को हुन् दक्षिणएशियालीका पूर्वज?
दक्षिणएशियामा बसोबास गर्ने सबैजसो मानिसमा केही न केही मात्रामा भए पनि पश्चिम यूरेशियाली र पूर्वी एशियालीको मिश्रण छ। यसको अर्थ- लिटल अन्डामान टापु बाहेक भारतीय उपमहाद्वीपवासी कुनै पनि समुदायले आफूलाई आनुवंशिक रूपमा शुद्ध भएको दाबी गर्न सक्दैन।
सिन्ध सभ्यताको पतन
हिन्दूहरूको सबैभन्दा पुरानो धार्मिक ग्रन्थ ऋग्वेदमा उल्लेख गरिए अनुसार अश्ववाहिनी रथमा चढेर लडाकू देवता इन्द्रले ‘अपवित्र दुश्मन’ दासहरूमाथि चढाइ गर्छन्। आफ्ना जनता ‘आर्य’ हरूका लागि जमीन र पानी सुरक्षित गर्न दासहरूको पुर नष्ट गर्छन्। चार हजारदेखि तीन हजार वर्ष पहिला संस्कृत भाषामा रचिनुअघि नै ऋग्वेद करीब दुई हजार वर्षदेखि मौखिक रूपमा प्रसारित हुँदै आएको मानिन्छ।
त्यसको सय वर्षपछि अर्को प्राचीन भारोपेली भाषामा ग्रीसमा उस्तै खालका ग्रन्थ इलियाड र ओडिसी रचिएका थिए। एकै स्रोतबाट विकसित भारोपेली भाषा परिवारसँग जोडिएका विभिन्न संस्कृतिको प्राचीन ग्रन्थ भएकाले ऋग्वेद विगततिर चियाउने गज्जबको आँखीझ्याल हो। तर, ऋग्वेदमा उल्लिखित कथा र यथार्थ घटनाबीच के साइनो थियो? दास को थिए? आर्य को थिए? उनीहरूका पुर कहाँ थिए? के ऋग्वेदमा वर्णन गरिएजस्तै भएको थियो त? सन् १९२० र १९३० का दशकमा यी प्रश्नको जवाफ खोज्न पुरातत्त्वविज्ञान प्रयोगको सम्भावनाबारे निकै उत्साह थियो।
त्यति वेला भएका उत्खननबाट पञ्जाब र सिन्धका हडप्पा र मोहनजेदारोमा ४५०० देखि ३८०० वर्ष पुराना किल्लाबन्द शहर पत्ता लागेका थिए। यी शहर, साना बजार र गाउँले अहिले पाकिस्तान र भारतमा पर्ने सिन्ध नदीको उपत्यकामा दशौं हजार मानिस बस्थे भन्ने सङ्केत गर्छन्। के ती ऋग्वेदमा उल्लिखित पुर हुन सक्छन् त?
सिन्ध सभ्यताका शहर चौडा पर्खालले घेरिएका थिए जहाँ नजिकैका फाँटमा फलेका बाली संग्रह गर्ने गोदामहरू थिए। शहरले माटो, सुन, तामा, खप्पर र काठका काम गर्ने कालिगडहरूलाई आश्रय दिन्थ्यो। उनीहरूले प्रयोग गर्ने ढुङ्गाका ढक, तराजुबाट सिन्ध सभ्यताका मानिस विभिन्न व्यापार र व्यवसायमा संलग्न रहेको थाहा हुन्छ। त्यो व्यापार अफगानिस्तान, अरब, मेसोपोटेमिया र अफ्रिकासम्म हुन्थ्यो। उनीहरू मानिस र जनावरका आकर्षक मुकुन्डो बनाउँथे। तिनमा चिह्न र सङ्केत पनि हुन्थे जसको अर्थ धेरै खुलिसकेको छैन।
सिन्ध सभ्यताका धेरै कुरा अझै रहस्य नै छन्। सबैभन्दा ठूलो रहस्य त यसको पतन हो। ३८०० वर्ष पहिला सिन्ध सभ्यताका बस्ती छरपस्ट हुन थाले। त्यहाँका बासिन्दा खास गरी पूर्वमा रहेको गङ्गाको मैदानतिर हिँडे। यही समयतिर प्राचीन संस्कृत भाषामा ऋग्वेदको रचना भयो। त्यसको करीब हजार वर्ष पहिला इरानमा बोलिने भाषाबाट अलग भएको प्राचीन संस्कृत उत्तरी भारतका धेरै भाषाको स्रोत पनि हो।
हिन्द-इरानी भाषाहरू यूरोपमा बोलिने सबैजसो भाषाका नजिक छन्। तिनैबाट महान् भारोपेली भाषा परिवार बनेको हो। प्रकृति र समाज सञ्चालन गर्ने देवताहरू सहित ऋग्वेदमा उल्लिखित धर्म इरान, ग्रीस र स्क्यान्डिनेभियन लगायत भारोपेली यूरेशियाका मिथकसँग मेल खान्छ। यसले यूरेशियामा छरिएका सभ्यता र धर्मको सांस्कृतिक साइनो देखाउँछ।
केही मानिस उत्तर र पश्चिमका बासिन्दाको आगमनका कारण सिन्ध घाटीको सभ्यता नष्ट भएको अनुमान गर्छन्। त्यसरी आउनेहरू भारोपेलीभाषी भएकाले उनीहरूलाई भारोपेली-आर्यको संज्ञा दिइयो। ऋग्वेदमा आक्रमणकारीहरूसँग घोडा र रथ भएको वर्णन छ। पुरातात्त्विक अध्ययनले सिन्ध घाटीको सभ्यता घोडा पाल्न शुरू हुनुअघिको भएको पुष्टि गरेका छन्। गोरुले रथ तानिरहेको माटोको मूर्ति फेला परे पनि ती क्षेत्रमा घोडा पालन भएको प्रमाण भेटिएको छैन न त पांग्रावाला अन्य कुनै अन्य सवारीसाधनको अवशेष। कांस्य युगको यूरेशियामा घोडा र पांग्रावाला रथ ठूलो मात्रामा विनाश गर्ने अस्त्र थिए। के पुरानो सिन्ध घाटी सभ्यता नष्ट गर्न भारोपेली-आर्यहरूले आफ्नो सैन्य प्रविधि प्रयोग गरेका थिए त?
