बीपीको विचारमा राजा महेन्द्र र वीरेन्द्रको कुठाराघात!
जनताका सुखदुःख मुलुकको कार्यकारी/निर्वाचित प्रधानमन्त्रीले हेर्छ, दोष पाए उसैले पाउँछ, राजा त खोपीका देउता भएर बस्ने हो भन्नेमा बीपी प्रस्ट थिए। तर उनको यस्तो विचारलाई राजा महेन्द्र र वीरेन्द्रले कुठाराघात गरे।
बीपी कोइरालाले सुन्दरीजल सैनिक कारागारमा रहँदा लेखेको डायरी हो, हालै प्रकाशित जेल डायरी। २०१५ फागुनमा भएको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ मत पाएको थियो। कांग्रेसले संसदीय दलको नेता चुनेपछि २०१६ जेठ १३ गते राजा महेन्द्रले मन लागीनलागी बीपीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। राजाले सैनिक ‘कू’ गरेर जेल नहालुन्जेल उनी मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री थिए। २०१७ पुस १ गते हुस्सुले डम्म ढाकेको काठमाडौं उघ्रेर न्यानो बन्न नपाउँदै राजाले सत्तापलट गरी उनी सहित मन्त्रिपरिषद्का सदस्यहरूलाई जेल हालेका थिए।
मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको, भ्रष्टाचारलाई प्रश्रय दिएको र देशको सार्वभौमिकता विदेशीलाई सुम्पेको जस्ता आरोप लगाएर राजा महेन्द्रले बीपीलाई बन्दी बनाएका थिए। सैनिक कारागारमा थुनिएपछि बीपीसँग लेख्नु, पढ्नुको विकल्प थिएन। जेलभित्र उनले २०१८ पुस १८ (१ जनवरी १९६२) देखि २०२५ कात्तिक १५ (३१ अक्टोबर १९६८) सम्म लेखेको डायरीले बीपीको बृहत् आयाम देखाउँछ। साथै, उनले कारागारमै दर्जन हाराहारी साहित्यिक कृति रचना गरे।
प्रजातन्त्रप्रति अगाध आस्था भएका दूरदर्शी, सहनशील र उच्च कोटिका नेता थिए बीपी। मोहनशमशेरको पारिवारिक शासन ढाल्न २९ दिन आमरण अनशन बसेका बीपीले उपयुक्त ठहर गरेको बहुदलीय संसदीय लोकतान्त्रिक पद्धतिमा नै आज मुलुक चलिरहेको छ। उत्तरपन्थी हुन् कि दक्षिणपन्थी, पूर्वीया हुन् कि पश्चिमा, कम्युनिस्ट हुन् कि राजावादी सबैले आज बीपीकै विचार ठीक भन्दै छन्।
यति वेला कांग्रेस र कम्युनिस्टहरूलाई लोकतान्त्रिक संसदीय व्यवस्था चाहिएको छ, अझ उनीहरूले थप क्रान्ति गरेर त्यसमा संघीय गणतन्त्र पनि थपेका छन्। उता, हिजोका राजावादीहरू १५ वर्षअघि गद्दीबाट हटाइएका राजा फर्काउन जोडबल लगाइरहेका छन्। उनीहरू बीपीकै सिद्धान्तको सहारा खोज्दै छन्। उवेला ‘भारतीय दलाल’, ‘अ.त. (अराष्ट्रिय तत्त्व)’ को संज्ञा पाएका बीपी आज सान्दर्भिक भएका छन्। निधन भएको ४० वर्षपछि पनि उनी सबैका साझा नेता बनेका छन्।
