहरू।
मैले के थाहा पाएँ भने, लेखनले मलाई सुरक्षित भएको आभास दिंदो रहेछ। भयभन्दा विपरीत भावना जाग्दो रहेछ। एक हिसाबले मैले आफैंभित्र त्यस्तो ठाउँ पाएँ, जो केवल मेरो थियो। जहाँबाट म आफ्ना कुरा लेख्न सक्थें।
अहिले, त्यसको ५० वर्षपछि पनि म आफूभित्र रहेको त्यही गोप्य ठाउँबाट लेख्छु। यो त्यस्तो ठाउँ हो जसबारे मलाई पनि त्यसको अस्तित्व छ भन्ने बाहेक अरू केही थाहा छैन।
नर्वेली कवि ओलभ एच. हगले एउटा कवितामा लेखन प्रक्रियालाई केटाकेटी हुनुको अनुभूतिसँग तुलना गरेका छन्। शरद्का साँझहरूमा जंगलको बीचमा पातको झुप्रो बनाएर, त्यसमा घुस्रिएर, मैनबत्ती बालेर बस्ने र सुरक्षित महसूस गर्ने खेलसँग दाँजेका छन्। मलाई लाग्छ- लेखनको मेरो अनुभूतिको सबैभन्दा राम्रो चित्रण यही हो।
मलाई सधैं लाग्छ, लेखनले जिन्दगी जोगाउँछ। शायद मेरो आफ्नै जीवन पनि यसैले जोगाएको छ। र मेरो लेखनले अरू कसैको जीवन जोगाउँछ भने त्योभन्दा खुशी अरू केहीले दिंदैन।
मैले अरू पनि सिकें।
मैले के सिकें भने, बोल्ने र लेख्ने (साहित्यिक) भाषाबीच ठूलो फरक छ, कम्तीमा मेरा लागि। बोलिने भाषा प्रायजसो एकोहोरो हुन्छ, यस्तो वा त्यस्तो हुनुपर्छ भन्ने खालको। बोलिने भाषा पूर्वविश्वास वा मान्यताहरू भरिएका संवाद जस्ता हुन्छन्।
साहित्यिक भाषा त्यस्तो कहिल्यै हुँदैन। यसले सूचित गर्दैन। यो सञ्चारभन्दा पनि आफैंमा अर्थ हो। यसको बेग्लै अस्तित्व हुन्छ।
यस अर्थमा, कुशल लेखन र सबै प्रकारका प्रचारबाजी एकअर्कासँग बाझिन्छन्, चाहे त्यो प्रचारबाजी धार्मिक होस् वा राजनीतिक वा अरू जेसुकै।
सस्वरवाचनको भयदेखि म एक्लोपनमा प्रवेश गरें। लेख्ने सबैजसो मान्छेको जीवन धेरथोर यस्तै हुन्छ। र त्यो एक्लोपनमा म अहिले पनि छु।
मैले निकै रुचिका साथ कथा र नाटक लेखेको छु।
पक्कै पनि नाटकमा लेख्य भाषाकै प्रयोग हुन्छ। संवाद होस् वा एकालाप, त्यहाँ एउटा काल्पनिक ब्रह्माण्ड हुन्छ। यो त्यस्तो चीजको अंश हो जसले सूचित गर्दैन तर यसको आफ्नै अस्तित्व हुन्छ।
कथाको सन्दर्भमा, मिखाइल बाख्तिनले यसलाई अभिव्यक्तिको माध्यम भनेका छन्। उनले ठीकै भने। यसभित्र पनि दुई वटा आवाज हुन्छन्। एउटा, बोल्ने वा लेख्ने मानिसको आवाज र अर्को जसबारे कुरा गरिएको छ, त्यो मानिसको आवाज। यी दुई आवाज यसरी खप्टिएका हुन्छन्, कुन आवाज कसको हो भन्नै असम्भव हुन्छ।
यो दोहोरो लेख्य भाषा बन्न पुग्छ। जुन लेखिएको ब्रह्माण्ड र त्यसभित्रको हिस्सा बन्न पुग्छ।