हडप्पामा पहिलो उत्खनन भए यता ‘आर्यहरूको आक्रमण सिद्धान्त’ लाई यूरोप र भारत दुवैतिरका राष्ट्रवादीले कब्जा गरेका छन्। त्यसैले यो विषयमा वस्तुगत तवरमा छलफल गर्न कठिन भएकोे छ। नाजी लगायत यूरोपेली जातिवादीहरू काला छाला भएका आदिवासीमाथि उत्तरी यूरोपबाट आएका खैरा छाला भएका लडाकूले आक्रमण गरी श्रेणीगत जात प्रणाली स्थापना गरेको भन्ने मान्यताप्रति आकृष्ट छन्। भारोपेली भाषा परिवारका भाषा बोल्ने यूरोपदेखि भारतसम्म छरिएको यो मान्यता आकर्षणको विषय बन्नुको कारण छ।
यस अनुसार ती लडाकू आफ्नो प्राचीन जन्मभूमिबाट निस्केर विभिन्न भूभागमा आक्रमण गर्दै र त्यहाँका बासिन्दालाई दमन गर्दै फैलिएका थिए। त्यही शैली उनीहरू वर्तमानमा पनि अनुकरण गर्न चाहन्छन्। भारोपेली-आर्यहरूको प्राचीन जन्मभूमि जर्मनी लगायत उत्तरपूर्वी यूरोप थियो। उनीहरूले आफूलाई ऋग्वेदमा उल्लिखित आर्य सम्बोधन गरेर हिन्दू परम्परामा शुभ सङ्केत मानिने स्वस्तिक चिह्न सहित वैदिक मिथकका केही पक्षलाई अपनाएका पनि छन्।
बसाइँसराइ र भारोपेली भाषाहरूको प्रसारमा नाजीहरूको यस्तो रुचिले भारोपेली भाषाहरूको सम्भावित प्रसारबारे छलफल गर्न यूरोपका गम्भीर अनुसन्धानकर्मीलाई अप्ठ्यारो बनाइदिएको छ। अर्कातर्फ भारतमा पनि आप्रवासी भारोपेलीभाषीका कारण सिन्ध घाटीको सभ्यता नष्ट भएको थियो भन्ने सम्भावना बोझ बनिदिएको छ किनभने यो तथ्यले दक्षिणएशियाली संस्कृति बाहिरबाट आएकाहरूबाट प्रभावित रहेको देखाउँछ।
उत्तरबाट भारोपेलीभाषीहरूको ठूलो मात्रामा आप्रवासन भएको अनुमान अहिले स्वीकार्य छैन। यो मान्यता एकदमै राजनीतिक भएकाले अस्वीकार्य भएको होइन बरु पुरातात्त्विक तथ्यहरूमा पाइने ठूला सांस्कृतिक परिवर्तनले सधैं ठूला बसाइँसराइलाई पुष्टि गर्दैनन् भन्ने निचोडमा पुरातत्त्वविद्हरू पुगेकाले हो।
अर्को तथ्य, त्यस्तो ठूलो मात्रामा बसाइँसराइ भएको पुष्टि गर्ने पर्याप्त प्रमाण छैनन्। ३८०० वर्षअघि सिन्ध घाटीका बस्तीहरू जलाइएको प्रमाण दिने गरी भग्नावशेष पनि भेटिएका छैनन्। अरू जेसुकै भए पनि सिन्ध घाटीको सभ्यता लामो समयमा नष्ट भएका प्रमाण भने छन्। ती बस्तीबाट बाहिरतिर भएको प्रवासन र दशकौं लामा वातावरणीय क्षयका प्रमाण छन्। बाह्य आक्रमणका पुरातात्त्विक प्रमाण नभेटिंदैमा त्यस्तो भएकै हुन सक्दैन भन्ने पनि होइन। १६६० देखि १५०० वर्षअघि पश्चिमी रोमन साम्राज्य जर्मनहरूको विस्तारकै कारण पतन भएको थियो।
तथापि, त्यति वेला रोमन शहरहरू ध्वंस भएका पुरातात्त्विक प्रमाण निकै कम छन्। अन्य ऐतिहासिक सामग्रीले यो महत्त्वपूर्ण घटना उजागर गरिदिएका हुन्। सिन्ध उपत्यकामा एकाएक जनसंख्या घटेको तर पुरातत्त्वविद्ले प्रमाण फेला पार्न नसकिरहेका पनि हुन सक्छन्। पुरातात्त्विक अनुसन्धानबाट भेटिने प्रमाणले हठात् भएका परिवर्तनलाई सङ्केत नगर्न सक्छन्। त्यसो भए यो खोजमा आनुवंशिक अनुसन्धानले के योगदान गर्न सक्छ त?
सिन्ध सभ्यताको अन्त्यमा के भएको थियो भन्ने त यसले बताउन सक्दैन तर त्यहाँ विभिन्न वंशजबाट आएका मानिसहरूबीच सम्बन्ध थियो भन्ने देखाउँछ। आनुवंशिक सम्मिश्रण आफैंमा बसाइँसराइको प्रमाण नभए पनि यसले हडप्पा सभ्यताको अन्त्यतिर जनसंख्यामा नाटकीय परिवर्तन भएको र सांस्कृतिक आदानप्रदानका लागि ठूलो अवसर सिर्जना भएको देखाउँछ।
टकरावहरूको भूमि
यूरेशियासँग हिन्द महासागरबाट उत्तरतिर सरिरहेको इन्डियन प्लेट ठोक्किएर दशौं लाख वर्ष पहिला हिमालय बनेका थिए। आजको भारतीय उपमहाद्वीप पनि विभिन्न संस्कृति र जनताको टकरावकै परिणाम हो। कृषिकै उदाहरण लिऔं। विश्वका अन्न भकारीमध्ये एक रहेको यो उपमहाद्वीपले विश्व जनसंख्यामा एकचौथाइको पेट भरिरहेछ।
५० हजार वर्षअघि आधुनिक मानव यूरेशियाभर फैलिन थालेदेखि नै यो भूभाग संसारकै धेरै मानिस बस्ने ठाउँ पनि बनिरहेछ। यद्यपि कृषिको आविष्कार भारतमा भएको थिएन। आजको भारतीय कृषि प्रणालीको जन्म यूरेशियाका दुई वटा महान् कृषि प्रणालीको टकरावबाट भएको हो।
पुरातात्त्विक अन्वेषणहरूले पुष्टि गरेका छन्- गहुँ, जौ जस्ता निकट पूर्वका हिउँदे बाली सिन्ध उपत्यकामा नौ हजार वर्षअघि मात्र आइपुगेका थिए (पश्चिमाहरूले पूर्वलाई निकट पूर्व, मध्यपूर्व र सुदूरपूर्व गरी तीन भागमा बाँडेका थिए। निकट पूर्वले ओट्टोमन साम्राज्य र बाल्कन क्षेत्रलाई जनाउँथ्यो)।
करीब पाँच हजार वर्ष पहिला स्थानीय किसान यी बालीलाई बर्खे बालीसँग प्रजनन गराउन समर्थ भए। स्थानीय मौसम अनुकूल ठिमाहाको जन्म भएपछि यी बाली भारतीय उपमहाद्वीपभर फैलिए। चामल र कोदो जस्ता चिनियाँ बर्खे बाली पाँच हजार जति वर्षअघि भारतीय उपमहाद्वीप आइपुगेका हुन्।