राजतन्त्र अन्त्य भएको १५ वर्षपछि अहिले राजा फर्काउने अभियानमा केही मानिस लागिरहेका छन्। भवानी भिक्षुले ८३ वर्षअघि लेखेको ‘त्यो फेरि फर्कला?’ कथाकी सानीको मनोदशा र अहिले राजा फर्काउन मरिहत्ते गरिरहेकाहरूको मनोभाव उस्तै लाग्छ। अनि सोध्न मन लाग्छ, ‘के जनक्रान्ति थेग्न नसकी स्वेच्छाले राजगद्दी त्यागेका राजा फेरि नारायणहिटी फर्केलान्?’ मलाई लाग्छ, पटक पटक लोकतन्त्र मास्ने र वैयक्तिक स्वतन्त्रता हरण गर्ने राजतन्त्रलाई नयाँ पुस्ताले आन्दोलन गरेर फर्काउनेछैन।
तानाशाहदेखि जीवन–जगत्सम्मको चर्चा
बीपी के थिए, राजावादी कि मार्क्सवादी? बीपी न राजावादी थिए न मार्क्सवादी। राजनीतिमा उनी प्रजातान्त्रिक समाजवादी थिए। साहित्यमा उनकै भाषामा अराजकतावादी। बीपीलाई राजावादी मान्ने हो भने, कुन अर्थमा राजावादी थिए भने, उनी त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र जस्ता सक्रिय राजतन्त्र होइन, कहिल्यै गल्ती नगर्ने बेलायतको जस्तो संवैधानिक राजतन्त्र चाहन्थे। उनी स्पष्ट थिए- जनताका सुखदुःख मुलुकको कार्यकारी/निर्वाचित प्रधानमन्त्रीले हेर्छ, दोष पाए उसैले पाउँछ, राजा त खोपीका देउता भएर बस्ने हो। उनको यस्तो विचारलाई राजा महेन्द्र र वीरेन्द्रले कुठाराघात गरे।
त्यसैले गणतन्त्रको आधार महेन्द्रले २०१७ साल पुस १ गते नै बनाइसकेका थिए, २०६५ जेठ १५ गते त नेपाली नागरिकले त्यसलाई हिम्मतसाथ कार्यान्वयन गरेका हुन्। जेल डायरीमा बीपीले सक्रिय लेनिनको भनाइ उद्धृत गर्दै राजतन्त्रलाई तानाशाहीको संज्ञा दिएका छन्, ‘तानाशाही सत्ता त्यो हो जसले बलपूर्वक असीमित शक्ति सञ्चयन गरेको हुन्छ र जसलाई कुनै चिजले वा कुनै कानूनले नियन्त्रित गर्दैन। यसको उदाहरण आजको नेपालका राजा हुन्।’ (पृष्ठ २३, २०१९ वैशाख ४)
डायरीमा बीपीले महेन्द्रलाई मात्र होइन पृथ्वीनारायण शाहलाई समेत कडा टिप्पणी गरेका छन्। ‘महेन्द्र फेरि एक पटक पृथ्वीनारायण शाह बनेका छन्- रैथाने शासक नभएर एउटा बाहिरी आक्रमणकर्ता।’ (पृष्ठ २४१, २०२३ माघ ७)
बिदा भइसकेको राजतन्त्र फर्काउने स्वर उठिरहेका वेला ‘राजा आऊ, देश बचाऊ’ भन्दै कुदिरहेकाहरूलाई सोध्न चाहन्छु- किन फर्काउने राजतन्त्र? कसलाई राजा बनाउन फर्काउने?
