१३ जनाको दाहसंस्कार गर्न मलाम हिंडेको चिउरी गाउँ
![१३ जनाको दाहसंस्कार गर्न मलाम हिंडेको चिउरी गाउँ](https://www.himalkhabar.com/uploads/posts/800X600/ChiuriVillage-1699176707.jpg)
५५ वर्षीय हिरे कामी, उनकी श्रीमती, १२ र १४ वर्षका दुई छोरा भूकम्पमा परेर बिते। यो परिवारमा अब आठ वर्षकी छोरी प्रेमकलीलाई हुर्काउन कोही जिउँदा छैनन्।
कात्तिक १९ गते। जाजरकोटको नलगाड नगरपालिका-१ स्थित भेरी नदी किनारतिर एक हुल मानिस काँधमा दाउरा लिएर लम्किइरहेका थिए। ६-७ वर्षका बालबालिकादेखि काखीमा बच्चा च्यापेका आमाहरू त्यो ताँतीमा थिए। चिउरी गाउँका यी स्थानीय मलाम हिंडेका हुन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी चिउरीका १३ जनाको मृत्यु भएको थियो। आइतबार ती १३ जनाकै एकसाथ दाहसंस्कार गर्न गाउँ नै भेरी किनारमा उर्लिएको हो। १३ शवको दाहसंस्कार गर्न घाट पनि गाउँलेहरूले नै बनाएका थिए। १३ जनाको दाहसंस्कार गर्नुपर्ने भएकाले दुई ट्र्याक्टरमा दाउरा समेत लगिएको थियो। अरू दाउरा स्थानीयले काँध हालेर लगेका थिए।
![398272044_883466399790492_7423986266864646511_n (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/jajarkot earthquake/Gopen Sir Photos/13 People Funeral/398272044_883466399790492_7423986266864646511_n (1).jpg)
मलामीको भीडमा एक महिला डाँको छाडेर रोइरहेकी थिइन्। उनी २१ वर्षीया सावित्री विक हुन्। आफूसँगै सुतेकी पाँच वर्षीया छोरीलाई बचाउन नसकेको बिलौना गरिरहेकी थिइन्। अर्धचेत अवस्थामा उनी घरीघरी भनिरहेकी थिइन्, “भगवान्! बरु मलाई नै लगेको भए हुन्थ्यो।”
शोकमग्न छरछिमेकीले उनलाई सम्हाल्न सकिरहेका थिएनन्। सावित्रीका श्रीमान् छोरीको अन्त्येष्टि गर्न लासछेउमा बसिरहेका थिए।
सावित्रीका छिमेकी सञ्जीव महराका अनुसार उनीहरू तीनै जना सुतेकै ठाउँमा पुरिएका थिए। केही समयपछि उनीहरूलाई भग्नावशेषबाट त निकालियो तर पाँच वर्षीया छोरीको भने अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
भेरी किनारको यस घाटमा दाहसंस्कार गर्न ल्याइएका १३ जनामध्ये पाँच जना १४ वर्षमुनिका बालबालिका छन्।
५५ वर्षीय हिरे कामीको परिवारलाई पनि त्यहीं दाहसंस्कार गर्न ल्याइएको थियो। हिरे कामी, उनकी श्रीमती, १२ र १४ वर्षका दुई छोरा सबै भूकम्पमा परी बिते। उनको परिवारमा अब आठ वर्षकी छोरी प्रेमकली मात्र जिउँदो छिन्। प्रेमकलीलाई हुर्काउन परिवारमा अब कोही जिउँदा छैनन्।
![377153407_247786474948179_6583237184449984656_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/jajarkot earthquake/Gopen Sir Photos/13 People Funeral/377153407_247786474948179_6583237184449984656_n.jpg)
हिरे कामीको परिवारको दाहसंस्कार उनको छिमेकी लालबहादुर कामीको परिवारले गर्ने तयारी गरेको छ। लालबहादुरका अनुसार हिरे कामीका अर्का एक जना छोरा पनि थिए। उनी चार वर्षअघि कामका लागि भारत गएका थिए। त्यस वेलादेखि सम्पर्कमा आएका छैनन्।
लालबहादुरका अनुसार शुक्रबार राति भूकम्पको धक्का महसूस हुँदा सबै आआफ्ना परिवार जोगाउन लागिपरे। भूकम्प गएको २० मिनेटपछि हेर्दा गाउँमा कुनै पनि घर सग्लो थिएन। गाईबस्तु पुरिएका थिए। मानिसहरू गुहार मागिरहेका थिए।
भूकम्प गएको एक घन्टाभित्र धेरै मानिसलाई पुरिएको ठाउँबाट उद्धार गरेको उनी सुनाउँछन्। “पुरिएका धेरै मानिसलाई निकाल्न सक्यौं। तर माटो निकाल्ने औजार नभएकाले धेरैलाई बचाउन सकिएन,” विकले भने।
१३ जनाको दाहसंस्कार गर्न तयारी गरिएको घाट पारिपट्टि तीन जनाको दाहसंस्कार गरिएको छ। त्यहाँ नलगाड-७, चापाघाटको तीन जनाको शव ल्याइएको थियो। चापाघाटमा एकै घरमा पाँच जनाको मृत्यु भएको थियो। जसमा एकै परिवारको तीन जना थिए।
तीन जनामध्ये १६ र २६ वर्षका छोरी र १८ महीनाका छोरा घरभित्रै पुरिएको अवस्थामा मारिए। उनीहरूका बुबा बाहिर गएकाले बचे भने आमा घाइते भइन्। सोही घरमा पाहुना लाग्न गएका नौ वर्षका एक बालिका र उनकी आमा बिन्दु रोकायको पनि मृत्यु भयो।
घरमा सँगै रहेकी हजुरआमा दीपा परियार पनि मलामी आएकी थिइन्। उनको गहभरि आँसु थियो। “मलाई बचाएर किन मेरा नातिनातिनालाई लग्यौ भगवान्?” डाँको छोडेर रुँदै उनले भनेकी थिइन्।
१३ जनाको मृत्यु भएको चिउरी गाउँमा ८० घरधुरी छन्। यी ८० वटै घर बस्न नमिल्ने गरी भत्किएका छन्। जाजरकोटको सदरमुकाम खलंगाबाट दक्षिणको यो गाउँ पुग्न ३० किलोमिटर पहाडी कच्ची बाटो पार गर्नुपर्छ।
भूकम्प गएको रात उद्धारमा जुटेका स्थानीय शनिबार दिनभर भने भग्नावशेष र भत्किएको घरबाट लत्ताकपडा, भाँडाकुँडा निकाल्न व्यस्त भए। भूकम्प गएको दोस्रो दिनसम्म पनि चिउरी गाउँमा राहत पुगेको छैन। कात्तिकको चिसो धान्न सिरक, डसना र शीत छेक्न त्रिपाल भए रात काट्न सजिलो हुने उनीहरूको अपेक्षा छ।
“तत्काल घर बनाउन सम्भव छैन। त्यतिन्जेल शीत छेक्न त्रिपाल र ओढ्न-ओछ्याउन सिरक-डसना भए हामीलाई राहत हुन्थ्यो,” चिउरीका स्थानीय दिलबहादुर विकले भने।