त्यस्तै भाषा अर्को मिश्रण हो। भारतको उत्तरी भूभागमा बोलिने भारोपेली (इन्डो-यूरोपियन) भाषाहरू इरान र यूरोपका भाषासँग जोडिएका छन्। दक्षिण भारतीयहरूले बोल्ने द्रविड परिवारका भाषा भने दक्षिणएशिया बाहिरका भाषासँग खासै सम्बद्ध छैनन्। त्यस्तै भारतको उत्तरका हिमाली क्षेत्रमा बस्ने मानिस चिनियाँ-तिब्बती परिवारका भाषा बोल्छन्। पूर्व र मध्य भारतमा रहेका केही ससाना आदिवासी समुदाय कम्बोडियाली र भियतनामी भाषासँग सम्बद्ध अस्ट्रो-एशियाली परिवारका भाषा बोल्छन्। यी मानिसले नै दक्षिणपूर्वी एशियाबाट दक्षिणएशियामा पहिलो पटक धानखेती भित्र्याएको विश्वास गरिन्छ। प्राचीन द्रविड र अस्ट्रोएशियाली भाषाबाट ल्याइएका केही शब्द ऋग्वेदमा पनि पाइन्छ जसले यी भाषा कम्तीमा तीन वा चार हजार वर्षदेखि भारतको सम्पर्कमा रहेको जनाउँछ।
भारतका मानिसको रूपरङमा पनि प्रशस्त विविधता छ जसले विभिन्न उत्पत्तिका मानिसको मिश्रण भएको जानकारी दिन्छ। यहाँका सडकमा फेरो लगाउँदा निख्खर काला, गहुँगोरादेखि निख्खर गोरा सबै खाले मानिस भेटिन्छन्। कसैको अनुहारको बनोट यूरोपेलीसँग मिल्छ भने केहीको चिनियाँसँग। हुन त शारीरिक बनोटलाई खानपान र वातावरणले पनि प्रभाव पार्छ।
भारतमा भएको पहिलो आनुवंशिक अध्ययनले भने विरोधाभासपूर्ण परिणाम देखाउँछ। आमाबाट मात्र सन्तानमा जाने माइट्रोकन्ड्रियल डीएनएको अध्ययन गरिरहेकाहरूले अधिकांश भारतीयका हकमा यस्तो डीएनए यही उपमहाद्वीपमा मात्र पाइने विशिष्ट प्रकारको रहेको पाए। यसबाट उनीहरूले भारतीय माइट्रोकन्ड्रियल डीएनएले दशौं हजार वर्षपहिलेसम्म मात्रै दक्षिणएशिया बाहिरका मानिससँग साझेदारी गरेको अनुमान गरे। यसले देखाउँछ कि आमाहरूको कोणबाट वंशको विकास हेर्दा भारतीय पुर्खाहरू लामो समयसम्म दक्षिण, पूर्व र उत्तरका कसैसँग नमिसिई यही उपमहाद्वीपमा एक्लै बाँचेका थिए। यसविपरीत बाउबाट छोरामा मात्रै जाने वाई क्रोमोजोम हेर्दा पश्चिम यूरेशियालीहरू (यूरोपेली, मध्यएशियाली र निकट पूर्वीहरू) सँग निकै नजिक भएको पाइन्छ जसले विभिन्न उत्पत्तिका मानिसबीचको मिश्रणलाई सङ्केत गर्छ।
आपसमा बाझिने यस्ता निचोड देखेर भारतका केही इतिहासकारले हार खाई आनुवंशिक सूचनालाई बेवास्ता गरेका छन्। मानव जातिको प्राग्-इतिहासबारे अध्ययन गर्ने पुरातत्त्व, मानवशास्त्र र भाषाविज्ञान जस्ता विषयमा अनुवंशविद्हरू प्रशिक्षित छैनन्, त्यसैले आफ्नो अध्ययनबाट प्राप्त तथ्यहरूलाई अपव्याख्या गर्ने सम्भावना रहन्छ। तर, यसो भन्दैमा आनुवंशिक शास्त्रलाई नै बेवास्ता गर्न मिल्दैन। यसअघि कसैसँग नभएको तथ्याङ्कमा हाम्रो पहुँच छ। यी तथ्याङ्कलाई हामीले प्राचीन मानिस को थिए भन्ने प्रश्नको हल गर्नमा उपयोग गरिरहेछौं।
अन्डामान टापुमा एक्लिएका मानिस
भारतको प्राग्-इतिहासबारे मेरो अनुसन्धान सन् २००७ मा एउटा पुस्तक र एउटा पत्रसँगै शुरू भएको थियो। उक्त पुस्तक थियो, इटालीका अनुवंशविद् लुइजी लुका काभाल्ली-स्फ्रोसाको प्रसिद्ध रचना द हिस्ट्री एन्ड जियोग्राफी अफ् ह्युमन जिन्स (मानव वंशाणुको इतिहास र भूगोल)। उक्त पुस्तकमा उनले मुख्य भारतीय भूमिभन्दा सयौं किलोमिटर टाढा बंगालको खाडीमा रहेको अन्डामान द्वीप समूहका मानिसलाई ‘नेग्रितो’ भनेका थिए। यूरेशियाबाट आधुनिक मानव छरिएको इतिहासको धेरै कालसम्म अन्डामान द्वीप समूह गहिरो सागरका कारण अलग्गै रह्यो।
यद्यपि पछिल्ला केही सय वर्षदेखि त्यस समूहको सबैभन्दा ठूलो टापु ‘ग्रेट अन्डामान’ मा मुख्यभूमिको प्रभाव परिरहेछ (बेलायती साम्राज्यले यसलाई जेलका रूपमा प्रयोग गर्थ्यो)। सोही द्वीप समूहमा रहेको ‘उत्तरी सेन्टिनेर टापु’ मा संसारकै सबैभन्दा धेरै पाषाणकालीन मानिस बस्छन्। भारत सरकारले केही सय मानिसको यो समूहलाई बाहिरी प्रभावबाट जोगाइरहेछ। उनीहरू बाहिरी संसारबाट यति अलग छन् कि सन् २००४ मा हिन्द महासागरमा सुनामी आएपछि सहयोगका लागि पुगेका भारतीय हेलिकप्टरहरूमा तीर हानेका थिए।
अन्डामान द्वीपका मानिसले यूरेशियामा बोलिने भन्दा निकै बेग्लै भाषा बोल्छन्। उनीहरू अरू मानिसभन्दा पनि निकै फरक देखिन्छन्। होचो कदकाठी र एकदमै घुंग्रिएको कपाल छ उनीहरूको। आफ्नो पुस्तकको एक खण्डमा काभाल्ली-स्फ्रोसाले अन्डामान द्वीपका बासिन्दा अफ्रिकाबाट शुरूमा फैलिएका आधुनिक मानवका सन्तति भएको अनुमान गरेका छन्। उनको आकलनमा उनीहरू करीब ५० हजार वर्षअघि बसाइँसराइ शुरू हुनुअघि त्यहाँ पुगेको हुनुपर्छ।