उनीहरूको आरोप छ- राजा नभएर राष्ट्रियता कमजोर भयो रे! देश नै नरहने भयो रे! एक जना राजा भए पुग्नेमा धेरै राजा भए रे! भ्रष्टाचार बढ्यो रे! राजावादीहरू गणतन्त्र पक्षधरलाई यस्तै आरोप लगाएर ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउन चाहन्छन्। ज्ञानेन्द्र पनि यिनले राजगद्दीमा विराजमान गराइदिन्छन् भनेर झापातिर झरेका हुन् भने गणतान्त्रिक सरकारले उनलाई भन्नुपर्यो, ‘राजा हुन चाहेको भए गणतन्त्र छ, मिल्दैन। आफूलाई नियन्त्रणमा राख्नुस्। दल खोलेर चुनाव उठ्ने इच्छा हो भने स्वागत छ।’ किनकि आमनेपाली नागरिक सरह नै ज्ञानेन्द्रले पनि दल खोल्न वा पुरानै दलहरूबाट चुनाव उठ्न पाउँछन्।
कसलाई चाहिएको छ राजतन्त्र? हिजो त्यही संस्थाको वरिपरि रहेर हुर्केबढेका, बाबुआमासित दरबारमा टीका थाप्नेहरूलाई चाहिएको होला। आजका तन्नेरी पुस्ता राजाको जेठो छोरा राजा हुने (छोरी पनि होइन) परम्परामा टिकेको राजतन्त्र किमार्थ चाहँदैन। किनकि व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्र अपरिहार्य छ भन्नेमा युवा पुस्ता सचेत देखिन्छ। सबैसित औंला ठड्याएर प्रश्न गर्ने तन्नेरी पुस्ता प्रश्न सोध्न त के बोल्न पनि नपाउने राजतन्त्रको पक्षमा छ भनेर कल्पना समेत गर्न सकिंदैन।
‘अहिले धेरै जना राजा भए’ भन्ने टिप्पणी लोकतान्त्रिक शासन व्यवस्था र संरचना नरुचाउनेहरूको फोस्रो आरोप मात्र हो। यहाँ राजाहरू छैनन्, जनताका प्रतिनिधि मात्र छन्। लोकतान्त्रिक प्रणालीमा यसै अनुसार खडा भएका संस्था र संरचनाहरू हुन्छन्। आवधिक चुनावबाट सरकार बन्छ। पाँच वर्षका लागि संसद्बाट चुनिएका राष्ट्रपति छन्। मधेशबाट एक जना यादवको छोरो र भोजपुरमा जन्मेकी महिला (विद्या भण्डारी) राष्ट्रप्रमुख बन्न सक्नु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकै देन हो। हो, अहिले विकृति र समस्या नदेखिएको होइन। भ्रष्टहरू छन् भने तिनलाई कानूनले पाता कस्ने हो, गणतन्त्र नै उल्टाएर राजतन्त्र ब्युँताउने होइन। राजतन्त्र विना नेपाल रहँदैन भन्नेहरूले बुझून्, के अहिले नेपाल भन्ने देश छैन? राजा नभए पनि देश हामीसितै छ, रहिरहन्छ।
बीपीको जेल डायरीमा तानाशाहबारे टिप्पणी मात्र छैन, जीवन र जगत्का कुरा पनि छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यको विमर्श छ। ज्ञानविज्ञान र आविष्कारका चर्चा छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र युद्धका विषय छन्। मुलुकको राजनीतिको रौंचिरा केलाइएको छ। उनको जीवनमा सम्पर्कमा आएका पात्रहरूबारे बुझाइ छ। आँसु, भावना र खुशीका कुरा छन्। धर्म र पाप, युद्ध र शान्ति, नैतिकता र अनैतिकता, सत् अनि असत्माथि उनका तर्क र विश्लेषण छन्।