मैले लेखेका हरेक साहित्यको आफ्नै दुनियाँ छ, आख्यानको दुनियाँ। त्यो संसार हरेक नाटक, हरेक उपन्यासका लागि नयाँ हुन्छ।
मैले कविता पनि निकै लेखेको छु। त्यसैले यसबारे पनि कुरा गर्नुपर्छ। एउटा सुन्दर कविताको पनि आफ्नै ब्रह्माण्ड हुन्छ। यो धेरै हदसम्म आफैंसँग सम्बन्धित हुन्छ। र कविता पढ्ने जोकोही कविताको ब्रह्माण्डमा प्रवेश गर्छ। उसका निम्ति कविता सञ्चारभन्दा पनि बढी संलग्नता बन्न पुग्छ।
मैले लेखेका हरेक थोकमा सम्भवतः यी सबै लागू हुन्छन्।
एउटा कुरा चाहिं पक्का हो, धेरैले भन्ने गरे जस्तो आफूलाई अभिव्यक्त गर्न लेख्दिनँ म। बरु आफैंबाट भाग्न लेख्छु।
त्यसैले म नाटककार बन्न पुगें।
मैले उपन्यासहरू लेखें। कविता लेखें। मलाई खासमा थिएटरका लागि लेख्ने कुनै रहर थिएन। तर मैले लेखें। किनभने मलाई नाटकको आरम्भ दृश्यका लागि राम्रो पैसाको प्रस्ताव गरिएको थियो। एउटा गरीब लेखकका लागि राम्रो प्रस्ताव थियो। मैले सिंगो नाटक नै लेखें। त्यो मेरो पहिलो र अत्यधिक मञ्चन गरिएको नाटक थियो, समवन इज गोइङ टु कम।
त्यो नाटक लेखन मेरो लेखकीय जीवनमै ठूलो आश्चर्य बन्न पुग्यो। किनभने कथा र कवितामा मैले सधैं बोलिने भाषामा जे लेख्न खोजेको थिएँ, त्यो शब्दमा भन्नै सकिंदैनथ्यो। म शब्दमा व्यक्त गर्नै नसकिने विषय लेख्ने प्रयास गरिरहेको थिएँ। र त्यसैका लागि मलाई नोबेल पुरस्कार दिइएको छ।
ज्याक डेरिडाको प्रसिद्ध भनाइ थोरै बंग्याएर भन्ने हो भने जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा भन्न सकिंदैन, केवल लेख्न सकिन्छ। त्यसैले मैले मौनतालाई शब्द दिने प्रयास गरें।
नाटक लेखिरहँदा म मौन भाषा र मौन मानिसहरू प्रयोग गर्न सक्छु। कथा र कविता लेख्दाभन्दा भिन्नै तरीका छ यसको। मैले गर्नुपर्ने एउटै काम हो, ‘विश्राम’ (पज) शब्द लेख्नुपर्छ र त्यहाँ स्वतः मौनता आउँछ। र कुनै शंका छैन, मेरा नाटकहरूमा सबैभन्दा महत्त्वका साथ प्रयोग भएको शब्द नै विश्राम हो– लामो विश्राम, छोटो विश्राम वा केवल विश्राम।
यी विश्राममा भन्न नसकिने, भन्न नचाहेको वा नभन्दा नै उचित हुने कुरा धेरथोर मात्रामा आइरहेको हुन्छ। म केमा विश्वस्त छु भने विश्राम मार्फत सबैभन्दा गजबसँग भनिने चीज नै मौनता हो।