यो पढेपछि म र मेरा साथीहरूले हैदरावादको ‘सेन्टर फर सेल्युलर एन्ड मोलिक्युलर बायोलोजी’ (सीसीएमबी) का लालजी सिंह र कुमारसामी थंगराजलाई पत्र लेख्यौं। केही वर्षअघि ती दुई अनुसन्धाताले अन्डामान द्वीप समूहका मानिसको माइट्रोकन्ड्रियल र वाई-क्रोमोजोम डीएनएबारे शोध-आलेख प्रकाशन गरेका थिए। उनीहरूको अध्ययनले ‘लिटल अन्डामान टापु’ का मानिस दशौं हजार वर्ष पहिले यूरेशियाको मुख्यभूमिबाट त्यहाँ पुगेको देखाएको थियो। मैले उनीहरूलाई पूर्ण तस्वीर आउने गरी अन्डामानका बासिन्दाको सिङ्गो जीनोमको विश्लेषण सम्भव छ कि भनेर सोधें। (कुनै पनि जीवमा हुने सम्पूर्ण आनुवंशिक संरचनालाई जीनोम भनिन्छ। जीन भने डीएनएको निश्चित टुक्रा हो। मानव जीनोममा २० हजारदेखि २५ हजारसम्म जीन हुन्छन्।)
मेरो पत्र पाएपछि सिंह र थंगराज सहकार्य गर्न निकै उत्साही भए। उनीहरूले मलाई मुख्यभूमि भारतकै बृहत्तर तस्वीर निर्माण गर्न बाँकी रहेकोमा सहमत गराए। उनीहरूले हामीलाई डीएनएको ठूलो सङ्कलनसम्मको पहुँच दिए। सीसीएमबीका फ्रिजरहरूमा उनीहरूले जम्मा गरेका नमूनाले भारतको असाधारण मानव विविधता देखाउँथ्यो। पछिल्लो पटक मैले जाँच गर्दा उक्त सङ्कलनमा ३०० भन्दा बढी समूह र १८ हजारभन्दा बढी मानिसका डीएनए थिए। उनीहरूले भारतभरका विद्यार्थी मार्फत ती नमूना सङ्कलन गरेका थिए।
विद्यार्थी गाउँ गाउँ पुगेर हजुरबा-हजुरआमा बनिसकेका एकै स्थान र समूहका मानिसहरूको रगत सङ्कलन गरेका थिए। त्यो बृहत् सङ्कलनबाट हामीले भौगोलिक, सांस्कृतिक र भाषिक रूपमा सकेसम्म फरक रहेका २५ वटा समूह छनोट गर्यौं। हाम्रो छनोटमा भारतीय जात व्यवस्थाले अति उच्चदेखि अति तल्लो ठानेकासम्म सबै जाति थिए। यो जात व्यवस्थाबाट पर रहेका आदिवासी समुदाय पनि छनोटमा थिए।
केही महीनापछि थंगराज बोस्टोनस्थित हाम्रो प्रयोगशालामा आए। उनले आफूसँगै डीएनएका अरूभन्दा बेग्लै र महत्त्वपूर्ण नमूना ल्याएका थिए। हामीले ‘सिंगल न्युक्लिओटाइड पोलिमर्फिज्म माइक्रोएरे’ (एसएनपीमाइक्रोएरे) विधिबाट तिनको विश्लेषण गर्यौं। त्यो प्रविधि अमेरिकामा पनि भर्खरै उपलब्ध भएको थियो। भारतमा पुगिसकेको थिएन। यही कारणले नै थंगराजलाई भारत सरकारले ती डीएनए नमूना भारत बाहिर लैजान अनुमति दिएको थियो। (भारतमा देशभित्रै गर्न सकिने अनुसन्धानका लागि जैविक सामग्री अन्य देश लैजान नपाइने कानून छ।) एसएनपीमाइक्रोएरे विधिले हामीले केही मानिसमा भएको र अन्यमा नभएको उत्परिवर्तन छुट्याउन सक्यौं। यो अध्ययनबाट कोको अरू कोसँग नजिकको सम्बन्ध राख्छन् भन्ने छुट्याउन सकियो।
हामीसँग भएका नमूना कसरी एकअर्कासँग सम्बद्ध छन् भन्ने प्रारम्भिक धारणा बनाउन हामीले गणितीय तरीकाले विश्लेषण गर्यौं। हामीले दुई-आयामिक ग्राफ बनायौं जसको बायाँ किनारमा थिए, पश्चिम एशियाली मानिसहरू (यूरोपेली, मध्य एशियाली र निकट एशियाली)। अनि दायाँ किनारमा पूर्वी एशियालीहरू। यो ग्राफमा भारतीय आनुवंशिक तथ्याङ्कलाई राख्दै गयौं र त्यसलाई ‘भारतीय निरन्तरता’ नाम दियौं। भारतीय समूहहरूमा भएको विविधतामध्ये एउटा क्रमिकता पश्चिम यूरेशियालीहरूतिर लम्किएको थियो।
मुख्य रेखामा आउने भड्कावको इतिहास बेग्लै हुन सक्छ। तर, त्यस्तो फरक प्रवृत्तिले हामीलाई आजका भारतीय समूहहरू पश्चिम एशियालीसँग सम्बद्ध पुर्खा र अन्य एकदमै फरक मानिसको मिश्रण भएको अनुमानसम्म पुर्याउँछ। ग्राफमा द्रविड भाषा बोल्ने भारतको दक्षिणी समूहहरू पश्चिम एशियालीभन्दा निकै पर लम्किरहेको देखेपछि हामीले यस्तो मोडल तयार पार्यौं जसमा आजका भारतीयहरू दुईथरी पूर्वजको मिश्रणबाट बनेको देखिन्थ्यो। तथ्याङ्कहरूले यो मोडललाई पुष्टि गरे।
त्यस्तो मिश्रण साँच्चै भएको थियो/थिएन भन्ने परीक्षण गर्न हामीले नयाँ तरीका विकास गर्नुपर्ने थियो। सन् २०१० मा हामीले अपनाएको तरीकाले निन्डरथलहरू र आधुनिक मानव (होमो सेपियन्स) बीच मिश्रण भएको देखाएको थियो। वास्तवमा त्यही तरीका हामीले भारतीय मानिसको इतिहास पत्ता लगाउन प्रयोग गर्यौं।
शुरूमा हामीले परीक्षण गरेको परिकल्पना थियो- ‘यूरोपेली र भारतीयहरू हान चिनियाँ जस्ता साझा पूर्वी एशियाली पुर्खाहरूबाट अलग्गिएका हुन्।’ यो परिकल्पना कति सत्य हो भन्ने थाहा पाउन यूरोपेली र भारतीय जीनोमहरू फरक हुने डीएनए लेटरहरू पत्ता लगायौं (डीएनएमा चार वटा न्युक्लिओटाइडहरू हुन्छन्- एडिनाइन (ए), साइटोसाइन (सी), गुएनाइन (जी) र थायमिन (टी)। यी न्युक्लिओटाइडहरूको क्रमलाई डीएनए लेटर भनिन्छ, जस्तैः एसीजी, सीजीटी आदि)। त्यसपछि हामीले यूरोपेली र भारतीयहरूमा देखिने वंशानुगत विवरण चिनियाँ नमूनामा कति देखिन्छन् भन्ने खोज्यौं। हामीले के पायौं भने चिनियाँहरूको डीएनए लेटर यूरोपेलीहरूसँग भन्दा बढी भारतीयहरूसँग मिल्छ। यो तथ्यले यूरोपेली र भारतीयहरू एउटै चिनियाँ पुर्खाबाट छुट्टिएका हुन् भन्ने सम्भावनालाई अस्वीकार गर्यो।
त्यसपछि हामीले अर्को परिकल्पनाको परीक्षण गर्यौं। त्यो थियो- ‘चिनियाँ र भारतीयहरू एउटै पुर्खाका सन्तति हुन् र त्यो साझा पुर्खा यूरोपेलीबाट अलग्गिएको थियो।’ तर, तथ्यहरूले यसलाई पनि साथ दिएनन् किनभने यूरोपेली समूह चिनियाँभन्दा बढी भारतीयसँग नजिकको सम्बन्ध राख्छन्।