जेल बसाइका अध्ययन र लेखन
बीपीको कारागार जीवन निकै सिर्जनशील देखिन्छ। उनले विलियम हेनरी ओगिलवाईलाई पढे र पढ्नुपर्ने पुस्तकहरूको सूची बनाए। २०१८ पुस १९ गतेको डायरीमा लुज–विन, थ्री प्लेज, इन्टिमेसी, फिलिप थोडी लिखित सार्त्र, इन्काउन्टर म्यागेजिनका विविध अंक, रवीन्द्रनाथ टेगोरका कथा र कविता, रोबर्ट ब्राउनिङ र क्रिस्टिना रोसेटीका कविता, अंग्रेजी र हिन्दीका ५०/५० वटा नयाँ शब्द सिक्ने, महाभारत र पञ्चतन्त्रका पचास श्लोक पढ्ने लेखेका छन्। दुई सातामा दुई कथा लेख्ने र समाजवादबारे लेख्ने भनी दिनचर्या तय गरेका उनले त्यसको भोलिपल्टै सार्त्रको नौजियाको सय पृष्ठ पढे, दाँतेको द ब्लेस्ड डेमोजेल र रमेशका पनि केही कथा पढे।
निकोलाई गोगोलको डेड सोल्स, ट्रूमेन केपोटको इन कोल्ड ब्लड पढे। कृष्णचन्दरको एक भायलिन समन्दर के किनारे, इभान तुर्गनेभको फादर एन्ड सन्स, सन्त अगस्टाइनको सिटी अफ गड, इडवार्ड लुट्वाकको कू डे इटा, गुन्नर मिर्डालको एशियन ड्रामाः एन इन्क्वाइरी इन्टु पोभर्टी अफ नेशन्स, रेइसमेनको लोन्ली क्राउड, अयुब खानको फ्रेन्डस् नट मास्टर्स पढे। यस्तै, लीलाध्वज थापाको मन, शरतचन्द्र चट्टोपाध्यायको श्रीकान्त, निर्मल बर्माको वे दिन, मोहन राकेशको बन्द अन्धेरे कमरे, अर्नेस्ट हेमिङ्वेको द ओल्ड म्यान एन्ड द सी, बोफुनको ग्रेट कोलिजन थ्योरी, लेप्लेसको नेबुला हाइपोथेसिस, पर्ल एस. बकको द लिभिङ रीड, इभान फ्लेमिङको वी डाई वन्ली ट्वाइस, फणीश्वरनाथ रेणुको मैला आँचल, डेग हम्मरशोल्डको मार्किङ्स र डा. भिक्टर फ्रेन्केलका द डाक्टर एन्ड द सोलः फ्रम लोगोथेरापी टु साइकोथेरापी, म्यान्स सर्च फर मिनिङ, साइकोथेरापी एन्ड एक्जिस्टेन्सियलिज्म छिचोले।
यति मात्र होइन, बीपीले रोबर्ट ब्राउनिङको रब्बी बेन एज्रा, ज्याँ पाल सार्त्रका नाटक क्राइम प्यासनल, मेन विदाउट स्याडोज, रेस्पेक्टफुल प्रोस्टिच्यूट, अन्तोन चेखवको थ्री सिस्टर्स, स्टेफेन स्पेन्डरको द प्रिजनर्सका साथै कृष्णप्रसाद भट्टराई र रामनारायण मिश्रले मन पराएको ज्ञानेश्वरी गीता पनि पढे।