नाटकमा विश्रामले गर्ने काम मेरा कथाहरूमा भने पुनरावृत्तिले गर्छन्। शायद म यसरी सोच्ने गर्छु, नाटकमा मौन भाषा हुन्छ भने कथामा लेखिएको भाषा पछाडि मौन आवाज हुन्छ। र म सुन्दर साहित्य लेख्छु भने यो मौन आवाज अभिव्यक्त हुनैपर्छ। आफ्नै सेप्टोलोजी (उपन्यास)बाट एउटा उदाहरण दिन्छु। त्यहाँ के भनिएको छ भने, पहिलो आस्ल र अर्को आस्ल शायद एउटै व्यक्ति हुन सक्छन्। र त्यो १२०० पृष्ठको लामो उपन्यासमा सम्भवतः यो मात्रै लिखित अभिव्यक्ति हो।
तर मौन सम्बोधन वा मौन भाषा समग्र कृतिबाट भने बोल्नैपर्छ। नाटक होस् वा उपन्यास यी अंशहरू आफैंमा महत्त्वपूर्ण छैनन्। महत्त्वपूर्ण त समग्रता हो जुन हरेक वर्णनमा हुनैपर्छ। अथवा यसो भनौं, मौन भाषा नै समग्रताको आत्मा हो जुन कहिले नजिक त कहिले टाढाबाट बोल्छ।
नजिकबाट सुन्दा तपाईंले के सुन्नुहुन्छ त?
तपाईंले सन्नाटा सुुन्नुहुन्छ।
र के भनिन्छ भने, सन्नाटामा नै ईश्वरको आवाज सुन्न सकिन्छ।
हुन सक्छ।
अब हाम्रै संसारतिर फर्कौं, थिएटरका लागि लेख्दा मैले के पाएँ भन्ने बताउँछु। अघि मैले भनें, लेखन एक्लै गरिने काम हो। ओलभ एच. हजकै अर्को कविताको पंक्ति सापटी लिएर भन्दा फेरि अरूमाझ फर्कने विकल्प रहँदासम्म एक्लोपन ठीक छ।
जब मैले आफूले लेखेका वाक्यहरू मञ्चमा प्रदर्शन गरेको देखें, म मन्त्रमुग्ध भएँ। त्यो एक्लोपनको विपरीत थियो। यो त एक खालको जमघट थियो। विभिन्न कला जोडेर नयाँ कलाको सिर्जना थियो। त्यसले मलाई आनन्द र सुरक्षाको भाव दिलायो।
यो अन्तर्बोधले मलाई पछ्याइरह्यो। आफू लिखित नाटकहरूमा आफैंले भूमिका निर्वाह गरेको थिएँ भनेर मान्न थालें। कतिसम्म भने, आफ्ना नाटकहरूको खराब प्रदर्शन हुँदा पनि मैले एक प्रकारको आनन्दाभूति गरिरहें।
थिएटर वास्तवमै सबैभन्दा बृहत्तर रूपमा श्रवण अभ्यास गरिने ठाउँ हो। निर्देशकले नाटक सुन्नैपर्छ। कलाकारहरूले आपसमा सुन्ने, कलाकारलाई निर्देशकले, निर्देशकलाई कलाकारले सुन्ने र दर्शकले सिंगो प्रस्तुति सुन्ने प्रक्रिया रंगमञ्चमा हुन्छ।
मेरा लागि लेख्नु नै सुन्नु हो। म लेख्न बस्दा कुनै तयारी गर्दिनँ। कुनै योजना बनाउँदिनँ। म सुनेरै अघि बढ्छु।
मैले यो सुन्ने कलाका निम्ति कुनै रूपक प्रयोग गर्नुपर्छ।
त्यसैले लेखनले संगीतको सम्झना गराउँछ। र एउटा निश्चित समयसम्म, खासगरी किशोरावस्थामा म लेख्ने वेला संगीतमा झुम्थें। पछि आफैंले कुनै बाजा बजाउन वा संगीत सुन्न पूरै छोडिदिएँ। र लेखिरहँदा संगीत श्रवणबाट हुने अनुभूति सिर्जना गर्न प्रयास गरें। त्यति वेलादेखि अहिलेसम्म म त्यही गर्दै आएको छु।