हामीले के पायौं भने, सबै भारतीय समूहमा पटक पटक भएका आनुवंशिक उत्परिवर्तनहरू औसतमा यूरोपेली र पूर्वी एशियालीहरूबीचको मध्यवर्ती समूहमा भएका हुन्। यस्तो हुन सक्ने एउटै मात्र आधार हो- यूरोपेली, मध्य एशियाली र निकट एशियालीहरूको प्राचीन समूह र पूर्वी एशियालीहरूको प्राचीन समूहबीचको मिश्रण।
हामीले शुरूमा पहिलो मानव समूहलाई ‘पश्चिम यूरेशियाली’ भन्यौं। यसले यूरोप, निकट पूर्व र मध्यपूर्वको ठूलो मानव समूहलाई जनाउँथ्यो। यीबीच आनुवंशिक भिन्नता निकै कम थिए। यस्तो भिन्नता यूरोपेली र पूर्वी एशियालीहरूबीचको भिन्नताभन्दा करीब १० गुणा कम थियो। आजका भारतीयहरूको पुर्खा जन्माउने दुई ठूला समूहमध्ये एउटा पश्चिम यूरेशियालीसँग सम्बद्ध थियो भन्ने थाहा पाउनु आश्चर्यजनक थियो।
यसले के सङ्केत गर्छ भने पश्चिम यूरेशियाली पूर्वजहरूको सबैभन्दा पूर्वी फैलावट भारतसम्म थियो जहाँ उनीहरू निकै भिन्न मानिससँग मिसिए। हामी के देख्न सक्छौं भने अरू मानिस अहिलेका पूर्वी एशियालीहरू (जस्तै, चिनियाँ) सँग सम्बद्ध थिए तर दशौं हजार वर्ष अघि अलग्गिइसकेका थिए। यसले दक्षिणएशियामा आज बसोबास गर्ने मानिसहरूको पूर्ववर्ती वंशका शुरूआती विविधतालाई प्रस्तुत गर्छ।
यो मिश्रण फेला पारेपछि हामीले यसबाट अलग्गिएका अहिलेका अन्य भारतीय मानिसबारे अध्ययन गर्यौं। मुख्य भारत भूमिमा बसोबास गर्ने सबैजसो मानिसका पुर्खा केही न केही मात्रामा भए पनि पश्चिम यूरेशियालीसँग सम्बद्ध छन्। अर्थात्, मुख्य भारत भूमिमा बस्ने आजका हरेक मानिसमा पश्चिम यूरेशियाली र पूर्वी एशियालीहरूको मिश्रण छ। तर, लिटल अन्डामान टापुका मानिसमा यस्तो छैन। उनीहरू प्राचीन पूर्वी एशियाली जातिका सन्तति हुन्। १०० जनाभन्दा कम संख्यामा भए पनि लिटल अन्डामान टापुका आदिवासी भारतीय मानिसको इतिहास बुझ्ने बलियो माध्यम हुन्।
पूर्व र पश्चिमको मिश्रण
मेरो वैज्ञानिक जीवनको सबैभन्दा तनावपूर्ण दिन अक्टोबर २००८ मा आइपुग्यो जति वेला म र सहकर्मी नीक प्याटरसनले हाम्रो खोजका प्रारम्भिक नतीजाहरूबारे सिंह र थंगराजसँग छलफल गर्न हैदराबादको यात्रा गरेका थियौं।
अक्टोबर २८ को हाम्रो बैठक चुनौतीपूर्ण थियो। सिंह र थंगराजले हाम्रो परियोजना नै बन्द गर्ने चेतावनी दिइरहेथे। बैठकको शुरूमा हामीले उनीहरूलाई हाम्रा निष्कर्षहरू संक्षिप्त रूपमा बतायौं। हाम्रो निष्कर्ष थियो, अहिलेका भारतीयहरू दुई निकै फरक समूहका पूर्वजहरूको मिश्रण हुन् र तीमध्ये एक ‘पश्चिम यूरेशियालीहरू’ थिए। सिंह र थंगराजले यो निष्कर्षको विरोध गरे किनकि यसले पश्चिम यूरेशियाली मानिसहरू ठूलो मात्रामा भारत आएका थिए भन्ने सङ्केत गर्ने उनीहरूको तर्क थियो। उनीहरूको अर्को तर्क पनि थियो- भारतीयहरू निकट पूर्व र यूरोपतिर बसाइँ सरेका हुन सक्छन्।
आफैंले गरेको माइटोकन्ड्रियल डीएनएको अध्ययनबाट पनि उनीहरू केमा अडिग थिए भने आजको भारतमा रहेका अधिकांश माइटोकन्ड्रिय डीएनएका पुर्खाहरू हजारौं वर्षदेखि यही उपमहाद्वीपमा रहिआएका छन्। भारतमा पश्चिम यूरेशियालीहरूको ठूलो समूह प्रवेश गरेको थियो भन्ने सुझाउने हाम्रो अध्ययनको हिस्सा बन्न उनीहरू तयार भएनन्। आफ्नै माइट्रोकन्ड्रियल डीएनएको अध्ययनबाट प्राप्त निष्कर्षहरू सिङ्गो जीनोम तथ्याङ्कसँग कसरी मेल खान्छन् भन्ने सुनिश्चित नभईकन उनीहरू अलग्गिन चाहे। त्यति मात्र होइन, उनीहरूले हाम्रो निष्कर्ष राजनीतिक रूपमा विवादास्पद हुने समेत सल्लाह दिए।
सिंह र थंगराजले पश्चिम यूरेशियाली र भारतीयहरूबीचको सम्बन्ध व्याख्या गर्न ‘आनुवंशिक आदानप्रदान’ भन्ने शब्दावली प्रयोग गर्न सुझाए। यो शब्दले एउटै पुर्खाबाट आएको भन्ने जनाउँथ्यो। हामीले उनीहरूको सल्लाह स्वीकार गरेनौं।
त्यो दीपावलीको साँझ थियो। सिंह र थंगराजको वैज्ञानिक संस्थाको गेस्ट रुमबाट हामी युवाले पटाका पड्काएको दृश्य हेरिरहेथ्यौं। विस्तारै हामीलाई हाम्रा निष्कर्षहरूको सांस्कृतिक प्रभाव के हुन्छ भन्ने बोध हुन थाल्यो। त्यसैले हामी त्यस्तो सूत्र निर्माण गर्न अघि बढ्यौं जुन वैज्ञानिक रूपमा सही हुनुका साथै यी मुद्दाप्रति संवेदनशील पनि होऊन्।
अर्को दिन, सिंहको कार्यालयमा सिङ्गो समूहको बैठक बस्यो। हामीले प्राचीन भारतीय समूहलाई जनाउने नयाँ नाम तय गर्यौं। हामीले अहिले भारतमा रहेका मानिस इतिहासका दुई भिन्दाभिन्दै पूर्वज ‘उत्तरी भारतीय’ (उभापूः एन्सेस्ट्रल नर्थ इन्डियन्स, एएनआई) र ‘दक्षिण भारतीय’ (दभापूः एन्सेस्ट्रल साउथ इन्डियन्स, एएसआई) का मिश्रण हुन् भन्ने निष्कर्ष निकाल्यौं। आपसमा मिसिनुअघि उनीहरू आजका यूरोपेली र पूर्वी एशियालीहरू जत्तिकै फरक थिए। उभापूहरू यूरोपेली, मध्य एशियाली, निकट पूर्वीहरू र ककेससका मानिससँग सम्बद्ध थिए। तर, हामीले उनीहरूको पैतृक भूमि वा बसाइँसराइबारे कुनै दाबी गरेनौं।