यसका साथै उनले जेल बसाइमा एडविन मुयर, जर्ज क्रिस्टोफ लिचेन्वर्ग, जर्ज अर्वेल, लियो ई रोज र भुवनलाल जोशीका पुस्तक, एन्टोइन डी सेन्ट–एक्जुपेरी, समरसेट मम, ई. ई. कमिङ्स र डब्लू बी. यीट्स, स्टेफेन ज्वेइङ, इमिली डिकिन्सन, डब्लू एच अडेन, अल्वेयर कामु, रोबर्ट फ्रस्ट, ओस्कार वाइल्ड, इडिथ सिट्वेल, जोन किट्स, टीएस इलियट, टोमस ई. मेन, लाइमन अब्बोट, थोमस बेनर, बी. डी. ओल्फ, लेनिन, डिएच लरेन्स, रसेल, भ्लादिमिर डुडिन्टसेभ, हर्मन वौक, भगवती बर्मा, तेइलहार्ड डी वार्डिन, डार्विन, बर्गशो लगायत धेरैलाई पढेछन्। पढेका कृतिहरूबारे संक्षेपमा डायरीमा लेखेका पनि छन्।
बीपीले लेख्छु भनेर तय गरेको लामो सूची डायरीमा देखिन्छ। तर ती सबै विषयमा लेख्न भ्याएनछन्। पत्नी सुशीला जेलमा भेट्न जाँदा उनलाई धेरै उदास नबन्न र त्यहाँबाट केही लिएर बाहिर आउन भनेकी रहिछन्। सुशीलाले भने जस्तै उनी कारागारबाट निस्किँदा सुम्निमा, हिटलर र यहुदी, बाबु, आमा र छोरा, तीन घुम्ती र नरेन्द्र दाइ जस्ता कृति लिएर बाहिरिए।
उनले बन्दीगृहमा रहँदा लेख्न भनेर छनोट गरेका शीर्षकहरू– १९५० को आन्दोलन-शाह, नेपालको इतिहास, समाजवाद-शैलजा, उपन्यास-सुशीला, विज्ञानमाथि पुस्तक- प्रकाश, कला-श्रीहर्ष, परीकथा- शशांक र बैनी, साहित्य-कुन्दन, विश्वको इतिहास, आत्मकथा भने अपूरै रहे। बीपी जेलमा छउन्जेल सिर्जनशील जीवन व्यतीत गरे, समय कत्ति पनि खेर फालेनन्। उनले जेल बसाइमा पढ्ने र साहित्यिक कृति पनि लेख्ने काम त गरे नै, साथै आफूसित सम्पर्कमा आएका तथा जेलमा सँगै बसेका साथीहरूको आनीबानी/प्रवृत्ति र आफ्नै बारेमा पनि लेखेका छन्।
पात्र र प्रवृत्तिबारे
बीपीले रमेशनाथ पाण्डेका बारेमा लेखेका छन्, ‘के म रमेशलाई विश्वास गर्न सक्छु? उसका कदम मेरो नजरमा सधै युक्तिसंगत लाग्दैनन्। उदाहरणका लागि ऊ यति बाक्लो गरी भारत किन जान्छ? त्यो मैले बुझेको छैन। पछिल्लो सप्ताहान्तमा पनि ऊ पटना पुगेको थियो। शायद सुशीलाको चिठीबाट जयप्रकाशले हाम्रो रिहाइका बारेमा राजासँग गम्भीर वार्ता गर्दै हुनुहुन्छ भन्ने थाहा पाएर ऊ त्यता गएको हो। यसरी यात्राका लागि खर्च उसले कताबाट जुटाउँछ? के ऊ राजाको एजेन्ट हो? होला- अवचेतन रूपमा। ऊसँगको विश्वासका सन्दर्भमा मभित्र ठूलो आत्मद्वन्द्व छ।’ (पृष्ठ १८५, २०२२ पुस २८)
रमेशनाथबारेको उनको बुझाइ २०२२ साउन ३ गतेको डायरीले अझ प्रस्ट्याउँछ, ‘रमेशले मसँग सम्पर्क नगर्ने निधो गरेछ। मलाई खुशी नै लाग्यो। पछिल्लो समय उसको राजनीति गर्ने तरीका मलाई मन परिरहेको पनि थिएन। सीआईएसँगको उसको निर्लज्ज साँठगाँठ गलत राजनीतिको उदाहरण हो। ऊसँगको अस्वस्थ सम्बन्धबाट मुक्ति पाउँदा म खुशी छु। ऊ दरबारको सक्रिय दलाल पनि हुन सक्छ। ऊ यति चतुर छ कि उसमाथि भरोसा गर्नै सकिंदैन।’ (पृष्ठ २६८)