लेखनका क्रममा हुने अर्को अनौठो अनुभव पनि छ। लेखिरहँदा एउटा बिन्दुमा पुगेपछि मलाई लाग्छ, यो त अन्त कतै लेखिइसकेको छ। मभित्र होइन, अन्त कतै। ती अक्षर हराउनुअघि नै मैले लेखिसक्नुपर्नेछ।
त्यस्तो अनुभूति भएको समय म कुनै फेरबदल नगरी लेख्न सक्छु। अरू वेला भने लेखिरहेको समयमा पनि पुनर्लेखन गरिरहन्छु। पटक पटक लेख्दै, केर्दै, सम्पादन गर्दै बडो होशियारीपूर्वक म पहिले नै लेखिइसकेका वाक्यहरू उधिन्छु।
म खासमा थिएटरका लागि लेख्न चाहँदैनथें तर १५ वर्षसम्म त्यही काम गरें। र मैले लेखेका नाटकहरू समयक्रममा विभिन्न देशमा मञ्चन भएका छन्।
अहिले पनि मलाई विश्वास लागिरहेको छैन।
जिन्दगी साँच्चै अविश्वसनीय छ।
जस्तो- अहिले म यहाँ लेखनबारे केही कुरा भन्न उभिएको छु, त्यो पनि साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित भएर भन्ने विश्वास नै भइरहेको छैन।
मैले बुझेसम्म मेरा नाटक र कथा दुवैका लागि यो पुरस्कार दिइएको हो।
मेरा शुरूआती किताबहरूको खासै गतिलो समीक्षा भएन। तर मैले आलोचकहरूको टिप्पणी नसुन्ने निधो गरें। मैले आफैंलाई विश्वास गरें र लेखनमा लागिरहें। मैले त्यसो नगरेको भए ४० वर्षअघि पहिलो उपन्यास रउट, स्भार्ट (रातो, कालो) आएपछि लेख्न छोडिसकेको हुन्थें।
थुप्रै वर्ष नाटक मात्रै लेखेपछि मलाई एकाएक लाग्यो, यो त अति भयो। अति नै भयो। अनि मैले नाटक नलेख्ने निधो गरें। तर लेखन त लत भइसकेको थियो। म नलेखी बस्न सक्दिनथें। यसलाई तपाईं एक प्रकारको रोग नै भन्न सक्नुहुन्छ। त्यसैले मैले लेखनमा फर्कने सोचें। मैले कथा र अरू खालका साहित्य लेख्ने सोचें। नाटककार हुनुभन्दा कम्तीमा एक दशकअघिकै लेखनमा फर्किएँ म।
पछिल्लो १०/१५ वर्ष म त्यही गरिरहेछु। फेरि कथा लेख्न शुुरू गर्नुअघि साँच्चै सक्छु जस्तो लागेकै थिएन। मैले शुुरूमा ट्रिलोजी (उपन्यास) लेखें। यो उपन्यासले ‘नर्डिक काउन्सिल साहित्य पुरस्कार’ पाएपछि मलाई लाग्यो, म कथा पनि राम्रै लेख्न सक्छु।
त्यसपछि मैले सेप्टोलोजी लेखें। यो उपन्यास लेखिरहँदा एक लेखकका रूपमा मैले धेरै ठाउँमा आनन्दको अनुभूति गरें। जस्तै- एउटा आस्लले अर्को आस्ललाई हिउँमा पल्टिरहेको देखेर बचाउँदा। वा, उपन्यासको अन्त्यमा जब पहिलो आस्ल (मूल पात्र) आफ्नो एक मात्र अनि घनिष्ठ साथी आस्लिेइक र उसकी बहिनीसँग क्रिसमस मनाउन माछा मार्ने पुरानो डुंगा चढेर जाँदा।