दभापू वंशज भने अहिले भारतभन्दा बाहिर रहेका कुनै पनि समुदायका मानिससँग सम्बद्ध थिएनन्। हामीले उभापू र दभापूबीच नाटकीय रूपले भारतमा मिश्रण भएको देखायौं। यी सबैको निष्कर्ष चाहिं एउटै हो- वर्तमान भारतका हरेक मानिस कुनै न कुनै मात्रामा आनुवंशिक मिश्रणको परिणाम हुन्। त्यो मिश्रण पश्चिम यूरेशियाली पूर्वज तथा पूर्वी एशियाली र दक्षिणएशियाली मानिसबीच भएको थियो। यो सबैको सार हो- भारतको कुनै पनि समुदायले आफूलाई आनुवंशिक रूपमा शुद्ध भएको दाबी गर्न सक्दैन।
पूर्वज, शक्ति र लैङ्गिक प्रभुत्व
यो निष्कर्षमा पुगेपछि हामी पश्चिम यूरेशियालीहरूको कुन कुन हिस्सा हरेक भारतीय समूहसँग सम्बद्ध छ भन्ने आकलन गर्न सक्छौं। यसका लागि हामीले एकातर्फ भारतीय जीनोममा पश्चिम यूरेशियाली जीनोम कुन हदमा मिसिएको छ भन्ने मापन गर्यौं। अर्कातर्फ, लिटल अन्डामान टापुका बासिन्दाको जीनोमको मापन गर्यौं। लिटल अन्डामान टापुका बासिन्दा किन महत्त्वपूर्ण थिए भने उनीहरू दभापूसँग टाढाको सम्बन्ध त राख्थे तर पश्चिम यूरेशियाली पूर्वजहरूसँग सम्पर्कमै आएका थिएनन्। त्यसैले उनीहरू हाम्रो विश्लेषणका लागि तुलना गर्ने आधार थिए।
त्यसपछि हामीले भारतीय जीनोमको ठाउँमा ककेससका मानिसहरूको जीनोम राखेर मापन गर्यौं। यो किन आवश्यक थियो भने उनीहरूको जीनोम पूर्णतः पश्चिम यूरेशियाली पूर्वजहरूसँग मिल्ने अनुमान छ। यी दुईको मापनबाट हामीले ‘हरेक भारतीय मानिस पश्चिम यूरेशियालीभन्दा कति पर छन्?’ भन्ने प्रश्नको जवाफ खोज्न सक्थ्यौं।
ठूलो संख्यामा भारतीय समूहमाझ गरिएको यो अध्ययनबाट हामीले भारतीयहरूमा पश्चिम यूरेशियालीहरूको मिश्रण २० देखि ८० प्रतिशतसम्म भएको पायौं। यही निरन्तरताले नै हामीले कोरेको ग्राफमा भारतीय निरन्तरता सिर्जना गरेको थियो। तथाकथित उपल्लो जातको होस् वा तल्लो वा जातव्यवस्थाबाट अलग गैरहिन्दू आदिवासी समुदाय, कुनै पनि भारतीय समूह यो मिश्रणबाट अप्रभावित छैन।
विभिन्न अनुपातका मिश्रणले भने हामीलाई विगतका घटनाबारे केही जानकारी दिन्छन्। ती आनुवंशिक तथ्यले प्राचीन उभापू र दभापूले बोलेको भाषाबारे जानकारी दिन्छन्। द्रविडभन्दा भारोपेली भाषा बोल्ने समूहका मानिसका पुर्खा बढीजसो उभापू भएको पाइयो। द्रविड भाषा बोल्नेका पूर्वज भने बढीजसो दभापू पाइयो। यो तथ्यले उभापूहरूले भारोपेली भाषा र दभापूहरूले द्रविड भाषा प्रसार गरेको हुन सक्ने सङ्केत गर्छ।
आनुवंशिक तथ्यहरूले प्राचीन उभापू (औसतमा उपल्लो सामाजिक स्तर) र दभापू (औसतमा तल्लो सामाजिक स्तर) हरूको सामाजिक अवस्थाबारे पनि सङ्केत गर्छन्। भारतीय जात व्यवस्थामा परम्परागत रूपमा उँचो स्थानमा रहेकाहरूमा तल्लो स्तरमा रहेकामा भन्दा बढी उभापूहरूको हिस्सा पाइयो। एउटै भाषा बोल्नेहरूबीच पनि यस्तो फरक पाइयो। उदाहरणका लागि, एउटै भाषा बोल्ने उही समुदायका ब्राह्मणहरूमा उभापूको वंशाणु बढी पाइयो। भारतमा सिङ्गो समूह नै निश्चित सामाजिक तहमा गएको प्रमाण पनि छन्। तिनले प्राचीन भारतमा सामाजिक स्तरीकरणका सन्दर्भमा उभापूहरूबीच मिश्रण भएको देखाउँछन्।
भारतीयहरूको आनुवंशिक तथ्याङ्कले पुरुष र महिलाबीच सामाजिक शक्तिमा रहेको पृथक्ताको इतिहास पनि बताउँछ। भारतीय पुरुषमध्ये २० देखि ४० प्रतिशत र पूर्वी-यूरोपेली पुरुषमध्ये ३० देखि ५० प्रतिशतमा एउटा यस्तो वाई-क्रोमोजम पाइन्छ जुन पछिल्लो ६८०० देखि ४८०० वर्षमा एउटै पुरुष पुर्खाबाट आएको हो। यस विपरीत आमाबाट सन्ततिमा जाने माइटोकन्ड्रियल डीएनए लगभग पूर्णतः भारतभित्र सीमित भएको पाइन्छ। यसले यो डीएनए झन्डै सबैजसोमा (उत्तरकोमा पनि) दभापूबाट आएको सुझाउँछ। यसको कारणमा कांस्य युग वा त्यस लगत्तै पश्चिम यूरेशिया र भारतबीच ठूलो मात्रामा बसाइँसराइ भएको हुनुपर्छ। यो वाई-क्रोमोजम भएका पुरुष सन्ततिमा आफ्ना आनुवंशिक चिह्न छोड्न सफल भए तर आप्रवासी महिला यसमा विफल भए।
वाई क्रोमोजम र माइटोकन्ड्रियल डीएनएबीचको यो असङ्गतिले शुरूमा इतिहासकारहरूलाई अलमल्ल बनाइदिएको थियो। यसको सम्भावित व्याख्या के हुन सक्छ भने भारतमा धेरैजसो उभापू आनुवंशिक गुण पुरुषबाट आएको हुनुपर्छ। लैङ्गिक-असमानतायुक्त जनसांख्यिक मिश्रणको यो प्रवृत्ति सर्वत्र छ। अफ्रिकी अमेरिकीहरूलाई नै हेरौं। यूरोपेलीहरूबाट आएका २० प्रतिशत वंशाणु पुरुषहरूमा एकचौथाइ छ। यी तथ्याङ्कले पुरुष र महिलाबीचको सम्बन्धको व्याख्या गर्छन्। यसले शक्तिशाली समूहका पुरुषले कमजोर समूहका महिलासँग संसर्ग गरेको सङ्केत दिन्छ। आनुवंशिक सूचनाहरूले विगतको सामाजिक प्रकृति पनि बताउन सक्नु चाहिं गज्जबकै उपलब्धि हो।