बीपीले अनन्य मित्र सूर्यप्रसाद उपाध्यायलाई कहिल्यै विश्वास गरेनन्। जेलमा छँदा पनि गरेनन्, बाहिर हुँदा पनि गरेनन्। बीपी लेख्छन्, ‘मंगलाजी मार्फत सूर्यप्रसादजी म र गणेशमानजीबीच फाटो सिर्जना गर्ने कोशिशमा हुनुहुन्छ।’ (पृष्ठ ३७३, २०२५ असोज २०)
अर्का मित्र सुवर्णशमशेरलाई भने औधी विश्वास र आदर गरेको देखिन्छ। ‘राजनीतिमा मैले चिनेकामध्ये उहाँ सबैभन्दा इमानदार मानिसमध्येका एक हुनुहुन्छ। उहाँमा रहेको इमानदारी यति विशिष्ट प्रकारको छ कि उहाँलाई चिन्नु भनेको एक प्रकारको महानतालाई चिन्नु हो। उहाँ एक उदार चित्तका मानिस हुनुहुन्छ। उहाँ जस्ता साथी पाएकै कारण म आफ्नो जीवन धन्य भएको ठान्छु। (पृष्ठ २१३, २०२३ भदौ १९)
‘तुलसी गिरिबारे दुई प्रकारका मत छन्– १. ऊ राजाको मान्छे हो, र २. ऊ चीनको मान्छे हो (यद्यपि उसको थुनाइ चीनसँगको सम्पर्कका कारणले भएको हो।) यो दोस्रो मतसँग सूर्यप्रसादजीको मत मिल्छ। तर मलाई लाग्छ, उहाँको मत गलत छ। तुलसी दरबारकै उपकरण हो। उसको पछिल्लो गिरफ्तारी भनेको उसलाई एक राजनीतिक हस्तीका रूपमा विकसित गर्ने हेतुले गरिएको हो।’ (पृष्ठ ३४९, २०२५ जेठ २४)
जेलभित्रका साथीहरूबारे बीपी लेख्छन्, ‘दिवान (दिवान सिं राई) : सुन्दर हृदय भएका मानिस। शेरचन (योगेन्द्रमान शेरचन) : मज्जाका मानिस। सबैले मन पराउने र एउटा असल मानिस। आरएन (रामनारायण मिश्र) : पूर्णतः हतोत्साहित तर कसैका अगाडि आफ्नो कमजोरी देखाउन नचाहने, राजनीतिक अडान नछाडेका मानिस। कृष्णप्रसाद : झगडालु, व्यंग्यपूर्ण टिप्पणी गरिरहने र यसमा माहिर व्यक्ति, सबैले मन नपराउने। जीएम (गणेशमान सिंह) : साहसी अर्थात् बहादुर मानिस। बीपी (स्वयम्) : शिविरका सुरक्षाकर्मीहरूका अनुसार उच्च मनोबल भएका मानिस। नजरबन्दीले प्रभाव नपारेको व्यक्ति। (पृष्ठ १९७, २०२३ जेठ २८)
फटाकबाट चियाउन आतुर आँखा
‘आज भेटघाटको दिन। आमा, तारिणी, रोशा र गिरिजा मलाई भेट्न आए। बुनू भर्खरै काठमाडौं आइपुगेकी थिइन्। त्यसैले मलाई भेट्न अनुमति माग्ने समय नै पाएकी थिइनन्। मैले फटाक बाहिर रहेकी उनीसँग भित्रैबाट अभिवादन साटें।’ (पृष्ठ ३६०, २०२५ साउन २)
जेलमा बन्दीलाई भेट्न हरेक महीनाको २ गते तोकिएकाले त्यस दिन परिवारका सदस्य र अरूहरू आउँथे। कहिलेकाहीं जेलको निर्दयी अधिकारीले भेट्न नदिएपछिको पीडाले छटपटिन्थे बीपी। त्यसैले उनी बाहिरी संसारको कुरा थाहा पाउन र भित्रका आफ्ना मनोभाव र आवश्यकताबारे जानकारी दिन चिठीपत्रको सहारा लिन्थे। जेलमा छँदा उनका लागि चित्त बुझाउने औषधि सरह बनेको थियो चिठी। सन्तान, पत्नी सुशीला, आमा र परिवारका अन्य सदस्यका निम्ति केही गर्न नसकेको भनी उनी ज्यादै पिरोलिन्थे।