खासमा लामो उपन्यास लेख्ने मेरो कुनै योजना थिएन। तर उपन्यास आफैंले लेख्यो। र यो लामो उपन्यास बन्न पुग्यो। यसका कति हिस्सा त मैले सरसर्ती एक बसाइमै लेखेको हुँ। र यो लेखिरहँदा मैले आनन्द अनूभूति गरिरहें।
मेरा अरू सिर्जनाभन्दा फरक सेप्टोलोजीमा प्रशस्त स्मृति छन्, जसलाई फरक तरीकाले हेरिएको छ। सिंगो उपन्यास एउटै वाक्यमा लेख्नु कुनै नयाँ आविष्कार होइन। मैले केवल एउटा यस्तो बहाव र गतिमा उपन्यास लेखें, जसलाई पूर्णविराम आवश्यक नै थिएन।
एउटा अन्तर्वार्तामा मैले भनेको थिएँ, लेखन एक प्रकारको प्रार्थना हो। प्रिन्टमा आफ्नै भनाइ देख्दा शुुरूमा त मलाई लाज लाग्यो। पछि मैले पढें, फ्रान्ज काफ्काले पनि त्यस्तै भनेका रहेछन्। शायद यस्तै हुन सक्छ।
मेरा शुरूआती किताबहरूको खासै गतिलो समीक्षा भएन। तर मैले आलोचकको टिप्पणी नसुन्ने निधो गरें। मैले आफैंलाई विश्वास गरें र लेखनमा लागिरहें। मैले त्यसो नगरेको भए ४० वर्षअघि पहिलो उपन्यास रउट, स्भार्ट (रातो, कालो) आएपछि लेख्न छोडिसकेको हुन्थें।
पछि मैले राम्रा समीक्षा पाउन थालें। पुरस्कार पनि पाउन थालेँ। त्यसपछि मलाई लाग्यो- निरन्तरता सबैभन्दा महत्त्वपूर्ण हो। म खराब समीक्षा सुन्दिनँ भने सफलताले पनि मलाई प्रभाव पार्नु हुँदैन। म आफ्नो लेखनमा अडिनैपर्छ र आफूले गरेको सिर्जनामा पनि।
मलाई लाग्छ- मैले त्यही गरें। नोबेल पुरस्कार ग्रहण गरेपछि पनि म त्यही गर्नेछु।
मलाई नोबेल पुरस्कारबाट सम्मान गर्ने घोषणा भएपछि थुप्रै इमेल र बधाई पाएँ। पक्कै पनि यी सबैले मलाई खुशी बनाए। धेरैजसो बधाई साधारण थिए। तर केहीले उल्लासपूर्ण बधाई दिएका थिए। कतिले त आँसु नै आउने गरी भावुक बनाइदिएका थिए। तिनले मेरो मन छोए।
मेरो लेखनमा प्रायः आत्महत्याको प्रसंग आइरहेको हुन्छ। कहिलेकाहीं कतै मैले आत्महत्यालाई वैधता त दिइरहेको छैन भनेर डर पनि लाग्छ। र जब मानिसले मेरो लेखनले आफ्नो जीवन जोगायो भनेर लेख्छन्, मलाई साँच्चै छुन्छ। मलाई सधैं लाग्छ, लेखनले जिन्दगी जोगाउँछ। शायद मेरो आफ्नै जीवन पनि यसैले जोगाएको छ। र मेरो लेखनले अरू कसैको जीवन जोगाउँछ भने त्योभन्दा खुशी अरू केहीले दिंदैन।
मलाई साहित्यतर्फको नोबल पुरस्कारबाट सम्मानित गर्नुभएकोमा स्वीश एकेडेमीलाई धन्यवाद। र धन्यवाद ईश्वर।
(यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार विजेता युन फस्सको नोबेल पुरस्कार मन्तव्य नोबेल पुरस्कारको वेबसाइटबाट लिइएको हो। अनुवाद: लक्ष्मण श्रेष्ठ।)