हडप्पा सभ्यताको अन्त्यतिर भएको मिश्रण
भारतीय इतिहासका सन्दर्भमा विभिन्न उत्पत्तिका मानिसहरूको मिश्रणबारे थाहा पाउन त्यसको अवधिको पनि ज्ञान हुनुपर्छ। हाम्रो आकलनमा त्यस्तो मिश्रण पछिल्लो हिमयुगको अन्त्यतिर भएको ठूलो मात्राको बसाइँसराइबाट भएको हुन सक्छ। करीब १४ हजार वर्षअघि सुधारिंदै गएको जलवायु परिवर्तनका कारण मरुभूमि हराभरा हुन थालेपछि र अन्य वातावरणीय परिवर्तनले साथ दिएपछि मानिसहरू यूरेशिया पार गरेर बसाइँ सर्न थालेको हुनुपर्छ।
दोस्रो सम्भावना- यो मिश्रणले निकट पूर्वी उत्पत्तिका किसानहरू दक्षिणएशियामा आएको देखाउँछ। करीब नौ हजार वर्ष पहिले सिन्ध उपत्यकामा निकट पूर्वबाट त्यस्तो आप्रवासन भएको हुन सक्छ।
तेस्रो सम्भावना- पछिल्लो चार हजार वर्षमा भारोपेलीभाषीहरू भारत र यूरोपमा फैलिएकाले पनि त्यस्तो मिश्रण भएको हुन सक्छ। यो सम्भावनाले ऋग्वेदमा वर्णित घटना भएको हुन सक्ने देखाउँछ। यद्यपि चार हजार वर्षअघि नै पनि यहाँका मानिसमा मिश्रण भइसकेको हुन सक्छ। त्यो मिश्रणमा एउटा हिस्सा पहिले नै पश्चिम यूरेशियाका भूभागबाट केही शताब्दी वा सहस्राब्दी पहिले नै आएका तर दक्षिण भारतीय पूर्वजसँग संसर्ग भइनसकेका हुन सक्छन्।
यी तीनवटै सम्भावनाले कुनै न कुनै विन्दुमा पश्चिम यूरेशियाबाट भारतमा आप्रवासन भएको साझा विशेषता देखाउँछन्। सिंह र थंगराजले उभापू र पश्चिम यूरेशियाली मानिसबीचको सम्बन्ध व्याख्या गर्न भारतबाट बाहिर प्रवासन भएको सम्भावना स्वीकार गरे पनि म स्वीकार्दिनँ। वर्तमान पश्चिम यूरेशियालीहरूमा दभापूको कुनै अंश पाइँदैन। त्यस्तै, भारतको ठूलो भूगोलमा पश्चिम यूरेशियाली पूर्वजसँग सम्बद्ध मानिसहरूको वितरण आज पनि छ। यी तथ्यले प्राचीन प्रवासन उत्तर र पश्चिमबाट दक्षिणएशियामै भएको देखाउँछन्। यो मिश्रणको समय पत्ता लगाउन सक्दा हामीले थप ठोस सूचना पाउनेछौं।
यस्तो मिश्रण कहिले भएको थियो भन्ने थाहा पाउन हामीले आनुवंशिक विज्ञानको सिद्धान्तको सहारा लियौं। उभापू र दभापूबीच मिश्रण भएको पहिलो पुस्तामा यी दुईमध्ये एक पुस्ताका मात्रै क्रोमोजम हुनुपर्छ। त्यसपछिका हरेक पुस्तामा उभापू र दभापूबाट आउने क्रोमोजम टुक्रिंदै जान्छ। हामीले वर्तमान भारतीयहरूमा उभापू वा दभापूबाट आउने क्रोमोजमको हिस्सा कति छ र त्यति पुग्नलाई कति पुस्ता लाग्छ भन्ने हिसाब गर्यौं। मेरो प्रयोगशालमा अनुसन्धानरत विद्यार्थी प्रिया मुरजानी यो मिति पत्ता लगाउन सफल भइन्।
हामीले चार हजारदेखि दुई हजार वर्षपहिला उत्तर भारतीय पूर्वज र दक्षिण भारतीय पूर्वजबीच मिश्रण भएको निष्कर्ष निकाल्यौं। साथै भारोपेलीभाषीहरूमा द्रविड भाषीभन्दा पछि मिश्रण भएको पायौं। द्रविड भाषीहरूमा पहिला मिश्रण भएको तथ्यले भने हामीलाई आश्चर्यचकित बनायो। भारोपेली भाषा बोल्ने उत्तरका समूहबीच पहिलो मिश्रण भएको होला भन्ने अनुमान थियो। अब वर्तमानमा मानिसहरू बस्ने भूगोलले उनीहरूको विगतको वासस्थान बताउँछ नै भन्ने छैन भन्ने ठम्याइमा पुग्यौं हामी।
मानौं, भारतमा पहिलो चरणको मिश्रण चार हजार वर्षअघि भएको थियो। त्यसपछि उत्तरी भारतका हरेक पुस्तामा त्यहाँ पहिलेदेखि रहेका र पश्चिम यूरेशियाली क्षेत्रबाट आउनेहरूबीच मिश्रण हुन थाल्यो। पहिलो मिश्रणबाट जन्मिएका मानिस हजारौं वर्षको अन्तरालमा या त दक्षिण भारततिर बसाइँ सरे या त त्यहाँका मानिससँग मिसिए। त्यसैले वर्तमान दक्षिण भारतीयहरूमा पहिलो चरणको मिश्रण भएको पाइयो। उत्तरी भारतका मानिसहरू र पश्चिम यूरेशियाली मानिसबीच पहिलो चरणमा भएका मिश्रणले चाहिं वर्तमान भारतीय समूहको मिश्रण भएको समय दिन्छन् जो दक्षिण भारतीयभन्दा पछि मात्रै मिसिएका हुन्। आनुवंशिक तथ्याङ्कहरूले उत्तरबाट पटक पटक उभापूसम्बद्ध मिश्रण भएको सिद्धान्त पुष्टि गर्छन्।
हामीले अवलोकन गरेका सबै मिश्रणका प्रवृत्तिले उभापू र दभापूबीचको मिश्रण पछिल्लो चार हजार वर्षमा भएको अनुमानलाई सही ठहर्याए। अर्थात्, झन्डै चार हजार वर्षपहिले भारतको जनसंख्या संरचना अहिलेको भन्दा निकै भिन्न थियो। त्यसअघि यहाँ कुनै मिश्रण नभएका मानिस थिए।
चार हजार वर्षपहिलेदेखि तीन हजार वर्षअघिबीचको हजार वर्षमा जति वेला सिन्ध सभ्यता भर्खरै पतन भएको थियो र ऋग्वेद रचिएको थियो, त्यही वेला पहिले अलग रहेका यी पूर्वजबीच मिश्रण भएको थियो। वर्तमान भारतमा भिन्नाभिन्नै भाषा बोल्ने र भिन्नाभिन्नै सामाजिक हैसियत रहेका मानिसमा उभापूको हिस्साको मात्रामा पनि विविधता छ। अहिले उभापू वंश महिलाभन्दा बढी पुरुषबाट प्रसारण हुन्छ।
जातको प्राचीनता
हजारौं वर्षपछि पनि ऐतिहासिक घटनाका यी आनुवंशिक चिनोहरू किन मेटिएनन् त?