जेलमा रहँदा सधैं बेचैनी मात्र हुँदैन, कहिलेकाहीं बाहिरका सुखद खबरले खुशी पनि भित्र्याउँछन्। २०२४ असोज १ गते सुन्दरीजल बन्दीगृहमा रहेका बीपीको हातमा आमाको चिठी पर्यो। चिठीमा आमाले लेखेको उद्धृत गर्दै बीपी उक्त दिनको डायरीमा लेख्छन्, ‘शैलजा प्रदीप गिरिसँग बिहे गर्न चाहन्छिन्। ती दुई प्रेममा छन्। उनीहरू मेरो रिहाइ नहुँदासम्म बिहे रोकिरहेका छन्। मलाई यो समाचार सुनेर खुशी लाग्यो। मेरो सोचाइमा प्रदीप एक असल युवक हुन्, बौद्धिक कोटिको। आफैं पनि बौद्धिक रहेकी शैलजाका लागि उपयुक्त छन्। मेरो भय के मात्र हो भने यी दुई जवान बौद्धिकहरू विवाह गर्ने खालका छैनन् कि! जब विवाहको सामना गर्नुपर्ने हुन्छ बौद्धिकहरू अक्सर त्यसको सकुशल सामना गर्न सकिरहेका हुँदैनन्।’
त्यसको भोलिपल्टै नियमित भेटका लागि सुन्दरीजल पुगेका तारिणी र रोशाले शैलजासँग हुन लागेको विवाहका सम्बन्धमा प्रदीप गिरिको परिवार खुशी छैन भन्ने बताएपछि बीपीको तर्क सही सावित हुन पुग्यो। शैलजाको प्रदीप गिरिसँग विवाह गर्ने कुरामा पिनाकी बाबु (शैलजाका पिता) पनि खुशी थिएनन्। पिनाकी बाबुको परिवारले सन्न्यासीसित विवाह गरिदिन नचाहेको कुरा आएपछि एक दिन बीपीले शैलजाले कुनै मुसलमानसँग बिहे गरिन् भने पिनाकी बाबु के गर्लान् भनेपछि मात्र उनले सन्न्यासीसँगको विवाहलाई मन्जूरी दिएका रहेछन्।
भान्जीको बिहे भाँडिएर दिक्दार मानिरहेका बीपीले परिवारमा अर्को दुःखद घटनाको सामना गर्नुपर्यो। स्कूलमा रेफ्रिजेरेटर पड्केर २०२४ चैत २० मा सुषमा (गिरिजा पत्नी)को निधन भएको खबरले उनी ज्यादै मर्माहत बने।
पेटको बिमारले सताएका बीपी जेलमा रहँदा स्वास्थ्यप्रति निकै चिन्तित हुन्थे। थुप्रै काम गर्न बाँकी रहेकाले ती ‘काम नसिध्याई मर्छु कि’ भन्ने डरले उनलाई वेलावेला सताउँथ्यो। तैपनि उनी सम्हालिन्थे र जेल जीवनलाई सार्थक बनाउने ‘रूटिन वर्क’ को सूची तयार पारिरहन्थे। बिमारले च्यापेपछि सुशीला र बच्चाहरूलाई बढी सम्झन्थे, तिनको भविष्यबारे चिन्तित हुन्थे।
‘सुशीला र बच्चाहरूको सम्झनाले पनि म व्याकुल बनें। हुन त मृत्युको सोच मेरा लागि त्यति भयावह थिएन। आफ्नै लागि त मृत्युसँग डराएको थिइनँ। तर मलाई माया गर्नेहरू विशेष गरी सुशीलाका लागि यो ज्यादै दुर्भाग्यपूर्ण हुनेछ।’ (२०२१ कात्तिक १३)
पुस्तकः जेल डायरीः विश्वेश्वरप्रसाद कोइराला संकलकः पदमबहादुर थापा सम्पादकः शंकर तिवारी
प्रकाशकः शिखा बुक्स पृष्ठः ४२१ + ३० मूल्यः रु.९९५