यो प्रश्नको जवाफ परम्परागत भारतीय समाजको जात-व्यवस्थासँग जोडिएको छ। सामाजिक सोपानीकरणको प्रणालीका रूपमा रहेको यो व्यवस्थामा कसले कोसँग बिहे गर्न हुन्छ, समाजमा कसको भूमिका के हो अनि को बढी सुविधाप्राप्त हो भन्ने छुट्याइएको छ। यस्तै विभेदले जैन, बौद्ध र शिख जस्ता जात व्यवस्थाविरोधी धर्म जन्माएको हो। भारतमा इस्लामहरूको सफलतालाई जात व्यवस्थाको यही दमनकारी चरित्रले सघाएको थियो। तथाकथित तल्लो जातका मानिस जातको बन्धनबाट भाग्न मुगल शासकको धर्म अपनाउँथे। लोकतान्त्रिक भारतको जन्मसँगै जातका आधारमा हुने विभेदलाई कानूनी अपराधका रूपमा लिन थालिएको छ। तथापि बिहेका मामिलामा जात व्यवस्थाले अहिले पनि ठूलो भूमिका खेल्छ।
समाजशास्त्रीय परिभाषा अनुसार कुनै पनि जात यस्तो समूह हो जसले अन्य मानिससँग आर्थिक माध्यमबाट परस्पर क्रिया गर्छ (हरेक जातलाई निश्चित आर्थिक भूमिका तोकिएको हुनाले) तर अन्तर्विवाह (इन्डोग्यामी/सजातीय विवाह- जसले अन्यसँग विवाह गर्न प्रतिबन्ध लगाउँछ) मार्फत आफैंलाई सामाजिक रूपमा अलग्याउँछ।
भारतमा जात दुई तहमा सङ्गठित छ- वर्ण र जाति। वर्ण व्यवस्थाले सिङ्गो समाजलाई चार वटा मुख्य वर्णमा बाँडेको छ- सबैभन्दा माथि पण्डित समूह (ब्राह्मण) र लडाकू समूह (क्षत्रिय); मध्य तहमा व्यापारी, किसान र कालिगढहरू (वैश्य) र अन्त्यमा तथाकथित तल्लो जात (शूद्र) जो श्रमिक हुन्। त्यस्तै चण्डाल र दलित छन् जसलाई ‘सेड्युल्ड कास्ट’ (अनुसूचित जाति) पनि भनिन्छ। उनीहरू अछूत ठानिन्छन् र समाजबाट बहिष्कृत छन्। त्यस्तै ‘सेड्युल्ड ट्राइब’ (अनुसूचित जनजाति) पनि छन्। हिन्दू, मुस्लिम वा इसाई नभएका मानिसलाई यो नाम दिइएको हो। परम्परागत हिन्दू समाजको अभिन्न अङ्ग हो जातव्यवस्था जसबारे ऋग्वेदपछि रचिएका अन्य वेदहरूमा उल्लेख गरिएको छ।
भारतीय समाजसँग अपरिचित बाहिरका मानिसलाई बुझ्न निकै कठिन पर्ने जात व्यवस्था निकै जटिल छ जसले कम्तीमा ४६०० देखि केही अध्ययन अनुसार ४० हजारसम्म अन्तर्विवाही समूह (इन्डोग्यामस ग्रुप्स) लाई समेटेको छ। हरेक समूहको वर्ण व्यवस्थामा निश्चित स्थान छ तर अन्त्यन्तै कडा र जटिल सजातीय विवाहको नियमले अधिकांश जातका धेरै मानिसलाई अरू जातका मानिससँग घुलमिल हुन दिएको छैन। एउटै वर्णका भईकन पनि विवाहको तगारो बन्न जात आउन सक्छ।
वर्ण र जात एक अर्कासँग कसरी सम्बद्ध छन् भन्ने विषय निकै बहस भएको रहस्य हो। मानवशास्त्री इरावर्ती कर्वेले प्रस्तुत गरेको सिद्धान्त अनुसार हजारौं वर्ष पहिले भारतीय मानिस अहिले विश्वका विभिन्न ठाउँमा रहेका आदिवासी समूहजस्तै अन्तर्विवाही आदिवासी समूहमा बस्थे। राजनीतिक सम्भ्रान्तहरूले समाजलाई सोपानीकृत प्रणालीमा ढालेर आफूलाई त्यो सामाजिक व्यवस्थाको उच्च तहमा पण्डित, राजा र व्यापारीका रूपमा राखे। आदिवासी समूहलाई भने श्रम गर्ने समूहका रूपमा शूद्र र दलित बनाए। त्यसैले आदिवासी समुदाय शुरूका जाति निर्माण गर्ने क्रममा सामाजिक सोपानमा गाभिए। अन्ततः समाजको उपल्लो तहसम्म जात व्यवस्था प्रवेश गर्यो। त्यसैले अहिले उच्च र तल्लो भनिएका अनेकौं जात छन्। ती प्राचीन आदिवासी समूहले जात प्रणाली र अन्तर्विवाही नियम मार्फत आफ्नो पहिचान कायम राखिरहेका छन्।
अर्को सिद्धान्त अनुसार कठोर अन्तर्विवाही नियमहरू खासै पुराना होइनन्। पक्कै पनि जात व्यवस्था पुरानो थियो किनभने यसको वर्णन मनुस्मृतिमै गरिएको छ जुन ऋग्वेदभन्दा हजारौं वर्षपछि रचिएको हो। मनुस्मृतिले वर्ण व्यवस्था र यस अन्तगर्तका जातहरूबारे विस्तृतमा वर्णन गरेको छ। यसले सिङ्गो व्यवस्थालाई धार्मिक खाकाभित्र राखेको छ।
तथापि मानवशास्त्री निकोलस डिक्र्स लगायत संशोधनवादी इतिहासकारहरू प्राचीन भारतमा कठोर अन्तर्विवाह (सजातीय विवाह/इन्डोग्यामी) नरहेको र त्यो धेरै हदसम्म बेलायती उपनिवेशवादको आविष्कार रहेको तर्क गर्छन्। डिक्र्स र उनका साथीले गरेको व्याख्या अनुसार १८औं शताब्दीको शुरूतिर भारतमा आफ्नो शासन बलियो बनाउन जात व्यवस्थालाई बलियो बनाउने गरी नीति ल्याइयो जहाँ बेलायती उपनिवेशकहरूलाई नयाँ जातका रूपमा प्रस्तुत गरिएको थियो। यो उद्देश्य पूरा गर्न भारतमा पहिला खासै महत्त्व नदिइएको जात व्यवस्थालाई बलियो गरी संस्थागत गर्ने काम भयो।
जातको अवधारणा बुझ्न हामीले मूल ढाँचासँग हरेक जातको आनुवंशिक ढाँचा कतिको मेल खान्छ भनेर हेर्यौं। यो परीक्षणमा कुनै एक जातिविशेषको आनुवंशिक प्रवृत्ति मूल ढाँचाभन्दा निकै फरक देखियो। उभापूबीचको विविधिता वा भारतभित्रकै विभिन्न समुदायबीचको विविधताले यो पृथक्तालाई पुष्टि गर्न सक्दैन।
यी परिणाम मार्फत हामीले अनुमान गर्यौं- भारतीय समुदायहरू जनसांख्यिक अवरोधका कारण सिर्जित भएको हुनुपर्छ। थोरै मानिसबाट धेरै सन्तान र तीबाट पनि अन्य सन्तान जन्मिंदा अनि ती सबै सामाजिक वा भौगोलिक कारणले वरिपरिका अन्य मानिसबाट आनुवंशिक रूपमै छुट्टिंदा यस्तो हुन्छ।
यो जनसांख्यिक अवरोध पछाडिको सङ्केत खोतल्दा हामीले एउटै समूहभित्र एक जोडीमा एकै खाले डीएनएको लामो शृङ्खला पायौं। यसको कारण- यी जोडी हजारौं वर्षअघिका एउटै पुर्खाबाट आएको हुनुपर्छ जसमा त्यो डीएनए थियो। त्यस्तो साझा डीएनएले यी दुईका पुर्खा कति वर्ष अघिसम्म अस्तित्वमा थिए भन्ने बताउँछ।
यी आनुवंशिक तथ्याङ्कले स्पष्ट सन्देश दिए। झन्डै तीन वटा भारतीय समूहमध्ये एउटाले जनसांख्यिक अवरोधको अनुभूति गरेका छन्। यस्ता अवरोधमध्ये धेरैजसो निकै पुराना छन्। थुप्रै संख्याका पुर्खाबाट वंशको शुरूआत भए पनि त्यो जातिले अन्तर्विवाह (आफ्नै जातिभित्रको विवाह) लाई कडाइ साथ पालना गरेको हुनुपर्छ। यस हिसाबले वर्तमान भारतमा पाइने जात व्यवस्था बेलायती उपनिवेशको उपज होइन। बरु, सहस्राब्दी लामो अन्तर्विवाहको अभ्यासले वर्तमान जात व्यवस्थालाई सुदृढ बनाएको हो।
(यो निबन्ध अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट सन् २०१८ मा प्रकाशित डेभिड राइखको पुस्तक हु वी आर एन्ड हाउ वी गट हियर: एन्सिएन्ट डीएनए एन्ड द न्यू साइन्स अफ द ह्युमन पास्ट (हामी को हौं र यहाँसम्म कसरी आइपुग्यौं: प्राचीन डीएनए र मानवको इतिहाबारे नयाँ विज्ञान)को छैटौं परिच्छेद ‘द कलिजन द्याट फर्म्ड इन्डिया’ को अंश हो। यसको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)